दसैँको खानपान र मुखस्वास्थ्य

नेपालीको घरआँगनमा अहिले दसैँको रौनक छाएको छ । विशेषगरी हिन्दू धर्मावलम्बीको महान् चाड दसैँको बहुआयामिक महत्त्व छन् । धार्मिक हिसाबले असत्यमाथि सत्यको विजयोत्सव तथा शक्तिस्वरूपा भगवती दुर्गाको आराधनामा मात्र दसैँ सीमित छैन, राम्रो लगाउने, मिठो खाने, आफन्तजनसित भेटघाट गर्ने, मान्यजनबाट टीका र आशीर्वाद ग्रहण गर्ने, वर्षदिनसम्म वा कतिपय अवस्थामा कैयौँ वर्षसम्म पनि अध्ययन तथा रोजगारीको सिलसिलामा देश तथा विदेशमा रहँदा परिवारजनसित बिछडिएका सदस्यसित मिल्ने, सांस्कृतिक र आधुनिक हिसाबले पनि मनोरञ्जन गर्ने प्रचलन सदियौँदेखि दसैँले बोक्दै आएको छ ।

दसैँको स्वास्थ्यसित जोडिएको पक्ष भनेको विशेषतः खानपान नै हो । खानपानमा पनि दसैँलाई अधिकतर नेपालीले मासुसित जोडेको पाइन्छ । शाकाहारी जनले पनि दसैँ भनेपछि मिठा–मिठा परिकार खानुपर्ने मान्यता राखेको पाइन्छ । खासगरी यहाँ दसैँमा अनिवार्यझैँ लिने गरिएको मासुको अत्यधिक सेवनलाई लिएर त्यसको मुखस्वास्थ्यसितको सम्बन्ध, असर र सुरक्षित रहने उपायबारे जानकारी दिने प्रयास गरिनेछ ।

मासु तथा मसालेदार भोजनको सेवनले जिब्रोलाई जति आनन्दित तुल्याउँछ, त्यति नै मुख स्वास्थ्यका लागि चुनौती सिर्जना गर्छ । मासुको अत्यधिक सेवनले गिजामा मासुका त्यान्द्रा अड्किने, हड्डीले दाँत भाँचिने तथा कुँड्किने, दाँत दुख्ने तथा खानामा लशून–प्याजको अत्यधिक सेवनले मुख गन्हाउनेजस्ता समस्या देखापर्छन् । दसैँको रमझम तथा कतिपय अवस्थामा कामको व्यस्तताले पनि नेपाली दाजुभाइ–दिदीबहिनीले मुखस्वास्थ्यलाई खासै ध्यान नदिएको देखिन्छ । अझ दैनिकसजो फकर–फरक आफन्तकोमा गएर रमाइलो गर्ने तथा टीकाटालाका लागि चहार्ने प्रचलनका कारण कतिपयले त झन् खानपान बढी हुने वेलामा दाँत माझ्नेसम्म पनि नगरेको पाइन्छ । दिनहुँ दाँत सफा नगर्दा, मद्यपान, धूमपान र गलिष्ठ भोजन बढी गर्दा अन्य समयमा भन्दा चाडवर्पका वेला मुखमा ब्याक्टेरियाको मात्र बढी हुन जान्छ । मुखमा उत्पादित ब्याक्टेरिया पेटमा पुगी झाडापखालाजस्ता रोगको संक्रमण हुने खतरा पनि दसैँमा उत्तिकै हुन्छ । मुख हाम्रो शरीरको प्रवेशद्वार पनि हो । जसरी प्रवेशद्वार सफा राख्न सके समग्र घर नै सफा रहन्छ, त्यसैगरी माख सफा र स्वस्थ रहेमा हाम्रो शरीर नै सफा र स्वस्थ रहन्छ ।

दसैँले नेपालीको मनमा उमंग ल्याइरहँदा मुखस्वास्थ्यबारे ख्याल नगर्नाले वर्षमा एकपटक आउने आफ्नो महान् चाडलाई खल्लो बनाइदिन्छ । चाडबाडमा रमाउनुपर्ने वेलामा अस्पतालमा बस्नुपर्ने बाध्यता आइपरेमा आफूसँगै समग्र परिवारकै लागि चाडपर्वको रौनक गुम्न पुग्छ । तसर्थ, केही सामान्य आनिबानी र आचरणमा सजग रहेर मुखलाई स्वस्थ राख्नु नै बुद्धिमानी हुन्छ । हाम्रो सामान्य सजगता र आनिबानीमा सुधारले चाडपर्वलाई उल्लासमय बनाउन महत्त्वपूर्ण भूमिका खेलिरहेको हुन्छ ।

दसैँ मनाउने प्रचलित शैलीले मुख स्वास्थ्यमा थपेका प्रमुख चुनौती :
– अत्यधिक मसालेदार भोजनको सेवनले मुख तथा गिजा पोल्ने ।
– मासुका त्यान्द्रा गिजामा पसी दाँत दुख्ने, गिजाबाट रगत आउने तथा गिजामा घाउ हुने ।
– मासु सेवनका क्रममा हड्डीले दाँत भाँच्ने, फुटाउने तथा थाहै नहुने गरी टुक्य्राउने ।
– मुख गन्हाउने ।
– मुखमा ब्याक्टेरियाको मात्रा अत्यधिक भई टन्सिलाइटिस तथा फ्यारेन्जाइटिस हुने ।
– धरै चिसो (फ्रिजमा राखिएको) पेयपदार्थ, जस्तै, कोकाकोला, फ्यान्टा, चिसो बियर आदिको सेवन गर्दा दाँत सिरिङ–सिरिङ गर्ने, आदि ।

कसरी बच्ने ?
– दिनहुँ २ पटक नबिराईकन फ्लोराइडयुक्त दन्तमन्जनले दाँत सफा गर्ने ।
– खाना खाएपछि तथा खानुअघि राम्ररी कुल्ला गर्ने ।
– खानामा मसलाको प्रयोग कम गर्ने ।
– मासु खाएपछि त्यान्द्रा दाँतमा अड्किएको खण्डमा डेन्टल फ्लस प्रयोग गरी त्यान्द्रा निकाल्ने ।
– मासुको हड्डी तथा त्यान्द्रा गिजामा पसेको खण्डमा सावधानीपूर्वक निकाल्ने, यदि निकाल्न समस्या भएमा तुरुन्त दन्तचिकित्सककहाँ जाने ।
– मासु तथा हड्डी चपाउँदा बंगारा (पछाडिको मोटो दाँत) को प्रयोग गर्ने, सकभर अगाडिको दाँतले नचपाउँने ।
– हड्डी चपाउँदा दाँत टुटे–फुटे वा भाँचिएको खण्डमा दाँतको टुक्रा लिई तुरुन्त दन्तचिकित्सकको सम्पर्कमा जाने ।
– पेयपदार्थको बिर्को खोल्न दाँतको प्रयोग कदापि नगर्ने, ज्यादा चिसो पेयपदार्थको सेवन नगर्ने ।
– दाँत अत्यधिक संवेदनशील भएको खण्डमा सेन्सोडाइन दन्तमन्जनले दाँत सफा गर्ने ।
– मसालेदार खानेकुराले मुख तथा दाँत एकदमै पोलेको खण्डमा दन्तचिकित्सकको सल्लाह लिने, त्यसो हुन नसकेको खण्डमा क्लोर्हेग्जिडाइन माउथवासको प्रयोग गर्ने, एक बिर्को क्लोर्हेग्जिडाइन र एक बिर्को पानी मिलाई बिहान–बेलुका कुल्ला गर्ने ।
– नक्कली दाँत (डेन्चर) लगाएका व्यक्तिले खाना खाएपछि टेन्चर र मुखको रम्ररी सफाइ गर्ने ।
– समय–समयमा वा चाडपर्वमा समस्या देखिएमा दन्तचिकित्सकसँग परामर्श लिन शंकोच नमान्ने ।

(काठमाडौं मेडिकल कलेजका बिडिएस छात्र रौनियार अन्तिम वर्षको परीक्षा दिई नतिजाको प्रतीक्षामा छन्)

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै

दसैँ बिदामा प्रसूतिगृहमा मात्रै ओपिडी सेवा, कान्तीमा ४ वीरमा ३ दिन बन्द

दसैँ बिदामा नियमित तथा आकस्मिक स्वास्थ्योपचार सेवाको उपलब्धता सबैको चासोको विषय हो । रोगले चाडपर्व नभन्ने भएकाले आकस्मिक तथा नियमित उपचारका लागि पनि चाडपर्वको लामो बिदामा स्वास्थ्योपचार सेवा उपलब्ध स्वास्थ्यसंस्थाबारे खुल्दुली हुनु स्वाभाविक छ ।
काठमाडौंका प्रमुख अस्पतालमध्ये थापाथलीस्थित परोपकार प्रसूतिगृहले दसैँ बिदामा समेत बिरामीका लागि ओपिडी सेवा उपलब्ध गराउने भएको छ । दसैँमा अष्टमी, नवमी र दशमी गरी ३ दिन अस्पताल प्रशासन बन्द रहने भए पनि युनिट–युनिट गरी ड्युटी समय मिलाएर ओपिडी सेवा सुचारु गर्ने निर्देशक जागेश्वर गौतम बताउँछन् । उनी भन्छन्, ‘परोपकार प्रसूतिगृह काठमाडौंको एक मात्रै अस्पताल हो, जसले सार्वजनिक बिदामा समेत बिरामीलाई ओपिडी सेवा दिने गरेको छ ।’
अस्पताल २४ घण्टे सञ्चालनमा रहने र नियमित १० देखि १२ जनाको संख्यामा चिकित्सक अस्पतालमा रहने गौतम बताउँछन् । दसैँ बिदाको हरेक दिन, टीकाको दिनसमेत अस्पतालमा चिकित्सक कार्यरत रहने उनी बताउँछन् । तर, टीकाको दिन भने केही समय ब्रेक गराउनका लागि निर्देशन दिएको गौतम बताउँछन् । उनका अनुसार ६ घण्टा ड्युटीमा रहँदा टीकासमेत लगाउन नपाउने अवस्था आउने भएकाले ब्रेक गराउन भनिएको हो । दसैँ, टीका तथा अन्य कुनै पनि कुराले डेलिभरी नरोक्ने भएकाले निरन्तर सेवा दिइने गौतम बताउँछन् ।
दसैँका वेला झन् धेरै जोखिमका केस आउने गरेका छन् । ‘जति बिरामी आउँछन्, जोखिमकै बढी हुन्छन्,’ गौतम अनुभव सुनाउँछन्, ‘त्यसकारण चाडपर्वका वेला चिकित्सकहरू अन्य समयभन्दा झनै व्यस्त ह्ुन्छन् ।’
कान्ती बाल अस्पतालले दसैँ बिदामा जम्मा ४ दिन ओपिडी सेवा बन्द गर्ने भएको छ । अस्पतालका निर्देशक डाक्टर गणेश राईका अनुसार दसैँमा मंगलबारदेखि शुक्रबारसम्म ओपिडी सेवा बन्द रहनेछ । ओपिडी बन्द रहे पनि आकस्मिक सेवा भने २४ घण्टै खुला रहने राई बताउँछन् ।
त्यसैगरी, वीर अस्पतालले दसैँमा ३ दिन ओपिडी सेवा बन्द गर्ने भएको छ । अष्टमी नवमी र दशमीका दिन अस्पतालमा ओपिडी सेवा बन्द रहने निर्देशक भूपेन्द्रकुमार बस्नेतले जानकारी दिएका छन् । उनका अनुसार आकस्मिक सेवा भने हरेक दिन २४ घण्टै खुला रहनेछ ।

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै

२४ असोजदेखि मासुजन्य पदार्थको दसैँलक्षित अनुगमन

पशु सेवा विभागले २४ असोजदेखि उपत्यकाका प्रमुख नाका तथा मासुजन्य पदार्थको बिक्री–वितरण हुने प्रमुख सात क्षेत्रमा चाडपर्वलक्षित अनुगमन गर्ने बताएको छ । विभागका वरिष्ठ पशु चिकित्सक डा. मोदनाथ गौतमका अनुसार ‘दसैँपर्व खसीबजार स्वास्थ्यपरीक्षण तथा पशु क्वारेन्टाइन नाका अनुगमन कार्ययोजना– २०७५’ अनुसार अनुगमन गरिनेछ ।

अनुगमनका क्रममा मासुजन्य पदार्थको बिक्री–वितरणमा मापदण्ड पूरा भए–नभएको पत्ता लगाइनेछ । अन्य समयमा नियमित रूपमा यस्ता अनुगमन हुने भए पनि दसैँ, तिहारजस्ता चाडपर्व नजिकिँदै गर्दा यस्ता पदार्थको खपत बढी हुने भएकाले विभागले बर्सेनि चाडपर्वलक्षित अनुगमन गर्दै आएको गौतम बताउँछन् ।

अनुगमनका लागि कृषि तथा पशुपक्षी विकास मन्त्रालय र पशु सेवा विभागका महानिर्देशक र सहसचिवको सहभागितामा एक उच्चस्तरीय अनुगमन टोलीको समेत गठन गरिएको छ । अनुगमन दसैँको घटस्थापनादेखि विजयादशमीको दिनसम्म जम्मा १० दिन बिहान ७ बजेदेखि १० बजेसम्म तथा साँझ ३ बजेदेखि ५ बजेसम्म गरिनेछ

उनका अनुसार विभागले उपत्यकाका मासुजन्य पदार्थको बिक्री–वितरण हुने प्रमुख ८ स्थानमा अनुगमन गर्नेछ । त्यसमा कलंकी खसीबजार, बल्खु माछाबजार, सतुंगल पशुपक्षीबजार, टुकुचा खसीबजार, खाद्य संस्थान थापाथली, बानेश्वर बिजुलीबजार, भक्तपुर सल्लाघारी खसीबजार, काठमाडौं चोभार, काठमाडौं नागढुंगा पशुपक्षी भित्रिने नाका, तथा बालाजु बाइपास नाका तथा खसीबजार क्षेत्रमा अनुगमनका लागि टोली गठन गरिसकिएको छ ।

अनुगमनका लागि कृषि तथा पशुपक्षी विकास मन्त्रालय र पशु सेवा विभागका महानिर्देशक र सहसचिवको सहभागितामा एक उच्चस्तरीय अनुगमन टोलीको समेत गठन गरिएको छ । अनुगमन दसैँको घटस्थापनादेखि विजयादशमीको दिनसम्म जम्मा १० दिन बिहान ७ बजेदेखि १० बजेसम्म तथा साँझ ३ बजेदेखि ५ बजेसम्म गरिने गौतमले जानकारी दिए । अनुगमनमा महानगरपालिकाका प्रतिनिधि तथा प्रत्येक स्थानीय तहका प्रतिनिधिसमेत रहने व्यवस्था छ । अनुगमन टोलीमा उनीहरूको सहभागिता रहनाले मापदण्डविपरीत मासुजन्य पदार्थको बिक्री–वितरण गर्ने व्यक्ति तथा कम्पनीलाई कारबाहीमा ल्याउन सहज हुने गौतमको दाबी छ ।

अनुगमनका क्रममा खासगरी पशुको स्वास्थ्यजाँच गरिन्छ । स्वस्थ जनावरबाट मात्रै मानिसले स्वस्थ मासु पाउने भएकाले नै पशु स्वास्थ्यजाँच गरिएको हो । हामीले सार्वजनिक यातायातमा पशुपक्षीको ढुवानी नगर्नका लागि केही वर्षअघिदेखि नै अनुगमनको सुरुवात गरिसकेका छौँ । सार्वजनिक यातायातका साधनमा पशुपक्षीको ढुवानी गर्नु मापदण्डविपरीत हो । पशुपक्षी ढुवानीसम्बन्धी मापदण्डको धज्जी उड्ने गरी ढुवानी भइरहँदा मापदण्डको पालना गराउन माग गर्दै परेको रिटउपर फैसला गर्दै सर्वोच्च अदालतले समेत सरकारका नाममा मापदण्ड पूर्णतः कार्यान्वयन गराउन आदेश जारी गरिसकेको छ । कारबाहीको आवश्यकताबारे आवश्यक प्राविधिक कुरा भने हामीले उपलब्ध गराउने गर्छाैं ।

नेपालमा बर्सेनि ३ प्रतिशतले मासु तथा मासुजन्य पदार्थको उत्पादन बढिरहेको  छ ।

मापदण्डविपरीत बिक्री–वितरण गर्ने व्यक्ति तथा कम्पनीउपर उपभोक्ता हित संरक्षण ऐनअनुसार कारबाही हुने भएकाले विभागको अनुगमनले कारबाहीको दायरामा ल्याउँछ, जुन गुणस्तरको क्षेत्रमा सुधारात्मक हुने गौतमको दाबी छ । सार्वजनिक यातायातका साधनमा पशुपक्षीको ढुवानी गर्दा एकातर्फ पशु अधिकारको हनन भएको हुन्छ भने अर्काेतर्फ मान्छेले खाने मासुको स्रोतमा खराबी आउन सक्छ । पशु तनावरहित रहेमा मात्र गुणस्तरीय मासुको आपूर्ति मानिसलाई हुने गर्छ । सार्वजनिक यातायातमा पशुपक्षीको ढुवानी गरिएमा बढीमा ५ हजारसम्म जरिवाना हुने व्यवस्था छ । आर्थिक वर्ष ०७४÷७५ मा विभागले मापदण्डविपरीत मासुजन्य पदार्थको बिक्री–वितरण गरेबापत करिब १६ लाख ६८ हजार रकम जरिवाना गरी राजस्व संकलन गरेको थियो । अनुगमनका लागि स्थानीय सरकारलाई पनि जिम्मा दिइएको छ ।

आर्थिक वर्ष ०७४/७५ मा विभिन्न नाका भएर काठमाडौंमा ५ लाख ३० हजार खसी आयात भएका थिए । नेपालमा हुने मासु तथा मासुजन्य पदार्थको खपतमा भारतीय उत्पादनको हिस्सा लगभग २५ प्रतिशत रहेको छ । काठमाडौं उपत्यकामा हुने मासुको खपतमा नेपालीभन्दा भारतीय उत्पादनले बढी हिस्सा लिएको छ । नेपालमा बर्सेनि ३ प्रतिशतले मासु तथा मासुजन्य पदार्थको उत्पादन बढिरहेको  छ । नेपालका गाउँ–गाउँमा उत्पादित मासुजन्य पदार्थ काठमाडौंमा ल्याउन नसकेका कारण पनि भारतबाट नेपालमा मासुजन्य पदार्थको आयात बढ्ने गरेको हो ।

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै