ट्रमाको निर्देशकमा डा. पौडेल, डा. यादवले काम गर्दागर्दै मिडियाबाट पो थाहा पाए– पद त अर्कैको भइसकेछ

राष्ट्रिय ट्रमा सेन्टरको निर्देशकमा डा. सन्तोष पौडेल नियुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले कार्यरत निर्देशकको पदावधि आधाभन्दा बढी समय बाँकी नै हुँदा नयाँ निर्देशक नियुक्त गरेका हुन् ।

यससँगै डा. पौडेलले १० दिनभित्र दुई नियुक्ति पाएका छन् । यसअघि माघ अन्तिम साता उनले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)को कार्यकारी परिषद् सदस्यको नियुक्ति पएका थिए । न्याम्सका सहकुलपतिको हैसियतमा मन्त्री ढकालले डा. पौडेललाई कार्यकारी परिषद् सदस्यमा मनोनयन गरेका हुन् । ट्रमा सेन्टर पनि न्याम्सअन्तर्गत नै सञ्चालित छ ।

डा. पौडेल सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)निकट चिकित्सकहरूको संगठन राष्ट्रिय चिकित्सक संघका अध्यक्ष हुन् । उनी नेकपाका प्रभावशालीमध्ये गनिने एक नेताका ज्वाइँसमेत हुन् ।

अनौठो विषय त के रह्यो भने डा. पौडेलले निर्देशकको नियुक्तिपत्र बुझिसकेको खबर कार्यरत निर्देशक डा. प्रमोद यादवले मिडियामार्फत मात्र पाए । स्वाभाविक कार्यकालका हिसाबले डा. यादव अझै करिब १३ महिना निर्देशक रहने थिए । यद्यपि, उनले निमित्तका रूपमा जिम्मेवारी सम्हाल्दै आएका थिए । उनलाई ५ चैत ०७५ मा ट्रमाको निमित्त जिम्मेवारी दिइएको थियो ।

बिहीबार डा. यादव निर्देशकका रूपमा ट्रमा सेन्टरको काम गरिरहेका थिए । एक अनलाइन मिडियामा ट्रमामा अर्कै व्यक्ति निर्देशक नियुक्त भएको खबर आएपछि बल्ल उनलाई पद गइसकेको थाहा भयो ।

यसबीचमा मन्त्रलायले उनको कार्यसम्पादनबारे उनलाई कुनै जिज्ञासा राखेको छैन, न त कुनै कसुर वा अनियमितताबारे सोधखोज नै गरेको छ । नयाँ नेपालको नारा दिने झन्डै दुईतिहाइको कम्युनिस्ट सरकार, त्यसमाथि पनि सुरुदेखि नै कसैको दबाब, भनसुन वा पार्टीगत स्वार्थमा नआई काम गर्ने रटान दिँदै आएका मन्त्री ढकालमाथि ट्रमाको नियुक्तिले गिज्याइरहेझैँ देखिन्छ ।

मिडियाबाट नयाँ निर्देशक आएको थाहा पाएका डा. यादवले हेल्थपोस्टसित भने, ‘मन्त्रीज्यूको इच्छाले गर्नुभयो होला, मैले कार्यालयमा काम गर्दै गर्दा अनलाइन मिडियामार्फत थाहा पाएँ ।’

पादावधि बाँकी नै भएको अवस्थामा जानकारी नै नदिई जिम्मेवारी खोसिनुले राम्रो सन्देश नजाने डा. यादवले प्रतिक्रिया दिए । आफूले छोटो अवसरमा संस्था सुधारका लागि निकै राम्रा काम गरे पनि उचित मूल्यांकन नभएकोमा उनको गुनासो छ ।

‘कार्यकाल नसकीकन बीचमै अर्को नियुक्ति गर्दा त्यति राम्रो हुँदैन,’ उनले भने, ‘मैले जिम्मेवारी सम्हालेको छोटो समयमा देखिने गरी नै धेरै नै सुधारका काम गरेँ, तर त्यसको मूल्यांकन भएन ।’

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै

श्रीमतीलाई मर्न दिन त कसरी सक्छु र !

पलपल निल्न खोजिरहेको मृत्युसँग कति लड्नु र, जब अस्पतालको ‘बेड’ मृत्युशय्या बनिसकेको हुन्छ ।

के ठेगान जीवनका पलहरू कहाँनेर झिपिक्क निभिदिन्छन् ।

ट्रमा सेन्टर, बेड नम्बर ५१४ ।

जहाँ एउटा अर्धमृत शरीर ढलिरहेको छ, भेन्टिलेटरमा सास फुक्दै ।

त्यो चेली तामाङको शरीर हो ।

डाक्टरले भनिसकेका छन्, ‘अब चेलीको जीवन सम्भव छैन ।’

सास फेर्ने नसा घाँटीको नसाबाट आएको हुन्छ । त्यो घाँटीको नसा नै चुँडिएको छ । भेन्टिलेटरको सहायताविना यस्ता बिरामी बाँच्न सक्दैनन् । सास फेराउने नसा जुन छ, पेसमेकर राख्नसम्म डाक्टरले प्रयास गरेका थिए ।

उनको उपचारमा संलग्न डा. राजीव झाका अनुसार पहिले नर्भिकमा लैजाँदा उनले सास फेर्न सकेकी थिइनन् । उनको स्पाइनल कर्ड बीचबाटै चुँडिएको छ ।
यसका लागि नेपालमा न उपकरण छ, न विज्ञ नै ।

उनका लागि पनि पेसमेकर राख्न डाक्टर बोलाइएको थियो । उनीहरूले आएर प्रयास पनि गरे, तर त्यो सम्भव भएन । डा. झा भन्छन्, ‘बिरामीको नसा मरेका कारण यो प्रविधिले काम गरेन ।

अब चेलीसामु एउटा मात्र विकल्प छ, जीवनभर भेन्टिलेटरबाटै सास फेर्ने । भेन्टिलेटर नभए २० मिनेटमै उनको सास रोकिन्छ । अहिले चेलीका लागि विदेशीको सहयोगमा ‘पोर्टेबल भेन्टिलटेर’ प्रयोग गरिएको छ, जुन घरमा लगेर पनि राख्न सकिन्छ । एकपटक चार्ज भएपछि चार घण्टासम्म काम गर्छ ।

चेलीको पनि बाँच्ने आशा त छैन नै । श्रीमान्सँग भनिरहेकी हुन्छिन्, ‘अब होस्, मेरा लागि खर्च नगर्नुस् । कि दुर्घटना भएकै ठाउँमा लगिदिनस् कि प्रहरीचौकीमा लगेर छाडिदिनुस्, म त्यहीँ मर्छु ।’ २०७३ चैत २४ गते दिउँसो बानेश्वरमा मोटरसाइकलले ठक्कर दिएर उनलाई कोमामा पुर्यायो । ठक्कर दिने मोटरसाइकल चेलीलाई जेब्राक्रसमै ढालेर भाग्यो । तत्काल एभरेस्ट अस्पतालमा लगियो ।

धत् ! के सोचेछु त्यस्तो…
चेलीका श्रीमान् वसन्तकुमार शाही त्यसवेला मलेसियामा काम गर्थे । श्रीमान्ले पठाएको पैसा झिकेर फर्किंदा चेली दुर्घटनामा परिन् । पाँच दिनपछि नेपाल फर्किने तयारीमा रहेका वसन्तले बाटोखर्च राखेर कमाइजति सबै श्रीमतीका नाममा पठाएका थिए ।

उनीहरूकी नौ वर्षकी छोरी छिन् । छोरी पढाउन काठमाडौंको पेप्सीकोला बसेकी चेली ब्युटी पार्लरमा काम गर्थिन् । घरखर्च उनैको कमाइले चल्थ्यो । वसन्तको कमाइ बचत हुन्थ्यो । त्यो रकमले काठमाडौंमा घडेरी किन्ने सल्लाह गरेका थिए । तीनवर्षे करार सकेर एक वर्ष थपेका वसन्तको घर फर्किने दिन नजिकिएको थियो । तर, जब उनी घर फर्किने तयारी गर्न थाले, यता चेलीको फोन अफ भयो । त्यतिवेला वसन्तले सोचे, ‘सबै पैसा कुम्ल्याएर श्रीमती अर्कैसँग टाप कसिछन् ।’ केही दिन निरन्तर फोन अफ नै भइरह्यो ।

‘ऊ अर्कैसँग गएकी रहिछे भने म किन नेपाल जानु ?’
त्यो सोचाइमा वसन्तलाई अहिले पनि ग्लानि हुन्छ, ‘मैले पाप सोचेको रहेछु, उनी दुर्घटनामा परेकी रहिछिन् । सालीलाई फोन गरेपछि थाहा पाएँ । उनी त अचेत अवस्थामा अस्पतालमा रहिछिन् ।’ वसन्त घर फर्किन लागेकाले परिवारले उनलाई त्यो दुःखद खबर सुनाएका थिएनन् ।

‘जब त्यो खबर सुनेँ शरीर गलेर आयो, कतिवेला नेपाल पुगेर उनको अनुहार हेरौँजस्तो भयो । तर, ५ दिनपछि मात्रै नेपाल फर्किने टिकट लिएको थिएँ,’ वसन्तले त्यो विवशता सुनाए । क्वालालम्पुरबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल झरेपछि हतार–हतार थापाथलीस्थित नर्भिक अस्पताल पुगे । त्यहाँ बेहोस अवस्थाकी चेलीको उपचार भइरहेको थियो । उनको गर्धन भाँचिएको थियो । शरीर सबै सुन्निएको थियो ।

रसिला आँखा, मलिन अनुहार, साँच्चै जीवनदेखि हारेको जस्तै देखिन्थिन् चेली । डाक्टरहरूले ‘नसा च्यापिएको छ, अप्रेसन गरेपछि ठिक हुन्छ’ भनेका थिए । त्यतिवेला उनीहरूलाई आर्थिक समस्या थिएन । तीन वर्षको कमाइ पूरै बचेको थियो । जति खर्च लागे पनि उपचार गरिदिनू भन्ने अवस्थामा थिए वसन्त ।

‘अब मलाई दुर्घटना भएकै ठाउँमा मर्न दिनुस्’
ठक्कर दिने चालकलाई केही समयपछि प्रहरीले समायो । चेलीका आफन्त र उनीहरूबीचमा बानेश्वर प्रहरी वृत्तमा छलफल भयो । छलफलमा चेलीको उपचार खर्च बेहोर्ने, मृत्यु भएमा छोरीको पढाइ खर्च बेहोर्ने र १० लाख रुपैयाँ दिने सहमति भएको थियो ।

सहमतिअनुसार चालकले खर्च बेहोर्दै थिए । कहिले २० हजार, कहिले ५० हजार रुपैयाँ दिन्थे । सहमति भएकै कारण वसन्तले अदालतमा मुद्दा गरेनन् । तर, ९० दिनपछि प्रहरी र चालकको कुरा फेरिन थालेको वसन्त बताउँछन् ।

‘दुर्घटनामा संलग्न व्यक्ति बिस्तारै सम्पर्कविहीन भए, प्रहरीले पनि ‘रेस्पोन्स’ गर्न छाड्यो,’ वसन्त भन्छन्, ‘प्रहरी र दुर्घटना गराउने व्यक्ति मिलेर मलाई एक्ल्याए ।’
जीवनदेखि थाकिसकेकी चेली भनिरहन्छिन् ‘अब मलाई बचाउनुपर्दैन ।’ खर्च सकिँदै गएपछि वसन्तले चेलीलाई नर्भिकबाट ट्रमा सेन्टरमा सारेका छन् । दुई वर्षदेखि ट्रमामै चेलीको उपचार भइरहेको छ ।

ट्रमामा ल्याएको एक वर्षसम्म आइसियुमै राखियो । विदेशमा कमाएर ल्याएको रकम सकिसकेको थियो । वसन्तले हारगुहार गरेपछि विदेशमा रहेका नेपाली र नेपालबाटै पनि सहयोग जुट्यो । पछि त्यही सहयोग पनि आउन छोड्यो । ऋण पनि थपिँदै गयो ।

श्रीमतीको स्याहारसँगै ट्रमामा जागिर
उनीहरूको अवस्था देखेर अस्पतालले बिरामी फर्काउन सकेन । दिनहुँ थपिएको उधारो तिर्न सक्ने अवस्थामा वसन्त थिएनन् । बरु यो परिवारका लागि अस्पतालले नै विकल्प खोजिदियो । वसन्तले ट्रमामा सुरक्षा गार्डको काम पाए । मासिक १८ हजार तलबमा वसन्तले जागिर पाए ।

मृत्युसँग लडिरहेकी चेलीको उपचारमा यो कमाइ केही पनि होइन, तथापि वसन्तका लागि यो जागिर मन भुलाउने मेसो बनेको छ । अचेल वसन्तको दैनिकी श्रीमतीको स्याहारसँगै ट्रमा सेन्टरको सुरक्षामा बित्छ ।

ड्युटीमा भएका वेला चेलीलाई गाह्रो भयो भने नजिकैका बिरामी कुरुवाले फोन गरिदिन्छन् । अनि वसन्त काम छाडेर हतार–हतार चेलीको स्याहारमा फर्किन्छन् । छोरी चेलीकी बहिनीसँग जडीबुटीमा बस्छिन् । आमासँग भेट गराउन उनलाई वेला–वेला अस्पताल ल्याइरहन्छन् । अचेत आमासँग भेट गराउँछन् र फर्काउँछन् ।

‘म कसरी चेलीलाई मर्न दिन सक्छु ? यी अबोध (छोरी) ले पछि मलाई के भन्लिन् ?’ छोरी सम्झिँदै वसन्त भन्छन् ‘यो भेन्टिलेटरसँगै म उनलाई घर लैजान सक्छु, तर त्यो भनेको सीधै मार्न लैजानुजस्तै हो ।’ घर लगेर के गर्नु ! वसन्तलाई त्यो उपकरण चलाउनसमेत आउँदैन ।

तीन वर्ष अस्पताल बस्दा वसन्तले धेरैथरि बिरामी र कुरुवाको संगत गरेका छन्, ‘कसैले बेहोस श्रीमतीलाई बेडमै छाडेर भागेको देखेँ, कसैले बा–आमालाई अस्पतालमै छाडेर भागे ।’ सास हुँदासम्म आश त कहाँ मर्छ र ? वसन्त पनि त्यो आश मार्न सक्दैनन्, ‘मेरी छोरीले मलाई आफ्नी आमालाई मार्यो नभनून् ।’

तामाङ चेली र ठकुरी वसन्तले १४ वर्षपहिले लगनगाँठो कसेका थिए । चेली आफ्नो दाइको होटेलमा काम गर्थिन्, जहाँ वसन्त खाना खान गइरहन्थे । त्यहीँ उनीहरूको चिनजान भयो । चिनजान माया–प्रेमसम्म पुग्यो । अनि त्यही प्रेम पछि विवाहमा परिणत भयो ।

११ वर्षसम्म जीवन ठिकठाक चलिरहेकै थियो । तर, दुर्घटनाले परिवारको खुसी नै बिथोलिदियो । वसन्तलाई थाहा छ, बिथोलिएको त्यो खुसी पनि चाँडै खोसिनेछ ।
चेलीको उपचारमा देश–विदेशबाट पाएको सहयोगबाहेक वसन्तको आफ्नै ४० लाख रुपैयाँ पनि सकिसकेको छ ।

‘कहिलेसम्म खर्च गर्नुहुन्छ ?’
श्रीमतीको मृत्युसँग जुधिरहेका वसन्तलाई यो प्रश्न निकै गह्रुंगो लाग्छ । वसन्तको जवाफ आउँछ, ‘जबसम्म उनको सास चलिरहन्छ ।’

वसन्तलाई सहयोग गर्न :
खाता नम्बर : 00602405 pd (प्राइम कमर्सियल बैंक लिमिटेड), वसन्तकुमार शाही
सम्पर्क नम्बर : 9849532421

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै

‘सरकार सबै प्रदेशमा ट्रमा सेन्टर स्थापनाको तयारीमा छ’

सरकारले सबै प्रदेशमा ट्रमा सेन्टर स्थापना गर्ने तयारी गरिरहेको जनाएको छ । बिहीबार विश्व ट्रमा दिवसको अवसर पारेर राष्ट्रिय ट्रमा सेन्टरले आयोजना गरेको कार्यक्रममा स्वास्थ्य तथा जनसंख्याराज्यमन्त्री डा. सुरेन्द्र यादवले सबै प्रदेशमा ट्रमा सेन्टरको स्थापना गर्ने तयारी भइरहेको बताएका हुन् ।

‘स्वास्थ्य क्षेत्रको विकासका लागि बजेट र जनशक्ति अभाव भइरहेको छ,’ राज्यमन्त्री यादवले भने, ‘राज्यको स्वास्थ्य नीति स्पष्ट नभएका कारण पनि स्वास्थ्यसंस्थाहरू चाहेर पनि बनाउन सकिरहेका छैनौँ ।’ मुलुक संघीयतामा गइसकेको अवस्थामा सरकार आवश्यक स्थानहरूमा स्वास्थ्यसंस्थाहरू स्थापना गर्न लागिपरेको यादवको भनाइ छ । राज्यमन्त्री यादवले राष्ट्रिय ट्रमा सेन्टरलाई विश्वस्तरीय सेवा–सुविधायुक्त बनाउने प्रतिबद्धता व्यक्त गरे ।

कार्यक्रममा प्रहरी नायब उपरीक्षक पदमबहादुर विष्टले उपत्यकामा सवारी दुर्घटनाको पछिल्लो अवस्था र कारणको प्रतिवेदन प्रस्तुत गर्दै ट्रमाको आवश्यकताबारे धारणा राखेका थिए । उनका अनुसार उपत्यकामा भएका सवारी दुर्घटनामा महिला २४ प्रतिशत र पुरुष ७६ प्रतिशत घाइते भएका छन् ।

कार्यक्रममा स्वास्थ्यसचिव खगराज बरालले समेत ट्रमा सेन्टरको आवश्यकताबारे धारणा राखेका थिए । कार्यक्रममा प्रहरी नायब उपरीक्षक पदमबहादुर विष्टले उपत्यकामा सवारी दुर्घटनाको पछिल्लो अवस्था र कारणको प्रतिवेदन प्रस्तुत गर्दै ट्रमाको आवश्यकताबारे धारणा राखेका थिए । उनका अनुसार उपत्यकामा भएका सवारी दुर्घटनामा महिला २४ प्रतिशत र पुरुष ७६ प्रतिशत घाइते भएका छन् ।

कार्यक्रममा मुलुकको एक मात्र ट्रमा सेन्टरका निर्देशक डा. प्रमोद यादवले ट्रमाका केसबाट बच्न सकिने भएकाले दुर्घटना हुनै नदिनका लागि व्यापकस्तरमा जनचेतना अभिवृद्धि गर्नुपर्नेमा जोड दिए । ‘ट्रमाबाट हुने मृत्यु अधिकतर अवस्थामा हामी आफैँले निम्त्याइरहेका छौँ,’ डा. यादवले भने, ‘अधिकांश दुर्घटना हाम्रै असावधानीका कारण भइरहेका छन् । दुर्घटनापछि पनि समयमा उपचार सेन्टरमा नपुर्याएर घरमै राख्ने गर्दा समस्या जटिल बन्न गई अकालमै मृत्यु भइरहेको छ । त्यसैले यसको न्यूनीकरणका लागि जनचेतना आवश्यक छ ।’ मानिसले नबुझेका कारण ट्रमाका केसबाट अकालमै मृत्यु भइरहेको र यसलाई नियन्त्रण गर्न सकिने उनको भनाइ थियो ।

मुलुकको एक मात्र ट्रमा सेन्टरको विकासका लागि यन्त्र–उपकरण र जनशक्ति अभाव भएकाले त्यसमा सरकारले आवश्यक मात्रामा सहयोग गर्नुपर्ने डा. यादवले बताए । ‘हामीलाई एमआरआई मेसिनको अति आवश्यकता छ,’ डा. यादवले हेल्थपोस्टसितको कुराकानीमा भने, ‘त्यस्तै, आइसियूलाई न्यूनतम ५० बेडसम्ममा विस्तार गर्नुपर्नेछ र जनशक्ति पनि ठूलो संख्यामा थप गर्नुपर्ने अवस्था छ ।’ हाल ट्रमा सेन्टरमा ११ बेडको आइसियू रहेकोमा १० बेड मात्र सञ्चालनमा छन् ।

बिहीबार बिहान ट्रमा सेन्टरले विश्व ट्रमा दिवसका अवसरमा प्रभातफेरीको आयोजना गरी दुर्घटनाबाट बच्न तथा भवितव्य आइहालेमा यथाशीघ्र उपचारका लागि अस्पताल पुर्याउन जनचेतनामूलक सन्देश प्रवाह गरेको थियो । बिहान ट्रमाबाट सुरु भएको प्रभातफेरी रत्नपार्क हुँदै टुँडिखेल परिक्रमा गरी पुनः सेन्टरमै पुगेर टुंगिएको थियो ।

ट्रमा सेन्टरले पहिलेदेखि नै जनशक्तिको अभाव झेल्दै आएको छ । सेन्टरमा सबैभन्दा बढी नर्सिङ जनशक्तिको अभाव रहेको निर्देशक डा. यादव बताउँछन् । त्यस्तै, चिकित्सक तथा अन्य प्राविधिक जनशक्ति पनि थप्नुपर्ने अवस्था रहेको उनले जानकारी दिए ।

कार्यक्रमका सहभागीहरूले सातै प्रदेशमा ट्रमा सेन्टर स्थापना गर्ने विषयमा धारणा रहेका छन् । राजधानीबाट तराई हुँदै देशका पूर्वीदेखि पश्चिमी भूभाग पुग्ने प्रमुख राजमार्गको लामो भाग पर्ने धादिङ जिल्लामा बढी दुर्घटना हुने भएकाले त्यहाँ ट्रमाको स्याटेलाइट क्लिनिक खोल्नुपर्ने धारणा कार्यक्रममा राखिएको छ । यसो गर्न सकेमा दुर्घटनामा परेका बिरामीलाई तत्कालको प्राथमिक उपचार त्यहीँ गरेर अस्पतालमा पठाउन सकेको खण्डमा बिरामीको ज्यान जोगाउन मद्दत पुग्ने विश्वास लिइएको छ ।

यसअघि बिहीबार बिहान ट्रमा सेन्टरले विश्व ट्रमा दिवसका अवसरमा प्रभातफेरीको आयोजना गरी दुर्घटनाबाट बच्न तथा भवितव्य आइहालेमा यथाशीघ्र उपचारका लागि अस्पताल पुर्याउन जनचेतनामूलक सन्देश प्रवाह गरेको थियो । बिहान ट्रमाबाट सुरु भएको प्रभातफेरी रत्नपार्क हुँदै टुँडिखेल परिक्रमा गरी पुनः सेन्टरमै पुगेर टुंगिएको थियो । त्यसपछि सेन्टरले ९ देखि ११ बजेसम्म औपचारिक कार्यक्रम आयोजना गरेको हो । हरेक वर्ष १७ अक्टोबरका दिन विश्व ट्रमा दिवस मनाउँदै आइएको छ ।

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै

बिग्रिएको सातौँ महिनामा बल्ल बन्यो ट्रमाको सिटी–स्क्यान, झन्डै करोड खर्च

६ महिनादेखि बन्द राष्ट्रिय ट्रमा सेन्टरको सिटी–स्क्यान सेवा मंगलबारदेखि सञ्चालनमा आएको छ । गत पुसदेखि बिग्रिएको १६ स्लाइसको सिटी–स्क्यान समयमा मर्मत नहुँदा बिरामीले सास्ती भोग्दै आएका थिए । विशेषगरी दुर्घटनाका बिरामीलाई सेवा दिने ट्रमा सेन्टरमा ल्याइने बिरामीको उपचारमा सिटी–स्क्यानको अत्यधिक अवाश्यकता पर्दछ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सिटी–स्क्यानको मर्मतका लागि १ करोड बजेट उपलब्ध गराएपछि मर्मत गरिएको अस्पतालका निर्देशक प्रमोद यादवले जानकारी दिए । ट्रमा सेन्टरमा दैनिक ५ सयको हाराहारीमा बिरामीले ओपिडी सेवा लिँदै आएका छन् । ‘ओपिडीसेवा लिनेमध्ये दैनिक करिब ४० जनाको सिटी–स्क्यान गर्नुपर्ने हुन्छ,’ यादवले भने, ‘सिटी–स्क्यानको ट्युब बिग्रिएको लामो समय भएको थियो, मर्मतका लागि स्वास्थ्य मन्त्रालयसँग रकम माग गरेका थियौँ । रकम उपलब्ध भएपछि मर्मत गरेर आजबाट सञ्चालनमा ल्याएका हौँ ।’

२०७२ को महाभूकम्पपछि सञ्चालमा आएको १६ स्लाइसको सिटी–स्क्यान भारत सरकारको सहयोगमा जडान भएको थियो । यसअघि पनि ट्रमा सेन्टरको सिटी–स्क्यान बिग्रिने गरेको र पटक–पटक मर्मत गरी सञ्चालन गरिँदै आएको थियो ।

सिटी–स्क्यान बिग्रिँदा अस्पतालको आम्दानीमा दैनिक डेढ लाखसम्म घाटा पर्दै आएको थियो । अर्कोतर्फ बिरामीलाई सास्तीका साथै महँगो मूल्यमा अन्यत्र परीक्षण गराउनुपर्ने बाध्यता थियो ।

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै