नेपालमा खेती गर्न आएका भारतीयबाट तरकारीमा अत्यधिक विषादी प्रयोग, क्यान्सरको बिउ रोप्दै किसान

प्रकाशबाबु खनाल पश्चिम चितवनका कृषक हुन् । उनी उत्पादन बढाउन आफ्नो बालीमा विषादीको प्रयोग गर्दै आएका छन् । ‘मैले एक बिघा जमिनमा तरकारी खेती गर्दै आएको छु । वेला–वेलामा ढुसी, किरा तथा झारले गर्दा तरकारी उत्पादन गर्नै सकिँदैन,’ उनले भने, ‘विषादी नहाली त तरकारीमा उत्पादन बढाउन असम्भव छ ।’

खनालले मात्र होइन, व्यावसायिक रूपमा तरकारी खेती गर्ने जोसुकै किसानले विषादीको प्रयोग अधिक मात्रामा गर्दै आएका छन् । विशेषगरी भारतबाट नेपालमा आएर तरकारी खेती गर्ने कृषकले बढी मात्रामा विषादीको प्रयोग गर्ने गरेका छन् । ‘भारतीय मूलका मानिसले नेपालमा आएर खेती गरिरहेका छन् । आफूले खान नपरेपछि उत्पादन बढाउन जथाभावी विषादीको प्रयोग गर्छन्,’ अखिल नेपाल किसान महासंघका केन्द्रीय अध्यक्ष धनेश्वर पोख्रेलले भने, ‘आज भर्खर फलेको काँक्रोमा सुई लगाएर भोलि नै बजारमा बेच्न लगिन्छ ।’

३% सम्म हुनुपर्ने विषादी ९०% सम्म हालेको भेटिन्छ
नेपालमा उत्पादित तरकारी तथा फलफूलमा मात्र नभएर भारतबाट आउने तरकारीमा पनि अधिक विषादी प्रयोग हुने गरेको पोख्रेलले बताए । ‘एकदेखि ३ प्रतिशत मात्र फसफरस मिलियन हुनुपर्नेमा ९० प्रतिशतसम्म हालेको पाइन्छ,’ उनले भने । रासायनिक मलको पनि बढी प्रयोग भएको उनले जानकारी दिए ।

यसरी विषादी प्रयोग गरेको तरकारी सेवन गर्नाले तत्काल केही समस्या पैदा नगरे पनि कालान्तरमा यसले स्वास्थ्यसम्बन्धी जटिलता, क्यान्सर, बाँझोपन तथा अन्य रोग निम्त्याउने भरतपुरस्थित बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका डा. गंगा सापकाटाले जानकारी दिए । ‘तरकारीमा आवश्यकताभन्दा बढी विषादी प्रयोग भएको छ, जसका कारण मस्तिष्क, मुटु र क्यान्सर रोगका बिरामी बढ्दै गएका छन्,’ उनले भने ।

मुलुकमा उत्पादितमध्ये केही स्थानका तरकारीमा मात्र विषादीको मात्राबारे अध्ययन गरिएको छ । तर, विषादीको अवशेषले नेपालीको स्वास्थ्यमा कस्तो प्रभाव गरिरहेको छ वा गर्न सक्छ भन्नेबारे कुनै अध्ययन छैन । ‘विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को प्रतिवेदन उद्धृत गर्दै सापकोटाले भने, ‘विषादीले तत्कालीन रूपमा मानव स्वास्थ्यमा प्रतिकूल असर पार्नुका साथै साथै दीर्घकालीन प्रभाव निम्त्याइरहेको छ ।’ बाली जोगाउनका लागि प्रयोग गरिने औषधिले छाला र श्वास–प्रश्वासमा समेत असर गर्ने उनले बताए । स्तनपान गराउने आमाले बढी विषादी हालेका खानेकुरा खाँदा बालकमा समेत शारीरिक तथा मानसिक असर पुग्ने उनको भनाइ छ ।

प्रतिवर्ष भित्रिन्छ ६५० मेट्रिकटन विषादी, ८०% तरकारीमा
विश्वमा करिब एक हजारभन्दा बढी प्रकारका विषादी उपयोगमा छन् । बर्सेनि करिब ६ सयदेखि ६ सय ५० मेट्रिकटन विषादी नेपाल भित्रिने गरेको छ । यसमध्ये करिब ८० प्रतिशत तरकारीमै उपयोग हुँदै आएको छ । यसका अतिरिक्त भारतलगायतका देशबाट भित्रिने तरकारीमा त झन् बढी विषदीको मात्रा भेटिने गरेको विज्ञहरूको भनाइ छ । यसरी हेर्दा मुलुकमा फलफूल तथा तरकारीमा प्रयुक्त विषादी र त्यसले पुर्याइरहेको प्रभावको अवस्था भयावह छ । मुलुकमा बढ्दो रूपमा देखिएको क्यान्सर, उच्च रक्तचाप, मिर्गौला तथा कलेजोसम्बन्धी समस्या, मधुमेह, नपुंसकता, बाँझोपन, मस्तिष्कमा असर, स्मरणशक्तिमा ह्रास, डिप्रेसनलगायत नसर्ने रोगको मुख्य कारण विषादीको मात्रा रहेको सापकोटाको भनाइ छ ।

तरकारीमा ढुसीनाशक, कीटनाशक र झारनाशक विषादी
मानिसको जीवनशैली, खानपान तथा वातावरण प्रदूषणका कारण क्यान्सर रोग चुनौतीपूर्ण बन्दै गएको छ । सापकोटाका अनुसार नेपालमा तरकारी तथा फलफूलमा प्रयोग गरिने विषादी र अन्य खाद्यवस्तुमा हुने मिसावटका कारण क्यान्सररोगी बढ्दै गएका छन् । अहिले विशेषगरी तरकारीमा ढुसीनाशक, कीटनाशक, झारनाशक विषादी प्रयोग गर्ने गरिन्छन् । यी विषादी प्रयोग गर्दा विशेष सावधानी अपनाउनुपर्ने कृषि ज्ञान केन्द्रका प्रमुख सुधीर श्रेष्ठले जानकारी दिए ।

‘यहाँ तरकारीमा विशेषगरी तीन प्रकारका विषादी प्रयोग गर्दै आएको पाइन्छ । किसानले जथाभावी रूपमा विषादी प्रयोग गर्छन् । तर, हामीजस्ता प्राविधिकले आवश्यकताभन्दा बढी विषादी प्रयोग गर्न सिफारिस गर्दैनौँ,’ उनले भने, ‘विषादी प्रयोग गरे पनि एकैपटक हाई डोजका विषादी प्रयोग गर्नुहुँदैन ।’

तरकारीमा विषादीको अवशेष देखिनेबित्तिकै खानैनहुने भने होइन । अधिकतम विषादीको अवशेष वैज्ञानिकद्वारा निर्धारित मात्राभन्दा कम छ भने खान सकिन्छ । तर, दैनिक रूपमा एक व्यक्तिले जम्मा कति विषादी सेवन गर्ने भन्ने प्रश्नसमेत रहेको उनले बताए ।

मौरी जोन चितवनका प्रमुख मेघनाथ तिमिल्सिनाले माटोमा प्रांगारिक मलको न्यून प्रयोग भएको बताए । किसानलाई प्रांगारिक खेतीतर्फ आकर्षित गर्न प्रोत्साहनका कार्यक्रमहरू ल्याउनुपर्ने धारणा उनको छ ।

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै

चितवनमा विषादीपरीक्षक आधुनिक प्रयोगशाला

चितवनमा खाद्यवस्तुमा विषादी परीक्षण गर्ने आधुनिक प्रयोगशालाका लागि आवश्यक उपकरण भित्र्याइएको छ । कृषि ज्ञान केन्द्र चितवनले नेपाली किसानले उत्पादन गरेका र आयात गरिएका तरकारी, फलफूललगायत खाद्यवस्तुमा विषादीको मात्रा परीक्षण गर्न प्रदेश सरकारको सहयोगमा प्रयोशाला स्थापनाको काम अघि बढाएको हो । प्रदेश ३ कृषि मन्त्रालयको सहयोगमा कृषि ज्ञान केन्द्रमा सञ्चालन गर्ने गरी विषादी मापन प्रयोगशालाका उपकरणहरू ल्याइएको केन्द्रका प्रमुख सुधीर श्रेष्ठले जानकारी दिए ।

‘ताजा तरकारी र फलफूलमा अधिक मात्रामा विषादीको प्रयोग भएको छ, जसले मानव स्वास्थ्यमा असर पुग्ने गरेको छ । यसैले सरकारले तरकारी आउने नाका र संकलन हुने केन्द्रमा तरकारीको विषादी मापन गर्ने प्रयोगशाला प्रयोग गर्ने नीति ल्याएको छ,’ श्रेष्ठले भने, ‘त्यसैअनुरूप कृषि ज्ञान केन्द्रमा पनि विषादी मापन प्रयोगशाला स्थापना गर्ने गरी आवश्यक मापन उपकरण ल्याइएको हो ।’

प्रदेश सरकारले ३५ लाख लगानीमा विषादी परीक्षण गर्ने आधुनिक प्रयोशालाका उपकरणहरू चितवनमा ल्याएको हो । प्रयोगशाला सञ्चालनका लागि प्रदेश सरकारले कृषि ज्ञान केन्द्रका तीनजना प्राविधिकलाई तालिम दिइरहेको छ । बाँकी दुईजना प्राविधिक प्रदेश मन्त्रालयले नियुक्त गर्ने भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय प्रदेश ३ का प्रवक्ता निर्मल गदालले जानकारी दिए ।

प्रयोगशाला सञ्चालनका लागि अहिले केन्द्रमा फर्निचर व्यवस्थापनको काम सुरु भइसकेको छ । यसलाई छिट्टै सञ्चालन गर्ने तयारीमा प्रदेश सरकार छ । स्थानीय तहले माटो परीक्षण गर्ने र विषादीको नियमन कृषिका कर्मचारीले गर्ने गरी कार्ययोजना बनाइएको गदालले बताए ।

प्रयोगशालाका लागि भित्र्याइएका उपकरणले खाद्यवस्तुमा भएको कार्बामेट र अग्र्यानोफोस्फेट नामक दुई समूहका विषादीको अवस्था पत्ता लगाउन सहयोग गर्ने प्रवक्ता गदालले जानकारी दिए । उनका अनुसार विषादीका धेरै समूहमध्ये अधिकतम प्रयोग हुने अग्र्यानोफोस्फेट समूहका हुन् । यद्यपि, यो उपकरण र प्रयोगशालाबाट कुन विषादीको कति प्रतिशत प्रयोग भएको छ भन्ने जानकारी भने प्राप्त गर्न सकिँदैन ।

‘कुनै खाद्यवस्तु खान योग्य छ कि छैन भनेर प्रयोगशाला परीक्षणबाट मापन गर्न सकिन्छ,’ उनले भने, ‘विषादीको मात्रा प्रतिशतमा नदेखाए पनि ३५ ‘इन्हिबिसन’सम्म मापन भएका खाद्यवस्तु खानयोग्य मानिन्छ भने ४५ प्रतिशतभन्दा माथिका वस्तुहरू नष्ट नै गर्नुपर्ने हुन्छ ।’ तर, केही दिन राखेर पुनः परीक्षण गर्दा ४५ प्रतिशतभन्दा तल घटेको अवस्थामा भने उक्त वस्तु केही दिनपछि खान मिल्ने उनले बताए ।

जनस्वास्थ्यलाई ध्यानमा राखेर प्रदेश सरकारले द्रुतमार्गबाट प्रयोगशाला स्थापना गरी सञ्चालनमा ल्याउन लागेको उनले बताए । प्रदेश सरकारले विषादी अवशेष दु्रत विश्लेषण एकाइ स्थापना गरेर प्रयोगशाला सञ्चालनमा ल्याउन लागेको हो ।

प्रदेश सरकारले जनस्वास्थ्यलाई ध्यान दिँदै प्रयोगशाला स्थापनामा जोड दिएको थियो । सरकारले कार्यविधि बनाएरै प्रदेशमा विषादी नियन्त्रण गर्न लागेको छ ।

चितवनमा प्रयोगशाला भित्रिएसँग उपभोक्ता तथा व्यापारी पनि उत्साहित भएका छन् । चितवन जिल्लामा विषादी मापन यन्त्र भित्रिएको छ । आशा गरौँ, विषादीयुक्त तरकारी खाइरहेका हामी चितवनका आमउपभोक्ताले प्रयोगशाला आएपछि खानयोग्य तरकारी मात्र प्रयोग गर्न पाउँनेछौँ,’ फलफूल तथा तरकारी बजार महानगरका प्रबन्धनिर्देशक स्थिरप्रसाद धितालले भने, ‘प्रयोगशालालाई प्रयोगमा ल्याउँदा बजार अर्थात् उत्पादन क्षेत्रमा राख्नुपर्दछ ।’

दैनिक उपभोग्य फलफूल तथा तरकारीमा विषादीको अत्यधिक प्रयोग भएकाले त्यसलाई नियन्त्रण गर्न किसानलाई विषादी नियन्त्रणसम्बन्धी चेतना दिनुपर्ने उनले बताए ।

प्रदेश सरकारले चितवनसहित तरकारी संकलन हुने प्रमुख जिल्ला मकवानपुर, नुवाकोट, काभ्रेपलाञ्चोक र ललितपुरमा पनि विषादी मापन प्रयोगशाला स्थापना गर्न लागेको छ । मन्त्रीस्तरबाट प्रदेश ३ लाई विषादीमुक्त प्रदेश बनाउनका लागि नीति पनि ल्याउन लागेको मन्त्रालयले जानकारी दिएको छ ।

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै

नियन्त्रणमा निरीह सरकारी अधिकारी भन्न थाले– विषादीयुक्त खाद्यवस्तुको सेवनले मानव स्वास्थ्यमा खास असर गर्दैन

खाद्यवस्तुमा अत्यधिक कीटनाशक विषादीको प्रयोगले उपभोक्ताको शरीरमा विभिन्न किसिमका घातक रोग निम्तिरहेको खाद्यविद्ले बताउँदै आएका छन् । मुख्यतया भारतबाट अत्यधिक मात्रामा विषादीको प्रयोग भएका फलफूल तथा तरकारी नेपाल भित्रिरहँदा र त्यसको परीक्षण र नियन्त्रणमा सरकारले खुट्टा कमाइरहँदा नेपालीको स्वास्थ्यप्रति चिन्ता बढेको छ ।

कीटनाशक विषादीले नेपालीको स्वास्थ्यमा पारिरहेको असर र यसको नियन्त्रणका उपायबारे बुधबार रिसर्च सेन्टर फर प्राइमरी हेल्थ केयरले छलफल कार्यक्रमको आयोजना गर्यो । छलफलका क्रममा सामान्य रूपमा कीटनाशक औषधिको प्रयोग गरिएका तरकारी तथा फलफूलको सेवनले मानव स्वास्थ्यमा खासै असर नगर्ने प्लान्ट क्यारेन्टिन विषादी व्यवस्थापन केन्द्रका प्रमुख डा. डिल्लीराम शर्माले बताए । सरकारी नियामक निकायको नेतृत्व गरिरहेका व्यक्तित्वबाट आएको यस प्रकारको अभिव्यक्तिलाई छलफलमा सहभागी विज्ञहरूले गैरजिम्मेवार संज्ञा दिँदै अभिव्यक्तिप्रति आश्चर्य प्रकट गरे ।

नेपालमा विषादीको प्रयोग सन् १९५० बाट मलेरिया नियन्त्रणका लागि भएको सन्दर्भ जोड्दै डा. शर्माले जापानजस्ता विश्वका विकसित मुलुकमा पनि प्रतिहेक्टर १६ केजीसम्म कीटानाशक विषादीको प्रयोग हुने गरेको तर नेपालमा प्रतिहेक्टर ३९६ ग्राम मात्र विषादीको प्रयोग भइरहेको बताए । ‘प्रयोगकर्ताले कीटनाशक विषादीको प्रयोग ठिकतवरले गर्न नजानेका कारण फलफूल तथा तरकारीमा विषादी बढी पाइएको छ,’ शर्माले भने, ‘तराईमा ८० प्रतिशतसम्म कीटानाशक विषादीको प्रयोग भइरहेको छ ।’

कीटनाशक विषादीको प्रयोग यही हिसाबले भइरहने हो भने दीर्घकालीन रूपमा मानव स्वास्थ्यमा नकारात्मक असर देखिनुका साथै माटोको उत्पादकत्व पनि घट्दै जाने फरेस्ट याक्सन नेपालका कृष्ण कँडेलले बताए । ‘खानेकुरामार्फत मन्द विष खाएका कारण चिनीरोग, रक्तचाप, क्यान्सर, मिर्गौला फेलजस्ता गम्भीर स्वास्थ्यसमस्या देखिँदै गएका छन्, ‘कँडेलले भने, ‘ नेपालले विषादीयुक्त तरकारी मात्र २ खर्बको हाराहारीमा अयात गरिरहेको छ ।’

विषादी छर्ने वेलामा किसानले पूरा लुगा नलगाउनेलगायत सावधानी नअपनाउँदा छाला, नाक, आँखा र मुखका माध्यमबाट शरीरमा विषका क्षणिक तथा दीर्घकालीन असर परिरहेको शर्मा बताउँछन् । ‘विषादीको असर महिलामा भन्दा बढी पुरुषमा देखिएको छ,’ डा. शर्माले भने, ‘उमेर समूहका हिसाबले २० देखि २९ वर्षसम्ममा विषादीको असर बढी देखिएको छ ।’

खाद्यबाली, तरकारी तथा फलफूलमा मौलाउँदै गएको विषादीको विवेकहीन प्रयोगले किसान तथा उपभोक्तामा गम्भीर असर परिरहेको र त्यसको नियन्त्रण चुनौतीपूर्ण बनिरहेको बहस आम बनिरहँदा डा. शर्माले विषादी प्रयोग भएका वस्तुको सेवनले मानव स्वास्थ्यमा खासै असर नगर्ने गैरजिम्मेवार अभिव्यक्ति दिनु कत्तिको सान्दर्भिक होला ? सहभागीको यो प्रश्नको जवाफका क्रममा डा. शर्मा निकै आक्रोशित देखिए । मानव स्वास्थ्यमा गम्भीर असर पुर्याइरहेको विषादीको विवेकहीन प्रयोग रोक्न वा नियन्त्रण गर्न सरकारको भूमिकाबारे सहभागीको जिज्ञासामा डा. शर्माको उत्तरले सहभागीलाई झन् आश्चर्यचकित बनायो । विषादीको प्रयोग रोकिएमा भोकमारीको अवस्था सिर्जना हुने उनको जबाफ थियो ।

कीटनाशक विषादीको प्रयोग यही हिसाबले भइरहने हो भने दीर्घकालीन रूपमा मानव स्वास्थ्यमा नकारात्मक असर देखिनुका साथै माटोको उत्पादकत्व पनि घट्दै जाने फरेस्ट याक्सन नेपालका कृष्ण कँडेलले बताए । ‘खानेकुरामार्फत मन्द विष खाएका कारण चिनीरोग, रक्तचाप, क्यान्सर, मिर्गौला फेलजस्ता गम्भीर स्वास्थ्यसमस्या देखिँदै गएका छन्, ‘कँडेलले भने, ‘ नेपालले विषादीयुक्त तरकारी मात्र २ खर्बको हाराहारीमा अयात गरिरहेको छ ।’

बाह्य दबाबमा आफ्ना नागरिकको स्वास्थ्यमाथि प्रत्यक्ष आघात पुर्याइरहेका विषादीयुक्त खाद्यवस्तुको आयातमा रोक लगाउनमा सरकारले खुट्टा कमाएपछि नागरिकमा झन् विषादीको त्रास र स्वास्थ्यचिन्ता थपिएको विज्ञहरू बताउँछन् । विषादी नियन्त्रणमा निरीहता देखाइसकेको सरकारका विषदी व्यवस्थापन केन्द्रका नेतृत्वकर्ताले आफ्नो निरीहता लुकाउन विषदीयुक्त खाद्यवस्तुको सेवनले मानव स्वास्थ्यमा खासै असर नपुर्याउनेसम्मको गैरजिम्मेवार अभिव्यक्ति दिएको विज्ञहरूको ठम्याइ छ ।

खाद्यवस्तुमा कीटनाशक विषादी प्रयोगका कारण दीर्घकालीन रूपमा महिलामा स्तनक्यान्सरको सम्भावना रहने तथा भविष्यमा भ्रूणमा समेत असर देखापर्ने जनस्वास्थ्यविद् डा. अरुणा उप्रेतीले जानकारी दिइन् । त्यसैगरी, मानिसक सन्तुलन बिग्रने, छालामा संक्रमण, बाँझोपन, गर्भपतनजस्ता समस्या देखिन सक्ने विभिन्न अनुसन्धानले देखाएको डा. उप्रेतीले बताइन् । समस्या आउने थाहा भए पनि यसको समाधानतर्फ सम्बन्धित पक्षले कुनै चासो नदेखाएको उनको भनाइ थियो ।

सरकारले केही साताअघि भारतबाट आयात हुने फलफूल तथा तरकारीमा विषादीको मात्रा परीक्षण गर्ने निर्णय गरेको थियो । सीमानाकामै नेपाल भित्रिने फलफूल तथा तरकारीमा विषादीको मात्रा परीक्षण सुरु गरेको सरकार भारतको दबाबसँगै केही दिनमै परीक्षण क्षमता नपुगेको कारण देखाउँदै निर्णयबाट युटर्न भयो । भारतीय राजदूतावासबाट विषादी परीक्षण नगर्न पत्र आएसँगै परीक्षण रोकेको सरकारले केही दिन पत्रै नआएको भनेर ढाकछोप गर्न खोजे पनि सञ्चारमाध्यमहरूमा पत्र सार्वजनिक भएपछि स्वयम् प्रधानमन्त्रीले नै माफी माग्नुपर्ने अवस्था आयो ।

बाह्य दबाबमा आफ्ना नागरिकको स्वास्थ्यमाथि प्रत्यक्ष आघात पुर्याइरहेका विषादीयुक्त खाद्यवस्तुको आयातमा रोक लगाउनमा सरकारले खुट्टा कमाएपछि नागरिकमा झन् विषादीको त्रास र स्वास्थ्यचिन्ता थपिएको विज्ञहरू बताउँछन् । विषादी नियन्त्रणमा निरीहता देखाइसकेको सरकारका विषदी व्यवस्थापन केन्द्रका नेतृत्वकर्ताले आफ्नो निरीहता लुकाउन विषदीयुक्त खाद्यवस्तुको सेवनले मानव स्वास्थ्यमा खासै असर नपुर्याउनेसम्मको गैरजिम्मेवार अभिव्यक्ति दिएको विज्ञहरूको ठम्याइ छ ।

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै

कसरी बनाउने तरकारीलाई विषादीमुक्त ?

फलफूल तथा तरकारीमा प्रयोग गरिने विषादी अहिले देशैभर चर्चाको विषय बनेको छ । यस्ता विषादीले शरीरमा नकारात्मक असर पार्ने हुँदा जनमानसमा त्रास दिनानुदिन बढ्दै गएको छ।

फलफूल, तरकारी तथा अन्य बालीलाई किरा लाग्न तथा जिवाणुबाट बचाउन विषादी प्रयोग गरिन्छ । बजारमा पाइने विभिन्न विषादीमध्ये ‘अर्गानो फोस्फोरस’ अहिले अत्याधिक मात्रामा प्रयोग भईरहेको पाइन्छ।

यस्ता विषादी शरीरमा प्रवेश गरेमा स्वास्थ्यमा विभिन्न असर पर्छ। सामान्यतयाः यस्ता विषादी मुख, छाला, श्वासप्रश्वास तथा आँखाको माध्यमबाट शरीरमा प्रवेश गर्छन्।

फलफूल तथा तरकारीमा मिसिएका बिषादीले तुरुन्त असर नगरे पनि दीर्घकालीन रुपमा गम्भीर समस्या निम्त्याउन सक्छ। यस्ता विषादीकै कारण मस्तिष्कमा अझै धेरै असर पुगी अल्जाइमर (सम्झन सक्ने क्षमतामा कमी ), पार्किन्सन्स (हात गोडा काम्ने रोग) जस्ता रोग लाग्नसक्छ । विभिन्न प्रकारका क्यान्सर, सुत्केरी महिलामा गर्भ खेर जाने समस्या, छालाका बिभिन्न रोग लाग्न सक्छ। गर्भवती महिलाको हकमा गर्भस्थ बच्चा र बालबालिकालाई धेरै असर पुर्‍याउनसक्छ । त्यस्तै, विषादीको प्रयोग गर्ने किसानमा श्वासप्रश्वाससम्बन्धी समस्या जटील रुपमा देखिने गर्दछ ।

दीर्घकालीन प्रभावबाट बच्न विषादी प्रयुक्त तरकारी तथा फलफूललाई पकाउनु वा खानुअघि राम्ररी धुनु, पखाल्नुपर्छ। केही उपाय जानी राखौंः

– सफा पानीमा तरकारी र फलफूललाई दुई–तीनपटक हात अथवा ब्रसले मिचीमिची धुने।

– नुन पानीले धोएमा तरकारी र फलफूलमा रहेको विषादी अझ कम भएर जान्छ।

– पानीको ठूलो कचौरामा एक चौथाई कागतीको रस अथवा भेनेगर मिसाएर तरकारी र फलफूललाई आधा घन्टा भिजाएर राख्ने र पानीले धोएर पकाएमा बिषादीको असर धेरै हदसम्म गर्न सकिन्छ।

– बोक्रा फाल्न मिल्ने तरकारी, फलफूललाई बोक्रा फाल्दा यसमा रहेको फाइबरको मात्रा त अवश्य कम हुन्छ । यद्यपि, यसमा रहेको बिषादीलाई कम गर्न सकिन्छ।

– साबुन पानीले कहिल्यै पनि फलफूल तथा तरकारी धुनु हुँदैन।

यस्ता विधि अपनाएर तरकारी तथा फलफूलमा रहेको विषादीको मात्रालाई धेरै हदसम्म कम गर्न सकिन्छ । तर, शतप्रतिशत हटाउन चाहिँ सकिदैन । यसका लागि जैविक (अर्गानिक) फलफूल तथा तरकारीको प्रयोग गर्नुपर्छ ।

(नेपालन्युजबाट)

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै

पोखराको विषादीजाँच एकाइ १ वर्षदेखि बन्द

एक वर्षअघि तरकारी र फलफूलमा विषादीको मात्रा छुट्याउने स्पेक्टोफोटोमिटरबाट गरिएको नमुना परीक्षणले दुई किसिमका तरकारी उपभोक्ताले प्रयोग गर्नै नहुने देखाएको थियो । ८ महिनाको अवधिमा तरकारी र फलफूलका ३ सय १५ नमुना परीक्षण गर्दा चितवनबाट ल्याइएको एक लटको गाँजर र भारतबाट ल्याइएको चिल्लीमा मानिसले उपयोग गर्न नहुने विषादीको मात्रा भेटिएको थियो ।

पोखरेली उपभोक्ताले विषादीरहित तरकारी तथा फलफूल उपभोग गर्न पाऊन् भनेर नै पोखराको शान्तिवनस्थित कृषि उपज बजारमा व्यावसायिक कृषि व्यापार आयोजनाले विषादी अवशेष द्रुत विश्लेषण एकाइ सञ्चालन गरेको थियो । यो मेसिनबाट आधा घण्टामै विषादी परीक्षणको नतिजा निस्किन्छ ।

तर, एक वर्षदेखि यो एकाइ चलेकै छैन । दुईजना कर्मचारीले विषादीजाँचको तालिम लिए पनि एकजना अघिल्लो वर्ष नै उमेरहदले रिटायर्ड भइसकेका छन् भने अर्का यहाँबाट सरुवा भएका छन् ।

एकाइ सञ्चालनमा नआउँदा अहिले पोखरेली उपभोक्ताको स्वास्थ्यमा प्रतिकूल असर पर्ने विषादीयुक्त तरकारी र फलफूल विक्री–वितरण भइरहेका छन् । द्रुत विश्लेषण एकाइका तत्कालीन प्राविधिक गुरूप्रसाद अर्यालका अनुसार मानव शरीरमा एसिटायल कोलिन स्टोरेज (आचे) नामक इन्जाइम उत्पादन र सञ्चालन हुन्छ । विषादी धेरै भएमा ती इन्जाइम उत्पादन र सञ्चालनमा रोकावट आउँछ र मानिसमा अनेक प्रकारका असर देखापर्छन् ।

पोखरामा तरकारी प्रतिदिन २ सय टन र फलफूल १ सय ५० टन खपत हुन्छ । पोखरामा खपत हुने तरकारीमध्ये ७० प्रतिशत भारत तथा बाहिरी जिल्लाबाट आयात गरिन्छ भने ९५ प्रतिशत फलफूल बाहिरबाट ल्याइन्छ । मानवस्वास्थ्य र वातावरणलाई प्रतिकूल असर पार्ने १ सय २७ भन्दा बढी विषादी छन् ।

तरकारी र फलफूलमा आचेको इन्हिविसन रेट ३५ प्रतिशतसम्म पाइएमा त्यो तरकारी र फलफूल खानयोग्य मानिन्छ, ३६—४५ प्रतिशतको मात्रा भेटिएमा ४ देखि ७ दिन पर्खेर खानुपर्ने हुन्छ भने ४५ प्रतिशतभन्दा माथि भेटिएमा त्यस्ता तरकारी र फलफूल उपभोग गर्नै हँुदैन । तरकारी र फलफूलमा जतिसुकै विषादीको मात्रा भए पनि विक्री रोक्ने कार्यविधि नहुँदा समस्या आएको छ ।

तरकारी र फलफूलमा कीटनाशक विषादी हाल्यो भने ४ देखि २१ दिन पर्खेर मात्रै खान योग्य हुन्छ । तर, पोखराका उत्पादकहरूले अघिल्लो दिन विषादी हालेका तरकारी र फलफूल धमाधम बजारमा पठाउँछन् । तरकारीबारीमा मात्रै होइन, बजारमा ल्याइएका फलफूल पनि विषादी हालेर गलाउने गर्छन्, व्यवसायीहरू । खासगरी आँप, केरा, कटहर, लिचीजस्ता काँचा फलफूललाई २४ घण्टाभित्रै पाक्ने बनाउन अलपोनजस्तो विषादी मिसाइएको हुन्छ । यसले मानव स्वास्थ्यमा प्रतिकूल असर पार्ने स्वयम् व्यापारी नै बताउँछन् ।

‘यो विषादी खानेकुरा, जनावर र बच्चाबाट टाढै राख्नुपर्छ र फलफूलमा छर्केपछि पनि माटोमुनि गाड्नुपर्छ । तर, फलफूलमा छर्केको २४ घण्टा नबित्दै खाँदा त्यसले कस्तो असर गर्ला ?’ शान्तिवनस्थित तरकारीबजारका व्यापारी गणेश बास्कोटा भन्छन्, ‘अलपोन अघिल्लो दिन राति छर्केपछि भोलिपल्ट केरा र आँप पहेँलै हुन्छ र त्यो सीधै बजारमा जान्छ । हरियो गोलभेँडा पनि भोलिपल्ट टलक्कै टल्कने गरी रातै हुन्छ । देख्दा राम्रो भए पनि यस्ता तरकारी र फलफूल हाम्रा लागि विषबराबर छन् ।’ शान्तिवनका १ सय ५० जना व्यापारीले नै फलफूल र तरकारीमा अलपोन प्रयोग गर्ने गरेको उनले बताए ।

‘यहाँका एभ्रोभेट र किसानलाई विषादी प्रयोगबारे जनचेतना फैलाउनु आवश्यक छ,’ कृषि ज्ञानकेन्द्र स्याङ्जा सम्पर्क एकाइ कास्की कार्यालयका प्रमुख कालीप्रसाद अधिकारीले भने, ‘किसानले सकेसम्म कम विषादी प्रयोग र विषादीको पर्खने समयपछि मात्र तरकारी र फलफूल बजारमा ल्याउनुपर्छ ।’
प्रदेश सरकारले उक्त एकाइमा प्राविधिक कर्मचारी खटाइदिएमा भोलिबाटै एकाइ सञ्चालनमा ल्याउन सकिने भनाइ अधिकारीको छ ।

पोखरामा तरकारी प्रतिदिन २ सय टन र फलफूल १ सय ५० टन खपत हुन्छ । पोखरामा खपत हुने तरकारीमध्ये ७० प्रतिशत भारत तथा बाहिरी जिल्लाबाट आयात गरिन्छ भने ९५ प्रतिशत फलफूल बाहिरबाट ल्याइन्छ । मानवस्वास्थ्य र वातावरणलाई प्रतिकूल असर पार्ने १ सय २७ भन्दा बढी विषादी छन् ।

रासायनिक विषादीबाट मानव शरीरमा दीर्घकालीन असरहरू, जस्तै क्यान्सररोग, कलेजो तथा मिर्गौला बिग्रनु, महिलामा गर्भ तुइनु, बाँझोपन, पक्षाघात, मानसिक विकासमा बाधा, छालाको एलर्जी, शारीरिक तथा मानसिक असरसँगै ठूला रोगहरू देखापर्ने गरेका छन् । विषादी मानिसको छाला, श्वासक्रिया, आँखा र मुखबाट प्रवेश गर्छ । तर, अधिकांश नेपालीका भान्सामा विषादीयुक्त तरकारी छिर्छन् । विदेशमा मात्र होइन, नेपालकै अधिकांश किसानले तरकारी तथा फलफूलमा रासायनिक विषादीको प्रयोग बढाउँदै आएका छन् ।

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै

पाँच विषादीमाथि प्रतिबन्ध, विषादी प्रयोगमा कडाइ गरिँदै

कृषि तथा पशुपक्षी विकास मन्त्रालयअन्तर्गतको प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रले थप पाँच विषादीमाथि प्रतिबन्ध लगाएको छ । क्यान्सरलगायत रोग निम्त्याउन प्रमुख भूमिका खेल्ने ‘कार्सेनोजिक’ तत्व अत्यधिक भेटिएकाले ती विषादीमाथि पूर्णतः प्रतिबन्ध लगाइएको केन्द्रले जनाएको छ ।
प्रतिबन्धमा पर्नेमा कार्बोफ्युरान, गाइक्लोरोबस, ट्राइजोफोस, कार्बाराइल र गेनोमाइल नामक विषादी छन् । अत्यधिक कार्सेनोजिक तत्वका कारण यी विषादीले मानवस्वास्थ्य तथा वातावरणमा नकारात्मक असर पर्ने भएकाले प्रतिबन्ध लगाइएको केन्द्रले जनाएको छ । उल्लिखित विषादीको उत्पादन, आयात, विक्री–वितरण र प्रयोगमा पूर्णतः रोक लगाउने निर्णय गरेको केन्द्रका प्रमुख डा. डिल्लीराम शर्माले जानकारी दिए । विषादी समितिले प्रतिबन्ध लगाउने निर्णय गरिसकेकाले छिटै राजपत्रमा प्रकाशित गरी निर्णय कार्यान्वयनमा ल्याइने उनको भनाइ छ ।

छिमेकी मुलुक भारतसहित अन्य मुलुकहरूले यी विषादीमाथि निकै पहिले नै प्रतिबन्ध लागाइसकेका छन् । नेपालले भने बाह्य विश्वमा प्रतिबन्धित अति हानिकारक यी विषादीको प्रयोगलाई लामो समयसम्म निरन्तरता दिएर स्वास्थ्य जोखिम मोलिरहेको थियो । मुख्यगरी खाद्यान्न तथा तरकारीबालीमा यस्ता हानिकारक विषादी प्रयोग हुँदै आएका थिए । यसअघि सरकारले १६ प्रकारका अत्यन्त घातक विषादीमाथि प्रतिबन्ध लगाइसकेको छ ।

विषादीले कारोबारमा संलग्न व्यक्ति, कृषक तथा कृषि उपज उपभोग गर्ने उपभोक्ता, सबैलाई नराम्रो असर पुर्याइरहेको छ । महिला र बालबालिकामा यसको प्रभाव बढी पर्ने गर्छ । विषादीको तत्कालीन मानवीय असरका रूपमा मूच्र्छा हुने, झाडापखाला लाग्ने, कम्पन हुने, दृष्टि कमजोर हुने तथा मृत्यसम्म हुन सक्ने हुन्छ । त्यसैगरी अन्धोपन, क्यान्सर, ट्युमर, नपुसंकता, बाँझोपन, विकृत बच्चाको जन्म, शरीरका विभिन्न अंगमा असर, पक्षाघातलगायत नसासम्बन्धी समस्याजस्ता दीर्घकालीन असर विषदीका कारण देखिने गर्छन् । १ सय २७ भन्दा बढी विषादीले अन्तःस्राव प्रणालीलाई नाश गर्ने अनुमान गरिएको छ ।

नेपालले भने बाह्य विश्वमा प्रतिबन्धित अति हानिकारक यी विषादीको प्रयोगलाई लामो समयसम्म निरन्तरता दिएर स्वास्थ्य जोखिम मोलिरहेको थियो । मुख्यगरी खाद्यान्न तथा तरकारीबालीमा यस्ता हानिकारक विषादी प्रयोग हुँदै आएका थिए । यसअघि सरकारले १६ प्रकारका अत्यन्त घातक विषादीमाथि प्रतिबन्ध लगाइसकेको छ ।

अन्तःस्राव प्रणालीले शरीरमा रासायनिक परिवर्तन हुने प्रक्रिया, प्रजनन, शरीरको वृद्धि र विकासका साथै अन्य महत्वपूर्ण कार्यलाई अधीनमा राखी मानव स्वास्थ्यको हितमा कार्य गरिराखेको हुन्छ । यस्ता विषादीको थोरै मात्रामा पनि बारम्बार सम्पर्कले यस प्रणालीलाई असर पुर्याउँछ । अन्तःस्राव नाश गर्ने रसायन सालनालबाट पनि वारपार गर्न सक्छ । यी रसायनहरू भ्रूण तथा बच्चा जन्मेपछिको अवस्थामा सम्पर्कमा आएमा यसबाट रोगसँग लड्ने क्षमताको ह्रास वयष्क अवस्थासम्म कायम रहन्छ । साथै, यी रसायनको कुप्रभाव सन्ततिमा पनि देखापर्न सक्छन् । प्रायः गरी विषादीहरू शरीरमा ग्रहण गर्ने तथा सञ्चय गर्ने सम्भावना बालबालिकामा बढी हुन्छ । बालबालिकाका विकासशील अंगहरू यस्ता विषलाई पूर्ण रूपमा तटस्थीकरण गर्न वा हटाउन असमर्थ हुन्छन् । साथै, बालबालिकाको लामो जीवनकालमा यी विषदीहरूले दीर्घकालीन रोगहरू ल्याउँछन् ।

हालको प्रस्तावित कानुनमा सूचीकृत नभएका जीवनाशक विषादी उत्पादन, संश्लेषण, आयात–निर्यात, व्यावसायिक प्रयोग, भण्डारण तथा विक्री–वितरण गरेको हकमा ५० हजारदेखि एक लाखसम्म जरिवाना तथा एक महिनाको कैद वा दुवै सजायको व्यवस्था गरिएको छ ।

‘विषादी व्यवस्थापन ऐन’ २०७५ को मस्यौदा तयार, जेल सजायसम्म प्रस्ताव
खाद्यान्न तथा तरकारीबालीमा अनियन्त्रित रूपमा प्रयोग हुँदै आएको विषादीको व्यवस्थित र सुरक्षित प्रयोग गर्ने उद्देश्यले सरकारले जीवनाशक विषादी व्यवस्थापन ऐन २०७५ को मस्यौदा तयार पारिसकेको छ ।
प्रस्तावित ऐनमा आफूखुसी विषादी विक्री–वितरण गर्नेलाई कडा कारबाही गर्ने व्यवस्था गरिएको छ । विधेयकमा प्रतिबन्धित विषादी विक्री–वितरण गर्ने व्यवसायी, आयातकर्ता, भण्डारणकर्ता तथा उत्पादनकर्तालाई ५० हजारदेखि २ लाख रूपैयाँसम्म जरिवानासँगै एक वर्षको कैद वा दुवै सजाय हुन सक्ने प्रावधान प्रस्ताव गरिएको छ ।

आमउपभोक्ता तथा किसानको स्वास्थ्यलाई ख्याल गर्दै सरकारले घातक विषादीलाई नियन्त्रण गर्न कडा व्यवस्थासहित नयाँ ऐन ल्याउन लागेको केन्द्रको भनाइ छ । साबिकको जीवनाशक विषादी ऐन २०४८ मा भने सूचीकृत नभएका तथा प्रतिबन्धित विषादी आयात–निर्यात गर्ने, विक्री गर्ने, भण्डारण गर्नेको हकमा पाँच हजार नगद जरिवाना र विषादी जफत गर्ने व्यवस्था थियो । उक्त ऐनमा कैदको व्यवस्था नभएकाले प्रतिबन्धित विषदीको कारोबारमा संलग्न व्यक्तिले अधिकतम पाँच हजार जरिवाना तिरेर उन्मुक्ति पाउने खुकुलो व्यवस्था थियो ।

यही कमजोर कानुनी प्रावधानको फाइदा उठाउँदै आयातकर्ता, उत्पादनकर्ता, विक्रेता र प्रयोगकर्ताले मानव स्वास्थ्य, पशुपक्षीको स्वास्थ्य तथा वातावरणलाई हानि हुने गरी अति घातक विषादी भित्र्याउँदै आएका थिए । हालको प्रस्तावित कानुनमा सूचीकृत नभएका जीवनाशक विषादी उत्पादन, संश्लेषण, आयात–निर्यात, व्यावसायिक प्रयोग, भण्डारण तथा विक्री–वितरण गरेको हकमा ५० हजारदेखि एक लाखसम्म जरिवाना तथा एक महिनाको कैद वा दुवै सजायको व्यवस्था गरिएको छ ।

विधेयकमा अनुमतिविना विषादीको कारोबार गर्ने व्यवसायीलाई पनि कानुनी दायरामा ल्याउन लागिएको छ । प्रस्तावित ऐनमा पीडितलाई पीडकबाट क्षतिपूर्ति उपलब्ध गराउने व्यवस्था गरिएको छ । यसअनुसार विषादी उत्पादन, आयात–निर्यात, संश्लेषण, मिसावट, ढुवानी, विक्री तथा भण्डारण गर्नेक्रममा कुनै पनि प्रकारको दुर्घटना भए इजाजतपत्र लिने व्यक्ति वा संस्थाले पीडितलाई तोकिएअनुसार क्षतिपूर्ति उपलब्ध गराउनुपर्नेछ ।

प्रस्तावित ऐनमा म्याद नाघेका घातक विषादीको व्यवस्थापन सम्बन्धमा पनि व्यवस्था गरिएको छ । आयातकर्ताले आयात गरेका जीवनाशक विषादीको म्याद सकिएको अवस्थामा आफ्नै खर्चमा उक्त विषादीको व्यवस्थापन गर्नुपर्ने व्यवस्था विधेयकमा छ । म्याद नाघेको विषादी आयातकर्तामार्फत उत्पादक कम्पनीले आफ्नो मुलुकमा फिर्ता लैजानुपर्ने प्रावधान राखिएको छ ।
गत वर्षको तथ्याअनुसार नेपालमा ६ सय ३५ टन खास विष–विषादी आयात भएको देखिन्छ, जसमा कीटनाशक १ सय ६९ टन, रोगनाशक ३ सय ४७ टन, झारनाशक १ सय ५ टन र अन्य १४ टन छन् । गत वर्ष विषादीका लागि करिब ७५ करोड बिदेसिएको देखिन्छ ।

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै

भयावह बन्दै विषादी प्रयोग, प्रतिदिन ७ सयको लिन्छ ज्यान

‘पोषण सुरक्षा र खाद्य स्वच्छता, घातक विषादीमुक्त कृषिको आवश्यकता’ मूल नारासहित ६ फागुनदेखि विषादी प्रयोगमुक्त सप्ताह मनाइराखिएको छ । १२ फागुनसम्म चल्ने विषदीमुक्त सप्ताह कृषि तथा पशुपक्षी विकास मन्त्रायलको प्लान्ट क्वारेन्टी एवम् विषादी व्यवस्थापन केन्द्रले घोषणा गरेको हो ।
केन्द्रले उपत्यकालगायत देशका विभिन्न भागमा विविध चेतनामूलक कार्यक्रम गरी विषदीमुक्त सप्ताह मनाइरहेको छ । जसअन्तर्गत प्रभातफेरी, सडक नाटक प्रदर्शन, नेपाल टेलिभिजन र रेडियो नेपालको कृषि कार्यक्रममा सप्ताहभर विषादीसम्बन्धी चर्चा, एफएमबाट सूचना प्रवाहलगायत छन् ।

वार्षिक ७५ करोडको ६३५ टन विषदी आयात
केन्द्रको तथ्यांकअनुसार गत आर्थिक वर्षमा नेपालमा ६ सय ३५ टन खास विष–विषादी आयात भएको देखिन्छ । यसमध्ये कीटनाशक १ सय ६९ टन, रोगनाशक ३ सय ४७ टन, झारनाशक १ सय ५ टन र अन्य १४ टन छन् । उक्त आर्थिक वर्षमा विषादीका लागि करिब ७५ करोड रूपैयाँ खर्च भएको देखिन्छ ।
नेपालमा सन् १९५२ मा मलेरिया नियन्त्रणका लागि भित्र्याइएको विषादी कृषि उत्पादनका लागि प्रयोग हुन थालेपछि यसको मात्रा प्रतिवर्ष बढ्दै गएको पाइन्छ । अन्य देशको तुलनामा नेपालमा प्रतिहेक्टर जमिन विषादीको प्रयोग निकै कम, अर्थात् ३ सय ९६ ग्राम खास विष रहे पनि करिब ८५ प्रतिशतभन्दा बढी विषादी तरकारीबालीमा आधारित सघन खेती प्रणाली भएका स्थानमा प्रयोग हुने गरेको पाइएको छ । तरकारीबालीमा १ हजार ६ सय ५ ग्राम खास विष प्रतिहेक्टर विषादीको प्रयोग भइरहको पाइन्छ ।

नेपालमा विषादीको प्रयोगमा देखिएका समस्या
नेपालमा विषादीको प्रयोगमा ज्ञानअभाव, हेलचेक्य्राइँ, कडा कानुनको अभाव, कानुन कार्यान्वयनमा आउन नसक्नुलगायत कारण विभिन्न समस्या देखिएका छन् । नियमनको अभाव, चुस्त नियामक निकायको कमी र नियमनकारी निकायहरूको उदासीनताका कारण विषादीको अवैध प्रयोगले प्रश्रय पाउँदा मानव स्वास्थ्यमा प्रत्यक्ष असर परिरहेको छ ।
विषदी प्रयोगका समस्यामा पाक्ने अवधि ख्याल नगर्ने, बालीकटानी समयमा विषादीको प्रयोग गर्ने, विक्रीभन्दा ठिक अघि विषादीमा डुबाउने, विषादीको मात्रा बढाएर छर्ने, रोग कीराको पहिचानविना विषादी छर्ने, विषादीलाई खेतीबाहेक अन्य जीवजन्तुमा तथा स्थानमा प्रयोग गर्ने प्रचलन छ । त्यसैगरी, कृषिकार्यबाहेक अन्य उद्देश्यमा विषदीको प्रयोग, दर्ता नगरिएका विषादीको लुकी–छिपी विक्री–वितरण तथा प्रयोग, खाद्य सामग्रीको पसलमा विषादी पनि विक्री–वितरण, प्रतिबन्धित विषादीको लुकि–छिपी प्रयोग, विषादीको प्याकेट खोली पुनः प्याकेजिङ र विक्री, विनालेबलका विषादीको प्रयोग, म्याद नाघेका विषादीको प्रयोग, विषादी प्रयोग गर्दा सुरक्षित पहिरनको प्रयोग अभावलगायत समस्या विषदी प्रयोगमा देखिएका छन् ।

नेपालमा ६ सय ३५ टन खास विष–विषादी आयात भएको देखिन्छ । यसमध्ये कीटनाशक १ सय ६९ टन, रोगनाशक ३ सय ४७ टन, झारनाशक १ सय ५ टन र अन्य १४ टन छन् । उक्त आर्थिक वर्षमा विषादीका लागि करिब ७५ करोड रूपैयाँ खर्च भएको देखिन्छ ।

नेपाल सन् २०१३ देखि सहभागी
सन् १९८४ का भारतको भोपालमा विषादी चुहावटका कारण पुगेको असरले २० हजार मनिसको ज्यान गएको थियो भने ५ लाखभन्दा बढी घाइते भएका थिए । त्यसै घटनालाई स्मरण गर्दै सन् १९९८ देखि पिएएनले ३ डिसम्बरलाई विषादी प्रयोगमुक्त दिनका रूपमा विश्वव्यापीरूपमा मनाउँदै आएको छ । विषादी प्रयोगका असरबारे अभियानका रूपमा सचेत गराउन सन् २०१० देखि सप्ताहव्यापी रूपमा विषदीमुक्त अभियानको थालनी गरिएको हो । यसमा नेपाल सन् २०१३ देखि सहभागी हुँदै आएको छ ।

नेपाल सरकार, कृषि तथा पशुपक्षी विकास मन्त्रालयअन्तर्गतका विभिन्न निकायबाट नेपाल विश्व व्यापार संगठन, अन्तर्राष्ट्रिय बाली संरक्षण महासन्धि र एसिया प्रशान्त क्षेत्रीय बाली संरक्षण आयोगको सदस्य, स्टकहाम, रोटरडम तथा वासल महासन्धि पक्षधर भएबाट पनि मानव स्वास्थ र वातावरण सुरक्षाका लागि विभिन्न पहल र कार्य हुँदै आएका छन् । घातक विषादीको प्रयोगमा प्रतिबन्ध लगाउने, ऐन–नियमावलीहरू परिमार्जन र कडाइका साथ लागू गर्ने, आइपिएम कार्यक्रमलाई बढावा दिने, विषादीका विकल्पहरूलाई प्राथमिकता दिने, सञ्चारमाध्यमहरूबाट विषादीका असरबारे जानकारी दिने, विषादीको सुरक्षित प्रयोग विधिलगायत विभिन्न कार्यक्रम पनि सञ्चालनमा ल्याएको केन्द्रले जनाएको छ ।

केन्द्रका अनुसार रासायनिक विषादीको न्यूनीकरण गर्ने उद्देश्यले स्वास्थ्य र वातावरणअनुकूल जैविक विषादी उत्पादन एवम् प्रयोगका लागि नेपालका ७ जिल्लामा सामुदायिक आइपिएम स्रोतकेन्द्र स्थापना गरी कृषकस्तरमै जैविक तथा वानस्पतिक विषादीको उत्पादन र प्रयोग कार्य भइरहेको छ भने आमउपभोक्तामा विषादीयुक्त तरकारी एवम् फलफूल सेवनबाट हुन सक्ने जोखिम न्यूनीकरण गर्ने उद्देश्यका साथ कालिमाटीलगायत देशका अन्य ६ स्थानमा विषादी अवशेष दु्रत विश्लेषण एकाइ स्थापना गरी अनुगमन कार्य भइरहेको छ । स्थापनाकालमा विषादीको अवशेष तरकारी र फलफूलमा तोकिएभन्दा बढी देखिए पनि हालसम्म आइपुग्दा न्यूनीकरण भई नगण्यजस्तै भएको केन्द्रको दाबी छ । यसबाट आमउपभोक्ता एवम् कृषकमा जनचेतना पुग्नुका साथै विषादी न्यूनीकरणमा ठूलो योगदान पुगेको केन्द्रको बुझाइ छ ।

कृषि क्षेत्रको विविधीकरण, व्यवसायीकरण र औद्योगिकीकरण गरी गरिबीनिवारणको राष्ट्रिय लक्ष्य हासिल गर्न मूलतः कृषि उत्पादन र उत्पादकत्वको वृद्धि अनिवार्य छ । बढ्दो जनसंख्याका लागि खाद्य वस्तुको बढ्दो माग आपूर्ति गर्न खाद्यवस्तु उत्पादन वृद्धिका साथै कृषि व्यापार वृद्धि आवश्यक रहेको अवस्थामा विषादीको प्रयोग आवश्यक छ । यस परिपे्रक्ष्यमा विभिन्न बाली–नालीमा बर्सेनि नोक्सान पुर्याउने शत्रुजीवहरू कीरा, रोग, झारपात, मुसा, चरा आदिबाट बालीको कटानीअघि र पछि भण्डारणसम्म २०–३५ प्रतिशत हुने नोक्सानीलाई कम गर्नु पनि उत्पादन वृद्धि गर्नुसरह नै हो ।

विषदीका असर
विषादीहरू रासायनिक पदार्थहरू हुन्, जसलाई रोग, कीरा, सूक्ष्म जीवाणु, झारपात, मुसा आदि मार्न, कृषिकार्यमा तथा अन्य स्थानमा प्रयोग गर्ने गरिन्छ । विषादी मानव शरीरमा श्वास–प्रश्वास प्रक्रिया, छालाको सम्पर्क तथा खानाको माध्यमबाट पस्ने गर्छ । विषादीले कारोबारमा संलग्न व्यक्ति, प्रयोगकर्ता (कृषक तथा अन्य), कृषि उपज, उपभोक्तालगायत सबैलाई नराम्रो प्रभाव पारिरहेको छ । महिला र केटाकेटीमा यसको प्रभाव बढी हुने गर्छ । विषादीका कारणले मानवमा तत्काल देखिने असरहरूमा मूच्र्छा, झाडा–पखाला, कम्पन, दृष्टि कमजोर तथा मृत्युसम्म हुन सक्छ । त्यसैगरी, दीर्घकालीन असरमा अन्धोपन, क्यान्सर, ट्युमर, नपुसंकता, बाँझोपन, विकृत बच्चाको जन्म, शरीरका विभिन्न अंगमा असर, पक्षघातजस्ता नसासम्बन्धी समस्या विषदीका कारण निम्तिने गर्छन् । १ सय २३ भन्दा बढी विषादीले अन्तःस्राव प्रणालीलाई नाश गर्ने अनुमान गरिएको छ । अन्तःस्राव प्रणालीले शरीरमा रासायनिक परिवर्तन हुने प्रक्रिया, प्रजनन, शरीरको वृद्धि र विकासका साथै अन्य महत्वपूर्ण कार्यलाई अधीनमा राखी मानव स्वास्थ्यको हितमा कार्य गरिराखेको हुन्छ । यस्ता विषादीको थोरै मात्रामा पनि बारम्बारको सम्पर्कले यस प्रणालीलाई असर पुर्याउँछ । अन्तःस्राव नाश गर्ने रसायन सालनालबाट पनि वारपार गर्न सक्छ । यी रसायनहरू भ्रूण तथा बच्चा जन्मेपश्चात्का अवस्थामा सम्पर्क भएमा रोगसँग लड्ने क्षमताको ह्रास वयष्क अवस्थासम्म कायम रहन्छ । साथै, यी रसायनहरूको कुप्रभाव सन्ततीहरूमा पनि देखापर्न सक्छन् । प्रायः विषादीको शरीरमा ग्रहण गर्न तथा सञ्चय गर्ने सम्भावना बालबालिकामा बढी हुन्छ । बालबालिकाका विकासशील अंगहरू यस्ता विषलाई पूर्ण रूपमा तटस्थीकरण वा हटाउन असमर्थ हुन्छन् । साथै, बालबालिकाको जीवनकाल लामो हुने हुनाले पछिल्ला अवस्थामा दीर्घकालीन रोगहरू ल्याउँछ ।

दिगो कृषि विकास, सुरक्षित वातावरण, सामाजिक संरचनामा सुधारमा कृषक सशक्तीकरणको ठूलो भूमिका हुन्छ । कृषकलाई विषादीको नकारात्मक असर, त्यसले पार्ने प्रभाव, विषादीको सुरक्षित ओसार–पसार तथा प्रयोग, विषादीका वैकल्पिक प्रविधिसम्बन्धी ज्ञान दिन जरुरी देखिन्छ ।

संसारमा हरेक वर्ष ४ करोड मानिसमा विषादीले कतै न कतै, कुनै न कुनै रूपमा असर गरेको अनुमान गरिएको छ । विश्वमा विषादीकै कारणल वार्षिक ३ लाख ५५ हजार मानिसको मृत्य हुने गरेको बताइन्छ । एक अध्ययनका अनुसार प्रतिदिन ७ सयजना व्यक्तिको मृत्यु कुनै न कुनै रूपमा विषादीसँग सम्बन्धित रहेको पाइएको छ । त्यसैगरी, आत्महत्याका घटनामध्ये ३१ प्रतिशत विषादीसँग सम्बन्धित रहेको अध्ययनले देखाएको छ ।

खतरनाक विषादीहरू मानव स्वास्थ्य र वातावरणका लागि चुनौतीका रूपमा रहेका छन् । संयुक्त राष्ट्रसंघका अनुसार विकासोन्मुख देशहरूमा खतरनाक विषादीलगायतका रसायनको उत्पादन र प्रयोग मानव स्वास्थ्य र वातावरणको ख्याल नगरी बढिरहको छ । प्रयोग भएका ९५ प्रतिशतभन्दा बढी विषादी लक्षित समस्या समाधान गर्नभन्दा मानव, वन्यजन्तु, पानीको स्रोत, माटो तथा हावामा समाविष्ट भएको देखिन्छ । जसले मानव स्वास्थ्य र वातावरणमा विभिन्न समस्या देखापर्दै आएको छ । खेतबारीमा प्रयोग गरिएका विषादीले मौरीको संख्यामा कमी ल्याउन प्रमुख भूमिका खेलेको प्रमाणित भइसकेको छ । जसका कारण बाली–बिरुवामा हुने परागसेचन प्रक्रियामा कमी आई कृषि उत्पादनमा ह्रास आउँछ । विषादीको व्यापक प्रयोगले विषादीका अवशेष माटो तथा पानीमा बढेर गएको छ । ओजनतहको विनाशमा विषादीको भार ६ प्रतिशत रहको तथ्यांहरूले देखाएका छन् ।

एसिया महादेशका बहुसंख्यक कृषक विषादीको प्रकार, विषको स्तर, सुरक्षित प्रयोग तथा मानव स्वास्थ्य र वातावरणमा विषादीको नकारात्मक असरबारे अनभिज्ञ रहेका कारण विषादीसँग बढी सम्पर्कमा आउने र सुरक्षित रूपमा प्रयोग गर्न अपनाउनुपर्ने साधनको प्रयोग गर्न नसक्नाले उनीहरूमा बढी असर परेको पाइएको छ ।

सम्भाव्य समाधान
स्वस्थ कृषि पर्यावरणमा खतरनाक विषादी हटाई कृषि उत्पादन गर्न र वातावरणलाई सुरक्षित राख्नु आजको आवश्यकता र चुनौती भएको विज्ञहरु बताउँछन् । विषादीको न्यूनतम, न्यायोचित र सुरक्षित प्रयोगका साथै विषादीबाट पर्न सक्ने नकारात्मक प्रभाव न्यूनीकरण गर्न व्यवस्थापन विधि, जनचेतनामूलक कार्यक्रम सञ्चालन, ऐन–नियम कार्यान्वयन पक्ष सुदृढ गराउन बोटबिरुवाका शत्रुजीवहरूका विवेकपूर्ण व्यवस्थापन कार्यमा अघि बढ्न जरुरी रहेको उनीहरुको भनाइ छ ।
दिगो कृषि विकास, सुरक्षित वातावरण, सामाजिक संरचनामा सुधारमा कृषक सशक्तीकरणको ठूलो भूमिका हुन्छ । कृषकलाई विषादीको नकारात्मक असर, त्यसले पार्ने प्रभाव, विषादीको सुरक्षित ओसार–पसार तथा प्रयोग, विषादीका वैकल्पिक प्रविधिसम्बन्धी ज्ञान दिन जरुरी देखिन्छ । ऐन–नियम, नीति, निर्देशिका तयार गर्नेदेखि लिएर मापदण्ड निर्धारण गर्ने तथा सम्बन्धित पक्षलाई सोको दायराभित्र ल्याउन, सुपरीवेक्षण गर्न पनि उत्तिकै आवश्यक र चुनौतीपूर्ण पनि छ । साथै, अत्यन्त खतरनाक विषादीहरू बेचबिखन तथा प्रयोगमा प्रतिबन्ध गर्नु आवश्यक छ ।

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै