मधुमेहले कुन अंगमा के असर गर्छ ?

आज विश्व मधुमेह दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै छ । करिब ९० प्रतिशतमा खराब आचारका कारण मधुमेह लाग्ने चिकित्सकहरुको भनाइ छ । चिकित्सकका अनुसार मधुमेहले असर नगर्ने शरीरको कुनै पनि अंग छैन । यस सन्दर्भमा मधुमेहका प्रमुख असरबारे विभिन्न रोगका विशेषज्ञले व्यक्त गरेका धारणा यसप्रकार छ :

बढीभन्दा कम सुगर जोखिम

बुद्धिबहादुर थापा, हर्मनरोग विशेषज्ञ,पोखरा

सामान्य रूपमा रगतमा चिनीको मात्रा बढेको अवस्थालाई मधुमेह (सुगर) भनिन्छ । मधुमेह अहिले विश्वकै लागि प्रमुख जनस्वस्थ्य समस्याको हो । विश्वभर ४ सय मिलियन मानिस यो रोगबाट पीडित छन् । नेपालमा पनि प्रिभ्यालेन्स दरका आधारमा हेर्दा २० वर्षमाथिका ५ लाख ५२ हजार मानिस यो समस्याबाट ग्रस्त छन् । केही वर्षअघिसम्म नेपालमा मधुमेहको प्रिभ्यालेन्स दर ३.८ प्रतिशत थियो, अहिले ८.४ छ ।

रगतमा सुगरको मात्रा सामान्यतः ८० देखि १०० हुनुपर्छ । सुगर खाएको अवस्थामा २०० भन्दा माथि जानुहुन्न । नखाएको अवस्थामा १४० देखि १९९ सम्म भएमा प्रिडाइबेटिज अवस्था हो । खालीपेटको नमुना परीक्षणमा ११० र १२५ भए पनि मधुमेह भएको मानिन्छ । मधुमेह यस्तो समस्या हो, जसले धेरै जटिलता लिएर आउँछ । अहिले विभिन्न कारणले कम उमेरमै पनि मधुमेह देखिन थालेको छ । सुगर भएका मान्छेलाई बढी सुगरभन्दा कम सुगर बढी जोखिम हुन्छ । ४० भन्दा कम सुगर भएको अवस्थामा बेहोस नै हुने खतरा हुन्छ ।

मधुमेहले कुनै पनि अंगलाई असर गर्न छाड्दैन । तसर्थ, समयमै यसको पहिचान हुनुपर्छ । पहिचान भएपछि खाना, योग, व्यायामबाट यसलाई नियन्त्रण राख्नुपर्छ । मधुमेह भएकाले खानेकुरा सामान्य नै खाने हो । तर, बढी सुगर भएका खानेकुरा भने खान भएन । मिठाइ, चिनी खानुहुँदैन । फलफूलमा केरा, आँप खानुहुँदैन । तरकारी प्रशस्त खाँदा हुन्छ ।

७५ प्रतिशत मधुमेहीको मृत्यु मुटुरोगबाट

डा. श्यामराज रेग्मी, मुटुरोग विशेषज्ञ, चितवन मेडिकल कलेज

मधुमेहले सबैभन्दा जटिल असर मुटुमा गर्छ । मधुमेहका कारण हुने मृत्युको ७५ प्रतिशत मुटुसम्बन्धी रोगबाटै हुन्छ । मधुमेहले सबैभन्दा बढी असर मुटुका धमनीमा गर्छ । धमनीहरूमा बोसो जमाउँछ र जसले हृदयाघातको जोखिम बढाउँछ । मधुमेहसँगै उच्च रक्तचाप, कोलेस्टेरोलको समस्या पनि थपिने सम्भावना बढी हुँदा जोखिम पनि गुणात्मक रूपमा बढ्छ ।

मैले आफ्नो चिकित्सा जीवनमा २६ वर्षको युवामा समेत स्टेन्ट प्रत्यारोपण गरेको छु । महिलामा पनि कम उमेरमै मुटुरोगका जटिलता देखिन थालेका छन् । मधुमेही पुरुषलाई अन्य पुरुषको तुलनामा हृदयाघातको सम्भावना ५० प्रतिशत र महिलामा ३०० प्रतिशत बढी हुन्छ ।
मैले आफूले एन्जियोप्लास्टी गरेका बिरामी संख्याको विश्लेषण गरेर हेर्दा पनि ६० प्रतिशतभन्दा बढी मधुमेहीको एकभन्दा बढी धमनीमा समस्या छ । मुटुमा मुख्यगरी तीनवटा नसा हुन्छन् । ती नसा थुनिएको अवस्थामा स्टेन्ट (जाली) हाल्नुपर्छ । मधुमेहले नसालाई यति असर गरेको हुन्छ कि, मधुमेहीमा जाली हाल्न पनि निकै जटिल हुन्छ । हालिसके पनि परिणाम राम्रो निस्किँदैन । कम्तीमा रोग नै नलागोस् भन्नेतिर लाग्ने र लागिसकेको छ भने मुटु, मिर्गौलाको नियमित परीक्षण गर्नुपर्छ । कम्तीमा डेढ–दुई वर्षमा मुटुको परीक्षण गरिरहनुपर्छ । यति गरे मात्रै बिरामीको जीवन जीवनको गुणस्तर पनि लम्ब्याउन सकिन्छ ।

गर्भावस्थामा मधुमेह भए पछिसमेत हुन सक्छ

डा. सुनीलमणि पोखरेल, स्त्री तथा प्रसूतिरोग विशेषज्ञ, भरतपुर अस्पताल

गर्भावस्था र मधुमेह निकै अन्तरसम्बन्धित छन् । मधुमेह ३ प्रकारका हुन्छन् । टाइप–१, टाइप–२ र तेस्रो टाइप भनेको गर्भवती अवस्थामा हुने मधुमेह जेस्टेसनल डाइबेटिज हो । पहिले नै सुगर भएकी महिलाको सुरुमा मधुमेह व्यवस्थापन नगरी गर्भवती भएमा त्यसको व्यवस्थापन जटिल हुन्छ ।
गर्भवती हुनुभन्दाअघि नै मधुमेहको जाँच गरेर यदि मधुमेह देखिएमा बहुविशेषज्ञ जाँच गरेर गर्भ रहन दिएमा राम्रो नतिजा दिन सकिन्छ । मधुमेह छ भने उच्च रक्तचाप हुने, बच्चाको पेटमै मृत्यु हुने, गर्भपतन हुने जोखिम पनि रहन्छ । परिवारमा पहिल्यै सुगर भएका, पहिलो बच्चा ठूलो भएर डेलिभरी गरेका महिलामा दोस्रो गर्भावस्थामा मधुमेह हुने जोखिम बढी हुन्छ ।

सबै महिलामा जुनसुकै महिना मधुमेह देखिन सक्ने भएकाले महिलालाई प्रत्येक महिना ५० ग्राम सुगर दिएर जाँच गरिन्छ । मधुमेह भइहालेमा यसले जोखिम लिएर आउँछ । गर्भवती अवस्थामा मात्रै देखिने मधुमेह धेरैमा पछि नियन्त्रण भएर जाने भए पनि जीवनकालमा मधुमेह हुने जोखिम भने यस्ता महिलामा अरूमा भन्दा ५० प्रतिशत बढी हुन्छ । खानामा सन्तुलन, व्यायाम र तनाव नियन्त्रण गरे सुगर घटाउन सकिन्छ ।

नसा प्रणालीको दुस्मन

डा. जगदीशप्रसाद अग्रवाल, नसारोग विशेषज्ञ

मनिसका शरीमा दुईखाले नसा हुन्छन्– रक्तसञ्चार गर्ने नसा र चेतना सञ्चार गर्ने नसा ।
दुवै नसाका आ–आफ्नै प्रणाली हुन्छन् । चेतना सञ्चार गर्ने प्रणालीमा ब्रेन, मेरुदण्डदेखि खुट्टासम्म जोडिएको हुन्छ । सुँघ्ने, नानी चलाउने यस प्रणालीका उदाहरण हुन् । मधुमेह नसा प्रणालीको दुस्मन हो । यसले धमिराले काठ भित्रभित्रै सिध्याएजसरी नै सबै अंगलाई सिध्याउँछ ।

यो एकप्रकारको दुस्मन हो । यसलाई नियन्त्रणमा राख्नुपर्छ । खासै ठूलो लक्षण देखिन्न, तर पनि डाइबेजिट हुँदा हातखुट्टा झम्झमाउनु कमन लक्षण हो । मधुमेहले मस्तिष्काघात, पक्षाघात, अपांगतासमेत गराउँछ । मधुमेह छ भने, शल्यक्रिया गर्दा संक्रमणको जोखिम हुन्छ । यसले ब्रेनमा पानी जम्मा गराएर बेहोस बनाउँछ । विस्मृति पनि ल्याउँछ । मधुमेह रोगभन्दा पनि लक्षण हो, जसलाई सन्तुलिन राख्न सक्यो, नियन्त्रणमा राख्न सक्यो भने स्वस्थ जीवनशैली अपनाउन सकिन्छ, अन्यथा मृत्युको कारक बन्छ ।

बारम्बार संक्रमण हुँदा क्यान्सरको जोखिम

डा.मदन पिया क्यान्सर रोग विशेषज्ञ

डाइबेटिजले क्यान्सर गर्छ भन्ने प्रमाणित भइसकेको छैन, तर पनि यसको क्यान्सरसँग सम्बन्ध छ । स्वास्थ्यसम्बन्धी सूचना प्रणाली राम्रो भएका देशहरूको तथ्यांक हेर्दा मधुमेह भएकामध्ये २७ प्रतिशत महिलालाई क्यान्सर भएको छ । त्यस्तै, मधुमेह भएका पुरुषमा १९ प्रतिशतलाई क्यान्सर भएको छ ।

मानिसका विभिन्न अंगमा क्यान्सर हुन्छ । उमेर ढल्किँदै जाँदा क्यान्सरको जोखिम बढी हुन्छ । मधुमेहमा पनि बारम्बार संक्रमण हुँदा क्यान्सरको जोखिम हुन सक्छ । मधुमेहले डिएनए चाँडै ड्यामेज गर्ने हुनाले पनि क्यान्सरको जोखिम बढी हुन्छ ।

नियमित परीक्षण गरेर मिर्गौला फेल हुने जोखिम घटाउन सकिन्छ

डा. अरुण सेढाईं, मिर्गौलारोग विशेषज्ञ, चितवन मेडिकल कलेज

मिर्गौला शरीरमा उत्सर्जन हुने विकारजन्य पदार्थलाई छानेर फाल्ने अंग हो । शरीरमा यसको ठूलो भूमिका छ । जनसंख्याको ८.४ प्रतिशतलाई मधुमेह छ भन्ने तथ्यांक छ । दीर्घ रुपमा मिर्गौला रोग लागेका ४२-४३ लाखमध्ये ६ लाखलाई मधुमेहका कारण मिर्गौलारोग लागेको अनुमान छ । मधुमेहजस्तै मिर्गौला रोगको पनि सुरुमा लक्षण हुन्न । बढी पिसाब लाग्ने, निद्रा नलाग्ने, जिउ सुन्निँदै आउने समस्या हुन्छन् । पहिला मिर्गौलाले पिसाबमा प्रोटिन फाल्छ । पहिलो उपाय पिसाब जाँच नै हो । मधुमेहीले त तीन–चार महिनामा एकपटक पिसाब जाँच्नैपर्छ । वर्षको एकपटक क्रिएटिन जाँच्नुपर्छ ।

समयमै बिग्रन लागेको पत्ता लाग्यो भने मिर्गौलाले कामै नगर्ने अवस्था छिट्टै आउनबाट रोकेर केही वर्ष लम्ब्याउन सक्छौँ । ३ वर्षमा फेल हुनेलाई १५ वर्ष लम्ब्याउन सकिन्छ । अहिले पनि हामी धेरैमा मधुमेहको औषधि खान नपरे हुन्थ्यो भन्ने सोच देखिन्छ । औषधि खाए पनि इन्सुलिन लिन नपरे हुन्थ्यो भन्ने धारणा पाउँछु । सुरुमा औषधि दिनुपर्छ । औषधिले प्याङक्रियाजलाई निचोरेर इन्सुलिन निकाल्छ । कुनै वेला यस्तो आउँछ, प्याङक्रियाजबाट इन्सुलिन निकाल्न छाड्छ, त्यसपछि इन्सुलिन नै दिनुपर्छ ।

(कात्तिक १७ गते चितवनमा आयोजित लायन्स स्वास्थ्य दर्पण मधुमेह विशेष टेलिभिजन कार्यक्रमका अवसरमा व्यक्त विचारको सम्पादिन अंश)

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै