दाँत किराले खानु वा कुहिनु : एक साधारण तर जटिल समस्या

संसारमा सबैभन्दा बढी मानिस दन्तरोगले ग्रस्त भएको अनुमान लगाउन सकिन्छ । दन्तरोगले अरु रोगको तुलनामा बढी नै मानिसलाई सताउने गर्छ । मुख स्वास्थ्य शरीरको पूर्ण स्वास्थ्यका लागि एक महत्त्वपूर्ण पक्ष हो । मुखका अनेकौँ रोगमध्ये दाँतमा लाग्ने किरा एक ज्यादै नै सामान्य र घेरैजसोलाई सताउने रोगमा पर्दछ ।

दाँतमा किरा लाग्नुका कारण
दाँतमा किरा लाग्नुका कुनै एउटा मात्र कारण नभई धेरै कारण हुन्छन् । तसर्थ, यसलाई मल्टिफ्याक्टोरियल डिजिज अर्थात् धेरै कारणले लाग्ने रोग भन्ने गरिन्छ ।

प्रमुख कारण :
धेरै मात्रामा चकलेट खानु, सुगरको उपभोग धेरै गर्नु, मुखमा र्याल कम हुनु, मुखमा स्ट्रेप्टोकोकस म्युटेन्स नामक ब्याक्टेरियाको मात्रा धेरै हुनु दाँत किराले खानुका कारण हुन् । दाँत समयमा सफा नराख्नाले यी ब्याक्टेरियाको मात्रा बढ्न जान्छ । यी ब्याक्टेरियाले चकलेटमा भएका सुक्रोज नामक केमिकललाई अल्ममा बदलिदिन्छन्, जसले दाँतलाई कुहाएर दाँतमा किरा लाग्ने गर्छ ।

दाँतमा किरा लागेका लक्षण
दाँतमा किरा लागेपछि सेतो दाँतमा खैरो वा कालो रङ प्रस्टै देख्न सकिन्छ । यदि किरा लागेको धेरै दिन बितेको छ भने त्यहाँ दाँतको खाल्डो पर्ने, खाने कुरा अड्किने तथा दाँत दुख्नेजस्ता सामान्य लक्षण देखापर्छन् ।

के दाँतलाई किरा लाग्नबाट बचाउन सकिन्छ ?
अवश्य सकिन्छ, त्यो पनि सामान्य अनीबानीमा सुधारबाटै सकिन्छ । दाँतलाई किरा लाग्नबाट बचाउन समान्य कदमहरू जस्तै, मुख सफा राख्ने, दिनमा दुईपटक फ्लोराइकयुक्त दन्तमन्जनले दाँत सफा गर्ने, गुलियो खाने कुराहरू जस्तै, चकलेट, चिनीको प्रयोग कम गर्ने तथा वेला–वेलामा दन्तचिकित्सकको सल्लाह लिने गरेमा दाँतलाई किराबाट जोगाउन सकिन्छ ।
रोकथामका लागि–
– फ्लोराइडयुक्त दन्तमन्जनले दिनमा दुईपटक दाँत सफा गर्ने तथा खाना खाएपछि पानीले राम्ररी कुल्ला गर्ने ।
– गुलियो खाने कुराहरू जस्तै, चिनी, चकलेटको प्रयोग काम गर्ने ।
– वर्षमा दुईपटक दन्तचिकित्सकलाई दाँत देखाउने ।

 

उपचार
दाँतमा किरा लागेपछि किरा लागेको भागलाई हटाई त्यो दाँतको भागलाई पुनः विभिन्न प्रकारका सिमेन्टले भर्न सकिन्छ । तर, किराले दाँतको जरासम्मै प्रभाव पारेको छ भने रुट क्यानल ट्रिटमेन्ट गरी दाँतलाई बचाउन सकिन्छ ।
दाँतका सबैजसो भाग नाश भएका छन् त्यस्तो दाँतलाई निकालेर फाल्दा नै उत्तम हुन्छ । किनकि, पछि गएर ती दाँतमा भएका जीवाणुले मुखमा अरु केही समस्या निम्त्याउन नपाऊन् ।

(रौनियार काठमाडौं मेडिकल कलेज, दुवाकोटमा बिडिएस अन्तिम वर्षको परीक्षा दिई नतिजाको पर्खाइमा छन्)

 

 

 

 

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै

यी हुन् दाँतका ८ शत्रु खाद्यपदार्थ, सेवनलगत्तै अवश्य मुख कुल्ला गर्नुहोस्

हामीमध्ये धेरै कुनै न कुनै प्रकारको दाँतको समस्याबाट पीडित भइरहेका हुन्छौँ । तर, ठूला असाध्य रोगबारे सजगता अपनाइरहेका हाम्रो प्राथमिकतामा दाँत स्वास्थ्य भने कमै मात्र परेको हुन्छ । दाँतका समस्यालाई सामान्य रूपमा लिएर बेवास्ता गर्दा कालान्तरमा हामीले ठूलो मूल्य चुकाउनुपर्ने हुन्छ । दाँतको समस्या केवल मुखमा मात्र सीमित रहने नभई गिजाको रोग बल्झिँदा मुटुरोगसम्म निम्तिन सक्नेतर्फ धेरैको ध्यान गएको हुँदैन । दाँतका अधिकांश समस्या हामीले आमरूपमा खाने खाद्यवस्तुका कारण निम्तिने गर्दछन् । यदि हामीले दाँतका लागि अहितकर वस्तुको सेवनमा नियन्त्रण राख्यौँ वा त्यस्ता वस्तुको सेवनका क्रममा र सेवनपछि थोरै मात्र पनि सावधानी अपनायौँ भने हामी धेरै हदसम्म आफ्नो दाँतलाई स्वस्थ राख्न सक्छौँ । त्यसका लागि हामीले दाँतका लागि अहितकर खाद्यवस्तु र तिनको सेवनको स्वस्थकर तरिकाबारे जान्नु आवश्यक छ ।

१. सावर क्यान्डी
यो कुनै नौलो कुरा होइन कि, क्यान्डी तपाईंको मुख तथा दाँतका लागि हानिकारक छ । सावर क्यान्डीमा विभिन्नखालका एसिड हुन्छन्, जसले दाँतमा कठिनाइ पैदा गर्छन् । यिनीहरूलाई चपाउनुपर्ने हुनाले यसले दाँतलाई लामो समय असर गरिरहन्छ र दाँतलाई क्षय गराउन सघाउँछ । यदि तपाईं चकलेटको पारखी हुनुहुन्छ भने तत्काल चपाउन सकिने चकलेट खानुहोस् र मुख कुल्ला गरिहाल्नुहोस् ।

२. ब्रेड
दाँतमा समस्या आइरहन्छ भने ब्रेड खानुपूर्व दुईपटक सोच्नुहोस् । तपाईंले ब्रेड चपाउँदा दाँतको स्यालिभा स्टार्चमा परिणत भई सुगर बन्दछ । ब्रेडका स–सना टुक्राले दाँतको बीचमा अड्केर क्याभिटी बनाउँछन् । तपाईं कार्बोहाइडे«टको अत्यन्तै पारखी हुनुहुन्छ भने कम रिफाइन गरिएको होलग्रेन रोज्न सक्नुहुन्छ । सजिलै नटुक्रिने र कम सुगर भएका खाद्यान्न रोज्न सक्नुहुन्छ ।

३.अल्कोहल
हामी सबैलाई थाहा भएको कुरा हो, अल्कोहल स्वास्थ्यका हिसाबले फाइदाजनक छैन । तर, के तपाईंले अनुभूत गर्नुभएको छ, जब तपाईं ड्रिंक्स गर्नुहुन्छ, तब तपाईंको मुख सुक्खा हुन्छ ? मुख सुक्खा हुँदा स्यालिभा कम हुन्छ, जुन तपाईंको दाँत स्वस्थ राख्न आवश्यक हुन्छ । स्यालिभा तपाईंको दाँतमा अड्केको खाना निकाल्न र सफा गर्न सहयोगी हुन्छ । ड्रिंक्स गरिसकेपछि तपाईंको दाँतलाई ओसिलो राखिरहन प्रशस्त पानी पिउने तथा कुल्ला गरिरहने गर्नुहोस् ।

४. कार्बोनेटेड ड्रिंक्स
एक रिसेन्ट अध्ययनले देखाएको छ कि, अत्यधिक सोडाको प्रयोगले तपाईंको दाँत पूर्ण रूपमा ड्यामेज गर्छ । यसले मुख सुक्खा पनि बनाउँछ । साथै, कडा रङको सोडाले तपाईंको दाँतको रङ फिका बनाउँछ । सोडा खानासाथ तत्काल दाँत ब्रस नगर्नुहोस्, यसले दाँतलाई नराम्ररी क्षति पुर्याउँछ ।

५. आइस
यद्यपि, आइसमा पूर्ण रूपमा पानी हुन्छ, तर पनि अमेरिकन डेन्टल एसोसिएसनका अनुसार साह्रो कुरा, धेरै चिसो कुरा खानु दाँत बिग्रने प्रमुख कारण हो । आफ्नो पेयपदार्थमा आइस मिसाए पनि त्यसलाई हत्तपत्त नचपाउनुहोस् ।

६ साइट्रस
सुन्तला, अंगुर, कागती, यी सबै फलफूल तथा जुसका रूपमा खान स्वादिष्ट हुन्छन्, साथै भिटामिन सीले भरपूर हुन्छन् । तर, त्यसमा पाइने एसिडले इनामेल नष्ट गर्नुका साथै दाँतलाई हानि गर्छन् । पानीमा कागती निचोरेर खानु पनि दाँतका लागि हानिकारक हुन्छ । साथै, साइट्रसबाट प्राप्त एसिडले मुखमा पीडा पनि हुन्छ । यदि तपाईं ती फलफूलबाट एन्टिअक्सिडेन्ट प्राप्त गर्न चाहनुहुन्छ भने धेरै कडा होइन, केही मात्रामा सेवन गर्नुहोस् र पानीले मुख कुल्ला गरिहाल्नुहोस् ।

७. पोट्याटो चिप्स
आलु चिप्स खाँदा धेरैले सन्तुष्टि मान्छन् । यसमा अत्यधिक स्टार्च हुन्छ, जुन चिनीका परिणत हुन्छ र दाँतको बीच भागमा अड्किन्छ, जुन ब्याक्टेरियाको कारक बन्दछ । चिप्सबाट उत्पन्न हुने एसिड लामो समय दाँतमा रहिरहन्छ । त्यसैले चिप्स खाएपछि राम्रोसँग मुख कुल्ला गर्न नबिर्सनुहोस् ।

८. ड्राई फ्रुट्स
हामी सबैले सोच्ने कुरा हो, ड्राई फ्रुट्स स्वस्थ स्न्याक्समा पर्छ, जुन सत्य पनि हो । तर, धेरै ड्राई फ्रुट्स, जस्तै एप्रिकोट, प्रन, फिगम, एसिनजस्ता स्टिकी फ्रुट्स दाँतमा अड्किने र समस्या उत्पन्न गर्नेखालका हुन्छन् । यदि तपाईं ड्राई फ्रुट्स खान रुचाउनुहुन्छ भने मुख राम्रोसँग कुल्ला गर्ने र ब्रस गर्ने गर्नुहोस् ।

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै

बच्चाको दाँत उम्रिँदाका समस्या : समाधान र सावधानी

सबै आमाबुबा आफ्ना बच्चाको पहिलो दाँतको पर्खाइमा हुन्छन् । बच्चाको पहिलो दाँत जन्मिएको ५ देखि ६ महिनामा उम्रिन्छ । बच्चाको दाँत उम्रिने समयमा मुख तथा शरीरमा केही परिवर्तन देखापर्छन् । यो बच्चा र अभिभावक दुवैका लागि पिडादायी समय हो । तसर्थ, अभिभावकले बच्चाको दाँत उम्रिने वेलाका समस्या र तिनको समाधानका उपायबारे जानकारी राख्नु अति आवश्यक छ ।

दाँत उम्रिनेक्रममा बच्चाको मुखमा देखिने समस्या–
१. जहाँबाट दाँत उम्रिन लागको हो, त्यहाँको गिजामा रातो दाग देखिनु वा सुन्निनु ।
२. गालामा रातो दाग देखिनु ।
३. गालाको छाला पूरै रातो हुनु ।
४. बच्चाले जतिखेर पनि औँलाहरू मुखमा राख्न खोजिरहनु ।

बच्चाको पूरै शरीरमा देखिने असर–
१. बच्चाले दिक्क मान्नु र रोइरहनु ।
२. बच्चाको र्याल चुहिराख्नु र थुक बढी आउनु ।
३. बच्चालाई निद्रा नलाग्नु र व्याकुल हुनु ।
४. बच्चाले कान चिलाउने
५ खोकी लाग्ने
६. ज्वरो आउने
७. झाडापखाला हुने
८. बान्ता हुने
९ .प्यास बढी लाग्ने

कुनै–कुनै वेला विशेष अवस्थामा–
– टिटानस
– मेनिनजाइटिस
– कोलेरा
– पक्षघात

कस्तोमा के गर्ने ?
– दाँत उम्रिँदाको अवस्थाको चिजवस्तुहरूले बच्चाहरूलाई टोक्नमा मद्दत गरेर आनन्द अनुभव गराउँछन् ।
– दाँत उम्रिँदाको अवस्थाको आहारमा कडा गुलियो नभएको गहुँको लेदो टोक्न दिन सकिन्छ ।
– आगोमा तताएको पाउरोटी, कडा चिसो फलफूल, जस्तै, स्याउ, केरा, गाँजर आदि टोक्न दिन सकिन्छ । तर, खान भने दिनुहुँदैन ।
– दाँत उम्रिँदाको अवस्थाका खेलौनाहरू बजारमा पाइन्छन् । जस्तै, तिथिङ, रिङ, तिथिङ किचस, तिथिङ ब्लोबर आदि । यस्ता खेलौनाहरू बच्चाले चपाउँदा दुखाइबाट छुटकारा पाउँछन् ।
– बच्चालाई शान्त गराउनका लागि पेसिफायरहरू बजारमा पाइन्छन् । कहिलेकाहीँ ल्वाङको तेलले पनि बच्चाको गिजाको दुखाइ कम गराउँछ ।
– फ्रिजमा राखेको चिसो फलफूल अथवा खानेकुरा पनि दिन सकिन्छ ।

प्रयोग गर्न सकिने सामयिक औषधि
– गसिरिन
– लिगनोकेन हाइड्रोक्लोराइड
– बेन्जाइल अल्कोहल
– कोलिन सेलिसाइलेट बेस्ड प्रोडक्ट
– गुलियोरहित पारासिटामोल इलिजिर बच्चामा दुखाइ कम गर्ने र ज्वरो आउन नदिने औषधि हो ।
उल्लेखित औषधि दन्तचिकित्सकको सल्लाह र स्वीकृति लिएर मात्र प्रयोग गर्नुपर्छ । यी औषधिहरू अधिक मात्रमा प्रयोग गर्नुहुँदैन ।

अन्य पुराना घरेलु औषधि
– अकुप्रेसर
– अरोमा थेरापी
– मसाज
– होमियोपेथी

विशेष अवस्थामा दाँत उम्रिँदा सँगै जोडिएर आउने समस्या–
– दाँत उम्रिनुअघि गिजामा निलो डाम बस्नु ।
– दाँत आफ्नो निर्धारित समयभन्दा अगाडि देखिनु ।
– दाँत आफ्नो निर्धारित ठाउँभन्दा भिन्न ठाउँमा उम्रिनु ।
– बच्चा जन्मिँदै दाँत लिएर जन्मिनु ।

यी सबै बच्चामा हुने एउटा सामान्य अवस्था हुन् । बच्चाले यस्तो अवस्थामा जुन कुरा पनि मुखमा हाल्न खोज्ने अथवा टोक्न खोज्ने गर्छन् । त्यही भएर जथाभावी फोहोर कपडा तथा अन्य फोहोर कुराहरू मुखमा राख्न दिनुहुँदैन । यदि यो अवस्थालाई सम्बोधन गरिएन भने बच्चा र अभिभावकलाई नराम्रो अनुभव हुन जान्छ ।

अभिभावकको हेरचाह तथा सावधानी
– बच्चा जन्मिनुअगावै अभिभावकले दाँत उम्रिने अवस्थाबारे जानकारी पाउनुपर्छ ।
– घरका अन्य सदस्यलाई यसको जोखिमबारे जानकारी गराउनुपर्छ ।
– बच्चाको मुख तथा पूरै शरीर सफा राख्नुपर्छ ।
– बच्चाको गिजा हरेकपटक खाना खाएपछि भिजेको सफा कपासले सफा गरिदिनुपर्छ ।
– बच्चालाई पौष्टिक खानेकुराहरू खुवाउनुपर्छ ।

घरेलु उपाय
– बच्चालाई सफा औँलोमा भिजेको कपास राखी बिस्तारै मसाज गरिदिनुपर्छ ।

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै

किन कसैको दाँत अत्यन्त संवेदनशील हुन्छ ? कसरी गर्ने उपचार ?

के तपाईं एक बाइट आइसक्रिम अथवा एक चम्चा तातो सुप खानासाथ दाँतको दुखाइ महसुस गर्नुहुन्छ ? यदि तातो वा चिसो खानासाथ दाँतमा दुखाइ, असहजता तथा झन्झनाहट पैदा भएको महसुस गर्नुहुन्छ भने यो क्याभिटीका कारण हुन सक्छ, जुन संवेदनशील दाँत हुनेको कमन समस्या हो । दाँतको संवेदनशीलता अर्थात् डेन्टिन हाइपरसेन्सिटिभिटी भनेको चिसो या तातोमा दाँतले दुखाइको प्रतिक्रिया गर्नु हो । यो कसै–कसैमा अस्थायी हुन्छ भने कसै–कसैमा बल्झिरहने हुन्छ । यसले जो–कसैको दाँतलाई असर गर्न सक्छ ।
दाँत संवेदनशील हुनुका विभिन्न कारण हुन्छन् । तर, अधिकांश कमन कारणबाट तपाईं आफ्नो मुखको सरसफाइमा व्यावहारिक परिवर्तन गर्नाले छुटकारा पाउन सक्नुहुन्छ ।

दाँत संवेदनशील हुँदाका लक्षण
– तातो खाना या तातो पेयपदार्थ खाँदा झन्झनाहट
– चिसो खाना या चिसो पेयपदार्थ खाँदा झन्झनाहट
– चिसो हावा पर्दा सिरिंङ हुनु
– गुलियो या गुलियो पेय पदार्थ खाादा असहजता
– एसिडिक खाना तथा पेयपदार्थ खाँदा असहजता
– चिसो पानीको प्रयोग गर्दा, नियमित दाँतको सरसफाइ गर्दा, ब्रस तथा कुल्ला गर्दा असहजता, जुन
कसैलाई अलि माइल्ड र कसैलाई अलि कडा हुन सक्छ ।

के कारणले हुन्छ दाँत संवेदनशील ?
कसै–कसैको दाँत प्राकृतिक रूपमै अत्यन्त संवेदनशील हुन्छ । यदि कसैको दाँतमा इनामेल अति पातलो छ भने यस्तो हुन्छ । इनामेल दाँतको बाहिरी पत्र हो, जसले दाँतलाई सुरक्षित राख्छ । अन्य धेरै कारणले दाँतको इनामेल नष्ट हुँदै जाने हुन्छ । जस्तै,

– दाँतलाई अति घोटेर ब्रस गर्नाले
– साह्रो ब्रसले दाँत माँझ्ने गर्नाले
– रातमा दाँत किटकिट गर्ने बानीले
– रातिमा साह्रो खानेकुरा चपाउनाले
– नियमित एसिडिक पेयपदार्थ तथा अमिलो खाद्यान्न खानाले
– कहिले–काहीँ अन्य कारणले पनि हुन सक्छ । जस्तै,
ग्यास्ट्रिक हुँदा पेटबाट अमिलो पानी मुखमा आउँछ । यसले पनि दाँतलाई कमजोर बनाउँछ ।
त्यस्तै, धेरै भमिट गर्ने मानिसमा पनि पेटभित्रको एसिडले दाँतको इनामेल नष्ट गर्छ र दाँतलाई संवेदनशील बनाउँछ ।
दाँत खिइँदै जानु, दाँत भाँचिनु, दाँतमा छिद्र हुनु, अधिक खानु आदिले पनि दाँँतको एक्सपोजर बढी हुन्छ र दाँत संवेदनशील हुन्छ । यदि यी कारण हुन् भने तपाईंले निश्चिय पनि एउटा दाँत मात्रै यस्तो भएको महसुस गर्नुहुनेछ ।

कहिलेकाहीँ तपाईं अस्थायी रूपमा पनि दाँत संवेदनशील भएको अनुभूत गर्न सक्नुहुन्छ । जस्तै, दाँत भर्दा, तार लगाउँदा, दाँत सफा गर्दा आदि । यस्तोमा केही दिनपछि समस्या आफैँ हटेर जान्छ ।

कसरी गर्ने संवेदनशील दाँतको उपचार
– यदि तपाईंको दाँतको संवेदनशीलता माइल्ड छ भने क्रमशः उपचार गर्न सक्नुहुन्छ । संवेदनशील दाँतका लागि बनाइएको छुट्टै पेस्ट प्रयोग गर्न सक्नुहुन्छ । यस्ता पेस्टमा दाँतलाई इरिटेड गर्ने तत्व हुँदैनन् ।
– नरम ब्रस प्रयोग गर्नुहोस् ।
– दाँत माझ्दा बिस्तारै माझ्ने गर्नुहोस् । यसो गर्दा मात्रै पनि करिब एक हप्तामा तपाईंलाई फरक महसुस हुनेछ ।
– विनाकारण दाँत घोट्ने बानी त्याग्नुहोस् ।
– राति सुत्नेवेला चिया, कफी नपिउनुहोस् ।
– माउथगार्ड प्रयोग गर्नुहोस् ।
– सातामा एकदिन फास्टिङ पनि दाँत सुरक्षित राख्ने राम्रो उपाय हो ।
– ब्रस गर्दा दाँतको फोहोर गएन भनेर लुगा आदिले नरगड्नुहोस् । बरु नुन र तोरीको तेल मिलाएर दाँत सफा गर्न सक्नुहुन्छ ।

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै

९० प्रतिशत नेपालीको समस्या दन्तसडन, के हो ?

बढ्दो पाश्चात्य जीवनशैली, हतारमा र नचपाईकन छिटो खाना खाने प्रवृत्ति, फास्टफुड र जंकफुडको प्रचलनले दाँतमा किरा लाग्ने रोगीको संख्या बढ्दै गएको छ ।

भारतमा सन् २०११ मा गरिएको प्रारम्भिक सर्वेक्षणले ७० प्रतिशत बालबालिका र ९० प्रतिशत वयष्कमा दाँतसम्बन्धी कुनै न कुनै समस्या भएको देखाएको छ । विश्वमै अग्रपंक्तिमा रहेको दीर्धकालीन रोग दन्तसडन नेपालमा लगभग ९० प्रतिशतमा देखिएको छ । अझ सहरी एवं बोर्डिङ स्कुलका बालबालिकामा त झन् ९९ प्रतिशतभन्दा बढी दाँतसम्बन्धी रोग देखिएको छ । यस रोगसम्बन्धी विभिन्न कुरीति, कुसंस्कार, कुसोचाइ र अन्धविश्वास विद्यमान छन् । यो रोगको उपचार गर्न खोजियो भने अहिलेको नेपालको वार्षिक बजेटको कैयौँ गुना बढी खर्च लाग्ने अनुमान छ ।
विश्वमा सबैभन्दा बढी देखिने दीर्घकालीन रोग दन्तसडन स्याँ–स्याँ (दम)भन्दा १०औँ गुना बढी पाईन्छ । विश्वका कुनै जाति, धर्म, भू–भाग, देश, हावापानी, लिंग, उमेरका व्यक्तिलाई नछोड्ने दन्तसडनरोग तुलनात्मक रूपमा विकसित देशमा, उच्च खानपानमा, सहर–बजारमा, बोर्डिङ स्कुलका विद्यार्थीमा दिनप्रतिदिन बढ्दै गएको हुनाले यसलाई सभ्यताको अर्थात् आधुनिकताको उपहार भनेर पनि चिनिन्छ ।

मुखमा भएका सूक्ष्मजीवद्वारा दाँतमा टाँसिएका खाद्यपदार्थ (प्रमुखतया गुलियो)सँग प्रतिक्रिया गरी उत्पन्न हुने अम्ल/तेजावले दाँतलाई नोक्सान गरी दाँतमा हुन जाने खाल्डोलाई दन्तसडन भनिन्छ । यसलाई सर्वसाधारणले दाँतमा किरा परेको वा दाँत किराले खाएको भन्ने गर्छन् । आज पनि गाउँघरमा दाँत किराले खाएमा धामी–झाँक्रीलाई देखाएर झारफुक गर्ने प्रचलन विद्यमान छ, जुन गलत हो ।

अन्य संक्रामक रोगजस्तै दन्तसडन पनि संक्रामक रोग भएकाले कीटाणु बस्ने ठाउँ (Host), कीटाणु (Agent) र वातावरण (Environment) यसका कारण हुन् । तर, समय (कति लामो)ले नै दन्तसडनमा अहम् भूमिका खेल्दछ । दन्तसडनको रोकथामको कुरा गर्नुपर्दा कीटाणु बस्ने ठाउँ (मुख) र सूक्ष्मजीव सबै व्यक्तिमा रहन्छ नै, रोकथाम र नियन्त्रण गर्नुपर्ने वा गर्न सकिने भनेको वातावरण र समय नै हो ।
वातावरणमा दाँतको बनावट, -याल-थुक शरीरसँग सम्बन्धित कारण आन्तरिक हो भने बाहिरी कारण हामीले प्रयोग गर्ने खाद्यपदार्थ नै हो । किनभने, हामीले जे–जस्तो खाद्यपदार्थ खाए पनि उक्त खाद्यपदार्थलाई दाँत वा गिजामा टाँसिरहन नदिएमा मुखमा भएका सूक्ष्मजीवद्वारा प्रतिक्रिया भई अम्ल निस्कन पाउँदैन र दन्तसडन हुँदैन, साथै दन्तलेउ र दन्तपत्थर बन्न पनि सक्दैन ।

दन्तसडन र गुलियो

२० वर्षअघि प्रतिव्यक्ति प्रतिवर्ष ६ केजीका दरले खपत हुने चिनी हाल १६ किलोकेजी प्रतिव्यक्ति पुगेको छ । यसका अतिरिक्त विदेशबाट आयात हुने गुलियोपदार्थ, जंकफुड, फास्टफुड र पेयपदार्थको हरहिसाबै छैन । बिहान उठेदेखि राति नसुत्दासम्म प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा गुलियो खाद्यपदार्थ कतिपटक सेवन गर्छौं, त्यसको हरहिसाबै हुँदैन ।
खाएका प्रायः खाद्यपदार्थ दाँतमा टाँसिएर वा अड्केर रहँदा तथा दाँतमा लामो समयसम्म रहिरहेमा पक्कै पनि हानिकारक हुन्छन् । तर, तुलनात्मक रूपमा गुलियो खाद्यपदार्थ अलि बढी र छिटो हानिकारक हुन्छ, किनभने यसबाट उत्पन्न हुने अम्ल धेरै हुन्छ, छिटो निस्कन्छ र गुलियोले सूक्ष्म जीवलाई पनि आकर्षण गर्छ ।

गुलियो, टाँसिने र प्रशोधित खाद्यपदार्थ कति धेरै भन्दा पनि कति धेरैपटक (How many times rather than how much), कुन रासायनिक र भौतिक बनावटको, अन्य खाद्यपदार्थसँग वा एक्लै, कुन रूपमा र कसरी सेवन गरिन्छ, त्यसले असर पारिरहेको हुन्छ । सबैभन्दा पहिले यो गुलियो कति लामो समयसम्म मुखमा÷दाँतमा रहिरहन्छ, त्यही नै सबैभन्दा हानिकारक कारण हो । जस्तै, हामीले सबैभन्दा गुलियो मान्दै आएको खुदो वा चिनी दिनमा एक–दुईपटक र मुखमा १ मिनेट राखेर प्रयोग गर्छौं, तर Juice/Ice-cream दिनमा एक–दुईपटक नै मुखमा १५–२० मिनेट राखेर प्रयोग गर्छौं भने खुदो वा चिनीभन्दा व्गष्अभरक्ष्अभअचभबm नै बढी हानिकारक हुन्छ । तसर्थ, गुलियो, त्यसमा पनि अझ टाँसिने, प्रशोधित खाना सकेसम्म प्रयोग नगरौँ । यदि गर्नुपरेमा खानासँग वा खाना खाइसकेपछि डिर्जटका रूपमा प्रयोग गरौँ र त्यसपछि ब्रस गरौँ । अन्य अतिरिक्त समयमा खानुपरेमा सकिन्छ भने खानासाथ ब्रस गरौँ । यदि सम्भव नभए सफा पानीले मात्र भए पनि मुख कुल्ला गर्यौँ भने पनि गुलियो खाद्यपदार्थ सेवनबाट हुने हानिकारक असरबाट जोगिन सकिन्छ ।

दन्तसडनका लक्षण तथा चिह्न
– कालो, खैरो वा चकजस्तो सेतो दाग वा रङ देखिन्छ ।
– चिसो, तातो वा गुलियो खाँदा र ब्रस गर्दा दाँत सिरिङ–सिरिङ हुन्छ, जसलाई दाँत लाग्छ भनिन्छ ।
– खानेकुरा अड्कने तथा खाना चपाउन अप्ठ््यारो हुने हुन्छ ।

उल्लिखित लक्षण देखिँदा पनि उपचार नगरे–

– दाँत दुख्छ, गिजा सुन्निन्छ, दाँत हल्लिन्छ,
– गाला, चिउँडो सुन्निन्छ, मुख खोल्न सकिँदैन ।

एकातिर प्रकृतिले शरीरको सबैभन्दा कडा तन्तु इनामेल दाँतलाई दिएको छ भने अर्कोतिर एकपटक नोक्सान भइसकेपछि नपाइने तन्तु हो इनामेल । त्यसकारण एकपटक नोक्सान भइसकेपछि त्यसको क्षतिपूर्ति नक्कली वस्तुले नै गर्नुपर्ने हुन्छ, जसलाई हामी सिमेन्ट भर्ने भन्छौँ । घरमा केही समयका लागि कपासलाई ल्वाङको तेलमा भिजाएर निचोरेर, नभए खाली कपास वा रुई दन्तसडनद्वारा भएको खाल्डोमा राख्न सकिन्छ । दुखाइ कम गर्न औषधि खान सकिन्छ । त्यसैले दन्तसडनको गाम्भीर्यअनुसार साधारण सिमेन्ट मात्र भरेर वा जरैदेखि उपचार गरेर दाँतलाई जोगाउँदै यसको कार्यलाई (जस्तै, मुस्कुराउन, सुन्दर देखिन, टोक्न, चपाउन, शुद्ध उच्चारण गर्न, बोल्न र निल्न) जोगाउन सकिन्छ ।

रोकथाम
रोकथामको कुरा गर्नुपर्दा रोगका कारणहरू हटाउनु वा कारणबाट टाढा रहनु नै रोगबाट बच्ने उत्तम उपाय हो । तर, दन्तसडन गराउने कारक तत्व सबै व्यक्तिमा हुन्छ, जुन सबैलाई नभई नहुने चिज पनि हो । खाद्यपदार्थ सेवन गर्ने भनेको मुख नै हो, त्यसैले मुखलाई शरीरको प्रवेशद्वार मानिन्छ । मुख, दाँत, मुखका सूक्ष्म जीव, र्याल÷थुक सबै व्यक्तिमा हुन्छ र खानेकुरा पनि शरीरका लागि सबै व्यक्तिले मुखबाटै खाने हो । खाना दाँतमा टाँसिएको २० मिनटमा अम्लमा परिवर्तन हुन्छ, त्यसपछि क्रमैसँग प्लाक वा लेउ, टार्टर वा पत्थर बन्छ । दन्तलेउ दा्रँतमा टाँसिई त्यसमा भएका सूक्ष्म जीवले रासायनिक प्रतिक्रिया गरी उत्पन्न अम्लले किरा लगाउने हो । खाना राम्ररी चपाएर खाँदा बढी र्याल निस्की दाँत धोइन्छ र सफा हुन्छ । त्यस्तै, खाएपछि कुल्ला गर्ने हाम्रो प्रवृत्ति अति राम्रो छ ।

अन्तमा, दन्तसडनको रोकथाम र नियन्त्रण भनेको खानेकुरामा नियन्त्रण, नराम्रो आदत वा बानीमा नियन्त्रण र ती खाद्यपदार्थलाई लामो समयसम्म मुखमा रहिरहन नदिनु हो । तसर्थ, दाँत एवम् मुखको सरसफाइ नै दन्तसडनबाट बच्ने प्रमुख उपाय हो । साथै, आफू स्वयम्ले नै आफ्नो मुखको परीक्षण र दन्तचिकित्सकसँग नियमित दन्तपरीक्षण गराउनु रोगको उचित समयमा निदान, कम दुःख, जटिलता र खर्च बचाउनु हो ।

(न्याम्स वीर अस्पताल काठमाडौंका वरिष्ठ कन्सल्टेन्ट डेन्टल सर्जन डा. बुढाथोकी नेपाल चिकित्सक संघका कोषाध्यक्ष तथा नेपाल सरकार आँखा, नाक, कान घाँटी र मुख स्वास्थ्य शाखाका प्रमुख हुनुहुन्छ ।)

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै

दाँत किराले खाने रोगकाे उपचार

डा. प्रकाश बुढाथोकी

आधुनिकता र सम्पन्नताको परिचायकका रूपमा चिनिँदै आएका मुटुरोग, मधुमेहजस्तै दाँत किराले खाने वा दन्तसडन पनि अहिले मध्यमवर्ग हँुदै निम्न आय भएका, गरिब वर्गमा समेत महामारीका रूपमा बढ्दै गएको छ । यो तितो यथार्थ चिकित्सकलाई मात्र नभई, स्वास्थ्यप्रति सचेत सम्पूर्ण नागरिक र सरकारलाई समेत चिन्ताको विषय बनिरहेको छ ।

सभ्यताको उपहार मानिने दाँत किराले खानु एउटा संक्रामक रोग हो । मुखमा भएका सूक्ष्म जीवले दाँतमा अड्किएर, टाँसिएर बसेका खाद्यपदार्थसँग रासायनिक प्रतिक्रिया गर्दा अम्ल उत्पन्न हुन्छ । अम्लले दाँतका कडा तन्तुहरू (इनामेल, डेन्टिन र सिमेन्टम)लाई नोक्सान गरी दाँतमा खाल्डो बनाउँछ । अम्ल वा तेजावले हातमा पर्दा हात नै प्वाल पार्न सक्छ भने दाँतमा रहँदा खाल्डो नपार्ने कुरै भएन ।
दन्तसडन न औषधोपचारले निको भएर खाल्डो पुरिने रोग हो, न त यसलाई रोकथाम गर्न कुनै औषधि वा भ्याक्सिन नै बनेको छ । दन्तसडन सबैभन्दा बढी भेटिने दीर्धकालीन रोग हो । यसबाट गिजामा उत्पन्न हुने घाउको उपचार गरिए पनि एकपटक नोक्सान भइसकेको दाँत फेरि पलाउन नसक्ने भएकाले जीवनभर पीडित भएको प्रमाण रहिरहन्छ ।

भयावह
विश्व स्वास्थ्य संघका अनुसार औद्योगिक राष्ट्रका बालबालिकामा ९० प्रतिशतसम्म दन्तसडन पाइएको छ । नेपालका ६५ देखि ७० प्रतिशत बालबालिका तथा ९० प्रतिशत वयष्कमा दन्तसडन छ । गाउँमा भन्दा सहरका बालबालिकामा दन्तसडन दोब्बर छ । दाँत गुमाउनुको प्रथम कारण दन्तसडन हो ।
कालाभन्दा गोरा मानिसलाई, पुरुषभन्दा महिलालाई, तलका भन्दा माथिका दाँतलाई, अगाडिभन्दा पछाडिका बंगारालाई र चपाउने सतहलाई दन्तसडनले बढी आक्रान्त पारेको देखिन्छ । तर, दन्तसडनलाई कुनै भौगोलिक, सामाजिक, सांस्कृतिक, धार्मिक परिबन्धले बाँध्दैन । त्यसैगरी, उमेर, लिंग, वंशजले बाँध्न नसक्ने भएकाले सबैमा दाँत किराले खाने रोग देखिन्छ ।
पहिलेपहिलेका मानिसमा दन्तसडन कम देखिन्थ्यो । अहिले पनि बूढापाकामा, गाउँघरमा, सरकारी विद्यालय पढ्ने विद्यार्थीमा र नाङ्लोपसले, भरियाजस्ता कामकाजी पुरुष तथा महिलामा यो रोग कमै देखिन्छ । राउटे, कुसुन्डा, चेपाङजस्ता जातिमा पनि दाँत किराले खाने रोग कमै देखिन्छ । यी सबैले पुष्टि गर्दछन् कि, दन्तसडन सम्पन्नता र आधुनिकताको चिनारी हो । अझ भन्नुपर्दा आधुनिक, प्रशोधित, गुलिया, टाँसिने खाद्यवस्तु, जंकफुड, फास्टफुडलगायतको प्रयोग गर्ने व्यक्तिमा बढी देखिन्छ । गाउँघरमा पनि गुलियो, प्रशोधित–चकलेट, बिस्कुट, पेस्ट्रीको बढी प्रयोग, आफ्ना करेसाबारीमा उत्पादन भएका हरिया सागसब्जी, फलफूल बजारमा लगी बेच्ने र फर्कंदा फास्टफुड, गुलिया खाद्यपदार्थ लिई फर्कने, आफू व्यस्त रहने वा आधुनिकता देखाउने होडमा बजारबाटै खाद्यपदार्थ लिई खाने, बच्चालाई नास्ताको रूपमा गुलिया टाँसिने पदार्थ दिने र बच्चालाई स्तनपान नगराई बट्टा र डब्बाको दूध खुवाउने गर्नाले पनि बच्चामा दन्तसडन देखिने गरेको छ ।

खाद्यपदार्थ
अन्य संक्रामक रोगझैँ दन्तसडन पनि सूक्ष्म जीव, सूक्ष्मजीव बस्ने ठाउँ र वातावरणको उपज हो, तर सूक्ष्म जीव सबैको मुखमा हुन्छन् । दाँत, मुख, ¥याल सबैमा हुन्छ नै, फरक पार्ने भनेको वातावरण वा खाद्य पदार्थले नै हो । कसैमा दन्तसडन बढी वा कम देखिनुको कारण लामो समयसम्म दाँतमा खाद्य पदार्थ टाँसिन दिनु वा नदिनु नै हो । दन्तसडन गराउन कार्बोहाइड्रेट, चिल्लोपदार्थ, प्रोटिन, भिटामिन (ए, डी, के, सी, बी) र खनिजपदार्थ (क्याल्सियम, फस्फोरस, फ्लोराइड, सेलेनियम, भेनेडियम) सबैको भूमिका रहन्छ । तुलनात्मक रूपमा छोटो समयमा, बढी अम्ल निकालेर दन्तसडन गराउने कारक कार्बोहाइड्रेट वा गुलियो पदार्थ हो । आजकल मकै भटमास, सागसब्जीको सट्टा गुलियो पदार्थका खानेकुराको सेवन बढ्दो छ । स्कुले बालबालिकालाई घरबाट खाजा नपठाइदिनु, बच्चा सुताउन स्तनपान तथा बोतल दूधको प्रयोग, जंकफुड, चाउचाउको प्रयोगलगायतले दन्तसडन बढाएको छ ।
खाद्यपदार्थका अतिरिक्त अप्रत्यक्ष रूपले दाँतको बनावट, रूप र एकअर्कासँगको सम्बन्ध र बसाइ स्थिति, ¥यालको बनावट, पिएच, मात्रा, गाढापन, प्रतिरोधात्मक शक्ति, वंशानुगत, गर्भवती भएको अवस्था र सुत्केरी अवस्थाले पनि दन्तसडन हुनमा भूमिका खेलिरहेका हुन्छन् । खाना खाइसकेपछि ब्रस गर्ने वा कुल्ला गर्ने बानीले सूक्ष्मजीव र खाद्यपदार्थको सम्पर्कको समयलाई घटाउने भएकाले हानिरहित हुन सक्छ ।

दुखाइ
दन्तसडनको दुखाइ सहनै नसक्ने गम्भीर किसिमको हुन्छ । हृदयाघात र दन्तसडन दुवैको पीडा भोगेका बिरामी दन्तसडनको दुखाइ १० गुना बढी हुने बताउँछन् । त्यसैगरी, प्रशवपीडा र दन्तसडन दुवैको दुखाइ अनुभव गरेका महिला दन्तसडनको पीडा कैयौँ गुना बढी र लामो समयसम्म हुनुका साथै कहिलेकाहीँ औषधिले पनि काम नगर्ने बताउँछन् । त्यसैले होला, जतिसुकै शिक्षित, सम्पन्न व्यक्ति पनि दाँतको दुखाइ लिएर आउँदा उनीहरूको पहिलो छनोट दाँत निकालेर दन्तअपांगता स्विकार्ने हुन्छ । उनीहरु पछि महँगो खर्चमा पर्ने र पछुताउने गर्छन् ।

निदान र उपचार
जब दन्तसडन दाँतको बाहिरी सतह इनामेलमा मात्र सीमित हुन्छ, हेर्दा कालो दाग मात्रै देखिन्छ, त्यस अवस्थासम्म राम्रोसँग सफा गरेमा, प्mलोराइड भएको दन्तमन्जन, माउथवास र औषधि प्रयोग गर्दा निको हुन सक्छ । जब चकजस्तो सेतो, हल्का–गाढा खैरो देखिन्छ, ब्रसगर्दा, चिसो, गुलियो प्रयोग गर्दा सिरिङ–सिरिङ हुन्छ, खाना अड्कन्छ, खाना चपाउन मिल्दैन, त्यस अवस्थामा सामान्य प्रकारको सिमेन्ट भरे हुन्छ ।
जब राति सुतेका वेला दाँत दुख्ने, गिजा सुन्निने, दाँत हल्लिने, लगातार दुखिरहने अवस्था हुन्छ, त्यसवेला दाँतको जरादेखि नै भरेर वा आरसिटी गरेर दाँत जोगाउन सकिन्छ र अन्य दाँतसरह काम लिन सकिन्छ ।

अन्तमा
भयावह अवस्था न्यूनीकरण गर्न चिनीको कम प्रयोग, फलफूल र सागसब्जीको उपयोग, मुखको उचित सरसफाइ, सुर्तीसेवन र मद्यपानमा रोकजस्ता उपाय अपनाएर जोखिम घटाउन सकिन्छ । सन्तुलित खानेकुरामा जोड दिई नरम ब्रस, फ्लोराइड भएको दन्तमन्जनको प्रयोग र मुख कुल्ला गर्ने बानी बसाली दाँत एवम् मुखको सरसफाइमा ध्यान दिनुपर्छ । हरेक ६ महिनामा नियमित दन्तपरीक्षण गराउने बानी बसाल्नुपर्छ ।

डा. बुढाथोकी वीर अस्पतालमा कार्यरत छन्

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै