भेरी अस्पतालमा पनि कोरोना जाँच्ने पिसिआर मेसिन

अबको एक-दुई दिनभित्रै बाँकेको भेरी प्रादेशिक अस्पतालबाट पनि कोरोना भाइरस आशंकितको चेक जाँच हुने भएको छ । कोरोना भाइरस संक्रमण जाँचका लागि प्रयोग हुने पिसिआर मेसिन आज भेरी प्रादेशिक अस्पताल नेपालगन्ज आइपुगेको छ । लामो प्रतिक्षापछि सोमबार राति काठमाडौंबाट बा. ८ च ४५५७ नम्बरको पिकअप गाडीमा लोड भएको उक्त मेसिन नेपालगन्ज ल्याइएको हो ।

अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डाक्टर प्रकाश बहादुर थापाका अनुसार यतिबेला पीसीआर मेसिन राख्नेकोठा मर्मत सम्भार भइरहेकोेले बुधबारबाट मेसिन जडान हुनेछ । लामो प्रतिक्षपछि नेपालगन्जमा कोरोना जाँच मेशिन आइपुगेको हो । कोरोना भाइरस संक्रमणको जोखिमका बेला नेपालगन्जको भेरी अस्पतालमै जाँच हुनेभएपछि बाँके, बर्दिया लगायतका क्षेत्रका आम नागरिकलाई राहत हुनेछ ।

बाँकेका विभिन्न क्वारेन्टिनमा यतिबेला रहेका चार सय बढी मानिस छन् । तिनीहरुमध्ये हालसम्म ३१ जनाको स्याम्पल टेस्ट गरिएकोछ । थप २३ जनाको स्याम्पल टेस्टका लागि काठमाण्डौं पठाईएकोले रिपोर्ट आउन बाँकी छ । बाँकेको बिभिन्न स्थानिय तहमा बनाईएका १५ बढी क्वारेन्टाईनमा सरदर ४ सय ५० जना रहेका छन ।

कोरोना भाइरस संक्रमण जाँचका लागि आएको मेशिन पीसिआर सञ्चालन भएलगत्तै क्वारेन्टाईनमा मात्र नभइ यसक्षेत्रका अन्य कोरोना आंशकित ब्यक्तिको समेत जाँच हुनेछ । पीसिआर मेशिनबाट कोराना भाईरस संक्रमण थाहा पाउन सजिलो र विश्वासिलो हुने भएकाले यसको सञ्चालन छिटो हुनुपर्ने जानकार बताउँछन् ।

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै

भेरी प्रादेशिक अस्पतालमा डायलाइसिस मेसिन थन्किँदा बिरामीलाई सास्ती, मर्मतमा छैन मेसुको चासो

भेरी प्रादेशिक अस्पतालमा डायलाइसिस मेसिन प्रयोगविहीन हुँदा सयौँ मिर्गौलाका बिरामीले मार खेपिरहेका छन् । मर्मत अभावमा लामो समयदेखि अस्पतालका डायलाइसिस मेसिन प्रयोगविहीन थन्किरहेका छन् ।

अस्पतालमा रहेका ४ वटा मेसिनमध्ये २ वटा बिग्रिएको लामो समय बितिसक्दा पनि मर्मतमा कुनै चासो नदिई थन्क्याएर राखिँदा डायलाइसिस गराउन आउने मिर्गौलाका बिरामीले सास्ती भोगिरहेका छन् । मिर्गौलाका बिरामीलाई सरकारले ठूलो उपचार सुविधा दिएर पनि स्वास्थ्यसंस्थामा उपकरण अभावमा सेवा नपाउँदा कमजोर आर्थिक अवस्थाका र पहुँच कम भएका बिरामी डायलाइसिस नपाएरै मृत्युवरण गर्न बाध्य भइरहेका छन् ।

मिगौलारोगमा कुनै संकेतविनै ठूलो क्षति हुने जोखिम रहन्छ । पछिल्लो समय मिर्गौलारोगको चंगुलमा पर्नेको संख्या बढ्दै गएको छ । झन्डै ९० प्रतिशतसम्म मिर्गौलाको नोक्सानी हुँदासम्म पनि केही संकेत देख्न नसकिने भएकाले यो रोगलाई ‘साइलेन्ट किलर’ भनिन्छ । मिर्गौला रोगीको उपचारका लागि मात्रै सरकारले हरेक वर्ष करोडौँ खर्च गर्दै आएको छ । तर, बिरामी भने अनेक बहानामा आवश्यक सेवाबाट वञ्चित बनिरहेका छन् ।

नेपालगन्जस्थित तत्कालीन भेरी अञ्चल अस्पतालमा पहिलोपटक १२ पुस ०७४ मा निःशुल्क डायलाइसिस सेवाको थालनी गरिएको थियो । स्वास्थ्य मन्त्रालयले चारवटा नयाँ मेसिन र चिकित्सकका लागि तालिमको व्यवस्था गरेपछि भेरीमा डायलाइसिस सेवा विस्तार गरिएको थियो । अस्पतालमा होमोडायलाइसिस सेवा थालनी भएको दुई वर्ष पुग्नै लाग्दा पनि बिरामीका लागि अझै सेवा सर्वसुलभ बन्न सकेको छैन ।

यसअघि अस्पतालमा करिब एक दशकअघि ल्याइएका डायलाइसिस मेसिन विशेषज्ञ चिकित्सक अभावमा काठमाडौं फिर्ता पठाइएको थियो । दुई वर्षअघि नयाँ मेसिन र तालिमप्राप्त जनशक्ति उपलब्ध भएपछि भेरीमा सेवाको थालनी गरेको डा. पारस श्रेष्ठ बताउँछन् । अस्पतालका तत्कालीन मेडिकल सुपरिटेन्डेन्ट डा. वीरेन्द्रबहादुर चन्दको सक्रियतामा डायलाइसिस सेवाको थालनी भएको थियो ।

सेवा सुरु गर्ने समयमा अस्पतालमा कार्यरत मेडिकल अधिकृत डा. पारसले भक्तपुरस्थित मानव अंग प्रत्यारोपण केन्द्रबाट दुई महिनाको तालिम लिएर आएका थिए । उनीसहित अस्पतालमा कार्यरत तीन नर्सलाई तीन महिनाको र प्राविधिकलाई दुई महिनाको तालिम दिइएको थियो । अस्पताल स्रोतका अनुसार त्यतिवेला चार मेसिनमध्ये तीनवटा सञ्चालनमा ल्याइएका थिए । एउटा मेसिन आपत्कालीन अवस्थामा प्रयोगका लागि भन्दै रिजर्भ राखिएको थियो । मेसु चन्दको पहलमा सुरु भएको सेवा त्यतिवेला बिहान ९ देखि दिउँसो ४ बजेसम्म सुचारु हुँदै आएको डायलाइसिस युनिटमा कार्यरत स्वास्थ्यकर्मी बताउँछन् ।

मिर्गौलाका बिरामीले सातामा दुईदेखि तीनपटकसम्म डायलाइसिस गराउनुपर्ने हुन्छ । तर, निःशुल्क प्राप्त हुने सेवा उपकरण अभावमा पाउन नसक्दा लामो समयदेखि बिरामी मर्कामा पर्दै आएका थिए । यद्यपि, विभिन्न कठिनाइका बाबजुद पनि भेरीमा सेवा सुरु भएपछि सयौँ विपन्न र दुर्गम क्षेत्रका बिरामीले लाभ लिँदै आएका छन् । अस्पतालको सम्पर्कमा आएका बिरामीको तथ्यांक संकलन गरी पालो तोकेर उपचारको व्यवस्था मिलाइएको डा. श्रेष्ठ बताउँछन् ।

२ वर्षमा १ हजार ६ सय ५५ ले लिए डायलाइसिस सेवा, बिरामी पालो कुर्न बाध्य तर थन्किएका मेसिन मर्मतमा मेसुको छैन ध्यान
भेरी अस्पतालमा सेवा सुरू भएपछि अहिलेसम्म कुल १ हजार ६ सय ५५ बिरामीले अस्पतालबाट डायलाइसिस सेवा पाइसकेका छन् भने आकस्मिक सेवाअन्तर्गत ९४ जनाले सेवा लिएका छन् । अहिले पनि १३ जनाले नियमित रूपमा डायलाइसिस गराइरहेका छन् । तर, उपकरण अभावमा ५ जना भने पालो कुरेर बस्न बाध्य छन् । बिग्रिएका २ मेसिनलाई मर्मत गरेर सञ्चालनमा ल्याउन सकेको खण्डमा बिरामीले पालो कुर्नुनपर्ने अस्पतालको भनाइ छ । तर, अस्पतालका मेसु डा. रूपानन्द अधिकारीले मेसिनको मर्मतमा कुनै चासो नदेखाएको अस्पताल स्रोतको भनाइ छ ।

तिहारअघि नै मेसिन मर्मतका लागि प्राविधिक आउने यसअघिका मेसु अधिकारीले बताएका थिए । तर, अहिलेसम्म पनि मेसिनको मर्मत हुन सकेको छैन । मेसिन बिग्रेको लामो समय बितिसक्दा पनि अस्पताल प्रशासन मौन रहेको स्वास्थ्यकर्मीहरू बताउँछन् ।
‘बिरामीको चाप बढेकोबढ्यै छ, मेसिन बिग्रेका छन् । चलिरहेका दुईमध्ये पनि एउटाले कहिलेकाहीँ काम गर्न छाडेको छ,’ एक स्वास्थ्यकर्मीले भने, ‘मेसिन मर्मत र सुधारका लागि अस्पताल प्रशासन र व्यवस्थापन मौन छ ।’

साधन–स्रोत र अत्याधुनिक प्रविधिको अभाव खेपिरहेको डायलाइसिस युनिटमा भएका पुराना मेसिनसमेत प्रयोगका लागि मर्मत नहुँदा दर्जनौँ बिरामीले अस्पतालबाट सहज सेवा पाउन सकेका छैनन् । डायलाइसिस युनिटमा भएका सबै मेसिन प्रयोगमा ल्याउनुपर्ने, बिग्रेका मेसिन तत्काल मर्मत गर्नुपर्ने, आवश्यकताअनुसार चिकित्सक तथा अन्य जनशक्तिको दरबन्दीका लागि अस्पताल व्यवस्थापन र प्रशासनले पहल गर्नुपर्ने मिर्गौलारोगीले माग गर्दै आएका छन् ।

डाक्टरको दर्शन पाउनै मुस्किल छ : बिरामी
भेरी अस्पतालमा रहेको हेमोडायलाइसिस युनिटमा डाक्टरको दर्शन पाउनै मुस्किल हुने गरेको बिरामीको गुनासो छ । सो युनिट मेडिकल विभागअन्तर्गत राखिएपछि अस्पतालले मिर्गौलाका बिरामीको अवस्था बुझ्न केही डाक्टरलाई राउन्डमा पठाउने व्यवस्था गरेको छ । तर, युनिटमा राउन्ड चेकजाँचका लागि आउने डाक्टर ढोकाबाटै राउन्ड गरेर फर्किने गरेका छन् । यद्यपि, डा. पारसले भने यसअघि राउन्डमा आएका वेला बिरामीको छेउमा पुगेर अवस्था बुझ्ने गर्दै आएको बिरामीको अनुभव छ । अहिले उनी देशबाहिर भएकाले पनि बिरामीलाई चिकित्सकको मुख देख्न मुस्किल पर्न थालेको छ । यसका कारण मिर्गौलाका बिरामीले चिकित्सकबाट राउन्डको समयमा पाउनुपर्ने सल्लाह–सुझाब, उपचार र परामर्श पाउन सकेका छैनन् । अस्पतालमा दैनिक नयाँ बिरामी डायलाइसिसका लागि सम्पर्कमा आउने गरेका छन् ।

अस्पतालका मेसु अधिकारीले बिग्रेका मेसिन मर्मतका लागि सम्बन्धित निकायसँग छलफल भइरहेको बताउँदै आएका छन् । तर, ६ महिनाभन्दा बढी समयदेखि मेसु अधिकारीले छलफल भइरहेको बताउँदै आएको र काम भने सुरु नै हुन नसक्दा उनी आफ्नो जिम्मेवारीबाट पन्छिन खोजेको स्पष्ट हुने अस्पतालका कर्मचारीको आरोप छ ।

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै

चिकित्सकमाथि बिरामीलाई यातना दिएको आरोप, ‘बिमाकार्ड देखाउँदा उठबस गराए’

‘२० पटक उठबस गर’ यो वाक्य झट्ट सुन्दा लाग्छ, पहिले–पहिले कुनै विद्यालयको शिक्षकले गल्ती गरेबापत विद्यार्थीलाई दिने गरेको सजाय हो । तर, यहाँ उद्धृत गरिएको वाक्यांश कुनै दोषी विद्यार्थीलाई शिक्षकको निर्देशन नभई एउटा चिकित्सकको बिरामीमाथिको उर्दी हो । यद्यपि, पछिल्लो समय बढ्दै गएको चेतना र कानुनी निषेधका कारण शिक्षकले विद्यार्थीलाई समेत यस्तो निर्देशन गर्ने प्रचलन बन्दप्रायः भइसकेको छ ।

चट्याङमा परी घाइते भएका राजापुर नगरपालिका–४ बर्दियाका विकास जिसीलाई सुरुमा उपचारका लागि भेरी प्रादेशिक अस्पताल नेपालगन्जमा भर्ना गरिएको थियो । तर, त्यहाँ डाक्टरको अमानवीय व्यवहारले हैरानी खेप्नुपरेका कारण अस्पतालमा राख्न सक्ने अवस्था नभएपछि थप उपचारका लागि काठमाडौं लगिएको बिरामीका दाइ तेजेन्द्रध्वज जिसी बताउँछन् । ‘भाइलाई थप उपचारका लागि काठमाडौं लिएर आएको छु, भोलि मंगलबार टिचिङ अस्पतालमा चेकजाँचका लागि लैजान्छु,’ तेजेन्द्रले फोनसम्पर्कमा भने ।

३ फागुनमा चट्याङमा परी घाइते भएपछि उपचारका लागि भेरी प्रादेशिक अस्पताल नेपालगन्ज ल्याइएका जिसीलाई उपचारका क्रममा अस्पतालका मुटुरोग विशेषज्ञ डा. कृष्णप्रसाद अधिकारीले शारीरिक र मानसिक यातना दिएको आरोप बिरामीपक्षको छ । डा. अधिकारीकै यातनाका कारण अस्पताल बस्ने वातावरण नभएकाले १२ फागुनमा आफैँले डिस्चार्ज मागेर बिरामीलाई घर लगेको दाइ तेजेन्द्रध्वजले बताए । ‘डाक्टरलाई समाजमा भगवान्को दर्जा दिएर त्यसै रूपमा मान्दै आइएको छ,’ तेजेन्द्रले भने, ‘तर, अस्पतालमा २० पटक उठबस गराउने डा. अधिकारीको व्यवहारले त्यो विश्वासलाई झुटो साबित गरेको छ ।’

बिमाकार्डको प्रयोग गरेको बिल देख्नेबित्तिकै डा. अधिकारीले रिसाउँदै भनेको उद्धृत गर्दै तेजेन्द्रले भने, ‘चट्याङ पर्यो भनेर फ्रीमा उपचार गर्न आ’को हो ? तँ ३–४ हजारको क्याबिनमा बस्ने, के यो पनि फ्री हो ? इको फ्रीमा गराउने तेरो त्यो क्याबिनमा बस्ने के हैसियत छ ? यो सिस्टम मलाई मनपरेन ।’ डा. अधिकारीले नराम्ररी हपारेको दाइ तेजेन्द्रको गुनासो छ ।

भाइ चट्याङमा परी घाइते भएपछि तेजेन्द्रले उनलाई भेरी प्रादेशिक अस्पतालको इमर्जेन्सीमा पुर्याए । अस्पतालले उनलाई भर्ना गरेर उपचार थाल्यो । भर्ना भएको भोलिपल्ट उनी क्याबिनमा सारिए । ३–४ दिनपछि ‘मुटुको इको गर्ने’ भनेर डाक्टरले उनको पर्चामा लेखिदिएका थिए । बिरामीको स्वास्थ्यबिमा भएका कारण इको गर्दा बिमा सुविधाअनुसार उनले पैसा तिरेनन् र नियमानुसार बिमाकार्डमार्फत बिल कटाए । इकोको रिपोर्ट लगेर उनले मुटुरोग विशेषज्ञ डा. कृष्णप्रसाद अधिकारीलाई देखाए । बिमाकार्डको प्रयोग गरेको बिल देख्नेबित्तिकै डा. अधिकारीले रिसाउँदै भनेको उद्धृत गर्दै तेजेन्द्रले भने, ‘चट्याङ पर्यो भनेर फ्रीमा उपचार गर्न आ’को हो ? तँ ३–४ हजारको क्याबिनमा बस्ने, के यो पनि फ्री हो ? इको फ्रीमा गराउने तेरो त्यो क्याबिनमा बस्ने के हैसियत छ ? यो सिस्टम मलाई मनपरेन ।’ डा. अधिकारीले नराम्ररी हपारेको दाइ तेजेन्द्रको गुनासो छ ।

त्यसपछि १० फागुनमा फेरि डा. अधिकारीसँग मुटुको जाँच गराउन पुगेका बिरामी जिसीले यसपटक गाली मात्र खाएनन्, शारीरिक यातना नै बेहोर्नुपर्यो । ‘यसलाई त उहिले घर जान भनेको, अहिलेसम्म यहीँ छ ?,’ डा. अधिकारीको प्रस्तुति र व्यवहार उद्धृत गर्दै तेजेन्द्रले भने, ‘२० पटक उठबस गर, शारीरिक एक्सरसाइज होला ।’ दुई–तीनपटक उठबस गर्दैमा भाइ ढलेपछि आफूले उठाएको तेजेन्द्रले बताए । ‘यसले बहाना गरेको हो, यो डिप्रेसन भएको बिरामी हो, भन्दै जथाभावी बोलेर डा. अधिकारीले यातना दिए,’ तेजेन्द्रले भने ।

डाक्टरको दुव्र्यवहार देखेरै आफूले डिस्चार्ज मागेर १२ फागुनमा भाइलाई अस्पतालबाट घर लगेको उनले बताए । उनले डा. अधिकारीविरुद्ध अस्पताल प्रशासनमा कारबाहीका लागि निवेदनसमेत दिएको बताए । ‘मैले भोलिका दिनमा आफूले जस्तो व्यवहार अरु बिरामीले सहनुनपरोस् र सम्बन्धित डाक्टरमाथि कारबाही होस् भनेर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. रूपानन्द अधिकारीलाई निवेदन दिएँ,’ तेजेन्द्रले भने, ‘तर, उहाँले निवेदन दर्ता नगरी आफैसँग राख्नुभयो ।’ मेसु डा. रूपानन्दले पहिले सम्बन्धित डाक्टरसँग घटनाबारे बुझ्ने बताएको तेजेन्द्रको भनाइ छ ।

घटनाबारे सोधिएको प्रश्नमा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. अधिकारीले भने, ‘मैले अस्पतालभित्र रहेका बिमाअभिकर्तासँग उहाँको भेट गराइदिएको हो, बाँकी मलाई थाहा छैन । उहाँको एउटा निवेदन आएको छ, मैले दर्ता गरिसकेको छु ।’ सम्बन्धित डा. अधिकारी अहिले मुलुकबाहिर भारतको मुम्बईमा कन्फरेन्सका लागि गएकाले सत्यतथ्य बुझ्न बाँकी रहेको बताउँदै उनले भने, ‘उहाँ फर्केपछि म बुझ्नेछु ।’

बिरामीको सम्पूर्ण भरोसाको केन्द्रका रूपमा रहेका चिकित्सकको हातमै बिरामीको स्वास्थ्य हुने भएकाले चिकित्सकले आफ्ना अशोभनीय व्यवहार र आचरण सुधार्नुपर्ने उपचारका लागि अस्पताल आइपुगेका अर्का एक बिरामीले बताए ।

डाक्टरविरुद्ध मानवअधिकारवादी संस्थामा निवेदन
यसैबीच दाइ तेजेन्द्रध्वजले आफ्ना बिरामी भाइमाथि डा. अधिकारीले अमानवीय व्यवहार गरेकाले उनीविरुद्ध छानबिन गरी आवश्यक कारबाहीको दायरामा ल्याउन माग गर्दै मानव अधिकारवादी संस्था तराई मानवअधिकार रक्षक सञ्जाल (थर्ड एलायन्स) उपप्रादेशिक कार्यालय नेपालगन्जमा निवेदन दर्ता गराएका छन् ।
थर्ड एलायन्स उपप्रादेशिक कार्यालयका प्रमुख आलम खानले बिरामीको निवेदन कार्यालयमा दर्ता भएको जानकारी दिए । ‘हामी त्यस्तो अमानवीय व्यवहारको घोर निन्दा गर्दछौँ,’ खानले भने, ‘संलग्न डाक्टरमाथि अविलम्ब कारबाहीका लागि छानबिन सुरु गर्छौं ।’

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै