गन्तव्य बुढासुब्बा-धागो बाँध्दै रमाउँदै

युवाहरूमाझ प्रेमसम्बन्ध प्रगाढ हुने भनाइले धरानको बुढासुब्बा मन्दिर चर्चित छ । देशका विभिन्न ठाउँबाट प्रेमी–प्रेमिका आफ्नो नाम बाँसमा कुँद्न र बाँसको फेदमा ध्वजा बाँधेर मनोकांक्षा पूरा गर्न बुढासुब्बा आउने गर्छन् । तर, अहिले भने बाँसमा नाम लेख्न प्रतिबन्ध गरिएको छ ।
बुढासुब्बामा बाँसमा ध्वजा र धागो बाँध्नेको कमी छैन । त्यहाँ पुग्नेले मनोकामना पूरा हुने विश्वासमा बाँसको तलको भागमा बाँसै नदेखिने गरी ध्वजा र धागो बाँधेको देखिन्छ ।

धरानबजारबाट ट्याम्पु रिजर्भ गरेर १५ मिनेटको उकालीमा विजयपुरमा रहेको बुढासुब्बा मन्दिर पुग्न सकिन्छ ।
बुढासुब्बा को थिए भन्ने कुरा हालसम्म स्पष्ट छैन । कसैकसैले यसलाई बुद्धिकर्ण राईको त कसैले बुढासुब्बाको समाधिस्थल मानेका छन् । यहाँका पुजारी मगर जातिका रहेकाले यसलाई मगर भारदारको समाधि पनि मान्ने गरिन्छ ।

बुढासुब्बा स्वयम् भगवान् नभएर उनी केवल एक आमसिकारी भएको बताइन्छ । बुढासुब्बा र उनकी बहिनी सुब्बिनी पहाडमा गुलेली र मट्यांग्राले सिकार खेल्ने गर्थे । एकदिन भूलवश उनीहरूले कागलाई गुलेली ताक्दा बाँसको टुप्पोलाई मट्यांग्राले लाग्यो । त्यस दिनदेखि बाँसको टुप्पो बढेन र त्यसपछि विजयपुरमा कहिल्यै काग आएनन् । त्यसका कारण बुढासुब्बाले सिकार खेल्न छोडे र आफ्नो गुलेलीलाई माटोमा पुरिदिए ।
त्यसपछि बुढासुब्बाले त्यहीँ ध्यान गरे, जहाँ अहिले बुढासुब्बाको मन्दिर छ । छेउमै छ, उनकी बहिनी सुब्बिनीको मन्दिर पनि ।

बुढासुब्बाको मन्दिरमा आफ्नो भाकल, प्रेम तथा वैवाहिक सम्बन्ध बनाउन देशका विभिन्न भागबाट भक्तजन आउने गरेका छन् । बुढासुब्बा मन्दिरमा प्रत्येक शनिबारका दिन ठूलो भिडभाड हुने गर्छ । उक्त दिन बुढासुब्बालाई कुखुराका भाले र सुँगुरको बलि दिने गरिन्छ । आपद्–विपद्, दुःख, बिमार पर्दा बुढासुब्बालाई सम्झिएर कुखुरा, सुँगुर आदि भाकल गरेमा मनोकामना सिद्ध हुन्छ भन्ने विश्वासमा किरात धर्मावलम्बीले मात्र नभएर अन्यले समेत भाकल गर्ने प्रचलन छ ।

इतिहासमा लेखिएअनुसार बुढासुब्बा मन्दिर विजयपुरको किराती अधिराज्यको एक भाग हो । अचम्मको कुरा के छ भने बुढासुब्बा मन्दिरमा भाले कुखुराको मात्र बलि चल्छ । साथै, सँगै रहेको बहिनी सुब्बिनीको मन्दिरमा भने पोथी कुखुराको मात्र बलि चल्ने गरेको छ ।
प्रेम र धर्मका अलावा बुढासुब्बाको आफ्नै इतिहास छ । विजयपुर किराती राज्यको राजधानी भएको र त्यहाँका राजा विजयनारायण राई रहेको इतिहासमा पाइन्छ । तर, केही इतिहासविद् भने राजा विजय सेनको राज्यकालपछि मात्र विजयपुर नामकरण हुन गएको बताउँछन् ।

 

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै