चितवनमा विषादीपरीक्षक आधुनिक प्रयोगशाला

चितवनमा खाद्यवस्तुमा विषादी परीक्षण गर्ने आधुनिक प्रयोगशालाका लागि आवश्यक उपकरण भित्र्याइएको छ । कृषि ज्ञान केन्द्र चितवनले नेपाली किसानले उत्पादन गरेका र आयात गरिएका तरकारी, फलफूललगायत खाद्यवस्तुमा विषादीको मात्रा परीक्षण गर्न प्रदेश सरकारको सहयोगमा प्रयोशाला स्थापनाको काम अघि बढाएको हो । प्रदेश ३ कृषि मन्त्रालयको सहयोगमा कृषि ज्ञान केन्द्रमा सञ्चालन गर्ने गरी विषादी मापन प्रयोगशालाका उपकरणहरू ल्याइएको केन्द्रका प्रमुख सुधीर श्रेष्ठले जानकारी दिए ।

‘ताजा तरकारी र फलफूलमा अधिक मात्रामा विषादीको प्रयोग भएको छ, जसले मानव स्वास्थ्यमा असर पुग्ने गरेको छ । यसैले सरकारले तरकारी आउने नाका र संकलन हुने केन्द्रमा तरकारीको विषादी मापन गर्ने प्रयोगशाला प्रयोग गर्ने नीति ल्याएको छ,’ श्रेष्ठले भने, ‘त्यसैअनुरूप कृषि ज्ञान केन्द्रमा पनि विषादी मापन प्रयोगशाला स्थापना गर्ने गरी आवश्यक मापन उपकरण ल्याइएको हो ।’

प्रदेश सरकारले ३५ लाख लगानीमा विषादी परीक्षण गर्ने आधुनिक प्रयोशालाका उपकरणहरू चितवनमा ल्याएको हो । प्रयोगशाला सञ्चालनका लागि प्रदेश सरकारले कृषि ज्ञान केन्द्रका तीनजना प्राविधिकलाई तालिम दिइरहेको छ । बाँकी दुईजना प्राविधिक प्रदेश मन्त्रालयले नियुक्त गर्ने भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय प्रदेश ३ का प्रवक्ता निर्मल गदालले जानकारी दिए ।

प्रयोगशाला सञ्चालनका लागि अहिले केन्द्रमा फर्निचर व्यवस्थापनको काम सुरु भइसकेको छ । यसलाई छिट्टै सञ्चालन गर्ने तयारीमा प्रदेश सरकार छ । स्थानीय तहले माटो परीक्षण गर्ने र विषादीको नियमन कृषिका कर्मचारीले गर्ने गरी कार्ययोजना बनाइएको गदालले बताए ।

प्रयोगशालाका लागि भित्र्याइएका उपकरणले खाद्यवस्तुमा भएको कार्बामेट र अग्र्यानोफोस्फेट नामक दुई समूहका विषादीको अवस्था पत्ता लगाउन सहयोग गर्ने प्रवक्ता गदालले जानकारी दिए । उनका अनुसार विषादीका धेरै समूहमध्ये अधिकतम प्रयोग हुने अग्र्यानोफोस्फेट समूहका हुन् । यद्यपि, यो उपकरण र प्रयोगशालाबाट कुन विषादीको कति प्रतिशत प्रयोग भएको छ भन्ने जानकारी भने प्राप्त गर्न सकिँदैन ।

‘कुनै खाद्यवस्तु खान योग्य छ कि छैन भनेर प्रयोगशाला परीक्षणबाट मापन गर्न सकिन्छ,’ उनले भने, ‘विषादीको मात्रा प्रतिशतमा नदेखाए पनि ३५ ‘इन्हिबिसन’सम्म मापन भएका खाद्यवस्तु खानयोग्य मानिन्छ भने ४५ प्रतिशतभन्दा माथिका वस्तुहरू नष्ट नै गर्नुपर्ने हुन्छ ।’ तर, केही दिन राखेर पुनः परीक्षण गर्दा ४५ प्रतिशतभन्दा तल घटेको अवस्थामा भने उक्त वस्तु केही दिनपछि खान मिल्ने उनले बताए ।

जनस्वास्थ्यलाई ध्यानमा राखेर प्रदेश सरकारले द्रुतमार्गबाट प्रयोगशाला स्थापना गरी सञ्चालनमा ल्याउन लागेको उनले बताए । प्रदेश सरकारले विषादी अवशेष दु्रत विश्लेषण एकाइ स्थापना गरेर प्रयोगशाला सञ्चालनमा ल्याउन लागेको हो ।

प्रदेश सरकारले जनस्वास्थ्यलाई ध्यान दिँदै प्रयोगशाला स्थापनामा जोड दिएको थियो । सरकारले कार्यविधि बनाएरै प्रदेशमा विषादी नियन्त्रण गर्न लागेको छ ।

चितवनमा प्रयोगशाला भित्रिएसँग उपभोक्ता तथा व्यापारी पनि उत्साहित भएका छन् । चितवन जिल्लामा विषादी मापन यन्त्र भित्रिएको छ । आशा गरौँ, विषादीयुक्त तरकारी खाइरहेका हामी चितवनका आमउपभोक्ताले प्रयोगशाला आएपछि खानयोग्य तरकारी मात्र प्रयोग गर्न पाउँनेछौँ,’ फलफूल तथा तरकारी बजार महानगरका प्रबन्धनिर्देशक स्थिरप्रसाद धितालले भने, ‘प्रयोगशालालाई प्रयोगमा ल्याउँदा बजार अर्थात् उत्पादन क्षेत्रमा राख्नुपर्दछ ।’

दैनिक उपभोग्य फलफूल तथा तरकारीमा विषादीको अत्यधिक प्रयोग भएकाले त्यसलाई नियन्त्रण गर्न किसानलाई विषादी नियन्त्रणसम्बन्धी चेतना दिनुपर्ने उनले बताए ।

प्रदेश सरकारले चितवनसहित तरकारी संकलन हुने प्रमुख जिल्ला मकवानपुर, नुवाकोट, काभ्रेपलाञ्चोक र ललितपुरमा पनि विषादी मापन प्रयोगशाला स्थापना गर्न लागेको छ । मन्त्रीस्तरबाट प्रदेश ३ लाई विषादीमुक्त प्रदेश बनाउनका लागि नीति पनि ल्याउन लागेको मन्त्रालयले जानकारी दिएको छ ।

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै

प्रयोगशाला कर्मचारीलाई २५ प्रतिशत जोखिम भत्ता

फाइल तस्बिर : स्वास्थ्य मन्त्रीलाई ध्यानाकर्षण गराउँदै मेलान पदाधिकारी

सरकारले प्रयोगशालामा कार्यरत कर्मचारीलाई प्रयोगशालाजन्य जोखिम भत्ता दिने भएको छ । विभिन्न रोगको संक्रमण हुनसक्ने प्रयोगशालामा कार्यरत कर्मचारीलाई विशेष भक्ता उपलब्ध गराउनेगरी मन्त्रीपरिषद्ले निर्णय गरेको जानकारी सरकारका प्रवक्ता गोकुल बाँस्कोटाले दिए ।

प्रयोगशालाकर्मीहरुको साझासंस्था मेडिकल ल्याबेरेटोरी एशोसिएसन अफ नेपाल (मेलान) ले लामो समयदेखि जोखिम भक्ताको माग गर्दै आएको थियो । जनस्वास्थ्य २०७५ ले पनि जोखिमभत्ताको व्यवस्था गरेको छ ।

सरकारले जारी गरिसकेको प्रयोगशाला जोखिमभक्ता व्यवस्थापन निर्देशिकाअनुसार प्रयोगशालामा कार्यरत कर्मचारीले अब सुरु तलबमा २५ प्रतिशत भत्ता पाउनेछन् । त्यसैगरी सेवा अवधिभर १० वर्षसम्म प्रयोगशालामा काम गरेर सेवा निवृत हुँदा समेत निवृतिभरणमा २५ प्रतिशत भत्ता उपलब्ध गराइनेछ । त्यतिमात्रै होइन् प्रयोगशालामा काम गरेरै कारण बिरामी परेमा १० लाख उपचार खर्च र प्रयोगशालामा काम गर्दैकै समयमा दुर्घटना भइ मृत्यु भएमा १० लाख क्षतिपुति पाउँनेछन् ।

लामो समयदेखि निर्देशिका बनेपनि जोखिमयुक्त ठाउँमा कार्यरत कर्मचारीले हेल्थ ह्याजाड भत्ता नपाएको सन्दर्भमा मन्त्रीपरिषद्ले यस्तो निर्णय गरेको हो ।

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै

पूरै नगरपालिकामा छैन ल्याबसेवा, अनुमानका भरमा उपचार

संघीयताको कार्यान्वयनसँगै गाउँमै सिंहदरबार पुगेको भनिए पनि अर्घाखाँचीको भूमिकास्थान नगरपालिकामा ल्याबसेवा पुगेको छैन । नगरपालिकाभित्रका स्वास्थ्यसंस्थामा सेवा उपलब्ध नहुँदा नगरवासी ल्याबसेवा लिन जिल्ला सदरमुकाम जानुपर्ने बाध्यता छ ।

स्वास्थ्यसंस्थामा ल्याबसेवा छैन, न त नगरपालिकाले चालू आर्थिक वर्षमा सेवा सुरु गर्न बजेट नै विनियोजन गरेको छ । नगरपालिकामा १० वटा वडा छन्, जसमा ३२ हजार ९ सय ७९ जनसंख्याको बसोवास छ । नगरपालिकामा ७ वटा स्वास्थ्यचौकी, ३ वटा सामुदायिक स्वास्थ्य एकाइ गरी संख्यात्मक हिसाबले १० वटा स्वास्थ्यसंस्था रहे पनि कुनैमा पनि ल्याबसेवा उपलब्ध छैन । ल्याबसेवा नहुँदा रोग के कारणले लागेको हो, संक्रमण केबाट भएको हो लगायत कारण पत्ता लगाउन कठिन भएको स्वास्थ्यकर्मीको भनाइ छ । रोग निदानमै समस्या भएपछि उपचार प्रभावकारी नहुने र यदाकदा गलत उपचारसमेत हुन सक्ने खतरा उनीहरु औँल्याउँछन् ।

नगरपालिकाका स्वास्थ्यसंस्थामध्ये खिल्जी स्वास्थ्यचौकी र धारापानी स्वास्थ्यचौकीमा सुरक्षित सुत्केरी सेवा र सुरक्षित गर्भपतन सेवा उपलब्ध छ । गाउँपालिकाले ढाकावाङ स्वास्थ्यचौकी र धनचौर स्वास्थ्यचौकीमा सुरक्षित सुत्केरी सेवा सुरु गर्दै छ ।

नगरपालिकाका ३ वटा सामुदायिक एकाइमध्ये धारापानीको एकाइ केन्द्रीय कार्यक्रमअन्तर्गत स्थापना गरिएको हो भने ढाकावाङ र नुवाकोटमा नगरपालिकाको आन्तरिक बजेटबाट सुरु गरिएको हो । ढाकावाङमा नगरपालिकाका २ वटा वडामध्ये एउटामा स्वास्थ्यचौकी छ भने अर्को वडामा सामुदायिक स्वास्थ्य एकाइमार्फत सेवा दिइएको हो ।

नगरपालिकाका स्वास्थ्यसंस्थामध्ये खिल्जी स्वास्थ्यचौकी र धारापानी स्वास्थ्यचौकीमा सुरक्षित सुत्केरी सेवा र सुरक्षित गर्भपतन सेवा उपलब्ध छ । गाउँपालिकाले ढाकावाङ स्वास्थ्यचौकी र धनचौर स्वास्थ्यचौकीमा सुरक्षित सुत्केरी सेवा सुरु गर्दै छ ।

नगरका ११ वटा गाउँ स्वास्थ्यसंस्थाबाट टाढा भए पनि ती गाउँमा गाउँघर क्लिनिक राखिएको नगरपालिकाको स्वास्थ्य सहसंयोजक सिद्धार्थ आचार्यले जानकारी दिए । ती गाउँघर क्लिनिकबाट महिनाको एकदिन मात्र स्वास्थ्यसेवा दिइएको उनले बताए । उनका अनुसार नजिकका स्वास्थ्यसंस्थाबाट अहेव, एचए र अनमी पुगेर सेवा प्रदान गर्ने गरेका छन् । नगरपालिकाको स्वास्थ्य शाखाका अनुसार नगरपालिकामा ११ वटा गाउँघर क्लिनिक र २९ वटा खोपकेन्द्र सञ्चालनमा छन् ।

नगरपालिकाको स्वास्थ्य कार्यक्रमका लागि ससर्त कार्यक्रम बजेट २ करोड २० लाख ४३ हजार र निःसर्त कार्यक्रम बजेट ३२ लाख रुपैयाँ छुट्याइएको छ । स्वास्थ्यसंस्थामा औषधि खरिदका लागि ससर्त बजेट १० लाख ५० हजार र निःसर्त बजेट १० लाख गरी २० लाख ५० हजार रुपैयाँ छ ।

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै