चिकित्सक दम्पतीको रोचक प्रेमकहानी, फुर्सद मिल्दा सधैँ ‘भ्यालेन्टाइन डे’

चिकित्सा पेसा यसै पनि सधैँ व्यस्त हुनुपर्छ । रातसाँझ, घरपरिवार, चाडपर्व, जेसुकै होस्, चिकित्सक सधैँ बिरामीकै टहलमै व्यस्त हुन्छ । त्यसमा पनि दम्पती नै यही पेसामा हुँदा अझै निजी जीवन साँघुरिने नै भयो ।

पछिल्लो पुस्ताका चर्चित स्त्री तथा प्रसूतिरोग विशेषज्ञ डा. सबिना श्रेष्ठ र नेत्ररोग विशेषज्ञ डा. किशोर प्रधानले पेसागत चुनौती र बाध्यतासँगै परिवारको व्यवस्थपन उस्तै कुशलतापूर्वक गरेका छन् । करिब पाँच वर्षको प्रेमसम्बन्धपछि विवाहबन्धन्मा बाँधिएको यो दम्पतीले आफ्नो संवेदनशील र व्यस्त अरिअरसँगै पारिवारिक जीवनलाई पनि सफलतापूर्वक अघि बढाइरहेको छ ।
दुवैले नामी चिकित्सकको पहिचान बनाउने संघर्षपूर्ण यात्रा एक–अर्काको साथविना सायदै पूरा हुन्थ्यो । तर, एक–अर्काबीचको विश्वास, साथ र सहयोगले उनीहरू यो कठिन यात्रा तय गर्दै कुशल अभिभावकसमेत बन्न सफल छन् ।

०५३ को कुरा हो, डा. सबिना थापाथलीस्थित परोपकार प्रसूतिगृहमा मेडिकल अफिसरका रूपमा कार्यरत थिइन् । त्यहीँ नै डा. किशोरको इन्टर्नसिपको अन्तिम वर्ष चलिरहेको थियो । उनीहरूबीच पहिलो भेट त्यहीँ भयो । दुवैजना चिकित्साक्षेत्रमा केही गर्ने अठोटका साथ साधनामा थिए । तर, यही भेट जीवनभरका लागि सहयात्रामा परिणत भयो ।

किशोरले राखे प्रेमप्रस्ताव
किशोर विराटनगरका, सबिना काठमाडौंकी, जन्मस्थलबीचको दूरी लामो रहे पनि दुई मनको दूरी क्रमशः छोटिँदै थियो । कार्यथलो एकै भएका कारण विस्तारै घुलमिल हुँदै गयो । मुख फोरेरै प्रेमप्रस्ताव राख्नुपूर्व पनि उनीहरू वेलाबखत सँगै खाजा खाने, एक–अर्कामा चोरेर हेर्ने कुरामा अभ्यस्त भइसकेका थिए, मुख नखुले पनि सायद दुवैका मनमा एक–अर्काप्रति प्रेम अंकुराइसकेको थियो । त्यसलाई मुखसम्म ल्याएर व्यक्त गर्ने साहसको मात्र खाँचो थियो । यो साहस किशोरले नै पहिले गरे । ‘उहाँले नै मलाई प्रेमप्रस्ताव राख्नुभएको थियो,’ सबिना सम्झिँन्छिन् । आफूले चाहेर पनि भन्न नसकेको कुरा मनले आफ्नो मानिसकेको मान्छेले भनिदिँदा सबिनाबाट अस्वीकार हुने त कुरै थिएन । दुईबीचको प्रेमसम्बन्ध अगाडि बढ्यो ।

अब आयो परिवारलाई मनाउने कुरा, जुन किशोरका लागि केही समस्या थिएन । किशोरकी आमाले छोरालाई भेट्न अस्पताल आउँदा सबिनालाई देखिसक्नुभएको थियो । पहिलो नजरमै सबिना आमाको नजरमा यसरी परिछिन् कि, आमाले छोरालाई ‘तिमी यही केटीसित बिहे गर’ भनिदिनुभयो । यतिवेला किशोरले सबिनालाई प्रेमप्रस्ताव राख्न भ्याएकै थिएनन् । सायद आमाकै स्वीकृतिको बलमा उनी सबिनाप्रति थप नजिकिएका थिए र प्रेमप्रस्ताव राख्नमा पहिलो भएका थिए । पछि सबिनाको परिवारले पनि स्विकारेपछि बिहेको निधो भयो । तर, करिअर र व्यस्तताका कारण लामो समय बिहे हुन सकेन ।

खाली समय हुँदा कुनै वेला सँगै सपिङ जाने, खानेकुराको योजना बनाउने गरेका छन्, जसका लागि भ्यालेन्टाइन डे कुर्नुपर्छ भन्ने उनीहरूलाई लाग्दैन । मनमा माया र फुर्सद भए दम्पतीका लागि सधैँ भ्यालेन्टाइन डे हुने सबिनाको तर्क छ । दुवैको फुर्सद भएको दिन आफ्ना लागि भ्यालेन्टाइन डे आएजस्तो लाग्ने उनी बताउँछिन् । ‘भ्यालेन्टाइन डे हाम्रा लागि त्यति आवश्यक नै छैन,’ सबिना भन्छिन्, ‘समय भए हाम्रा लागि जुनसुकै दिन भ्यालेन्टाइन डे हुन सक्छ ।’

प्रेम प्रस्तावको १ वर्षपछि इन्गेजमेन्ट, इन्गेजमेन्टको ४ वर्षपछि बिहे
एक–अर्कामा प्रेम अभिव्यक्त गरेको १ वर्षपछि सबिना र किशोरले जीवनभर साथ निभाउने अठोटका साथ इन्गेजमेन्ट गरे । जीवनसाथीको त पक्का निधो भयो, तर अरिअर र पढाइ भने दुवैको अधुरै थियो । अब दुवैको अरिअर पनि पक्का गर्नुपर्ने थियो । संयोगवश सबिना बिहेपूर्व नै विदेश पढ्न जानुपर्ने अवस्था आयो । उनी विदेशमा रहँदा दुईबीच फोनमा सम्पर्क हुन्थ्यो । कहिले एउटाको पढाइ, कहिले अर्कोको, ४ वर्ष बित्दा पनि इन्गेजमेन्ट विवाहमा परिणत हुन सकेन । अब त अति नै भयो भनेर सबिन विदेशको पढाइ छोडेर बिहेका लागि फर्किइन् । ‘म विदेशमा पढिरहँदा इन्गेजमेन्ट गरेको पनि ४ वर्ष बितिसकेका कारण अब त बिहे गर्नुपर्छ भन्ने लागेर नेपाल आएँ,’ दुर्लभ भोगाइ सम्झँदै सबिना भन्छिन्, ‘हामीबीच १ मार्च २००२ मा विवाह भयो ।’

फुर्सद भए सधैँ भ्यालेन्टाइन डे, तिथिविशेषमा कहिल्यै मनाएको छैन
लामो प्रेमपछि विवाहबन्धनमा बाँधिएर सफल सहयात्रा गरिरहेका सबिना र किशोरले अहिलेसम्म ‘भ्यालेन्टाइन डे’ नै भनेर मनाएका भने छैनन् । प्रेमदिवसका लागि नै भनेर कुनै विशेष, छुट्टै केही योजना बनाउने नगरेको सबिना बताउँछिन् । खाली समय हुँदा कुनै वेला सँगै सपिङ जाने, खानेकुराको योजना बनाउने गरेका छन्, जसका लागि भ्यालेन्टाइन डे कुर्नुपर्छ भन्ने उनीहरूलाई लाग्दैन । मनमा माया र फुर्सद भए दम्पतीका लागि सधैँ भ्यालेन्टाइन डे हुने सबिनाको तर्क छ । दुवैको फुर्सद भएको दिन आफ्ना लागि भ्यालेन्टाइन डे आएजस्तो लाग्ने उनी बताउँछिन् । ‘भ्यालेन्टाइन डे हाम्रा लागि त्यति आवश्यक नै छैन,’ सबिना भन्छिन्, ‘समय भए हाम्रा लागि जुनसुकै दिन भ्यालेन्टाइन डे हुन सक्छ ।’

पारिवारिक व्यवस्थापनमा सबिना अगाडि
डाक्टरी पेसा, व्यस्तताले कहिले पो छोड्छ र ! दुवैजना अत्याधिक व्यस्त हुँदा पारिवारिक व्यवस्थापनको पाटो भने चुनौतीपूर्ण रहन्छ । कम्तीमा दुईमध्ये एकले त केही न केही सम्झौता गर्नु नै पर्छ । घर–परिवारको व्यवस्थापनमा किशोरभन्दा बढी सबिनाले नै फुर्सद निकाल्ने गरेकी छिन् । ‘अलिकति मात्रै खाली समय भयो भने त्यो परिवारका लागि मिलाउने गरेकी छु,’ सबिना भन्छिन्, ‘उहाँले पनि सकभर समय मिलाउनुहुन्छ, तर उहाँभन्दा अलिकति बढी पारिवारिक जिम्मेवारी मैले नै लिएकी छु ।’ व्यस्त डाक्टरी पेसा र जिम्मेवारीबाट केही समय निकालेर बच्चाहरूका लागि दिन भने उनीहरू सकेसम्म चुक्दैनन् । ‘बच्चाहरूको बिदाको दिन कहीँ–कतै सँगै जाने र उनीहरूलाई घुमाउने गरेका छौँ,’ उनी भन्छिन् ।
प्रत्येक साताजसो दुवैजनाको देशका विभिन्न ठाउँ र देशबाहिर पनि कार्यक्रम पर्ने गर्छ । परिवारलाई समय दिने फुर्सद दुवैलाई हुँदैन । तर, मायाको कमी भने दुवै पक्षबाट छैन । उपत्यकाबाहिर हुँदा त यसै पनि फुर्सद हुँदैन, घरमै हुँदा पनि दुवैजनालाई कामको प्रेसर, एकअर्कासँग त्यति धेरै बोल्ने समय पनि हुँदैन ।

अरुलाई सुझाब दिन्छौँ, तर कहिलेकाहीँ आफैँ भने पालना गर्दैनौँ
स्वास्थ्य समस्या लिएर उपचारका लागि आउने जोकोहीलाई डाक्टरले खानपानको सन्तुलनमा ध्यान दिन सुझाउँछन् र यो उनीहरूको धर्म पनि हो । अधिकांश रोगको कारण अस्वस्थ आचरण र खानपान नै भएको मानिन्छ । तर, डाक्टर स्वयम्चाहिँ खानपानमा ध्यान दिइरहेका हुँदैनन् । यस्तो समस्या सबिना र किशोरमा पनि छ । अरुलाई नियमित ब्रेकफास्ट लिन सल्लाह दिने उनीहरू आफू भने ब्रेकफास्टका सौखिन छैनन् । उनीहरू एक कप कालो चियाकै भरमा काममा बिहान बिताइदिन्छन् । ‘हामी डाक्टर, अरुलाई यो खान हुन्छ, त्यो खान हुँदैन भनेर सिकाउने मान्छे, आफैँ भने त्यो कुरा पालना गरिरहेका हुँदैनौँ,’ सबिना भन्छिन्, ‘खानाको कुरा गर्ने हो भने हामी दुवैजना ब्रेकफास्टका लागि त्यति सौखिन छैनौँ । बिहान उठेर एक कप कालो चिया खाएपश्चात् दुवैजना आ–आफ्नो काममा लाग्छौँ ।’ उनीहरू डिनर भने प्रायः सँगै गर्छन् ।

सबिना खानाको खासै सौखिन छैनन्, सानैदेखि । तर, किशोरमा भने खानाको सोख ज्यादा छ । अहिले भने किशोरको संगतले बिस्तारै खानाको सौखिन बनाउँदै लगेको छ । तर, खाना बनाउने सवालमा भने सोख ठिक विपरीत छ । किशोर खाना बनाउन रुचि राख्दैनन् ।
बाहिरको खानामा त्यति बानी नभए पनि कहिलेकाहीँ बच्चाहरूले खानाका लागि बाहिर जाने रहर गर्दा उनीहरू सहमत हुन्छन् । ‘आफ्ना लागि भन्दा पनि बच्चाहरूकै लागि हामी कहिले–कहिले खाना खान बाहिर जाने गर्छाैं,’ सबिना भन्छिन् ।

पछिल्लो समय भने पारिवारिक हिसाबले पनि परिपक्व भइसक्दा रिसाएर र नबोलेर बस्नु समयको बर्बाद हो जस्तो लाग्छ, सबिनालाई । ‘आखिर नमिलीकन सुख छैन, रिसाएर के फाइदा ?’ उनी भन्छिन्, ‘सामान्य भनाभनपश्चात् हाम्रो झगडा सकिसक्छ, लामो समयसम्म रहँदैन ।’

वर्षको एकपटक बच्चासहित विदेश भ्रमण
सबिना र किशोर समय मिलेसम्म सपरिवार घुमफिर गर्न पछि पर्दैनन् । देशका विभिन्न भाग र विदेशमा पनि उनीहरूको भ्रमण भइरहन्छ । वर्षमा एकपटक बच्चासहित विदेश भ्रमणमा जान्छन् । त्यसका अतिरिक्त कहिलेकाहीँ कामकै सिलसिलामा विदेश जाँदा पनि केही समय निकालेर घुम्ने गरेका छन् । त्यति नै वेला बच्चाहरूको पनि बिदा परेमा उनीहरूसित घुम्ने समय मिलाउने गरेको सबिना बताउँछिन् । ‘हामी वर्षको एकपटक बच्चाहरूसहित विदेश भ्रमणमा जाने गरेका छौं,’ सबिना भन्छिन्, ‘उपत्यकाभित्रै पनि वेला–बखत सबै परिवार घुम्न गइरहेका हुन्छौँ ।’ यस वर्ष भने परिवारलाई त्यति समय दिन नसकेजस्तो लागिरहेको छ, सबिनालाई । पछिल्लो समय किशोर आफ्नै अस्पताल खोल्नमा व्यस्त छन् भने सबिना पनि आफ्नै क्लिनिकमा व्यस्त छिन् । ‘श्रीमान् आफ्नै अस्पताल खोल्न व्यस्त हुनुहुन्छ,’ उनी भन्छिन्, ‘म पनि व्यस्त भएका कारण यस वर्ष पहिलेजस्तो परिवारलाई समय निकाल्न नसकिएको हो ।’

भ्रमण मात्र होइन, यो डाक्टर जोडी समय मिलेसम्म बच्चासँग बसेर चलचित्र हेर्न पनि त्यति नै रुचाउँछ । वेला–बखत सिनेमाबाट मनोरञ्जन लिन हल पुग्छन् । पछिल्लो समय भने व्यस्तताले हल पुग्न दिएको छैन ।

सामान्य ठाकठुक, रिसाउँदा दुवैको नबोलेरै बिताइदिने बानी
दम्पतीमा कहिलेकाहीँ सामान्य ठाकठुक पर्नु स्वाभाविकै हो, सबिना र किशोरमा पनि त्यो हुन्छ । रिस उठ्दा बोल्ने, कराउने वा झगडा गर्ने स्वभाव सबिनाको छैन । उनी निकैबेर चुपचाप बसिन् भने जान्नुपर्छ कि– उनी रिसाइछिन् । ‘म रिस उठेमा चुपचाप, बौल्दै–नबोली बस्ने गर्छु,’ सबिना भन्छिन् ।

पछिल्लो समय भने पारिवारिक हिसाबले पनि परिपक्व भइसक्दा रिसाएर र नबोलेर बस्नु समयको बर्बाद हो जस्तो लाग्छ, सबिनालाई । ‘आखिर नमिलीकन सुख छैन, रिसाएर के फाइदा ?’ उनी भन्छिन्, ‘सामान्य भनाभनपश्चात् हाम्रो झगडा सकिसक्छ, लामो समयसम्म रहँदैन ।’
परिपक्वतासँगै किशोर पनि रिसाउने कुरामा पहिलेभन्दा परिवर्तन भइसकेको अनुभव सबिनाको छ । पहिले भने रिस उठ्दा किशोरको पनि हतियार उही हुन्थ्यो, नबोलिदिने । ‘पहिले–पहिले भने रिस उठ्दा उहाँ पनि कतिपयवेला नबोलीकनै बस्नुहुन्थ्यो,’ उनी सम्झिन्छिन् ।

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै

टिचिङ अस्पतालका ‘इन्जिनियर’ डाक्टर

डिल्लीबजारस्थित लोहनी परिवारको वातावरण संगीत, साहित्य र कलाले पूर्ण थियो । पूर्ण साहित्यिक वातावरणको त्यो घर चर्चित हास्यव्यंग्य कवि लक्ष्मण लोहनीको थियो । रेडियो नेपालका डेपुटी डाइरेक्टरसम्म बनेका लक्ष्मणको संगत शिवशंकर, नतिकाजीजस्ता धुरन्धर प्रतिभासँग थियो । उक्त परिवारमा २०१९ भदौ ऋषिपञ्चमीको पवित्र दिन आमा शारदा लोहनीको गर्भबाट जन्मिएका थिए, चर्चित प्लास्टिक सर्जन डा. ईश्वर लोहनी ।

नेपालकै पहिलो एमसिएच (मास्टर इन चिरुर्जी) गरेका प्लास्टिक सर्जन डा. ईश्वर लोहनी त्यही माहोलमा हुर्के । कला, साहित्य र संगीतमय माहोलले भरिपूर्ण थियो परिवार । घरमा पढ्नुपर्छ भन्ने सोच नहुने कुरै भएन । घरैमा गुरु बोलाएर ईश्वरलाई कखरा चिन्ने अवसर मिल्यो ।

बाल्यकाल र विद्यालय जीवन

सेन्ट जेभियर्स स्कुलमा कक्षा २ बाट उनको औपचारिक शिक्षा प्रारम्भ भयो । सबैभन्दा अटुट रूपमा आउने बाल्यकालको याद नै पढाइ र मिहिनेतको हो भन्दा हुन्छ । जेभियर्स स्कुलबाट उनी एसएलसीमा सबैभन्दा उच्च अंक हासिल गर्ने १० विद्यार्थीभित्र परे । स्कुलमा छँदा दौडमा पनि भाग लिन्थे । १ हजार ५ सय मिटर दौडमा ललितपुर जिल्लामै पहिलोसमेत भए ।

बाल्यकालमै उनी पनि संगीततर्फ आकर्षित भए । ६ कक्षा पढ्दा उनको हात तवलामा अभ्यस्त भइसकेको थियो । गुरु थिए राधाकृष्ण । गुरु घरैमा आएर तवला सिकाउँथे । ०३० मा लोहनी परिवार डिल्लीबजारबाट कमलादी स¥यो, त्यसपछि केही समय तवला छुट्यो । मन बसिसकेकाले विकल्पका रूपमा अर्का नामुद तवलावादक प्रो. कालीप्रसाद शर्माबाट हप्तामा दुईपटक तवला सिक्थे उनी ।

तवलामा डिग्रीका लागि पनि परीक्षा हुन्थ्यो । परीक्षाका लागि भारतबाट गुरुहरू आउँथे । कालीप्रसाद गुरुको दुर्घटनामा परी असामयिक देहावसान भएपछि उनीले जाँच दिने विचारले पण्डित होमनाथ उपाध्यायसँग सिके । उनले संगीत महाविद्यालयको ग्य्राजुएसनसम्म पास गरे । अहिले पनि पारिवारिक जमघटमा छोरा भोइलिन र उनी तलवा बजाउँछन् ।

घरमा धार्मिक परिवेश भएका कारण पनि उनमा धर्मप्रति निक्कै आस्था छ । सानैदेखि आमाले सिकाउने हुनाले स्तोत्र तथा पाठहरू कण्ठस्थ आउँछ उनलाई । अहिले पनि कमलादी गणेशको दर्शन नगरी पानी पनि ग्रहण गर्दैनन् उनी ।

०३६ मा जेभियर्सबाटै एसएसलसी सकेपछि साइन्स पढ्नका लागि अस्कल कलेज भर्ना भए उनी । आइएससी पढ्दा उनी एउटा सामाजिक कार्यमा जोडिए । गोदावरी अल्मुनाई एसोसिएसनमा कोषाध्यक्ष भएर काम गरे । यो संस्थामा रहेर काम गर्दा उनले धेरै सामाजिक र प्रशासनिक ज्ञान बटुले । त्यतिवेला उनलाई संस्थाका लेटर टाइपराइटरमा टाइप गर्नेदेखि मनोरञ्जन कर बुझाउन कर कार्यालय धाउँदा कत्ति पनि झन्झट लाग्दैनथ्यो । संस्थामार्फत उनीहरू पौष्टिक आहार, दूध, पिठो वितरणदेखि स्वास्थ्य शिविर लिएर गाउँगाउँ पुग्थे ।

उच्च उडानका लागि उच्च शिक्षा

एमबिबिएस पढाइ हुने एक मात्र महाराजगन्ज मेडिकल क्याम्पसमा भर्नाका लागि एचएच नै पढेको हुनुपथ्र्यो । तर, ०४१ मा सीमित सिटमा आइएससीबाट पनि ढोका खुल्यो । १५ जनाको सिट थियो । प्रवेश परीक्षामा उनले १३ नम्बरमा नाम निकाले, अर्थात् एमबिबिएस पढ्ने बाटो खुल्यो ।

आइओएमको माहोल पनि भिन्नै थियो । धेरै विद्यार्थी एचए पृष्ठभूमिबाट आएका हुनाले स्वास्थ्यका आधारभूत विषयमा ज्ञान राख्थे । आइएससी पढेर आएकालाई एचएसरहको लेबल पु¥याउन प्रिमेडिकल ‘क्र्यास’ कोर्स भनेर रोग, औषधिजस्ता विषयमा पढाइन्थ्यो ।

सबै कुरा सामान्य रूपमै जाँदै थियो । अचानक ईश्वरमा एउटा सोच आयो– एमबिबिएस राम्रो भए पो पेसागत सीप र दक्षतामा निपूर्ण हुन सकिएला । किन–किन उनलाई नेपालमा एमबिबिएस पढेर पास त भइएला, तर खोजेजस्तो जग बस्न सक्दैन कि भन्ने लाग्यो ।

नेपाली समाजमा एउटा व्यक्ति धेरै सन्दर्भ र प्रसंगमा जोडिनुपर्छ । ‘चाडपर्व, सामाजिक कार्य, भेटघाट, सरकारी सिस्टममा जाडो, गर्मी बिदा, वर्षभरि जोड्दा त पढ्ने समय आधा पनि नहुने,’ उनले आफैँलाई प्रश्न गरे, ‘घरै बसेर यी सबै सामाजिक बन्धन र सम्बन्ध छोडेर ढोका थुनेर पढ्न सक्ने सम्भावना रहन्छ त ? रहन्न ।’

डिग्री लिएपछि देश फर्किने इच्छा र कौतुहल थियो । किताब र कपडा पोको पार्न थाले । ६० केजी त किताब मात्रै थियो । घर फर्किनका लागि मद्रासबाट उनले राति १० बजेको हाउडा एक्सप्रेस समाते । बिहान ६ बजेतिर बाटोमा अचानक रेल रोकियो । राति १०ः२० बजेतिर राजीव गान्धीको हत्या भएको रहेछ ।

अब विदेशको विकल्प नखोजी हुन्न

भारतीय राजदूतावासमा छात्रवृत्ति सिट हुन्छ भन्ने सुनेका थिए । उनका एकजना आफन्तसँग परामर्श गरे । बाहिरतिर पनि सम्बन्ध भएका आफन्तले भने, ‘फर्म भर न त ।’ उनले फर्म भरे ।

सन् १९८५ को कुरा थियो त्यो । उनको निवेदन स्वीकृत भयो, तर पेइङ सिटमा पढ्नका लागि । दक्षिण भारतको मदुराई मेडिकल कलेजमा उनलाई एमबिबिएस पढ्ने अवसर मिल्यो । उनी आइओएमको पढाइ बीचैमा छाडेर भारततिर लागे ।

काठमाडौंबाट कोलकाता, कोलकाताबाट मद्रास, मद्रासबाट मदुराईसम्मको यात्रा गर्नुपथ्र्यो । विमानमा यात्राका लागि टिकट गोदावरी एल्मुनाईका संरक्षक फादर वाट्रिनले जोहो गरिदिए ।

त्यतिवेला डा. प्रदीप वैद्य मद्रास मेडिकल कलेजमा पढ्दै थिए । ईश्वर दुई दिन मद्रासमा गएर उनीसँगै बसे । मदुराईमा पढ्दै थिए– डा. यादवदेव भट्ट । डा. भट्ट उनका अस्कलका पनि सहपाठी र पछिल्लो समय नातासमेत जोडिएका थिए ।

डा. भट्टले मदुराईमा पढ्न थालेको एक वर्ष भइसकेको थियो । डा. भट्ट उनलाई एयरपोर्टसम्म लिन आए । सुरुमा जाँदा भाषाको समस्या थियो । त्यहाँको स्थानीय तामिल भाषा नजानी बिरामीसँग कुरा गर्न पनि समस्या हुन्थ्यो । नेपाली–नेपाली बोल्नेमान्छे एउटै कोठामा बसेर त स्थानीय भाषा सिकिन्न । यही निष्कर्षसहित डा. भट्ट र ईश्वर होस्टेलमा मद्रासीभाषीसँग छुट्टाछुट्टै बसे । मद्रासीमा पनि उनीहरूबाट अंग्रेजी सिक्ने आशा थियो । माध्यम भाषा अग्रेजी बनाएर केही समयमै उनले मद्रासी सिकिहाले । मद्रासी बोल्न मात्रै होइन, लेख्न–पढ्न पनि निपूण छन् उनी ।

एमबिबिएस पढ्दै गर्दा सन् १९९१ जनवरीमा बुबालाई ट्युमर भयो । शल्यक्रिया गर्नुपर्ने भएपछि उनी नेपाल फर्के । एक महिना कुरुवा भएर त्रिवि शिक्षण अस्पताल बसे । त्यसबीचमा छुटेको अवधिसमेत पोस्टिङ सकेर १९९१ मेमा घर फर्किए ।

चिकित्सा शिक्षा यति महँगो भएको समयमा ईश्वरको पढाइ खर्च धेरैलाई अपत्यारिलो लाग्न सक्छ । उनी पढ्दा एउटै ब्याचमा १ सय ७५ विद्यार्थी थिए । वार्षिक शुल्क थियो, ३ हजार । सबैभन्दा महँगो यातायात खर्च थियो । रेलमा आउँदा वनारसबाट सुनौली पार गरेर आउनुपर्ने, नेपाल आउजाउ कमै हुन्थ्यो । त्यसैले धेरै समय पढाइमै बित्थ्यो ।

चार वर्ष पढेको शुल्क १३ हजार ५ सय । एक वर्ष इन्टर्नसिप गर्दा १२ हजार आउँथ्यो । यो आधारमा हेर्दा त डेढ हजारमा एमबिबिएस सकियो ।

डिग्री लिएपछि देश फर्किने इच्छा र कौतुहल थियो । किताब र कपडा पोको पार्न थाले । ६० केजी त किताब मात्रै थियो । घर फर्किनका लागि मद्रासबाट उनले राति १० बजेको हाउडा एक्सप्रेस समाते । बिहान ६ बजेतिर बाटोमा अचानक रेल रोकियो । राति १०ः२० बजेतिर राजीव गान्धीको हत्या भएको रहेछ । रेल सियालदह भन्ने ठाउँमा रोकियो । जताततै कफ्र्यु लाग्यो । रेलका डिब्बाहरू मानिससहित जिउँदै जलाएको खवरले वातावरण निक्कै त्रस्त थियो । घर पुगिने हो कि होइन भन्ने चिन्ताले सताउन थाल्यो । रोकिएकै ठाउँमा ओर्लिएर उनले बिस्कुट र केराको जोहो गरे, केही खान नपाइएला कि भनेर । कोलकाताबाट जहाजको टिकट थियो । राति १० बजे बल्ल हावडा स्टेसन पुगे । रेलबाट ओर्लिनासाथ घरमा आत्तिएका होलान् भनेर उनले ५ रूपैँया तिरेर फोन गरे र बाहिर निस्कन नमिल्ने भएकाले प्लेटफर्ममा तन्ना ओछ्याएर मस्तसँग सुते ।

कोलकातामा उनको काठमाडौंको घरमा भाडामा बस्ने एकजना मारवाडीको घर थियो । उनको सम्पर्क नम्बर ईश्वरले सुरक्षित राखेका थिए । रातभरको रेलको बसाइबाट थकित उनले भोलिपल्ट बिहान ती व्यक्तिको घरमा पुगेर नुवाइधुवाइ गरे, खाना खाए । प्लेन छुट्नुको कारण बताएर विशेष आग्रह गरेपछि एयरलाइन्सले टिकट मिलाइदियो । त्यति ठूलो लगेज सँगै लान सक्ने सम्भावना थिएन । कोलकाताबाट पारवहन सामग्री पठाउने ठाउँमा पुगेर उनले सामान छाडे । पारवहन अफिसबाट एक महिनापछि सामान आइपुग्यो ।

चिकित्सकीय सेवा आरम्भ

सन् १९९१ अर्थात् पढेर फर्किएकै वर्ष त्रिवि शिक्षण अस्पतालमै हाउस अफिसरको रूपमा काम सुरु गरे । डा. महेश खकुरेल ईश्वरका मामा हुन् । डा. खकुरेलले नै उनलाई डा. अञ्जनीकुमार शर्माको युनिटमा पोस्टिङ माग्न सुझाए । ‘उहाँकोमा राम्ररी सिक्न पाइन्छ,’ महेश भन्थे । डा. केपी सिंह पनि त्यही युनिटमा थिए । सुरुदेखि नै ईश्वरको रुचि सर्जरीमा थियो । एमबिबिएसमा पनि सर्जरीमा डिस्टिंक्सन आएको थियो । ईश्वरका ठूलोबुबा रत्नप्रसाद लोहनी (एफआरसिएस) आर्मी अस्पतालमा सर्जनका रूपमा काम गर्थे । रत्नप्रसाद पनि चक्कु समातेको देखेरै छोरालाई ‘राम्रो शल्यचिकित्सक बन्छस्’ भनेर हौसाउँथे । हाउस अफिसर हुँदा नै उनले अञ्जनीकुमार शर्मासँग धेरै सिक्न पाए । ईश्वर सफल शल्यचिकित्सक बन्ने जग त्यहीँ बस्यो ।

सर्जरीमा मन बसेपछि पोस्टग्य्राजुएसन सर्जरीमा नै गर्नु थियो । विकल्पको खोजी सुरु भइ नै हाल्यो । पिजिआई चन्डीगढका लागि प्रयास गर्ने निधो भयो । १९९२ को जनवरी सेसनकै विदेशीका लागि सुरक्षित सिटमा उनले फर्म भरे । डा. अञ्जनीकुमार शर्माकै सिफारिस थियो । पिजिआईमा विदेशी विद्यार्थी छान्ने प्राध्यापक थिए, डा. जेडी विग । उनी अञ्जनीकुमार शर्माकै एफआरसिएसका सहपाठी थिए । अञ्जनीको सिफारिस देखेपछि ईश्वर आँखा चिम्लिएर छानिए ।

त्यतिवेला पञ्जावमा पृथक्तावादी आन्दोलन चल्दै थियो । परिवारमा ईश्वरलाई चण्डीगढ पठाउने–नपठाउने विषयमा छलफल भयो । आन्दोलन चलिरहँदा परिवारको मन डराउनु स्वाभाविक थियो । डा. विमल सिन्हा, डा. विकेमान सिंह पनि पिजिआईमै पढेर त्रिवि शिक्षण अस्पतालमै कार्यरत थिए । अगुवा र प्राध्यापकहरूले अवसर नगुमाउन सुझाब दिएपछि ईश्वरले परिवारलाई जसोतसो मनाए । राम्रो सर्जन बन्ने सपना साकार पार्न उनी पिजिआई लागे ।

८ जनवरी १९९२ मा चण्डीगढ पुगे । चण्डीगढमा पनि उनको एमबिबिएसजस्तै शुल्क तिर्नुपर्ने थियो, तर ट्युसन फी वर्षको ६ सय मात्र तिरे पुग्थ्यो । चण्डीगढमा उनी पढेकै समयमा ६ जना नेपाली सोही कलेजमा पढ्दै थिए, डा. आस्मा राणा, डा. किरण रेग्मी, डा. यादवदेव भट्टलगायत । पिजिआईको पोस्टग्य्राजुएसन, कडा ड्युटी ।

काम सुरु गरेपछि समय बित्न कति नै बेर लाग्छ र ! सन् १९९४ अप्रिलमा पिजी पनि फाइनल हुने क्रममै थियो । विवाहको कुरा चल्यो । मद्रासमै एमबिबिएस गरिरहेकी आपूmभन्दा दुई वर्ष जुनियर डा. बेनु वाग्लेसँग भेट भएको थियो । भेटघाट साधारण भए पनि दुई परिवारको आपसी सहमतिमा बिहेको कुरो पक्का भयो । २० अप्रिल १९९४ रामनवमीको पावन दिन विवाह सम्पन्न भयो ।

उनी पिजी सक्ने सँघारमा थिए । पिजी पढुन्जेल त कलेजमै होस्टेल थियो । पकाउने ठाउँ पनि हुन्थ्यो । अब उनले पिजी सक्नेबित्तिकै फर्किन पाएनन् । डा. बेनु रेडियोलोजीमा पिजी गर्दै थिइन्, साथै गर्भवती पनि । १९९४ डिसेम्बरमा पिजी सकाए र कामको खोजीमा लागे ।
पिजिआईकै इमर्जेन्सीमा मेडिकल अफिसर भएर काम गर्ने अवसर मिल्यो । नेपालमा प्लास्टिक सर्जरीमा खासै कोही नभएकाले उक्त विषय पढ्न पाए राम्रो हुने सोच बनाए । मेडिकल अफिसरको ड्युटीबाट फुर्सदमा प्लास्टिक सर्जरीको प्रवेश परीक्षाका लागि तयारी सुरु गरे । १९९४ डिसेम्बरमा ईश्वरको पिजी सकिएको थियो । १९९५ जुलाईमा ईश्वरले एमसिएच प्लास्टिक सर्जरीमा भर्ना पाए । प्लास्टिक सर्जरीमा नाम निस्केसँगै २६ जुलाई १९९५ मा छोरा सुमुखको जन्म भयो ।

बच्चाको केयर गर्न उनले होस्टेल छोड्नुप-यो । बाहिर फ्ल्याट लिएर बस्न थाले । १९९७ जुलाईमा उनको एमसिएच सकियो, डिसेम्बरमा बेनुको पिजी । सुत्केरी भएर एक महिना ड्युटी गर्न नपाएका कारण १९९८ को जनवरीसम्म पोस्टिङपछि बल्ल डा. बेनुको पनि पढाइ पूरा भयो । १९९८ फेब्रुअरीमा दुवै ज्ञान, सीप र आत्मविश्वास लिएर नेपाल फर्किए ।

क्लिनिकलतर्फ मात्रै होइन, अस्पतालको भौतिक र प्रशासनिक यात्रामा पनि डा. ईश्वरबाट त्रिवि शिक्षण अस्पतालले बलियो भरोसा पाएको छ । उनी फुर्सद हुनासाथ अस्पतालका वार्ड, कोठा, युनिट घुम्छन् । बत्ती बिग्रिएको छ कि, उपकरण चल्दैन कि, कुनै इलेक्ट्रोनिक मर्मतको काममा उनी सधैँ चाखपूर्वक संलग्न हुन्छन् ।

प्लास्टिक सर्जरीको जग

नेपाल फकिँदा डा. लोहनी पहिलो एमसिएच प्लास्टिक सर्जन थिए । फर्किएपछि उनले चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम)मा शिक्षण सहायक भएर काम गरे । एमसिएच सर्जरी गरेको मान्छे, एपेन्डिसाइटिसदेखि सबै जनरल सर्जरी गर्नुपथ्र्यो । त्यतिवेला सीपको सही उपयोग भएन भन्ने लागे पनि उनले धैर्य छाडेनन् ।

२ वर्ष सहायक भएर काम गरेपछि सन् २००० मा बल्ल लेक्चरर भए । सोही वर्ष अर्को दुई स्मरणीय घटना भए । सन् २००१ फेबु्रअरीमा दोस्रो सन्तानका रूपमा छोरी संज्ञाको जन्म भयो । सोही वर्ष मार्चमा उनले अमेरिकाको क्यालिफोर्नियामा प्लास्टिक सर्जरीसम्बन्धी ११ महिने फेलोसिप पाए । लस एन्जलसमा युनिभर्सिटी अफ सजर्न क्यालिफोर्निया तथा सन फ्रान्सिस्कोमा क्यालिफोर्निया प्यासिफिक मेडिकल सेन्टरमा काम गरे ।

एक वर्षको अमेरिका बसाइपछि नेपाल फर्केर उनले शिक्षण अस्पतालभित्रै प्लास्टिक सर्जरी विधामा एकपछि अर्को महत्वपूर्ण उपलब्धि देखाउँदै गए । १९९८ मै प्लास्टिक सर्जरी एउटा छुट्टै युनिट बन्यो ।

सीप त छँदै थियो । दुर्लभ दुर्घटनाका केसमा उनले जटिल शल्यक्रियामा सफलता देखाउँदै गए । बालुवाखानीसम्बन्धी झगडामा हात्तीगौँडाका राजकुमारको हात छिन्यो । ईश्वरले छिनेको हात जोडर पहिलाकै अवस्थामा फर्काइदिए । क्रमशः शिक्षण अस्पतालभित्र बेडसोर (खाटेघाउ) रिकन्स्ट्रक्टिभ र कस्मेटिकखालका सर्जरीहरू सुरु भए । समकक्षी डा. शंकरमान राईले पनि केही समय सँगै काम गरे, तर उनी छोटो समयमै राजीनामा दिएर हिँडे । डा. वसन्त माथेमाले पनि केही समय साथ दिए ।

त्यसपछि उनको विभागमा जनशक्ति थपिँदै गयो । डा. जयनमान श्रेष्ठ सिंगापुरबाट पढेर फर्के र साथ दिन थाले । अहिले उनीबाटै दीक्षित प्लास्टिक सर्जनको संख्या पनि ५ पुगिसक्यो । डा. संगम रायमाझी आइओएममै फ्याकल्टी बनिसके । युनिट फैलिएर धेरै काम देखाउन सक्ने भइसक्यो । हाल आएर छुट्टै विभाग भएको पनि दुई वर्षभन्दा बढी भइसक्यो ।

सुरुका दिनमा फाटेका ओठ–तालुका रिकन्स्ट्रक्सन, पोलेर खुम्चिएका र कुरूप भएका अंगहरूलाई सुन्दर बनाउन सकिन्छ भन्ने धेरैलाई ज्ञानै थिएन । एकप्रकारले बिरामी खोज्नुपर्ने नै अवस्था थियो । त्रिवि शिक्षण अस्पतालको प्लास्टिक सर्जरी विभागको चर्चा अहिले देशभर हुने गरेको छ । कहीँ भएन भने शिक्षण अस्पतालमा त पक्का हुन्छ भन्ने जनविश्वास छ ।

२००३ मा स्कटिस फाउन्डेसन फोर सर्जरीको प्रायोजनमा सूक्ष्म शल्यक्रिया (माइक्रोसर्जरी)को ६ हप्ताको फेलोसिप गरेर आएपछि त्रिवि शिक्षण अस्पतालको प्लास्टिक सर्जरी युनिट अझै एड्भान्स भयो । अहिले पनि रगतको नसा, छोएको थाहा पाउने नसा जोडेर हुने माइक्रोस्कोपिक सर्जरी त्रिवि शिक्षण अस्पतालमा नियमित रूपमा हुने गरेको छ ।

अहिले प्लास्टिक सर्जरीका मेजर शल्यक्रिया मात्रै वर्षमा ४–५ सय हुन्छ । माइनर त हिसाबै छैन । थुप्रै विशिष्ट सेवा यहीँ मात्रै पाइन्छन् । यहाँ घाँटीबाट जाने नसामा (ब्रेकियल प्लेक्सस) आउने अवरोधका कारण हात नचल्ने समस्याको शल्यक्रिया हुन्छ । जन्मँदै हात घुमेका बच्चाको उपचार पनि शिक्षण अस्पतालमा हुन्छ । कुल प्लास्टिक सर्जरीको ५ प्रतिशत कस्मेटिक सर्जरी पनि हुन्छ, जसमा परेला मिलाउने, अनुहार तन्काउने, महिलाको स्तनको शल्यक्रिया तथा जन्मजात कान नभएकाको उपचार पनि हुन्छ । जन्मजात कान नभएकामा करङको कुरकुरे हड्डीबाट कान बनाएर कानकै मुनि फोल्ड गरेर ६ महिनापछि कान विकास गरेर फिट गरिन्छ । पुरुषको स्तन बढ्ने समस्या गाइनेकोमास्टियाको शल्यक्रिया पनि आजकाल ठूलो संख्यामा हुन्छ ।

अस्पतालका लागि ‘इन्जिनियर’ डाक्टर

क्लिनिकलतर्फ मात्रै होइन, अस्पतालको भौतिक र प्रशासनिक यात्रामा पनि डा. ईश्वरबाट त्रिवि शिक्षण अस्पतालले बलियो भरोसा पाएको छ । उनी फुर्सद हुनासाथ अस्पतालका वार्ड, कोठा, युनिट घुम्छन् । बत्ती बिग्रिएको छ कि, उपकरण चल्दैन कि, कुनै इलेक्ट्रोनिक मर्मतको काममा उनी सधैँ चाखपूर्वक संलग्न हुन्छन् । पहिलो चरणमा उनी सकेसम्म आफैँ मर्मत गर्न कस्सिन्छन् । यस अर्थमा उनी अस्पतालमा ‘इन्जिनियर’ कहलिएका छन् । उनी कुनै कुराको सोच, योजना बनाउन पनि उत्तिकै अब्बल छन् । अस्पतालका सानादेखि ठूला काममा उनी यो मेरो क्षेत्र र जिम्मेवारीको होइन भनेर पन्छिन्नन् । जे जानेका छन्, गर्छन्, आफ्नै घरजसरी नै । प्राविधिक रूपमा अस्पतालका कुनै पनि शाखामा समस्या आउँदा अधिकांशले सुरुमा उनलाई सुनाउँछन्, मानौँ कि उनी दक्ष प्राविधिक हुन्, अस्पतालका इन्जिनियर । ईश्वर सधैँ नै घरदेखि अस्पतालसम्मका यस्ता सानातिना बिग्रे–भत्केका कुरा आफैँ बनाउन कस्सिन्छन् ।

जिम्मेवारीका हिसाबले उनले अस्पतालमा ४ महिना निमित्तनिर्देशक र ४ महिना उपनिर्देशक भएर काम गरे । तर, कामका हिसाबले उनी अस्पतालका दर्जनहाराहारीका कमिटी र सबकमिटीमा रहेर काम गरिरहेका छन् । उनी शल्यक्रियाकक्ष कमिटीका संयोजक हुन् । उनको दक्षता, सीप र मिहिनेतले अस्पताललाई धेरै फाइदा पुगेको छ । केही समयअघि शल्यकक्षमा चाहिने बल्बको कोटेसन आयो । उनलाई कोटेसनमा प्रस्तावित मूल्य अस्वाभाविक लाग्यो । उनी आफैँ बजार गए । सबै बुझ्दा ५ हजार ७ सयमा कोटेसन परेको ओटी बल्ब १ हजार २ सयमा आउँदोरहेछ । उनले बजारबाटै किनाए ।

इन्डोस्कोपीको बल्ब किन्नेवेला पनि त्यस्तै भयो । ३ लाखको कोटेसन आयो । उनी दौडिएर बुझ्न निस्किए । आखिर त्यो उपकरणको बजारमूल्य १ लाख ४८ हजार रहेछ । रगतका मसिना नसा जोड्न सक्ने सीप भएका यी दक्ष चिकित्सक अस्पतालका क्लिनिकल र प्रशसानिक नसालाई जोडेर व्यवस्थापनमा पनि उत्तिकै कुशलता प्रदर्शन गर्न सक्छन् ।

अस्पतालको फार्मेसी कमिटीको संयोजक पनि उनी नै हुन् । उनी संयोजक भएपछि सेवा २४ घण्टै विस्तार भयो । कर्मचारीलाई दिएको सहुलियतले दैनिक फार्मेसी माइनसमा हुन्थ्यो । २४ घण्टे सेवाको विस्तार, फराकिलो ठाउँमा स्थानान्तरण र औषधिसमेत बढाएपछि अहिले दैनिक ५ लाख सेल्स हुन्छ । यसबाट फार्मेसीले वार्षिक ४ करोड कमाउँछ ।

५ सयभन्दा बढी मिर्गौला प्रत्यारोपण गरिसकेको त्रिवि शिक्षण अस्पतालमा कानुनतः नाताप्रमाणित गर्ने प्रमाणीकरण समितिका संयोजक पनि डा. ईश्वर नै छन् । नेपालमा कागजपत्र त जे पनि बनाइन्छ । त्यसको आधिकारिकता प्रमाणीकरणदेखि आफन्त हो कि होइन छुट्याउन धेरै नै कठिन हुन्छ । त्यसमा पनि उनी आफैँ लागिपर्छन् ।
एकपटक प्रत्यारोपण गर्न लागिएको बिरामी ओटीबाहिर करिडोरमा तयारी अवस्थामा थियो । आफन्त बनेर मिर्गौला दिन आएको व्यक्तिमाथि उनलाई शंका लाग्यो । केरकार थाले । पछि त दाता रुन पो थाल्यो । उनीहरूले तत्कालै प्रहरी बोलाएपछि मिर्गौला किनबेच गर्ने गिरोह नै समातियो ।

‘म ठूलो पोखरी (अमेरिका)को सानो माछा भएर भन्दा सानो पोखरी (नेपाल)को ठूलो माछा भएर बस्छु ।’ अमेरिकामा बसेका भए उनी हजारौँ प्लास्टिक सर्जनका बीच हराएका हुन्थे होलान् । नेपालमा उनको उपस्थितिले धेरै फरक पारेको छ, गहन अर्थ राखेको छ ।

बहुप्रतीक्षित कलेजो प्रत्यारोपण कमिटीका संयोजक पनि उनै हुन् । अस्पताल अनुगमन समितिको संयोजन पनि ईश्वरले नै गर्छन् । अस्पतालका तर्फबाट कुनै अवधारणा बनाउनुप-यो, प्रस्ताव लेख्नुप-यो, चिठ्ठीपत्र तयार गर्नुप-यो, सबैले ईश्वरलाई नै सम्झिन्छन् । हालै स्वीकृत भएको जाइकाको ९० करोडको परियोजनाको प्रस्ताव पनि उनैले लेखेका हुन् ।

श्रीमती डा. बेनु शिक्षण अस्पतालमै रेडियोलोजी विभाग प्रमुख छिन् । छोरा सुमुख र छोरी संज्ञा पढ्दै छन् । एक बहिनी आरती लोहनी न्यौपाने अमेरिकाको भेरियन नामक कम्पनीमा सफ्टवेर इन्जिनियर छिन् । भाइ जगदीश लोहनी नेपालमै विगत ४० वर्षदेखि सामाजिक संस्था ‘युथ भिजन’मार्पmत लागुपदार्थ प्रयोगकर्ताको उपचारमा संलग्न छन् । ईश्वर पनि यस संस्थाको सदस्यको नाताले लागुपदार्थ प्रयोगकर्ताको मेडिकल आवश्यकतामा भाइको काममा सघाइरहेका छन् ।

डा. ईश्वर जीवनमा पैसाका पछाडि कहिल्यै लागेनन् । अहोरात्र खटेर र कमाउनैपर्छ भनेर निजी प्राक्टिसमा कहिल्यै लागेनन् । उनी तोकिएको कार्यालय समयअगावै अस्पताल पुगिसक्छन् र अस्पतालमा काम हुँदासम्म निस्किन्नन् । अस्पतालमा भेट्न नभ्याउने र उनी भनेर खोज्दै आउने बिरामीलाई उनी घरमै पनि समय दिन्छन् ।

५ दशक पार गरिसकेको जिन्दगीलाई फर्केर समीक्षा गर्दा यात्रा र उपलब्धिमाथि गुनासो गर्नुपर्ने ठाउँ भेट्दैनन् उनी । यति सरल रेखामा कमैको मात्र जीवन अगाडि बढ्छ । सम्पत्ति र सुविधा मात्रै खोजेको भए उनलाई अमेरिकातिरै बस्ने अफर आएकै थियो । त्यतिवेला अमेरिकामै बस भन्ने प्राध्यापकलाई दिएको जवाफ अहिले पनि उनी झल्झली सम्झन्छन्, ‘म ठूलो पोखरी (अमेरिका)को सानो माछा भएर भन्दा सानो पोखरी (नेपाल)को ठूलो माछा भएर बस्छु ।’ अमेरिकामा बसेका भए उनी हजारौँ प्लास्टिक सर्जनका बीच हराएका हुन्थे होलान् । नेपालमा उनको उपस्थितिले धेरै फरक पारेको छ, गहन अर्थ राखेको छ ।

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै

जसले सचिव पद छाडिन्, स्वाभिमान छाडिनन्

काठमाडौंको गौरीधाराछेउमै रहेको घर आफैँमा छुट्टै संसार थियो । परालको कुन्युमा लडिबुडी खेल्न होस् वा गाईबाच्छासँग खेल्न होस् कम्पाउन्डबाहिर जानुपर्दैनथ्यो । ब्याडमिन्टन, फुटबलसमेत त्यहीँ हुन्थ्यो । परिवार, ११ जना केटाकेटी त्यही कम्पाउन्डभित्र रमाउँथे । रमाइयो मात्रै होइन, त्यो परिवेश एउटा गुरुकुलसरह थियो । डा. सुधाका हजुरबुबा कुलचन्द्र गौतम, संस्कृत र नेपाली साहित्यका प्रकाण्ड विद्वान्, ‘विद्वत्शिरोमणि’ पदवीबाट विभूषित थिए । बुबा गभर्नर लक्ष्मीनाथ गौतम । सुधा र भाइलाई नजिकैको पण्डितले अमरकोश र अष्टाध्यायीबाट पढाइ सुरु गराएका थिए ।

पूर्वस्वास्थ्यसचिव डा. सुधा शर्माले जीवनमा हासिल गरेको प्रशासनिक र पेसागत उचाइको जग त्यही घर थियो । गौतम परिवारका ११ मध्ये १०औँ सन्तान थिइन् सुधा । उनको औपचारिक शिक्षा कन्यामन्दिर बहुउद्देश्यीय विद्यालयमा कक्षा ५ पछि मात्र सुरु भयो । बुबा आफैँ पनि सुधालाई अंग्रेजी पढाउँथे । पछि राजा महेन्द्रको दबाबका सामु नझुकीकनै गभर्नरबाट राजीनामा दिएपछि अझै उनीसँग छोराछोरीलाई पढाउन र संस्कार दिन थप समय भयो । घरको वातावरणजस्तै महत्वपूर्ण थियो आमाको हौसला । सानैमा पढ्न नपाएर विवाहबन्धनमा बाँधिनुपरेकी आमा छोरीलाई पढ्न निकै हौसाउँथिन् । उनका शिक्षक पनि उस्तै थिए । केदारनाथ न्यौपाने, कृष्णचन्द्रसिंह प्रधान, समरमान तुलाधर, राजभाइ तुलाधरजस्ता शिक्षकबाट मिहिनेत र अनुशासन सिकिन् सुधाले । घरमा पढ्ने वातावरण, सुधा २०२८ सालको प्रवेशिका परीक्षामा १ अंकले बोर्डमा परिनन्, अर्थात् ११औँ । छात्रातर्फ भने प्रथम ।  सुधाले प्रवेशिका पूरा गर्दासम्म घरमा कोही डाक्टर बनिसकेका थिए त कोही पढ्दै थिए । दाजु प्रसन्नचन्द्र, भाउजू, दिदी, भिनाजु पनि डाक्टर । पढाइमा अब्बल सुधाको डाक्टर बन्ने सपनामा कुनै तगारो आएन । उनले अमृत साइन्स कलेजबाट आइएससी र कोलम्बो प्लानअन्तर्गत भारतको राँचीस्थित राजेन्द्र मेडिकल कलेजबाट एमबिबिएस पूरा गरिन् ।

गड्यौला समात्दै उम्रियो, डाक्टर बन्ने सपना
त्यतिवेला उनी ५–६ कक्षमा पढ्दै थिइन् । दाइ आइएससी पढ्दै । दाइ घरमै गड्यौला संकलन गरेर मैनको प्लेटमा राखेर चिर्थे । सुधा गड्यौला समात्न सघाउँथिन् । त्यतिवेलै साइन्स पढ्ने, डाक्टर बन्ने सपनाको बिउ रोपियो । उनी विद्यालयमा निबन्ध लेख्दासमेत डाक्टरै बन्छु भनेर लेख्थिन् । डाक्टर बनेर बिरामीको सेवा गर्ने धोको थियो, त्यसमा सधैँ परिवारले ‘इन्करेज’ गरिरह्यो ।

राँची जाँदा बुबाले सम्झाउँदाको क्षण
आइएससी सिध्याउँदा उनी भर्खर १७ वर्ष टेकेकी मात्रै थिइन् । त्यति मात्र होइन, पहिलोपटक घर छोडेर विदेश यात्रा हुँदै थियो । आमाबाबुको छोराछोरीप्रति भरोसा मात्रै होइन, उदारता पनि थियो । अघिल्लो दिन बुबाले सम्झाए, ‘छोरी, तिमी भोलि बाहिर जाँदै छौ, यताउति नगर्नू, ब्वाइफ्रेन्ड हुन सक्छन्, तिम्रो पढाइमा डिस्टर्ब होला, ख्याल गर, राम्रो पढ्नू, मुख्य ध्यानचाहिँ नछोड्नू, हाम्रो कुलको पृष्ठभूमि यही हो ।’ बुबाको सम्झाइमा आदेश नभएर प्रेम थियो । सुधालाई बुबाको कुराले धेरै मन छोयो, उनले पढाइमा कहिल्यै सम्झौता गरिनन् ।

विवाहको कुरा भइरहेको छ भन्ने हल्ला होस्टलभरि फैलियो । भेटसमेत भएको थिएन विजयसित । दाइको विवाहमा पनि विजय कोलकातामा पढ्दै थिए, जन्त आएका थिएनन् । एमबिबिएस पढ्दापढ्दै सुधाका बुबा बितिसकेका थिए । अभिभावक दाइले विवाह गर्ने कुरा सोधेपछि उनले नाइँ भन्न सकिनन् ।

एमबिबिएस पढ्दापढ्दै विवाह
एमबिबिएस अन्तिम वर्ष पढ्दै थिइन्, दिदीका देबर डा. विजयकुमार शर्मासँग विवाहको कुरा चल्यो । डा. विजय दिल्लीमा भर्खर एमएसमा भर्ना भएका थिए । उनी कांग्रेस नेत्री, पूर्वसांसद एवम् मन्त्री लीला कोइरालाका भानिज हुन् । लीलाकी छोरी पनि राँचीमै एमबिबिएस पढ्न आइन् । विवाहको कुरा भइरहेको छ भन्ने हल्ला होस्टलभरि फैलियो । भेटसमेत भएको थिएन विजयसित । दाइको विवाहमा पनि विजय कोलकातामा पढ्दै थिए, जन्त आएका थिएनन् । एमबिबिएस पढ्दापढ्दै सुधाका बुबा बितिसकेका थिए । अभिभावक दाइले विवाह गर्ने कुरा सोधेपछि उनले नाइँ भन्न सकिनन् । ‘प्रायः फाइनल इयरमा कोही पनि विवाह गर्न तयार हुन्नन् । पढाइ राम्रै थियो, असर नपर्ने लाग्यो, हुन्छ भनिदिएँ,’ सुधा सम्झिन्छिन् । ०३६ को जनमतसंग्रहमा दुवैजना भोट हाल्न आएको समय थियो, सामान्य तरिकाले विवाह भयो । विजय बिपी कोइरालाका सालो हुन्, तडकभडक र फाल्तु खर्च गरेर विवाह गर्न पनि त मिल्दैनथ्यो ।

विवाहपछि सुरु भयो संघर्ष
विवाह हुँदाका बखत श्रीमान् विजय पनि पढ्दै थिए । विवाह भएपछि सुधा श्रीमान्सँग गोरखपुर हुँदै दिल्ली गइन् । केही समय सँगै बसे । श्रीमान्को पिजी ड्युटी कडा हुन्थ्यो । सुधा श्रीमान्लाई भेट्न बारम्बार राँचीबाट दिल्ली गइरहन्थिन् । रातभरको रेलयात्रा गर्नुपथ्र्यो । अब्बल विद्यार्थी भएकाले र भर्खर पढेका विषयवस्तु ताजै हुनाले कतिपय कुरा श्रीमान् र उनका साथीहरूलाई समेत सुधा सिकाइदिन्थिन्, पछि उनलाई सर्जरी विजयले सिकाए । त्यतिवेला भारतमा डा. शेखर कोइराला, डा. ध्रुव शर्मालगायत थुप्रै नेपाली डाक्टर पढ्दै थिए । डा. शशांक र डा. शेखरकी माइजू भएकाले उनी सबैकी माइजू भइन् । सुधा दिल्ली जाँदा श्रीमान् र नेपाली साथीहरूलाई समेत खाना पकाएर खुवाउँथिन् ।
फाइनल इयर पास गरेपछि सुधाको इन्टर्नसिप चलिहरेकै वेला पहिलो सन्तानका रूपमा छोरा जन्मियो । श्रीमान्को घर काठमाडौंमा थिएन । उनी सुत्केरी हुँदा काठमाडौं माइतीमै बसिन् । १९ दिनको छोरा आमासित छोडेर सुधा एमबिबिएसको प्रमाणपत्र लिन राँची गइन् । त्यसपछि उनको पेसागत करिअर सुरु भयो । त्यतिवेला ‘डाक्टर पाउन जति गाह्रो थियो, त्योभन्दा गाह्रो डाक्टरले काम पाउन थियो,’ सुधा सम्झिन्छिन् । सुरुको १ वर्ष ज्यालादारी काम मात्र पाइयो । नेपाल फर्किएपछि उनीहरू धोबीधारामा गणेशराज शर्माको घरनजिकै डेरा लिएर बस्थे । गणेशराजकी श्रीमती सुधाकी आमाजू, उनले छोराको रेखदेख गरिदिन्थिन्, सुधा प्रसूतिगृहमा काममा जान्थिन् । १३ महिनाको फरकमा सुधाको अर्को सन्तान छोरी जन्मिइन् । बच्चाहरू हुर्कंदै थिए, तर पढाइ पूरा भएको थिएन ।


०३९ मा पतिपत्नी दुवैजना लोकसेवा लडे । स्वास्थ्य मन्त्रालयअन्तर्गत नै काम गर्ने सोच बनाएर दुवैजना भरतपुरतिर लागे । त्यतिवेलाको लोकसेवाको फर्ममा सबै परिवारको नाम लेख्नुपर्ने । विजय र सुधा एकैपटक फर्म भर्न गएका थिए । विजयको परिवार १० जनाको, सुधाको ११ । अन्तर्वार्ता लिने चिकित्सकले समेत जिस्काउँथे, ‘बुबा र सुसुरा सल्लाह गरेजस्तो छ नि !’ त्यतिवेला त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थानमा पनि विज्ञापन खुलेको थियो । दुवैजनाको दुवैतिर नाम निस्कियो । तर, डा. विजयले शल्यचिकित्सामा विशेषज्ञता हासिल गरेको भए पनि कम्युनिटी मेडिसिन विभागबाट छिर्नुपर्याे । उनीहरू लोकसेवातिरै लागे । अर्कोतिर सुधालाई जतिसक्यो छिटो पढ्न जानु थियो । आइओएममा आबद्ध भएको भए त्यो अवसर चाँडै आउँथ्यो । तर, साना बच्चा कहाँ छाडेर जानु ? त्यसैले उनले श्रीमान्सँगै चितवन जाने बाटो रोजिन् । अमेरिकामा रहेका दाजु अरुण शर्माले उतै आउन धेरै कर गर्दा पनि उनीहरू दुवैले नेपालमै बसेर सेवा गर्ने अठोट गरेका कारण गएनन् ।

१५ रूपैयाँ चिकित्सा शुल्क ?
चितवनमा अस्पतालको क्वार्टर र श्रीमान्–श्रीमती सँगै भएकाले जीवन अलि सहज भयो, बच्चाले पनि समय पाए । आकस्मिक केस आउँदा झट्ट जान पनि पाइने । अर्कोतिर त्यतिवेला चितवनजस्तो ठाउँमा राम्रो सर्जन कोही थिएन । डा. विजयको अस्पताल र क्लिनिकमा समेत भ्याईनभ्याई हुन थाल्यो । बिपीका साला भनेपछि पञ्चायतको समयमा धेरै कांग्रेसी खोजीखोजी आउँथे । त्यतिवेला सरकारले प्राइभेट प्राक्टिसका लागि एउटा बिरामीसँग लिन पाइने शुल्क १५ रूपैयाँ तोकेको थियो । बिहान उठ्दा ६ बज्दानबज्दै आँगनभरि बिरामी हुन्थे । फेरि ९ बजे अस्पताल र २ बजेपछि क्लिनिक । जंगमान भन्ने प्रयोगशालाका टेक्निसियन दाइले इथर खन्याएर बिरामी बेहोस् (एनेस्थेसिया) पारिदिन्थे, विजय शल्यक्रिया गर्थे, एनेस्थेटिस्ट थिएनन् । कुनै जटिलता नहोस् भनेर सुधा बीचबीचमा अप्रेसन थिएटरमा चियाउन पुग्थिन् । त्यतिवेलाको चितवनको कमाइले उनीहरूले बाँसबारीमा जग्गा जोडे ।

त्रिवि शिक्षण अस्पतालमा डिप्लोमा इन गाइनो अब्स तालिम (डिजिओ) खुल्यो । सुधाले एक वर्ष काठमाडौं आएर सो कोर्स गरिन् । डिजिओ पढ्न काठमाडौं आएकै वेला सुधाले घर बनाइन् । डा. मणीन्द्ररञ्जन बराल (सुधाका भिनाजु)ले भनसुन गरिदिएर धेरै सामान उधारोमा जोहो गरिदिए । घर बन्यो । घर बनेपछि काठमाडौंमा बच्चालाई राख्ने छानो भयो । त्यसपछि दुवैजनाको विराटनगर पोस्टिङ भयो । छोटै अवधिको तालिमले भए पनि उनले विराटनगरमा राम्ररी प्रसूति सेवा दिइन् । तर, मनमा पढाइ पुगेको छैन भन्ने लागिरहेकै थियो । दुवै डाक्टर, दुवै व्यस्त । छोराछोरीको हेरचाह कठिन भयो । राति घर फर्किंदा खाए कि खाएनन् भन्ने तनाव । कमजोर होलान्, बिग्रेलान् भन्ने डर । विराटनगरबाट नजिकै दार्जिलिङमा पढाउने मन थियो, तर गोरखाल्यान्ड आन्दोलनका कारण डर भयो । बच्चाहरूलाई देहरादुनको होस्टलमा राखेर पढाउन थाले । बच्चाहरूलाई आफूसँगै राख्न नसकेको पछुतो अझै पनि छ सुधालाई ।

विशेषज्ञ पढाइ
सुधाले प्रसूति तथा स्त्रीरोग विशेषज्ञ कोर्सका लागि एमआरसिओजीको पार्ट १ परीक्षाको तयारी थालिन् । पहिलो चरणको परीक्षा पास गरिन् । पढाइको तयारीका लागि वीर अस्पतालमा काजमा आइन् । त्यहीबीचमा श्रीमान्लाई बेलायतमा ६ महिने तालिमको अवसर मिल्यो । सुधालाई पनि लाग्यो, सँगै गएर आफू पनि पढ्छु र काम खोज्छु । बेलायत गइन् र विज्ञापन हेर्दै कामका लागि निवेदन दिन थालिन् । उनले म्यानचेस्टर भन्ने ठाउँको एउटा अस्पतालमा काम पाइन् । त्यतिवेला कलेजले काम खोजिदिएर जनरल मेडिकल काउन्सिलको लिइदिने प्रक्रियाबाट जानुपथ्र्यो, तर सुधा भने आफ्नै प्रयासले सफल भइन् । श्रीमान् नेपाल फर्केपछि छोराछोरीलाई काठमाडौं ल्याएर एलिट स्कुलमा भर्ना गरियो । बेलायतमा फरक–फरक अस्पतालमा कामसहित छोटो अविधिका कोर्सहरू गर्ने, अन द जब तालिम गरेर परीक्षा दिने पद्धति थियो । कडा मानिने एमआरसिओजीको परीक्षा पनि सुधाले एकैपटकमा पास गरिदिइन् । १२ वर्षको क्लिनिकल र अध्यापन अनुभवपछि उनले बेलायतको एफआरसिओजी उपाधि पाइन् । बेलायतबाट विशेषज्ञ पढाइ सकेर सुधा सन् १९९४ को अन्तमा नेपाल फर्किइन् र १९९५ देखि प्रसूतिगृहमै काम थालिन् । पढाइ त पूरा भयो, तर पढाइअनुसारको दरबन्दी थिएन । बेलायत पढ्न जानुपूर्व उनी तृतीय श्रेणीमा थिइन्, फर्केर आएपछि पनि तृतीय श्रेणीमै । प्रसूतिगृहमा टिचिङ युनिटमा काम पाइन् । टिचिङ युनिटमा काम बढी हुन्थ्यो । पढाउनेले हप्ताको २ दिन २४ घण्टे ड्युटी गर्नुपथ्र्यो, अरूले एक दिन । दैनिक कामको समय पनि ९ देखि ५ सम्म, अरूलाई ९ देखि २ । तर, यसरी बढी काम गरेबापत शिक्षकको ‘रिकग्निसन’, तलबभत्ता आदि केही दिइएको थिएन । काममै रमाउने सुधा विद्यार्थीलाई पर्याप्त समय दिन्थिन् । उनलाई विद्यार्थीले औधी रुचाए र पछि नेसोगको चुनावताका धेरै मद्दत गरे ।

पेसागत नेतृत्व यात्रा
यही अवधिमा स्त्री तथा प्रसूतिरोग विशेषज्ञहरूको साझा संस्था नेसोगको नेतृत्वतर्फ उनको यात्रा अगाडि बढ्यो । त्यतिवेला अध्यक्ष थिइन् डा. विमला लाखे । उनले सुधालाई एउटा वर्कसपको नेतृत्व गर्ने जिम्मेवारी दिइन् । पहिलो काम नै लाखेलाई चित्त बुझेछ । उनले एकैपटक सुधालाई संस्थाको महासचिव बन्न प्रस्ताव गरिन् । कार्यसमिति सदस्यसमेत नभएको मान्छे एकैपटक महासचिव । सायद सुधालाई लिडरसिप क्षमतामा सिनियरहरूले समेत विश्वास गरेका थिए ।

८ वर्षसम्म नेसोगको कार्यकारी पदमा बसेर काम गरेको अनुभव सँगालेकी उनलाई एनएमएको नेतृत्व गर्ने रहर जाग्यो । उनले म अध्यक्ष बन्छु भनिन् । एनएमएमा जित्न प्यानलमै पर्नुपर्ने अवस्था थियो ।

नेसोगले उनलाई व्यावसायिक यात्रामा एउटा एभिन्यु दियो । सुधाले प्रस्ताव लेखेर स्त्रीरोग विशेषज्ञको अन्तर्राष्ट्रिय संस्था (ओसिया फेडेरेसन)बाट परियोजनासमेत ल्याइन् । जिल्ला–जिल्ला घुमेर थुपै्र काम गरिन् । अर्कोपटक नेसोगको अध्यक्ष हुने वरिष्ठ उपाध्यक्ष जितिन् । महासचिव, वरिष्ठ उपाध्यक्ष र अध्यक्षपछि निवर्तमान अध्यक्षका रूपमा पनि नेसोगको कार्यसमितिमा रहेर ८ वर्ष सेवा गरिन् । त्यहीबीचमा उनले चिकित्सकहरूको साझा संस्था नेपाल चिकित्सक संघ (एनएमए)मा जर्नलको सम्पादक सदस्यको रूपमा काम थालिन् । अध्यक्ष डा. आनन्द श्रेष्ठ थिए । सुधाले छोटो समयमै जर्नल प्रकाशनलाई व्यवस्थित गरिन् । ८ वर्षसम्म नेसोगको कार्यकारी पदमा बसेर काम गरेको अनुभव सँगालेकी उनलाई एनएमएको नेतृत्व गर्ने रहर जाग्यो । उनले म अध्यक्ष बन्छु भनिन् । एनएमएमा जित्न प्यानलमै पर्नुपर्ने अवस्था थियो । अध्यक्षमा चर्चा भइरहेका एकजना डाक्टरलाई फोन गरेर सुधाले ‘तपाईं उठ्ने भए म उठ्दिनँ’ भनिन् । ती डाक्टरले ‘हैन, म उठ्दिनँ, तपाईं उठ्नुस्’ भने । सुधा मनोनयन दर्ता गर्न गइन् । तर, पछि पो थाहा भयो, ती डाक्टरले त मनोनयन दर्ता गराइसकेका रहेछन् । श्रीमान् घरमा थिएनन्, सरसल्लाह हुनै पाएको थिएन, तत्काल चुनाव प्रचार–प्रसारमा लाग्नुपथ्र्यो । उनी पहिलोपटक उम्मेदवारी नदिई फर्किइन् ।

अर्को २ वर्षपछि चुनाव नजिकियो । तर, उनले यसपटक पनि टिकट पाउने सम्भावना देखिएन । उनी पछाडि हट्ने कुरै थिएन । अघिल्लोपटक नै सिनियरको नाममा छोडिसकेकी थिइन् । उनीविरुद्ध दुईजना पुरुष डाक्टर उठे, बाजी उनले नै मारिन् । संघको नेतृत्व उनको हातमा आइपुग्यो । पहिलोपटक महिला चिकित्सकले संघको नेतृत्व गरेको अवस्था थियो । उनी निकै भाग्यमानी पनि साबित भइन् । काम गरेर देखाउने प्रशस्त अवसर प्राप्त भए ।

दोस्रो जनआन्दोलनको मोर्चा
देशको राजनीतिक परिवर्तनको हिसाबले अत्यन्तै संवेदनशील समयमा उनले नेतृत्व पाइन् । ०६२/६३ को जनअन्दोलन थियो, पेसागत संस्थाहरू एउटै संगठन (पापड) बनाएर आन्दोलनमा थिए । यसमा आबद्ध ६ वटा संस्थाले पालैपालो २–२ महिनाको नेतृत्व लिने प्रावधान थियो । पत्रकार महासंघपछि पापडको नेतृत्वमा चिकित्सक संघ आउनुपर्ने थियो । सुधालाई प्यानलमा पार्न नखोज्नेहरू जनआन्दोलनमा चिकित्सक संघको उपस्थिति कमजोर हुन्छ भनेर प्रचार गर्दै हिँडेका थिए । तर, उनले पापडको नेतृत्व लिइन् । यो उनका लागि नेतृत्वक्षमता प्रमाणित गर्ने चुनौती र अवसर पनि थियो । जनआन्दोलन चर्किसकेको थिएन । दलहरूलाई राजाले निषेधको अवस्थामा पु¥याएका थिए । पेसागत संगठनहरू लोकतन्त्रका लागि अगाडि बढ्दै थिए । माइतीघर मण्डला निषेधित क्षेत्र थियो । पापडले निषेधित क्षेत्र तोड्यो । मण्डलामा सुधालगायत पापडका नेतृत्वकर्ताहरूले सम्बोधन गरे ।

स्वास्थ्यमन्त्री निक्षशमशेर जबरा थिए । मन्त्रीले सुधालाई मन्त्रालयमा बोलाए । ५ बजेको थियो । मन्त्री निक्षले उनलाई भने, ‘एक लाख मान्छे सडकमा उत्रिएर आन्दोलन सफल हुन्छ ? किन यस्तो गर्नुहुन्छ ? हामी तपाईंलाई कारबाही गर्छौं ।’ तर, मन्त्री जबरा निकै स्मार्ट थिए । सुधाले मन्त्रीलाई भनिन्, ‘हजुर राजासँग एकदम नजिक हुनुहुँदोरहेछ त सम्झाइदिए भयो नि ! एक लाख जनता भनेर कम नआँक्नुस्, धेरै जनता बाहिर बसेर हेरिरहेका छन् । आन्दोलन चर्कियो भने सबैजना यता ढल्किनेवाला छन्, यो म्यासेज पु¥याइदिनुभए हुन्छ,’ उनले थपिन्, ‘बाँकी, कारबाहीले केही फरक पर्दैन, डाक्टर हुँ औषधिपसलमा वा एउटा रुखमुनि बिरामी जाँचेर पनि आफ्नो ज्यान त पाल्न सकिहाल्छु । केही लोभ र डर पनि छैन मलाई ।’

मन्त्रालयले स्पष्टीकरण पनि सोध्यो । जवाफ ठेलिदिइन्, ‘पेसागत रूपमा म डाक्टर हुँ र सरकारी कर्मचारी पनि हुँ । त्यसकारण मैले दुईवटै धर्म पालना गर्नुपर्छ । के गर्नुपर्छ मलाई सबै राम्रोसँग थाहा छ, नियमबमोजिम गरिने जुनसुकै कारबाही सहन्छु ।’ कारबाही नै चाहिँ गर्न सकेनन्, आन्दोलन सफल भइहाल्यो । आन्दोलनको तयारीलगायत अन्य विषयमा पनि धेरै मिटिङ पर्थे । संघमा आफैँले बनाएको टिम थिएन । त्यसमा पनि चुनावको रणनीतिअनुसार देशभरबाट कार्यसमितिमा डाक्टरहरू राखिएका हुन्थे । कार्यसमितिमा अध्यक्ष मात्र फरक प्यानलबाट जितेर आएको । बैठकका लागि भेला गर्नसमेत मुस्किल । केही पदाधिकारी र सदस्यको साथ लिएर उनले आन्दोलनको मोर्चा तताइन् । जनआन्दोलनपछि फेरि स्वास्थ्यसंस्था तोडफोडका ठूला–ठूला घटना भए । त्यस्ता परिस्थितिको पनि उनले सामना गरिन्, जसले सोसिअल ‘रिकग्निसन’ दिएको बुझाइ छ डा. सुधाको । जनआन्दोलन सफल भएपछि सरकारले आन्दोलन घाइते उपचार समन्वय समिति गठन ग¥यो, त्यसमा समेत सुधालाई नै जिम्मेवारी आयो । त्यसको अफिस संघकै एउटा कोठामा राखेर काम सुरु गरिन् । त्यति ठूलो आन्दोलनका घाइतेको प्रकृतिका आधारमा वर्गीकरण र निराकरण उनकै नेतृत्वमा भयो । धेरै विशेषज्ञ चिकित्सकले उनलाई साथ दिए, जसका प्रति उनी सदा आभारी छिन् ।

मन्त्रालयले स्पष्टीकरण पनि सोध्यो । जवाफ ठेलिदिइन्, ‘पेसागत रूपमा म डाक्टर हुँ र सरकारी कर्मचारी पनि हुँ । त्यसकारण मैले दुईवटै धर्म पालना गर्नुपर्छ । के गर्नुपर्छ मलाई सबै राम्रोसँग थाहा छ, नियमबमोजिम गरिने जुनसुकै कारबाही सहन्छु ।’

उनले युद्धविराम आचारसंहिता अनुगमन समितिमा समेत काम गरिन्, जसले उनलाई राजनीतिक मुद्दाहरू केलाउन र बुझ्न मद्दत मिल्यो । त्यतिवेलासम्म डा. सुधा प्रसूतिगृहमा कार्यरत थिइन् । जनआन्दोलनमा निर्वाह गरेको भूमिका देखेर उनलाई मन्त्रालयको चिकित्सा सेवा महाशाखा प्रमुख बन्न अफर आयो । तर, उनले त्यहाँभन्दा प्रसूतिगृहमा बिरामी जाँचेर बस्न नै ठिक ठानिन्, गइनन् । लोकसेवाको खुला प्रतियोगिताबाट बढुवा भएर कन्सल्टेन्ट भएपछि र ५ वर्ष रातदिन नभनी गरेको प्राज्ञिक कामको प्रतिफलस्वरूप न्याम्सबाट प्रिसेप्टर भनेर एसोसिएट प्रोफेसर सरहको पद उनले पाइन् । बल्ल पढाएको समेत पारिश्रमिक आउन थाल्यो । पढाउँदै जाँदा पछि प्राध्यापक र अस्पताल निर्देशकसमेत भइन् ।

खुलाबाटै प्रथम श्रेणी
सन् २००० तिरको कुरा हो, उनी नेसोगमा काम गर्दागर्दै लोकसेवामा खुला प्रथम श्रेणीमा विज्ञापन खुल्यो । उनले परीक्षा दिइन् । उनी सरकारीतर्फ अझै तृतीय श्रेणीमै थिइन् । एकैपटक उनले प्रथमश्रेणी बढुवामा खुला प्रतिस्पर्धाबाट नाम निकालिन् । सुधालाई सधैँ आफ्नो क्षमतामा विश्वास थियो र प्रमाणित पनि गरेरै अगाडि बढिरहिन् ।
पदस्थापन वीरगन्ज भए पनि उनी प्रसूतिगृहमा पढाउने पनि जिम्मेवारी भएकाले त्यहीँ सरुवा मागिरहेकी थिइन् । सुरुको एक महिना त काजमा काठमाडौं बसिन् । कर्मचारीले एक महिनाभन्दा बढी काजमा राख्न मिल्दैन भने । त्यसवेला स्वास्थ्यमन्त्री कमल थापा थिए । मन्त्रीलाई भेटिन्, पढाउनुपर्ने हुनाले सरुवा हुन्छ भने पनि काम भइरहेको थिएन । केही महिनापछि एउटा सार्वजनिक कार्यक्रममा मन्त्रीले देखेर सोधे, ‘तपाईंको काम भयो ?’ उनले छैन भनेपछि मन्त्रालय पुगेर मन्त्रीले रोकिनुको कारण सोधखोज गरेछन् । त्यसपछि पोस्टिङ प्रसूतिगृहमै भइहाल्यो । यसरी उनलाई काम गर्ने वातावरण बनाइदिएर मन्त्रालयले सहयोग ग¥यो ।

अनि एमपिएच
नेसोगमा काम गर्दै गर्दा उनको दातृनिकायसँग पनि सम्बन्ध राम्रो भयो । दिल्लीमा एउटा किशोरकिशोरी स्वास्थ्यसम्बन्धी सम्मेलन थियो । त्यहाँ भाग लिएर फर्किएपछि उनले मन्त्रालयमा यो विषयमा एउटा प्रस्ताव बनाएर काम गरौँ भनिन् । मन्त्रालयका एकजना वरिष्ठ अधिकारीले तिमी क्लिनिकल हेल्थको मान्छेले यस्तो काम गर्न सक्दैनौ भने । सुधालाई साह्रैै इख गढ्यो । मैले के जानेको रहेनछु हेर्छु भनेर पब्लिक हेल्थ पढ्ने निधो गरिन् । उनले श्रीमान् र छोराछोरीलाई सुनाइन् ।
छोराछोरी डाक्टरी पढ्दै थिए । ‘अब किन पढ्नु ?’ भने । उनले परिवारलाई सम्झाइन्, ‘यो उमेरमा अरू गहना खोज्छन्, मेरा लागि म गहना किन्दिनँ, पब्लिक हेल्थ पढ्छु ।’ उनले चिकित्साशास्त्र अध्ययन संस्थानमा प्रवेश परीक्षा दिइन् । नाम पनि निस्कियो, असाधारण बिदा लिएर उनले पढिन् । उनले आइओएम टप नै गरिदिइन् । पछि त्यही पढाइ नै तान्जानियामा स्वास्थ्य र पोषण प्रमुख भएर काम गर्न काम लाग्यो । एमबिबिएसपछिका सबै अध्ययन सुधाले बेतलबी बिदा लिएर आफ्नै खर्चमा गरेकी हुन् ।

नेतृत्व निर्देशकको
जनआन्दोलनपछि प्रसूतिगृहमा डा. कस्तुरी मल्लको निर्देशकको कार्यकाल सकिएको थियो । स्वास्थ्यमन्त्री गिरिराजमणि पोखरेलले डा. सुधालाई निर्देशक बनिदिनुप¥यो भने । जनआन्दोलनको भूमिका देखेर मन्त्रीले प्रस्ताव गरेका होलान् । जनआन्दोलनमा म निजी स्वार्थका लागि लागेको हैन भन्ने ठानेर उनले सुरुमा मानिनन् । प्रसूतिगृहमा उनीभन्दा सिनियर अरू पनि थिए । उनले आफूभन्दा वरिष्ठ डा. सुधा थापालाई निर्देशक बनाउन मन्त्रीलाई सल्लाह दिइन् ।  मन्त्री पोखरेलले थापालाई बोलाएछन् । सुधा थापाले पनि म हैन, डा. सुधा शर्माले नेतृत्व गर्न सक्छिन्, उनैलाई दिनू भनिछिन् । मन्त्रीले फेरि आग्रह गरेपछि सुधाले स्विकारिन् । वरिष्ठ हुँदाहुँदै जुनियरलाई निर्देशक भन्नुपर्दा अरूलाई नराम्रो लाग्न सक्छ भन्नेमा उनी सचेत थिइन् । उनले सुधा थापालाई प्रस्ताव गरेकै कारण उनी निर्देशक भएर जाँदा सबैले वरिष्ठताको सम्मान गरेर आएको रूपमा लिए र सिनियरहरू सबैले सहयोग गरे । जुनियरहरू त सबै उनलाई सहयोग गर्ने नै थिए । निर्देशक बनेपछि सुधालाई एउटा चुनौती महसुस भयो । के–के गर्ने त ? अस्पतालभित्र पस्दैदेखि जुरेली चराले बिस्ट्याएको भित्ताभरि कटकटिएर बसेको थियो । चारैतिर फोहोर । जिम्मेवारी लिएपछि रातभर निद्रा पर्दैनथ्यो । सुरुमै रेलिङमाथि फ्रेम हालेर चरा नपस्ने बनाउन लगाइन् । वर्षौंदेखिको फोहोर सफा भयो, भित्ता रंगाएर सेता बनाइए ।

उनले बिहान ९ बजे अस्पतालमा नियमित बैठक बसेर बिरामीको ह्यान्डओभर लिने सिस्टम सुरु गरिन् । नत्र सिनियरजति सबै क्लिनिक सिध्याएर आउँथे । जुनियरले राउन्ड गरेर बिरामीको अवस्था सुनाउँदासुनाउँदै १२ बजिसक्थ्यो । फेरि सिनियरले राउन्ड गर्नुपर्ने, अनि ल्याबको रिपोर्ट आउन ढिलाइ हुने आदि कारणले गम्भीरखालका बिरामीले विशेषज्ञसेवा पाउन समस्या परिरहेको थियो । ९ बजेको मिटिङ सुरु भएपछि पहिला सिनियरहरूको फोकस गम्भीरखालका बिरामीमा जान थाल्यो । मातृशिशु मृत्युदर घट्यो र सेवाको गुणस्तर पनि राम्रो हुन थाल्यो । उनले अस्पताल सफाइको अभियानसमेत चलाइन् । अभियानमा सबैको सार्थक साथका लागि आफूले सबैभन्दा फोहोर ट्वाइलेट सफा गर्थिन् । पछि नियमित रूपमा शुक्रबार अस्पताल क्लिनिङ डे भनेर सफा गर्न थालियो । जहाँ जसको ड्युटी छ, त्यहीँ सफा गर्ने नियम बन्यो । केही दिनको अन्तरमा उनी अनुगमनमा निस्किइन् । सफाइको काम ठेक्कामा थियो । कर्मचारीले सफा गरेपछि ड्युटी इन्चार्जले सही गरिदिने नियम बसालिएको थियो । ड्युटी इन्चार्जले २ बजे नै ५ बजेको हस्ताक्षर गरिदिइसकेको, फोहोर भात, स्यानटरी प्याड जताजतै फालिएको थियो । सुधाले राम्ररी सम्झाएर अनुगमन पनि बढाउँदै सिस्टम बसालिन् ।

त्यतिवेला गंगालालमा डा. भगवान कोइराला निर्देशक थिए । उनले शून्य बेरुजु बनाएका थिए । यसले सुधालाई पनि ‘मोटिभेसन’ दियो । उनले पनि आन्तरिक लेखापरीक्षण गराइन् । सोक्रममा एक करोड रूपैयाँ रेकर्ड नभएको रकम बैंक खातामा भेटियो । उस्तै निर्देशक भएको भए, त्यो पैसा जे गर्न पनि सक्थे ।

त्यतिवेला गंगालालमा डा. भगवान कोइराला निर्देशक थिए । उनले शून्य बेरुजु बनाएका थिए । यसले सुधालाई पनि ‘मोटिभेसन’ दियो । उनले पनि आन्तरिक लेखापरीक्षण गराइन् । सोक्रममा एक करोड रूपैयाँ रेकर्ड नभएको रकम बैंक खातामा भेटियो । उस्तै निर्देशक भएको भए, त्यो पैसा जे गर्न पनि सक्थे । सुधाले यी सबै कुरालाई व्यवस्थित गराएर शून्य बेरुजु गराइन् । प्रसूतिगृहमा चाप उस्तै थियो । धेरै जोखिम नभएका, नर्सले समेत सुत्केरी गराउन सक्ने र उच्च जोखिम भएका सुत्केरी एकै ठाउँमा हुन्थे । जसले गर्दा लो रिस्कको चापले हाइरिस्कलाई समेत ध्यान दिन नभ्याइने । उनले लो रिस्क बर्थिङ युनिट सुरु गरिन्, जहाँ नर्सहरूले नै प्रसूति गराउँथे । छुट्टाछुट्टै क्युबिकलहरूमा श्रीमान्समेत बस्न मिल्थ्यो, जसले महिलालाई ‘मोरल सपोर्ट पनि मिल्ने भयो ।’ हाई रिस्क एरियामा नर्मल बिरामीको लोड कम भयो, गम्भीर बिरामीले बढी ‘अटेन्सन’ पाउन थाले । अहिले यो अवधारणा धेरै अस्पतालले ‘क्यारी’ गरेका छन् ।

प्रसूतिगृहअगाडिको नर्भिक अस्पताल आइएसओ स्ट्यान्डर्डको थियो । प्रसूतिलाई पनि के गरेर यो स्ट्यान्डर्डमा पु¥याउने भन्ने लाग्यो । उनले नर्भिकमा यो स्ट्यान्डर्ड हेर्ने डाक्टर भारत रावतकी श्रीमती अञ्जलीलाई भेटिन् । उनलाई बोलाएर अस्पतालको सम्पूर्ण टिमलाई कक्षा लिन आग्रह गरिन् । प्रक्रिया बुझिन् र प्रसूतिगृहलाई पनि यो सर्टिफिकेट पाउने दिशामा अग्रसर गराउँदै सेवाका न्यूनतम मापदण्डहरू निर्धारण गर्ने काम गराइन् । उनले निर्देशक हुँदा बाटोतर्फको ठूलो भवन निर्माण सुरु गराइन् । त्यतिवेला ठेकेदार र इन्जिनियरलाई उनले लागतमा डिस्काउन्ट मागिन् । उनीहरूले ६० लाख डिस्काउन्ट गरिदिए । सायद अरू कोही भएको भए त्यो कमिसन हुन सक्थ्यो, उनले सम्झौतामै डिस्काउन्ट भनेर लेख्न लगाइन् । कतिपयले उनलाई यो पैसा घटाउन लगाएपछि ठेकेदारले कमसल भवन बनाउँछ भनेर समेत त्रास देखाए । उनले ‘मैले कमिसन लिएको भए पो कमजोर बनाउँछ’ भनिन् । पछि २०७२ मा भूकम्प गयो, त्यो भवन केही भएन भन्ने थाहा पाएपछि ढुक्कको सास फेरिन् । त्यसपछि उनलाई लाग्यो, सही काम गर्दा परिणाम गलत आउँदैन रहेछ ।

स्वास्थ्य–सचिव
पुष्पकमल दाहाल प्रधानमन्त्री थिए । सामान्य प्रशासनमन्त्री पम्फा भुषाल, मुख्यसचिव भोजराज घिमिरे थिए । सचिव हुने सूची लिएर मुख्यसचिव मन्त्रीकहाँ गएछन् । मन्त्री भुषालले सोधिछन्, ‘यत्रो परिवर्तन भयो, यति धेरै सचिव बन्दै छन्, खै महिलाको नाम ?’ त्यतिवेला निजामतीतर्फ सिनियर महिला रहेनछन् । वरिष्ठ खोज्दै जाँदा सुधाको नाम प¥यो । महिला सहभागी गराउँदा उनी सचिव भइन् । स्वास्थ्य मन्त्रालयमा जनसंख्याको छुट्टै सचिव हुने व्यवस्था गरेकाले सुधा कामु सचिव बनिन् । कामु स्वास्थ्यसचिव डा. दीर्घसिंह बम थिए ।  सुरुमा महिला चाहिन्छ भन्ने पम्फा भुषाल ६ महिने कामु सचिवको अवधि सकिन लागेपछि तर्किएर हिँड्न थालिन् । सरकार परिवर्तन हुने समय भएको थियो । सुधाले आग्रह गर्दा पनि अर्को सरकार आएर गरिहाल्छ नि भनेर पन्छिइन् । सुधाको जीवनको पीडादायी समय थियो त्यो । प्रसूतिगृहमा रहेको उनको पदमा अर्को मान्छे आइसकेको थियो । सचिव भइसकेको मान्छे फेरि कहाँ जाने ? उनको पद सामान्य प्रशासन मन्त्रालयमा राखिएको थियो । काम केही थिएन, खालि हाजिरी गर्ने । स्वास्थ्य मन्त्रालयमा फर्काइदिनुस् भन्दा त्यहाँ अर्को सचिव छ हुँदैन भन्ने कुरा आयो । सामान्यमा हाजिर गरेर कति दिन बस्ने ?

सरकार परिवर्तन हुने समय भएको थियो । सुधाले आग्रह गर्दा पनि अर्को सरकार आएर गरिहाल्छ नि भनेर पन्छिइन् । सुधाको जीवनको पीडादायी समय थियो त्यो । प्रसूतिगृहमा रहेको उनको पदमा अर्को मान्छे आइसकेको थियो ।

मन्त्रालय फर्किएर सचिव भइसकेको मान्छे, जिम्मेवारीविना कसरी बस्ने ? उनी मुख्यसचिवलाई अनुरोध गरेर स्वास्थ्य मन्त्रालयमै फर्किइन् । तर, सचिवको कार्यकक्षबाट उनको नाम हटिसकेको थियो, जिम्मेवारी केही थिएन । अहिले पनि लाग्छ, अपमान सहेर पनि मन्त्रालय नगएको भए उनले सचिव बन्ने दौडमा ‘आउट अफ साइट, आउट अफ माइन्ड’ भनेजस्तै हुनुपथ्र्यो । नयाँ सरकार बन्यो, उमाकान्त चौधरी स्वास्थ्यमन्त्री भए, उनले पूर्वसचिवकै हिसाबले भए पनि ब्रिफिङ गरिन् । मन्त्रालयका काम राम्ररी बुझेको हुनाले सबै विश्लेषण गरी मन्त्रीलाई ‘ब्रिफिङ’ गर्न सजिलो भयो । चौधरीले सुधालाई स्वास्थ्यसचिवमा ल्याए र डा. प्रवीण मिश्रलाई जनसंख्यासचिव बनाए ।
सुधा पहिलोपटक जनसंख्यासचिव हुँदा स्वास्थ्य र जनसंख्याको कार्यविभाजन थिएन । जनसंख्यासचिवको पद नयाँ थियो । मुख्यसचिव घिमिरेले कार्यविभाजन गरेर जनसंख्यासचिवलाई धेरै प्राविधिक काम दिएका थिए । आर्थिक प्रशासन र चिकित्सा स्वास्थ्यसचिवमातहत राखिको थियो, अरू विभागहरू महाशाखासहित तीनचौथाइजति जनसंख्यासचिवको जिम्मेवारीमा थियो ।

६ महिना जनसंख्याको कामु सचिव हुँदा सुधाकै सल्लाह र काममा सरकारले निःशुल्क प्रसूति कार्यक्रम घोषणा ग¥यो । उनी त्यो कार्यक्रमको अनुगमन गर्न र प्रभावकारी बनाउन जिल्ला–जिल्ला घुमिन् । पहिला जे काम सुधाले गरिरहेकी थिइन्, त्यही कार्यविभाजन र त्यति नै काम पाउँदा पनि डा. प्रवीणलाई चित्त बुझेन । रातदिन मन्त्रालयमा किचकिच हुन थाल्यो । अन्ततः उमाकान्तले सुधालाई जनसंख्यामा सारे र प्रवीणलाई स्वास्थ्यसचिव बनाए । जनसंख्यामा सरेपछि आफ्नो कार्यविभाजनअनुरूप जिम्मेवारीको सदुपयोग गर्दै सुधाले संयुक्त राष्ट्रसंघको न्युयोर्क र जेनेभाका साधारणसभामा भाग लिइन् । व्यक्तिगत रूपमा पनि उनको अन्तर्राष्ट्रिय सम्बन्ध निकै बलियो बन्यो । माधव नेपाल, बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा उनीहरूसँगै गएर नेपालका विषय राखिन् । अंग्रेजी भाषा र विषयवस्तुमा समेत पकड भएकाले सुधा यस्ता कार्यक्रममा रोजाइमा पर्थिन् । पछि झलनाथ खनाल प्रधानमन्त्री हुँदा उनी फेरि स्वास्थ्यतर्फ सरुवा भइन् र प्रवीण जनसंख्यातर्फ सरे । तर, पछि स्वास्थ्यमा राजेन्द्र महतो मन्त्री भएर आए । महतोले सुधालाई स्वास्थ्यमै कायम राख्छु भनेका थिए । तर, प्रवीणले आफू स्वास्थ्यमा सर्न मन्त्रीसित किचकिच गरिरहेका थिए । उनले मन्त्रीलाई भनिन्, ‘तपाईंलाई अप्ठ्यारो पर्छ भने म बिदामा बसिदिन्छु, तर स्वास्थ्यबाट मलाई हटाउनचाहिँ नहटाउनुस् ।’ मन्त्रीले पहिला हुन्छ भनेर तर पछि थाहै नदिई दोस्रोपटक जनसंख्यामा सारिदिए । वरिष्ठतामा आफू अघि हुँदाहुँदै यसरी सरुवा गरेकोमा सुधालाई निकै तनाव भयो । उनले अढाई वर्ष बाँकी रहँदै सचिव पदबाट राजीनामा दिइन् ।

क्षमतामा सुधा कहिल्यै कुनै पुरुषभन्दा कमजोर थिइनन् । मन्त्रीहरू पार्टीको बैठक, संसद् सिध्याएर साँझ परेपछि मन्त्रालय आउँथे । मन्त्रालयको काम उनी जति अबेरसम्म बसेर पनि सक्थिन् । तर, महिलालाई एउटा अप्ठ्यारो हुने भनेको धेरै चलखेलका योजना ‘आउट अफ आवर’मा हुनेरहेछ । धेरै खेलहरू सिस्टम र मन्त्रालयबाहिर भए, जसले गर्दा उनलाई जबर्जस्ती मन्त्रालयमा टिक्न मन लागेन । आफ्नो कार्यकालका उपलब्धि विश्लेषण गर्दा उनी खुसी नै छिन् । साढे ३ वर्ष सचिव हुँदा मन्त्रालयले सुरु गरेको निःशुल्क आमा सुरक्षा कार्यक्रमका सबै काम सुधाकै नेतृत्वमा भएका हुन् । अहिले देशभर संस्थागत सुत्केरीको प्रतिशत ५८ पुगेको छ । स्वास्थ्यकर्मी तथा स्वास्थ्यसंस्थाको सुरक्षासम्बन्धी ऐन उनको नेतृत्वमा तर्जुमा भएको हो । लैंगिक हिंसा रोकथाम तथा लैंगिक मूल प्रवाहीकरणका धेरै काम उनकै नेतृत्वमा भए । जनसंख्याको दीर्घकालीन योजना उनकै नेतृत्वमा तर्जुमा भयो । राजनीतिक अस्थिरताले गर्दा सचिवका रूपमा गरेका धेरैजसो काममा सुधा आफैँ सन्तुष्ट छैनन् । जाजरकोटमा झाडापखालाको महामारी नियन्त्रणमा धेरै समय खर्च भयो । नीतिगत दूरगामी प्रभाव पार्ने काम र नियमित काम धेरै गरिन्, तर अन्य नयाँ काम मैले नै गरेर प्रभावकारी भयो भन्ने दाबी छैन ।

तान्जानियाको स्वास्थ्य नेतृत्व
कुनै योजना वा काम सुरक्षित गरेर सुधाले राजीनामा बुझाएकी थिइनन् । युएन प्रणालीमै जानुपर्छ कि भन्ने सोच भने थियो । विभिन्न समयमा उनले विशेषज्ञको काम गरेकी थिइन् । सोही आधारमा विशेषज्ञको ‘पुल’मा उनको नाम थियो । केही महिनापछि युनिसेफ तान्जानियाका लागि अवसर आयो । नोभेम्बरमा सचिवबाट राजीनामा दिएको, अर्को वर्षको फेब्रुअरीमा तान्जानियामा स्वास्थ्य तथा पोषण प्रमुखको पदमा अफर आयो । उक्त पदमा अर्कै विशेषज्ञ छानिएका रहेछन्, तर युनिसेफले जवाफ दिन ढिला गरेका कारण उनले अन्तै काम लिइसकेका रहेछन्, सुधाले अवसर पाइन् । श्रीमान् विजय पनि उनीसँगै गए र त्यहीँको प्राइभेट अस्पतालमा काम गर्न थाले ।

सुधाको तान्जानिया बसाइ निकै सुखद रह्यो । तान्जानिया प्र्राकृतिक सुन्दरताले परिपूर्ण देश हो । स्वास्थ्य समस्याहरू त्यहाँ पनि नेपालका जस्तै नै छन् । उनको यहाँको अनुभव त्यहाँ निकै काम लाग्यो । छोटो समयमै उनले निकै उपलब्धि हासिल गरिन् । तीमध्ये पोषणको ‘स्मार्ट’ सर्वेक्षण, सार्वजनिक खर्च पुनरावलोकन आदि उल्लेखनीय छन् । स्वास्थ्य संरचनाको सुदृढीकरण, मोबाइलको प्रयोगद्वारा प्रसूति हुने महिला र बालबालिकालाई सेवा पु¥याउने ‘इनोभेटिभ’ प्रयोग पनि उनको कामका अन्य केही उदाहरण हुन् । तान्जानियामा बिताएका ५ वर्षमध्ये ३ वर्ष उनले स्वास्थ्यका विकास साझेदारहरूको फोरमको नेतृत्व मण्डल (ट्रोइका)का रूपमा सरकारसँग एकदम नजिकको सहकार्य गर्दै ५ वर्षे स्वास्थ्य क्षेत्र सुधार कार्यक्रममा र राष्ट्रपति किकवेटेले सुरु गरेको अति महत्वाकांक्षी ‘बिग रिजल्ट्स नाउ’ नामक कार्यक्रम तर्जुमामा दातृसंस्थाको तर्फबाट नेतृत्व लिइन् ।

अब कता ?
अहिलेको विन्दुमा उभिएर पछाडि फर्केर हे¥यो भने सुधालाई जिन्दगी फुल अफ स्ट्रगल, फुल अफ च्यालेन्ज, फुल अफ सक्सेस फुल अफ मोटिभेसन लाग्छ । ‘आफूसँग क्षमता नभएको भए धेरै मान्छेले दबाउन खोज्थे नि ! जीवनमा सेल्फ कन्फिडेन्स महत्वपूर्ण हुन्छ । बच्चालाई आमाबुबाले सेल्फ कन्फिडेन्समा सपोर्ट दिनुपर्छ । छोरीलाई विवाह गरेर गएपछि नहेर्ने गरिन्छ, तर मेरी आमाले सुत्केरी हुँदादेखि सबै कुरामा हेल्प गर्नुभयो,’ सुधा भन्छिन् । श्रीमान्को सहयोग उनका लागि विशेष महत्वपूर्ण छ । उनीहरूले पैसा नकमाएका होइनन्, तर पैसा कहिल्यै प्राथमिकतामा परेन । अहिलेको सम्पत्ति दुवैको दुःखको आर्जन र त्यसको सदुपयोग मात्रै हो । उनी जीवनप्रति सन्तुष्ट छिन् । अहिले उनी आत्मसंस्मरण लेखन, नेपालको सुरक्षित मातृत्व कार्यक्रमको पुनरावलोकनका लागि परामर्श दिने काम र स्त्रीरोग सेवा प्रदान गर्नमा व्यस्त छिन् । नेपाल चिकित्सक संघको पूर्वअध्यक्ष र जनआन्दोलनमा नेतृत्वदायी भूमिका खेलेका कारण उनी राजनीतिक विकासक्रम र सामाजिक मुद्दाहरूलाई नजिकबाट नियालिरहेकी छिन् । स्वास्थ्य सेवाको गुणस्तर, सेवामा विपन्न वर्गको न्यून पहुँच र स्वास्थ्य सूचकहरूमा धनी–गरिब, सुगम–दुर्गमबीच बढ्दो खाडल उनका सरोकारका विषय हुन् । बलात्कारजस्ता जघन्य अपराधहरूको बढ्दो बिगबिगी र दण्डहीनता देखेर उनी चिन्तित छिन् ।

तान्जानियामा बिताएका ५ वर्षमध्ये ३ वर्ष उनले स्वास्थ्यका विकास साझेदारहरूको फोरमको नेतृत्व मण्डल (ट्रोइका)का रूपमा सरकारसँग एकदम नजिकको सहकार्य गर्दै ५ वर्षे स्वास्थ्य क्षेत्र सुधार कार्यक्रममा र राष्ट्रपति किकवेटेले सुरु गरेको अति महत्वाकांक्षी ‘बिग रिजल्ट्स नाउ’ नामक कार्यक्रम तर्जुमामा दातृसंस्थाको तर्फबाट नेतृत्व लिइन् ।

रिटायर्ड भए पनि सुधा टायर्ड भएकी छैनन् । छोराछोरी दुवै नेपालमा केही वर्ष काम गरी विदेशमा डाक्टरी पेसामा छन् । छोरी अमेरिकामा बालस्वास्थ्य विशेषज्ञ छिन् । छोरा बेलायतको लन्डन स्कुल अफ हाइजिन एन्ड ट्रपिकल मेडिसिनबाट पिएचडी सकेर अहिले अमेरिका नै गएका छन् । बुहारी पनि अमेरिकामै विश्वबैंकमा काम गर्छिन् ।
अहिले पनि स्वास्थ्यका कार्यक्रम, नीति, नेतृत्वलाई सुधाले नजिकबाट ‘अब्जर्भ’ गरिरहेकी छिन् । ‘स्वास्थ्यमा राम्रा सम्भावनाहरू छन्, तर तिनलाई हाँक्ने जनशक्तिको गुणस्तर खस्किँदै छ । केही वर्षअघिसम्म स्वास्थ्यमा दिग्गजहरूको कमी थिएन,’ उनी पुरानो पुस्ताका चिकित्सकहरूलाई सम्झिन्छिन् ।
‘अहिले जनस्वास्थ्य र क्लिनिकल पनि बुझेर खारिएका व्यक्तिहरूको कमी छ । दातृनिकायहरूसँग खुलेर छलफल गर्न सक्ने, राष्ट्रिय प्राथमिकताहरू निर्धारण गर्न सक्ने र चुनौतीहरूको सामना गर्दै अवसरको सदुपयोग गर्न सक्ने राजनीतिक र प्रशासनिक नेतृत्व भएमा हामीले लिएका लक्ष्यहरू हासिल गर्न सक्छौँ,’ उनी विश्वासका साथ भन्छिन् ।

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै

विज्ञापनले जुराएको जगदीश र ज्योति अग्रवालको जोडी

विराटनगर रंगेलीका जगदीशप्रसाद अग्रवाल भारतको जयपुरमा चिकित्सा शिक्षा पढ्दै थिए । पढाइ सकिनासाथ विवाह गर्ने सोच थियो उनको र परिवारको पनि । जगदीशलाई डाक्टर नै खोज्नुपर्छ भन्ने थियो, तर जात, धर्म सबै मिल्ने डाक्टर पाउन त्यति सजिलो कहाँ थियो र !
उनी सुरुदेखि नै नछुटाई पत्रिका पढ्थे । १ मे १९८८ का दिन स्थानीय राजस्थान पत्रिकाको वर्गीकृत कोलममा छापिएको एउटा विज्ञापनमा उनको आँखा पर्यो । त्यो विज्ञापन गर्ग गोत्रका डाक्टरको खोजीसम्बन्धी थियो, तर अस्पतालका लागि नभएर वरका लागि थियो । अग्रवालले विज्ञापन हेरे । गर्ग गोत्रकी अग्रवाल डाक्टर स्लिम केटीका लागि योग्य वरको खोजी गर्न दरखास्त आह्वान गरिएको थियो । त्यतिवेला डा. ज्योति भारतको उदयपुरमा डिप्लोमा इन गाइनो अब्स (डिजिओ) गर्दै थिइन् ।
त्यही विज्ञापनले बाँधेको थियो नेपालका प्रतिष्ठित फिजिसियन एवं चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम)का डिन जगदीशप्रसाद अग्रवाल र वरिष्ठ स्त्रीरोग विशेषज्ञ डा. ज्योति अग्रवाललाई ।

त्यतिवेलासम्म जगदीशको परिवारले पठाएको निवेदन ज्योतिको घर पुगिसकेको थियो । सोही विज्ञापनबाट स्थानीय अर्का हाडजोर्नी विशेषज्ञसमेत ज्योतिको हात माग्न गइसकेका रहेछन् । जगदीश १९ जुलाईमा ज्योतिको घर पुगे । १२ मेमै ती डाक्टर पुगिसकेका भए पनि उनले घर पुगेपछि दाइजोको लामो लिस्ट पठाए ।

परिवारका तर्फबाट जगदीश आफैँले दरखास्त लेखेर पठाए । उनले स्थानीय अस्पतालमा काम गर्ने डाक्टर साथीमार्फत उनको डिटेल मगाए । दरखास्त हालेर मात्र उनको मन अडिएर बस्न सकेन । उनी रात्रिबसमा ५ सय किलोमिटरको यात्रा तय गरेर केटी हेर्न जयपुर पुगे । उनी ज्योतिले इन्टर्नसिप गरिरहेको अस्पतालमै उनलाई हेर्न पुगे । जगदीश पुग्दा ज्योति घर हिँडिसकेकी रहिछन् । उनी खोज्दै खोज्दै ज्योतिको घर पुगे ।
त्यतिवेलासम्म जगदीशको परिवारले पठाएको निवेदन ज्योतिको घर पुगिसकेको थियो । सोही विज्ञापनबाट स्थानीय अर्का हाडजोर्नी विशेषज्ञसमेत ज्योतिको हात माग्न गइसकेका रहेछन् । जगदीश १९ जुलाईमा ज्योतिको घर पुगे । १२ मेमै ती डाक्टर पुगिसकेका भए पनि उनले घर पुगेपछि दाइजोको लामो लिस्ट पठाए । ज्योतिका बुबाआमा दुवै स्थानीय शिक्षक थिए, उनीहरुले दाइजोको माग स्विकार्न सकेनन् । जगदीशलाई भेटेपछि ज्योतिको परिवारले सबै कुरा चित्त बुझायो । विज्ञापनमै एउटा सर्त थियो, कुनै दाइजो नदिने । जगदीशले निवेदनमै त्यो कुरा सकारिसकेका थिए । पछि दुई परिवारबीच भेटघाट भयो र ज्योतिको परिवार नेपाल आएर विराटनगरस्थित धर्मशालाबाट २ डिसेम्बर १९९८ का दिन विवाह भयो ।
नेपाल फर्किएसँगै जगदीश सन् १९९० जनवरीदेखि त्रिवि शिक्षण अस्पतालमा आबद्ध भए । ज्योति सोही वर्ष जुलाईमा डिजिओ सिध्याएर नेपाल फर्किइन् । ज्योति प्रसूतिगृहमा काम गर्न थालिन् । यहीबीचमा पहिलो बच्चा भयो । जगदीशलाई न्युरोलोजीको फेलोसिप गर्न जापानको अवसर आयो । त्यतिवेला जगदीशको पठाइ अघि बढाउन ज्योतिले प्रसूतिगृहको काम छाडिदिइन् । ४–४ वर्षको अन्तरमा तीन छोराछोरी भए ।

दुवैको करिअर अघि बढाउनु नै थियो । त्योभन्दा महत्वपूर्ण कुरा परिवारको व्यवस्थापन थियो । के गर्ने त ? ज्योतिमा परिवारलाई प्राथमिकतामा राख्नुपर्छ भन्ने सोचको प्रचुरता थियो । उनले सुरुमै जगदीशको पठाइका लागि प्रसूतिगृहको काम छाडेकी थिइन् । फेरि अस्पतालमा आबद्ध हँुदा दुवैको व्यस्तताले परिवार बिग्रिन पनि सक्थ्यो । त्यसपछि ज्योति न अस्पताल खोल्नतिर लागिन्, न कुनै अस्पतालमा अबद्ध नै भइन् । उनी बिहान–बेलुकाको समय मात्र क्लिनिकमा बसेर परिवारको व्यवस्थापनमा बढी ध्यान दिन थालिन् । ज्योति अस्पताल गइनन् र जगदीश क्लिनिक गएनन् ।
जगदीशले आफ्नो सम्पूर्ण व्यावसायिक करिअरमा निजी प्राक्टिस गरेनन् । त्रिवि शिक्षण अस्पतालमा उनीसँग पालो कुर्ने ६ महिनासम्मको लामो लिस्ट हुन्छ । जगदीशको ओपिडीमा हप्ताको दुई दिन पालो पर्छ, तर उनी अतिरिक्त एकदिन थप काम गरिदिन्छन् । उनी चिकित्सा शिक्षा सुधारका लागि विभिन्न उपाय निकाल्न अनुसन्धान र अभियानमा लागे । ‘म अस्पतालमा नजोडिनु र उहाँ क्लिनिक नजानुले नै परिवारका लागि समय छुट्याउन पायौँ,’ ज्योति भन्छिन् । जगदीश थप्छन्, ‘घरको काम नगरे पनि म अफिसको कामलाई घर ल्याउँदिनँ, जति समय घर बस्छु, परिवारलाई दिन्छु ।’

अहिले जगदीश घरको काममा पटक्कै ध्यान नदिने रुपमा उनकै शब्दमा ‘बदनाम’ छन् । ज्योति छोराछोरीलाई समय दिने, घर र क्लिनिक चलाएर पनि बचेको समयमा मीठा परिकार पकाउनेदेखि घरको सिँगार–पटारमा समेत उत्तिकै ध्यान दिन्छिन् । घरको नियमित कामका लागि भने सहयोगी छन् । ज्योतिलाई आफ्नो सिँगार–पटारमा भने कहिल्यै इच्छा जागेन ।
एउटै पेसा अँगाल्दाको सबैभन्दा ठूलो फाइदा, उनीहरुले एकअर्काका समस्या र व्यस्ततालाई राम्ररी बुझ्न सकेका छन्, एकअर्काका अप्ठ्यारामा सहयोग पु¥याउन पाएका छन् । ‘कुनै प्रसूतिरोगकी बिरामीलाई फिजिसियनको परामर्श चाहिएमा फोनबाटै जगदीशसँग समस्या भन्छु, त्यसले गर्दा अर्को ठाउँमा रेफर गरेर दुःख दिनुपर्दैन,’ ज्योति भन्छिन् । जगदीश पनि आफ्ना प्यासेन्टलाई प्रसूतिसम्बन्धी परामर्श चाहिएमा ज्योतिसँग फोनबाट हुनेसम्म सोधेर सहयोग लिन्छन् । ‘डाक्टरका रुपमा आममान्छेलाई गर्न सकिने सेवा र सामाजिक प्रतिष्ठाले गर्दा किन दुवैजना डाक्टर भइएछ भन्ने कहिल्यै लागेन,’ ज्योति भन्छिन् ।
ज्योति अहिले पनि घरभित्र बच्चालाई सघाउनेदेखि साना कुराको व्यवस्थापन पनि गर्छिन् । ज्योतिको कर क्लियरेन्सदेखि आर्थिक पक्षलगायत बाहिरी व्यवस्थापनका काम जगदीशको भएको छ । छोराछोरीको विद्यालयको शुल्क बुझाउन जाने, रिपोर्ट कार्ड लिन जाने, कहिलेकाहीँ पर्दा स्कुल–कलेज पु¥याउने काममा पनि जगदीश सघाउँछन् ।
ज्योतिले डाक्टर बनिसकेपछि आफ्नै इच्छाले पाकशिक्षाको तालिम लिएकी छिन् । जगदीशको खाने मामिलामा ‘फिक्स’जस्तै छ । जस्तोसुकै पार्टीमा गए पनि उनी अधिकांश समय ‘मेन प्लेट’ नसमातीकनै घर फर्किन्छन् । लुगामा सौख छैन । लुगा सिलाउन पनि ज्योतिले नै जबर्जस्ती गरेर लानुपर्छ । उनले सधैँ लगाउने भनेको निलो वा खैरो पाइन्छ र सेतो सर्ट हो । ‘नाप्नुनपर्ने हो भने जुत्ता पनि मैले नै ल्याइदिनुपथ्र्यो होला,’ ज्योतिले भनिन् ।

घरपरिवारमा व्यक्तिगत स्वभाव, चाहना र इच्छामा फरक पर्दा ठाकठुक त परिहाल्छ । यस्तोमा ज्योति भन्छिन् र मन हलुंगो पार्छिन् । जगदीश सुनिदिन्छन्, प्रतिक्रिया दिँदैनन् ।

ज्योति सुरुका दिनमा खानाको सौखिन हुन् । तर, जगदीशले बाहिर नखाने भएपछि अहिले उनको समेत बाध्यता बनेको छ । सिनेमा हेर्ने, हाइकिङ, सांस्कृतिक र सांगीतिक कार्यक्रममा उनको सौख छ । बल्ल–बल्ल उनले जगदीशलाई नयाँ सिनेमा आएको समयमा बुधबार एक दिन हेर्न जाने बानी पारेकी छिन् । प्रत्येक वर्ष दसैं बिदामा उनीहरु नबिराई सपरिवार नेपाल, भारत र वा अन्य देशको यात्रामा निस्किन्छन् । ‘उनी अस्पतालमा नहुनु र मैले निजी प्राक्टिस नगर्नुले धेरै सहज बनाएको छ,’ डा. जगदीश भन्छन्, ‘निजी अस्पताल चलाएको भए २४ घण्टै ड्युटीले ह्याटिक हुन्थ्यो ।’
घरपरिवारमा व्यक्तिगत स्वभाव, चाहना र इच्छामा फरक पर्दा ठाकठुक त परिहाल्छ । यस्तोमा ज्योति भन्छिन् र मन हलुंगो पार्छिन् । जगदीश सुनिदिन्छन्, प्रतिक्रिया दिँदैनन् । ‘मैले परिवारलाई कम समय दिएँ भन्ने गुनासो भइरहन्छ । तर, मैले जानी–जानी समय नदिने हैन, उनले पनि बुझेकै हुन्छिन्, र पनि भन्नुपर्छ ।’
स्वभावले ज्योति केही महत्वाकांक्षी छिन् भन्ने लाग्छ जगदीशलाई । ‘महत्वाकांक्षाभन्दा पनि प्रोग्रेस गर्न मलाई मन लाग्छ, उहाँ जे छ ठिक छ भन्ने मान्छे,’ ज्योतिले थपिन् । तर, दुवैलाई लोभ र अतिरिक्त मिहिनेतविनाको पैसाको पछाडि लागौँ भन्ने छैन । चिकित्सा पेसामा लालच राख्ने, बिरामीलाई अनावश्यक भारमा पारेर अतिरिक्त कमाउने चिकित्सक उनीहरुले नदेखेका होइनन् । इथिकल प्राक्टिस दुवैका आदर्श हुन् । दुवैको अघोषित सहकार्य यसमा पनि छ ।
दाम्पत्य जीवनको कसिलो बन्धन त्यतिवेला खुकुलो हुन्छ, जब सम्बन्धमा शंका–उपशंका उब्जिन्छ । ‘मन नपरेका कुरा तत्काल भनिएन र मनमा राखिरह्यो भने टेन्सन बढ्छ,’ ज्योति भन्छिन्, ‘एकअर्काको स्वभाव र भावनाअनुरुपको रेस्पेक्ट गरेर राम्रो सम्बन्ध सम्भव छ ।’ ज्योतिलाई लाग्छ– परिवारलाई समय नै दिन नसक्ने मान्छेले विवाह नै नगरे हुन्छ । ‘व्यावसायिक जीवनमा आफ्नो प्रगति हेरेर मात्रै हुन्न, पहिलो प्राथमिकता परिवार हुनुपर्छ,’ ज्योति थप्छिन्, ‘श्रीमान्का कारण श्रीमती र श्रीमतीका कारण श्रीमान्ले सफर गर्छ र दुवैका कारण पूरै परिवारले सफर गर्छ ।’

दीपक दाहाल

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै

प्रदेश २ का एक्ला क्यान्सररोग विशेषज्ञ

जनकपुर बजारमा रहेको ठूलो आयुर्वेद औषधि पसलमा कुनै स्वास्थ्यचौकीमा जस्तै भिड लाग्थ्यो । घाउखटिराको सामान्य डे«सिङलगायत अन्य प्राथमिक उपचार त्यहीँ हुन्थ्यो । किशोरावस्थामै अब्देशकुमार साहले त्यस्ता घाउखटिरा सफा गरिदिन्थे । त्यही समयमा त्यो किशोर मनले प्रण गरिसकेको थियो– भविष्यमा डाक्टर बन्नुपर्छ ।
बाबुबाजेको औषधि व्यापार जनकपुरमा जमेकै थियो । व्यापारी पृष्ठभूमि भएपछि खासै अभाव नभोगी अब्देशले जनकपुरबाट विद्यालय शिक्षा पास गरे, छात्रावासमै बसेर । छात्रावासको जीवन, धेरै अनुशासन, छिटपुट स्वतन्त्रता । बाल्यकालका विशिष्ट स्मृतिहरू छैनन् भन्दा पनि हुन्छ । तर, थाहै नपाईकनै अब्देशमा एउटा भावना विकास भएछ, जीवनभर सकेसम्म जनकपुरमै बस्नुपर्छ ।

तर, डाक्टरी पढ्न त गाउँ छोड्नै पथ्र्यो । २०५० सालमा प्रथम श्रेणीमा एसएलसी पास गरेपछि प्लस टुसमेत उनले गाउँमै पढे । उच्च शिक्षातर्फ विज्ञान विषयमा जिल्ला टप भएपछि उनलाई चिकित्सा विज्ञानतर्फको रुचिले उद्घाटित हुने अवसर मिल्यो । उनले काठमाडौं विश्वविद्यालयको प्रवेश परीक्षा पास गरेर जोटपाटी नेपाल मेडिकल कलेजमा एमबिबिएस पढे । आफ्नै मूल्यांकनमा उनी आफूलाई अब्बलभन्दा औसत नै विद्यार्थी ठान्छन् । एमबिबिएसपछि केही वर्ष काम नगरी पिजी पढ्न पाइँदैनथ्यो । उनले एमबिबिएसपछिको अनुभवका लागि छोटो अवधिमा धेरैतिर चहारेर काम गरे । हिमालदेखि तराईसम्म चहारे तर पेरिफेरी छोडेनन् । उनी उपत्यकामा अडिएनन् ।

उनले उदयपुरको कटारी, दोलखा, मिर्चैया, जलेश्वरसम्म पुगेर छोटो–छोटो अवधि काम गरे । उनले सधैँ निजी अस्पतालमै काम गरे । अनुभव पुगेपछि स्वास्थ्य मन्त्रालयले पिजीतर्फ छात्रवृत्ति खुलायो । उनले दरखास्त हाले । ७ नम्बरमा नाम निस्कियो, अंकोलोजी (क्यान्सर विशेषज्ञ) पढ्न चीनको ओहायो विश्वविद्यालयमा अवसर मिल्यो ।
चीन गएर १ वर्ष भाषा पढे । भाषा पढेर बल्ल तालिम सुरु भएकाले बिरामी र प्राध्यापकसँग समेत राम्रो संवाद हुन पायो, जसका कारण शिक्षण सिकाइ प्रभावकारी भयो । उनी चीन गएको चौथो वर्ष सन् २०१२ मा नेपाल फर्के । छात्रवृत्तिमा पढेर फर्किएपछि २ वर्षे छात्रवृत्ति करार सेवा गर्नै पथ्र्यो । त्यतिवेला सरकारीतर्फ अंकोलोजिस्टको दरबन्दी वा छात्रवृत्ति करार खटाउने ठाउँ वीर अस्पताल मात्रै थियो । तर, उनले वीर जान्नँ, जनकपुर पठाइदेऊ भने । उनले स्वास्थ्य अधिकारीलाई बारम्बार आग्रह गरे, ‘मलाई काठमाडौं होइन, बाहिर जाने रहर छ ।’ उनलाई जनकपुर अस्पताल नै खटाइयो । अढाई वर्ष उनले जनकपुर अस्पतालमा छात्रवृत्ति सेवा करार गरे ।

प्रत्येक दिन २ घण्टा जनकपुर अञ्चल अस्पतालमा सेवा दिन्छन्, निःशुल्क । आफ्नै निजी अस्पताल भएको डाक्टर, सरकारीमा किन निःशुल्क सेवा दिन्छ ? कतै बिरामी रेफर लिन त हैन ? कतिपय अवस्थामा यस्तो प्रश्न पनि उठ्छ । साह भन्छन्, ‘म अञ्चल अस्पतालमा सेवा उपलब्ध भएको केस निजीमा छ भन्दिनँ ।

जनकपुरमा त्यतिवेलासम्म कुनै पूर्वाधार थिएन । एउटै विश्वविद्यालय पढेका साथीहरूको सहयोग र समन्वयबाट उनले जनरल सर्जरी सेवा सुरु गरे । उनी अंकोलोजी पढेर आए पनि सुरुसुरुमा यसबारे धेरै कमलाई मात्र थाहा थियो ? एपेन्डिटेक्टोमीबाट सुरु भएको शल्यक्रिया बिस्तारै फैलिँदै गयो । उनी क्यान्सरको डाक्टर भनेर चिनिँदै गए ।
करार सकिएपछि उनले आफैँ अस्पताल खोल्ने योजना बनाए, फलस्वरुप ३ वर्षअघि सुरु भयो २५ बेडको नवजीवन जनरल अस्पताल । अहिले त्यो अस्पतालमा स्त्री तथा प्रसूति, अर्थो, अंकोलोजी, मिसिडिनलगायतका विशेषज्ञ सेवा उपलब्ध छन् ।

क्यान्सरका बिरामी बिस्तारै आउन थाले । सुरुमा डा. अब्देशलाई कम्तीमा परीक्षण गरेर रोगको निदानसम्म गरिदिनसके यहाँ हुन नसक्ने उपचारका लािग सम्बन्धित ठाउँमा पठाइदिन सकिन्थ्यो भन्ने लाग्यो । केमो चाहिने, शल्यक्रिया गर्नुपर्ने वा रेडिएसन नै चाहिने हो, कम्तीमा त्यसको यकिन जनकपुरमै हुन थाल्यो ।
अहिले पनि उनी काठमाडौंबाट २ जना, भरतपुरबाट एकजना केमोका विशेषज्ञ जनकपुर झिकाउँछन् । रेडिएसन चाहिने बिरामीलाई भरतपुर वा काठमाडौं पठाउँछन् । गर्न सकिने शल्यक्रिया जनकपुरमै हुन्छ र कम्तीमा सरकारले दिने एक लाखको उपचार सहुलियत सिफारिस हुन्छ ।
आफ्नो उपस्थितिले ठूलो परिवर्तन देखाउन नसकेपछि नफैलिनेखालका क्यान्सर हुँदा पनि जीवनका अन्तिम दिन आइहाल्यो भन्दै डराउनेहरूले कम्तीमा यस्तो क्यान्सरसँग डराउन पर्दैन भन्ने थाहा पाउन थालेका छन् । कम्तीमा जनकपुरमै क्यान्सर हो÷हैन भनिदिन सक्दा मात्रै पनि धेरैलाई अनावश्यक आर्थिक भारबाट जोगाउन सकिएको छ ।
न पर्याप्त पूर्वाधार, न सहयोगी जनशक्ति, अब्देशलाई कहिलेकाहीँ त लाग्छ– किन सुविधासम्पन्न ठाउँमा गएर धेरै बिरामीलाई सेवा नदिने ? तर, अन्तर्मनले भन्छ, ‘तँ यहाँ छस् र धेरैको भरोसा छ । यहाँ कसले गरिदिने ? कसै न कसैले त गर्नुप¥यो नि,’ डा. साह भन्छन् ।

उनी कहिल्यै सरकारी अस्पतालमा जागिर खान गएनन्, काठमाडौं बसेनन् । तर, सरकारी अस्पतालमा उनी सेवा दिइरहेका छन् । उनी प्रत्येक दिन २ घण्टा जनकपुर अञ्चल अस्पतालमा सेवा दिन्छन्, निःशुल्क । आफ्नै निजी अस्पताल भएको डाक्टर, सरकारीमा किन निःशुल्क सेवा दिन्छ ? कतै बिरामी रेफर लिन त हैन ? कतिपय अवस्थामा यस्तो प्रश्न पनि उठ्छ । साह भन्छन्, ‘म अञ्चल अस्पतालमा सेवा उपलब्ध भएको केस निजीमा छ भन्दिनँ । निजीमा लानै परे पनि अञ्चल अस्पतालमा कति दर रहेछ बुझेर आऊ, त्यतिकै उपचार गर्दिन्छु भन्ने गरेको छु ।’


उनी कहिलेकाहीँ इमर्जेन्सीमा पनि जानुपर्छ । बोलाइदिन्छन्, नजान भएन । अञ्चल अस्पतालमा अर्का एकजना सर्जन छन् । गम्भीर केस इमर्जेन्सीमा आउँदा वा राति पनि सारोगारो पर्दा अब्देशलाई सम्झन्छन्, उनी जागिरे नै जसरी सहयोग गरिदिन पुग्छन् ।
यस अवधिमा उनले थाइल्यान्डबाट ३ महिने ट्रमासम्बन्धी फेलोसिप तालिमसमेत गरे । जनकपुर अस्पतालमा अर्थोपेक्डिक र जनरल सर्जनको दरबन्दी भए पनि रिक्त छ । प्रदेश २ मा मत्रै होइन, देशभर सडक दुर्घटना बढेको छ । ‘ज्यानै जाने अवस्था भएकाहरूलाई त बचाउन सक्ने जटिल शल्यक्रिया गर्न टिम छैन, कम्तीमा हातखुट्टा काट्नुपर्ने अवस्था आउन नदिन भने थुप्रै काम गरेका छौँ,’ अब्देश सन्तुष्टि पोख्छन् ।
उनको विशेषज्ञताले उनी विभिन्न गैरसरकारी संस्थासँग मिलेर क्यान्सर चेतना फैलाउन पनि उत्तिकै सक्रिय छन् । प्रदेश २ मा मुखको क्यान्सर प्रमुख समस्या हो । पान, सुपारीदेखि पराग गुट्खाजस्ता पदार्थको सेवन क्यान्सरको प्रमुख कारण हो । त्यसबाहेक पुरुषमा ग्यास्टेइन्टेस्टाइन र महिलामा ब्रेस्टको क्यान्सर यो प्रदेशमा बढी भेटिने गरेको छ ।
साहलाई प्रदेश २ मा छुट्टै क्यान्सर अस्पताल होस् र आफू त्यहीँ आबद्ध हुन पाइयोस् भन्ने इच्छा छ । कम्तीमा प्रदेश २ वासीले उपचारका नाममा भौँतारिएर हिँड्नुनपरोस् । क्यान्सर उपचारमा सबैभन्दा बढी खर्च रोगको निदान र औषधिमा हुन्छ । सरकारले औषधि सस्तो बनाइदिने र निदानका उपकरणहरू उपलब्ध गराइदिने हो भने धेरैलाई राहत दिन सकिने र समयमै क्यान्सर पत्ता लगाएर ज्यानै पनि बचाउन सकिने उनी बताउँछन् ।

प्रदेश २ मा समग्र स्वास्थ्य अवस्था नै नाजुक छ । भएको एउटा मेडिकल कलेज कहिले चल्छ त कहिले बन्द हुन्छ । विशेषज्ञको उपस्थिति उस्तै छ । अञ्चल अस्पतालमा सिटी स्क्यान त छ, प्याथोलोस्टि छैनन् । बाहिरबाट प्याथोलोजिस्ट झिकाएर सेवा दिँदा जनतालाई महँगो परेको छ । तर, पनि महोत्तरी, सर्लाही, सिरहादेखि सिन्धुलीसमेतबाट उनलाई खोज्दै बिरामी आउँछन् । एक्लो डाक्टरले विनाटिम उपचारभन्दा पनि भरोसा न दिन सक्ने हो ! त्यो भरोसा उनले दिएका छन् । हाल नेपालमा रहेका क्यान्सर विशेषज्ञमध्ये २५ प्रतिशतभन्दा बढी जनकपुरमै जन्मिएका, पढेका छन् । तर, ती कोही पनि जनकपुरमा छैनन् । उनी जनकपुर मात्रै होइन, प्रदेश २ कै एक्ला क्यान्सर विशेषज्ञ हुन् । उनलाई काठमाडौं र सरकारी सेवाप्रति वितृष्णा होइन, तर मोह पनि छैन ।

डा. साहका अनुसार अहिले नेपालमा तीन ठाउँमा नयाँ क्यान्सर अस्पताल बन्दै छ, जसमा जनकपुर पनि प्राथमिकतामा परेको छ । भारतीय दूतावासको सहयोगमा एउटा क्यान्सर अस्पताल प्रदेश २ मा ल्याउन त्यहाँका डाक्टरहरू मरिमेटेर लागेका छन् ।
स्वास्थ्य, सरसफाइ तथा अन्य आनीबानीका हिसाबले पनि प्रदेश जोखिमपूर्ण रहेकाले एउटा क्यान्सर अस्पताल बन्नु जरुरी भएको उनी ठान्छन् ।
यसै पनि सिंगो प्रदेशको स्वास्थ्य सेवा निकै नाजुक छ । ट्रसरी लेबलको उपचार हुनुपर्ने अञ्चल अस्पतालमा आधारभूत जत्तिको मात्र सेवा छ । त्यति धेरै विशेषज्ञ दरबन्दी भए पनि दरबन्दीअनुसार कहिल्यै विशेषज्ञ पूर्ति भएनन् । क्यान्सरसँगै बढ्दो सडक दुर्घटनाको उपचारमा पनि डा. साहले जनकपुरमा महत्वपूर्ण सेवा पु¥याएका छन् ।

अञ्चल अस्पतालमा धेरै विशेषज्ञ अर्थो र सर्जनको समेत दरबन्दी भए पनि लामो सयमदेखि रिक्त छन् । ३ वर्षअघिको एउटा घटनाले अहिले पनि उनको मन कँुडिन्छ । मध्यदिनमा २३ वर्षीय एक युवा गम्भीरखालको सडक दुर्घटनामा परे । जानकी मेडिकल कलेजमा उपचार नभएपछि रेफर ग¥यो । कम्मरनेर गम्भीरखालको समस्या (पेल्भिक फ्याक्टर) थियो । अनेक प्रयास गर्दा पनि रगत रोक्न सकिएन । जनकपुरमा एउटै एनेस्थेसियोलोजिस्ट थिएन । कम्तीमा बेहोस गराउने डाक्टर भएको भए उनी प्रयाससम्म भए नि गर्न सक्थे । आँखैअगाडि उनको ज्यान गयो । कहिले उपकरण त कहिले विशेषज्ञ नहुँदा स्थानीय तहमै बचाउन सकिने ज्यान गइरहेका छन् ।

 

अञ्चल अस्पतालमा दरबन्दी दिने तर डाक्टर नपठाउने, यसमा राज्य दोषी छ । अर्कोतिर नेपालमै सबैभन्दा बढी डाक्टर स्थायी घरका आधारमा धनुषाबाटै बढी छन् । तर, धनुषामा जन्मेर, पढेर पनि थुप्रै डाक्टरको कर्मथलो धनुषा छैन । ‘राज्यको विभेद त होला, हाम्रो पनि त जन्मस्थान प्राथमिकतामा पर्नुप¥यो नि !’ उनी थप्छन् ।
संसारभर कति एड्भान्स प्रविधि आइरहेका छन् । तर, नेपालमा यति महत्वपूर्ण सहरमा सामान्य उपकरणसमेत नहुँदा नागरिकको ज्यान गइरहेको प्रति साहलाई दुःख लाग्छ । केही समयअघि उनी अहमदाबादको एउटा सम्मेलनमा गएका थिए । ‘अर्थोसर्जरीमा मेघा प्रस्थेसिस (कुनै ठाउँको हड्डी निकालेर स्टिल प्रत्यारोपण गर्ने) प्रविधि प्रचलनमा छ, हामी इम्पुटेसन (हातखुट्टा काटेर फल्ने प्रविधि)मै छौँ,’ उनी भन्छन् ।
यस्ता कुराले उनलाई कहिलेकाहीँ हीनताबोध गराउँछ । उनलाई पनि आधुनिक प्रविधिसित अपटुडेट हुन मन लाग्छ ।

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै

सहकार्यले सफल डाक्टर दम्पती

पोखरा मणिपाल कलेजबाट भर्खरै एमबिबिएस पूरा गरेर डा. विनीता जोशी वीर अस्पतालमा जनरल मेडिकन विभागमा इन्टर्नसिप गर्दैै थिइन् । डा. रोविन जोशी सर्जरी विभागमा काम गर्थे । पढाइ सकेका छोराछोरीको उपयुक्त वरवधू खोजेर विवाह नगरिदिँदासम्मको परिवारको हुटहुटी भोग्नेलाई मात्रै थाहा हुन्छ । दुवैको परिवार छोराछोरीका लागि उपयुक्त वरवधूको खोजीमा थिए ।

एउटै अस्पतालका फरक विभागमा कार्यरत डा. विनीता र डा. रोविन पनि आफ्ना लागि उपयुक्त जीवनसाथीको खोजीमा थिए । अस्पतालले जुराएको चिनजान र भेटघाट साथी र आफन्तको सम्बन्धसँग पनि जोडियो । उनीहरूका साथी मात्रै होइनन्, बाबुका साथीहरू पनि साझा थिए । संयोग कस्तो प¥यो भने, साथी र आफन्तबाट विवाहका लागि उनीहरू चुनिँदासम्म दुवैले एकअर्कालाई पनि मनपराइसकेका थिए । विवाहको कुरा घरबाट आउँदासम्म उनीहरूले पनि त्यसतर्फ सोच बनाइसकेको अवस्था थियो । दुवैले डाक्टरी पढाइ सिध्याइसकेका थिए । सामाजिक रूपमा सम्बन्ध जोडियो ।

१४ फ्रेबुअरी २००२ (प्रणय दिवसको दिन)मा उनीहरूको इन्गेजमेन्ट भयो र १ मेमा विवाह । सामाजिक रूपमा यो विवाह थियो, व्यावहारिक रूपमा दुवैको मिहिनेत र लगाव जोडेर एउटा सुन्दर संसार सिर्जना गर्ने सहकार्यको सुरुवातको दिन बन्यो । वरिष्ठ युरोलोजिस्ट एवं काठमाडौं मेडिकल कलेजका एसोसिएट प्रोफेसर डा. रोविन जोशी र नर्भिक अस्पतालकी बालरोग (ग्यास्ट्रोइन्टेरोलोजी, न्युट्रिसन हेपाटोलोजी) विशेषज्ञ डा. विनीता जोशीको सहकार्यले परिवार सफल बनाएको छ ।
जीवन एक भयो, लक्ष्य एउटै थियो, तर लक्ष्य प्राप्त गर्न दुवैले यात्रा गर्नु नै थियो । त्यसका लागि के गर्ने त ? सहकार्य ।

दुवैले प्रण गरे, घरपरिवार, करिअर सबैका लागि सहकार्य नै शक्ति हो, जसले जिन्दगीलाई मजबुत बनाउँदै लान्छ । लामो यात्राको सुरुवात सामाजिक, व्यावहारिक र भावनात्मक रूपमा समेत सुरु भइसकेको थियो । एमबिबिएस सकिए पनि दुवैले विशेषज्ञ डिग्री लिइसकेका थिएनन् । सकेसम्म सबै कुरामा साथ दिनु नै थियो । त्यही सोचअनुसार सहकार्यबाट फरदर स्टडी गर्ने योजना उनीहरूले बुने र सोहीअनुसार गरे ।

सन् २००४ मा रोविनले पाकिस्तानमा युरो सर्जरीमा पोस्ट ग्राजुएसन (पिजी)को लागि छात्रवृत्ति पाए । सँगै जाने सोचले पिजी नभए पनि विशेषज्ञ तहकै तालिमका लागि विनीताले पनि आवेदन दिइन् । दुवैलाई पाकिस्तान जाने अवसर आयो । पाकिस्तान बस्दा नै तालिमसँगै बच्चाको तयारी भयो । तर, त्यहाँ बच्चा पाउन, हुर्काउन त्यति सहज हुने नदेखेर विनीता बच्चा जन्माउन नेपाल फर्किइन् ।दुवैको परिवारबाट सहयोग हुने देखेर नेपालमै बच्चा हुर्काउने सोच बन्यो । सोहीअनुसार विनीताले पिजीका लागि चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) वीर अस्पतालमा आवेदन दिइन्, लक्किली नाम निस्कियो ।

बच्चा ७ महिनाको थियो । रोविन पाकिस्तानमा पढ्दै थिए । विनीता रात्रिकालीन ड्युटी भएका वेला स्तनपानका लागि बच्चा लिएरै अस्पताल जान्थिन् । रोविनले पाकिस्तानबाट पिजी सकेर सन् २००६ मा नेपाल फर्किएपछि ३ महिना वीरमा काम गरे । केही महिनापछि काठमाडौं मेडिकल कलेजमा काम थाले ।
अर्को वर्ष विनीताको पिजी सकियो । विनीता पनि २००७ मा केएमसीमा काम गर्न थालिन् । विशेषज्ञ पढाइ सकिए पनि पछिल्लो समय चिकित्सा विधामा सबस्पेसलाइज्ड हुनुपर्छ । त्यसका लागि दुवै कुनै एकेडेमिक तालिमको खोजीमा लागे ।

रोविनको चाहना युरोअंकोलोजी थियो, विनीतालाई बालरोगतर्फ पनि ग्यास्ट्रोइन्टेरोलोजी, हेपाटोलोजी र न्युट्रिसनमा चासो थियो । त्यतिवेलासम्म नेपालमा बच्चाको प्रपर इन्डोस्कोपी नै हुँदैनथ्यो । डेडिकेटेड मान्छे नहुँदा कि ठूला मान्छेको इन्डोस्कोपी गर्नेले नै बच्चाको पनि गर्थे, कि त भारत पठाइन्थ्यो ।
जहाँ इच्छा त्यहाँ अवसर, सन् २०१० मा दुवैले आआफ्नो रुचिअनुसारको विधामा एकैपटक अप्लाई गरे । सानो छोरा २ वर्षको मात्रै थियो । परिवारको जिम्मामा बच्चा छोडेर सन् २०११ मा थप विशेषज्ञताका लागि रोविन युरोअंकोलोजी पढ्न भारतको राजीव गान्धी भए । विनीता पनि भारतकै गंगाराममा पेडियाट्रिक ग्यास्ट्रोइन्ट्रेरोलोजीमा फेलोसिप गर्न गइन् । रोविन केएमसीको सम्झौतामा थिए । विनीता जागिर छोडेरै पढ्न गइन् ।

दुवै दिल्लीमै भए पनि एकअर्काको पढाइ सेन्टर पुग्न दूरी बस वा मेट्रोमा ४५ मिनेट यात्रा गर्नुपथ्र्यो । विनीतालाई सजिलो होस् भनेर रोविनले गंगारामनजिकै अपार्टमेन्ट लिए, जहाँबाट उनी राजीव गान्धी जान दैनिक ४५ मिनेटको यात्रा गर्थे । करिअरका लागि दिल्लीमा भए पनि उनीहरू बच्चालाई भेट्न समय मिलाएर नेपाल आइरहन्थे, स्कुल छुट्टी भएका वेला बच्चालाई उतै लिएर जान्थे ।
तालिम सकेर फर्किएपछि रोविनले केएमसीमै काम थाले । अहिले उनी केएमसीमा एसोसिएट प्रोफेसर छन् । साँझको समय नर्भिकमा काम गर्छन् ।
विनीताले पढेर आएको विषय नेपालका लागि नयाँ थियो । डाक्टर पनि यो विषयमा अनभिज्ञ थिए । विनीताले धेरै र सबै क्षेत्रका बिरामीलाई सेवा दिन सकिने भएकाले कान्ति बालअस्पताल रोजिन् ।

कान्तिमा उनले ६ महिना ‘अनररी’ गरिन् । सेवाबारे जानकारी बढ्यो । बिरामी आउन थाले, तर बच्चाको सेवाका लागि चाहिने मेसिन थिएन । त्यसपछि उनले नर्भिकमा काम थालिन् । तालिम गरेर नेपाल फर्किएपछि ५ वर्षअघि उनीहरूले आरम्भ गरेको यात्रा अहिले पनि जारी छ । नर्भिकका अतिरिक्त उनी निदानमा सेवा दिन्छिन् ।
१५ वर्षको सहयात्रामा विनीता र रोविनले आर्जन गरेको ‘जीवन दर्शन’अनुसार पहिलो प्राथमिकता परिवार नै हो । उनीहरूको सहकार्य परिवारलाई दिने समयको व्यवस्थापनमा पनि छ । ‘बिहान छोराहरू स्कुल गएसँगै म चाँडै निस्किन्छु, साँझ म छिट्टै फर्किन्छु,’ विनीताले भनिन् । विनीताको ढिलो हुने दिन रोविन समय निकालेर घर आउँछन् । ‘कन्फरेन्स वा अन्यत्र जाँदा कि बच्चालाई सँगै लिएर जान्छौँ, नभए दुवैजना एकैपटक कार्यक्रम पार्दैनौँ,’ रोविनले भने, ‘परिवारलाई प्राथमिकतामा राख्ने कुरामा हाम्रो पहिलो सहकार्य छ ।’

विदेश वा स्वदेशमै पनि उनीहरू कि सबै परिवार जान्छन्, नभए दुवैजनाले बच्चा छोडेर कतै जाँदैनन् । उनीहरू कोरिया, अस्ट्रेलिया, जयपुरका कार्यक्रममा सपरिवार गए । गत वर्ष विनीताको हैदराबादमा सम्मेलन पर्दा रोविनले धरानमा भएको न्युरोलोजिकल कन्फरेन्स छोडे । ‘कम्तीमा एउटाले बच्चालाई नछोड्ने र कार्यक्रमको महत्व हेरेर सघाउने हो,’ रोविनले भने ।

छुट्टीको दिन विनीता घरको किनमेल र अन्य काममा लाग्छिन् । रोविन बिदाको पूर्ण दिन छोराहरूलाई दिन्छन् । चिकित्सा पेसामा जति अनुभव थपिँदै जान्छ, उति डिमान्ड पनि बढ्छ । ‘कतिपय अवस्थामा बिरामीलाई पनि नकार्न मिल्दैन । वार्डमा भर्ना गरेको बिरामीलाई इरेगुलर समय दिनुपर्दा एकअर्काले सपोर्ट गर्छौं,’ रोविनले भने । उनीहरूले साँझको केही समय बिरामीले केही अप्ठ्यारो पर्दा फोन गर्न छुट्याएका छन् ।विनीता र रोविनले परिवारलाई पहिलो प्राथमिकतामा राखेका छन् । ‘परिवार मिल्यो भने करिअर पनि अगाडि बढ्छ, मिलेन भने करिअर नै अलमलिन्छ,’ रोविनले थपे । अहिले बाबुआमाको समय र दैनिकीमा बच्चासमेत अभ्यस्त भइसकेका छन् ।

परिवार मात्र होइन, एकअर्काको सहकार्यले प्रोफेसनमा पनि ठूलो सहयोग मिलेको छ । बच्चामा युरोलोजिकल समस्या भएको अवस्थामा विनीताले रोविनको सहयोग लिन्छिन् । रोविन पनि बच्चासम्बन्धी समस्या आउँदा विनीतालाई नै सम्झिन्छन् । त्यसबाहेक विशेष केस नआईकन घरमा पेसाका कुरा हुँदैनन् । ‘पेसाका कुरा पनि एकअर्कामा रिलेटेड छन्, विशेष केस भए मात्र घरमा छलफल हुन्छ, अन्यथा हामी सहयात्री भएर घरको समय बिताउँछौँ,’ विनीताले भनिन् ।

घरको काम सघाउन सहयोगी छन् । तर, उनीहरू सबै कुरामा सहयोगीमा निर्भर हुँदैनन् । साँझको खानापछि सहयोगी दिदीलाई घर फर्किन हतार हुन्छ । विनीता र रोविन सँगै बसेर भाँडा माझ्नेदेखि सबै घरधन्दा सिध्याएर मात्र सुत्छन् । ‘मलाई समय मिल्यो भने खाना पकाउन मज्जा लाग्छ, कम्तीमा शनिबारको खाना मै बनाएर खुवाउँछु,’ विनीताले भनिन्, ‘उसलाई (रोविन) चिया मिठो पकाउन आउँछ ।’ राति बच्चाहरू सुतेपछि विनीता र रोविन कम्तीमा आधा घण्टा अनिवार्य कुरा गरेर बस्छन् । रातिको चिया बनाएर खुवाउने जिम्मा रोविनको भागमा परेको छ ।

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै