राप्ती प्रतिष्ठानका चिकित्सकको अडान : उपकुलपतिले राजीनामा नदिएसम्म काममा फर्किंदैनौँ

दाङको घोराहीमा अवस्थित राप्ती स्वास्थ्यविज्ञान प्रतिष्ठान र त्यसअन्तर्गत सञ्चालित अस्पतालका सम्पूर्ण सेवा अवरुद्ध छन् । प्रतिष्ठानकी उपकुलपति प्रा.डा. संगीता भण्डारीको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै कार्यरत २५ मध्ये २२ चिकित्सकले सामूहिक राजीनामा दिएका दिएपछि प्रशासन र चिकित्सकबीच उत्पन्न भएको टकराव दिनप्रतिदिन चुलिँदै छ । बाँकी ३ चिकित्सक पनि पछिल्लो समय काम छोडेर आन्दोलनकारी चिकित्सकको कित्तामा आएपछि सेवा पूर्णतः ठप्प बनेको बताइएको छ । चिकित्सकहरू उपकुलपतिले राजीनामा नदिएसम्म काममा नफर्कने अडानमा छन् भने उपकुलपति भण्डारी पद छोड्नु त परको कुरा, उल्टै आन्दोलन गर्ने चिकित्सकलाई पदबाट हटाउन लागिपरेकी छिन् । यो टकरावको प्रत्यक्ष मार भने बिरामीले खेपिरहेका छन् । अस्पतालका पोस्टमार्टम र प्रसूति, रेडियोलोजीलगायत अत्यावश्यकीय सेवा ठप्प छन् ।

गत बिहीबार प्रतिष्ठानका २२ चिकित्सकले विभिन्न माग तथा असन्तुष्टिसहित सामूहिक राजीनामा दिएका थिए । तर, प्रतिष्ठान व्यवस्थापनले चिकित्सकको माग सुनुवाइ गर्नुको साटो उनीहरूमध्ये ९ करारमा कार्यरत चिकित्सकलाई बर्खास्त गर्दै नयाँ भर्ना प्रक्रिया अगाडि बढाएको छ । उपकुलपतिसितको टकरावमा आगामी मंसिरसम्म करारअवधि बाँकी रहेका मेडिकल असिफर सेवाबाट हटाइएका छन् । सेवाबाट हटाइनेमा मेडिकल अफिसर डा. प्रीतम डिसी, डा. अभ्यास पोखरेल, डा. गौरव अचार्य, डा. मनोज यादव, डा. राजेन्द्र फुलारा, डा. आयुस पौडेल र डा. कृष्ण रिजाललगायत छन् ।

उपकुलपतिका रूपमा २ वर्ष व्यतीत गरिसक्दा पनि डा. भण्डारीले प्रतिष्ठानलाई उचाइमा लैजानुको साटो झन् अधोगतिमा लगेको आन्दोलनरत चिकित्सकको आरोप छ । ‘यो समस्या समाधानको एक मात्र र अन्तिम विकल्प भनेको उपकुलपतिको राजीनामा नै हो,’ हेल्थपोस्टसितको टेलिफोन सम्पर्कमा एक चिकित्सकले भने, ‘जबसम्म उपकुलपतिको राजीनामा हुँदैन, तबसम्म हामी काममा फर्किंदैनौँ ।’

अस्पतालका सम्पूर्ण सेवा ठप्प हुनुमा दम्भी उपकुलपति जिम्मेवार रहेको ती चिकित्सकको भनाइ छ । ‘अस्पतालका सम्पूर्ण सेवा बन्द छन्, यसप्रति बिरामीमा पर्न गएको असुविधाप्रति क्षमाप्रार्थी छौँ,’ ती चिकित्सकले भने, ‘उपकुलपतिको दम्भले कति दिनसम्म प्रतिष्ठान चल्न सक्छ ?’

उपकुलपति र चिकित्सकको टकरावका कारण दैनिक ४ सयभन्दा बढी बिरामी ओपिडी सेवा लिनबाट वञ्चित भएका छन् ।

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै