आइओएम डिनमाथि कार्यकक्षमै दुर्व्यवहारका अभियुक्त अझै प्रहरीको हात लागेनन्, फ्याकल्टी डाक्टरले थाले आन्दोलन

चिकित्साशिक्षा अध्ययन संस्थान (आइओएम) का डिन प्रा.डा. जगदीशप्रसाद अग्रवाललाई झुक्याएर कार्यकक्षमै प्रवेश गरी अमानवीय दुर्व्यवहार गर्ने अभियुक्तलाई प्रहरीले अझै पक्राउ गर्न सकेको छै्रन । आइतबार पत्रकार हुँ भन्दै अन्तर्वार्ताका लागि दिउँसो २ बजेको समय लिएर डिनको कार्यकक्षमा प्रवेश गरेका एक युवाले केहीबेर कुरा गरेर डा. अग्रवालमाथि कालो मसी छर्किएर भागेका थिए ।

मर्यादित पदमा बसेका मर्यादित व्यक्तित्वमाथि कार्यकक्षमै प्रवेश गरी दिनदहाडै अपमानजनक तथा अमानवीय व्यवहार गर्ने अभियुक्तलाई घटनाको ४ दिन बितिसक्दा पनि प्रहरी प्रशासनले नियन्त्रणमा लिन नसकेपछि आइओएमका फ्याकल्टी डक्टरहरू आन्दोलनमा उत्रिएका छन् । आइओएमका चिकित्सकहरूको संगठन फ्याकल्टी डाक्टर्स एसोसिएसनले घटनाको भोलिपल्ट सोमबार विज्ञप्तिमार्फत डा. अग्रवालमाथि भएको दुर्व्यवहारको निन्दा गर्दै दोषीलाई ४८ घण्टाभित्र कारबाही गर्न सरकारसमक्ष माग गरेको थियो । निर्धारित समयसीमाभित्र दोषीलाई पक्रिएर कारबाही प्रक्रिया अघि नबढाएमा सम्पूर्ण चिकित्सकहरू आन्दोलनमा उत्रिने चेतावनी एसोसिएसनले दिएको थियो । तर, सिसिटिभीमा कैद भएका अभियुक्तलाई घटनाको ७२ घण्टा बितिसक्दा पनि नियन्त्रणमा लिन प्रशासन असमर्थ भएपछि फ्याकल्टी डाक्टरहरू आन्दोलनमा उत्रिएका हुन् ।

दोषीलाई कारबाही गर्न प्रशासनलाई दबाब दिन पहिलो चरणमा फ्याकल्टी डाक्टरहरू मंगलबार कालोपट्टी बाँधेर अस्पताल प्रांगणमा भेला भएका छन् । तर, प्रशासनले दोषीलाई यथाशीघ्र पक्राउ नगरेमा तथा कारबाहीका लागि ठोस कदम नचालेमा कडा रूपमा प्रस्तुत हुने एसोसिएसनले चेतावनी दिएको छ । चिकित्सकको सुरक्षासँग जोडिएको विषय भएकाले दोषीलाई कारबाही गर्ने सवालमा आलटाल भएमा आन्दोलनका कठोर कार्यक्रम ल्याउन बाध्य हुने एसोसिएसनको भनाइ छ ।

पछिल्लो समय उपचार तथा अन्य प्रशासनिक विषयलाई लिएर चिकित्सक, स्वास्थ्यकर्मी, स्वास्थ्य प्रशासक तथा स्वास्थ्यसंस्थामाथि आक्रमण गर्ने प्रवित्ति मौलाइरहेको छ । देशभरि नै एकपछि अर्को स्वास्थ्यकर्मीमाथि आक्रमणका घटना बढिरहेका छन् । स्वास्थ्यजस्तो संवेदनशील क्षेत्रमा मौलाइरहेको यसकिसिमको विकृतिले स्वास्थ्य सेवाप्रवाहमै समस्या उत्पन्न गर्ने देखिएपछि नेपाल चिकित्सक संघले लामो समयदेखि ‘जेल विदाउट बेल’को कानुनी प्रबन्ध गर्न माग गर्दै आएको छ । यो प्रावधानले कानुनी रूप लिएमा स्वास्थ्यकर्मी तथा स्वास्थ्यसंस्थामाथि आक्रमण गर्नेलाई विनाधरौटी जेलचलान गर्न सकिनेछ । यसले आक्रमणका घटनालाई निरुत्साहित गर्न ठूलो भूमिका खेल्ने चिकित्सक संघको विश्वास छ ।

शेरबहादुर देउवा सरकारका पालामा स्वास्थ्यकर्मी तथा स्वास्थ्यसंस्थाको सुरक्षासम्बन्धी ऐन तथा नियमावलीमा संशोधनमार्फत विनाधरौटी जेलचलानको प्रावधान समेट्ने सहमति चिकित्सक संघ र सरकारबीच भएको थियो । सम्झौतासँगै कानुन मन्त्रालयबाट ऐन संशोधनको प्रस्ताव पारित भइसकेर प्रक्रिया अघि बढाइए पनि हाल उक्त प्रस्ताव मन्त्रिपरिषद्मा अड्किएर बसेको संघका महासचिव डा. लोचन कार्की बताउँछन् । चिकित्सक संघले डा. अग्रवालको घटनामा पनि दोषीलाई विनाधरौटी जेलचलानको माग गरिसकेको छ ।

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै