विभागदेखि अस्पतालसम्म दर्जनभन्दा बढी नेतृत्व हेरफेर, पहिलोपटक गैरचिकित्सककाे जिम्मामा विभाग

सरकारले आफूमातहतका दर्जनभन्दा बढी कार्यालयको जिम्मेवारी हेरफेर गरेको छ। बिहीबार स्वास्थ्य सेवा विभागको महानिर्देशकसहित तीन महाशाखा, पाँच केन्द्र र पाँच अस्पतालमा नेतृत्व परिवर्तन गरिएको हो। अधिकांश सरुवा तथा नियुक्तिमा कार्यसम्पादन र क्षमतालाई भन्दा राजनीतिक आस्था, पहुँच र नातागत सम्बन्धले नै प्राथमिकता पाएको देखिएको छ।

विभागको महानिर्देशकमा सम्भवतः पहिलोपटक गैरचिकित्सक
स्वास्थ्य सेवा विभागको महानिर्देशकमा महेन्द्र श्रेष्ठ नियुक्त भएका छन् । महानिर्देशकका लागि स्वास्थ्य सेवाको १२औँ तहमा कार्यरत प्रमुख विशेषज्ञ हुनुपर्ने कानुनी प्रावधान भएपछि श्रेष्ठलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निमत्तमहानिर्देशकको जिम्मेवारी दिएको छ । मन्त्रालय गत भदौमा डा. सुशीलनाथ प्याकुरेलको सेवानिवृत्तिपछि प्रमुख विशेषज्ञविहीन छ ।

विभागको नेतृत्व सम्भवतः पहिलोपटक गैरचिकित्सकको हातमा गएको छ । यसअघि चिकित्सकमध्येबाटै महानिर्देशक नियुक्ति हुँदै आएको थियो । स्वास्थ्यमान्त्री भानुभक्त ढकालले गरेको यो प्रयोग अव्यावहारिक मात्र नभई गैरकानुनीसमेत भएको चिकित्सक नेताहरूको भनाइ छ ।

विभागको नेतृत्व गैरचिकित्सक कर्मचारीले गर्दा अनेक व्यावहारिक समस्या आउने पूर्वमहानिर्देशक तथा सेवानिवृत्त प्रमुखविशेषज्ञ डा. सुशीलनाथ प्याकुरेल बताउँछन् । यसले कर्मचारीबीच तारतम्य मिलाउनै गाह्रो हुने र एकले अर्कोलाई नटेर्ने आवस्था सिर्जना भई विभागको काम नै प्रभावित हुने जोखिम रहेको उनको भनाइ छ ।
‘मैले थाहा पाएसम्म अहिलेसम्म गैरचिकित्सक महानिर्देशक भएको छैन,’ डा. प्याकुरेलले हेल्थपोस्टसित भने, ‘यसले एकातिर चिकित्सक तथा स्वास्थ्यकर्मीको मनोबल गिराउँछ भने अर्कोतर्फ एकले अर्कोलाई नटेर्ने प्रवृत्ति हाबी हुन सक्छ ।’ अहिलेको राष्ट्रिय राजनीतिक अवस्थाका कारण सैद्धान्तिक रूपमा माने पनि व्यावहारिक रूपमा गैरचिकित्सक महानिर्देशकलाई स्विकार्न समान तहका चिकित्सक कर्मचारी तथा आमचिकित्सकलाई समस्या हुने अनुमान उनको छ ।

यद्यपि, १२औँ तह बढुवापछि पूर्णमहानिर्देशक बनाएको भए समस्या केही हदसम्म मिल्न सक्ने उनको भनाइ छ । विभागमा महानिर्देशकबाहेक अरु पद १२औँ तहको नहुने हुँदा एकले अर्कोलाई नटेर्ने समस्या न्यूनीकरण हुने उनको बुझाइ छ ।

अहिले त कस्तो परेको छ भने ११औँ तह बढुवा हुँदा श्रेष्ठभन्दा सिनियर डा. भीमसिंह तिंकरी विभागअन्तर्गत नै परिवारकल्याण महाशाखामा कार्यरत छन् । अब डा. तिंकरीले श्रेष्ठको मातहतमा रहेर काम गर्नुपर्नेछ, जुन पूर्णतः अव्यावहारिक छ ।

स्वास्थ्यसेवामा बहाल रहेका ११औँ तहका विशेषज्ञमध्ये डा. दीपेन्द्ररमण सिंह, डा. रोशन पोखरेल, डा. तिंकरी नवनियुक्त महानिर्देशक श्रेष्ठभन्दा सिनियर छन् । विभागको जिम्मेवारी हेरफेर गर्नु नै परे पनि डा. सिंह वा विभागमातहत नै कार्यरत डा. तिंकरीलाई जिम्मेवारी दिइएको भए व्यावहारिक समस्या नआउने अवस्था थियो । तर, मन्त्री ढकालले नौलो प्रयोग गर्न खोजेका छन् ।

चिकित्सकको छाता संगठन नेपाल चिकित्सक संघ (एनएमए) पनि विभागमा गैरचिकित्सकको नेतृत्व स्विकार्ने पक्षमा देखिएको छैन । निवर्तमान बन्ने तरखरमा रहेका एनएमए अध्यक्ष डा. मुक्तिराम श्रेष्ठले हेल्थपोस्टलाई प्रारम्भिक प्रतिक्रिया दिँदै भने, ‘विभागमा गैरचिकित्सकको नेतृत्व अव्यावहारिक मात्र होइन, गैरकानुनीसमेत छ ।’

विभागअन्तर्गतका केही तालिम, सूचना, पुनःस्थापनालगायत केही कार्यलयमा मात्र गैरचिकित्सकको नेतृत्व हुन सक्ने कार्यविधि नै रहेको डा. श्रेष्ठले बताए । यसले समग्र चिकित्सकलाई हतोत्साहित बनाउने उनको भनाइ छ । ‘कार्यविधि र समझदारीविपरीत गैरचिकित्सकलाई महानिर्देशक बनाउने मन्त्रालयको निर्णयले हाम्रो जुन परम्परामा आँच आएको छ,’ उनले भने, ‘अब चिकित्सकले पनि मर्यादा कायम राख्न नसक्ने अवस्था आउन सक्छ ।’

एनएमएका नवनिर्वाचित अध्यक्ष डा. लोचन कार्कीले गैरकानुनी रूपमा गैरचिकित्सकलाई महानिर्देशक बनाइएको हो भने त्यसको संघले विरोध गर्ने बताए ।

श्रेष्ठ यसअघि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रवक्ताका रूपमा कार्यरत थिए । उनी स्वास्थ्य सेवाको हेल्थ इन्स्पेक्सन समूहका ११औँ तहका विशेषज्ञ हुन् र १२औँ तह बढुवाका लागि सिफारिसमा परेका छन् ।

यसअघिका निमित्तमहानिर्देशक डा. रोशन पोखरेल मन्त्रालयमा तानिएका छन् । उनी गत भदौ अन्तिम साता निमित्तमहानिर्देशकमा नियुक्त भएका थिए । उनलाई मन्त्रालयमा कुनै पनि जिम्मेवारी तोकिएको छैन ।

मन्त्रालयमा १२औँ तहका ३ वटै दरबन्दी खाली छन् । प्रमुख विशेषज्ञ बढुवाका लागि ५ जनाको नाम सिफारिस गरिए पनि नियुक्ति दिइएको छन् । सिफारिस नाममध्ये भर्खरै विभागबाट तानिएका डा. पोखरेल पहिलो नम्बरमा छन् । कार्यसम्पादन मूल्यांकनका आधारमा हुने बढुवामा उनको अंक सबैभन्दा बढी छ । नवनियुक्त महानिर्देशक श्रेष्ठ पनि प्रमुख विशेषज्ञ बढुवा सिफारिसमा पाँचभित्र छन् ।

३ महाशाखाको जिम्मेवारी हेरफेर : नीति योजनामा डा. लोहनी, डा. देवकोटालाई समन्वय, इपिडिमियोलोजीमा डा. वासुदेव
मन्त्रालयले नीति तथा योजना महाशाखाको जिम्मेवारी पनि हेरफेर गरेको छ । महाशाखाको जिम्मेवारी डा. गुणराज लोहनीलाई दिइएको छ । उनी केही समयअघि मात्र कोसी अस्पतालबाट मन्त्रालयमा तानिएका थिए ।

यसअघि योजना महाशाखा सम्हालिरहेका डा. विकास देवकोटालाई स्वास्थ्य समन्वय महाशाखामा सरुवा गरिएको छ ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको जिम्मेवारी डा. वासुदेव पाण्डेले पाएका छन् । यसअघि उनी टेकुस्थित सहिद शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालमा निर्देशकको जिम्मेवारीमा थिए । यसअघि महाशाखाको नेतृत्व डा. विवेकलाल कर्णले सम्हाल्दै आएका थिए ।

५ केन्द्रको जिम्मेवारी हेरफेर : डा. कर्ण क्षयरोगमा
मन्त्रालयले ५ वटा केन्द्रको जिम्मेवारी हेरफेर गरेको छ । राष्ट्रिय क्षयरोग केन्द्रको निर्देशकमा डा. विवेकलाल कर्णलाई पठाइएको छ । यसअघि उनी इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखामा थिए ।
राष्ट्रिय यौनरोग नियन्त्रण केन्द्रको जिम्मेवारी डा. रमेश खरेलले पाएका छन् । यसअघि उनी सार्क क्षयरोग केन्द्रमा थिए ।
त्यस्तै, सार्क क्षयरोग केन्द्रमा डा. अनुज भट्टचनलाई ल्याइएको छ । उनी यसअघि यौनरोग नियन्त्रण केन्द्रमा थिए ।
स्वास्थ्य तालिम केन्द्रको जिम्मेवारी डा. यदुचन्द्र घिमिरेले पाएका छन् भने टीकजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रको जिम्मेवारी मोहमद दाउदलाई दिइएको छ ।

५ अस्पतालको नेतृत्व फेरियो : कान्तिबाट डा. बिच्छा हटाइए
बिहीबार नै सरकारले ठूला ५ अस्पतालको नेतृत्व हेरफेर गरेको छ । कान्ति बाल अस्पतालको निर्देशकमा डा. कृष्ण पौडेल नियुक्त भएका छन् । यसअघिका निर्देशक डा. आरपी बिच्छालाई कान्तिमै राखिएको छ ।

डा. बिच्छा गत साउनमा निर्देशक बनेका थिए । उनले छोटो अवसरमै कान्तिमा आमूल सुधार ल्याएको सर्वसाधारणले नै अनुभूत गरेका थिए । अस्पतालमा सेवाविस्तारदेखि गुणस्तर विकाससम्ममा उनी लागिरहेका थिए ।

टेकु अस्पतालको निर्देशकमा यसअघि क्षयरोग केन्द्रमा रहेका डा. सागर भण्डारीलाई ल्याइएको छ । त्यसैगरी, भेरी प्रादेशिक अस्पतालमा डा. प्रकाश थापा र कोसी अस्पतालमा डा. चुम्बनलाल दासलाई जिम्मेवारी दिइएको छ । डा. रवीन खड्का वीर अस्पतालको उपनिर्देशकमा नियुक्त भएका छन् ।

राष्ट्रिय ट्रमा सेन्टरको निर्देशकमा डा. सन्तोष पौडेल नियुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले कार्यरत निर्देशकको पदावधि आधाभन्दा बढी समय बाँकी नै हुँदा नयाँ निर्देशक नियुक्त गरेका हुन् ।

यससँगै डा. पौडेलले १० दिनभित्र दुई नियुक्ति पाएका छन् । यसअघि माघ अन्तिम साता उनले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)को कार्यकारी परिषद् सदस्यको नियुक्ति पएका थिए । न्याम्सका सहकुलपतिको हैसियतमा मन्त्री ढकालले डा. पौडेललाई कार्यकारी परिषद् सदस्यमा मनोनयन गरेका हुन् । ट्रमा सेन्टर पनि न्याम्सअन्तर्गत नै सञ्चालित छ ।

डा. पौडेल सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)निकट चिकित्सकहरूको संगठन राष्ट्रिय चिकित्सक संघका अध्यक्ष हुन् । उनी नेकपाका प्रभावशालीमध्ये गनिने एक नेताका ज्वाइँसमेत हुन् ।

अनौठो विषय त के रह्यो भने डा. पौडेलले निर्देशकको नियुक्तिपत्र बुझिसकेको खबर कार्यरत निर्देशक डा. प्रमोद यादवले मिडियामार्फत मात्र पाए । स्वाभाविक कार्यकालका हिसाबले डा. यादव अझै करिब १३ महिना निर्देशक रहने थिए । यद्यपि, उनले निमित्तका रूपमा जिम्मेवारी सम्हाल्दै आएका थिए । उनलाई ५ चैत ०७५ मा ट्रमाको निमित्त जिम्मेवारी दिइएको थियो ।

बिहीबार डा. यादव निर्देशकका रूपमा ट्रमा सेन्टरको काम गरिरहेका थिए । एक अनलाइन मिडियामा ट्रमामा अर्कै व्यक्ति निर्देशक नियुक्त भएको खबर आएपछि बल्ल उनलाई पद गइसकेको थाहा भयो ।

यसबीचमा मन्त्रलायले उनको कार्यसम्पादनबारे उनलाई कुनै जिज्ञासा राखेको छैन, न त कुनै कसुर वा अनियमितताबारे सोधखोज नै गरेको छ । नयाँ नेपालको नारा दिने झन्डै दुईतिहाइको कम्युनिस्ट सरकार, त्यसमाथि पनि सुरुदेखि नै कसैको दबाब, भनसुन वा पार्टीगत स्वार्थमा नआई काम गर्ने रटान दिँदै आएका मन्त्री ढकालमाथि ट्रमाको नियुक्तिले गिज्याइरहेझैँ देखिन्छ ।

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै

रेडियोग्राफरदेखि प्रमुखविशेषज्ञसम्म : जसले ३७ वर्ष दुर्गममा सेवा गरे

स्वास्थ्यमन्त्रीको जिम्मेवारीमा गगन थापा थिए, लामो समय दुर्गमका बिताएका डा. सुशीलनाथ प्याकुरेललाई मन्त्रालयबाट तपाईं काठमाडौं आउनुपर्यो भनेर आग्रह गरियो । तर, डा. प्याकुरेलले सीधै हुन्न भने । किन ?  सहकर्मीहरू विभाग र मन्त्रालयका महाशाखा, शाखाका प्रमुख हुन तँछाड–मछाड गरिरहँदा डा. प्याकुरेलले १२औँ तह (विशिष्ट श्रेणी÷प्रमुख विशेषज्ञ) नभई काठमाडौं आउँदिनँ भने । त्यसको एउटै मात्र अर्थ थियो, डा. प्याकुरेलको दुर्गमप्रतिको लगाव । काम गर्दाको आनन्द र सम्मान सधैँ मोफसलमै मिल्थ्यो ।

अस्थायी रेडियोग्राफरदेखि महानिर्देशक र प्रमुख विशेषज्ञसम्मको जिम्मेवारी सम्हालेर ४० वर्ष २ महिना १८ दिन स्वास्थ्यसेवामा बिताएका डा. प्याकुरेल त्यही चाहनाले झन्डै ३७ वर्ष मोफसल÷दुर्गममा रमे । अनिवार्य अवकाशसँगै लामो÷छोटो सहकार्य गरेका सहकर्मीले सोमबार स्वास्थ्यसेवा विभागमा एक समारोहका बीच उनको औपचारिक बिदाइ गरिरहँदा डा. प्याकुरेलको बोलीमा कुनै सेवानिवृत्तपन थिएन । ‘अधिकांश ठाउँमा निर्णय गर्ने तहमै बसेर काम गरेँ, जे जिम्मेवारी पाएँ, त्यहाँ खुट्टा नकमाई गोल गरेँ,’ उनले भने ।

यो विन्दुमा आइपुग्दा उनलाई समग्रमा एउटा व्यक्तिको उपस्थितिले पार्न सक्ने अन्तर र गर्न सक्ने परिवर्तन गर्न सकेँ भन्नेमा सन्तुष्टि छ । पछिल्ला जिम्मेवारी हेर्ने हो भने उनी १८ असारदेखि स्वास्थ्य प्रणालीको प्रमुख कार्यकारी निकाय स्वास्थ्यसेवा विभागका महानिर्देशक थिए । त्यसअघि १२ मंसिर ०७५ मा प्रमुख विशेषज्ञ भएर मन्त्रालय छिरेका डा. प्याकुरेलले बीचको डेढ महिना आर्थिक अधिकारसहितको निमित्तसचिवका रूपमा मन्त्रालय सम्हाले । ‘प्रमुख विशेषज्ञका रूपमा मन्त्रालयलाई नीतिगत दृष्टिकोण दिने र बाटो देखाउने काममा मैले जे गर्न सकेँ, त्यसमा सन्तोष छ,’ उनले भने ।

मन्त्रालयमा लामो समय संगठन संरचना विवादमै बित्यो । स्वास्थ्य संरचनालाई नजिकबाट बुझेकाहरू जिल्लाको संरचना खारेज हुँदा स्वास्थ्य धरासायी बन्छ भन्नेमा चिन्तित थिए । नयाँ मन्त्री आएपछि प्याकुरेलले नै उनको साथ लिएर ३५ बाट ७७ जिल्लामा स्वास्थ्यको संरचना रहने, तालिम केन्द्र, मेडिकल स्टोरसमेत कायमै राखे ।

डा. प्याकुरेलले खास गरी मन्त्रालय र विभागमा बसेर गरेका कामको हिसाब सजिलै देखिए पनि दुर्गममा सेवाप्रवाहको तहमा बसेर गरेकै सेवाका कारण अवकाश हुने दिनसम्म पनि उनलाई लोकप्रिय स्वास्थ्यकर्मीकै रूपमा लिइयो । प्रमुख विशेषज्ञका रूपमा कतिपय अवस्थामा भूमिकाविहीन हुँदा पनि जिल्ला–जिल्लाबाट उनलाई भेट्न आउनेको कमी हुँदैनथ्यो । उनको कार्यकक्ष सधैँ खचाखच हुन्थ्यो । ‘जनस्वास्थ्य कार्यकर्ता, डाक्टर, नर्स, स्वास्थ्यकर्मी जोसुकै जहाँबाट आए पनि सबैले मलाई अभिभावक नै मान्थे,’ उनी भन्छन् । यस अर्थमा ३५ हजार कर्मचारी रहेको स्वास्थ्यसेवामा डा. सुशीलनाथलाई कमै स्वास्थ्यकर्मीले मात्र सर भनेर सम्बोधन गर्थे, अधिकांशले उनलाई दाई भन्थे र मान्थे पनि ।

संविधानमा स्वास्थ्य मौलिक हकका रूपमा स्थापित भए पनि जनस्वास्थ्य, प्रजनन स्वास्थ्यका ऐन बनाउने कुराको अर्जेन्सीबोध सिस्टमबाट उनीले गराए र सफलता पनि मिल्यो । आधारभूत स्वास्थ्यसेवा तोक्ने कार्यविधि मन्त्रिपरिषद्मा पुगेको छ । विकास समितिहरू खारेज हुँदा स्वास्थ्यको एजेन्डाले राजनीतिक तरंग ल्याउँदा उनले नै त्यो चाहिन्छ भनेर लडे र कायमै पनि भयो ।

डा. प्याकुरेलले पुर्याएको सेवा र दिन सक्ने योगदानलाई मनन गरेर पछिल्लोपटक मन्त्रालयले विशेषज्ञ सेवाका लागि उनको सेवावधि एक वर्ष थप्न प्रस्ताव पठाए पनि समयमा निर्णय आएन । अझै पनि उनी औपचारिक रूपमा अवकाशपत्र बुझाइएका छैनन् ।

डा. प्याकुरेलले खास गरी मन्त्रालय र विभागमा बसेर गरेका कामको हिसाब सजिलै देखिए पनि दुर्गममा सेवाप्रवाहको तहमा बसेर गरेकै सेवाका कारण अवकाश हुने दिनसम्म पनि उनलाई लोकप्रिय स्वास्थ्यकर्मीकै रूपमा लिइयो । प्रमुख विशेषज्ञका रूपमा कतिपय अवस्थामा भूमिकाविहीन हुँदा पनि जिल्ला–जिल्लाबाट उनलाई भेट्न आउनेको कमी हुँदैनथ्यो । उनको कार्यकक्ष सधैँ खचाखच हुन्थ्यो । ‘जनस्वास्थ्य कार्यकर्ता, डाक्टर, नर्स, स्वास्थ्यकर्मी जोसुकै जहाँबाट आए पनि सबैले मलाई अभिभावक नै मान्थे,’ उनी भन्छन् । यस अर्थमा ३५ हजार कर्मचारी रहेको स्वास्थ्यसेवामा डा. सुशीलनाथलाई कमै स्वास्थ्यकर्मीले मात्र सर भनेर सम्बोधन गर्थे, अधिकांशले उनलाई दाई भन्थे र मान्थे पनि ।

डा. प्याकुरेलको चार दशकभन्दा लामो स्वास्थ्यसेवायात्राको सुरुवात ४ असार ०३६ मा अस्थायी एक्स–रे प्राविधिकका रूपमा मेची अञ्चल अस्पताल भद्रपुरबाट भयो । ०३७ मा उनी स्थायी भए । प्राविधिकका रूपमा सेवासँगै डाक्टर पढ्ने रहर र प्रयत्न जारी थियो । प्राविधिक डा. प्याकुरेलले ०४० मा महाराजगन्ज चिकित्सा क्याम्पस (आइओएम) मा एमबिबिएस पढ्नका लागि नाम निकाले । एमबिबिएस सकेपछि पनि सेवा गर्ने ठाउँ त सरकारी नै थियो । एक वर्षको इन्टर्नसिपपछि ०४५ मा उनी भोजपुर अस्पताल पुगे । ०४७ मा लोकसेवामार्फत स्थायीमा नाम निकाले । पाँचजना चिकित्सकका लागि दरबन्दी खुलेकोमा उनको नाम ३ नम्बरमा निस्कियो । त्यसपछि पहिलो पोस्टिङ दोलखाको जिरी अस्पतालमा भयो । त्यति नै वेला दोलखामा जनस्वास्थ्य कार्यालय बन्यो । उनले दोलखाको पहिलो जिल्ला स्वास्थ्य प्रमुख भएर काम गरे ।

डा. प्याकुरेल ०६९ मा आन्तरिकतर्फको खुला प्रतिस्पर्धाबाट ११औँ तहमा नाम निकाल्न सफल भए । ११औँ तह भएपछि जिल्ला चहार्ने यात्रा क्षेत्रतिर सर्यो । सुरुमा उनले मध्यपश्चिम क्षेत्रीय निर्देशनालय सुर्खेतमा एक वर्ष काम गरे । त्यसपछि पूर्वाञ्चल क्षेत्रीय निर्देशनालयमा ३ वर्ष र सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयमा क्षेत्रीय निर्देशकका रूपमा अढाई वर्ष नेतृत्व सम्हाले । सुदूरपश्चिम बस्दाबस्दै डा. प्याकुरेलको १२औँ तहमा बढुवा भयो । त्यसपछि अवकाशनिकटको यात्रा उनले देशभर डुलेर बटुलेको अनुभवलाई सानै तहमा भएपछि पोलिसीमा उतारेर कार्यक्रममा लागू गरे ।

उनले ०५१ मा थाइल्यान्डको मेदन विश्वविद्यालयमा छात्रवृत्तिमा एक वर्ष एमपिएच गर्ने अवसर पाए । जनस्वास्थ्य पढेर फर्किएपछि ०५४ सम्म उनले तेह्थुम अस्पतालमा काम गरे । यसबीचमा उनलाई राजधानी र मन्त्रालय विभागका धेरै ठाउँमा सरुवा हुन अफर आए । तर, उनी जिल्लामै रमाए । उनले कहिल्यै दुर्गम, सुगमका आधारमा कार्यक्षेत्र रोजेनन्, सरकारले जहाँ खटायो, त्यहीँ पुगेर र चुपचाप सेवा गरे । ०५४ देखि ०६१ सम्म नुवाकोट स्वास्थ्य कार्यालय र अस्पताल प्रमुख भएर बसे । ०६२ देखि ०६३ सम्म उनले त्यसरी नै प्रमुख भएर गोरखाको जिम्मेवारी सम्हाले । त्यसपछि बल्ल उनको नवौँ तह हुने पालो आयो । बढुवापछि उनी संखुवासभाको खाँदबारी जिल्ला अस्पतालमा प्रमुख भएर गए । केही महिनामै तनहुँमा सरुवा भयो । ०६४ देखि ०६९ सम्म तनहुँमा बसे ।

डा. प्याकुरेल ०६९ मा आन्तरिकतर्फको खुला प्रतिस्पर्धाबाट ११औँ तहमा नाम निकाल्न सफल भए । ११औँ तह भएपछि जिल्ला चहार्ने यात्रा क्षेत्रतिर सर्यो । सुरुमा उनले मध्यपश्चिम क्षेत्रीय निर्देशनालय सुर्खेतमा एक वर्ष काम गरे । त्यसपछि पूर्वाञ्चल क्षेत्रीय निर्देशनालयमा ३ वर्ष र सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयमा क्षेत्रीय निर्देशकका रूपमा अढाई वर्ष नेतृत्व सम्हाले । सुदूरपश्चिम बस्दाबस्दै डा. प्याकुरेलको १२औँ तहमा बढुवा भयो । त्यसपछि अवकाशनिकटको यात्रा उनले देशभर डुलेर बटुलेको अनुभवलाई सानै तहमा भएपछि पोलिसीमा उतारेर कार्यक्रममा लागू गरे ।

डा. प्याकुरेल उमेरहदले रिटायर्ड त भए, तर टायर्ड भने भएका छैनन् । ४ दशकभन्दा लामो समयसम्म सिस्टममा डुबेर, डुलेर भोगेका अनुभवले उनी परिपक्व भएका छन् । आगामी दिनमा पनि उनी त्यो अनुभवलाई नीतिमा रूपान्तरण गर्न सरकारले लाए–आराएको काम गर्न तत्पर छन् । उनले सरकारी सिस्टमबाहिर रहेर काम गर्दा पनि त्यसको अन्तिम परिणाम त स्वास्थ्य क्षेत्रमै आउने हो । ‘मलाई विकसित र अल्पविकसित देशको नीतिमा रहेको ग्याप हटाउन अझै काम गर्न पुगेको छैन, अब पनि त्यतै सक्रिय हुन्छु,’ उनले अवकाशपछिको योजना सुनाए ।

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै

विभागका महानिर्देशक डा. पोखरेलले गरे पदबहाली

स्वास्थ्यसेवा विभागका महानिर्देशक डा. रोशन पोखरेलले मंगलबार पदबहाली गरेका छन् । वरिष्ठ साइक्य्राटिक डा. पोखरेललाई उपप्रधान एवम् स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले मन्त्रीस्तरीय निर्णयबाट सोमबार विभागको निमित्तमहानिर्देशकमा नियुक्त गरेका थिए । डा. पोखरेल स्वास्थ्यसेवा विभागको २५औँ महानिर्देशक बन्न सफल भएका हुन् । यसअघिका महानिर्देशक डा. सुशीलनाथ प्याकुरेलले २१ भदौमा उमेरहदका कारण अनिवार्य अवकाश पाएपछि विभागको महानिर्देशक पद रिक्त थियो ।

विभागको महानिर्देशकका लागि १२औँ तहको प्रमुख विशेषज्ञ हुनुपर्ने प्रावधान रहेकोमा हाल उक्त पदमा कार्यरत कोही पनि नभएकाले ११औँ तहका डा. पोखरेललाई निमित्तमहानिर्देशकको जिम्मेवारी दिइएको हो । स्वास्थ्यसेवामा ११औँ तहमा कार्यरतमध्ये डा. पोखरेल सबैभन्दा सिनियर हुन् । सबैभन्दा सिनियर भएका कारण १२औँ तहमा प्रमुख विशेषज्ञमा बढुवा गर्दा पनि डा. पोखरेल नै पहिलो नम्बरमा पर्ने सम्भावना छ । यद्यपि, प्रमुख विशेषज्ञ नियुक्तिका लागि लोकसेवाको प्रक्रिया अपनाउनुपर्ने र हालसम्म कुनै प्रक्रिया नबढेकाले तत्कालै भने पदपूर्ति हुने देखिँदैन । डा. प्याकुरेल सेवानिवृत्त भएसँगै स्वास्थ्य मन्त्रालय प्रमुख विशेषज्ञविहीन छ ।

यसअघि महानिर्देशक डा. पोखरेलले लामो समयदेखि कोसी (अञ्चल) अस्पतालको निर्देशकका रूपमा काम गरेका थिए । कर्मचारी समायोजनपछि उनको मन्त्रालयमा भएको थियो ।

डा. प्याकुरेलले अवकाश पाएसँगै मन्त्रालयमा प्रमुख विशेषज्ञको पद रिक्त हुने भएपछि मन्त्रालयले स्वास्थ्यसेवा ऐनको प्रावधानअनुसार उमेरहदका कारण सेवानिवृत्त हुन लागेका डा. प्याकुरेलको सेवाअवधि १ वर्ष थप्न मन्त्रिपरिषद्मा सिफारिस गरेको थियो । कानुनी रूपमा प्रमुख विशेषज्ञको जिम्मेवारी धेरै भएको अवस्थामा सो पद खाली हुन नदिन मन्त्रिपरिषद्ले उनको म्याद थप गर्ने अनुमान लगाइएको थियो । तर, त्यसो हुन नसकेपछि १२औँ तहको प्रमुख विशेषज्ञको पदसँगै विभागको महानिर्देशक पद पनि रिक्त हुन पुगेको थियो ।

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै

विभागको महानिर्देशकमा डा. रोशन पोखरेल, पत्र हात पर्न बाँकी

स्वास्थ्यसेवा विभागको जिम्मेवारी डा. रोशन पोखरेललाई दिने तयारी भएको छ । वरिष्ठ साइक्य्राटिक डा. पोखरेललाई विभागको कामु महानिर्देशकमा नियुक्त गर्ने तयारी भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्रोतले जनाएको छ । निवर्तमान महानिर्देशक डा. सुशीलनाथ प्याकुरेलले २१ भदौमा उमेरहदका कारण अनिवार्य अवकाश पाएपछि विभागको महानिर्देशक पद रिक्त थियो ।

उपप्रधान एवम् स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले मन्त्रीस्तरीय निर्णबाट डा. पोखरेललाई विभागको महानिर्देशकमा नियुक्त गर्न लागेका हुन् । डा. पोखरेलको नियुक्तिका लागि टिप्पणी उठिसकेको भए पनि सदर भएर पत्र भने बनिनसकेको मन्त्रालय स्रोतको भनाइ छ ।

विभागको महानिर्देशकका लागि १२औँ तहको प्रमुख विशेषज्ञ हुनुपर्ने प्रावधान रहेकोमा हाल उक्त पदमा कार्यरत कोही पनि नभएकाले ११औँ तहका डा. पोखरेललाई विभागको निमित्त जिम्मेवारी दिन लागिएको हो ।

११औँ तहका डा. पोखरेल स्वास्थ्यसेवाका हाल कार्यरत चिकित्सकमध्ये सबैभन्दा सिनियर हुन् । विभागको महानिर्देशकका लागि १२औँ तहको प्रमुख विशेषज्ञ हुनुपर्ने प्रावधान रहेकोमा हाल उक्त पदमा कार्यरत कोही पनि नभएकाले ११औँ तहका डा. पोखरेललाई विभागको निमित्त जिम्मेवारी दिन लागिएको हो । डा. प्याकुरेल सेवानिवृत्त भएसँगै स्वास्थ्य मन्त्रालय प्रमुख विशेषज्ञविहीन छ ।

सबैभन्दा सिनियर भएका कारण १२औँ तहमा प्रमुख विशेषज्ञमा बढुवा गर्दा पनि डा. पोखरेल नै पहिलो नम्बरमा पर्ने सम्भावना छ । यद्यपि, प्रमुख विशेषज्ञ नियुक्तिका लागि लोकसेवाको प्रक्रिया अपनाउनुपर्ने र हालसम्म कुनै प्रक्रिया नबढेकाले तत्कालै भने पदपूर्ति हुने देखिँदैन । यसअघि डा. पोखरेलले लामो समयदेखि कोसी (अञ्चल) अस्पतालको निर्देशकका रूपमा काम गरेका थिए । तर, कर्मचारी समायोजनपछिको पदस्थापनका क्रममा उनको मन्त्रालयमा पदस्थापन भएको थियो ।

मन्त्रालयमा प्रमुख विशेषज्ञको पद रिक्त हुने भएपछि मन्त्रालयले स्वास्थ्यसेवा ऐनको प्रावधानअनुसार उमेरहदका कारण सेवानिवृत्त हुन लागेका डा. प्याकुरेलको सेवाअवधि १ वर्ष थप्न मन्त्रिपरिषद्मा सिफारिस गरेको थियो । कानुनी रूपमा प्रमुख विशेषज्ञको जिम्मेवारी धेरै भएको अवस्थामा सो पद खाली हुन नदिन मन्त्रिपरिषद्ले उनको म्याद थप गर्ने अनुमान लगाइएको थियो । तर, त्यसो हुन नसकेपछि १२औँ तहको प्रमुख विशेषज्ञको पदसँगै विभागको महानिर्देशक पद पनि रिक्त हुन पुगेको थियो ।

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै

हजयात्रा नजिकिँदै गर्दा यात्रीलाई अनिवार्य भ्याक्सिन अभावले झस्कियो सरकार, हतारमा ३९०० भायल खरिद गरिँदै

स्वास्थ्यसेवा विभागको व्यवस्थापन महाशाखाले नेपाली हजयात्रीका लागि आवश्यक भ्याक्सिन द्रुत प्रक्रियाबाट खरिद गर्ने भएको छ । हजयात्राका लागि केही साता मात्रा बाँकी रहँदा यात्रीले अनिवार्य रुपमा लगाउनुपर्ने भ्याक्सिनको अभाव भएपछि विभागले द्रुत प्रक्रियाबाट खरिद गर्ने निर्णय गरेसँगै महाशाखाले ३ हजार ९ सय भायल भ्याक्सिन खरिदका लागि शनिबार प्रस्ताव आह्वान गरेको हो । इस्लाम धर्मावलम्बीको पवित्र धर्मस्थल तथा आस्थाको प्रमुख केन्द्र मक्का–मदिनाको हजयात्रा गर्नुअघि प्रत्येक यात्रीले ३ वटा भ्याक्सिन लगाउनु अनिवार्य छ ।

आगामी महिना गृह मन्त्रालयले मक्का–मदिना पठाउने नेपाली हजयात्रीका लागि आवश्यक भ्याक्सिनको यस महिनाको चौथो सातासम्म पनि अत्तोपत्तो नभएपछि द्रुत प्रक्रियाबाट खरिद गरिने भएको हो । स्वाभाविक प्रक्रिया आपनाउँदा हजयात्राअघि भ्याक्सिनको आपूर्ति हुन समयअभावका कारण सम्भव नहुने भएपछि महाशाखाले विशेष परिस्थितिमा खरिद गर्न प्रक्रिया छोट्याएको हो । महाशाखाका अनुसार यसै महिनाभित्र भ्याक्सिनको डेलिभरी भइसक्नेछ ।

प्रत्येक हजयात्रीले ३ वटा भ्याक्सिन लगाउनु अनिवार्य, विशेष स्वास्थ्य सुरक्षापछि मात्र खुल्छ ‘जन्नतका दरवाजा’
साउदी अरेवियामा अवस्थित इस्लाम धर्मावलम्बीको सबैभन्दा ठूलो पवित्र धार्मिकस्थल मक्का–मदिनामा प्रतिवर्ष विश्वभरबाट लाखौँ इस्लाम धर्मावलम्बी हजका लागि जान्छन् । मक्का–मदिनालाई इस्लाम धर्मावलम्बीले ‘जन्नतका दरवाजा’ अर्थात् स्वर्गको ढोकाका रूपमा लिने गर्छन् । जीवनमा एक न एकपटक मक्का–मदिना पुग्ने अभिलाशा विश्वको जुनकुनै कुनामा वसोवास गर्ने इस्लाम धर्मावलम्बीको हुने गरेको बताइन्छ ।
मक्का–मदिनामा एकैसाथ विश्वभरका दशौँ लाख मानिसको एकैठाउँमा जमघट हुँदा विभिन्न रोगको संक्रमण हुन सक्ने जोखिमलाई मध्यनजर गर्दै हजयात्रीका लागि विशेष स्वास्थ्य सुरक्षा अनिवार्य गरिएको छ । मक्का–मदिना जाने प्रत्येक हजयात्रीले ३ वटा भ्याक्सिन अनिवार्य लगाउनुपर्ने हुन्छ, ताकि, हजयात्रीबीच एक–अर्कामा रोगको संक्रमण हुन नपाओस् । संक्रामक तथा अति संक्रामक रोग फैलिनबाट रोक्न भ्याक्सिन अनिवार्य गरिएको हो ।

आगामी महिना गृह मन्त्रालयले मक्का–मदिना पठाउने नेपाली हजयात्रीका लागि आवश्यक भ्याक्सिनको यस महिनाको चौथो सातासम्म पनि अत्तोपत्तो नभएपछि द्रुत प्रक्रियाबाट खरिद गरिने भएको हो । स्वाभाविक प्रक्रिया आपनाउँदा हजयात्राअघि भ्याक्सिनको आपूर्ति हुन समयअभावका कारण सम्भव नहुने भएपछि महाशाखाले विशेष परिस्थितिमा खरिद गर्न प्रक्रिया छोट्याएको हो ।

हजयात्रीले क्वार्डिभ्यालेन्ट (एसिवाइडब्लू) मेनिङकोकल कन्जुगेट भ्याक्सिन, इनयाक्टिभेटेड पोलियो भ्याक्सिन (आइपिभी) र सिजनल इन्फ्लुएन्जा भ्याक्सिन लगाउनुपर्ने हुन्छ । महाशाखाले यिनै तीनवटा भ्याक्सिन १३–१३ सयको संख्यामा खरिद गर्न लागेको हो ।

यस वर्ष करिब १३ सयलाई पठाइँदै, ३९ सय भायल भ्याक्सिन आवश्यक
नेपाल सरकार गृह मन्त्रालयले प्रतिवर्ष नेपाली इस्लाम धर्मावलम्बीलाई मक्का–मदिनाको हजयात्रामा पठाउने गरेको छ । निश्चित संख्याका इस्लाम धर्मावलम्बीलाई सरकारी खर्चमा हजयात्रामा पठाइँदै आएको छ । यस वर्ष पनि आगामी महिना सरकारले करिब १ हजार ३ सयको हाराहारीमा नेपाली इस्लाम धर्मावलम्बीलाई हजयात्रामा पठाउँदै छ । उनीहरूका लागि प्रतियात्री ३ वटाका दरले जम्मा ३ हजार ९ सय भायलको हाराहारीमा भ्याक्सिन आवश्यक हुन्छ ।

हजयात्राको समय निकट आइसकेकाले विभागले द्रुत प्रक्रियाबाट उक्त संख्यामा भ्याक्सिन खरिद गर्न लागेको हो । त्यसका लागि महाशाखाले ५ दिनभित्र खरिद प्रस्ताव पेस गर्न सूचना जारी गरेको छ । योग्य तथा इच्छुक उत्पादक फर्म, कम्पनी तथा सप्लायरले २५ असार (बुधबार)भित्र खरिद प्रस्ताव पेस गर्न सक्नेछन् । प्रस्ताव स्वीकृत हुने कम्पनीले ३० असारसम्ममा तोकिएको परिमाणमा कबुलबमोजिमको दररेटमा भ्याक्सिन उपलब्ध गराइसक्नुपर्नेछ ।

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै

काम छोडेर राजनीति गर्ने कर्मचारीलाई ठेगानमा ल्याउँछु : महानिर्देशक डा. प्याकुरेल

स्वास्थ्यसेवा विभागका  महानिर्देशक डा. सुशीलनाथ प्याकुरेलले पदबहाली गरेका छन् । टेकुस्थित स्वास्थ्य विभागमा बुधबार बिहान डा. प्याकुरेलले औपचारिक रूपमा विभागको नेतृत्व सम्हालेका हुन् ।

पदबहालीसँगै डा. प्याकुरेलले विभागलाई सिस्टममा ल्याउने प्रमुख एजेन्डा भएको बताएका छन् । पदबहालीलगत्तै हेल्थपोस्टसितको कुराकानीमा डा. प्याकुरेलले भने, ‘मेरो २ महिनाको कार्यकालमा पहिलो प्राथमिकता विभागको सिस्टम व्यवस्थापनमै केन्द्रित हुनेछ ।’ डा. प्याकुरेल आगामी भदौमा उमेरहदका कारण निजामतीसेवाबाट अवकाश हुँदै छन् ।

स्थानीय तहदेखि मन्त्रालयको निमित्तसचिवसम्मको अनुभव बटुलेको हुनाले विभागको काममा सफल हुने डा. प्याकुरेलको विश्वास छ । ‘धेरै कर्मचारीमा राजनीति गर्ने तर काम नगर्ने प्रवृत्ति छ,’ डा. प्याकुरेलले भने, ‘काम नगर्ने कर्मचारीलाई लाइनमा ल्याउँछु, सेवाप्रति उत्तरदायी बनाउँछु ।’

विभाग स्वास्थ्यक्षेत्रको पावरफुल संस्था भएका कारण सबै सिस्टमको व्यवस्थापन राम्रो हुनुपर्ने डा. प्याकुरेलको भनाइ छ । ‘पदबहालीसँगै सबै महाशाखाका निर्देशकहरूसित कुराकानी गरेको छु,’ उनले भने, ‘सरकार तथा स्थानीय तहसँग समन्वय गरेर विभागले गर्ने कामलाई कसरी मजबुत बनाउने भन्नेतर्फ केन्द्रित रहेर काम अगाडि बढाउनेछु ।’

स्थानीय तहदेखि मन्त्रालयको निमित्तसचिवसम्मको अनुभव बटुलेको हुनाले विभागको काममा सफल हुने डा. प्याकुरेलको विश्वास छ । ‘धेरै कर्मचारीमा राजनीति गर्ने तर काम नगर्ने प्रवृत्ति छ,’ डा. प्याकुरेलले भने, ‘काम नगर्ने कर्मचारीलाई लाइनमा ल्याउँछु, सेवाप्रति उत्तरदायी बनाउँछु ।’

वि.सं. ०३६ देखि सरकारी सेवामा प्रवेश गरेका डा.प्याकुरेलसित लामो समयसम्म राजधानीबाहिर, मुलुकका दुर्गम भागहरूमा सेवा गरेको अनुभव छ । तत्कालीन सुदूरपश्चिममाञ्चल क्षेत्रीय स्वास्थ्य निर्देशक हुँदा उनको १२औँ तहमा बढुवा भएको थियो । यसअघि स्वास्थ्य मन्त्रालयमा प्रमुख विशेषज्ञका रूपमा कार्यरत डा. प्याकुरेलले डेढ महिना निमित्तसचिवको जिम्मेवारीसमेत सम्हालिसकेका छन् ।

४ दशक लामो निजामती सेवाको उत्तरार्धमा २ महिनाका लागि स्वास्थ्यका कार्यक्रम कार्यान्वयन तथा नियमनको प्र्रमुख जिम्मेवारीमा पुगेका डा. प्याकुरेलले अफ्नो छोटो कार्यकाललाई कत्तिको सार्थक र सम्झनलायक बनाउँछन्, त्यो भने हेर्न बाँकी नै छ । यद्यपि, लामो सेवाका क्रममा सबैखाले अनुभव बटुलिसकेकाले डा. प्याकुरेलबाट स्वास्थ्यक्षेत्रले निकै आशा गरेको छ ।

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै

स्वास्थ्यसेवा विभागको महानिर्देशकमा डा. प्याकुरेल, व्यापक जिम्मेवारी हेरफेर हुँदा क–कसले कहाँ–कहाँको पाए नेतृत्व ?

स्वास्थ्यसेवा विभागको महानिर्देशकमा डा. सुशीलनाथ प्याकुरेल नियुक्त भएका छन् । कर्मचारी समायोजनपछि पदस्थापनका क्रममा जिम्मेवारीमा व्यापक हेरफेर गरेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यसअघिका निमित्त महानिर्देश डा. गुणराज लोहनीलाई विराटनगरस्थित कोसी अञ्चल अस्पतालमा सरुवा गरी मन्त्रालयमा प्रमुख विशेषज्ञका रूपमा कार्यरत डा. प्याकुरेललाई विभागको महानिर्देशकको जिम्मेवारी दिएको हो ।१२ औं तहकै व्यक्ति महानिर्देशक हुनुपर्ने व्यवस्था भएपछि लामो समयपछि विभागले बल्ल पूर्ण महानिर्देशक पाएको छ । मन्त्रालयको कर्मचारी प्रशासन महाशाखा प्रमुख जनार्दन गुरागाईँले समायोजन भएर आएका चिकित्सकहरुको पदस्थापन गरिएको पुष्टि गरे ।

औषधि व्यवस्था विभागमा क्षेत्री
मन्त्रालयका अनुसार अन्य विभाग तथा कार्यालयहरुको पनि जिम्मेवारीमा व्यापक हेरफेर गरिएको छ । मन्त्रालयले औषधि व्यवस्था विभागमा निमित्त महानिर्देशकको जिम्मेवारी पानबहादुर क्षेत्रीलाई दिएको छ । यसअघिका महानिर्देशक नारायणप्रसाद ढकाललाई राष्ट्रिय औषधि प्रयोगशालाको प्रमुखका रूपमा सरुवा गरिएको छ ।

क्षयरोग केन्द्रमा डा. भण्डारी, परिवारकल्याणमा डा. तिंकरी
यसैगरी, राष्ट्रिय क्षयरोग केन्द्रको जिम्मेवारी डा. सागरराज भण्डारीलाई दिइएको छ । भण्डारी यसअघि धवलागिरि अञ्चल अस्पतालमा मेसुका रूपमा कार्यरत थिए । यसअघि केन्द्रमा निर्देशकको जिम्मेवारी सम्हाल्दै आएका डा. भीमसिंह तिंकरीलाई विभागअन्तर्गतको परिवारकल्याण महाशाखाको निर्देशक बनाइएको छ । यसअघि परिवार कल्याणको नेतृत्वमा डा. आरपी विच्छा थियो । हाल उनले कान्ति बाल अस्पतालको नेतृत्व पाएका छन् । यसअघि कान्तिको निर्देशकको जिम्मेवारीमा डा. गणेश राई थिए ।

अन्य कहाँ–कहाँ क–कसले पाए जिम्मेवारी ?
मन्त्रालयका अनुसार सार्क क्षयरोग केन्द्रको निर्देशकमा डा. रमेश खरेलले जिम्मेवारी पाएका छन् । त्यस्तै, मोहमद दाउदले तालिम केन्द्रको जिम्मेवारी पाएका छन् । भोगेन्द्र डोटेललाई व्यवस्थापन महाशाखाको जिम्मेवारीमा ल्याइएको छ । यसअघि डोटेल प्रदेश १ को स्वास्थ्य निर्देशकको जिम्मेवारीमा थिए । त्यसैगरी, नरदेवी आयुर्वेद अस्पतालको नेतृत्व भने डा. प्रदीप केसीले पाएका छन् ।

पदस्थापनमा यी ४ को पुरानै जिम्मेवारी यथावत्
मन्त्रालयले डा. वासुदेव उपाध्यायलाई भने आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागको महानिर्देशकमा यथावत् राखेको छ । त्यसैगरी, मन्त्रालयका सहसचिवहरु डा. दीपेन्द्ररमण सिंह, महेन्द्रप्रसाद श्रेष्ठ, डा. विकास देवकोटालाई भने यथास्थानमा पदस्थापन गरिएको छ । श्रेष्ठले मन्त्रालयको प्रवक्ताको जिम्मेवारी सम्हाल्दै आएका छन् । मन्त्रालयका अनुसार सूचना तथा अन्य केही मेसुको जिम्मेवारी पनि हेरफेर भएको छ ।

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै