बुटवलमा स्क्रब टाइफसले महामारीको रुप लिन सक्ने

डा. सुदर्शन थापा

मुसामा पाइने एकप्रकारको परजीवीको टोकाइबाट लाग्ने स्क्रब टाइफस रोग ४२ जनामा देखिएको छ । बुटवलका चार अस्पतालमा शंकास्पद बिरामीको परीक्षण गर्दा ४२ जनामा रोग भेटिएको हो । यो संख्या अझ बढी हुन सक्ने देखिएको छ । स्क्रब टाइफस रोगले महामारीको रूप लिने हो कि भन्ने संकेत देखिँदासमेत त्यसको अध्ययन र व्यवस्थापनको तयारी हुन सकेको छैन ।

बुटवल क्षेत्रमा करिब १५ वटा अस्पताल रहेकामा चार अस्पतालको रेकर्डमा मात्र यति संख्या देखिएको हुँदा यो संख्या अझ बढी हुन सक्ने अनुमान छ । अस्पतालहरूबाट सूचना संकलन नहुँदा के–कतिलाई स्क्रब टाइफस रोग लागेको हो र कुन अवस्थामा छ भन्नेबारे अन्योल छ । जनताको स्वास्थ्यका लागि नेतृत्व गरिरहेको लुम्बिनी अञ्चल अस्पतालले बजेट नभएपछि यसको कामकारबाही अगाडि बढाएको छैन । अस्पतालले यस क्षेत्रका अस्पतालहरूबाट सूचना संकलन गर्ने, अध्ययन गर्ने, विश्लेषण गर्ने र रोकथाम तथा सावधानीका उपायहरू अघि बढाउनुपर्ने हो, तर त्यस्तो गरिरहेको छैन । विनियोजित बजेट प्रदेश सरकारमै रहेको हुँदा काम हुन नसकेको लुम्बिनी अञ्चल अस्पतालका मेडिकल रेकर्डर लक्ष्मीराज रेग्मी बताउँछन् । उनले रोगले साधारण अवस्थाको सीमा नाघेको हुँदा सतर्कता अपनाउनुपर्ने वेला आइसकेको बताए ।

प्रदेश ५ को सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख डा. उमाशंकर चौधरीले बजेट वितरण प्रक्रियाका कारण बजेट निकासामा ढिलाइ भएको बताए । उनले उक्त महामारी नियन्त्रणअन्तर्गतका कालाजार, स्क्रब टाइफसलगायतको बजेट छिट्टै निकासा गर्ने जानकारी दिए । ‘प्रदेशको संरचना स्थापना र वितरण प्रक्रियामा केही ढिलाइ भएको हो,’ डा. चौधरीरले भने, ‘अब हप्तादिनभित्रमा निकासा हुन्छ ।’  लुम्बिनी अञ्चल अस्पतालको रेकर्डमा चालू आर्थिक वर्षमा स्क्रब टाइफसबाट एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बुटवल उपमहानगरपालिका–११ की ६३ वर्षीया एक महिला छिन् । उनको १४ भदौमा उपचारका क्रममा मृत्यु भएको थियो ।

स्क्रब टाइफस रोग लागेमा मुख्यतः ज्वरो आउने, खोकी लाग्ने, मुटुले राम्रोसँग काम नगर्ने, पेट दुख्नेजस्ता लक्षण देखिन्छन् । यो रोगको सावधानीका लागि झाडीमा काम गर्दा पूरा शरीर छोपिने कपडा लगाउने, झाडी सफा गर्ने, मुसाबाट बच्नुपर्ने उनको सुझाब छ ।

घाँस तथा झाडीमा जाँदा ‘माइट’ नामक उक्त परजीवीले मानिसलाई टोकेमा स्क्रब टाइफस रोगको संक्रमण हुने लुम्बिनी अञ्चल अस्पतालका फिजिसियन डा. सुदर्शन थापाले बताए । डा. थापाका अनुसार स्क्रब टाइफस रोग लागेमा मुख्यतः ज्वरो आउने, खोकी लाग्ने, मुटुले राम्रोसँग काम नगर्ने, पेट दुख्नेजस्ता लक्षण देखिन्छन् । यो रोगको सावधानीका लागि झाडीमा काम गर्दा पूरा शरीर छोपिने कपडा लगाउने, झाडी सफा गर्ने, मुसाबाट बच्नुपर्ने उनको सुझाब छ । रोग लागेको शंका लागेमा चेकजाँचका लागि छिटो अस्पताल जानका लागि डा. थापाले सल्लाह दिए ।

अन्य रोगसँग मिल्ने केही लक्षणका कारण स्क्रब टाइफसबारे बिरामी र स्वास्थ्यकर्मीसमेत झुक्किने गरेका छन् । गत वर्ष स्क्रब टाइफसबाट ९१ जना प्रभावित भएकामा ४ जनाको मृत्यु भएको थियो ।

नांगा खुट्टाले खेतबारीमा टेक्ने, झाडीमा सुत्ने गरेमा तथा घरवरपर मुसा भएमा स्क्रब टाइफसको संक्रमण अधिक हुन्छ । घरभित्र र वरपरको वातावरण सफा राखेर, झाडीमा नांगो गोडा या हातले नछोएमा यसको जोखिम कम गर्न सकिन्छ ।

के हो स्क्रब टाइफस ?
खेतबारी वा झाडीमा मुसाको रगत चुसेर जिउने ‘माइट’ नामक परजीवीको माध्यमबाट मानिसमा स्क्रब टाइफस संक्रमण हुन्छ । झाडीमा बस्ने परजीवी (किर्ना) भित्र हुने ‘ओरेन्सिया सुसुगामोसी’ नामक जीवाणु शरीरभित्र प्रवेश गरेपछि यसको संक्रमण हुन्छ । यो परजीवी घाँस, झाडीमा बस्ने भएकाले घरभित्र मुसा पसेर किर्ना छोडेमा घरभित्रै पनि यो परजीवीले टोके स्क्रब टाइफसको संक्रमण हुन्छ ।

किर्नाले टोकेको ५ देखि ६ दिनमा व्यक्तिलाई ज्वरो आउने, शरीरमा रातो बिबिरा आउने, शरीर दुख्ने, ग्रन्थि सुन्निनेलगायत लक्षण देखिन्छन् । कतिपयको यो परजीवीले टोकेको भागमा कालो दाग देखिन्छ । कसैको भने दाग नदेखिन पनि सक्छ । समयमै उपचार नभएमा शरीरका विभिन्न अंगहरू मुटु, कलेजो, फोक्सो, मिर्गौलालगायतमा यसको संक्रमण फैलिएर मृत्युसमेत हुन सक्छ । यसको संक्रमणले कलेजो, मिर्गौलाजस्ता अंग फेल भएर बिरामीको ज्यान जान सक्छ ।

चिकित्सकका अनुसार नांगा खुट्टाले खेतबारीमा टेक्ने, झाडीमा सुत्ने गरेमा तथा घरवरपर मुसा भएमा स्क्रब टाइफसको संक्रमण अधिक हुन्छ । घरभित्र र वरपरको वातावरण सफा राखेर, झाडीमा नांगो गोडा या हातले नछोएमा यसको जोखिम कम गर्न सकिन्छ । घाँस भएको भुइँमा सीधै बस्ने या पल्टिने क्रममा यो परजीवी छालामा टाँसिने भएकाले त्यसो गर्नुहुँदैन । खेतबारीमा जाँदा लामो बाहुला भएका लुगा लगाउने, खुट्टामा बुटको प्रयोग तथा हातमा पन्जा प्रयोग गरेमा यसको जोखिमबाट बच्न सकिन्छ ।

लक्षण
– ज्वरो आउने ।
– शरीरमा राता बिबिरा देखिने ।
– बान्ता हुने ।
– खान मन नलाग्ने ।
– आँखा रातो हुने ।
– टोकेको भागमा कालो दाग बस्ने ।

कसरी बच्ने ?
– झाडी या बारीमा जथाभावी नबस्ने ।
– बारीमा जाँदा नांगो खुट्टाले नजाने ।
– घरवरिपरिको वातावरण सफा राख्ने ।
– चौर या झाडीमा सीधै नसुत्ने ।
– खेतबारीमा जाँदा पन्जाको प्रयोग गर्ने ।

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै

अकल्पनीय लक्षणसहित फैलिँदै छ स्क्रब टाइफस


केही वर्षअघिदेखि मात्र जानकारीमा आएको स्क्रब टाइफस पछिल्ला दिनमा नियमितभन्दा भिन्नखालका लक्षण लिएर अस्पताल पुगेका बिरामीमा समेत देखिन थालेको छ । डरलाग्दो गरी फैलिरहेको यो रोग यही गतिमा फैलिरहे विकराल समस्या बन्ने चिकित्सकहरू बताउँछन् ।

शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालका क्लिनिकल रिसर्च युनिट संयोजक डा. शेरबहादुर पुनका अनुसार पछिल्ला दिनमा स्क्रब टाइफसको सबैभन्दा डरलाग्दो पक्षका रूपमा यस रोगका बिरामीमा फरक–फरक र अकल्पनीय लक्षणहरू देखा परिरहेका छन् । उनका अनुसार उच्च ज्वरो, टाउको दुख्नु, आँखा रातो हुनु, लिम्फ ग्रन्थि सुन्निनु, पसिना बढी आउनु, छालामा कालो धब्बा देखिनु यसका नियमित र साझा लक्षण हुन् । ‘पछिल्लो समय झाडापखाला भएर आउने बिरामीमा पनि यो रोग प्रमाणित भएको छ,’ पुनले भने, ‘यसरी नयाँ–नयाँ लक्षण देखिनु र सर्वसाधारण र सरकारले पनि यसलाई सामान्य रूपमा लिनु खतरापूर्ण साबित हुन सक्छ ।’

सामान्य ज्वरोको जस्तै लक्षण देखिने स्क्रब टाइफस अहिले तीव्र गतिमा फैलिरहेको छ । यदि यस्तै अवस्था रहने हो भने केही वर्षमै यसले भयावह रूप लिने चिकित्सकहरूको चेतावनी छ ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडिसिडी)को पछिल्लो तथ्यांकअनुसार राजधानीका विभिन्न अस्पतालमा प्रत्येक दिन करिब ५ देखि ६ जना बिरामीमा स्क्रब टाइफस पोजिटिभ देखिएको छ । परीक्षणमा आएभन्दा बाहेक पनि ठूलो संख्यामा यसका संक्रमित रहेको चिकित्सकको अनुमान छ ।

सामान्य ज्वरोको जस्तै लक्षण देखिने स्क्रब टाइफस अहिले तीव्र गतिमा फैलिरहेको र यदि यस्तै रहने हो भने केही वर्षमै यसले भयावह रूप लिने चिकित्सकहरूको चेतावनी छ ।

सन् २०१५ मा धरानमा ७ बालबालिकाको शंकास्पद मृत्यु भएपछि इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा, टेकुले विस्तृत अनुसन्धान गरेपछि मृत्युको कारण स्क्रब टाइफस रहेको खुलेको थियो । तर, त्यसभन्दा धेरै वर्षअघिदेखि नै यो रोगको संक्रमण भएको अनुमान छ । सन् २००४ मा प्रकाशित हेल्थ बुलेटिनमा करिब ३.२ प्रतिशत ज्वरोका बिरामीमा यो रोगको संक्रमण रहेको उल्लेख छ । तर, रोग प्रमाणित भएको भने धरानमा बालबालिकाको मृत्यु भएपछि नै हो ।

सन् २०१५ पछिका ३ वर्षमा यो रोग यति द्रुत गतिमा फैलिएको छ कि अहिले हरेक ज्वरोका बिरामीमा यसको आशंका र परीक्षण गर्नुपर्ने अवस्था आइसकेको डा. पुनको भनाइ छ । जसरी विगतमा ज्वरो आउनासाथ टाइफाइड हुन सक्ने आशंका र त्यसको रोकथामका लागि सचेत हुनुपर्ने अवस्था थियो, त्यही स्तरमा स्क्रब टाइफसको संक्रमण पुगिसकेको चिकित्सकहरू बताउँछन् ।

सामान्य परीक्षणबाट पत्ता लाग्ने र सामान्य औषधिले निको हुने यो रोग पहिचान हुन नसकेमा शरीरका विभिन्न अंगमा जटिलता आउने र ३० प्रतिशतसम्म मृत्युको सम्भावना हुने गरेको छ ।

माइट नामक आँखाले देख्न नसकिने, (०.४एमएम)साइजको किर्नाको टोकाइबाट यो रोग सर्ने गर्दछ । यो किर्ना मुसाको शरीरमा बस्न रुचाउने हुनाले मुसा बढी हुने ठाउँमा यसको संक्रमण हुने सम्भावना पनि बढी हुन्छ ।
इडिसिडीको प्रोटोकलअनुसार टक्सिसाइक्लिन नामक औषधि ५ देखि १० दिनसम्म सेवन गर्दा यो रोगबाट बच्न सकिन्छ भने ८ वर्षमुनिका बालबालिका तथा गर्भवती महिलाले एक मात्रा एजिथ्रोमाइसिन सेवन गरेपछि रोग निको हुन्छ ।

गाउँमा खेतबारीमा काम गर्ने, जंगल जाने महिला तथा बालबालिका यो रोगको जोखिममा छन् । त्यसैगरी, सहरमा पनि जंगली क्षेत्रवरिपरि घुमफिर गर्ने मानिसमा यो रोग संक्रमणको सम्भावना बढी हुन्छ ।
वर्षायामका ४ महिनामा यो रोगको जोखिम बढी हुने गर्छ । विगत ३ वर्षमा यसको संक्रमण अत्यधिक बढेको छ । नेपालमा मात्र नभई छिमेकी देश भारतमा पनि यो रोगको संक्रमण पछिल्लो समय निकै बढिरहेको छ ।

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै

टाइफाइडभन्दा भयावह बन्दै स्क्रब टाइफस

गएका केही वर्षदेखि स्क्रब टाइफस संक्रमितको संख्या बढ्दोक्रममा छ । एपिडेमियोलोजी महाशाखाले केही दिनअघि सार्वजनिक गरेको तथ्यांकले यो वर्ष पनि स्क्रब टाइफस युद्धस्तरमा बढ्दोक्रममा रहेको देखाउँछ । बर्सेनि स्क्रब टाइफसले मृत्यु हुनेको संख्या बढेको पाइन्छ । केही समयअघिसम्म, खासगरी सन् २०१५ अगाडिसम्म खासै चर्चामा नआएको यो रोग हाल ज्वरो आएका बिरामीमा नियमित जाँच गर्दा पनि भेटिने गरेको छ ।

अहिले पनि गाउँघरका स्वास्थ्यकेन्द्रहरूमा स्क्रब टाइफसका बिरामीलाई टाइफाइड भन्दै उपचार गरिरहेको देखिन्छ । अझै पनि स्क्रब टाइफसबारे खासै चर्चा नहुनु तथा पहिचान गर्ने विधि नहँुदा यस्तो भएको हो । साथै, अझै पनि ज्वरो भन्नेबित्तिकै टाइफाइड भन्ने हाम्रो सोचमा परिवर्तन आइसकेको छैन भन्ने पनि यसले देखाउँछ । गत वर्ष मात्र यो पंक्तिकारले काठमाडौंका विभिन्न अस्पतालबाट रक्तपरीक्षणका लागि पठाएका ज्वरोका बिरामीमध्ये सयौँमा स्क्रब टाइफस प्रयोगशालाबाट निदान भएको थियो । कुनै चमत्कार नभए यो वर्ष यही संख्यामा वा त्योभन्दा बढी नआउला भन्न सकिँदैन । यो वर्ष पनि आजका मितिसम्म स्क्रब टाइफसका दर्जनौँ बिरामी भेटिइसकेका छन् ।

सन् २०१५ अगाडिसम्म खासै चर्चामा नआएको स्क्रब टाइफस हाल ज्वरो आएका बिरामीमा नियमित जाँच गर्दा पनि भेटिने गरेको छ ।

किन टाइफाइडभन्दा भयावह बन्दै छ ?
टाइफाइड खासगरी संक्रमित खानपानका कारण हुने गर्छ । वर्षौंदेखि र अहिले पनि सरकारी तथा निजीस्तरका संस्थाहरूले सफा खानेकुरा र पानीबारे जनचेतना फैलाउने तथा वेला–वेलामा अनुगमन गरी दण्ड–जरिवाना गर्ने गरेको हँुदा धेरै हदसम्म पानी तथा खानेकुराजन्य रोगहरू नियन्त्रण हँुदै गएका देखिन्छन् । तसर्थ, टाइफाइड सर्ने माध्यम पनि यही भएकाले आगामी दिनमा यसको संख्यामा कमी आउनेमा दुईमत देखिँदैन । त्यस्तै, टाइफाइड पहिचान गर्दा रगतको कल्चर गरेर हेर्ने गरिन्छ र बर्सेनि तथ्यांकहरू हेर्दा केही दर्जनमा मात्र ब्याक्टेरिया देखिने गरेको पाइन्छ । यो विधिबाट टाइफाइडको कीटाणु देखे मात्र निश्चित रूपमा टाइफाइड भएको मानिन्छ । यसबाहेक विडाल टेस्ट पनि गरिन्छ, जुन त्यति भरपर्दो मानिँदैन । यद्यपि, सबै स्वास्थ्यचौकीमा रगतको कल्चर गर्ने सुविधा नभएकाले यही विधिलाई आधार मानेर उपचार गर्ने गरिन्छ । त्यस्तै, हाल मानिसमा टाइफाइडविरुद्ध खोपको जानकारी र ज्ञान बढ्दै गएको देखिन्छ, जसलाई आगामी दिनमा टाइफाइड क्रमिक रूपमा कम हँुदै जाने बलियो आधार मान्न सकिन्छ । तर, स्क्रब टाइफसबारे अहिले पनि नेपालमा राम्रो जानकारी छैन भनेर ज्वरोका बिरामीलाई गरेको उपचारको प्रकृतिबाट नै देख्न सकिन्छ । यसले गर्दा स्क्रब टाइफसको जाँच गर्ने चलन कम हुँदै छ भने संक्रमितको संख्या ह्वात्तै बढ्दै छ । यसबाट टाइफाइडभन्दा स्क्रब टाइफस भयावह बन्ने सहजै अनुमान गर्न सकिन्छ ।

के गर्ने ?

यो चिगर माइटको टोकाइबाट सर्ने भएकाले यसबारे सर्वसाधारणमा जनचेतना बढाउनु जरुरी हुन्छ । हाल यो अत्यधिक मात्रामा ग्रामीण भेगमा देखिँदै आएकाले त्यहाँका स्थानीयवासीलाई रोगबारे, कसरी सर्छ र बच्ने पूर्वउपायहरूबारे राम्ररी जानकारी गराउनुपर्छ । त्यहाँ खटेका स्वास्थकर्मीले पनि यो रोगलाई ध्यानमा राखेर उपचार गर्नुपर्छ वा छुटाउनुहँुदैन । प्रयोगशाला जाँच गर्न सहज नहुने भएकाले लक्षणहरू मिलेमा, कहाँ फैलँदै छ भन्ने जानकारी राखेर र यसको उपचारमा प्रयोग हुने एन्टिबायोटिक एक–दुई दिन मात्र चलाएर हेर्दा सुधार भएमा स्क्रब टाइफस शंका गरी उपचारलाई निरन्तरता दिनुपर्छ । सहरी इलाकामा शंका लागे पहिचान गर्न टेकु अस्पताल वा केन्द्रीय प्रयोशाला पठाउन सकिन्छ । हाल यो ग्रामीण भेगमा मात्र नभई सहरी इलाकामा पनि देखिनेक्रम बढ्दो भएकाले यहाँ सेवा दिइरहेका स्वास्थकर्मीले पनि ज्वरो आएका बिरामीमा स्क्रब टाइफसलाई पनि विशेष ध्यान पुर्याएर जाँच तथा उपचार गर्नुपर्छ ।

स्क्रब टाइफस मृत्युदर ३० प्रतिशतसम्म हुने गरेको अनुसन्धानहरूले देखाएका छन् ।

स्क्रब टाइफसको समयमा पहिचान नभए बिरामीको मृत्युसमेत हुने गर्दछ । यसको मृत्युदर ३० प्रतिशतसम्म हुने गरेको भारतीय अनुसन्धानहरूले देखाएका छन् । नेपालमा स्क्रब टाइफसको मृत्युदरबारे राम्रो तथ्यांक पाउन अझै अनुसन्धानहरू गर्न बाँकी नै छ । यो रोगले भौगोलिक हिसाबले पनि आफ्नो सीमा बढाउँदै गएको देखिन्छ भने लक्षणहरू पनि नयाँ–नयाँ थपिँदै गएका देखिन्छन् । ज्वरो आयो कि टाइफाइड भन्ने पुरानो सोचमा आगामी दिनमा परिवर्तन आई स्क्रब टाइफस भन्ने समय आउँदै गरेको सहजै अनुमान लगाउन सकिन्छ । यसले टाइफाइडभन्दा स्क्रब टाइफस आगामी दिनमा भयावह रूपमा फैलँदै छ भन्ने संकेत गर्दछ ।

(डा. पुन, क्लिनिकल रिसर्च युनिट, शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पतालका संयोजक हुन् ।)

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै