‘डाक्टरले हजारौँको ज्यान बचाए होलान्, तर मेरो भने हातै गुम्यो’

यादव अर्याल कान्ति माध्यमिक विद्यालय, बुटवलमा कक्षा १० मा अध्ययनरत विद्यार्थी हुन् । उनको दाहिने हात छैन । उनले बायाँ हातले लेख्ने मात्र होइन, सबैजसो काम गर्नुपर्छ । बायाँ हातकै लेखाइबाट उनी कक्षा १० सम्म पुगेका छन् ।

सानो छँदा भने उनी दाहिने हातले लेख्ने गर्थे । उपचारका क्रममा त्रुटि भएकै कारण उनले आफ्नो दाहिने हात गुमाउन पुगे । उपचारमा संलग्न स्वास्थ्यकर्मीको गल्तीबाट सिर्जित समस्याका कारण दाहिने हात काटिएपछि उनले बायाँ हातले लेख्न सुरु गरेका हुन् । आफू सानै छँदाको घटनाबाट हात गुमाएको क्षण उनले नमिठो गरी सम्झिए ।

‘म सानै छँदा (६–७ वर्षको हुँदा) सरले स्कुलमा कक्षाको सेकेन्ड ब्वायलाई कुनै पाठ सोध्नुभएछ । उसले सोधेको पाठ जानेनछ । म फस्ट ब्वाय थिएँ, मैले जानेछु । अनि सरले एक हातले सेकेन्ड ब्यायको नाक समाएर अर्को हातले उसको गालामा हान्न लगाउनुभएछ । उसलाई हान्न खोज्दा मेरो हात उसको गालामा (माथि) गएनछ । त्यसपछि मेरो हातमा के समस्या भयो भनी स्कुलबाट सरहरूले घरमा खबर गर्नुभएछ । सल्लाह भएपछि उपचार गर्न मलाई गुल्मीको तम्घास अस्पतालमा लगिएछ । तम्घास हस्पिटलमा मेरो हातको प्लास्टर गरिएछ ।

महिनादिनपछि हातमा लगाएको प्लास्टर खोल्न जाँदा हात सुकेको भेटिएछ । हात तल भाँचिएको तर माथि प्लास्टर गरिएको रहेछ । त्यसपछि मलाई उपचारका लागि पाल्पाको मिसन अस्पतालमा पुर्याइएछ । त्यहाँ पनि उपचार नहुने भएपछि भारतको दिल्ली लगिएछ ।

तम्घास अस्पतालमा एक महिनाअघि गरिएको प्लास्टर खोल्न जाँदा मेरो हात सुकेको भेटिएछ । हात तल भाँचिएको तर माथि प्लास्टर गरिएको रहेछ । त्यसपछि मलाई उपचारका लागि पाल्पाको मिसन अस्पताल र पछि दिल्ली लगिएछ । दिल्ली पु-याउन्जेल उपचारमा भएको गल्ती सच्याउन धेरै ढिलो भइसकेको रहेछ, जसका कारण डाक्टरले ६–७ वर्षको अबोध अवस्थामै मेरो दाहिने हात काटिदिएछन् ।

दिल्लीसम्म पुर्याउँदा उपचार गर्दा भएको गल्ती सच्याउन धेरै ढिलो भइसकेको रहेछ । दिल्लीमा डाक्टरले मेरो दाहिने हात काटिदिएछन् । यसरी मैले आफ्नो दाहिने हात गुमाउन पुगेँ । डाक्टरले उपचार गरेर धेरैको ज्यान बचाउनुभएको होला, रोग निको पारिदिनुभएको होला, तर मैले उपचारका क्रममा स्वास्थ्यकर्मीले गरेको गल्तीका कारण एउटा हात नै गुमाउन पुगेँ । लेख्दै आएको दाहिने हात गुमेपछि मैले बायाँ हातबाट लेख्न सिकेँ । अहिले बायाँ हातले नै लेख्नेलगायत सबै काम गर्छु ।’

तीन भाइ–बहिनी रहेका अर्याल कान्ति माविको कक्षा १० र भाइ मनीष अर्याल कान्तिकै कक्षा ८ मा पढ्छन् । दिदी कमला अर्याल एसइईपछि बुटवलमै १८ महिने कृषि जेटिए पढ्दै छिन् । गुल्मीको मालिका गाउँपालिका–६, अर्जे घर भएका उनीहरू पढाइका लागि बुटवलमा डेरा लिई बसेका छन् ।

कक्षा ९ बाट १० मा आउँदा ७० प्रतिशत अंक ल्याएका अर्यालले पढाइ सकेपछि लोकसेवा पास गरेर सरकारी जागिर खाने रहर सुनाए । ‘बुबा–आमाले विज्ञान पढ्न भन्नुहुन्छ, तर मेरो रहर भनेको सरकारी जागिर खाने हो,’ उनले भने ।

बुटवल उपमहानगरपालिकाबाट ३ हजार छात्रवृत्ति मिल्छ भनेको सुने पनि आफूले छात्रवृत्ति नपाएको उनले बताए । उनीसँग ‘ग’ वर्गको अपांगता परिचयपत्र छ । गणित विषय सजिलो मान्ने अर्याललाई खेलमा फुटबल मनपर्छ र खेल्छन् पनि ।

फुटबल खेलेर उनको टिमले जितेको पनि छ । उनले हाजिरीजवाफ प्रतियोगितामा पनि भाग लिने गरेका छन् । विद्यालयमा सर, मिस र साथीहरूले निकै माया र सहयोग गर्ने गरेको बताए ।

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै