शिवनगर स्वास्थ्यचौकीमा २ वर्षदेखि थन्कियो नयाँ एक्स–से मेसिन, प्राविधिक जनशक्ति अभावले प्रयोगविहीन

भरतपुर महानगरपालिका–१४ स्थित शिवनगरको प्राथमिक स्वास्थ्यचौकीमा ल्याइएको नयाँ एक्स–रे मेसिन प्रयोगविहीन अवस्थामा थन्किएको छ । दुई वर्षअघि बिमा कार्यक्रमबाट आएको एक्स–रे मेसिन चलाउने प्राविधिक नहुँदा एकपटक पनि सञ्चालनमा नआई मेसिन प्रयोगविहीन बनेको हो । स्वास्थ्यचौकीमा एक्स–रे सञ्चालन गर्ने रेडियोग्राफरको दरबन्दी नहुँदा मेसिन सञ्चालनमा ल्याउन नसकिएको प्राथमिक स्वास्थ्यचौकीका सिनियर अहेव हरीशचन्द्र न्यौपानेले जानकारी दिए ।

‘एक्स–रे मेसिन आएको दुई वर्ष भयो, चलाउने प्राविधिक नभएर त्यत्तिकै छ,’ न्यौपानेले भने, ‘सरकारले मेसिन सञ्चालनका लागि दरबन्दी नदिँदा समस्या भएको हो ।’ एक्स–रे सञ्चालन गर्न भनेर शिवनगर प्राथमिक स्वास्थ्यचौकी विकास समितिले एकजना कर्मचारीलाई तालिम लिन पठाएको थियो । तर, एक्स–रे मेसिन पुरानो मोडलको हुँदा सञ्चानल गर्न समस्या भएको उनले बताए । मेसिनलाई १० लाख रूपैयाँ परे पनि उपयोग हुन नसक्दा आफूलाई दुःख लागेको उनको भनाइ छ ।

स्वास्थ्यचौकीमा नयाँ मेसिन ल्याउनुअघि पनि एक्स–रे मेसिन थियो । तीन वर्षअघिसम्म एकजना अहेवले तालिम लिएर एक्स–रे मेसिन चलाउँदै आएका थिए । उनी सरुवा भएपछि हालसम्म एक्स–रेको काम नभएको न्यौपानेले बताए । यसबाट स्वास्थ्यचौकीका सेवाग्राहीले सेवाविहीन हुँदै फर्कनुपर्ने बाध्यता छ । स्थानीय तहले एक्स–रे मेसिन सञ्चालनका लागि कुनै पहल नथालेको उनको भनाइ छ ।

तीन वर्षअघि एउटा मात्र मेसिन हुँदा सेवा दिइँदै आएको मा मेसिन थप गरेपछि प्राविधिक अभावमा दुवै मेसिन सञ्चालनमा नआएको भरतपुर–का वडाध्यक्ष ओमप्रकाश पौडेलले जाकारी दिए । ‘यहाँ रेडियोग्राफरको दरबन्दी छैन । हामीले तलब खुवाउनका लागि स्रोत पहिचान गर्न सकेनौँ,’ शिवनगर प्राथमिक स्वास्थ्यचौकी विकास समितिका अध्यक्षसमेत रहेका पौडेलले भने, ‘६ वर्षअघि सञ्चालन गरेको एक्स–रे सेवा पनि अहिले आएर दिन सकेनौँ ।’

पुरानो मेसिन पनि सञ्चालन नहुँदा बिग्रन लागेको उनले बताए । ‘यो चाइनिज प्रविधिको एक्से–रे रहेछ । यसलाई सञ्चानल गर्न ३० देखि ४० हजार रूपैयाँ लाग्दो रहेछ,’ उनले भने, ‘स्वास्थ्यचौकीको बिजुलीको पैसा तिर्नसमेत हामीसँग बजेट हुँदैन । अब कसरी यो सेवा दिने ?’ वडाले यसका लागि भरतपुर महानगरपालिका प्रमुख, प्रशासकीय अधिकृतलाई पनि जानकारी दिएको उनले बताए ।

स्वास्थ्यचौकीबाट फूलबारी, पार्वतीपुर, गीतानगर, पटिहानीसम्मका बिरामीले सेवा लिँदै आएका छन् । तर, एक्स–रेसमेत सञ्चालन हुन नसक्दा बिरामी भरतपुर आउन बाध्य छन् । ‘हामीलाई अन्य सेवा त राम्रै छ । विगतमा नभएको इसिजी सेवा पनि हामीले पाएका छौँ,’ स्वास्थ्यजाँच गराउन आएकी शिवनगरकी सीता चापागाईंले भनिन्, ‘विगतमा लिँदै आएको एक्स–रे सेवा नपाएर बिरामीले भरतपुर जानुपरेको अवस्था छ ।’

अस्पतालका रूपमा बढुवा हुन लागेको यस प्राथमिक स्वास्थ्यचौकीमा दैनिक एक सय ३० जनाभन्दा बढी बिरामी आउने गर्छन् । उनीहरूलाई एक्स–रे सेवा दिनका लागि बाहिर पठाइने गरेको प्राथमिक स्वास्थ्यचौकीका प्रमुख विवेकराज पौडेलले जानकारी दिए ।

स्वास्थ्यकेन्द्रबाट इसिजी, खकार परीक्षण, मलेरिया, टिबी, कुष्टरोग, दिसा, पिसाब तथा सामान्यकिसिमका रक्तपरीक्षणसमेत गर्ने गरिएको छ ।

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै