पहिलो लाइसेन्स परीक्षामा सहभागी सबै आयुर्वेद चिकित्सक सफल

आयुर्वेद चिकित्सकको पहिलो लाइसेन्सिङ परीक्षाको नतिजा सार्वजनिक भएको छ । नेपाल आयुर्वेदिक मेडिकल काउन्सिलले १४ भदौमा लिएको लाइसेन्सको परीक्षमा सहभागी सबै ६८ आयुर्वेद चिकित्सक सफल भएका छन् । एलोपेथीका चिकित्सकहरु ठूलो संख्यामा नेपाल मेडिकल काउन्सिलको परीक्षामा असफल हुने गरेको तथा एउटै चिकित्सकले प्रतिवर्ष ३ पटकका दरले १२–१३ वर्षसम्म परीक्षा दिँदा पनि लाइसेन्स लिन नसकेका समाचारहरु आइरहँदा आयुर्वेदतर्फ भने पहिलो अभ्यासमै सबै सहभागी चिकित्सक सफल हुनुलाई सकारात्मक रुपमा हेरिएको छ ।

अन्य विधाका काउन्सिलहरुले पहिलेदेखि नै लाइसेन्स परीक्षा सञ्चालन गरी चिकित्सक तथा स्वास्थ्यकर्मीलाई दर्ता गराउँदै आए पनि आयुर्वेद चिकित्सक काउन्सिलले भने भर्खरै दर्ता प्रक्रिया सुरु गरेको हो । काउन्सिलले पहिलोपटक आह्वान गरेको लाइसेन्स परीक्षामा मुलुकभरका जम्मा ६८ जना आयुर्वेद चिकित्सक सहभागी भएका थिए । उनीहरुले परीक्षा दिएको एक सातापछि काउन्सिलले आइतबार नतिजा सार्वजनिक गरेको हो ।

काउन्सिलले अबका प्रत्येक ६ महिनामा लाइसेन्स परीक्षा सञ्चालन गर्ने भएको छ । बिएएमएस तह उत्तीर्ण गरेर कम्तीमा ६ महिना इन्टर्नसिप गरेको चिकित्सक लाइसेन्स परीक्षामा सहभागी हुन योग्य हुने काउन्सिलले जानाएको छ । आयुर्वेद चिकित्साशिक्षामा स्नातक तहको कोर्सका रुपमा रहेको बिएएमएस एलोपेथीको एमबिबिएससरहको कोर्स हो ।

यसअघि बिएएमएस उत्तीर्ण गरेको व्यक्तिले आयुर्वेद चिकित्सक काउन्सिलमा सीधै नाम दर्र्ता गराएर चिकित्सकीय अभ्यास गर्न पाउने व्यवस्था थियो, जसअन्तर्गत हालसम्म काउन्सिलमा करिब साढे ६ सय चिकित्सक दर्ता भइसकेका छन् । अब भने बिएएमएसले चिकित्सकीय अभ्यासका लागि लाइसेन्स परीक्षा उत्तीर्ण गर्नुपर्ने भएको हो, जसअन्तर्गत पहिलो चरणमा ६८ चिकित्सक सफल भएका हुन् ।

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै