कोरोना उपचारमा समन्वय अभाव : पोजेटिभ भेटिएको १२ घन्टापछि बल्ल अस्पताललाई जानकारी

विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरस महामारी नेपालमा फैलिन नदिन सरकारले गरेको देशव्यापी लकडाउन जारी छ। रोग फैलिन र भित्रिन नदिन तथा सम्भावना घटाउन उपप्रधानमन्त्री नेतृत्वको दश मन्त्री सदस्य रहेको कार्यदलको अर्थ पनि समन्वयकै लागि हो।

तर, संक्रमित संख्या बढ्दै जाँदा एउटै परिसरभित्र रहेका राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला र कोरोना उपचारको भरोसा रहेको टेकु अस्पतालबीच नै समन्वय अभाव देखिएको छ। महामारी नियन्त्रणका सन्दर्भमा महत्वपूर्ण निकायबीच समयमै प्रभावकारी सञ्चारको निकै महत्व हुन्छ।

नेपालमा कोरोनाको तेस्रो संक्रमण प्रमाणित हुँदा नै यो समन्वय अभाव देखिएको छ। यो अभावका कारण सरकारका दुई निकायबीच नै असझदारीसमेत उत्पन्न भएको छ।

‘हामीले सोमबारयता १६ हाराहारीमा स्याम्पल पठाएका थियौं। मंगलबार राति नै एउटा पोजेटिभ भेटियो रे, अहिले त्यो पनि मिडियाबाट थाहापाइयो,’ टेकु अस्पतालका निर्देशक डा. सागरराज भण्डारीले बुधबार दिउँसो १ बजे हेल्थपोस्ट नेपालसँग भने।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका राजेशकुमार गुप्ताले टेकु अस्पातालले पठाएको एक नमुना मंगलबार राति पोजेटिभ भेटिएको बताए। ‘बिरामीको बारेमा अरू कुरा अस्पतालमै सोध्नू, थप एउटा पोजेटिभ आएको हो,’ गुप्ताले भने।

गुप्ताले थप पोजेटिभ भेटिएको भनेर अस्पतालका विभिन्न चिकित्सक एवं स्वास्थ्यकर्मीलाई फोन गर्दा सबै नयाँ केसबारे अनभिज्ञ थिए। तर, त्यसको केहीबेरमै मन्त्रालयको वेबसाइटमा थप एउटा पोजेटिभ प्रमाणित भएको अपडेट भइसकेको थियो।

प्रयोगशाला व्यवस्थापनले बिरामी भर्ना गरेको अस्पताललाई समयमै जानकारी नदिई मिडियाबाट थाहा पाउनु अवस्था निकै दुःखद भएको डा. राजभण्डारीले बताए। ‘हामी चिकित्सक, नर्स, स्वास्थ्यकर्मी जोखिम लिएर काम गरिरहेका छन् अनि हामीले चाहिँ पोजेटिभ केस थाहा पाउन मिडिया कुरेर बस्नुपर्ने?,’ उनले अक्रोशित हुँदै भने, ‘यस्तो अवस्थामा मैले डाक्टरहरूलाई काम लगाउन सक्दिनँ, मन्त्रालय र एनपिएचएलले नै बिरामी हेरोस्।’

कोरोनाजस्तो उच्च संक्रमक रोग पोजेटिभ देखिएको अवस्थामा सुरुमा उपचारमा संलग्न चिकित्सक, स्वास्थ्यकर्मीदेखि बिरामी पक्ष र परिवारलाई जानकारी दिनुपर्छ। यसले नयाँ मानिसमा रोग सर्ने दर घटाउन र उच्च सावधानीसहित समयमै उपचारमा सहयोग पु-याउँछ ।

उनले मंगलबारै पोजेटिभ देखिएको भनिए पनि बुधबार दिउँसोसम्म कुनै रिपोर्ट वा इमेलबाट जानकारी नआएको सुनाए।

स्रोतका अनुसार उच्चतहको गोपनियता मेन्टेन गर्ने भन्दै प्रयोगशालाकी निर्देशक डा. रुना झाले आफैं मन्त्रीलगायत मन्त्रालयका उच्चअधिकारीलाई खबर गर्ने गरेकी छिन्। तर, प्रयोगशालाले एउटै कम्पाउन्डमा भएको अस्पताललाई १२ घण्टाभन्दा बढी समयसम्म खबर गर्न उपयुक्त ठानेन।

घटनापछि प्रयोगशालाको रिपोर्ट मिडियाबाट थाहा पाउनुपर्ने अवस्था आएको भन्दै अस्पतालका निर्देशक र कर्मचारी निर्देशकको कार्यकक्षमा भेला भएर यो प्रवृतिप्रति तीव्र असन्तुष्टि जनाएका थिए।

संक्रमण देखिएका ३२ वर्षे युवा चैत ५ गते दुबईबाट फर्किएका थिए। धादिङका ती युवा लक्षण देखिएपछि शनिबार टेकु अस्पताल पुगेका थिए। पोजेटिभ रिपोर्ट आएपछि मन्त्रालयको नेतृत्वसँग समन्वय गरेर केही नभनिकनै उनलाई राति नै टेकु अस्पताल लगेर भर्ना गरिएको थियो।

भर्ना गरिएका व्यक्तिलाई संक्रमण प्रमाणित भइसकेको कुरा बल्ल अस्पतालका स्वास्थ्यकर्मी, हाउसकिपिङदेखि अस्पताल निर्देशकलाई समेत पत्तो दिइएको थियो।

कोरोनाजस्तो उच्च संक्रमक रोग पोजेटिभ देखिएको अवस्थामा सुरुमा उपचारमा संलग्न चिकित्सक, स्वास्थ्यकर्मीदेखि बिरामी पक्ष र परिवारलाई जानकारी दिनुपर्छ। यसले नयाँ मानिसमा रोग सर्ने दर घटाउन र उच्च सावधानीसहित समयमै उपचारमा सहयोग पु-याउँछ । तर, सय मिटरको दुरीमा रहेका दुई संस्थाबीच सञ्चार प्रणाली र जिम्मेवारी बोध नहुँदा गम्भीर रोगको सन्दर्भमा पनि समन्वय अभाव देखिएको छ।

विज्ञहरूका अनुसार यस्तो अवस्थामा नमुना संकलन, प्रेषणदेखि रिपोर्ट कसरी र कति समयमा दिने भन्ने विषयमा पनि विशेष प्रोटोकल नै चाहिन्छ। अहिलेसम्म त्यस्तो प्रोटोकल नहुँदा नेतृत्वको विवेक र व्याख्याका आधारमा चल्दै आएको छ।

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले भन्यो– कोरोना परीक्षण क्षमता भएका प्रयोगशालाले सम्पर्क गर्नू

टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले कोरोना भाइरस डिजिज (कोभिड–१९) परीक्षण गर्न सक्ने क्षमता भएका ल्याबहरूलाई सम्पर्क गर्न आग्रह गरेको छ । विश्वभर फैलिरहेको कोभिड–१९ को नेपालमा पनि भविष्यमा ठूलो संख्यामा परीक्षण गर्नुपरेमा निजी प्रयोगशालाहरूले समेत सहयोग गर्नुपर्ने अवस्थालाई दृष्टिगत गरी प्रयोगशालाले देशका निजी ल्याबहरूको क्षमता यकिन गर्न लागेको हो ।

प्रयोगशालाले आफूकहाँ दर्ता भएका ए र बी समूहका प्रयोशालाहरूलाई कोरोना परीक्षण क्षमता भएमा तोकिएको विवरणसहित जानकारी गराउन मंगलबार पत्राचार गरेको छ । प्रयोगशालाकी निर्देशक डा. रुना झाद्वारा हस्ताक्षरित पत्रमा ए र बी समूहका सार्स कोभ–२ को रियल टाइम पिसिआरबाट मोलिक्युलर परीक्षण गर्न सक्ने क्षमता भएका प्रयोगशालासित जानकारी तथा आवश्यक विवरण माग गरेको हो ।

उल्लेखित क्षमता भएका प्रयोगशालाले बायोसेफ्टी क्याबिनेट लेबल २, भ्यालिडेट भएको मिति र एप्लिकेबल रहने मिति, रियल टाइम पिसिआरको नाम, मोडल र क्षमताको समेत विवरण माग गरेको छ । साथै, आफ्नो संस्थामा परीक्षण गर्न सक्ने व्यक्तिको नाम र योग्यताको विवरणसमेत जानकारी गराउन प्रयोगशालाले भनेको छ ।

नेपालमा हालसम्म राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा मात्र कोरोना परीक्षण सेवा उपलब्ध छ । कोरोना सुरु हुँदा नेपालका कुनै पनि प्रयोगशालामा यो सेवा उपलब्ध थिएन । चीनमा संक्रमण व्यापक बनेपछि विश्व स्वास्थ्य संगठनको प्राविधिक सहयोगमा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले परीक्षण सुरु गरेको हो । हालसम्म त्यसअघि शंकास्पद देखिएका बिरामीको नमुना दुईपटकसम्म हङकङ पठाइएको थियो ।

पहिलोपटक हङकङ पठाइएको नमुनामा कोरोना पोजेटिभ देखिएको थियो । कोरोनाको केन्द्रविन्दु हुबेई प्रान्तबाट फर्किएका नेपाली विद्यार्थीमा संक्रमण पुष्टि भए पनि रिपोर्ट आइपुग्दासम्म उनी निको भइसकेका थिए । नेपालमा गरिएका कुनै पनि परीक्षणमा हालसम्म पोजेटिभ नतिजा आएको छैन ।

देशमा एउटा मात्र ल्याबमा परीक्षण सेवा उपलब्ध हुँदा मोफसलका जिल्लाहरूमा शंकास्पद देखिएका बिरामीको नमुना परीक्षणमा समस्या देखिएको छ । त्यसमा पनि सीमित क्षमताका कारण चीनबाट उद्धार गरी क्वारेन्टाइनमा राखिएका १७५ जनाको परीक्षण रिपोर्ट दिन प्रयोगशालालाई ३ दिन लागेको थियो । भाइरस विश्वभर तीव्र गतिमा फैलिरहेको सन्दर्भमा भविष्यमा ठूलो संख्यामा परीक्षण गर्नुपर्ने अवस्था आएमा एउटा ल्याबले मात्र सम्भव नहुने भएकाले प्रयोगशालाले नयाँ सम्भावनाहरूको खोजी गरेको हो ।

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै

क्वारेन्टाइनका १७५ जनाकै ‘थ्रोट स्वाब’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पठाइयो, रिपोर्ट बुधबार आउने

कोरोना भाइरस (कोभिड–१९) प्रभावित चीनको उहान सहरबाट एयरलिफ्टमार्फत नेपाल ल्याइएका १७५ जनाको खकारको स्याम्पल (थ्रोट स्वाब) लिइएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले दिएको जनाकारीअनुसार परीक्षणको रिपोर्ट बुघबार मात्र आउनेछ ।

ठूलो संख्यामा एकैपटक परीक्षण गर्नुपर्ने भएकाले २–३ दिन समय लाग्ने प्रयोगशालाकी निर्देशक डा. रुना झाले हेल्थपोस्टलाई जानकारी दिइन् ।
‘गम्भीर संक्रमणसम्बन्धी परीक्षणलाई संवेदनशील रूपमा लिएर काम गर्नुपर्छ,’ निर्देशक डा. झाले भनिन्, ‘बुधबारसम्म सबैको रिपोर्ट दिने गरी परीक्षण अघि बढाएका छौँ ।’

परीक्षणको रिपोर्ट आउन ३ दिन लाग्ने भएपछि उहानबाट फर्किएकाले कम्तीमा १७ दिन क्वारेन्टाइनमा बस्नुपर्ने देखिएको छ । क्वारेन्टाइनको पहिलो र १४औँ दिन अनिवार्य रुपमा थ्रोट स्वाब परीक्षण गराउनुपर्ने मापदण्ड छ । अहिलेको अवस्थालाई हेर्दा १४औँ दिनको परीक्षण रिपोर्ट १७औँ दिनमा मात्र आउनेछ ।

कोरोना भाइरसको केन्द्रविन्दु तथा सबैभन्दा बढी प्रभावित क्षेत्र उहानमा फसेका नेपाली आइतबार बिहान ३.३८ बजे त्रिभुवन विमानस्थलमा अवतरण भएका थिए । विमानस्थलमा स्वास्थ्य परीक्षण गर्दा उनीहरू कसैमा समस्या नदेखिएपछि क्वारेन्टाइनस्थत खरिपाटी लगिएका थिए । क्वारेन्टाइनमा दुईपटकसम्म थ्रोट स्वाब परीक्षण गर्नुपर्ने मापदण्डअनुसार उनीहरूको खकारको नमुना लिइएको हो ।

कम्तीमा १४ दिन खरिपाटीस्थित नेपाल विद्युत् प्राधिकरणको तालिम केन्द्रमा क्वारेन्टाइनपछि मात्र चीनबाट फर्किएका नेपालीले सामान्य जीवनयापन गर्न सक्नेछन् । १४ देखि १७ दिन र आवश्यक परेमा त्योभन्दा पनि बढी क्वारेन्टाइनमा तोकिएको नियमको अधीनमा रही बस्नुपर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यसअघि नै जनाइसकेको छ ।

नेपाल एयरलाइन्सको वाइडबडी विमानमार्फत ल्याइएका नेपालीलाई विमानस्थलबाट खरिपाटीसम्म पुर्याउन पाँचवटा वातानुकुलित बस र एउटा एम्बुलेन्स प्रयोग गरिएको थियो । उहानबाट फर्किएकामा १७० जना विद्यार्थी, एक कामदार, दुई पर्यटक तथा दुई नाबालक छन् ।

१८१ जना नेपालीले आउने तयारी गरेकोमा ६ जनामा स्क्रिनिङका क्रममा ज्वरो देखिएपछि चीनले उहान विमानस्थलमै रोकेको छ । पहिले आउन फारम भरेका चारजना भने एयरलिफ्टिङका क्रममा फर्किन अनिच्छा देखाउँदै उहानमै बसेको चीनस्थित नेपाली दूतावासले जनाएको छ ।

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै

रुघाखोकीमै कोरोना परीक्षणको अत्यास, चिकित्सक भन्छन्– केयर गर्नुस्, नआत्तिनुस्

चीनमा महामारीको रूप लिइरहेकोे कोरोना भाइरसले नेपालीमा अत्यास निम्त्याएको छ । स्वदेशमै भाइरस परीक्षण सुरु गरिएपछि यतिवेला सामान्य रुघाखोकी लाग्नेबित्तिकै कोरोना परीक्षणका लागि टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पुग्ने लहर चलेको छ । बिरामी स्वयम् मात्र नभएर अस्पतालहरू पनि रुघाखोकीको लक्षण भएकामा एकपटक परीक्षण गराएर हेर्न चाहिरहेका छन् । यसले प्रयोगशालामा सेवाग्राहीको अत्यधिक चाप परेको छ ।

बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पत्रकारसम्मेलन गर्दै स्याटेलाइट अस्पतालबाट रुघाखोकीका बिरामीलाई नमुना परीक्षणका लागि प्रयोगशालामा रेफर गरिएको जानकारी दियो । मन्त्रालयले सामान्य रुघाखोकीमै भाइरस परीक्षण आवश्यक नभएको जनाएको छ ।  ‘सामान्य रुघाखोकीमा जाँच गराउनुपर्छ भन्ने छैन,’ मन्त्रालयका प्रवक्ता महेन्द्र श्रेष्ठले भने, ‘कोरोना भाइरस परीक्षण गर्ने मापदण्डको परिधिमा रहेर मात्र जाँच हुन्छ ।’

चीन पुगेर आएका सबैजसो व्यक्ति यतिवेला कोरोना परीक्षणका लागि प्रयोगशाला पुगेको प्रवक्ता श्रेष्ठले बताए । ‘३ साताअघि नै चीनबाट फर्किएका व्यक्ति पनि नमुना परीक्षण गराउन पुगेका छन् जब कि १५ दिनभित्रै कोरोनाको लक्षण देखापरिसक्छ,’ उनले भने ।

प्रयोगशालामा धेरै केस परीक्षणका लागि आएकोमा शंका लागेका २ वटा केसको भोलि परीक्षण गरिने श्रेष्ठले जानकारी दिए । प्रयोगशालाले सोमबारदेखि भाइरस परीक्षण सुरु गरेको थियो । हालसम्म शंकास्पद ३ वटा नमुना परीक्षण गरिएकोमा सबै रिपोर्ट ‘नेगेटिभ’ आएको प्रयोगशालाले जानकारी दिएको छ ।
भाइरस संक्रमित बिरामी आएको खण्डमा सरकारले ५ वटा हब अस्पताल र १५ वटा स्याटेलाइट अस्पताललाई तयारी अवस्थामा राखिएको मन्त्रालयले जनाएको छ ।

चीनसहित १४ राष्ट्रमा कोरोना भाइरसको संक्रमण देखिएको छ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)को तथ्यांकअनुसार भाइरसबाट हालसम्म १ सय ४ जनाको मृत्यु भइसकेको छ भने ४ हजार ५ सय ९३ जना संक्रमित भएका छन् ।

रसुवागढी नाका १५ दिन बन्द
कोरोना भाइरस भित्रिने जोखिमलाई मध्यनजर गर्दै रसुवागढी नाका १५ दिनका लागि बन्द गरिएको छ । नेपाल र चीनबीच सवारीसाधन र मानिसको आवत–जावतमा रोक लगाइएको छ ।

दुवै देशका प्रहरी र अध्यागमन कार्यालयका प्रतिनिधिको रसुवागढीमा मंगलबार बसेको बैठकले बुधबारदेखि १५ दिन नाका बन्द गर्ने निर्णय गरेको हो । रसुवागढीमा शनिबारबाट हेल्थ डेस्क सञ्चालनमा ल्याइए पनि प्रभावकारी नभएपछि कोरोना भित्रिने आशंका बढेको थियो । हेल्थ डेस्कमा ब्लड प्रेसर जाँच गर्ने मेसिनसमेत नहुँदा सर्वसाधारणमा भाइरसप्रतिको भय बढेसँगै नाका बन्द गरिएको बताइएको छ ।

नआत्तिन तर सचेत हुन चिकित्सकको सुझाब
भाइरसको संक्रमणबाट बच्ने सर्वोत्तम उपाय नै सचेत रहनु भएको चिकित्सकहरू बताउँछन् । भाइरससित डराउन वा आत्तिन नहुने सरुवारोग विशेषज्ञ डा. अनुप बास्तोला बताउँछन् । तर, सचेतता भने अपनाउन उनको सुझाब छ । ‘भाइरससित आत्तिने होइन, सचेतता अपनाउनुपर्छ,’ डा. बास्तोला भन्छन्, ‘केही खास आनीबानीमा सुधार ल्याई बचावटका उपायहरू अवलम्बन गरेमा भाइरससित डराउनुपर्दैन ।’

नेपालमा चीनको उहान गएर आएका एक व्यक्तिमा मात्र संक्रमण देखिएको र उनमा पनि सबै लक्षण हराएर अस्पतालबाट डिस्चार्ज भइसकेको अवस्थामा सामान्य रुघाखोकीमै अत्यास मान्नुनपर्ने चिकित्सकहरूको भनाइ छ । मन्त्रालयले पनि चिकित्सकले शंकास्पद मानेका व्यक्तिको मात्र परीक्षण आवश्यक भएको बताएको छ । नेपालमा मात्र नभई चीनबाहेकका सबै देशमा देखिएको संक्रमण चीन गएर आएका व्यक्तिमा मात्र पाइनुले कोरोना संक्रमणको हालको अवस्था बाँकी विश्वलाई नभएर चीनका लागि मात्र स्वास्थ्य आपत्कालका रूपमा रहेको डब्लुएचओले समेत ठहर गरिसकेको छ ।

भाइरसबाट बच्न :
– बिरामी तथा रुघाखोकी लागेका मानिसको सम्पर्कमा नआउने,
– मास्क लगाएर मात्र हिँड्ने,
– सकभर भिडभाडमा नजाने,
– साबुनपानीले बारम्बार हात धुने, साबुनपानी उपलब्ध नभएमा अल्कोहलयुक्त स्यानिटाइजरको प्रयोग गर्ने,
– जीवित वा मृत जनावर तथा खासगरी नपकाएको मासुको सम्पर्कबाट टाढा रहने,
– अण्डालगायत पशुजन्य पदार्थको राम्ररी पकाएर मात्र सेवन गर्ने,
– संक्रमित क्षेत्रको सकेसम्म भ्रमण नगर्ने,
– रुघाखोकी र ज्वरोको लक्षण देखिएमा तुरुन्त नजिकको स्वास्थ्यसंस्थामा जाने,

 

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै

विश्व रक्तदाता दिवस : एक व्यक्तिले दान गरेको रगतले वार्षिक १२ बिरामीको ज्यान बचाउन सक्छ

‘सुरक्षित रगत सबैका लागि’ भन्ने मूल नाराका साथ शुक्रबार नेपालमा पनि विभिन्न कार्यक्रम गरी विश्व रक्तदाता दिवस मनाइँदै छ । प्रत्येक वर्ष १४ जुनलाई विश्व रक्तदाता दिवसका रुपमा मनाइँदै आएको छ । सन् २००५ देखि मानव रक्तसमूह पत्ता लगाउने नोबेल पुरस्कार विजेता अष्ट्रियन वैज्ञानिक कार्ल ल्यान्डस्टेनरको जन्मदिनलाई विश्वभर विश्व रक्तदाता दिवसका रुपमा मनाउन थालिएको हो ।

रक्तदाता दिवसका अवसरमा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले रक्तदानसहितको कार्यक्रम आयोजना गरेको छ । कार्यक्रममा प्रयोगशालाकी निर्देशक डा. रुना झाले नेपालको कुल जनसंख्याको २ प्रतिशतले नियमित रुपमा रक्तदान गरेको खण्डमा सुलभ रुपमा रगत उपलब्ध हुने जानकारी दिइन् । निर्देशक झाका अनुसार १८ देखि ६५ वर्षसम्मका १२ ग्राम डेसिलिटर हेमोग्लोबिन भएका कुनै पनि स्वस्थ्य व्यक्तिले हरेक ३ महिनामा रक्तदान गर्न सक्छन् । एक पोका रगतबाट तीनजना बिरामीको ज्यान बचाउन सकिने हुनाले नियमित रक्तदान गरे वर्षमा एक व्यक्तिले दान गरेको रगतबाट १२ जनाको ज्यान जोगाउन सकिने उनको भनाइ थियो ।

रगतसम्बन्धी रोग लागेका, क्यान्सर भएका, दुर्घटनामा परेका, प्रसूतिमा जटिलता आएका, शल्यक्रिया गर्नुपूर्व वा शल्यक्रियापश्चात्का, तथा अन्य केही रोगका बिरामीलाई रगतको आवश्यकता पर्ने गर्छ । डा. झा भन्छिन्, ‘रगत औद्योगिक रुपमा उत्पादन गर्न नमिल्ने भएकाले त्यस्ता रगत चाहिने बिरामीको ज्यान जोगाउन स्वैच्छिक तथा अवैतनिक रुपमा स्वस्थ व्यक्तिले रक्तदान गर्नुको विकल्प छैन ।’

‘सुरक्षित रगत सबैका लागि’ नारासहित प्रभातफेरी
विश्व रक्तदाता दिवसका अवसरमा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले शुक्रबार रक्तदानको महत्त्वबारे जानकारी दिने उद्देश्यले प्रभातफेरीको आयोजना गरेको छ । ‘सुरक्षित रगत सबैका लागि’ नारासहित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुबाट सुरु भएको प्रभातफेरी त्रिपुरेश्वर, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय हुँदै पुनः प्रयोगशालामा पुगेर समापन भएको थियो । बिहान ७:३० देखि ८:४५ सम्म चलेको प्रभातफेरीमा सयभन्दा बढीको सहभागिता थियो ।

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै

डा. झालाई राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको जिम्मेवारी, के छन् दोस्रो कार्यकालका योजना ?

टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको निर्देशकमा डा. रुना झा नियुक्त भएकी छिन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले डा. झालाई मंगलबार दिउँसो प्रयोगशालाको निर्देशकमा नियुक्त गरेको हो । डा. झासित यसअघि पनि करिब ८ महिना प्रयोगशालाको नेतृत्व सम्हालेको अनुभव छ ।

११औँ तहकी विशेषज्ञ चिकित्सक डा. झा गत साउनदेखि थापाथलीस्थित परोपकार प्रसूतिगृहमा कार्यरत थिइन् । यसअघि, प्रयोगशालाका निवर्तमान निर्देशक डा. हरिश्चन्द्र उप्रेतीले उमेरका कारण अनिवार्य अवकाश पाएपछि निर्देशक पद रिक्त थियो । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको निर्देशकको नियुक्ति स्वास्थ्यमन्त्रीले गर्ने प्रावधान छ ।

करिब डेढ वर्षअघि डा. झाले पहिलोपटक छोटै समयका लागि भए पनि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको नेतृत्व गर्ने अवसर पाएकी थिइन् । निमित्तनिर्देशक र निर्देशक गरी करिब ८ महिना प्रयोशालाको जिम्मेवारी सम्हालेकी झाले प्रयोशालामा नयाँ प्रविधि भित्र्याउन विशेष भूमिका खेलेकी थिइन् । प्रयोगशालामा थ्यालोसेनिया र सिकलसेलको परीक्षण सुरु हुनुको प्रमुख श्रेय डा. झालाई नै जाने गरेको छ । निर्देशक हुनुअघि पूर्वनिर्देशक डा. गीता शाक्यको नेतृत्वमा रही काम गर्दा आफूले धेरै कुरा सिक्न पाएको डा. झा बताउँछिन् । ‘मैले यसअघि नै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा विभिन्न जिम्मेवारीमा रही काम गर्ने अवसर पाइसकेकाले मलाई त्यहाँको राम्रो अनुभव छ । विशेषगरी, डा. शाक्यको नेतृत्वमा काम गर्दा धेरै कुरा सिक्न पाएँ,’ डा. झा भन्छिन्, ‘त्यसैले मलाई प्रयोगशालाको नेतृत्व सम्हाल्न सहज हुने ठानेकी छु ।’

प्रयोगशालाको निर्देशकका रूपमा दोस्रोपटक जिम्मेवारी सम्हाल्न जाँदै गर्दा विगतको छोटो कार्यकालका योजनालाई पूर्णता दिनुका साथै केही नयाँ योजना रहेको डा. झा बताउँछिन् । भावी योजना र प्रयोशालाको आवश्यकताबारे डा. झाले हेल्थपोस्टसित भनिन्, ‘प्रयोगशाला लाइसेन्सलाई व्यवस्थित गर्नु छ, देशबाहिर परीक्षणका लागि पठाइने नमुनालाई रोक्न स्वदेशमै परीक्षणको व्यवस्था मिलाउनु छ, ब्लड सुरक्षालगायत सुधार गर्नुपर्ने धेरै विषय छन्, जसलाई म प्राथमिकतामा राखेर काम गर्छु ।’

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै

रक्तदानको रगतमा भेटियो एचआइभी र भिरिंगी, अस्पतालले गर्दैनन् रक्तसुपरिवेक्षण

रक्तदान कार्यक्रममार्फत संकलित रगतमा एचआइभी तथा भिरिंगीका जीवाणु भेटिएका छन् । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको परीक्षणका क्रममा बिरामीका लागि संकलन गरिएको रगतमा एचआइभी र भिरिंगीको संक्रमण पुष्टि भएको हो । प्रयोगशालाले बुधबार प्रतिवेदन प्रस्तुत गर्दै रगतमा प्राणघातक जीवाणु भेटिएको तथ्य सार्वजनिक गरेको छ ।

प्रयोगशालाको रक्तसञ्चार शाखाले २०१७ नोभेम्बरदेखि रक्तदाताले दान गरेदेखि बिरामीमा चढाउनेवेलासम्म रगतको सम्पूर्ण अध्ययनका लागि राष्ट्रिय ‘हमोभिजिलेन्स’ कार्यक्रम सुरु गरेको थियो । प्रयोशालाका अनुसार सरकारीतर्फ परोपकार प्रसूतिगृह र सहिद गंगालाल हृदय केन्द्र र निजीतर्फ ओम अस्पताल र नेसनल क्यान्सर अस्पताल गरी जम्मा चार अस्पताललाई प्रतिवेदनका लागि छनोट गरिएको थियो । तर, गंगालाल र ओमले प्रतिवेदनका लागि तथ्यांक उपलब्ध गराएका थिएनन् ।

प्रसूतिगृह र क्यान्सर अस्पतालले भने रक्तसञ्चारबारे सम्पूर्ण रिपोर्ट पठाउने गरेको प्रयोगशालाले जनाएको छ । ती अस्पतालले एक वर्षको अवधिमा पठाएका १ हजार १२ वटा केसमध्ये १२ वटा शंकास्पद भेटिएको प्रयोगशालाका रक्तसञ्चार ब्युरो प्रमुख डा. रेखा मानन्धरले जानकारी दिइन् । ‘तीमध्ये १० वटाको रिपोर्टमा कुनै खराबी पाइएन भने २ वटामा एचआइभी र भिरिंगीको संक्रमण पाइयो,’ उनले भनिन् ।

प्रयोशालाका अनुसार सरकारीतर्फ परोपकार प्रसूतिगृह र सहिद गंगालाल हृदय केन्द्र र निजीतर्फ ओम अस्पताल र नेसनल क्यान्सर अस्पताल गरी जम्मा चार अस्पताललाई प्रतिवेदनका लागि छनोट गरिएको थियो । तर, गंगालाल र ओमले प्रतिवेदनका लागि तथ्यांक उपलब्ध गराएका थिएनन् ।

प्रयोगशालाका निर्देशक प्रा.डा. हरिचन्द्र उप्रेतीले रगत लिँदा–दिँदा हुने साइडइफेक्टबाट जोगिनुपर्ने बताए । ‘रगतले जीवन बचाउने काम गर्छ, त्यसैले यसमा कसैले पनि लापरबाही गर्नुहुँदैन,’ उनले भने, ‘रगत लिँदा र दिँदा रगतको गुणस्तर कस्तो छ भन्ने कुरा सबैलाई थाहा हुनु आवश्यक छ ।’ प्रयोगाशालाकी पूर्वनिर्देशक गीता शाक्यले वीर अस्पतालमा सबैभन्दा बढी रगत खपत हुने तर कति हुन्छ भन्ने तथ्यांक नभएको बताइन् । अस्पतालले लगेको रगतमध्ये २० प्रतिशत रगत प्रयोग नभई ब्लड बैंकमा फिर्ता हुने गरेको उनको भनाइ छ ।

‘पहिला–पहिला प्लास्टिकको ब्यागमा राखेर लगिन्थो, तर अहिले कोल्डब्यागको प्रयोग गर्दा गुणस्तर जोगाउन केही सहयोग पुगेको छ,’ उनले भनिन्, ‘कहाँ–कति प्रयोग हुन्छ भन्ने तथ्यांक कुनै अस्पतालमा पनि राख्ने चलन छैन ।’ गुणस्तर मापन नियन्त्रण महाशाखाका डा. दीपेन्द्ररमण सिंहले कस्तो किसिमको गुणस्तरको रगतको आपूर्ति भइरहेको छ भन्नेबारे सबैलाई जानकरी हुनुपर्ने बताए । उनले भने, ‘त्यसका लागि मन्त्रालयले अहिले भएको मापदण्डलाई परिवर्तन गर्न लागेको छ ।’

अस्पतालले गर्दैनन् रक्तसुपरिवेक्षण

विशेषगरी मिर्गौला प्रत्यारोपण र क्यान्सरको उपचारका लागि रगतको प्रयोग हुने गर्छ । तर, सरकारी तथा निजी क्षेत्रका धेरैजसो अस्पतालले हमोभिलिजेन्स गरेका छैनन् ।  सुरक्षित रगत संकलन, भण्डारण, परीक्षण रगतको तत्वको निर्माणलगायतदेखि बिरामीले रगत प्राप्त गर्नेसम्मको अवस्थालाई ‘हमोभिलिजेन्स’ भन्ने गरिन्छ ।

‘ब्लडबैंकबाट रगत लिने र दिने कार्य भएको छ,’ उनले भने, ‘रगत लिँदा र दिँदाको साइडइफेक्ट के–के आउने गर्छन् भन्ने कुराको ज्ञान आमजनमानसमा छैन । यसले गर्दा गुणस्तरहीन रगतको प्रयोग भइरहेको छ ।’

नेपाल क्यान्सर अस्पताल, परोपकार प्रसूतिगृह र ग्रान्डीलगायत केही अस्पतालले मात्र हमोभिजिलेन्स गर्ने गरेका छन् । तर, अधिकांश ठूला अस्पतालले हमोभिजिलेन्स गरेको पाइएको छैन । सबै अस्पतालमा ब्लडबैंक हुनुपर्ने रक्तसञ्चार निर्देशिकामा उल्लेख छ । जनशक्ति अभाव, गुणस्तर कायम गर्न नसकेका कारण अन्य अस्पतालले हमोभिजिलेन्स नगरेको रक्तसञ्चार विशेषज्ञले बताउँदै आएका छन् ।

अस्पतालले रगत संकलनदेखि लिएर ट्रान्सप्लाल्ट गर्दा रियाक्सन आउने वेलासम्मका सबै चरणमा रक्तसुपरिवेक्षण गर्नुपर्ने रक्तसञ्चार विशेषज्ञ डा. विपिन नेपाल बताउँछन् । उनका अनुसार रगतको गुणस्तर कायम राख्ने दायित्व डाक्टर, अस्पताल, ब्लडबैंकलगायतको हुन्छ ।

रक्तसञ्चार निर्देशिकामा रगत गुणस्तरयुक्त हुनुपर्ने प्रावधान छ । तर, रगतको गुणस्तर कायम गर्न सकिएको छैन । डाक्टरमा रक्तसुरक्षासम्बन्धी ज्ञानको कमी, जनशक्तिको कमीले गर्दा रगतको गुणस्तरमा कमी आएको उनको भनाइ छ ।
‘ब्लडबैंकबाट रगत लिने र दिने कार्य भएको छ,’ उनले भने, ‘रगत लिँदा र दिँदाको साइडइफेक्ट के–के आउने गर्छन् भन्ने कुराको ज्ञान आमजनमानसमा छैन । यसले गर्दा गुणस्तरहीन रगतको प्रयोग भइरहेको छ ।’

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुका निर्देशक डा. हरीशचन्द्र उप्रेतीमाथि कर्मचारीद्वारा आक्रमण

डा.हरीशचन्द्र उप्रेती

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका निर्देशक डा.हरीशचन्द्र उप्रेतीमाथि प्रयोगशालाकै कर्मचारीले हातपात तथा दुर्व्यवहार गरेका छन् ।
कार्यसम्पादन मूल्यांकन फारममा आफूले भनेअनुसार नम्बर राख्नुपर्ने भन्दै केही दिनदेखि दबाब दिँदै आएका कर्मचारीले आज दिउँसो ३ बजे कार्यकक्षमा छिरेर दुव्र्यव्यवहार गरेको डा.उप्रेतीले हेल्थपोसटसँग बताए ।
कर्मचारीहरुले कार्यसम्पादन मूल्यांकन फारममा आफै नम्बर भरेर ल्याएर त्यसमा सही गर्न हाकिमलाई दबाब दिएका थिए । ‘मैले पनि नम्बर हाल्ने ठाउँ पाउनुपर्छ, जे ल्यायो त्यसैमा सही गर्दिन भनेको थिएँ,’ डा.उप्रेतीले भने, ‘आज पनि दबाब दिए, मैले मानिन ।’
विहीबार पनि जवरजस्ती सही गराउन खोजेको तर नमानेपछि आक्रमण गरेको उप्रेतीको भनाई छ । उनलाई कार्यकक्षबाट कपडामा तान्दै बाहिर निकालेका थिए ।
डा.उप्रेतीका अनुसार विभागका नासु माधव घिमिरेले उनलाई कार्यकक्षबाट तानेक मुक्का प्रहार गरेका थिए । तर उप्रेती छलेर बचेका थिए ।
सुरुमा समूहमा आएका कर्मचारीले ढोका थुनेर राखेका थिए । थुनिएपछि उनले प्रहरीलाई खबर गरेका थिए । प्रहरी आउनुअगावै फेरि अचानक ढोका खोलेर भित्र छिरेर दुव्र्यवहार गरेको उप्रेतीको भनाइ छ । प्रहरी आएपछि आक्रमण गर्ने कर्मचारी भागेका थिए ।
अहिले कर्मचारीहरुले घिमिरेलाई माफी मगाउने तर सार्वजनिक मुद्दा नलगाइदिन उप्रेतीसँग आग्रह गरिरहेका छन् । सार्वजनिक मुद्दा नलगार विभागीय कारवाही मात्रै गरिदिन अनुरोध गरिरहेको तर आफूले नमानिरहेको उनले बताए । उप्रेती गत साउनमा प्रयोगशालाका निर्देशक भएका थिए ।

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै