२८ हप्तासम्मको गर्भपतन गराउन पाउने त्रुटिपूर्ण कानुन, विज्ञ भन्छन्– २८ हप्तामा त शिशु नै जन्मिन्छ

सुरक्षित मातृत्व तथा प्रजननस्वास्थ्य अधिकार ऐन, २०७५ को गर्भपतनसम्बन्धी व्यवस्थाले भ्रूणहत्यालाई प्रश्रय दिने मात्र नभई गर्भवती महिलालाई समेत शारीरिक तथा मानसिक रुपमा गम्भीर असर पुर्याउने देखिएको छ । प्राविधिक र व्यावहारिक पक्षलाई ख्यालै नगरी ऐनमा राखिएको २८ सातासम्मको गर्भलाई पतन गराउन पाउने प्रावधान संवेदनाहीन, अमानवीय अनावश्यक रहेको विज्ञहरू बताउँछन् । विज्ञहरूका अनुसार उक्त प्रावधानले जीवित शिशुको हत्यालाई वैधता दिनुका साथै महिलाको स्वास्थ्यमा गम्भीर असर पुर्याउने निश्चित छ ।

विज्ञहरूका अनुसार २८ हप्तासम्ममा गर्भमा पूर्ण शिशुको निर्माण भइसकेको हुन्छ । कतिपय अवस्थामा गर्भाधानको २८ हप्तामा शिशुले जन्म नै लिने हुन्छ । तसर्थ, ऐनको व्यवस्था अविवेकशील र सबै दृष्टिले अव्यावहारिक भएको जनस्वास्थ्यविज्ञ डा. अरुणा उप्रेती बताउँछिन् ।
नेपालमा सर्वप्रथम सुरक्षित गर्भपतनको कानुन सन् २००२ मा ल्याइएको थियो । गर्भपतनलाई कानुनी मान्यता दिइएसँगै मातृमुत्युदरमा गिरावट आएको बताइँदै आएको छ ।

ऐनको प्ररिच्छेद–४ को ग, घ, ङमा महिलाको स्वास्थ्यमा गम्भीर असर पुग्नेखालका प्रावधान समेटिएको विशेषज्ञहरूको तर्क छ । विशेषज्ञका अनुसार उक्त परिच्छेदले राखेका कुनै पनि कन्डिसनका लागि २८ हप्ताको गर्भपतनलाई वैधता दिनुपर्ने आवश्यकतै पर्दैन ।

विश्व स्वास्थ्य संगठनको अध्ययनअनुसार गर्भपतनले कानुनी मान्यता नपाउँदा असुरक्षित गर्भपतन मातृमुत्युदरको ५० प्रतिशत कारण बनेको थियो । सुरक्षित गर्भपतनले कानुनी मान्यता पाएयता मातृमुत्युदर घट्दै गएको बताइएको छ । तर, ऐनको प्रावधानले मातृमुत्युदर बढाउने विशेषज्ञहरू बताउँछन् ।

२००२ को कानुनमा महिलाले आफ्नो मन्जुरीले १२ हप्तासम्मको गर्भलाई सुरक्षित रुपमा तालिमप्राप्त चिकित्सकमार्फत पतन गराउन पाउने प्रावधान थियो । हाडनाताकरणीबाट रहन गएको गर्भको हकमा भने १८ हप्तासम्मको गर्भलाई पतन गराउन पाउने कानुनी प्रावधान थियो । त्यसैगरी, महिलाको शारीरिक अथवा मानसिक स्वास्थ्यमा समस्या भएमा कुनै पनि समयमा गर्भपतन गराउन सक्ने प्रावधान थियो ।

गर्भपतनलाई वैधता प्रदान गर्ने सुरुवाती कानुन महिलाको हितमा भए पनि पछिल्लो ऐनको व्यवस्था महिलाको स्वास्थ्यको प्रतिकूल रहेको डा. उप्रेतीको तर्क छ । पूर्ण शिशु विकसित भइसकेको २८ हप्ताको गर्भलाई पतन गर्दा महिलाको शारीरिक तथा मानसिक स्वास्थ्यमा प्रत्यक्ष असर गर्ने उनी बताउँछिन् ।

२८ हप्ताको गर्भमा शिशु विकसित भइसक्ने र सुरक्षित डेलिभरी गराउन सक्दा बच्चा बाँच्ने स्त्रीरोग विशेषज्ञ डा. ज्योति अग्रवाल बताउँछिन् । ‘कतिपय अवस्थामा २८ हप्ताको गर्भमा डेलिभरी नै गराउनुपर्ने हुन्छ र बच्चा सकुशल जन्मिन्छ,’ डा. अग्रवाल भन्छिन्, ‘२८ हप्ताको गर्भपतन गराउँदा महिलामा दीर्घकालीन समस्या पनि निम्तिने खतरा हुन्छ ।’

ऐनको प्ररिच्छेद–४ को ग, घ, ङमा महिलाको स्वास्थ्यमा गम्भीर असर पुग्नेखालका प्रावधान समेटिएको विशेषज्ञहरूको तर्क छ । विशेषज्ञका अनुसार उक्त परिच्छेदले राखेका कुनै पनि कन्डिसनका लागि २८ हप्ताको गर्भपतनलाई वैधता दिनुपर्ने आवश्यकतै पर्दैन । ऐनको परिच्छेद ४ को गमा भनिएको छ, ‘जबर्जस्ती करणी वा हाडनाता करणीबाट रहन गएको गर्भ गर्भवती महिलाको मन्जुरीले २८ हप्तासम्मको गर्भपतन गराउने पाइनेछ ।’

गर्भवती महिलामा गम्भीर स्वास्थ्यसमस्या देखिएमा महिलालाई बचाउनका लागि मात्र ५–७ महिनाको गर्भलाई पतन गराउन मिल्ने कानुनी व्यवस्था गरिनुपर्ने डा. उप्रेती बताउँछिन् । ‘५–७ महिनाको गर्भ छ, तर महिलाको शारीरिक स्वास्थ्य नराम्रो भयो,’ उनी भन्छिन्, ‘यस्तो अवस्थामा गर्भवती महिलालाई बचाउनका लागि चिकित्सकले शल्यक्रियामार्फत बच्चा निकाल्नुपर्छ, अन्यथा सामान्य अवस्था यति लामो समयको गर्भलाई पतन गराउनु कुनै हिसाबले पनि मिल्दैन ।’

गर्भवती महिलामा उच्च रक्तचाप, एक्लाम्सिया, अन्य शारीरिक तथा मानसिक रोग भएका कारण बच्चा निकाल्नुपरेमा लामो समयको गर्भ पनि शल्यक्रियामार्फत निकाल्नुपर्ने हुन्छ ।

गर्भपतन गर्न पाइने कानुनी प्रावधानका कारण गाउँघरमा गर्भपतनको सामान्य तालिम लिएका मानिसले पनि लामो समयको गर्भपतन गराउँदा गर्भवती महिला नै मारमा परिरहेको डा. उप्रेती बताउँछिन् । ‘२८ हप्तासम्ममा गर्भमा बच्चा नै बनिसकेको हुन्छ, यस्तोमा दक्ष चिकित्सकबाहेक तालिम लिएका व्यक्तिले पनि गर्भपतन गराउन सक्दैनन्,’ उनी भन्छिन् ।

त्यसैगरी, परिच्छेद ४ को घमा ‘रोगप्रतिरोधक क्षमता उन्मुक्ति गर्ने जीवाणु (एचआइभी) वा त्यस्तै प्रकृतिको अन्य निको नहुने रोग लागेको महिलाको मन्जुरीमा २८ हप्तासम्मको गर्भ’को सुरक्षित पतन गर्न पाउने प्रावधान छ । डा. उप्रेतीका अनुसार एचआइभी संक्रमित महिलाले औषधि खाएर बच्चा जन्माउन सक्छिन् । ‘एचआइभी भएकी महिलाको गर्भपतन १२ हप्तामै गर्न सकिन्छ, २८ हप्तासम्म पर्खिनुपर्ने अवस्थै छैन,’ डा. उप्रेती बताउँछिन् ।

२८ हप्ताको गर्भपतन गराउँदा महिलामा बढी रगत जाने, पाठेघर सुन्निने, पाठेघरमा संक्रमण हुने, पाठेघर खस्नेजस्ता समस्या निम्तिनुका साथै दीर्घकालीन असर पर्ने विशेषज्ञहरू बताउँछन् । विशेषज्ञका अनुसार २८ हप्तासम्मको गर्भपतनको कानुन युरोपियन मुलक तथा नेपालका छिमेकी मुलकहरू भारत, बंगलादेशलगायतमा समेत छैन ।

नेपाल सरकारले सुरक्षित मातृत्वअन्तर्गत अस्पतालमा आउने हरेक गर्भवती महिलाको यौनरोग र एचआइभी टेस्ट गर्ने गरेको छ । डा. उप्रेती भन्छिन्, ‘कसैलाई यौनजन्य रोग लागेको छ भने गर्भवती अवस्थामा औषधि खान सकिन्छ । एचआइभी लागेको छ भने आमाबाट बच्चामा एचआइभी नसरोस् भनेर गर्भजाँच गराउँदै औषधिको प्रयोग भइरहेको हुन्छ ।’

त्यसैगरी, परिच्छेद ४ को ङमा ‘भ्रूणमा कमी–कमजोरी भएको कारणले गर्भमै नष्ट हुन सक्ने वा जन्मेर पनि बाँच्न नसक्ने गरी गर्भको भ्रूणमा खराबी रहेको, वंशानुत (जेनेटिक) खराबी वा अन्य कुनै कारणले भ्रूणमा अशक्तता हुने अवस्था रहेको भन्ने उपचारमा संलग्न स्वास्थ्यर्मीको रायबमोजिम गर्भवती महिलाको मन्जुरीमा २८ हप्तासम्मको गर्भ’लाई सुरक्षित पतन गर्न पाउने प्रावधान छ ।
२८ हप्तासम्मको गर्भपतन प्रसूतिकर्मी, अनमी तथा नर्सले गर्न सक्दैनन् । ‘सुविधासम्पन्न अस्पतालमा स्त्रीरोग विशेषज्ञले मात्र यति लामो समयको गर्भपतन गराउन सम्भव हुन्छ,’ स्त्रीरोग विशेषज्ञ डा. अग्रवाल भन्छिन्, ‘२८ हप्ताको गर्भपतन गराउनु भनेको जीवित शिशु शिशुलाई मार्नु हो ।’

२८ हप्ताको गर्भपतन गराउँदा महिलामा बढी रगत जाने, पाठेघर सुन्निने, पाठेघरमा संक्रमण हुने, पाठेघर खस्नेजस्ता समस्या निम्तिनुका साथै दीर्घकालीन असर पर्ने विशेषज्ञहरू बताउँछन् । विशेषज्ञका अनुसार २८ हप्तासम्मको गर्भपतनको कानुन युरोपियन मुलक तथा नेपालका छिमेकी मुलकहरू भारत, बंगलादेशलगायतमा समेत छैन ।

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै

गर्भपतन गराउनेमा १५ देखि ५० वर्षका महिला, भन्छन्– झुक्किएर गर्भ रह्यो

पाल्पामा गर्भपतन सेवा लिने महिलाको उमेर १५ देखि ५० वर्षसम्म देखिएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय पाल्पाका अनुसार गत आर्थिक वर्षमा ९ सय १७ जना महिलाले गर्भपतन सेवा लिएका छन् । ९ हप्तासम्मको गर्भपतन औषधि सेवन गरेर र ९ देखि १२ हप्तासम्मका लागि औजार प्रयोग गरेर गर्भपतन गराइन्छ । १२ देखि १८ हप्तासम्मका लागि विशेष परिस्थिति, जस्तै : हाडनाता करणी, जबर्जस्ती करणी, आमामा खतरा अवस्था आएमा गर्भपतन गराउन सकिन्छ ।

स्वास्थ्यचौकीहरूमा ९ हप्तासम्मको गर्भ र अस्पताल र प्राथमिक स्वास्थ्य केन्द्रहरूमा १२ हप्तासम्मकाो गर्भपतन सेवा उपलब्ध रहेको जिल्ला जनस्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी माधव ज्ञवालीले जानकारी दिए । उनका अनुसार जिल्लामा २० देखि ३० वर्षसम्मका महिलाले बढी गर्भपतन सेवा लिएको पाइएको छ ।

आइपास नेपालले पाल्पाका स्वास्थ्यसंस्थाहरूलाई सुरक्षित गर्भपतन सेवासम्बन्धी परामर्श र सामग्री सहयोग गर्दै आएको छ । आइपास नेपालकी जिल्ला संयोजक राधिका नायजूले संस्थाले सुरक्षित गर्भपतन, गर्भधारण तथा गर्भपतनको अवस्था, सुरक्षित गर्भपतनसम्बन्धी कानुनी व्यवस्था, स्वास्थ्यकर्मीको भूमिकाबारे अभिमुखीकरण गर्ने गरेको बताइन् ।

महिलाको प्रजनन उमेर २५–३० मानिएको भए पनि गर्भपतन सेवा लिनेमा २० देखि ३० वर्ष उमेरका महिला बढी पाइएको संयोजक आयजूको भनाइ छ । उनले गर्भपतन सेवा लिनेमा १५ र ५० वर्षका महिलासमेत रहे पनि उक्त संख्या निकै कम रहेको बताइन् । नायजूका अनुसार परिवारनियोजनका साधन प्रयोग गर्दागर्दै पनि गर्भ रहेको, झुक्किएर गर्भ रहेको, यादै नभई गर्भ रहेको जस्ता भनाइ गर्भपतन सेवा लिनेबाट आउने गरेको छ । जबर्जस्ती र हाडनाता करणीका कारण रहेको गर्भ पतन गराउन आउनेको संख्या भने नगण्य रहेको उनी बताउँछिन् ।

जिल्ला अस्पताल तानसेन, रामपुर अस्पताल, ताहुँ प्राथमिक स्वास्थ्यकेन्द्र, खस्यौली प्राथमिक स्वास्थ्यकेन्द्र, गाडाँकोट स्वास्थ्यचौकी, झडेवा स्वास्थ्यचौकी, मदनपोखरा स्वास्थ्यचौकी, नायर स्वास्थ्यचौकी, पिपलडाँडा स्वास्थ्यचौकी, चिदिपानी स्वास्थ्यचौकी, अर्गली स्वास्थ्यचौकी, पालुङ स्वास्थ्यचौकी, छहरा स्वास्थ्यचौकी, वीरकोट स्वास्थ्यचौकी, रिङेरह स्वास्थ्यचौकी, चापपानी स्वास्थ्यचौकी, हुगी स्वास्थ्यचौकीमार्फत ९ देखि १२ हप्तासम्मको अनिच्छित गर्भलाई पतन गराउने सेवा उपलब्ध रहेको जिल्ला जनस्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी माधवप्रसाद ज्ञवालीले जानकारी दिए । भर्खरै अर्चले, फोक्सिङकोट र गेजा स्वास्थ्यचौकीमा समेत यो सेवा विस्तार गरिएको छ । यससँगै जिल्लाका १९ वटा स्वास्थ्यसंस्थामा गर्भपतन सेवाको पहुँच पुगेको छ ।

यीबाहेक जिल्लामा सञ्चालित लुम्बिनी मेडिकल कलेज प्रभास र नेपाल परिवारनियोजन संघबाट पनि केही शुल्क लिएर सुरक्षित गर्भपतन सेवा उपलब्ध गराउँदै आएका छन् । नेपाल सरकारले सूचीकृत गरेका सरकारी स्वास्थ्यसंस्थामा २०७३ पुसदेखि सुरक्षित गर्भपतन सेवा निःशुल्क उपलब्ध रहेको ज्ञवालीले बताए । यसअघि केही निश्चित शुल्कमा सुरक्षित गर्भपतन गराइने गरिन्थ्यो । गर्भपतन स्वास्थ्यका लागि घातक मानिने हँुदा सकेसम्म परिवारनियोजनका साधन अपनाउन स्वास्थ्यकर्मीको सुझाब छ ।

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै

के हो सुरक्षित गर्भपतन

महिलाको मन्जुरीमा कानुनले मान्यता दिएअनुसार सूचीकृत स्वास्थ्यकर्मी वा नर्सद्वारा सूचीकृत स्वास्थ्यसंस्थामा गरिने गर्भपतनलाई सुरक्षित गर्भपतन भनिन्छ । सुरक्षित गर्भपतन गर्ने प्रमुख २ तरिका छन् :

१. औषधिको प्रयोगद्वारा–
९ हप्तासम्मको गर्भलाई औषधिको प्रयोगबाट सुरक्षित पतन गर्न सकिन्छ ।

२. उपकरणको प्रयोगद्वारा–
१२ हप्तासम्मको गर्भलाई साधारण उपकरणको प्रयोगद्वारा सुरक्षित रूपमा पतन गर्न सकिन्छ ।

प्रश्न– सुरक्षित गर्भपतनका लागि कुन विधि बढी प्रभावकारी छ ?
सुरक्षित गर्भपतनका लागि औषधिको प्रयोग र सर्जिकल (उपकरणको प्रयोग) दुवै विधि प्रभावकारी छन् । महिलाले आफ्नो इच्छाअनुसार विधि छनोट गर्न सक्छन् ।

उपकरणको प्रयोगद्वारा गरिने गर्भपतन–
उपकरणको प्रयोगद्वारा गरिने सुरक्षित गर्भपतन अर्थात् पाठेघरमा रहेको भ्रूणको साधारण प्रक्रियाको माध्यमबाट पाठेघर सफा गरी भ्रूणलाई बाहिर निकाली गर्भपतन गर्ने विधि हो । सर्जिकल गर्भपतन १२ हप्तासम्मको गर्भलाई साधारण उपकरणको प्रयोगद्वारा सुरक्षित रूपमा गर्न सकिन्छ ।
उपकरणको प्रयोगद्वारा गरिने सुरक्षित गर्भपतन सेवा नेपाल सरकारले मान्यता दिएको स्वास्थ्यसंस्थामा सुरक्षित गर्भपतन सेृवा प्रदान गर्न नेपाल सरकारबाट अनुमति पाएका अर्थात् सूचीकृत दक्ष स्वास्थ्यकर्मीद्वारा मात्र गराइन्छ ।

प्रश्न–१. के उपकरणको प्रयोगद्वारा गरिने गर्भपतनमा पीडा हुन्छ ?
गर्भपतनको यो विधि ५ देखि ७ मिनेटको हुन्छ, जसमा महिलाले हल्का दुखाइ महसुस गर्छन् ।

प्रश्न–२. के उपकरणको प्रयोगद्वारा गरिने गर्भपतनले महिलाको प्रजनन क्षमतामा कुनै असर गर्छ ?
यसले महिलाको प्रजनन क्षमतामा कुनै असर गर्दैन । यस विधिको प्रयोगपश्चात् २ देखि ३ हप्तामै प्रायः महिलामा डिम्ब निष्कासन प्रक्रिया सुरु हुन्छ । गर्भपतन गराएको केही हप्तामै गर्भ रहन सक्छ ।

प्रश्न–३. उपकरणको प्रयोगद्वारा गरिने गर्भपतन गराएको कति समयमा महिनावारी सुरु हुन्छ ?
महिलामा उपकरणको प्रयोगद्वारा गर्भपतन गराएको १ हप्तासम्म योनिमा केही हाल्न मनाही गरिएको हुन्छ । तसर्थ, त्यो समयावधिमा यौनसम्पर्क नराख्न सुझाब दिने गरिन्छ । तर, अरू यौनक्रियाबाट भने महिलाले आनन्द दिन सक्छन् ।

प्रश्न–४. उपकरणको प्रयोगद्वारा गर्भपतन गराएको कति समयपछि परिवारनियोजनका साधनको प्रयोग गर्नुपर्छ ?
यस विधिको प्रयोगपश्चात् २ देखि ३ हप्तामै प्रायः महिलामा डिम्ब निष्कासन प्रक्रिया सुरु हुने भएकाले गर्भपतन गराएको केही हप्तामै गर्भ रहन सक्छ । त्यसैले जतिसक्दो चाँडो परिवारनियोजनका साधनको प्रयोग गर्नु उचित हुन्छ ।

औषधिको प्रयोगद्वारा गरिने गर्भपतन–
यस विधिमा तालिमप्राप्त दक्ष स्वास्थ्यकर्मीद्वारा भरपर्दाे र प्रमाणित औषधिद्वारा सुरक्षित रूपमा गर्भपतन गराइन्छ । यस विधिद्वारा ९ हप्ताभित्रको गर्भलाई मात्र सुरक्षित रूपमा पतन गर्न सकिन्छ ।

प्रश्न–१. के औषधिको प्रयोगद्वारा गरिने गर्भपतन सुरक्षित हुन्छ ?
यो महिलाका लागि सुरक्षित छ । औषधिको प्रयोगद्वारा गरिने गर्भपतन यदि ९ हप्ताभित्रको गर्भमा प्रयोग गरेमा ९८.५ प्रतिशत प्रभावकारी छ ।

प्रश्न–२. के औषधिको प्रयोगद्वारा गरिने गर्भपतनले महिलाको प्रजनन क्षमतामा कुनै असर गर्छ ?
यसले महिलाको प्रजनन क्षमतामा कुनै पनि असर गर्दैन । यस विधिको प्रयोगपश्चात् २ देखि ३ हप्तामै प्रायः महिलामा डिम्ब निष्काशन सुरु हुन्छ । उनीहरू गर्भपतन गराएको केही सातामै गर्भवती हुन सक्छन् ।

प्रश्न–३. औषधिको प्रयोगद्वारा गर्भपतन गराएको कति समयमा महिनावारी प्रक्रिया सुरु हुन्छ ?
यस विधिको प्रयोगले २ देखि ३ हप्तामै प्रायः महिलामा डिम्ब निष्काशन प्रक्रिया सुरु हुन्छ । तसर्थ सामान्यतया ४ देखि ५ हप्तामा महिनावारीको प्रक्रिया सुरु हुने गर्छ ।

प्रश्न–४. औषधिको प्रयोगद्वारा गर्भपतन गराएको कति समयपश्चात् यौनसम्पर्क राख्न मिल्छ ?
महिलाले औषधिको प्रयोगद्वारा गर्भपतन गराएको १ हप्तासम्म यौनसम्पर्क नराख्न सल्लाह दिने गरिन्छ ।

प्रश्न–५. औषधिको प्रयोगद्वारा गर्भपतन गराएको कति समयपछि परिवारनियोजनका साधनको प्रयोग गर्नुपर्छ ?
यस विधिको प्रयोगको २ देखि ३ हप्तामै प्रायः महिलामा डिम्ब निष्काशनको प्रक्रिया सुरु हुने भएकाले गर्भपतन गराएको केही हप्तामै गर्भ रहन सक्छ । त्यसकारण जतिसक्दो चाँडो परिवारनियोजनका साधनको प्रयोग गर्नु उचित हुन्छ ।

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै

प्रत्येक ३ सेकेन्डमा हुँदै छ असुरक्षित गर्भपतन

‘अबको गन्तव्य असुरक्षित गर्भपतनको अन्त्य’ भन्ने नाराका साथ चौथौ सुरक्षित गर्भपतन दिवस मनाइँदै गर्दा नेपालमा अझै पनि ५८ प्रतिशत गर्भपतन असुरक्षित तरिकाबाट हुने गरेको तथ्यांकले देखाएको छ । नेपालमा वार्षिक करिब १ लाख ८६ हजार १ सय ४४ महिलाले असुरक्षित गर्भपतन गराउने गरेको अनुमान छ । जसअनुसार नेपालमा प्रतिघण्टा २१ भन्दा बढी महिलाले असुरक्षित गर्भपतन गराइरहेका छन् । यसले नेपालमा असुरक्षित गर्भपतनको विकराल अवस्थालाई देखाउँछ ।

विश्व स्वास्थ्य संगठनले अनिच्छित गर्भलाई सुरक्षित पतन गराउनका लागि आवश्यक सीप नभएका तथा तोकिएको मापदण्डअनुसारको सुविधा नभएका स्थानमा गरिने गर्भपतनलाई असुरक्षित गर्भपतन भनी परिभाषित गरेको छ ।

नेपालमा सन् २००२ (वि.सं. २०५९)मा सरकारले गर्भपतनलाई कानुनी मान्यता प्रदान गरेको थियो । त्यसपश्चात् सन् २००४ मा सुरक्षित गर्भपतन सेवाको सुरुवात गरिएको थियो । हाल नेपालका ७७ वटै जिल्लाका सरकारी अस्पताल र प्राथमिक स्वास्थ्य केन्द्रहरूमा तथा केही निजीस्तरबाट सञ्चालित स्वास्थ्यसंस्थाहरूमा गर्भपतन सेवा उपलब्ध गराइएको छ । तर, ग्रामीण क्षेत्रमा भने अहिले पनि सीमित स्वास्थ्यकेन्द्रहरूमा मात्र यो सेवा उपलब्ध छ ।

विश्व स्वास्थ्य संगठनले अनिच्छित गर्भलाई सुरक्षित पतन गराउनका लागि आवश्यक सीप नभएका तथा तोकिएको मापदण्डअनुसारको सुविधा नभएका स्थानमा गरिने गर्भपतनलाई असुरक्षित गर्भपतन भनी परिभाषित गरेको छ ।

नेपालमा आर्थिक वर्ष ०७३÷७४ मा ९६ हजार ४ सय १७ महिलाले मात्र सुरक्षित गर्भपतन गराएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकअनुसार समुदाय तहमा भएमा मातृमृत्युमध्ये १३ प्रतिशत असुरक्षित गर्भपतका कारणले हुने गरेको छ भने प्रजनन उमेर समूहका महिलामध्ये ४१ प्रतिशतलाई मात्रै गर्भपतनले कानुनी मान्यता पाएको जानकारी छ । नेपालमा १९ प्रतिशत महिलामा अनिच्छित गर्भ रहने गरेको तथ्यांकले बताएको छ ।

नेपालमा आर्थिक वर्ष ०६०/६१ मा ७ सय १९ सुरक्षित गर्भपतन भएको थियो । आर्थिक वर्ष ०७३/७४ मा आइपुग्दा उक्त संख्या बढेर ९६ हजार ४ सय १७ पुगेको छ । यसले प्रत्येक वर्ष सुरक्षित गर्भपतन गराउने महिलाको संख्यामा भारी वृद्धि भएको देखाउँछ ।

विभिन्न तथ्यहरूलाई विश्लेषण गर्दा नेपालमा महिलाले विविध कारणले असुरक्षित रूपमै गर्भपतन गराउने गरेको पाइएको छ । सुरक्षित रूपमा गराइएको गर्भपतनले महिलाको स्वास्थ्यमा खासै प्रभाव पर्दैन । तर, असुरक्षित गर्भपतन गराउने महिला तत्कालीन तथा दीर्घकालीन रूपमा विविध स्वास्थ्य समस्या झेल्न बाध्य हुन्छन् । असुरक्षित गर्भपतन गराउने महिलामा २० देखि ३० प्रतिशत प्रजनन संक्रमण हुने सम्भावना रहन्छ । त्यसैगरी, असुरक्षित गर्भपतन गराउने ४ महिलामध्ये १ (२५ प्रतिशत)मा जीवनभर उपचार गराउनुपर्ने स्वास्थ्य समस्या देखापर्ने गरेको छ । साथसाथै असुरक्षित गर्भपतन गराउने महिलामा शारीरिक, मानसिक, आर्थिक तथा भावनात्मक समस्यासमेत आउने गरेको विश्व स्वास्थ्य संगठनको एक अध्ययनले देखाएको छ ।

नेपालमा आर्थिक वर्ष ०६०/६१ मा ७ सय १९ सुरक्षित गर्भपतन भएको थियो । आर्थिक वर्ष ०७३/७४ मा आइपुग्दा उक्त संख्या बढेर ९६ हजार ४ सय १७ पुगेको छ ।

असुरक्षित गर्भपतनका कारण महिलामा अत्यधिक रक्तस्राव हुने, संक्रमणको समस्या, प्रजनन अंगहरूमा चोटपटक लाग्न सक्नेलगायत समस्या देखापर्छन् ।

नेपालमा सुरक्षित गर्भपतनको क्षेत्रमा गरिएका प्रयासहरू अझै पनि आफ्नो लक्ष्य हासिल गर्न पर्याप्त नभएको तथ्यांकहरूले बोलिरहेका छन् । अहिले पनि कुल जनसंख्याको २५ प्रतिशतमा स्वास्थ्य चेतनाको अभाव छ । नेपालमा अझै महिलामैत्री अन्तर्राष्ट्रिय प्रविधि ल्याउन सकिएको छैन ।

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै

पुरुषको नजरबाट सुरक्षित गर्भपतन

हाम्रो देशमा ठूला र असम्भव लाग्ने परिवर्तनहरू छिटो र सहज रूपमा सफल भएका धेरै उदाहरण छन् । तर, पनि हामीबीच जरा गाडेर बसेको पितृसत्तात्मक सोच र महिलालाई हेर्ने, बुझ्ने र सहजै अनुमान लगाउने प्रवृत्तिमा भने खासै सकारात्मकता आएको पाइँदैन । आफू पुरुष भएका कारण म यहाँ खुलेर आफूजस्तै पुरुष वर्गको गर्भपतनसम्बन्धी भनाइ, महिलाप्रति गर्ने व्यवहार र धारणाबारे चर्चा गर्ने प्रयास गर्नेछु ।

लामो समय स्वास्थ्य क्षेत्रका विभिन्न तह र निकायमा आफू कार्यरत रहेका कारण केन्द्र, क्षेत्र, जिल्ला र समुदाय तहका सरोकारवाला निकायका प्रतिनिधिहरू हुने सभा–समारोह र छलफल कार्यक्रमहरूमा उठ्ने गरेका प्रतिनिधिमूलक जिज्ञासा, प्रश्न र धारणाहरू यहाँ प्रस्तुत गर्न चाहन्छु । जब गर्भपतनको कुरा आउँछ, धेरै पुरुषहरू यो महिलाको मामिला हो भनेर आफू पन्छिने गर्छन् । सन् २०१५ मा बिबिसी नामक संस्थाले मकवानपुर जिल्लामा गरेको एक अध्ययनले महिलाले आफ्नै परिवार र श्रीमान्बाट पनि पर्याप्त सहयोग नपाएको औँल्याइएको छ ।

सोही अध्ययनअनुसार गर्भपतन सेवा लिने महिलालाई पारिवारिक, धार्मिक र सामाजिक कार्यहरूबाट टाढा राख्ने गरेको र लगभग ९० प्रतिशत महिलाप्रति समाजमा कुनै न कुनै प्रकारको हेयभाव र लाञ्छना व्याप्त रहेको बताएका छन् । आइपास नेपालले हालसालै सुनसरी र डडेल्धुरा जिल्लामा गरेको गर्भपतनसम्बन्धी आधारभूत सर्वेक्षणमा पनि ७७ प्रतिशतमा कुनै न कुनै हेयभाव र लान्छनाहरू रहेको पाइएको छ । गर्भपतनको कुरा गर्दा महिलालाई दोष दिने, जस्तै ः गर्भपतन गर्ने चरित्रहीन महिला हुन्, गर्भपतन हाम्रो धर्म र संस्कृतिविरुद्घ छ, सुरक्षित गर्भपतन सेवामा लगानी आवश्यक छैन, यसले केटीहरूलाई बिगार्छ जस्ता भनाइ सुन्ने गरिन्छ, जुन अपूर्ण चेतना र असंवेदनशील परम्परागत सोचका उपज हुन् ।

विश्व स्वास्थ्य संगठनको सन् २०१७ को तथ्यांकअनुसार असुरक्षित गर्भपतनका कारण ५ देखि १३ प्रतिशतसम्म मातृमृत्यु हुने गरेको छ भने ५० लाख महिला जटिलताका कारण विभिन्न रोगबाट ग्रस्त हुन्छन् । संयुक्त राज्य अमेरिकामा गरिएको एउटा अध्ययनअनुसार गर्भपतनबाटभन्दा बच्चा पाउने क्रममा महिलाको मृत्यु हुने सम्भावना १४ गुणा बढी भएको पाइएको छ ।

अब सुरक्षित गर्भपतनको महत्व, आवश्यकता, यससम्बन्धी वैज्ञानिक तथ्यहरू र वास्तविकतातर्फ केही चर्चा गरौँ । गुटमाचर इन्स्टिच्युटले सन् २०१८ मा प्रकाशन गरेको अध्ययन प्रतिवेदनअनुसार विश्वमा प्रतिवर्ष करिब ५ करोड ६० लाख महिलाले गर्भपतन गराउँछन्, जसमध्ये ४५ प्रतिशत अर्थात् २ करोड ५० लाख महिलाले असुरक्षित तरिकाले गर्भपतन गराउँछन् । विश्व स्वास्थ्य संगठनको सन् २०१७ को तथ्यांकअनुसार असुरक्षित गर्भपतनका कारण ५ देखि १३ प्रतिशतसम्म मातृमृत्यु हुने गरेको छ भने ५० लाख महिला जटिलताका कारण विभिन्न रोगबाट ग्रस्त हुन्छन् । संयुक्त राज्य अमेरिकामा गरिएको एउटा अध्ययनअनुसार गर्भपतनबाटभन्दा बच्चा पाउने क्रममा महिलाको मृत्यु हुने सम्भावना १४ गुणा बढी भएको पाइएको छ । (स्रोत : EG Raymond, DA Grimes, PubMed 2012) नेपालमा सन् २०१४ मा गुटमाचर इन्स्टिच्युट र कृपाले गरेको अध्ययनअनुसार गर्भपतन गर्ने महिलामध्ये आधाभन्दा बढी अर्थात् ५८ प्रतिशतले असुरक्षित तरिकाले गर्भपतन गराउने गरेको पाइएको छ । हरेक १ घण्टामा २१ जना नेपाली महिला असुरक्षित गर्भपतन गराउन बाध्य हुन्छन् । तीमध्ये धेरैजसोे अशिक्षित, गरिब, ग्रामीण एवं सेवाको पहुँच नपुगेका क्षेत्र तथा वर्गका महिला छन् । यसले असुरक्षित गर्भपतन महिलाको बाध्यता बनेको स्पष्ट हुन्छ । गर्भपतन गर्नुका पछाडि धेरै कारण र बाध्यता हुन्छन्, जसको चर्चा तल गरिनेछ ।

सन् २०१६ को नेपाल जनसांखिक सर्वेक्षणअनुसार नेपालमा प्रजनन उमेरका विवाहित महिलामध्ये केवल ४१ प्रतिशतलाई मात्र गर्भपतनले कानुनी मान्यता प्राप्त गरेको जानकारी छ । सुरक्षित गर्भपतनसम्बन्धी लाञ्छना तथा हेयभाव समुदायदेखि नीति–निर्माताहरूसम्म व्याप्त छ भने गर्भपतनसम्बन्धी विभिन्न भ्रमले जरा गाडेको पाइएको छ । सुरक्षित गर्भपतन सेवा र सल्लाह दिने संस्थाहरू पनि सीमित छन्, जो महिलाको सहज पहुँचमा छैनन् । गर्भपतनको अवस्था महिला वा दम्पतीको योजनाअनुसार नभएर दुर्घटना वा आकस्मिक रूपमा आउँछ । परिवारनियोजनका साधनको विफलताको प्रभावबारे २० वटा देशमा गरिएको जनसांख्यिक सर्वेक्षणको नतिजामा आधारित एउटा अध्ययनअनुसार केही देशमा ३ देखि ५९ प्रतिशत अनिच्छित गर्भको कारण परिवारनियोजनका साधन विफल भएको औँल्याइएको छ ।

गुटमाचर इन्स्टिच्युटको ताजा तथ्यांकअनुसार करिब ८४ प्रतिशत अनिच्छित गर्भको कारण परिवारनियोजनको अपरिपूर्त माग हो । तसर्थ, परिवारनियोजनका साधनले काम नगरेर वा यसलाई नअपनाएर, इच्छाविपरीत गर्भधारणको बाध्यता, बलात्कार र करणी तथा स्वास्थ्यसम्बन्धी समस्याले गर्दा महिलाहरू अनिच्छित गर्भपतन गर्न चाहन्छन् । महिलाको यो आवश्यकतालाई सुरक्षित उपाय दिन नसकेमा यस्तो अवस्थामा नराम्रो निर्णयहरू गरेर महिलाले असुरक्षित गर्भपतन गर्ने र उनीहरूको मृत्यु हुने, दीर्घरोगी हुने र आत्महत्या गर्नेसमेतका विकल्प छान्न बाध्य हुन्छन् । हामी पुरुष कहिल्यै पनि महिलाले दुःख पाएको, मानसिक रूपमा विच्छिप्त भएको र आत्महत्या गर्नेसमेतको अवस्थामा पुगेको देख्न चाहँदैनौँ । यसका लागि हाम्रो सजग पहल र सकारात्मक सहयोग आवश्यक छ ।

विश्व स्वास्थ्य संगठनले असुरक्षित गर्भपतनलाई एक प्रमुख जनस्वास्थ्य समस्याका रूपमा घोषणा गरेर सुरक्षित गर्भपतन सेवालाई सहज र सुलभ बनाउन सिफारिस गरेको छ ।

सुरक्षित गर्भपतनको अधिकारलाई महिलाको प्रजनन स्वास्थ्यको आधारभूत अधिकारका रूपमा लिँदै गर्भपतन सेवालाई सुरक्षित, सर्वसुलभ तथा पहुँचयोग्य बनाउन १० असोज ०५९ मा भएको मुलुकी ऐनको ११औँ संशोधनले नेपालमा गर्भपतनलाई कानुनी मान्यता दिएको थियो । सुरक्षित गर्भपतनको सकारात्मक पाटोका रूपमा यो सेवा छोटो समयमै नेपालका साबिकका ७५ वटै जिल्ला अस्पताल, लगभग १ हजार २ सयवटा प्राथमिक स्वास्थकेन्द्र र स्वास्थचौकीहरूबाट उपलब्ध भइरहेको छ । यस्तै, केही निजी तथा गैरसरकारी संस्थाका सेवाकेन्द्रहरूमा समेत यो सेवा उपलब्ध छ ।

गर्भपतन महिलाको मात्र चासोको विषय नभएर एक सचेत पुरुष, अभिभावक, सामाजिक कार्यकर्ता, राजनीतिज्ञ, धर्मगुरु, जनप्रतिनिधि, नीति–निर्माता र हरेक नागरिकको चासो र प्राथमिकताको विषय बनेको देखाउँछन् । हाम्रो समाजमा महिला एक्लैले आफ्ना आवश्यकता र चाहना व्यक्त गर्न र सेवाहरू लिन सक्ने अवस्था छैन ।

यो सेवालाई नेपाल सरकारले विगत २ वर्षदेखि निःशुल्क रूपमा उपलब्ध गराउँदै आएको छ । आइपासलगायत केही संस्थाहरू यसको सुदृढीकरणका लागि क्रियाशील छन् । सुरक्षित गर्भपतनसम्बन्धी कार्यक्रमले परिवारनियोजन तथा परामर्शलाई अनिवार्य र महत्वका साथ अघि बढाएको पाइन्छ, जसले समग्रमा महिलाको स्वास्थ्य र प्रजनन अधिकारमा महत्वपूर्ण भूमिका खेलेको छ । सुरक्षित गर्भपतन सेवामा स्थानीय सरकार र संघसंस्थाहरूको पनि चासो र सहयोग बढ्दै गएको पाइएको छ, जसले नेपाली महिलामा थप आशा र हौसला बढाएको छ ।

उल्लिखित तथ्यहरूले गर्भपतन महिलाको मात्र चासोको विषय नभएर एक सचेत पुरुष, अभिभावक, सामाजिक कार्यकर्ता, राजनीतिज्ञ, धर्मगुरु, जनप्रतिनिधि, नीति–निर्माता र हरेक नागरिकको चासो र प्राथमिकताको विषय बनेको देखाउँछन् । हाम्रो समाजमा महिला एक्लैले आफ्ना आवश्यकता र चाहना व्यक्त गर्न र सेवाहरू लिन सक्ने अवस्था छैन । परिवार, समाज र राष्ट्रले महिलाका लागि अनुकूल र सहज रूपमा आफ्नो प्रजनन स्वास्थ्य हकबारे थाहा पाउन, राष्ट्रले प्रदान गरेका सेवाहरू उपभोग गर्न र सेवाको गुणस्तरप्रति सजगतासाथ चासो राख्न सक्ने वातावरण बनाउन सहयोग गर्नु आवश्यक देखिन्छ । कुनै पनि महिला सहज रूपमा आफूले चाहेअनुसार जानकारी हासिल भएमा वा सुलभ सेवाको उपलब्धता भएमा असुरक्षित विधि अपनाउनेदेखि लिएर अनावश्यक रूपमा आफ्नो स्वास्थ्य र धनको जोखिम लिन तैयार हुँदैनन् र आफ्नो परिवारभित्रका कोही पनि यस्तो समस्यामा जाओस् भन्ने चाहँदैनन् ।

गर्भपतन महिलाको रहर नभएर बाध्यता भएका कारण यसतर्फ सबै पुरुष र समाजका अगुवाहरूको विशेष ध्यान जानु आवश्यक देखिन्छ । गर्भपतनबारे जति महिला जानकार वा भित्रैदेखि चिन्तित देखिन्छन्, तुलनात्मक रूपले पुरुषहरू कम संवेदनशील पाइन्छन् । आशा गरौँ, आगामी दिनमा पुरुषको सहकार्य र सहयोग यस क्षेत्रमा बढ्नेछ र समग्रमा यसले हाम्रा महिला दिदीबहिनीको स्वास्थ्यमा ठूलो परिवर्तन ल्याउनेछ । यसका लागि महिलाअधिकार, प्रजनन स्वास्थ्य र सुरक्षित गर्भपतनमा कार्य गर्ने संस्थाहरूले पुरुषसमेतको सहभागितामा छलफल, अन्तरक्रिया र जानकारीमूलक कार्यक्रमहरू चलाउनु आवश्यक देखिन्छ ।

नियमित छलफल र यसको आवश्यकताबारे सही जानकारीले गर्भपतन र महिलालाई हेर्ने समाजको दृष्टिकोणमा सकारात्मक परिवर्तन आउने निश्चित छ । स्थानीय सरकार, नागरिक समाज, संघसंस्था, धार्मिक र सामाजिक अगुवाहरूको प्रयासले समुदायमा रहेको गर्भपतनसम्बन्धी भ्रम, लाञ्छना र हेयभावलाई हटाई सुरक्षित गर्भपतनका लागि सहज वातावरण बनाउन सहयोग पुग्नेछ । आजको दिनमा सुरक्षित गर्भपतनका लागि महिला र पुरुषको सहकार्य, प्राप्त अधिकार र उपलब्ध सेवाहरूको उपयोगमा सकारात्मक पहल र महिलालाई हेर्ने दृष्टिकोणमा परिवर्तन मात्र पनि ठूलो सहयोग हुन सक्छ, यसतर्फ एकपटक हामी सबैले गहन रूपमा सोच्ने हो कि ?

लेखक आइपास नेपालमा कार्यरत छन् ।

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै