चिकित्सक संघलाई राजनीति गर्ने औजार बनाइएको छैन

नेपाल चिकित्सक संघको स्थापना २० फागुन ००७ मा भएको हो । यो नेपालको पहिलो व्यावसायिक संस्था हो । डा. सिद्धिमणि दिक्षितले जम्मा २० जना चिकित्सकको संलग्नतामा यो संस्थाको स्थापना गर्नुभएको हो । समस्त चिकित्सकको हकहितका लागि आवाज उठाउने उद्देश्यले यस संंस्थाको स्थापना गरिएको हो । चिकित्सकको वृद्धि–विकास, भविष्यनिर्माण, गुणस्तरीयता वृद्धि तथा गुणस्तरीय स्वास्थ्य सेवालाई एकत्रित रूपमा अगाडि बढाउनु यस संस्थाको आधारभूत लक्ष्य हो भने चिकित्साशिक्षामा भए गरेका उपलब्धिहरुलाई संस्थागत रुपमा अगाडि बढाउन १९६३ देखि जर्नल अफ नेपाल मेडिकल एसोसिएसनको स्थापना गरी चिकित्सा क्षेत्रमा भए गरेका उपलब्धिलार्इ प्रबद्र्धन गर्दै आएकाे  प्रतिष्ठित संस्था हो ।

यस संस्थामा आबद्ध तथा नेतृत्व तहमा पुगेका सम्पूर्ण चिकित्सकले यो संस्था तथा नेपालको चिकित्सकीय प्रणालीमा विभिन्न तहबाट योगदान दिँदै आएका छौँ, जुन आगामी दिनमा पनि निरन्तर रहनेछ । व्यक्तिगत रूपमा भन्ने हो भने म विं.सं. २०४८ देखि यो संस्थामा आबद्ध छु । म आबद्ध भएपश्चात् पनि यस संघको नेतृत्व धेरै चिकित्सकले गरिसक्नुभएको छ । म यो संस्थाको पूर्वअध्यक्ष भए पनि चिकित्सकहरूको हकहितका लागि अझै पनि म लड्दै छु । चिकित्सकहरूको हकहितका निम्ति आवाज उठाउनेमा म अग्रस्थानमै पर्छु जस्तो लाग्छ ।

विगतमा केही चिकित्सक साथीले मिडियामा खुलेआम राजनीतिक र दलगत चरित्र देखाउँदा पनि मैले चिकित्सक कुनै दलको हुँदैन, चिकित्सक जहिले पनि राजनीतिक दलभन्दा माथिल्लोस्तरका हुन्छ भन्ने सुझाब उहाँहरूलाई दिँदै आएको हुँ । कहीँ–कतै पारिवारिक पृष्ठभूमिसँग जोडेर मलाई कुनै पनि दलको बिल्ला भिराइन्छ भने त्यसमा मेरो कुनै दोष रहँदैन ।

विचारको राजनीति चिकित्सक संघभित्र गर्नुहुँदैन भन्दै मैले सम्पूर्ण चिकित्सकलाई एउटै छाताभित्र राख्दै आएको पनि हुँ । उदाहरणका लागि चिकित्सक संघको नेतृत्वमा हुँदा मैलै सम्पूर्ण चिकित्सकको छाता संगठनअन्तर्गत सबै विषेशज्ञ समूहलाई पनि एकै ठाउँमा आबद्ध गराउनुपर्छ, नेपाल चिकित्सक संघको एउटा अत्याधुनिक भवन बनाउनुपर्छ भन्दै प्रस्ताव गरेको थिएँ, जुन अहिले बनिरहेको छ ।

विगतमा केही चिकित्सक साथीले मिडियामा खुलेआम राजनीतिक र दलगत चरित्र देखाउँदा पनि मैले चिकित्सक कुनै दलको हुँदैन, चिकित्सक जहिले पनि राजनीतिक दलभन्दा माथिल्लोस्तरका हुन्छ भन्ने सुझाब उहाँहरूलाई दिँदै आएको हुँ ।
कहीँ–कतै पारिवारिक पृष्ठभूमिसँग जोडेर मलाई कुनै पनि दलको बिल्ला भिराइन्छ भने त्यसमा मेरो कुनै दोष रहँदैन । यदि चिकित्सक संघका विगतका कुनै पनि नेतृत्व तहका व्यक्तिले राजनीति गरे भनिन्छ भने त्यसको प्रमाण जुटाउनका लागि म आग्रह गर्छु ।

चाहे उपेन्द्र देवकोटाको नर्सिङ होम तोडफोडको घटनामा होस् वा सुबोध अधिकारीमाथिको घटनामा, या त बुटवलमा डाक्टर श्रीकृष्ण गिरीमाथि भएको घटनामा होस्, अझ महत्वपूर्ण घटनाको रुपमा रहेको भरतपुर क्यान्सर अस्पतालका तत्कालिन अध्यक्ष डा. भक्तमान श्रेष्ठको अपहरण होस्, जबकी डा. श्रेष्ठ त्यतिबेला नेपाल चिकित्सक संघको सदस्य समेत हुनु भएको स्थिति थिएन । सबै ठूला घटनामा चिकित्सक संघले जहिले पनि चिकित्सकको पक्षमा नै रहेर बोलेको छ । चिकित्सकहरुको रक्षाका निम्ती संघर्ष गर्न बाध्य भएको छ ।

नेपाल चिकित्सक संघले आन्दोलन गर्दा १३ मंसिर ०६७ मा नेपाली कांग्रेसकै नेतृत्वमा सरकार थियो । त्यसवेला देशव्यापी रूपमा नेपाल चिकित्सक संघले बन्दको आह्वान गरेको थियो । त्यसवेला उपत्यकाबाहिरका स्वास्थ्यसंस्थामा स्वास्थ्यकर्मीको अभाव भएका कारण जनताले गुणस्तरीय स्वास्थ्य सेवा पाउन सकेनन् भन्ने मुद्दाका साथ नेपाल चिकित्सक संघले देशव्यापी रूपमा बन्दको आह्वान गरेको थियो । नेपाल सरकारको स्वास्थ्य क्षेत्रमा लगानी बढाउन र सबै मेडिकल कलेजमा गुणस्तरीय जनशक्ति उत्पादन गर्नका लागि दबाब दिन हामीले त्यतिवेला बन्दको आह्वान गरेका थियौैँ । त्यतिवेला म नेपाल चिकित्सक संघको अध्यक्ष थिएँ । त्यसैले हामीले कुनै पनि समय चिकित्सक संघमा राजनीति गरेका छैनौँ । आगामी दिनमा आउने नेतृत्व तहका चिकित्सक साथीहरूले पनि यस संगठनभित्र कुनै पनि राजनीतिक मुद्दा ल्याउने छैनन् भन्ने पनि मेरो विश्वास छ ।
चिकित्सक संघमा राजनीतिक प्रभाव नभएको खण्डमा मात्रै संघले चिकित्सकको हकहितका लागि निरन्तर काम गर्न सक्नेछ भन्ने मेरो विश्वास छ । नेपाल चिकित्सक संघले संस्थालाई कसरी अगाडि बढाउने, कसरी संस्थाको गरिमा बढाउने जस्ता कुरा गरेको हुन्छ, त्यो पनि एकप्रकारको चिकित्सा क्षेत्रको व्यावसायिक मूलक राजनीति हो, जसलाई ‘मेडिको पोलिटिक्स’ को नाम दिन सकिन्छ र त्यो आवश्यक पनि छ । जुनसुकै संस्थालाई पनि अगाडि बढाउनेक्रममा गरिने नीतिगत विकास, प्रभावकारी नेतृत्व पनि एकप्रकारको राजनीति नै हो ।

एकथरी ‘मेडिको राजनीति’ कसरी संगठनलाई अगाडि बढाउने भन्नेतिर हुन्छ भने अर्काेतिर मेडिकल शिक्षाको गुणस्तर र गुणस्तरीय स्वास्थ्य सेवाका लागि कसरी एकेडेमिक वातावरण बनाउने भनेर हामीले पटक–पटक चिकित्सक संघको ध्यानाकर्षण पनि गराएका छौँ । यसरी दलगत स्वार्थ र राजनीतिबाट टाढा रहेर विशुद्ध व्यावसायिक ढंगले चिकित्सकको हकअधिकार र गुणस्तरीय स्वास्थ्यसेवाका निम्ति अनवरत लागिरहेकाले नै नेपाल चिकित्सक संघमा आबद्ध अग्रजहरूले ल्याएको संस्था आजको अवस्थामा आउन सफल भएको हो ।  यद्यपि, हाम्रा केही कमीकमजोरी भएका हुन सक्छन्, तर हामी समग्र चिकित्सक तथा चिकित्सकीय नेतृत्वकर्ता सम्पूर्ण साथीहरू चिकित्सकको हकहित र सुरक्षाका लागि सधैँ कटिबद्ध छौँ । त्यसका लागि नेपाल चिकित्सक संघ निरन्तर लडिरहनेछ ।

चिकित्सक संघभित्र बस्दा मैले कहिले पनि चिकित्सक साथीहरूलाई राजनीतिक विचार व्यक्त गरेको भान पर्न दिएको छैन । हामी सबैले यस संस्थाको गरिमा, आदर, सम्मान बढाउनुपर्छ । यस संस्थालाई भविष्यमा पनि विगतमा जस्तै सफल बनाउन उत्तिकै आवश्यक रहेकाले म सबैलाई त्यस दिशामा लाग्न आह्वान गर्छु ।

चिकित्सक संघ केही दिनअघि मात्र मुलुकी अपराध (संहिता) ऐनबारे जसरी सडकमा आयो, त्यो पनि चिकित्सककै हकहितका लागि हो । सबल नेतृत्व तथा चिकित्सक संघप्रतिको विश्वासका कारण नै हजारौँ चिकित्सक सरकारको विरोधमा सडकमा आएका थिए । यदि चिकित्सक संघबाट भूलवश केही कमीकमजोरी भएका छन् र आगामी दिनमा भयो भने त्यसलाई हामी सबै मिलेर सच्याउन सक्छौँ । तर, मलाई लाग्छ, हामी चिकित्सकले नेपाल चिकित्सक संघलाई स्थापनाकालदेखि नै राजनीति गर्ने थलो तथा कुनै पद प्राप्त गर्ने औजारका रूपमा प्रयोग गरेका छैनौँ ।

मसँगै चिकित्सक संघमा चुनाव लड्ने साथीहरू आज ठूला–ठूला पदमा पुगिसकेको अवस्थामा म आजसम्म नेपाल सरकार तथा कुनै पनि राजनीतिक दलको कुनै पनि पदमा मनोनीत भएको छैन । म वैचारिक रूपमा कुनै राजनीतिक दलसँग निकट भए पनि मैले नेपाल चिकित्सक संघमा विगतमा पाएको स्थानलाई भुल्ने हो भने म नालायक बन्छु । तर, चिकित्सक संघभित्र बस्दा मैले कहिले पनि चिकित्सक साथीहरूलाई राजनीतिक विचार व्यक्त गरेको भान पर्न दिएको छैन । हामी सबैले यस संस्थाको गरिमा, आदर, सम्मान बढाउनुपर्छ । यस संस्थालाई भविष्यमा पनि विगतमा जस्तै सफल बनाउन उत्तिकै आवश्यक रहेकाले म सबैलाई त्यस दिशामा लाग्न आह्वान गर्छु ।

सबै चिकित्सकलाई निष्कलंकित, सम्मानजनक तथा मर्यादित रूपमा संगठित गराउन सक्ने एक मात्रै संगठन नेपाल चिकित्सक संघ हो । न्याम्सको निर्वाचनलाई राजनीतिक रूपमा भन्दा पनि ‘मेडिको पोलिटिक्स’का रूपमा हेर्न सम्पूर्णमा मेरो आग्रह छ । जुन मुलुकी अपराध (संहिता) ऐन सरकारले जारी गर्यो, त्यसले हामी चिकित्सकको टाउकोमाथि १२ किलोको तरबार राखेजस्तो महसुुस हामी चिकित्सकलाई भएको छ । त्यसको संशोधनका लागि प्रधानमन्त्रीसित भेट्नुलाई नै राजनीति भनिएको पो हो कि ? त्यसलाई नै राजनीति मानिएको हो भने हामीलाई त्यो स्वीकार्य छ । सबै पार्टी र नेताहरूलाई त्यस विषयमा भेट्नुलाई पनि राजनीति मानिन्छ भने हाम्रो भन्नु केही छैन । त्यसलाई म ‘मेडिको पोलिटिक्स’ नाम दिन चाहन्छु । ०४८ सालदेखि म नेपाल चिकित्सक संघमा अनवरत रूपमा छु । भविष्यमा पनि यो संस्थामा रहँदा संस्थाको विकासका लागि मबाट हुन सक्ने सम्पूर्ण सहयोग गर्ने नै छु ।

(पूर्वअध्यक्ष, डा. केसीसँग लक्ष्मी चाैलागार्इले गरेको  कुराकानीमा अाधारित)

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै

टाइफाइडभन्दा भयावह बन्दै स्क्रब टाइफस

गएका केही वर्षदेखि स्क्रब टाइफस संक्रमितको संख्या बढ्दोक्रममा छ । एपिडेमियोलोजी महाशाखाले केही दिनअघि सार्वजनिक गरेको तथ्यांकले यो वर्ष पनि स्क्रब टाइफस युद्धस्तरमा बढ्दोक्रममा रहेको देखाउँछ । बर्सेनि स्क्रब टाइफसले मृत्यु हुनेको संख्या बढेको पाइन्छ । केही समयअघिसम्म, खासगरी सन् २०१५ अगाडिसम्म खासै चर्चामा नआएको यो रोग हाल ज्वरो आएका बिरामीमा नियमित जाँच गर्दा पनि भेटिने गरेको छ ।

अहिले पनि गाउँघरका स्वास्थ्यकेन्द्रहरूमा स्क्रब टाइफसका बिरामीलाई टाइफाइड भन्दै उपचार गरिरहेको देखिन्छ । अझै पनि स्क्रब टाइफसबारे खासै चर्चा नहुनु तथा पहिचान गर्ने विधि नहँुदा यस्तो भएको हो । साथै, अझै पनि ज्वरो भन्नेबित्तिकै टाइफाइड भन्ने हाम्रो सोचमा परिवर्तन आइसकेको छैन भन्ने पनि यसले देखाउँछ । गत वर्ष मात्र यो पंक्तिकारले काठमाडौंका विभिन्न अस्पतालबाट रक्तपरीक्षणका लागि पठाएका ज्वरोका बिरामीमध्ये सयौँमा स्क्रब टाइफस प्रयोगशालाबाट निदान भएको थियो । कुनै चमत्कार नभए यो वर्ष यही संख्यामा वा त्योभन्दा बढी नआउला भन्न सकिँदैन । यो वर्ष पनि आजका मितिसम्म स्क्रब टाइफसका दर्जनौँ बिरामी भेटिइसकेका छन् ।

सन् २०१५ अगाडिसम्म खासै चर्चामा नआएको स्क्रब टाइफस हाल ज्वरो आएका बिरामीमा नियमित जाँच गर्दा पनि भेटिने गरेको छ ।

किन टाइफाइडभन्दा भयावह बन्दै छ ?
टाइफाइड खासगरी संक्रमित खानपानका कारण हुने गर्छ । वर्षौंदेखि र अहिले पनि सरकारी तथा निजीस्तरका संस्थाहरूले सफा खानेकुरा र पानीबारे जनचेतना फैलाउने तथा वेला–वेलामा अनुगमन गरी दण्ड–जरिवाना गर्ने गरेको हँुदा धेरै हदसम्म पानी तथा खानेकुराजन्य रोगहरू नियन्त्रण हँुदै गएका देखिन्छन् । तसर्थ, टाइफाइड सर्ने माध्यम पनि यही भएकाले आगामी दिनमा यसको संख्यामा कमी आउनेमा दुईमत देखिँदैन । त्यस्तै, टाइफाइड पहिचान गर्दा रगतको कल्चर गरेर हेर्ने गरिन्छ र बर्सेनि तथ्यांकहरू हेर्दा केही दर्जनमा मात्र ब्याक्टेरिया देखिने गरेको पाइन्छ । यो विधिबाट टाइफाइडको कीटाणु देखे मात्र निश्चित रूपमा टाइफाइड भएको मानिन्छ । यसबाहेक विडाल टेस्ट पनि गरिन्छ, जुन त्यति भरपर्दो मानिँदैन । यद्यपि, सबै स्वास्थ्यचौकीमा रगतको कल्चर गर्ने सुविधा नभएकाले यही विधिलाई आधार मानेर उपचार गर्ने गरिन्छ । त्यस्तै, हाल मानिसमा टाइफाइडविरुद्ध खोपको जानकारी र ज्ञान बढ्दै गएको देखिन्छ, जसलाई आगामी दिनमा टाइफाइड क्रमिक रूपमा कम हँुदै जाने बलियो आधार मान्न सकिन्छ । तर, स्क्रब टाइफसबारे अहिले पनि नेपालमा राम्रो जानकारी छैन भनेर ज्वरोका बिरामीलाई गरेको उपचारको प्रकृतिबाट नै देख्न सकिन्छ । यसले गर्दा स्क्रब टाइफसको जाँच गर्ने चलन कम हुँदै छ भने संक्रमितको संख्या ह्वात्तै बढ्दै छ । यसबाट टाइफाइडभन्दा स्क्रब टाइफस भयावह बन्ने सहजै अनुमान गर्न सकिन्छ ।

के गर्ने ?

यो चिगर माइटको टोकाइबाट सर्ने भएकाले यसबारे सर्वसाधारणमा जनचेतना बढाउनु जरुरी हुन्छ । हाल यो अत्यधिक मात्रामा ग्रामीण भेगमा देखिँदै आएकाले त्यहाँका स्थानीयवासीलाई रोगबारे, कसरी सर्छ र बच्ने पूर्वउपायहरूबारे राम्ररी जानकारी गराउनुपर्छ । त्यहाँ खटेका स्वास्थकर्मीले पनि यो रोगलाई ध्यानमा राखेर उपचार गर्नुपर्छ वा छुटाउनुहँुदैन । प्रयोगशाला जाँच गर्न सहज नहुने भएकाले लक्षणहरू मिलेमा, कहाँ फैलँदै छ भन्ने जानकारी राखेर र यसको उपचारमा प्रयोग हुने एन्टिबायोटिक एक–दुई दिन मात्र चलाएर हेर्दा सुधार भएमा स्क्रब टाइफस शंका गरी उपचारलाई निरन्तरता दिनुपर्छ । सहरी इलाकामा शंका लागे पहिचान गर्न टेकु अस्पताल वा केन्द्रीय प्रयोशाला पठाउन सकिन्छ । हाल यो ग्रामीण भेगमा मात्र नभई सहरी इलाकामा पनि देखिनेक्रम बढ्दो भएकाले यहाँ सेवा दिइरहेका स्वास्थकर्मीले पनि ज्वरो आएका बिरामीमा स्क्रब टाइफसलाई पनि विशेष ध्यान पुर्याएर जाँच तथा उपचार गर्नुपर्छ ।

स्क्रब टाइफस मृत्युदर ३० प्रतिशतसम्म हुने गरेको अनुसन्धानहरूले देखाएका छन् ।

स्क्रब टाइफसको समयमा पहिचान नभए बिरामीको मृत्युसमेत हुने गर्दछ । यसको मृत्युदर ३० प्रतिशतसम्म हुने गरेको भारतीय अनुसन्धानहरूले देखाएका छन् । नेपालमा स्क्रब टाइफसको मृत्युदरबारे राम्रो तथ्यांक पाउन अझै अनुसन्धानहरू गर्न बाँकी नै छ । यो रोगले भौगोलिक हिसाबले पनि आफ्नो सीमा बढाउँदै गएको देखिन्छ भने लक्षणहरू पनि नयाँ–नयाँ थपिँदै गएका देखिन्छन् । ज्वरो आयो कि टाइफाइड भन्ने पुरानो सोचमा आगामी दिनमा परिवर्तन आई स्क्रब टाइफस भन्ने समय आउँदै गरेको सहजै अनुमान लगाउन सकिन्छ । यसले टाइफाइडभन्दा स्क्रब टाइफस आगामी दिनमा भयावह रूपमा फैलँदै छ भन्ने संकेत गर्दछ ।

(डा. पुन, क्लिनिकल रिसर्च युनिट, शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पतालका संयोजक हुन् ।)

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै