दसैँको खानपान र मुखस्वास्थ्य

नेपालीको घरआँगनमा अहिले दसैँको रौनक छाएको छ । विशेषगरी हिन्दू धर्मावलम्बीको महान् चाड दसैँको बहुआयामिक महत्त्व छन् । धार्मिक हिसाबले असत्यमाथि सत्यको विजयोत्सव तथा शक्तिस्वरूपा भगवती दुर्गाको आराधनामा मात्र दसैँ सीमित छैन, राम्रो लगाउने, मिठो खाने, आफन्तजनसित भेटघाट गर्ने, मान्यजनबाट टीका र आशीर्वाद ग्रहण गर्ने, वर्षदिनसम्म वा कतिपय अवस्थामा कैयौँ वर्षसम्म पनि अध्ययन तथा रोजगारीको सिलसिलामा देश तथा विदेशमा रहँदा परिवारजनसित बिछडिएका सदस्यसित मिल्ने, सांस्कृतिक र आधुनिक हिसाबले पनि मनोरञ्जन गर्ने प्रचलन सदियौँदेखि दसैँले बोक्दै आएको छ ।

दसैँको स्वास्थ्यसित जोडिएको पक्ष भनेको विशेषतः खानपान नै हो । खानपानमा पनि दसैँलाई अधिकतर नेपालीले मासुसित जोडेको पाइन्छ । शाकाहारी जनले पनि दसैँ भनेपछि मिठा–मिठा परिकार खानुपर्ने मान्यता राखेको पाइन्छ । खासगरी यहाँ दसैँमा अनिवार्यझैँ लिने गरिएको मासुको अत्यधिक सेवनलाई लिएर त्यसको मुखस्वास्थ्यसितको सम्बन्ध, असर र सुरक्षित रहने उपायबारे जानकारी दिने प्रयास गरिनेछ ।

मासु तथा मसालेदार भोजनको सेवनले जिब्रोलाई जति आनन्दित तुल्याउँछ, त्यति नै मुख स्वास्थ्यका लागि चुनौती सिर्जना गर्छ । मासुको अत्यधिक सेवनले गिजामा मासुका त्यान्द्रा अड्किने, हड्डीले दाँत भाँचिने तथा कुँड्किने, दाँत दुख्ने तथा खानामा लशून–प्याजको अत्यधिक सेवनले मुख गन्हाउनेजस्ता समस्या देखापर्छन् । दसैँको रमझम तथा कतिपय अवस्थामा कामको व्यस्तताले पनि नेपाली दाजुभाइ–दिदीबहिनीले मुखस्वास्थ्यलाई खासै ध्यान नदिएको देखिन्छ । अझ दैनिकसजो फकर–फरक आफन्तकोमा गएर रमाइलो गर्ने तथा टीकाटालाका लागि चहार्ने प्रचलनका कारण कतिपयले त झन् खानपान बढी हुने वेलामा दाँत माझ्नेसम्म पनि नगरेको पाइन्छ । दिनहुँ दाँत सफा नगर्दा, मद्यपान, धूमपान र गलिष्ठ भोजन बढी गर्दा अन्य समयमा भन्दा चाडवर्पका वेला मुखमा ब्याक्टेरियाको मात्र बढी हुन जान्छ । मुखमा उत्पादित ब्याक्टेरिया पेटमा पुगी झाडापखालाजस्ता रोगको संक्रमण हुने खतरा पनि दसैँमा उत्तिकै हुन्छ । मुख हाम्रो शरीरको प्रवेशद्वार पनि हो । जसरी प्रवेशद्वार सफा राख्न सके समग्र घर नै सफा रहन्छ, त्यसैगरी माख सफा र स्वस्थ रहेमा हाम्रो शरीर नै सफा र स्वस्थ रहन्छ ।

दसैँले नेपालीको मनमा उमंग ल्याइरहँदा मुखस्वास्थ्यबारे ख्याल नगर्नाले वर्षमा एकपटक आउने आफ्नो महान् चाडलाई खल्लो बनाइदिन्छ । चाडबाडमा रमाउनुपर्ने वेलामा अस्पतालमा बस्नुपर्ने बाध्यता आइपरेमा आफूसँगै समग्र परिवारकै लागि चाडपर्वको रौनक गुम्न पुग्छ । तसर्थ, केही सामान्य आनिबानी र आचरणमा सजग रहेर मुखलाई स्वस्थ राख्नु नै बुद्धिमानी हुन्छ । हाम्रो सामान्य सजगता र आनिबानीमा सुधारले चाडपर्वलाई उल्लासमय बनाउन महत्त्वपूर्ण भूमिका खेलिरहेको हुन्छ ।

दसैँ मनाउने प्रचलित शैलीले मुख स्वास्थ्यमा थपेका प्रमुख चुनौती :
– अत्यधिक मसालेदार भोजनको सेवनले मुख तथा गिजा पोल्ने ।
– मासुका त्यान्द्रा गिजामा पसी दाँत दुख्ने, गिजाबाट रगत आउने तथा गिजामा घाउ हुने ।
– मासु सेवनका क्रममा हड्डीले दाँत भाँच्ने, फुटाउने तथा थाहै नहुने गरी टुक्य्राउने ।
– मुख गन्हाउने ।
– मुखमा ब्याक्टेरियाको मात्रा अत्यधिक भई टन्सिलाइटिस तथा फ्यारेन्जाइटिस हुने ।
– धरै चिसो (फ्रिजमा राखिएको) पेयपदार्थ, जस्तै, कोकाकोला, फ्यान्टा, चिसो बियर आदिको सेवन गर्दा दाँत सिरिङ–सिरिङ गर्ने, आदि ।

कसरी बच्ने ?
– दिनहुँ २ पटक नबिराईकन फ्लोराइडयुक्त दन्तमन्जनले दाँत सफा गर्ने ।
– खाना खाएपछि तथा खानुअघि राम्ररी कुल्ला गर्ने ।
– खानामा मसलाको प्रयोग कम गर्ने ।
– मासु खाएपछि त्यान्द्रा दाँतमा अड्किएको खण्डमा डेन्टल फ्लस प्रयोग गरी त्यान्द्रा निकाल्ने ।
– मासुको हड्डी तथा त्यान्द्रा गिजामा पसेको खण्डमा सावधानीपूर्वक निकाल्ने, यदि निकाल्न समस्या भएमा तुरुन्त दन्तचिकित्सककहाँ जाने ।
– मासु तथा हड्डी चपाउँदा बंगारा (पछाडिको मोटो दाँत) को प्रयोग गर्ने, सकभर अगाडिको दाँतले नचपाउँने ।
– हड्डी चपाउँदा दाँत टुटे–फुटे वा भाँचिएको खण्डमा दाँतको टुक्रा लिई तुरुन्त दन्तचिकित्सकको सम्पर्कमा जाने ।
– पेयपदार्थको बिर्को खोल्न दाँतको प्रयोग कदापि नगर्ने, ज्यादा चिसो पेयपदार्थको सेवन नगर्ने ।
– दाँत अत्यधिक संवेदनशील भएको खण्डमा सेन्सोडाइन दन्तमन्जनले दाँत सफा गर्ने ।
– मसालेदार खानेकुराले मुख तथा दाँत एकदमै पोलेको खण्डमा दन्तचिकित्सकको सल्लाह लिने, त्यसो हुन नसकेको खण्डमा क्लोर्हेग्जिडाइन माउथवासको प्रयोग गर्ने, एक बिर्को क्लोर्हेग्जिडाइन र एक बिर्को पानी मिलाई बिहान–बेलुका कुल्ला गर्ने ।
– नक्कली दाँत (डेन्चर) लगाएका व्यक्तिले खाना खाएपछि टेन्चर र मुखको रम्ररी सफाइ गर्ने ।
– समय–समयमा वा चाडपर्वमा समस्या देखिएमा दन्तचिकित्सकसँग परामर्श लिन शंकोच नमान्ने ।

(काठमाडौं मेडिकल कलेजका बिडिएस छात्र रौनियार अन्तिम वर्षको परीक्षा दिई नतिजाको प्रतीक्षामा छन्)

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै

ओरल सबम्युकस फाइब्रोसिस : दक्षिण एसियाली मानिसमा देखापर्ने विशेषप्रकारको मुख समस्या

ओरल सबम्युकस फाइब्रोसिस (ओएसएमएफ) दक्षिण एसिया क्षेत्रमा देखापर्ने विशेषखाले मुखको समस्या हो । पछिल्लो समय यो रोग यो क्षेत्रमा जटिल स्वास्थ्यसमस्याका रूपमा देखापर्न थालेको छ । यो रोग लागेपछि प्रारम्भिक अवस्थामै निदान भई उचित उपचार पाएको अवस्थामा बाहेक बिरामीलाई पुरानो अवस्थामा फर्काउन वा रोग निर्मूल गर्न सकिँदैन ।

ओएसएमएफ प्रि–क्यान्सरस कन्डिसन हो, अर्थात् समयमै उपचार तथा रोकथाम गरिएन भने यो रोग क्यान्सरमा परिणत हुन सक्ने सम्भावना रहन्छ । तसर्थ, समयमै यसको उपचार र रोकथाममा सजग हुनु अत्यन्त आवश्यक हुन्छ । यो रोग लागेमा मुख खोल्न गाह्रो हुने, मुखको खोलाइ कम हुने, चिल्लो–तातो तथा मसालेदार खानेकुरा खाँदा मुख पोल्नेजस्ता लक्षण देखिन्छन् ।

के कारण हुन्छ ओएसएमएफ ?
यो रोग बेटल नट्स अर्थात् सुपारी तथा सुपारीजन्य पदार्थ, जस्तै, पान, गुट्खाको सेवन, रातो खुर्सानीको अत्यधिक सेवन, पोषणयुक्त खानेकुराको कमी तथा वंशानुगत कारणले हुने गर्छ । विशेषतः यो रोग बेटल नट्समा पाइने एरिकोलिन नामक केमिकलले मुखमा हुने कोलाजन नामक मासुमा पाइने फाइबरलाई अत्यधिक वृद्धि गराइदिनाले हुन्छ ।

लक्षण
यो रोग प्रायः २० वर्षमाथि उमेरसमूहका मानिस पाइन्छ । यो रोग अधिकतर महिलामा पाइएको छ । यो रोगले गलाको मासु, घाँटी (फ्यारिंग्स र ओइसोफ्यागस), जिब्रो, ओठलाई असर गर्छ ।

यो रोग लागेपछि मुख्यतः मसालेदार खाना खाँदा मुख पोल्ने, गलाको मासु (बकल म्युकोजा) मा स–साना फोका तथा घाउ हुने, मुखमा र्यालको मात्रा कम वा अत्यधिक हुने, मुख कम खुल्ने, गलाको मासु छाम्दा फाइब्रस ब्यान्ड अर्थात् मासुको ढिक्काजस्तो देखापर्ने, खाना निल्न गाह्रो हुने, खानाको स्वाद थाहा पाउन नसकिनेजस्ता लक्षण देखापर्छन् ।

यो रोग लाग्न नदिन के गर्न सकिन्छ ?
– सुपारी तथा सुपारीजन्य पदार्थ जस्तै, गुट्खा, पानलगायतको सेवन नगर्ने ।
– रातो खुर्सानीको सेवन कम गर्ने ।
– पोषणयुक्त खानेकुराहरू खाने ।
– समय–समयमा दन्तचिकित्सकसित परामर्श गर्ने ।

उपचार तथा रोकथाम
यो रोगको सुरुमै पहिचान भई दन्तचिकित्सकको सल्लाहबमोजिम गरेमा पूर्ण रूपमा निको पार्न सकिन्छ । तर, समयमा रोगको पहिचान हुन नसकेमा वा रोग पहिचान भएपछि पनि हेलचेक्य्राइँ गरी चिकित्सकको सल्लाहबमोजिम समयमै उपचार नगरेको खण्डमा रोगमाथि पूर्णतः जित हासिल गर्न सकिँदैन ।

यो रोगको सबैभन्दा सरल र असरदार उपचार भनेको भाविष्यमा कहिल्यै सुपारी र सुपारीजन्य पदार्थको सेवन नगर्नु नै हो । यस्ता पदार्थको सेवन आजैबाट बन्द गर्नु नै सर्वोत्तम विकल्प हो । साथै, भिटामिन बी कम्प्लेक्स तथा पोषणयुक्त खानेकुराको सेवनले पनि यो रोगलाई निको पार्न मद्दत पुग्दछ । त्यसैगरी, दूधमा बेसार मिलाएर गालाको भित्री भागको भित्तामा (मुखभित्र) लगाउनाले पनि बिरामीलाई राहत मिल्ने विशेषज्ञ चिकित्सकहरुले बताउँदै आएका छन् । फिजियोथेरापी, बेस्सरी मुख खोल्न कोसिस गर्ने, मुखमा चारवटा औँला पसाई मुख तन्काउनेजस्ता मुखका व्यायामले पनि यो रोग केही हदसम्म ठिक गर्न सकिन्छ ।

यदि यो रोग जटिल बन्न पुगेको अवस्था छ भने इन्ट्रालिजनल इन्जेक्सन अर्थात् घाउ भएको ठाउँमा सुई दिनु आवश्यक हुन्छ । यस्तोमा दन्तचिकित्सकले कर्टिकोस्टेरोइड र हेलुरोनिडेडजस्ता केमिकलयुक्त इन्जेक्सन प्रयोग गर्छन् । यदि मुखखोलाइ अत्यन्त कम छ भने सर्जरी गरेर मासुको ढिक्का निकाल्नुपर्ने हुन सक्छ ।

(रौनियार काठमाडौं मेडिकल कलेज, दुवाकोटमा बिडिएस अन्तिम वर्षको परीक्षा दिई नतिजाको पर्खाइमा छन्)

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै

दाँत किराले खानु वा कुहिनु : एक साधारण तर जटिल समस्या

संसारमा सबैभन्दा बढी मानिस दन्तरोगले ग्रस्त भएको अनुमान लगाउन सकिन्छ । दन्तरोगले अरु रोगको तुलनामा बढी नै मानिसलाई सताउने गर्छ । मुख स्वास्थ्य शरीरको पूर्ण स्वास्थ्यका लागि एक महत्त्वपूर्ण पक्ष हो । मुखका अनेकौँ रोगमध्ये दाँतमा लाग्ने किरा एक ज्यादै नै सामान्य र घेरैजसोलाई सताउने रोगमा पर्दछ ।

दाँतमा किरा लाग्नुका कारण
दाँतमा किरा लाग्नुका कुनै एउटा मात्र कारण नभई धेरै कारण हुन्छन् । तसर्थ, यसलाई मल्टिफ्याक्टोरियल डिजिज अर्थात् धेरै कारणले लाग्ने रोग भन्ने गरिन्छ ।

प्रमुख कारण :
धेरै मात्रामा चकलेट खानु, सुगरको उपभोग धेरै गर्नु, मुखमा र्याल कम हुनु, मुखमा स्ट्रेप्टोकोकस म्युटेन्स नामक ब्याक्टेरियाको मात्रा धेरै हुनु दाँत किराले खानुका कारण हुन् । दाँत समयमा सफा नराख्नाले यी ब्याक्टेरियाको मात्रा बढ्न जान्छ । यी ब्याक्टेरियाले चकलेटमा भएका सुक्रोज नामक केमिकललाई अल्ममा बदलिदिन्छन्, जसले दाँतलाई कुहाएर दाँतमा किरा लाग्ने गर्छ ।

दाँतमा किरा लागेका लक्षण
दाँतमा किरा लागेपछि सेतो दाँतमा खैरो वा कालो रङ प्रस्टै देख्न सकिन्छ । यदि किरा लागेको धेरै दिन बितेको छ भने त्यहाँ दाँतको खाल्डो पर्ने, खाने कुरा अड्किने तथा दाँत दुख्नेजस्ता सामान्य लक्षण देखापर्छन् ।

के दाँतलाई किरा लाग्नबाट बचाउन सकिन्छ ?
अवश्य सकिन्छ, त्यो पनि सामान्य अनीबानीमा सुधारबाटै सकिन्छ । दाँतलाई किरा लाग्नबाट बचाउन समान्य कदमहरू जस्तै, मुख सफा राख्ने, दिनमा दुईपटक फ्लोराइकयुक्त दन्तमन्जनले दाँत सफा गर्ने, गुलियो खाने कुराहरू जस्तै, चकलेट, चिनीको प्रयोग कम गर्ने तथा वेला–वेलामा दन्तचिकित्सकको सल्लाह लिने गरेमा दाँतलाई किराबाट जोगाउन सकिन्छ ।
रोकथामका लागि–
– फ्लोराइडयुक्त दन्तमन्जनले दिनमा दुईपटक दाँत सफा गर्ने तथा खाना खाएपछि पानीले राम्ररी कुल्ला गर्ने ।
– गुलियो खाने कुराहरू जस्तै, चिनी, चकलेटको प्रयोग काम गर्ने ।
– वर्षमा दुईपटक दन्तचिकित्सकलाई दाँत देखाउने ।

 

उपचार
दाँतमा किरा लागेपछि किरा लागेको भागलाई हटाई त्यो दाँतको भागलाई पुनः विभिन्न प्रकारका सिमेन्टले भर्न सकिन्छ । तर, किराले दाँतको जरासम्मै प्रभाव पारेको छ भने रुट क्यानल ट्रिटमेन्ट गरी दाँतलाई बचाउन सकिन्छ ।
दाँतका सबैजसो भाग नाश भएका छन् त्यस्तो दाँतलाई निकालेर फाल्दा नै उत्तम हुन्छ । किनकि, पछि गएर ती दाँतमा भएका जीवाणुले मुखमा अरु केही समस्या निम्त्याउन नपाऊन् ।

(रौनियार काठमाडौं मेडिकल कलेज, दुवाकोटमा बिडिएस अन्तिम वर्षको परीक्षा दिई नतिजाको पर्खाइमा छन्)

 

 

 

 

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै