स्वाभाविक प्रसूतिका लागि गर्भवती अवस्थामा योग तथा व्यायाम, कसरी गर्ने ?

नियमित योगाभ्यास गर्नाले गर्भवती अवस्थामा देखिने समस्या समाधानका साथै बच्चा जन्माउँदा आउन सक्ने अप्ठ्याराहरुलाई कम गरी प्राकृतिक रुपमा बच्चा जन्माउन सहयोग पुग्छ । योग तथा प्राणायामले अक्सिजनको माग पूरा गर्छ । त्यस्तै, गर्भवती महिलाले तल्लो पेट र तिघ्राको भित्री भागलाई दह्रो बनाउन योग र व्यायाम गर्नुपर्छ ।

– सीधा उभिएर लामो श्वास लिँदै बायाँ हातलाई सीधा तिघ्रामा लपेटेर बिस्तारै बायाँतर्फ ढल्किई केहीबेर रोकिनुहोस् । त्यसपछि श्वास फ्याँक्दै बिस्तारै सुरुको अवस्थामा आउनुहोस् । दायाँतर्फ पनि यसरी नै ढल्किनुहोस् । पुनः सुरुकै अवस्थामा आउनुहोस् । यो क्रमलाई ६ देखि १० पटकसम्म जारी राख्नुहोस् ।

– सीधा उभिएर खुट्टालाई केही फट्याई बिस्तारै दायाँतर्फ मोडिनुहोस् । अब दाहिने घँुडालाई खुम्च्याएर श्वास लिँदै दुवै हात जोडेर टाउकोमाथि लैजानुहोस् । अनि श्वास फ्याँक्दै सुरुको अवस्थामा आउनुहोस् । अर्कोतर्फबाट पनि यसै गर्नुहोस् । दुवै खुट्टालाई एक हातको फरक पारेर उभिई हातलाई दुवै घुँडामा राखेर श्वास फ्याँक्दै आधा टुक्रुक्क बस्नुहोस् । केहीबेर रोकिएर श्वास लिँदै सुरुको अवस्थामा आउनुहोस् ।

– बसेर दुवै खुट्टा खुम्च्याई दुवै पाइतालालाई एक–आपसमा जोड्नुहोस् । अब दुवै हातले जोडिएका खुट्टाका औँलालाई समात्नुहोस् र घुँडालाई तल–माथि गर्नुहोस् ।

– खुट्टालाई केही फारेर टुक्रुक्क बसेजस्तो गर्नुहोस् । अब कुहिनाले दुवै घुँडालाई धकेल्ने र भित्र ल्याउने गर्नुहोस् ।

– खुट्टा फट्याएर बसी बिस्तारै श्वास फ्याँक्दै अगाडि झुक्नुहोस् र दुवै हातलाई सीधा भुइँतिर लपेटेर टाउकोलाई पनि भुइँमा दबाउनुहोस्, अनि श्वास लिँदै सुरुको अवस्थामा आउनुहोस् ।

उल्लेखित योग तथा व्यायाम हप्ताको कम्तीमा ३ देखि ५ दिनसम्म ५ देखि १० पटकसम्म दोहोर्याउनुपर्छ । अत्यधिक थाक्ने, कडाखालका व्यायाम नगरी हल्का व्यायाम तथा योगाभ्यास केवल उभिएर मात्र नियमित गर्नाले गर्भवती महिलाले सजिलैसँग प्राकृतिक रुपमै बच्चा जन्माउन सक्छन् ।

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै

योगासनबाट मोटोपन घटाउने विशेष अभ्यास

योगदर्शनमा मोटोपन घटाउने अनेक आसन र विधिको वर्णन पाइन्छ, जुन प्रयोगद्वारा सिद्ध छन् । हाम्रो प्राचीनतम विज्ञानले सिद्ध गरेका यस्ता विधिको प्रयोग र अभ्यासले विनाकुनै साइडइफेक्ट शरीरको वजनलाई सन्तुलनमा राख्न र अधिक वजनलाई आवश्यकस्तरमा ल्याउन सकिन्छ । यहाँ मोटोपन घटाउन उपयोगी दुई आसनबारे जानकारी दिइन्छ, जसको सही अभ्यासले सजिलै मोटोपनबाट छुटकारा पाउन सकिन्छ ।

द्विचक्रिकासन
उत्तानो परेर सुत्नुहोस् र हत्केलालाई भुइँमा दुई तिघ्राको नजिक राख्दै श्वासलाई रोकेर दायाँ खुट्टालाई पूरा माथि उठाएर बायाँ खुट्टाको घुँडालाई मोडी कुर्कुच्चालाई दायाँ खुट्टाको हिपको नजिक पार्दै साइकल चलाएझैँ गोलो गरी ८–१० पटकसम्म घुमाउनुहोस् । सके २५–३० पटकसम्म घुमाउनुहोस् । अर्को खुट्टालाई पनि भुइँमा नटेकाई यसरी नै घुमाउँदै अभ्यास गर्नुहोस् । थकान महसुुस भएमा हात–खुट्टालाई हल्का फैलाएर लम्पसार अवस्थामा केहीबेर विश्राम गर्नुुहोस् । त्यसपछि यो अभ्यासलाई पुनः विपरीत दिशाबाट दोहोर्याउनुहोस् । आराम गर्नुहोस् ।

अब दुवै खुट्टालाई एकसाथ साइकल चलाएझैँ चलाउनुहोस् । अब श्वास भित्र तानेर एउटा खुट्टालाई घँुडासम्म मोडेर छातीछेउ र अर्को खुट्टालाई भुइँमा फैलाउनुहोस् र पुनः छातीतर्फ ल्याउनुहोस् । यसरी नै पटक–पटक दुवै खुट्टालाई पालैपालो चलाउँदै ८–१० पटक वा सकेजति अभ्यास गर्नुहोस् ।

सावधानी : कम्मर तथा ढाडको दुखाइ, मुटुरोग तथा हर्नियारोगका समस्या भएका बिरामीले दुवै खुट्टाबाट यो आसनको अभ्यास नगर्नुहोस् ।
फाइदा : मोटोपन घटाउँछ । पेटलाई सुडौल र अन्द्राहरूलाई सक्रिय बनाउँछ । एक–एक खुट्टाले अभ्यास गर्नाले कम्मरको पीडा हराउँछ । कब्जियत, मन्दाग्नि, अम्लपित आदिलाई निर्मूल पार्दछ ।

पादवृत्तासन

उत्तानो परेर सीधा सुत्दै दायाँ–बायाँ खुट्टालाई पालै पालो उठाएर गोलाकार वृत्तमा ५–१० पटकसम्म घुमाउनुहोस् । थकाइ लाग्दा विश्राम गर्नुहोस् । पुनः दोहोर्याउँदै गर्दै जानुहोस् । एक–एक खुट्टाको अभ्यासपछि दुवै खुट्टालाई एकै साथ तल–माथि, दायाँ–बायाँ चारैतर्फ घुमाउँदै जानुहोस् ।

फाइदा : तिघ्रा, कम्मर तथा नितम्बमा बढेको बोसो घटाई पेटलाई हल्का, चुस्त र सुडौल पार्दछ । आन्द्रालाई सक्रिय तुल्याउँछ । कब्जियत, मन्दाग्नि, अम्लपित्त आदिलाई नाश गर्छ । यसैगरी हालसन, अर्धहलासन र उत्तानपादासनको अभ्यास गर्नाले पनि मोटोपन घटाउनमा सहयोग पुग्छ ।

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै

राष्ट्रिय योग दिवस सप्ताहव्यापी, योगाभ्यास नसर्ने रोगबाट बच्ने सर्वोत्तम विधि

‘शान्ति र समद्धिका लागि योग’ भन्ने मूल नारासहित मंगलबार चौथो राष्ट्रिय योग दिवस–२०७५ मनाइएको छ । आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागको प्रांगणसहित ७७ वटै जिल्ला तथा आयुर्वेदसम्बद्ध सबै संस्थाहरूमा विभिन्न कार्यक्रम गरी योग दिवस मनाइएको हो ।
स्वस्थ तथा तन्दुरुस्त रहनका लागि योग अत्यन्त उपयोगी मानिन्छ । पछिल्लो समय अस्वस्थकर जीवनशैलीका कारण मानव स्वास्थ्यमा नकारात्मक प्रभाव चुलिँदो छ । पूर्वीय दर्शनद्वारा व्यवस्थित तथा ऋषि–महर्षिहरूद्वारा सिद्ध योगको बहुआयामिक महत्वबोध गर्दै पछिल्लो समय विश्वभरि नै योग दिवस मनाउने गरिएको छ ।

आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागमा आयोजित कार्यक्रममा स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले विभिन्न योगाभ्यास गरे । कार्यक्रममा योगगुरु राजकुमार कार्कीले विभिन्न योगासन तथा प्राणायम गराएका थिए ।

कार्यक्रममा आयुर्वेद क्याम्पस कीर्तिपुरअन्तर्गत नेपाल आयुर्वेद विद्यार्थी समाजद्वारा आयोजित राष्ट्रिय योग दिवस २०७५ का अवसरमा योगसँग सम्बन्धित राष्ट्रिय नारा लेखन प्रतियोगितामा प्रथम, दोस्रो तथा तेस्रो हुने विद्यार्थीलाई स्वास्थ्य तथा जनसंख्याराज्यमन्त्री डा. सुरेन्द्रकुमार यादवले पुुुरस्कार वितरण गरेका थिए । राज्यमन्त्री यादवले स्वस्थ रहनका लागि योग अत्यन्त उपयोगी भएको बताए । ‘योगाभ्यासले शरीरका सम्पूर्ण मांसपेशीमा निकै फाइदा पुर्याउँछ,’ उनले भने, ‘शरीरमा भएको ८० प्रतिशत ब्लकेजलाई योगाभ्यासले निकै फाइदा पुर्याउँछ भने नसर्ने रोगको रोकथामको एक मात्र उपाय योग गर्नु नै हो ।’

हाल विश्वभर कुल बिरामीको ६० प्रतिशतभन्दा बढी नसर्ने रोगबाट ग्रस्त छन् । नसर्ने किसिमका रोगमध्ये पनि मानसिक समस्या, मोटोपनसम्बन्धी समस्याले आधा हिस्सा ओगट्छ । यस्ता समस्याबाट बच्न योग तथा अन्य शारीरिक व्यायाम अपरिहार्य छन् ।

कार्यक्रममा विभागका महानिर्देशक डा. वासुदेव उपाध्यायले स्वास्थ्यबारे जनचेतना तथा जागरण फैलाउन डेमो देखाउने उद्देश्यले योग दिवस मनाइएको बताए । अस्वस्थकर जीवनशैलीका कारण स्वास्थ्यमा पर्ने नकारात्मक प्रभाव हटाउन तथा नसर्ने रोगको निराकरणमा समेत योगले महत्वपूर्ण भूमिका निर्वाह गर्ने आयुर्वेद चिकित्सक डा. बाबुराज अमात्यले जानकारी दिए ।

चौथो राष्ट्रिय योग दिवस मनाउन शिक्षामन्त्री गिरिराजमणि पोखरेलको संयोजकत्वमा योगका विभिन्न क्षेत्रमा काम गर्ने संस्थाका प्रतिनिधि सदस्य रहेको मूल समारोह समिति गठन गरिएको थियो । माघ १ देखि ७ गतेसम्म सप्ताहव्यापी रूपमा कार्यक्रम गरी योग दिवस मनाइने भएको छ । वि.सं. २०३६ देखि नै सूर्यको उत्तरायण सुरु हुने दिन पारेर नेपालमा डा. हरिप्रसाद पोखरेलको सक्रियतामा योगको क्षेत्रमा काम गर्नेे संस्थाहरूको सहभागितामा योग दिवस मनाउन थालिएको थियो । यद्यपि, सरकारले भने ४ वर्षअघि मात्र राष्ट्रिय योग दिवस मनाउने निर्णय गरेको हो । ज्योतिषशास्त्रअनुसार १ माघदेखि उत्तरायण सुरु हुन्छ ।

योग र आयुर्वेदको उत्पत्ति मानिसको उत्पत्तिसँगै भएको मानिन्छ । योग मनोविज्ञानको उच्चतम प्राप्ति हो । आधुनिक मनोविज्ञान शरीर र मनसम्म मात्र सीमित छ भने वैज्ञानिक यौगिक मनोविज्ञानले मानिसको उच्चतम चेतनासम्मको अन्वेषण र खोज गरिरहेको हुन्छ । शरीर स्थिर राख्ने अभ्यासले मनको चञ्चलता हटेर जान्छ, स्थिर मन नै योगीमन हो, जहाँ आनन्दको अनुभूति गर्न सकिन्छ, जसका कारण सकारात्मक सोचको विकास हुनुका साथै मानसिक रूपमा तन्दुरुस्त बन्न सकिन्छ ।

एकाग्र मनलाई जुनसुकै सिर्जनशील कार्यमा लगाएर सफलता हासिल गर्न सकिन्छ । योग विभिन्न किसिमका रोगको उपचारमा सहयोगी विज्ञानको रूपमा पनि स्थापित छ । तर, योगको प्रयोग रोगोपचारभन्दा पनि स्वास्थ्यप्रवर्धनमा गर्नु उचित हुन्छ । आयुर्वेदका विभिन्न ग्रन्थमा योगको व्याख्या गरेको पाइए पनि योग आयुर्वेदको समानान्तर विज्ञानका रूपमा विकास भएको पाइन्छ ।

योग गर्न चाहनेले प्रारम्भिक अवस्थामा कुशल योग प्रशिक्षकको सहायतामा विभिन्न योगासन सिक्नु जरुरी हुन्छ । कहीँ–कतै योगको गलत प्रयोग भएको भए त्यसलाई यथाशक्य छिटो सुधार्नु आवश्यक छ । दीर्घरोगीले कुनै औषधि लिएको भए चिकित्सकको सल्लाहबमोजिम चल्नु आवश्यक हुन्छ । दैनिक नियमपूर्वक योग गरेमा स्वास्थ्य र तन्दुरुस्ती प्राप्त हुने कुरालाई परापूर्वकालदेखि नै सिद्ध मानिन्छ ।

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै

ग्यास्ट्रिक तथा पेटका समस्यामा योग

ग्यास्ट्रिक तथा पेटका रोगीले योगाभ्यास गर्दा बिस्तारै गर्नुपर्छ । योगाभ्यासलाई नियमित बनाउनुपर्छ । योगाभ्यास खालीपेटमा गर्नुपर्छ, स्वच्छ हावा बहने हरियो चौरमा गर्नुपर्छ, यस्तो सम्भव नभए घर–आँगनमा पनि गर्न सकिन्छ । यो अभ्यास ६–१० पटकसम्म दोहो¥याउनुपर्छ । ग्यास्ट्रिकका रोगीले निम्न आसनहरूको अभ्यास गर्नुपर्छ

पवनमुक्तासन


उत्तानो सुतेर दाहिने खुट्टा खुम्च्याउनुस्, बायाँ खुट्टा सीधा तन्काएर राख्नुहोस् । अब दुवै हातले दाहिने खुट्टालाई समाती श्वास लिँदै आफूतिर तान्नुहोस् । चिउँडोले घुँडामा छुने प्रयास गर्दै करिब १० सेकेन्डसम्म श्वास रोक्नुहोस् र बिस्तारै श्वास छोड्दै टाउको तल राख्नुहोस् । त्यसपछि दुवै खुट्टालाई सोझो राख्नुहोस् । यसरी नै बायाँ खुट्टालाई खुम्च्याउनुस्, दायाँ खुट्टा सीधा तन्काएर राख्नुहोस् । अब दुवै हातले बायाँ खुट्टालाई समाती श्वास लिँदै आफूतिर तान्नुहोस् । चिउँडोले घुँडामा छुने प्रयास गर्दै करिब १० सेकेन्डसम्म श्वास रोक्नुहोस् र बिस्तारै श्वास छोड्दै टाउको तल राख्नुहोस् । त्यसपछि दुवै खुट्टालाई सोझो राख्नुहोस् । यसरी नै अभ्यासलाई दोहोर्याउनुहोस् ।

फाइदा
स्त्री तथा गर्भाशयसम्बन्धी रोग, अम्लपित्त, हृदयरोग, जोर्नी तथा कम्मरको दुखाइमा हितकारी छ । यसको अभ्यासबाट पेटको वायु विकार हट्दछ । पेटमा बढेको बोसो कम हुन्छ ।

नौकासन
उत्तानो परेर दुवै हातलाई तिघ्राको माथि राखेर सीधा सुत्नुहोस् । दुवै खुट्टा जोड्नुहोस् । अब श्वास लिँदै खुट्टा, हात र कम्मरलाई एकैसाथ भुइँबाट केही माथि उठाउनुहोस् र हातलाई घुँडामा राखेर १० सेकेन्डसम्म श्वासलाई रोक्नुहोस् । अब श्वासलाई छोड्दै जानुहोस् । योक्रमलाई ५–१० पटकसम्म जारी राख्नुहोस् ।

फाइदा
मुटु, फोक्सो तथा आन्द्रालाई सबल तथा निरोगी बनाउँछ । त्यस्तै, कलेजो तथा अग्न्याशय, पेटका सम्पूर्ण रोगका लागि यो आसन उत्तम छ ।

 

 

बालासन (विश्रामासन)
घोप्टो परेर सुत्नुहोस् र बायाँ हातलाई टाउकोको तलतिर जमिनमा राख्नुहोस् तथा गर्धनलाई दाहिनेतर्फ घुमाउँदै टाउकोलाई हातमा राख्नुहोस् । यसो गर्दा बायाँ हात टाउकोको तल हुन्छ तथा बायाँ हातको हत्केला दायाँ हातको तल हुन्छ । अब दायाँ खुट्टालाई थोरै मोडेर जसरी बालक सुत्दछ, त्यसरी सुतेर विश्राम गर्नुहोस् । यसै तरिकाले यो आसनलाई अर्काेतिरबाट पनि गर्न सकिन्छ ।
फाइदा
यो आसनको अभ्यास गर्नाले स्नायुहरूको दुर्बलता, शारीरिक थकान तथा नकारात्मक चिन्तन हराएर जान्छन् । तन–मनलाई शक्ति, उत्साह र आनन्द प्राप्त हुन्छ । मानसिक तनाव (डिप्रेसन) उच्च रक्तचाप, मुटुरोग तथा अनिद्राका लागि लाभदायक छ ।

भुजङ्गासन
दुवै खुट्टा जोडेर लमतन्न घोप्टो सुत्नुहोस् । दुवै हातको हत्केलाले भुँइमा टेकेर टाउकोलाई आकाशतर्फ उठाई श्वास लिँदै छाती माथि उठाउनुहोस् र माथि हेरेर केहीबेर रोकिनुहोस् । अब श्वास छोड्दै पहिलेकै अवस्थामा आउनुहोस् । एवंरीतले यो अभ्यासलाई ५–१० पटकसम्म दोहो¥याउनुहोस् ।

फाइदा
ग्यास्ट्रिक तथा पेटका यावत् रोगका साथै यो आसन मेरुदण्डसम्बन्धी सम्पूर्ण रोगमा लाभप्रद छ ।

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै