नेपाल स्वास्थ्य व्यवसायी परिषद्को रजिस्ट्रारमा जनस्वास्थ्य अधिकृत भट्ट

नेपाल स्वास्थ्य व्यवसायी परिषद्को राजिस्ट्रार (कुलसचिव)मा जनस्वास्थ्य अधिकृत दीपक भट्ट नियुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले मन्त्रीस्तरीय निर्णयबाट भट्टलाई आइतबार परिषद्को कुलसचिवको कामकाजको जिम्मेवारी दिएका हुन् । पूर्ण जिम्मेवारीमा कुलसचिवको नियुक्ति भने मन्त्रिपरिषद्बाट हुने व्यवस्था छ । भट्ट स्वास्थ्यसेवा विभागमा कार्यरत थिए ।

जनस्वास्थ्य अधिकृत सातौँ तहका भट्टले दक्षिण कोरियाबाट मास्टर इन ग्लोबल हेल्थ डिभलपमेन्ट विषय अध्ययन गरेका छन् । भट्टले आइतबार नै पत्र बुझेका छन् । पत्र बुझेसँगै भट्टले एक महिनाभित्र विस्तृत कार्ययोजना बनाएर परिषद्लाई व्यवस्थित बनाउन ठोस काम गर्ने प्रतिक्रिया दिए । ‘एक महिनाभित्र मन्त्रालयमा परिषद् सुधारको विस्तृत कार्ययोजना प्रस्तुत गर्नेछु,’ भट्टले हेल्थपोस्टसित भने ।

परिषद्को कुलसचिव पद लामो समयदेखि रिक्त थियो । कुलसचिव अभावमा परिषद्का लाइसेन्स वितरणलगायत कामकारबाही प्रभावित बन्दै आएका थिए । यसअघि परिषद्ले करिब एक महिनाअघि कुलसचिव नियुक्तिका लागि मन्त्रालयलाई पत्र लेखेको थियो ।

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै