स्वास्थ्यकर्मीलाई कोरोना संक्रमणबाट जोगाउन यसरी काम गर्दैछन् अस्पतालहरू

नेपालमा कोरोनाको कहर बढ्दै जाँदा अग्रमोर्चामा खटिने चिकित्सक, नर्स र स्वास्थ्यकर्मी संक्रमित हुन थालेका छन्। १० दिनमात्रै देशभरका २ चिकित्सक, ६ नर्स र ३ स्वास्थ्यकर्मी संक्रमितको पुष्टि भइसकेको छ।

अस्पतालहरूले स्वास्थ्यकर्मीलाई कोरोना संक्रमणबाट जोगिनका लागि विभिन्न उपायहरू अपनाउन थालेका छन्। नेपालमा १० दिनयता संक्रमण दर ह्वातै बढेको छ। संक्रमण बढ्दै गएसँगै कोरोना रोकथाम तथा नियन्त्रण सलंग्न हुने स्वास्थ्यकर्मी पनि संक्रिमत हुन पुगेका हुन्।

अधिकांस कोरोना संक्रमित लक्षणविहीन अर्थात सामान्य अवस्थामा नै रहेका छन्। कोरोना संक्रमणको उपचारमा खटिने स्वास्थ्यकर्मीलाई संक्रमणबाट जोगिन अस्पतालहरूले कसरी काम गरिरहेका छन्।

कोसी ‘कोभिड १९’ अस्पताल : संक्रमण स्वास्थ्यकर्मी नै अन्य संक्रमितको हेरचाहमा

व्यक्तिगत सुरक्षा उपकरण (पिपिई) बिना कोसी ‘कोभिड १९’ अस्पतालले कुनै पनि व्यक्तिलाई प्रवेश गर्न दिएको छैन। प्रत्येक आइसोलेसन कक्षमा सिसी क्यामरा जडान गरिएको छ।

चौबिसै घण्टा स्वास्थ्यकर्मी सिसी क्यामराबाट बिरामीको निगरानी गरिएको अस्पतालकी मेडिकल सुपरिटेन्डेन्ट डाक्टर संगीता मिश्र बताउँछिन्। ‘स्वास्थ्यकर्मीले छुट्टै बाहिरी कक्षबाट सिसी क्यामराबाट निगरानी गरिरहनुभएको हुन्छ,’ डा. मिश्रले भनिन्, ‘केही समस्या आइहालेमा एकजना स्वास्थ्यकर्मी पिपिई लगाएर तयारी अवस्थामा रहनुहुन्छ।’

स्वास्थ्यकर्मीको ड्युटी लिस्ट बनाएर, दैनिक कस्ले कतिचोटि राउन्ड गर्ने व्यवस्था मिलाइएको छ। सकेसम्म संक्रमित व्यक्तिबाट स्वास्थ्यकर्मीलाई संक्रमण नसरोस् भनेर सामजिक दूरी अपनाउने गरिएको डा. मिश्रको भनाइ छ। संक्रमित बिरामीलाई केही समस्या भने सम्पर्कमा आउनका लागि फोनको व्यवस्था गरिएको छ। समय–समयमा स्वास्थ्यकर्मी र संक्रमित व्यक्तिबीच सम्पर्क भइरहन्छ।

अस्पतालहरूले स्वास्थ्यकर्मीलाई कोरोना संक्रमणबाट जोगिनका लागि विभिन्न उपायहरू अपनाउन थालेका छन्। नेपालमा १० दिनयता संक्रमण दर ह्वातै बढेको छ। संक्रमण बढ्दै गएसँगै कोरोना रोकथाम तथा नियन्त्रण सलंग्न हुने स्वास्थ्यकर्मी पनि संक्रिमत हुन पुगेका हुन्।

धरान अस्पतालका संक्रमित चार स्वास्थ्यकर्मी अहिले कोसीमा उपचारतरत छन्। २ नर्स र २ पारामेडिक्सले अन्य संक्रमित व्यक्तिको समेत हेरचाह गरिरहेका छन्। केही संक्रमित व्यक्तिलाई आइबी एन्टिबायोटिक दिनुपर्ने अवस्था रहेको डा. मिश्रले बताइन्। तर, अन्य स्वास्थ्यकर्मीलाई थप जोखिममा पर्न दिँदैनन् संक्रमित स्वास्थ्यकर्मीले। औषधी कति दिने, कुन बेलामा दिने सबै संक्रमित स्वास्थ्यकर्मीले हेरचाह गरिरहेका हुन्छन्।

‘स्वास्थ्यकर्मीले भन्ने गरेका छन्, सामान्य कामको लागि तपाईहरू किन जोखिममा पर्न चाहनुहुन्छ। केही समस्या परेमा हामी बोलाउँछौं,’ डा. मिश्रले भनिन्, ‘उहाँहरूले आफंै संक्रमित भएर पनि अन्य बिरामीको हेरचाह गरिरहनुभएको छ।’

टेकु शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल : रोबर्टबाट संक्रमितलाई खाना र औषधी

स्वास्थ्यकर्मीलाई संक्रमण नहोस् भनेर पूर्ण सावधानी अपनाएर काम गरिएको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा. सागरराज भण्डारी बताउँछन्।

नेपालमा अन्य अस्पतालहरूमा स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण देखिएता पनि टेकु अस्पतालमा सावधाधी अपनाएकै कारण अस्पतालमा रहेका स्वास्थ्यकर्मीलाई कोरोना पोजेटिभ नभएको भण्डारीको भनाइ छ।

संक्रमित बिरामीलाई निगरानीका लागि सिसी क्यामरा जडान गरिएको छ। हाल अस्पतालमा ३० वडा आइसोलेसन बेड छन्। त्यसमध्ये स्पेसल ५ आइसोलेसन बेड छन्। जसमा १ आइसोलेसन कक्षमा १ बाथरुमको व्यवस्था गरिएको छ।

रोबर्ट प्रविधिबाट संक्रमित व्यक्तिलाई खाना र औषधीको पुर्याउने काम हुन्छ। ‘हामी चाहन्छौं, संक्रमित बिरामीसँग स्वास्थ्यकर्मीको सम्पर्क कम होस्,’ डा. भण्डारीले भने, ‘ संक्रमणको जोखिमबाट बच्न विभिन्न उपाय अबलम्ब गर्ने गरेका छौं।’

संक्रमित बिरामीमा एक्लोपन महसुस नहोस् भनेर चिकित्सकले अनलाइनमार्फत साइकोलोजी काउन्सिल पनि दिने काम भइरहेको छ।

समय–समयमा स्वास्थ्यकर्मी र संक्रमितबीचमा फोनबाट सम्पर्क भइरहने डा. भण्डारीले बताए। ‘संक्रमित बिरामीलाई एक्लो महसुस हुन नदिनका लागि वाईफाईको व्यवस्था गरेका छौं,’ डा. भण्डारीले भने, ‘सामाजिक सञ्जालबाट संक्रमितले आफ्नो परिवारसँग कुराकानी गर्ने गरेका छन्।’

संक्रमित बिरामीमा एक्लोपन महसुस नहोस् भनेर चिकित्सकले अनलाइनमार्फत साइकोलोजी काउन्सिल पनि दिने काम भइरहेको छ।

डा. भण्डारीका अनुसार अस्पतालले प्रत्येक बिरामीलाई विपी सेट र अक्सिजनको मात्रा नाप्ने मेसिन दिएको छ। संक्रमणलाई कसरी प्रयोग गर्ने भनेर सिकाएका छौं। जसले गर्दा स्वास्थ्यकर्मीले स–साना कामका लागि संक्रमितको प्रत्यक्ष सम्पर्कमा जानुपर्दैन । बिरामीले यस्ता स–सना काम गर्दा स्वास्थ्यकर्मीलाई थप जोखिम हुँदैन।

नारायणी अस्पताल : संक्रमित आफैंले रक्तचाप, ज्वरो नाप्छन्

अन्य अस्पतालको जस्तै नारायणी अस्पतालमा पनि संक्रमित बिरामीहरू चौबिसै घण्टा नै सिसिटिभीको निगरानी हुने गरेका छन्।

अस्पतालले संक्रमित बिरामीको उपचारका लागि केही प्रोटोकल तय गरेको छ। हाल नारायणी अस्पतालमा ७२ जना र नारायणीकै मातहातमा रहेको गण्डक अस्पतालमा ३२ जना संक्रमितको उपचार भइरहेको छ।

आइसोलेसन वार्डमा बिरामीलाई राख्नका लागि आल्मुनियमले पाटेसन गरिएको छ। संक्रमित बिरामीसँग स्वास्थ्यकर्मीको प्रत्यक्ष सम्पर्क कम गर्नेका लागि विभिन्न प्रविधिको प्रयोग भइरहेको अस्पतालका मेसु डा. मदन उपाध्याय बताउँछन्।

उनका अनुसार बिरामीको श्वासप्रश्वास तथा मुटुको धड्कन जाँच्नका लागि त्यही पाटेसनको बाहिरबाट स्टेथस्कोपको व्यवस्थापन गरिएको छ।

‘चिकित्सक तथा नर्स बाहिरबाटै एयरपिस राखेर भित्र रहेका बिरामीलाई माइकको आधारमा स्टेथस्कोप कहाँ राख्ने भनेर बुझाउँछौं र उहाँहरूले आफैंले चेकजाँच गर्नुहुन्छ,’ डा. उपाध्यायले भने, ‘यस्तो प्रविधिको कारणले बिरामीको स्वास्थ्यजाँच पनि सहज रूपमा भयो भने बिरामीसँग दूरी पनि कायम रहन सक्छ।’

सबै संक्रमित बिरामीलाई डिजिटल फारम भर्न दिने गरिएको छ। जसमा बिरामी आफैंले दैनिक ज्वरोमापन विवरण भर्ने गरेका छन्।

संक्रमित बिरामीहरूको पनि फोनको माध्यमबाट स्वास्थ्यकर्मीसँग सम्पर्क हुने गरेको छ।

‘कोरोनामा सम्पर्क दूरी जतिसक्दो कम गर्न पायौं, त्यति नै राम्रो हुन्छ। एकमात्र स्वास्थ्यकर्मीमा पोजेटिभ केस देखियो भने हामीले पूरै अस्पताललाई बन्द गर्नुपर्ने अवस्था आउन सक्छ,’ डा. उपाध्यायले भने, ‘बिरामीको हेर्ने स्वास्थ्यकर्मीका लागि यस्ता सुरक्षाकवज व्यवस्था गरेका हौं।’

बुटबल धागो कारखाना ‘कोभिड १९’ अस्पताल : फोनमार्फत संक्रमितलाई सल्लाह

बुटवलको धागो कारखानामा बनाइएको कोरोना विशेष अस्पतालमा ३६ जना कोरोना संक्रमित बिरामीको उपचार भइरहेको छ। अस्पतालमा ३६ आइसोलेसन बेड छ, सबै संक्रमितले भरिएका छन्। उक्त अस्पतालमा लुम्बिनी प्रादेशिक अस्पतालको जनशक्तिले काम गरिरहेको छ।

संक्रमित सबैको अवस्था सामान्य रहेको लुम्बिनी प्रादेशिक अस्पतालका फोकल पर्सन डा. सुर्दशन थापाले बताए। अन्य अस्पतालको जस्तै, अस्थायी कोरोना अस्पतालमा सिसी क्यामरामार्फत बिरामीको निगरानी गरिएको हुन्छ।

‘स्वास्थ्यकर्मीलाई बिरामीसँग प्रत्यक्ष सम्पर्क कम गर्नेका लागि अस्पतालले प्रत्येक बिरामीलाई विपी सेट र अक्सिजनको मात्रा नाप्ने मेसिन दिएको छ,’ डा. थापाले भने, ‘उहाँहरू (संक्रमित बिरामी) ले फोनमार्फत हामीलाई रिपोर्ट उपलब्ध गराउनुहुन्छ, जसले गर्दा स्वास्थ्यकर्मीको जोखिम केही हदसम्म भए पनि कम हुन्छ।’

बिरामीको हेरचाहमा एक साताका लागि २० जना स्वास्थ्यकर्मी व्यवस्थापन गरिएको छ। एक साताको ड्युटी सकेपछि दुई सातालाई क्वारेन्टाइनमा जाने गरेको डा. थापाले बताए।

कुनै बिरामी आइसियुमा राख्नुपरेको अवस्थामा जनशक्ति अभाव हुने उनको भनाइ छ।

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै

यी हुन् नेपालमा कोरोना संक्रमित बढ्नुका तीन खास कारण

नेपालमा पहिलो पटक माघ ९ गते कोरोना भाइरस (कोभिड–१९) संक्रमण भएको पुष्टि भएको थियो। त्यसको ८१ दिनपछि अर्थात् चैत ३० मा संक्रमित संख्या १२ जना पुग्यो।

त्यसैगरी १ सय १२ दिनपछि वैशाख ३१ मा २ सय १९ र १ सय १७ औं दिन जेठ ७ सम्म आइपुग्दा ४ सय २७ जना संक्रमित पुगिसकेका छन्।

पहिलो १ सय जना संक्रमित पुग्न कम्तीमा १ सय ६ दिन जति लागेको थियो। जब कि १० दिनकै बीचमा संक्रमित संख्या ४ नाघिसकेकाे छ।

दक्षिण एसियाकै ‘ट्रेन्ड’ हेर्ने हो भने संक्रमित संख्या १०० पुग्न भारतमा ४५ दिन लाग्यो र पाकिस्तानमा २० दिन लाग्यो। त्यस्तै माल्दिभ्समा ४८ दिन, श्रीलंकामा ५८ दिन, बंगलादेशमा २९ दिन र अफगानिस्तानमा ३३ दिन लागेको थियो। भुटानमा २१ जनामात्रै संक्रमित छन्। तीमध्ये ५ जना निको भइसकेका छन्।

यो ‘ट्रेन्ड’लाई केलाउँदा प्रस्टै देखिन्छ, संक्रमित संख्या १०० पुग्नमात्रै धेरै दिन लाग्छ। त्यसपछि बढ्ने गति एकदमै तीव्र छ।

यस्तो किन भएको ?

विज्ञहरूको अध्ययनले अहिले नेपालमा संक्रमित संख्या बढ्नुमा मुख्यतः तीन प्रमुख कारण छन्ः

परीक्षणको दायरा बढ्दै जानु

नेपालमा कोरोनाको परीक्षण माघ १४ बाट सुरु भएको थियो। ४४ दिनभित्र अर्थात (फागुन ३०) सम्म न्यून संख्यामा परीक्षण भएको थियो। त्यस अवधिमा कोरोना संक्रमण १ जनाभन्दा अरुलाई देखिएको थिएन। परीक्षण सुरु गरिएको दिनदेखि ४४ दिनभित्र हेर्दा ४ सय ५६ जनाको नमुना परीक्षण भएको मन्त्रालयको तथ्यांक छ।

७४ दिन (चैत ३०) सम्म ५ हजार १ सय ८४ जनाको नमुना परीक्षण भएको थियो भने १ सय ५ दिन (वैशाख ३१) सम्म २१ हजार ३ सय ४० जनाको पिसिआरमार्फत कोरोना परीक्षण भएको छ।

केही दिनयता नमुना परीक्षण हुँदै गएपछि संक्रमण संख्या बढ्दै गएको छ। परीक्षण सुरु भएको १ सय १२ दिन (जेठ ७ ) सम्म ३५ हजार ४  सय ९४  जनाको परीक्षण भएको छ।
परीक्षण संख्या बढेपछि स्वाभाविक रूपमा संक्रमित बढ्ने मुटुरोग विशेषज्ञ डा. ओममूर्ति अनिल बताउँछन्।

कन्ट्याक्ट ट्रेसिङ समयमै भएन

नेपालमा कन्टयाक्ट ट्रेसिङ समयमा हुन नसकेको देखिन्छ। कुनै पनि व्यक्तिलाई कोरोनाको परीक्षण आउँदा रिपोर्टमा पोजेटिभ देखिएको छ भने रिपोर्ट आएको २४ देखि ४८ घण्टाभित्र संक्रमितको सम्पर्कमा रहेको पहिचान गरी क्वारेन्टाइनमा राख्नुपर्ने व्यवस्था मिलाउनुपर्ने हुन्छ। तर, नेपालमा कन्ट्याक्ट ट्रेसिङ समयमै हुन सकेको देखिँदैन।

कन्ट्याक्ट ट्रेसिङ समयमा नै हुन नसक्दा संक्रमित व्यक्तिको सम्पर्कमा आएका मानिसले संक्रमण फैलाइरहेको डा. अनिलको बुझाइ छ।

उनका अनुसार कन्ट्याक्ट ट्रेसिङ रफ्तारमा हुन नसक्दा केस बढिरहेको छ। ‘कन्ट्याक्ट ट्रेसिङ रफ्तारमा नभएको कारण एक–अर्को व्यक्तिमा संक्रमण हुने जुन गति छ, त्यसलाई घटाउन सकेनौं,’ उनले भने, ‘जसका कारण समुदाय स्तरसम्म संक्रमण देखिइसकेको छ।’

बाहिरी देशको तथ्यांक हेर्दा एक कोरोना संक्रमित व्यक्तिले समग्रमा सरदरमा ३ व्यक्तिलाई सारेको तथ्यांक छ। तर, नेपालमा एक व्यक्तिले कतिलाई संक्रमण फैलाएको कुनै पत्ता लागेको छैन।

भारतबाट संक्रमित केस प्रवेश

भारतबाट अझै पनि कारोना संक्रमितहरू नेपाल प्रवेश गरिरहेका छन्। अहिलेसम्म अधिकांस नयाँ केस भारतबाट आएको पाइएको छ। लकडाउन भएको ५८ दिन बितिसक्दा पनि सीमानाकाबाट लुकिपिछी आउनेक्रम रोकिएको छैन।

विश्वमा कोरोनाको महामारीको टेन्ड हेर्ने हो भने ३० वटा केस फैलनका लागि १५ दिन देखि ३० सम्म लागेको पाइएको छ। तर, त्यसपछि संक्रमण दर ह्वातै बढेको देखिन्छ।

एक महिना पछिको समयमा १० देखि १ गुणा फैलिएको पाइएको डा. अनिल बताउँछन्।

नेपालमा पनि केही दिनयता केस बढिरहेको हेर्दा १०औं गुणा केस फैलिने संकेत गरेको उनको भनाइ छ।

संक्रमण बढ्नुको संकेत के हो?

डा. अनिलका अनुसार यो ‘भयावह’ संकेत हो।

अझै पनि आम नागरिक तथा स्वास्थ्यकर्मीमा कोरोनाका बिरामी जटिल खालका हुँदैन भन्ने भ्रम पनि रहेको छ। नेपालमा देखिएका केसमा ८० प्रतिशत लक्षण नै देखिएको छैन। नेपालीमा इम्युनिटी पावरले गर्दा नै कोरोनाबाट मृत्युको जोखिम नहुने अझै विश्वास रहेको देखिन्छ।

भारतमा हेर्ने हो भने ५–६ सय केस पुगेपछि पहिलो मृत्यु भयो। ‘विभिन्न तत्वले गर्दा रोग नै पत्ता लागेको हुँदैन,’ डा. अनिल भन्छन्, ‘कोरोनाका कारणले मृत्यु भए पनि अन्य कारणले निष्कर्ष निकाल्नतर्फ लाग्छौं।’

हाल केस पत्ता लगाउन केही साताअघि सरकारले प्रोटोकलको निर्माण गरेको छ। जसले अन्य रोग लागेका मानिसलाई पनि कोरोना परीक्षण गर्न सकिने भएको छ।

नेपालमा भन्टिलेटरमा जानुपर्ने बिरामी हुँदैनन्। मानिसको मृत्यु हुँदैन भन्ने भ्रम अझै धेरै जनमानसमा रहेको छ। तर, कम्तीमा पनि ५ हजार केस देखिएपछि मात्र निष्कर्षमा पुग्न सकिने डा. अनिल बताउँछन्।  ‘कति प्रतिशत लक्षणविहीन हुन्, कति प्रतिशतको मृत्यु हुन्छ भन्ने अहिले निष्कर्षमा पुग्न सकिँदैन,’ उनले भने, ‘निष्कर्षमा पुग्नका लागि कम्तीमा ५ हजार केस पुग्नुपर्छ।’

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै

‘नर्सहरूको वर्ष २०२०’, जो छन् काेराेना भाइरसविरुद्ध लडाइँको अग्रमोर्चामा

अन्तर्राष्ट्रिय सन्दर्भ

‘जब एउटा जीवन बचाउँछौ तिमी हिरो हुन्छौ तर, जब सयौं जीवन बचाउँछौ अनिमात्रै नर्स बन्छौ।’

आधुनिक नर्स विज्ञानसँग जोडिएर जब ‘हातमा बत्ती लिएकी केटी’ आउँछिन्, अनि त्यो दियोको उज्यालोमा नर्सहरूको महत्व देखिन्छ।

ती केटी हुन्, फ्लोरेन्स नाइटिङ्गेल। जो आधुनिक नर्सिङको जन्मदाताका रूपमा चिनिन्छिन्। उनैको आज २००औं जन्म दिन हो।

क्रिमिनिया युद्धका बेला उनले घाइते सिपाहीहरुलाई उनले गरेको सेवालाई विश्वभर ‘नर्सहरुको आदर्श’का रुपमा लिइन्छ। सम्पन्न परिवारमा जन्मिएकी उनी एक नर्समात्रै थिइनन्, उनी एक अभियन्ता पनि थिइन्।

नाइटिङ्गेलकै अभियानमा उनले बेलायतमा एउटा ‘स्वायत्त’ नर्सिङ कलेज स्थापना भयो। जसका लागि उनले लामो संघर्ष गरिन्। यहीँबाट नर्सिङको आधुनिक युग सुरुवात भयो।
उनै नाइटिङ्गेलको जन्मदिनमा आज अन्तर्राष्ट्रिय नर्सिङ दिवस मनाइन्छ।

सारा विश्व कोरोना भाइरसको महामारीसँग लडिरहेका बेला विश्व स्वास्थ्य संगठनले समेत वर्ष २०२०लाई ‘नर्सहरुको वर्ष’का रुपमा घोषणा गरेको छ।

निकै संक्रामक यो महामारीसँग लड्नका लागि अग्रमोर्चामा खटिएका विश्वका सारा नर्सहरुका लागि यो एउटा निकै महत्वपूर्ण सम्मान हो।

विश्वभर यसपालिको नर्स दिवसलाई साताव्यापी रुपमा मनाइएको छ। भाइरससँगको लडाईंका कारण यसपालि ‘औपचारिक’ कार्यक्रमहरु भने कतै छैनन्।

विश्वभर यो दिनलाई नर्सहरुप्रति कृतज्ञता दिएर मनाइएको छ। र, भनिएको छ ‘नर्सहरुलाई धन्यवाद।’

कैयौं देशहरुले विश्वका करिब २ करोड नर्सहरुको सम्मानमा आज आआफ्नो घरघरमा दियो बाल्न भनेका छन्।

र, यसवर्ष अन्तर्राष्ट्रिय नर्स दिवसको मुख्य नारा छ ‘नर्स : सबैको स्वास्थ्यका लागि सधैं उठ्ने एक आवाज।’

कोरोना भाइरसको विश्वमहामारी- नर्सलाई अझैं ‘बहादुर’ प्रमाणित गर्ने अवसर

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा २३ वर्षदेखि कार्यरत नर्स हुन्, बेली पौडेल। विश्वभर फैलिएको कोरोना भाइरसको महामारीबाट नेपाल पनि अछुतो भएन। र, उनी पनि दिनरात यो भाइरसविरुद्धको लडाईंमा खटिएकी छिन्।

करिब ३ महिनादेखि उनीजस्ता हजारौं नर्सहरु आफन्त अनि परिवारबाट टाढिएका छन् र, बिरामीका नजिकमा छन्, अग्रमोर्चामा।

‘बिरामीलाई निको बनाउन औषधि मात्र महत्वपूर्ण होइन, बिरामीको हेरचाह अझैं महत्वूर्ण हुन्छ, नर्सिङ महाशाखाकी प्रमुख रोशनी तुईतुई भन्छिन् ‘जुन काम नर्सहरुले गरिरहेका हुन्छन्।’

युद्धले घेरिएको ‘आइसोलेसन’मै जीवन बिताएकी नाइटिंगेलको एउटा भनाईलाई मान्ने हो भने, बिरामीका लागि सबैभन्दा पहिला त वातावरण नै बनाउनुपर्छ, जो नर्सले मात्रै गर्नसक्छन्।

त्यसमा पनि अहिले यो कोरोना भाइरसविरुद्ध कुनै औषधि बनेको छैन। त्यसैले बिरामीका लागि उपयुक्त वातावरणको सिर्जना नर्सहरुको पहिलो जिम्मेवारी हुन्छ। यो बेला बिरामीका लागि नर्सहरुले गर्ने ‘स्याहार’ नै ठूलो औषधि हो।

जसरी युद्धमा घाइते सिपाहीहरुका लागि नाइटिंगेलका ‘वाणी’हरु औषधिजस्तै लाग्थे र चोटले छटपटाइ रहेका घाइते सिपाहीहरूमा हिम्मत भरिन्थ्यो।

नर्सको अर्काे महत्वपूर्ण क्षमता भनेको बिरामीको मनोबल बढाउनु हो। ताकि मानसिक रुपमै उनीहरु ‘बिमार’को महसुस नगरुन्। ‘बिरामीसँगै हुने हो। उनीहरुकै नजिकमा रहेर उनीहरुको मनोबल बढाउने हो’ तुईतुई भन्छिन्, ‘जसले गर्दा बिरामीले मनको शक्तिले रोगलाई जित्न सकोस्।’

टेकु अस्पतालमा कोरोना संक्रमित भर्ना भएको पहिलो दिन। सबै जना पछाडी हटेका थिए । तर, त्यो बेला ‘नर्सिङ टिमले गर्न सक्छ’ भनेर अगाडी बढे। अनि बल्ल अरु पनि त्यो टिममा सामेल भए।

विश्वभरि फैलिइरहेको नयाँ रोग। केही डर त थियो नै तर, पनि अगाडि मानवता थियो, अनि नर्सहरु अघि सरे।

‘अहिले जति पनि नर्सहरु कोरोना संक्रमितको उपचारका लागि फ्रन्टलाइनमा काम गरिरहेका छन्, काम गर्ने नर्सहरु हुनुहुन्छ तर, नाम अरु कै आइरहेको हुन्छ’ उनी भन्छिन्।

नर्सहरुको सेवाबाटै बिरामीको आत्मबल बढ्ने हो। जुन आत्मबल नर्सहरुको निरन्तर सेवाभावले बलियो बनाउँछ। उनी भन्छिन्, ‘यो औषधि खानुस्, वा यस्तो उस्तो गर्नुस् भन्दामात्रै बिरामी ठीक हुँदैनन्।’

डाक्टरहरु त बिरामी ‘हेर्न’मात्रै आउँछन्। तर नर्स बिरामी भर्ना भएर देखि निको भएर घर नजाँदासम्म सम्म रेखदेखमै हुन्छन्।

‘डाक्टरहरू दिनमा एक–दुईपटक आउनुहुन्छ, बिरामीको अवस्था हेरेर जानुहुन्छ, नर्स बेली पौडेल भन्छिन्, ‘बिरामीले खाएको छ कि छैन, उपचारको प्रोगेस कति भएको छ, यस्ता हरेक कुराको ख्याल नर्सबाटै भइरहेको हुन्छ ।’

नर्सिङ पेशासामा आउँदा उनको कसम थियो ‘बिरामी बचाउने।’ र, यो उनीजस्ता हरेक नर्सको पेशागत ‘कसम’ नै हो।

बिधागत सेवा विस्तार 

यति हुँदाहुँदै पनि नेपालको नर्सिङ क्षेत्रले चरम अस्तव्यस्तता भोगिरहेको छ। बेरोजगारी उस्तै छ। ‘रोजगार’ नर्सहरुको पनि श्रमशोषण उस्तै छ।

अरु बेलामा भन्दा महामारीको बेला नर्सिङको भुमिका अझै महत्पूर्ण हुने क्रिटिकल केयर नर्सेस एसोसिएसन नेपालकी महासचिव कविता सिटौला बताउँछिन्। ‘महामारीको बेला नर्सले सैनिकले लडाइंर्’मा जसरी काम गरिएको उनको भनाई छ।

नेपालको नर्सिङ क्षेत्र विकसित हुनको लागि विधागत सेवा क्षेत्रहरु बढाउँदै जानुपर्ने सिटौला बताउँछिन्। ‘क्रिटिकल कियर नर्स, इन्फेक्सन कन्ट्रोल नर्स, अप्रेशन थिएटर नर्स भनेर छुट्याउन सके नेपालको हेल्थकेयर सिस्टम अझ बलियो हुन्छ’ उनी भन्छिन् ‘विश्वका धेरै देशमा लागु भएका यस्ता सिस्टमहरुले देशको स्वास्थ्य सेवा राम्रो हुन्छ।’

नेपालमा नर्स जनशक्तिको अवस्था के छ ?

नेपाल नर्सिङ काउन्सिलमा दर्ता भएको आधारमा नेपालमा नर्सको संख्या ९५ हजार ३ सय ६३ छ। त्यसमध्ये ६० हजार ७ सय नर्स रहेका छन्, भने ३३ हजार ७ सय २४ मिडवाइफ छन्। विदेशी नर्स ८ सय ८४ रहेको काउन्सिलले जनाएको छ।

नेपालमा रहेका नर्समध्ये २० हजार रोजगार र झन्डै ४० हजार बेरोजगार रहेको काउन्सिलको अनुमान छ। दिवस मनाइरहँदा सेवामा रहेकाको दोब्बर नर्स कामको खोजीमा भौँतारिइरहेको विकराल दृश्य पनि लुकेको छैन।

स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार देशभरका सरकारी स्वास्थ्य संस्थामा हाल १० हजार नर्स कार्यरत छन्। निजी क्षेत्रमा कार्यरत नर्सहरुको कुनै तथ्यांक छैन।

२७ वर्ष पुरानो दरबन्दी

सरकारले ०५० सालमा निर्धारण गरेको दरबन्दी संख्यामा अहिलेसम्म पनि वृद्धि गरिएको छैन। नर्सिङ महाशाखाको तथ्यांकअनुसार नर्सको दरबन्दी संख्याको विश्लेषण गर्दा अनमीको दरबन्दी संख्या ८ हजार ५ सयको हाराहारीमा छ। त्यसैगरी, स्टाफ नर्सको १ हजार ६ सय, नर्सिङ अधिकृतको १ सय ९, सामुदायिक नर्सिङ अधिकृतको २८, नर्सिङ प्रशासकको २७, प्रमुख नर्सिङ प्रशासकको ५ दरबन्दी रहेको तथ्यांक छ।

कसरी मनाइदैँ छ नर्सिङ दिवस ?

सारा विश्व अहिले कोरोना भाइरसको संक्रामक महामारी चपेटामा छ। यो भाइरसका कारण करिब २ लाख ८७ हजार ३ सय ३२ ज्यान गइसकेको छ। र, मृत्युको यो लिस्टमा धेरै स्वास्थ्यकर्मीहरु छन्।

र, त्यसैमा पनि करिब १ सयभन्दा बढी नर्सहरुको मृत्यु भइसकेको अन्र्तराष्ट्रिय नर्सिङ परिषदले जनाएको छ।

विश्व नर्सिङ दिवसमा स्वास्थ्यमन्त्री भानुभक्त ढकालले नर्स तथा स्वास्थ्यकर्मीको लागि राष्ट्रिय दैनिक पत्रिकामा शुभकामना सन्देश दिएका छन्।

त्यस्तै नर्सिङ महाशाखाको नेतृत्वमा सरकारी तथा गैरसरकारी क्षेत्रका करिब एक हजार नर्सहरु महामारी र नर्सिङ नेतृत्वको बारेमा भिडियो कन्फ्रेन्स गर्दैछन्।

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै