नसर्ने रोगले भयावह रूप लिँदै, रोकथाम तथा नियन्त्रणका लागि ‘अर्जेन्ट याक्सन’ आवश्यक

पछिल्लो समय विश्वव्यापी रूपमै चिकित्साविज्ञानका निम्ति चुनौतीको विषय बनिरहेको नसर्ने रोगले नेपालमा भयावह रूप धारण गरेको छ । कुल मृत्युको दुईतिहाइभन्दा बढी नसर्ने रोगका कारण हुने गरेको नसर्ने रोगको भार प्रतिवर्ष तीव्र गतिमा बढिरहेकाले यसको रोकथाम तथा नियन्त्रणका लागि तत्कालै प्रभावकारी कदम चाल्नुपर्ने आवश्यकता औँल्याइएको छ । सन् २०१७ को अध्ययनले नै दुईतिहाइभन्दा बढी मृत्यु नसर्ने रोगका कारण हुने गरेको र थप ९ प्रतिशत मृत्यु चोटपटकले हुने गरेको देखाएको थियो । नसर्ने रोगमध्ये पनि प्रमुख रूपमा श्वासप्रश्वाससम्बन्धी रोग, मधुमेह, मुटुरोग, क्यान्सर, मिर्गौलारोगका कारण बढी ज्यान जाने गरेको अध्ययनले देखाएको छ ।

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले ३ वर्ष लगाएर गरेको अनुसन्धानमा नसर्ने रोगले भयावह रूप लिँदै गरेको पाइएको छ । बिहीबार परिषद्ले राजधानीमा एक कार्यक्रमका बीच सर्वेक्षणको प्रतिवेदन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई बुझाएको छ । यसअघि अस्पतालमा उपलब्ध तथ्यांकका आधारमा मात्र रोगीको संख्या र रोगको अवस्थाको पहिचान हुने गरेको थियो । परिषद्ले सन् २०१६ देखि ०१८ सम्म जनसंख्याका आधारमा समुदायकेन्द्रित अनुसन्धान गरेको थियो । ७२ वटा जिल्लामा आधारित भएर गरिएको सर्वेक्षणमा २० वर्षमाथि उमेरका कुल १३ हजार २ सय नेपालीमा अनुसन्धान गरिएको नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का अनुसन्धान प्रमुख मेघनाथ धितालले बताए ।

यससँगै परिषद्ले गत चैतमा गरेको स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरूको पाचौँ सम्मेलनमा प्रस्तुत गरिएका पाँच रिसर्च पेपरहरूका अनुसन्धान र प्रस्तुत सुझाबहरूसमेत मन्त्रालयलाई बुझाएको छ । अनुसन्धान तथा सम्मेलनहरूबाट प्राप्त सुझाबलाई स्वास्थ्यका नीति तथा कार्यक्रममा समावेश गर्नुपर्ने आवश्यकता औँल्याउँदै परिषद्ले सरकारलाई सुझाब बुझाएको हो ।

श्वासप्रश्वासका दीर्घरोगहरू बढ्दै
सर्वेक्षणमा श्वासप्रश्वाससमन्धी दीर्घकालीन रोगमा ११.७ प्रतिशत, मधुमेह ८.५ प्रतिशत, मिर्गौलासम्बन्धी रोग ६ प्रतिशत र मुटुसम्बन्धी रोग ३ प्रतिशतमा रहेको पाइएको थियो ।
सर्वेक्षणमा महिलाको तुलनामा पुरुषमा बढी यस्ता रोगहरू पाइएको धितालले जानकारी दिए ।

सन् २०१७ को अध्ययनले नै दुईतिहाइभन्दा बढी मृत्यु नसर्ने रोगका कारण हुने गरेको र थप ९ प्रतिशत मृत्यु चोटपटकले हुने गरेको देखाएको थियो । नसर्ने रोगमध्ये पनि प्रमुख रूपमा श्वासप्रश्वाससम्बन्धी रोग, मधुमेह, मुटुरोग, क्यान्सर, मिर्गौलारोगका कारण बढी ज्यान जाने गरेको अध्ययनले देखाएको छ ।

कर्णाली प्रदेशमा श्वासप्रश्वासका बिरामी बढी
श्वासप्रश्वाससम्बन्धी दीर्घकालीन रोगलाई हेर्दा सबैभन्दा बढी कर्णाली प्रदेशमा २५.१ प्रतिशत बिरामी रहेको पाइएको छ । प्रदेश २ मा १६.४ प्रतिशत, सुदूरपश्चिमाञ्चल प्रदेशमा १४.३ प्रतिशत, प्रदेश ३ मा ११.७ प्रतिशत बिरामी रहेको अध्ययनले देखाएको छ । त्यसैगरी, प्रदेश ५ मा ९.५, प्रदेश १ मा ६.२ र गण्डकी प्रदेशमा ९.५ प्र्रतिशत बिरामी भेटिएका थिए ।

मधुमेहका बिरामी प्रदेश ३ मा बढी, सहरकेन्द्रित जीवनशैली प्रमुख कारक

मधुमेह रोगका बिरामी सबैभन्दा बढी प्रदेश ३ मा ११.५ प्रतिशत रहेको अध्ययनले देखाएको छ । त्यस्तै, प्रदेश ५ मा ९.६, प्रदेश २ मा ८.५, प्रदेश १ मा ७.७, गण्डकी प्रदेशमा ६.७, सुदूरपश्चिमाञ्चल प्रदेशमा ५.२ र कर्णाली प्रदेशमा ३.२ प्रतिशत मधुमेहका बिरामी रहेको अध्ययनका क्रममा खुलेको छ । मधुमेहरोग बढ्नुमा सहरकेन्द्रित जीवनशैली र खानपान रहेको विज्ञहरूले बताउँदै आएका छन् ।

मिर्गौला रोगी गण्डकी प्रदेशमा बढी
मिर्गौलासम्बन्धी रोगहरूमा सबैभन्दा बढी गण्डकी प्रदेशमा ६.८ प्रतिशत बिरामी पाइएका छन् । त्यस्तै, प्रदेश १ मा ५.२, प्रदेश २ मा ६.६ प्रतिशत, प्रदेश ३ मा ६.५, सुदूरपश्मिाञ्चल प्रदेशमा ५.९, प्रदेश ५ मा ५.७ र कर्णाली प्रदेशमा ४.७ प्रतिशत मिर्गौलारोगी रहेको अध्ययनले देखाएको छ ।

गण्डकी र सुदूरपश्चिमाञ्चल प्रदेशमा मुटुरोगी बढी
मुटुसम्बन्धी रोगमा सबैभन्दा बढी गण्डकी र सुदूरपश्मिाञ्चल प्रदेशमा ३.६/३.६ प्रतिशत बिरामी पाइएको अध्ययनले देखाएको छ । प्रदेश ३ र १ मा ३/३ प्रतिशत, प्रदेश २ मा २.८ प्रतिशत पाइएको छ । त्यसैगरी, प्रदेश ५ मा २.३ र कर्णाली प्रदेशमा ०.८ प्रतिशत पाइएको अध्ययन प्रतिवेदनमा उल्लेख छ ।

जनसंख्यालाई आधार बनाएर स्वास्थ्यसेवा विस्तार गर्न सकेका छैनौँ : राज्यमन्त्री डा. यादव
परिषद्को प्रतिवेदन बुझ्दै स्वास्थ्य तथा जनसंख्याराज्यमन्त्री डा. सुरेन्द्र यादवले नेपालमा युग परिवर्तन भए पनि संघ–संस्थाको कार्यक्रम परिवर्तन नभएको बताए ।
पछिलेका स्वास्थ्यनीति ठिकखालका थिएनन् । नीति बनाउँदा जनसंख्यालाई आधार बनाएर कहिल्यै स्वास्थ्यसेवा विस्तार गर्न सकेनौँ,’ डा. यादवले भने, ‘हिमाल, पहाड, तराईलाई एउटै नजरले हेरिरहेका छौँ ।’
दिगो विकासको लक्ष्य यही बजेटले हासिल गर्न नसकिने राज्यमन्त्री डा. यादवले बताए । ‘विद्यमा स्वास्थ्य समस्यालाई तल झार्न यो बजेट पर्याप्त छैन,’ उनले भने ।
आर्थिक वर्ष ०७६/७७ मा स्वास्थ्य क्षेत्रमा ६८ अर्ब बजेट छुट्टिएको छ । विश्वव्यापी स्वास्थ्यको पहुँजका लागि रिपोर्टका अनुसार थप ३५ अर्ब चाहिने डा. यादवले बताए । संविधानमा उल्लेख भएको विषय हुँदा सरकार यसमा बजेट थप्न बाध्य हुनुपर्ने यादवको भनाइ छ ।

नेपाल स्वास्थ्य अनुसन्धान नीति २०६७ खारेज, नयाँ रणनीति २०७६ जारी
परिषद्ले गरेको अनुसन्धानको सर्वेक्षण नतिजा प्रकाशन गरेसँगै नेपाल स्वास्थ्य अनुसन्धान रणनीति, २०७६ को ड्राफ्ट सार्वजनिक गरिएको छ । नेपाल स्वास्थ्य अनुसन्धान नीति २०६७ खारेज गरी नयाँ रणनीति २०७६ जारी गरेको परिषद्का अध्यक्ष प्रा.डा. अञ्जनीकुमार झाले जानकारी दिए । ‘नयाँ रणनीतिले स्वास्थ्य अनुसन्धानमार्फत गुणस्तरीय र सर्वसुलभ स्वास्थ्यसेवा सुनिश्चित गरी स्वस्थ नागरिक र स्वस्थ समाज निर्माण गर्ने सोच राखेको छ,’ डा. झाले भने, ‘स्वास्थ्य अनुसन्धान प्रवर्धन क्षमता विकास नियमन गरी जनस्वास्थ्यमा उच्चतम योगदान गर्ने लक्ष्य लिइएको छ ।’

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को संस्थागत संरचनालाई प्रदेश र स्थानीय सरकारसँगको समन्वयमा प्रत्येक प्रदेश तथा आवश्यकताअनुसार स्थानीय तहमा विस्तार गर्नेजस्ता कार्यनीति अवलम्बन गरिएको उनले जानकारी दिए ।

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै