करिअर बनाउने उमेर समूहका युवा पिढीलाई मानसिक रोगले गाँजेको देख्दा असाध्यै पीडा हुन्छ

विश्व स्वास्थ्य संगठनका अनुसार स्वास्थ्य भनेको रोग तथा दुर्बलताबाट मुक्त हुनु मात्र नभई सम्पूर्ण शारीरिक, मानसिक तथा समाजिक अवस्था तन्दुरुस्त हुनु पनि हो । तसर्थ, कुनै पनि व्यक्ति स्वस्थ छ भन्नका लागि शारीरिक मात्र नभएर मानसिक स्वास्थ्यको पनि उत्तिकै महत्त्वपूर्ण भूमिका हुन्छ ।

अहिलेको समयमा मानिस आफ्नो दैनिक क्रियाकलाप र करिअर बनाउने धुनमा यति धेरै व्यस्त छन् कि, उनीहरूलाई आफैँलाई, आफ्नो मनमा आएका सोच–विचारलाई समेत नियाल्ने फुर्सद छैन । जसोतसो मानिसले आफूलाई घिसारिरहेका छन्, आफ्नो दैनिक क्रियाकलाप पूरा गर्नका लागि ।

मानसिक रोगलाई मनको रोग पनि भनिन्छ, जुन दिमागी सन्तुलन ब्रिगेर अथवा मानसिक असन्तुलनका कारण देखापर्न सक्छ । मानसिक रोगको सम्बन्ध मन र मस्तिष्क दुवैतर्फ छ । मानसिक रोगको प्रमुख कारण अहिलेसम्म पत्ता लाग्न सकेको छैन । यो रोगको सिकार जोकोही हुन सक्ने हुँदा हामी पनि त्यसबाट पर छौँ भन्न मिल्दैन । मानसिक रोगका लागि उमेरको कुनै हदबन्दी छैन, भर्खरै जन्मिएको बच्चादेखि लिएर वृद्ध अवस्थासम्मका व्यक्तिलाई यसले असर गर्न सक्छ ।

शारीरिक स्वास्थ्य समस्यालाई जुन रूपमा लिइन्छ, त्यस रूपमा मानसिक स्वास्थ्य समस्यालाई लिएको पाइँदैन । मानिस शारीरिक रोगको उपचारका लागि जति पनि खर्च गर्न तयार हुन्छन्, तर मानसिक रोगको उपचारमा भने खर्च गर्न डराउँछन् । हाम्रो समाजमा प्रसिद्ध भनाइ नै छ– शरीरको रोग सबैले देख्छन्, तर मनको रोग कसैले देख्दैन । मानसिक रोग भन्नेबित्तिकै पागल वा बौलाहा हुनुका रूपमा लिने गलत बुझाइ जनमानसमा व्याप्त छ । जब कि, मानसिक रोगअन्तर्गत चिन्ता लिनेदेखि साइकोसिस हुनेसम्म पर्दछन् ।

मानसिक समस्याको उपचारका लागि पर्याप्त मात्रामा स्रोत–साधन र अस्पताल उपलब्ध छैनन् । कतिपय ठूला मानिएका अस्पतालमा पनि अझै साइक्याट्रिक ओपिडीबाट मात्रै सेवा दिने व्यवस्था छ । अर्थात्, मानसिक रोगीका लागि भर्ना गरेर उपचार गर्न वार्डहरू छैनन् ।

मनोचिकित्सहरू मानसिक रोगको मूल कारणका रूपमा मनोसमाजिक संघर्षलाई मान्ने गर्छन् । मानिसले सामाजिक एवम् नैतिक आचरणविरुद्धको चाहनालाई बलजफ्ती दबाउन खोज्दा मानसिक तनाव र असन्तुलित जीवन संर्घषबीच बाँच्नुपर्ने हुन्छ । मानसिक समस्याको उपचारका लागि पर्याप्त मात्रामा स्रोत–साधन र अस्पताल उपलब्ध छैनन् । कतिपय ठूला मानिएका अस्पतालमा पनि अझै साइक्याट्रिक ओपिडीबाट मात्रै सेवा दिने व्यवस्था छ । अर्थात्, मानसिक रोगीका लागि भर्ना गरेर उपचार गर्न वार्डहरू छैनन् ।

मानसिक स्वास्थ्यको क्षेत्रमा सरकारले आवश्यक मात्रामा बजेट छुट्याएको पनि पाइँदैन भने प्रभावकारी जनचेतनामूलक कार्यक्रमसमेत आउन सकेका छैनन् । यद्यपि, भर्खरै मात्र मानसिक स्वास्थ्य सेवासम्बन्धी नयाँ विधेयक आएको छ । विधेयकले मानसिक रोगका कुनै पनि बिरामी उपचारबाट वञ्चित नहोऊन् भन्ने उद्देश्यले यस्ता बिरामीको उपचार गरेबापत प्रतिव्यक्ति, प्रतिदिनका हिसाबले केही रकम राज्यले सेवाप्रदायक संस्थालाई दिने व्यवस्था गरेको छ । कार्यक्रम राम्रो छ, तर कार्यान्वयन कत्तिको प्रभावकारी हुन्छ त्यो भने हेर्न बाँकी नै छ ।

समाजको हेर्ने दृष्टिकोण, रोगबारे ज्ञान र चेतनाको कमीलगायत विविध कारणले समाजमा अझै पनि धेरै मानसिक रोगी सार्वजनिक हुन सकेका छैनन् । यसले गर्दा मानसिक रोगीको यकिन तथ्यांकसमेत आउन नसक्दा कार्यक्रम ल्याउन र कार्यान्वयनमा समेत समस्या छ । मूलतः मानसिक रोगीलाई हेर्ने समाजको दृष्टिकोणमा खासै परिवर्तन आउन नसक्दा अझै पनि मानिस यसबारे खुलेर कुरा गर्न डराउँछन् । फलस्वरूप आफ्नै टोल–छिमेका वा घरपरिवारमै पनि मानसिक रोगका बिरामी कति छन् भनेर संख्या किटान गर्न नसकिरहेको अवस्था छ । यससँगै अझै पनि कतिपय मानिसलाई मानसिक रोगको उपचार सम्भव छ र कहाँ–कहाँ उपचार उपलब्ध छ भन्नेसम्म पनि थाहा छैन ।

मानसिक रोगका बिरामीलाई पनि अहिले सरकारले परिचयपत्र बनाएर अपांगता भत्ता दिने व्यवस्था गरेसँगै दर्ता हुने बिरामीको संख्यामा केही वृद्धि आएको छ । यसले केही हदसम्म राहत प्रदान गरे पनि पर्याप्त भने छैन ।

मानसिक समस्या भएका व्यक्तिहरूबाट समाजमा दिनानुदिन कति अप्रिय घटना घटिरहेका छन् भन्ने हामीले देख्दै आएका छौँ । त्यस्ता मानिसमा सही निर्णय लिन सक्ने क्षमतामा कमी हुनुका साथै कतिपय अवस्थामा मनमा आएका सोच–विचारलाई नियन्त्रण गर्न नसकेर त्यसैमा बग्दा दुःखद घटना निम्तिन पुग्छन् । यसले समाजमा आपराधिक घटनालाई समेत बढावा दिइरहेका छन् ।

विकसित देशहरूले मानसिक स्वास्थ्यलाई प्राथमिकतामा राखेर विभिन्न कार्यक्रम अगाडि बढाइरहेका छन् । तर, हाम्रो जस्तो दूरदराजका नागरिकका लागि सिटामोल उपलब्ध गराउनसमेत सरकार संघर्षरत रहेको देशमा मानसिक स्वास्थ्य निकै ओझेलमा परेको छ । स्वास्थ्योपचारका लागि अस्पताल आइपुगेका बिरामीलाई हेर्दा २०–३० वर्षको चढ्दो उमेरमै मानसिक समस्याले गाँजेको पाइन्छ । पढेर आफ्नो करिअर बनाउने उमेर समूहका युवा मानसिक रोगले ग्रस्त भएको देख्दा साँच्चै पीडा हुन्छ ।

मानसिक समस्या भएका व्यक्तिहरूबाट समाजमा दिनानुदिन कति अप्रिय घटना घटिरहेका छन् भन्ने हामीले देख्दै आएका छौँ । त्यस्ता मानिसमा सही निर्णय लिन सक्ने क्षमतामा कमी हुनुका साथै कतिपय अवस्थामा मनमा आएका सोच–विचारलाई नियन्त्रण गर्न नसकेर त्यसैमा बग्दा दुःखद घटना निम्तिन पुग्छन् । यसले समाजमा आपराधिक घटनालाई समेत बढावा दिइरहेका छन् ।

बदलिँदो खानपान, अस्वस्थकर तथा भागदौडपूर्ण जीवनशैली र बढ्दो तनावका कारण दिनप्रतिदिन व्यापक बन्दै गएको मानसिक समस्या न्यूनीकरण सरकारको मात्र मुख ताकेर सम्भव छैन । एक जिम्मेवार नागरिकको नाताले हामीले आफ्नो तहबाट पनि मानसिक स्वास्थ्यको क्षेत्रमा सरकारलाई सहयोग गर्नुपर्छ । समयको चक्रसँगै हाम्रो माग पनि परिवर्तन हुनुपर्छ । सरकारले पनि अब मानसिक स्वास्थ्यलाई विशेष प्राथमिकता दिएर उपयोगी कार्यक्रम समुदायस्तरमा ल्याउनु जरुरी छ ।

मानसिक समस्याको उपचार औषधि सेवनमा मात्र सीमित छैन । यो समस्यामा बहुआयामिक उपचार पद्धति अवलम्बन गर्नुपर्ने हुन्छ । यसमा औषधीय उपायसँगसँगै बिरामीलाई आफ्नो जीवनमा आइपर्ने तनावको व्यवस्थापनका उपाय सिकाउने, आफ्नो व्यवहारमा परिवर्तन ल्याउने, घर–परिवार र सिंगो समाजप्रतिको आफ्नो जिम्मेवारीबोध गराउनेलगायत पर्दछन् । आवश्यकताअनुसार व्यायाम, योग तथा ध्यानको विधिसमेत अपनाउनुपर्ने हुन्छ । कुनै व्यक्तिको मानसिक समस्या ऊ आफूसित मात्र नभई अन्य व्यक्ति, परिवार र समाजसितसमेत जोडिएको हुन सक्छ । तसर्थ, मानसिक स्वास्थ्य समस्यालाई कुनै एउटा व्यक्ति वा परिवारको समस्याका रूपमा मात्र नहेरेर सम्पूर्ण समाज र देशकै समस्याका रूपमा हर्नुपर्छ ।

(नर्सिङ अभ्यासमा लामो अनुभव बटुलेकी पौडेल हाल महाराजगन्ज नर्सिङ क्याम्पसमा साइक्याट्रिक नर्सिङ विषयमा स्नातकोत्तर तहको पढाइ गरिरहेकी छिन् ।)

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै

श्रीमानले रक्सी पिइरहँदा श्रीमतीलाई डिप्रेसन

५० वर्षीया कान्छी तामाङका १० छोरा–छोरी छन् । उनमा १ महिनाअघिदेखि ढाड दुख्ने रोग सुरु भयो । बिस्तारै उनलाई आत्तिने, छटपटी हुने, राति ननिदाउने एक ठाउँमा अडिन नसक्ने हुँदै आयो । उनले अनेकौँ उपचार केन्द्रमा गई उपचार गराइन् । उनको रगत, एक्स–रे, सिटी स्क्यान, इन्डोस्कोपी, अल्ट्रासाउन्डलगायत जाँच गरियो, तर रोग पत्ता लागेन ।

उनी ‘नसा पोल्यो, नसा झमझम गर्यो, मलाई क्यान्सर भयो’ भनेर रुन थालिन् । उनी अहिले न्युरोसाइक्याट्रिक विभागमा उपचार गराइरहेकी छिन् । अहिले उनको स्वास्थ्य राम्रो हुँदै गएको छ, उनले पुनर्जीवन पाएकी छिन् । यो पनि डिप्रेसन रोगको एउटा उदाहरण हो ।

विश्व स्वस्थ्य संगठनले डिप्रेसन जीवनकालमा पुरुषमा १५ प्रतिशत र महिलामा २५ प्रतिशतसम्म हुने बताएको छ । डिप्रेसन रोग लागेको बिरामीलाई आफूलाई अर्कै रोग लागेको भान हुन्छ । यस रोगका बिरामीले पटक–पटक उपचारको सिकायत गर्ने, रगत, एक्स–सेलगायत परीक्षण धेरै गर्ने तर रोग नभेटिने, केही बिरामी पीडा सहन नसकेर आत्महत्या गर्ने गरेको पनि पाइएको छ । एकैपटक धेरै अंगमा लक्षण देखिने रोग डिप्रेसन हो । केही बिरामी नसा पोल्यो, हातखुट्टा झमझम गर्यो, सिल्का हान्ने भयो, शरीर तात्यो भन्ने गर्छन् ।

विभिन्न कारणले हुन्छ डिप्रेसन
– वंशानुगत रूपमा सर्ने ।
– न्युरोट्रान्समिटरको गढबढी, जस्तै– डोपामिन, सेरोटोरिन र नोरपाइरफ्राइन ।
– ब्रेनमा कुने भिकष्यल भएमा ।
– आमा बाबुबाट बाल्यावस्थामा टाढा रहनाले ।
– हर्मोनको गडबडी, जस्तै– थाइराइड, एड्रिनल, ग्रोथ हर्मोनको गडबडी भएमा ।
– लामो समयसम्म शारीरिक रोग लाग्नु, जस्तै– चिनीरोग, मृगौलारोग आदि ।
– बिरामी हुनुअघिको व्यक्तित्व (पर्सनल फ्याक्टर)
– तत्कालीन घटनाक्रम, जस्तै– मानिस मर्नु, नोक्सानी हुने कुनै पनि घटना घट्नु ।
– अस्वस्थ पारिवारिक सम्बन्ध ।
– लागुपदार्थ सेवन ।
– गर्भावस्थामा संक्रमण, मस्तिष्कको वृद्धिमा रोक आदि ।
– समाजबाट टाढा रहनु, बसाइ सर्नु ।

डिप्रेसन रोगका बिरामी कस्ता समस्या लिएर आउँछन् ?
– बिरामीहरू आफूलाई टाउको दुख्ने रोगको लक्षण बताउँछन् ।
– कतिपय बिरमी आफूलाई क्यान्सर लागेको शंका गर्छन् ।
– कोही घाँटीमा केही अड्कियो भनी आत्तिलिन्छन् ।
– कोही यौनांगको समस्या, यौनक्षमतामा कमी भएको बताउँछन् ।
– केही बिरामी बारम्बार पेट पोलेको, पेटमा अप्ठ्यारो महसुस भएको बताउँछन् ।
– कोही भने मुटुको रोग लाग्यो भन्दै मुटुरोग विशेषज्ञकहाँ पुग्छन् ।
– कोही ढाड दुख्ने, जोर्नी दुख्ने समस्याको सिकायत गर्छन् ।
– कोही खाना अपच, पाचनशक्तिमा कमी भएको सिकायत गर्छन् ।
– कोही काम्ने र बक्ने गर्छन् र बोक्सी लागेको विश्वास गर्छन् ।
– कोही अचानक बेहोस भएको बताउँछन् ।
– डिप्रेसनका बिरामी एक्लै शान्त ठाउँमा बस्न रुचाउँछन् । रेडियो, टिभी हेर्ने चाख हुँदैन ।
– बढी चिन्ता गरिरहने र आप्mनो जीवनदेखि नै हरेस खाएका हुन्छन् ।

श्रीमान्ले रक्सी पिइरहँदा श्रीमतीलाई डिप्रेसन
रक्सी पिउने मानिसमा अचानक रक्सी छाड्दा हात काम्ने, मुटु ढुकढुक हुने, अनौठो वस्तु देखिनाले आत्तिने तथा डराउने हुन्छ । कोही सर्प देख्छन् त कोही बाघ देखेर आत्तिन्छन् । कतिपय बिरामी कानमा गाली गरेको आवाज आउनाले घरपछाडि भाग्छन् । रक्सी पिउने मानिस यौनक्रियामा रुचि नभएको सिकायत गर्छन् । कतिपयचाहिँ श्रीमतीसँग शंका गर्छन् । यस्ता क्रियाकलाप घरायसी झगडाको बिउ बन्छन् ।

जब मानिस बिहानैदेखि रक्सी लिन सुरु गर्छन्, यो कडा समस्या मानिन्छ । रक्सी पिउँदा मानसिक रूपमा अचेत हुनाले ठूला–ठूला अप्रिय घटना पनि घट्न सक्छन् । रक्सी लिने मानिसलाई कोठामा थुनेर राख्नुहुँदैन, अचानक घोर रोग निक्लिई मर्न सक्छन् । डाक्टरको सल्लाह लिएर मात्र रक्सी छोडाउनुपर्छ । एकतिहाइ रक्सी लिने मानिस डिप्रेसन, आत्तिने रोग, निद्रा नपर्ने समस्याबाट पनि पीडित हुन्छन् । रक्सी छोडेपछि यस्तो समस्याको पनि उपचार गरे मात्र पूर्ण रूपमा रक्सी लिन छाड्छन् । पारिवारिक कलह भइरहँदा प्रायः रक्सी पिउने व्यक्तिकी श्रीमतीमा डिपे्रसन रोग भेटिएको छ ।

डिप्रेसन रोग लागेका बिरामीले पालना गर्नुपर्ने कुरा
– एउटै कुरामा गहिरो सोचाइ नराख्ने ।
– मनको कुरा अरूलाई भन्ने बानी गर्ने, जसले गर्दा मनमा अन्तद्र्वन्द्व कम हुन्छ । जस्तै, कसैले मनदुख्ने कुरा भन्यो, तर यो कुरा मनमा बस्यो भने त्यसले जटिल रूप लिन्छ ।
– आफूलाई टेन्सन, तनाव दिने पुराना कुरामा दिमाग नलाने, जे छ त्यसमा सन्तुष्ट हुने तर त्यसमा मिहिनेत गर्न नछाड्ने ।
– मन दह्रो पार्ने ।
– लागुपदार्थ वा रक्सी सेवन नगर्ने ।
– कुनै पनि कुरा पाउँदा मात्तिने र नपाउँदा आत्तिने बानी छाड्ने ।
– टेलिभिजन धेरै नहेर्ने, कविता वा साहित्यमा बढी गहिरिएर प्रवृत्त नहुने ।

नेपालमा मानसिक स्वास्थ्यमा असर पार्ने कुराहरू
मानिसको दैनिक जीवनमा आइपर्ने घटनाक्रम नै मानसिक रोगका कारण बन्छन् । जस्तै ः
– पति वा पत्नी बिदेसिनु : यसरी बिदेसिँदा स्वदेशमा बस्नेमा यो रोग देखिन्छ ।
– विदेशमा गई काम गर्नेलाई पनि यो रोग देखिएको छ ।
– प्रेममा विछोड हुनु ।
– जागिरबाट निकालिनु ।
– पढाइमा असफल हुनु ।
– घरायसी झगडा भइरहनु, परिवारका सदस्यको मृत्यु हुनु ।
– सानो छँदा आमाबुबाबाट टाढा रहनु ।
– राजनीति पीडा वा द्वन्द्वको असर ।
– लागुपदार्थ सेवन ।
– समाज बढ्दै जाँदा बढ्दो चाहना ।

उल्लेखित कारणहरू मुख्य भए पनि वंशानुगत गुण तथा मानिसको व्यक्तित्वको पनि मानसिक स्वास्थ्यमा ठूलो भुमिका रहन्छ । एउटै घटनाक्रमले कसैमा मानसिक रोग ल्याउँछ त कसैमा ल्याउँदैन । कतिपय मानिस धामी–झाँक्रीबाट उपचार गराउनतर्फ लाग्छन्, जसले गर्दा बिरामी अस्पताल आइपुग्दा रोग जटिल अवस्थामा पुगिसकेको हुन्छ र निको पार्न कठिन हुन्छ ।

डिप्रेसन रोगको उपचार गर्दा जान्नैपर्ने मनोवैज्ञानिक पक्ष
– धेरैजसो रोग विभिन्नखालको स्ट्रेस (टेन्सन)ले गर्दा हुने भएकाले घर–परिवारमा यस्तो वातावरणको अन्त्य गर्नुपर्छ ।
– जे छ त्यसमा सन्तुष्ट बन्न सक्नुपर्छ र मिहिनेत गर्न छाड्नुहुँदैन ।
– मनको कुरा अरूलाई भन्नुपर्छ ।
– रिल्याक्सेसन एक्सरसाइज, योग, ध्यान गर्दा फाइदा हुन्छ ।
– एउटै कुरामा गहिरो सोचाइ राख्नुहुँदैन ।
– दैनिक काममा धेरै व्यस्त हुनुहुँदैन, साथै कुनै काम नै नगरी बस्दा पनि राम्रो हुँदैन ।
– आफूभन्दा ठूलालाई हेरेर पूरा नहुने माग हेर्ने होइन, आफूभन्दा साना ओहोदाका मानिसलाई पनि हेर्ने बानी गर्नुपर्छ ।
– हरेक काममा सुखी र सन्तुष्ट बन्न सिक्नुपर्छ ।

डिप्रेसनका बिरामीको उपचार
– सम्बन्धित विशेषज्ञकहाँ सम्पर्क गर्ने ।
– औषधि, काउन्सिलिङ, साइकोथेरापी तथा योगबाट रोग निको पारिन्छ ।
– केही बिरामीलाई इसिटी (विद्युतीय उपचार) को आवश्यकता पर्छ ।

काउन्सिलिङ तथा साइकोथेरापी
कतिपय डिप्रेसन रोगका बिरामी रोगबारे नबुझ्दा पीडादायी जीवन बिताइरहेका हुन्छन् । बिरामीमा मन दह्रो पार्ने तथा तनाव सहन सक्ने क्षमता बढाउने यसको उद्देश्य हो । मानिसको जीवनमा सुख, दुःख दुवै आइपर्छन् । सुख हुँदा मात्तिने र दुःख पर्दा आत्तिने बानीले मनोवैज्ञानिक समस्या ल्याउँछ । मनमा परेको पीडा अर्कालाई भनिदिँदा चोट कम हुन्छ र मन हल्का हुन्छ । मानिसमा ठूला–ठूला समस्या पनि मनमा राखिराख्ने बानी हुन्छ, जसले आफैँलाई खराब गर्छ । कुनै काममा असफल भएको कुरा सधैँ मनमा लिइरहँदा भोलिको प्रगति रोकिन्छ, मानसिक रोगी बनिन्छ । जुन कुरा भइसक्यो, पछि फर्काउन सकिँदैन । त्यसलाई सम्झिएर समय बर्बाद गर्नुहुँदैन, अब के गर्ने भन्ने योजनाका साथ बाटो समातेर अघि बढ्नुपर्छ । कतिपय मानिस तनाव घटाउन रक्सी सेवन गर्छन्, जसले ऊ स्वयंमा कमजोर बन्दै जान्छ र र रोगले ग्रस्त हुन्छ ।

मानिस जहिले पनि आशावादी नै हुनुपर्छ, निराशावादी कहिल्यै हुनुहुँदैन, मन कमजोर पार्नुहुँदैन । मैले भनेको नै हुनुपर्छ भन्ने सोचाइ होइन, लचिलो हुन सक्नुपर्छ । अर्काले दिएको तर्क पनि ध्यान दिएर सुन्नुपर्छ । म गल्ती गर्दिनँ, तर मलाई अरूले दुःख दिन्छन् भनेर मन खुम्च्याउनुभन्दा भएको भइहाल्यो, अब कसरी अगाडि बढ्ने भन्नेतिर लाग्नुपर्छ । हरेक काममा योजना बनाउनुपर्छ– योपछि यो गर्ने, सफल भए कसरी अघि बढ्ने, असफल भए के गर्ने आदि ।

मानिस जहिले पनि आशावादी नै हुनुपर्छ, निराशावादी कहिल्यै हुनुहुँदैन, मन कमजोर पार्नुहुँदैन । मैले भनेको नै हुनुपर्छ भन्ने सोचाइ होइन, लचिलो हुन सक्नुपर्छ । अर्काले दिएको तर्क पनि ध्यान दिएर सुन्नुपर्छ । म गल्ती गर्दिनँ, तर मलाई अरूले दुःख दिन्छन् भनेर मन खुम्च्याउनुभन्दा भएको भइहाल्यो, अब कसरी अगाडि बढ्ने भन्नेतिर लाग्नुपर्छ । हरेक काममा योजना बनाउनुपर्छ– योपछि यो गर्ने, सफल भए कसरी अघि बढ्ने, असफल भए के गर्ने आदि । दैनिक शारीरिक व्यायाम, सन्तुलित भोजन र समाजमा स्वस्थ प्रतिस्पर्धा हुनु पनि उत्तिकै आवश्यक छ । मानिस अति नीतिवान् पनि हुनुहुँदैन । दैनिक रूपमा मानिस त्यसै बस्दा राम्रो हुँदैन । त्यसैले औषधि प्रयोग गरेको बिरामीले पनि आफ्नो काम गर्नु राम्रो हुन्छ । काम नै नगरी बस्दा मनमा सोचाइ बढ्छ । त्यस्तै, काम अत्यधिक गर्दा पनि मस्तिष्कमा असर पर्न सक्छ । खाने र सुत्ने समय एउटै हुनुपर्छ ।

डिप्रेसनका बिरामीमा मेरो सबै कुरा बिग्रयो, म असफल भएँ, मैले ठूलो गल्ती गरेँजस्ता सोचाइ आउँछन्, जुन वास्तविकताभन्दा टाढा हुन्छन् । डिप्रेसनका बिरामी मैले केही गर्न सक्दिनँ भन्छन्, तर यथार्थमा त्यस्तो हुँदैन । उनीहरू आफूभन्दा ठूला मानिससित मात्र आफ्नो तुलना गर्छन्, आफलाई अत्यन्त दुःखी ठान्छन्, जुन वास्तविकताभन्दा टाढा हुन्छ । बिरामीको पीडा अरूले सुनिदिँदा हल्का महसुस हुन्छ । उपचार गर्दा बिरामीलाई वास्तविकताको जानकारी दिइन्छ र नकारात्मक सोचाइ साँचो होइन भनी प्रमाण देखाइन्छ । र, भविष्यमा आशावादी हुन प्रोत्साहन गरिन्छ । एउटा नराम्रो घटनालाई आधार मानेर सबै कुरा नराम्रो हुन्छ भन्ने धारणामा परिवर्तन ल्याइन्छ ।

(नसा तथा मानसिकरोग विशेषज्ञ डा. सेढाईं चितवन मेडिकल कलेज (सिएमसी) मा कार्यरत छन् ।)

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै

लगातारको मानसिक तनावबाट मुक्ति

सामान्यखालको मानसिक तनाव प्रायः सबै मानिसले झेल्नुपरेको हुन्छ । नेपालकै कुरा गर्ने हो भने बत्ती छैन, पानी छैन, काठमाडौंमा ट्राफिक जामको समस्या छ, वेलावेलामा तेल पाइँदैन, जस्ता विषय पनि तनावका कारण बनिरहेका हुन्छन्, जुन नियमित नभएर सामान्यखाले तनावका विषय हुन् ।

लगातारको मानसिक तनावमा भने तनाव थपिँदै जान्छ, जम्मा हुँदै जान्छ र मनोभावनामा नराम्रो प्रभाव पारिरहेको हुन्छ । यस्ता लगातारका तनावले काम गर्ने क्षमता, निर्णय लिने क्षमता, नयाँ कुराहरू गर्ने क्षमतामा ह्रास आइरहेको हुन्छ । स–साना कुरामा झिँझिने, रिसाउने, आवेगमा आउने, निद्रा नलाग्ने र विभिन्न अन्य लक्षण पनि देखिन सक्छन् ।

मानसिक तनाव (Mental Stress) लाई तीन भागमा बाँड्न सकिन्छ । 

१) Basic Stress (सामान्य तनाव)

२)  Cumulative Stress (लगातारको तनाव)

३) Traumatic Stress (घातक तनाव)

लगातारको तनाव आफ्नै व्यक्तिगत वा पारीवारिक समस्याहरूका कारण, आफ्नो कार्यबोझ वा कार्यालयमा हुने गरेका अन्य समस्याका कारण र आफूवरिपरिको वातावरणका कारण हुन सक्छ । धेरै मानिस आफूलाई बलियो छु, मलाई यस्ता समस्याले धेरै तनाव दिन सक्दैनन् भन्ने विश्वासमा त हुन्छन्, तर लगातारको तनावले भित्र–भित्र असर पारिरहेको हुन्छ र शरीर र मन दुवैले हार मानिसकेका हुन्छन् । कुनै गाडी वा मेसिन चल्दाचल्दै धेरै तातेर बन्द भएजस्तै शरीर र मनले पनि अति भइसकेपछि जवाफ दिन्छन्, जसका कारण विभिन्न लक्षण देखिन सुरु हुन्छ ।

लगातारको तनावका कारण विभिन्न शारीरिक लक्षण देखिन सक्छन्, जस्तै, टाउको दुख्ने, शरीरका विभिन्न भाग दुख्ने, खाना मिठो नहुने, निद्रा राम्रो नपर्ने, पेटसम्बन्धी विभिन्न समस्या देखिने, ज्यादै थकाइ लाग्ने, छटपटी हुने हुन सक्छ । सबै परीक्षण गर्दा पनि त्यस्तो कुनै रोग प्रायः भेटिँदैन ।

लगातारको तनावका कारण विभिन्न शारीरिक लक्षण देखिन सक्छन्, जस्तै, टाउको दुख्ने, शरीरका विभिन्न भाग दुख्ने, खाना मिठो नहुने, निद्रा राम्रो नपर्ने, पेटसम्बन्धी विभिन्न समस्या देखिने, ज्यादै थकाइ लाग्ने, छटपटी हुने हुन सक्छ । सबै परीक्षण गर्दा पनि त्यस्तो कुनै रोग प्रायः भेटिँदैन । यसप्रकारको मानसिक तनावले विभिन्न अन्य लक्षण पनि दिन सक्छन्, जस्तै, आफ्नो काममा राम्रो ध्यान दिन कठिन हुने, स्मरणशक्ति कम हुने, गलत निर्णय लिइने, मानसिक थकान बढी हुने आदि । यस्ता लक्षणहरूलाई Cognitive signs भन्ने गरिन्छ ।

त्यसैगरी, केही भावनात्मक लक्षणहरू वा मनोरोगसमेत देखिन सक्छन् । उदाहरणका लागि रिस बढी उठ्ने, एक्लै बस्न मन लाग्ने, चिन्ता वा डिप्रेसनका लक्षण पनि देखिन सक्छन् ।

लगातारको मानसिक तनावले व्यक्तिको आनी–बानी वा व्यवहारमा पनि परिवर्तन प्रायः आउँछ, जस्तै, पहिलेभन्दा अझ बढी काम गर्छु भनेर अफिसमा धेरै समय बिताउने, दुर्घटना भए हुन्छ भनेर गाडी वा मोटरसाइकल तेज गतिमा चलाउने, चुरोट तथा रक्सी पिउन सुरु गर्ने वा पहिले पिउने भए बढी पिउन थाल्ने, आदि ।

उल्लेखित कारणहरूले गर्दा परिवारमा समस्या देखिन थाल्छ, झगडा हुन थाल्छ र एक–आपसको सम्बन्ध झन्–झन् बिग्रँदै जान थाल्छ ।

उल्लेखित लक्षणहरू देखिएमा लगातारको तनावका कारण यस्ता लक्षण देखिएका हुन् कि कुनै रोग नै लागेर हो, पहिलो चरणमा छुट्याउनु जरुरी छ । यदि रोग नै लागेर यस्तो भएको रहेछ भने उपचारले राम्रो गर्छ, तर रोगका कारण होइन, सबै परीक्षण ठिक छन् र स्ट्रेसले हो भने यहाँ दिइएका तरिकाहरू अपनाउँदा लगातारको तनाव पीडित धेरैजनालाई राम्रो भएको छ ।

केही मानिसको नकारात्मक कुराहरू गर्ने बानी हुन्छ, अरूलाई दोष लगाउने बानी हुन्छ । यस्ता कुराहरूबाट टाढै बस्नुहोस् । नकारात्मक कुराहरूले नकारात्मक भावना बढाउन सहयोग गर्छन्, जसले तपाईंको समस्या झन् बढाउन सक्छ ।

(क) केही दिन छुट्टी लिएर आराम गर्ने

केही दिन तपाईंले छुट्टी लिएर रिल्याक्स गर्नुभयो भने राम्रो हुन्छ । केही दिन काम नगर्दा पैसा कमाउन सकिँदैन वा काम थुप्रिन्छ वा व्यापारमा घाटा पर्छ भन्ने कुरा आउँछ होला, तर तपाईंको स्वास्थ्य ठिक राख्नु बढी महत्वपूर्ण छ । आफ्नो काम–व्यवसाय त आफ्नो ठाउँमा छँदै छ नि !

(ख) नियमित शारीरिक व्यायाम गर्ने

नियमित शारीरिक व्यायामले तपाईंको मानसिक तनाव कम गर्न र शरीरमा स्फूर्ति दिन सहयोग गर्नेछ ।

(ग) मदिरा, लागुपदार्थ वा अत्यधिक कफी पिउने बानी छैन भने त धेरै राम्रो, यदि पिउनुहुन्छ भने सकभर कम गरेर यसलाई छोड्दा राम्रो हुन्छ ।

(घ) पोसिलो खानाको महत्व त सबैलाई थाहै छ, त्यस्तै ७–८ घण्टा सुत्नु पनि स्वास्थ्यका लागि धेरै आवश्यक छ ।

(ङ) आफ्ना दुःख, पीडा र भावनाबारे आफ्नो मिल्ने साथी वा परिवारको विश्वासिलो सदस्यसँग भन्न सक्नुहुन्छ । आफ्ना पीडाहरू यसरी ओकल्दा र अरूले सुनिदिँदा तपाईंले हलुका महसुुस गर्नुहुनेछ ।

(च) तपाईंभित्र कुनै डरको अनुभव भएको छ भने त्यसलाई च्यालेन्ज गर्नुहोस्, म यस्तो कुरामा डराउँदिनँ भन्नुहोस् ।

(छ) केही मानिसको नकारात्मक कुराहरू गर्ने बानी हुन्छ, अरूलाई दोष लगाउने बानी हुन्छ । यस्ता कुराहरूबाट टाढै बस्नुहोस् । नकारात्मक कुराहरूले नकारात्मक भावना बढाउन सहयोग गर्छन्, जसले तपाईंको समस्या झन् बढाउन सक्छ ।

(ज) आफूलाई मनपर्ने कुनै सामाजिक संस्थामा संलग्न भएर केही सामाजिक सेवा गर्नु पनि मानसिक तनाव घटाउने राम्रो तरिका हो ।

उल्लेखित तरिकाहरू अपनाउँदा पनि मानसिक तनाव कम भएन भने मनोविमर्शकर्तासँग भेट्न सक्नुहुन्छ । विभिन्न काउन्सेलिङ र साइकोथेरापीका तरिकाहरू छन्, मनोविमर्शकर्ताले तपाईंका लागि के उपयुक्त छ, त्यो गराउनेछन् र गर्ने सल्लाह दिनेछन् ।

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै

टाउको वा पेट दुखिरहनु वा हातखुट्टा झमझमाउनु पनि मानसिक समस्या हुन सक्छ

जनमानसमा मानसिकरोग भन्नेबित्तिकै मानिस पागल भयो, दिमागले काम गरेन भन्ने धारणा व्याप्त छ, जुन बिलकुलै गलत छ । मानसिकरोगका बिरामी विभिन्न प्रकारका हुन्छन् । मानिसको मस्तिष्क वा दिमागले गर्ने काम धेरै हुन्छन् । जस्तो कि, बोल्ने, सोच्न सक्ने क्षमता, तर्क–वितर्क गर्न सक्ने क्षमता, भावना परिवर्तनलाई नियन्त्रण गर्न सक्ने क्षमता, निदाउन सक्ने क्षमता, सही निर्णय लिन सक्ने क्षमता, स्मरणशक्ति, उचित व्यवहार गर्न सक्ने क्षमता, यी सबै मस्तिष्कका काम हुन् । त्यसमा कुनै पनि कारणले गर्दा गडबडी आयो र त्यसले बिरामी स्वयम्लाई वा वरिपरि बस्ने परिवार वा समाजलाई असर गर्यो भने त्यसलाई मानसिकरोग लागेको भन्न सकिन्छ ।

मानिसमा सोच्ने क्षमतामा कमी हुनु, भावनात्मक परिवर्तन हुनु, दुःखी वा खुसी हुनु, रिसाउनु आदि नियमित प्रक्रिया हुन् । तर, यी कुराहरूलाई नियन्त्रणमा राख्न सक्नुपर्छ । यदि कुनै पनि कारणले नियन्त्रणमा राख्न सकिएन भने डिप्रेसनमा जाने सम्भावना हुन्छ ।

हाम्रो खुसी, रिसलाई पनि नियन्त्रणमा राख्न सकिएन, हामी अत्यधिक मात्रामा खुसी वा दुःखी भयौँ वा नचाहिने कुरामा गलत अनुभूति गर्न थाल्यौँ भने कडाकिसिमको मानसिक रोगमा जान्छौँ । एउटा फन्सर्नमा डिमेसिया भन्ने हुन्छ, वृद्धवृद्धामा स्मरणशक्तिमा कमी आउने समस्या हो, जुन दिमागसँग सम्बन्धित छ । त्यसमा पनि गडबडी भयो भने मानसिकरोग निम्तिन सक्छ ।

कडाकिसिमको मानसिकरोग लागेका बिरामीलाई म बिरामी हुँ भन्ने कुरा थाहा हुँदैन । बिरामी आफ्नै संसारमा रमाएर बसेको हुन्छ । बिरामीमा धेरै भ्रम हुन्छन् । जस्तो कि, कोही मानिसले भन्ला, म प्रधानमन्त्री हुँ, एउटा समान्य काम गर्ने मानिसले म अर्बपति हुँ भन्नु, घमण्डको कुरा गर्नु, जे पनि गर्न सक्छु भन्नु, वास्तविकतासँग अलिक टाढा रहरे कुरा गर्न थाल्नु, भ्रम सिर्जना गर्न थाल्नु, अरूले नसुन्ने आवाज सुन्न थाल्नु, मानिसले मलाई मार्न खोजेका छन् भन्ने शंका बिरामीको दिमाखमा आउन थाल्नु, यस्ता समस्या देखिन थाल्यो भने यसलाई कडाखालको मानसिक रोगको लक्षण भन्न सकिन्छ ।

डिप्रेसनका पनि भित्री केही चरण हुन्छन् । सामान्य मात्रामा मन दुःखी हुन थालेको अवस्था, मन निकै दुःखी भएर घरमा सधैँ रोएर बस्ने, आफ्नो काम–कर्तव्य नै छोडेर घरमै बस्ने, अझै बढी भएमा आत्महत्याको सोचाइ आउन थाल्ने, कडा डिप्रेसनका कारण आफ्नो हेरचाह गर्न छोडिसकेको व्यवहार देखाउने भएमा डिप्रेसनको समस्या बढी भएको बुझ्नुपर्छ ।

डिप्रेसनका पनि भित्री केही चरण हुन्छन् । सामान्य मात्रामा मन दुःखी हुन थालेको अवस्था, मन निकै दुःखी भएर घरमा सधैँ रोएर बस्ने, आफ्नो काम–कर्तव्य नै छोडेर घरमै बस्ने, अझै बढी भएमा आत्महत्याको सोचाइ आउन थाल्ने, कडा डिप्रेसनका कारण आफ्नो हेरचाह गर्न छोडिसकेको व्यवहार देखाउने भएमा डिप्रेसनको समस्या बढी भएको बुझ्नुपर्छ । डिप्रेसनभित्रका चरणहरूलाई म्याइन, मोडर, सिबियरजस्ता नाम दिने गरिएको छ । डिप्रेसन भइसकेपछि एन्जाइटीमा जाने, सिजोफिना हुनेचाहिँ हुँदैन ।

सामान्य मानसिकरोगको उपचार सरलकिसिमले गर्न सकिन्छ । ४ रूपैयाँदेखि १५ रूपैयाँसम्मका एक–दुईवटा सामान्य औषधि सेवनबाट पनि ठिक हुने गर्छ । भर्खरै सुरुवात भएको डिप्रेसन, एन्जाइटीमा काउन्सिलिङ, परामर्श, साइकोथेरापीबाट बिरामीको उपचार गर्न सकिन्छ ।

यी सामान्य औषधि वा काउन्सिलिङले पनि बिरामीमा सुधार आएन भने औषधिको मात्रा बढाएर विद्युतीय ई–सिटीका माध्यमले उपचार गर्नुपर्ने अवस्था पनि आउँछ । त्यसैगरी, अहिले नेपालमै पहिलोपटक आएको आटिएमएस प्रविधिले पनि उपचार गर्न सकिन्छ ।

सडक, बाटोमा बेवारिसेतरिकाले मानिस हिँडिरहेका हुन्छन् । ती मानिस किन त्यसरी हिँडिरहेका छन् त भन्दा घर–परिवार, समाजले सहयोग नगरेका कारण विभिन्न मानसिक समस्याबाट ग्रस्त छन् । त्यस्ता बिरामीलाई कुनै माध्यमबाट अस्पताल पुर्याएर औषधि सुरु गर्ने हो भने दुई–तीन महिनामा ठिक हुन्छ ।

मानसिकरोग लाग्नुका पछाडि धेरै कारण हुन्छन् । जस्तो कि, जन्मजात कारणले पनि कतिपय बच्चा सुस्त मनस्थिति भएका हुन्छन् । वंशानुगत कारण पनि हुन्छ । यदि बुबा, आमा वा परिवारको अन्य सदस्यमा मानसिक समस्या छ भने बच्चामा पनि हुने सम्भवना बढी हुन्छ ।

नेपालमा कति मानसिकरोगी छन् भन्ने कुनै तथ्यांक छैन । तर, अस्पताल, जिल्ला अस्पताल, स्वास्थ्यचौकीबाट स्वास्थ्य मन्त्रालयमा आएको तथ्यांकअनुसार नेपालको कुल जनसंख्याको २० देखि २५ प्रतिशत मानिसलाई मनोसामाजिक र मानसिक समस्या छ भन्ने अनुमान गरिएको छ । अहिले नेपाल सरकारले पहिलोपटक देशव्यापी रूपमा मानसिक रोगबारे सर्वेक्षणसुरु गरेको छ ।

मानसिकरोग लागेका व्यक्तिको जति छिटो उपचार गर्न सक्यो, त्यति छिटो निको हुने सम्भावना रहन्छ । तर, कडाकिसिमको मानसिकरोग लागेका बिरामीलाई उपचार गर्न लामो समय लाग्न सक्छ । कसै–कसैलाई जीवनभर औषधि राख्नुपर्ने पनि हुन सक्छ । एकाध बिरामीले उपचार पाउँदैनन्, परिवार र समाजबाट सहयोग मिल्दैन, जसका कारण सडककै वास हुने समस्या आउन सक्छ । कुनै पनि मानसिकरोग नियमित औषधि सेवन गर्नाले बिस्तारै ठिक हुँदै जान्छ ।

मानसिकरोग लाग्नुका पछाडि धेरै कारण हुन्छन् । जस्तो कि, जन्मजात कारणले पनि कतिपय बच्चा सुस्त मनस्थिति भएका हुन्छन् । वंशानुगत कारण पनि हुन्छ । यदि बुबा, आमा वा परिवारको अन्य सदस्यमा मानसिक समस्या छ भने बच्चामा पनि हुने सम्भवना बढी हुन्छ । बाल्यकालमा कुनै अप्रिय घटना भएका छन्, जस्तै, बुबा, आमासित बिछोड वा मुत्यु भएको छ भने छोरा–छोरीमा मानसिक समस्या देखापर्न सक्छ । त्यसैगरी सामाजिक अपहेलना झेलेको, परिवारभित्रको झै–झगडा, मनमुटाव र व्यक्तित्व नै नकारात्मक रहेको छ भने पनि मानसिक समस्या उत्पन्न हुने गर्छ । त्यसैगरी, लागुऔषध सेवन गर्ने मानिसलाई पनि मानसिकरोग हुने सम्भावना बढी हुन्छ । लामो समयसम्म औषधि प्रयोग गरिरहेको छ भने पनि मानसिक समस्या उत्पन्न हुन सक्छ ।

मानसिक समस्या छ भन्नुको अर्थ पागल हुनु, बौलाउनु, दिमाग खुस्किनु होइन । टाउको दुखेर मात्र, हात–खुट्टा झमझमाएर मात्र पनि मानिसहरू मानसिक अस्पताल आइरहेका हुन्छन् । त्यसैगरी, पेट दुखिराख्ने वा कटक्क काट्नेजस्ता समस्या लिएर पनि आइरहेका हुन्छन् । लाखौँ खर्च गरिरहेका हुन्छन्, तर निको भएको हुँदैन ।

विभिन्न प्रकारका मानसिकरोगअनुसार लक्षण पनि फरक–फरक हुन्छन् । जस्तै, डिप्रेसन हो भने मानिसमा नकारात्मक सोच आउने, शरीरमा स्फूर्ति कम हुँदै जाने, काम गर्न मन नलाग्ने, निद्रामा गडबडी हुने, रुन मन लाग्ने, मन उदास हुने लक्षण देखिन्छन् । एनजाइटी डिसअर्डर रहेको छ भने चिन्ता धेरै लाग्ने, आत्तिने, मुटु ढुकढुक हुने, श्वास फेर्न गाह्रो हुने, केही गर्न हिम्मत नआउने, हात कामिराख्ने हुन्छन् । सिजोफिनिया लागेको छ भने असामान्य व्यवहार देखाउने, जथाभावी बोल्ने, बढी रिसाउने, कानमा आवाज आयो भनेर एक्लै कराउनेजस्ता लक्षण देखापर्छन् ।

मानसिक समस्या छ भन्नुको अर्थ पागल हुनु, बौलाउनु, दिमाग खुस्किनु होइन । टाउको दुखेर मात्र, हात–खुट्टा झमझमाएर मात्र पनि मानिसहरू मानसिक अस्पताल आइरहेका हुन्छन् । त्यसैगरी, पेट दुखिराख्ने वा कटक्क काट्नेजस्ता समस्या लिएर पनि आइरहेका हुन्छन् । लाखौँ खर्च गरिरहेका हुन्छन्, तर निको भएको हुँदैन । मनोवैज्ञानिक कारणले बढी शारीरिक समस्या आउनु पनि मानसिकरोग हुन सक्छ । यसो हर्दा मानिसमा केही पनि नदेखिने, तर उसलाई खालि मनमा एउटा चिन्ता लाग्ने पनि रोग हुन्छ, मानसिक समस्याभित्रै पर्छ र समयमै उचित उपचार गराएमा सामान्य उपचारले पनि निको हुन्छ ।

(पुष्पराज चौलागाईँसँगको कुराकानीमा आधारित)

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै

एक मात्र मानसिक अस्पतालको बेहाल- विशेषज्ञ दरबन्दी नौ, कार्यरत चार

दैनिक सयभन्दा बढी बिरामी उपचारका लागि आउने मानसिकरोग अस्पताल पाटन पछिल्लो समय प्रभावकारी सेवाप्रवाहमा चुक्दै गएको छ । अस्पतालका निर्देशक डा. मोहनराज श्रेष्ठ स्वयम् पनि प्रभावकारी सेवा दिन नसकेको स्विकार्छन् । कर्मचारी व्यवस्थापन सही तरिकाले हुन नसक्नुका साथै मानसिकरोग अस्पताल सधैँ सरकारी पक्षको बेवास्ताको सिकार बनेका कारण प्रभावकारी सेवा दिन नसकेको उनको भनाइ छ ।

‘अस्पतालमा चिकित्सकको दरबन्दी लामो समयदेखि रिक्त छ,’ उनले भने, ‘नेपाल सरकारले लोकसेवा आयोगमार्फत रिक्त दरबन्दीमा पदपूर्ति गर्न नसक्दा अस्पतालले बढ्दो बिरामीको चाप थेग्न नसकेको हो ।’ आवश्यकताअनुसार जनशक्ति नभएकै कारण अस्पतालले प्रभावकारी सेवा दिन नसकेको दाबी श्रेष्ठको छ । अस्पतालमा जम्मा ९ जना विशेषज्ञ चिकित्सकको दरबन्दी भए पनि हाल ४ जना मात्र कार्यरत छन् ।

नेपालमा करिब १ सय ५० को संख्यामा मानसिकरोग विशेषज्ञ छन् । तर, नेपाल सरकारमातहतका अस्पतालहरूमा खासै सेवा–सुविधा नभएका कारण उनीहरू सरकारी अस्पतालमा काम गर्न चाहँदैनन् । नेपालगन्ज, बुटबललगायत केही क्षेत्रीय अस्पतालमा मानसिकरोग विशेषज्ञ उपलब्ध भए पनि ज्यादै न्यून रहेको डा. श्रेष्ठको भनाइ छ । उनका अनुसार सरकारी अस्पतालमा सेवा–सुविधा बढाएर आकर्षित गर्न नसकिएका कारण उत्पादित जनशक्ति निजी अस्पतालतर्फ आकर्षित भएको हो ।

‘मन्त्री तथा नेताको फोन आएपछि बेड खाली भएमा उनीहरूका बिरामीलाई प्राथमिकता दिनु त्यति अस्वाभाविक कुरा भने होइन,’ राजनीतिक दबाब टार्न नसकिने आशय जताउँदै निर्देशक श्रेष्ठ भन्छन्, ‘यो हाम्रो अस्पतालको मात्रै समस्या होइन, जुनसुकै अस्पतालमा लागू हुन्छ । देश नै यस्तो छ, अलिअलि सोर्सफोर्स त चलिहाल्छ । तर, चल्छ भन्दैमा बेड खाली नभएका वेला पनि नेताका बिरामी राख्नकै लागि भर्ना भएर उपचार गराइरहेका बिरामीलाई निकालेर बेड खाली भने गरिँदैन ।’

मानसिक अस्पताल पाटनमा सबै पदमा गरी करिब ७० जनाको स्थायी दरबन्दी छ भने करिब ३० को संख्यामा अस्थायी तथा करारमा जनशक्ति कार्यरत छ । अस्पतालका दुईवटा युनिटमा दुई–दुईजना मानसिकरोग विशेषज्ञ छन् । बिरामीको चापअनुसार अस्पतालको भौतिक संरचनासमेत अपुग छ । मानसिकरोगसम्बन्धी कुनै पनि कार्यक्रम सञ्चालन गर्नुपरेमा कोठाको समेत अभाव छ ।

अस्पतालबाट मासिक करिब ४ हजार बिरामीले सेवा लिने गरेका छन् । कडाखालका मानसिकरोगीलाई भर्ना लिएरै उपचार गराउनुपर्ने हुन्छ । नेपाल सरकारको केन्द्रीय मानसिक अस्पतालका रूपमा वर्गीकरण गरिएको मानसिकरोग अस्पताल पाटन हाल ५० बेडमा सञ्चालन भइरहेको छ । बिरामीको चापअनुसार अस्पतालका लागि उक्त बेडसंख्या अपर्याप्त भएको निर्देशक श्रेष्ठ बताउँछन् ।  बेडसंख्या ५० बाट बढाएर १०० पु-याउनका लागि नेपाल सरकारलाई पटक–पटक अनुरोध गरे पनि कुनै पहल हुन नसकेको उनको भनाइ छ । नेपाल सरकारको केन्द्रीयस्तरका सबै अस्पताललाई एकरूपता प्रदान गरिने भनिए पनि व्यवहारमा त्यस्तो हुन सकेको छैन ।

बेड अभावकै कारण अस्पतालमा सेवा लिन आएका कतिपय बिरामीलाई निजी अस्पतालमा रेफर गर्नुपर्ने बाध्यता रहेको श्रेष्ठको गुनासो छ । भर्ना गरी उपचार गराउनुपर्ने अवस्थाका कतिपय बिरामीलाई अस्पतालले ललितपुर किस्ट अस्पतालमा रेफर गर्ने गरेको छ ।  अस्पतालले प्रत्येक युनिटमा एकजना इन्चार्ज तोकेर उपलब्ध जनशक्तिको यथासम्भव व्यवस्थापन गरी सेवाप्रवाहमा प्रभावकारिता ल्याउन सक्दो प्रयास गरिरहेका कारण मानसिक अस्पताल पाटनमा कर्मचारी समन्वय अभावले समस्या निम्त्याएको भनी फिँजाइएको हल्ला तथ्यहीन रहेको निर्देशक श्रेष्ठको दाबी छ ।

वेला–वेलामा नेता तथा सांसदले आफ्ना मान्छेको उपचारका लागि फोनमार्फत दबाब दिने गरेको नमिठो अनुभव सुनाउँछन् निर्देशक श्रेष्ठ । तर, अस्पतालले भनसुनका आधारमा कम र उपचारका लागि पहिले अस्पताल आउनेलाई बढी प्राथमिकतामा राखी सेवाप्रवाह गर्दै आएको उनी दाबी गर्छन् । ‘मन्त्री तथा नेताको फोन आएपछि बेड खाली भएमा उनीहरूका बिरामीलाई प्राथमिकता दिनु त्यति अस्वाभाविक कुरा भने होइन,’ राजनीतिक दबाब टार्न नसकिने आशय जताउँदै निर्देशक श्रेष्ठ भन्छन्, ‘यो हाम्रो अस्पतालको मात्रै समस्या होइन, जुनसुकै अस्पतालमा लागू हुन्छ । देश नै यस्तो छ, अलिअलि सोर्सफोर्स त चलिहाल्छ । तर, चल्छ भन्दैमा बेड खाली नभएका वेला पनि नेताका बिरामी राख्नकै लागि भर्ना भएर उपचार गराइरहेका बिरामीलाई निकालेर बेड खाली भने गरिँदैन ।’

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै