सुरक्षित मातृत्वमा भरतपुर महानगरको २ करोड खर्च, डेलिभरी गराउने स्वास्थ्यकर्मीलाई ६ हजारसम्म भत्ता

भरतपुर महानगरपालिकाले सुरक्षित मातृत्वअन्तर्गत दुई करोड रुपैयाँ खर्च गरेको छ । महानगरपालिकाबाट मान्यताप्राप्त बर्थिङ सेन्टरमा सुत्केरी भएका महिला र कर्मचारीको प्रोत्साहन भत्तामा महानगरले दुई करोड रुपैयाँ खर्च गरेको हो ।

महानगरले पाँचवटा स्वास्थ्यकेन्द्र र एक निजी अस्पतालबाट सुरक्षित मातृत्व कार्यक्रम सञ्चालन गरेको छ । यी बर्थिङ सेन्टरबाट गत आर्थिक वर्षमा मात्रै ३ हजार ७० जना गर्भवती भएका थिए । शिवनगर प्राथमिक स्वास्थ्यकेन्द्र, मेघौली स्वास्थ्यचौकी, गुन्जनगर स्वास्थ्यचौकी, शारदानगर स्वास्थ्यचौकी, जागतपुर स्वास्थ्यचौकी र चितवन मेडिकल कलेजमा भरतपुर महानगरपालिकाले सुरक्षित मातृत्व सेवा कार्यक्रम सञ्चालन गरेको महाशाखाका जनस्वास्थ्य अधिकृत जीवनकुमार श्रेष्ठले जानकारी दिए । स्वास्थ्यसंस्थामा ४, ६, ८ र ९ महिनामा गर्भवतीले नियमित जाँच गराएमा महानगरपालिकाले प्रोत्साहनस्वरुप ८ सय रुपैयाँ प्रदान गर्दै आएको र सुत्केरी भएपछि एक हजारसहित एक हजार ८ सय रुपैयाँ प्रदान गर्दै आएको श्रेष्ठले जानकारी दिए ।

निजी अस्पतालका स्वास्थ्यकर्मीलाई बढी सुविधा, स्वाभाविक डेलिभरीमा १०५० र सिजरिङमा ६ हजार भत्ता
प्रसूति गराउने स्वास्थ्यकर्मीलाई पनि महानगरपालिकाले प्रोत्साहनभत्ता दिने गरेको छ । सरकारी स्वास्थ्यकेन्द्रका स्वास्थ्यकर्मीलाई एक हजार र चितवन मेडिकल कलेजलाई प्रतिडेलिभरी एक हजार ५ सय रुपैयाँ प्रदान गर्ने गरेको जनस्वास्थ्य अधिकृत श्रेष्ठले जानकारी दिए । ‘स्वास्थ्यकर्मीले जटिलखालका प्रसूति हेर्नुपर्ने हुन्छ । जटिल आएको खण्डमा तीन हजार रुपैयाँ स्वास्थ्यकर्मीलाई दिने गरेका छौँ । अप्रेसन नै गर्नुपर्यो भने हामीले ६ हजार रुपैयाँ उपलब्ध गराउँदै आएका छौँ,’ श्रेष्ठले भने, ‘स्वास्थ्यकेन्द्रमा भन्दा हामीले चितवन मेडिकल कलेजका स्वास्थ्यकर्मीलाई प्रोत्साहनस्वरुप बढी पैसा दिँदै आएका छौँ ।’

भरतपुर महानगरपालिकाले अनुमति दिएका बर्थिङ सेन्टरमध्ये चिवतन मेडिकल कलेजमा मात्र शल्यक्रियामार्फत प्रसूति गराउने गरिएको छ । अन्य बर्थिङ सेन्टरमा सर्जन चिकित्सक र शल्यक्रिया गर्ने उपकरण नहुँदा शल्यक्रियामार्फत प्रसूति गराउन नसकिएको उनले बताए । अहिलेसम्म चितवन मेडिकल कलेजमा एक हजार पाँच सय ४५ जनाले शल्यक्रियामार्फत प्रसूति गराएका छन् । गत आर्थिक वर्षमा चितवन मेडिकल कलेजमा २ हजार ८ सय ४५ जनाले प्रसूति गराएका थिए ।

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै