आइओएमले मनायो ४७औँ वार्षिकोत्सव, शिक्षण अस्पताल ३७औँ वर्षमा, यस्तो छ प्रगतिविवरण

त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थानले आइतबार स्थापनाको ४७औँ वार्षिकोत्सव मनाएको छ । सँगसँगै त्रिवि शिक्षण अस्पताल ३७औँ वर्षमा प्रवेश गरेको छ । आइतबार चिकित्सा क्याम्पसको वेसिक साइन्स भवनमा आयोजित समारोहका बीच दुवैले वार्षिकोत्सव मनाइरहँदा आ–आफ्ना उल्लेखनीय कार्यप्रगतिको विवरण सार्वजनिक गरे ।

वार्षिकोत्सव समारोहमा त्रिवि उपकुलपति प्रा.डा. तीर्थराज खनियाँले त्रिविको नेतृत्व सम्हाल्दा आफू निकै खुसी भएको बताए । उनले आफ्नो उपकुलपति यात्रा मध्यतिर केही उतर–चढाव र तनावपूर्ण भएको तर आफ्नो कार्यावधि सकिनै लाग्दा धरानको उपकुलपतिको जस्तो हविगत नहोस् भनेर अवतरणको बाटोमा रहेको बताए । उनले सरकारले भिसीहरूलाई अप्ठ्यारोमा पार्ने गरेको गुनासो गरे । ‘के कुराको तारतम्य नमिलेको हो, यकिन हुन नसेन,’ खनियाँले भने । बिपी स्वास्थ्यविज्ञान प्रतिष्ठान धरानका उपकुलपति प्रा.डा. राजकुमार रौनियार मन्त्रीसित साँठगाँठ नमिल्दा हटाइएका थिए भने सर्वोच्चबाट पुनर्बहाली भएका रौनियार केही साताअघि घुससहित अख्तियारको फन्दामा परेका थिए ।

‘शिक्षण अस्पतालको वार्षिकोत्सव मनाउँदा जेजति कुरा भएका छन्, प्रतिवेदनमा उल्लेख भएका कुराहरू भएका छन्,’ खनियाँले भने, ‘तपाईंले गरेको परिश्रमसँग जोडिएर बौद्धिक क्षमतालाई सम्मान गर्दै तपाईंहरूले मनाएको खुसी साट्न पाउनु खुसीको कुरा हो ।’

चिकित्साशास्त्र अध्ययन संस्थानको प्रतिवेदन प्रस्तुत गर्दै डिन प्रा.डा. जगदीशप्रसाद अग्रवालले संस्था सुरुवातको चरणमा महाराजगन्ज मेडिकल क्याम्पसमा स्नातक तहका सीमित कार्यक्रमहरूमा वार्षिक ३० देखि ४० जना विद्यार्थी भर्ना गराई अध्यापन गराउँदै आएकोमा हाल स्नातक तहका विभिन्न कार्यक्रममा वार्षिक १ सय ४० देखि ५० जना, स्नातकोत्तर तहमा १ सयभन्दा बढी र विद्यावारिधिका विभिन्न कार्यक्रममा वार्षिक २० जना विद्यार्थीलाई अध्यापन तथा तालिमको व्यवस्था गर्दै आएको जानकारी दिए ।

डा. अग्रवालले चिकित्साशास्त्र अध्ययन संस्थानअन्तर्गत आंगिक तथा सम्बन्धनप्राप्त कलेजहरूको आर्थिक वर्ष ०७४÷७५ का विभिन्न शैक्षिक कार्यक्रममध्ये स्नातकोत्तर तहमा २ सय ४४, स्नातक तहमा १ हजार १ सय ४२ र प्रमाणपत्र तह (पिसिएल नर्सिङ) कार्यक्रममा २ सय ८३ विद्यार्थी उत्तीर्ण भएको प्रतिवेदन प्रस्तुत गरे ।

त्यसैगरी, संस्थानअन्तर्गतका सम्पूर्ण अस्पताल, केन्द्र, क्याम्पस कार्यालयका कार्ययोजनाको कार्यपत्र पनि प्रा. अग्रवालले प्रस्तुत गरेका थिए, जसमा मुख्य रूपमा उपयुक्त स्थानको खोजी गरी फ्याकल्टी तथा कर्मचारीका लागि आवासीय भवन निर्माण गर्ने लक्ष्य राखेको छ । काठमाडौंबाहिर रहेका वीरगन्ज नर्सिङ क्याम्पस, नेपालगन्ज नर्सिङ क्याम्पस, पोखरा नर्सिङ क्याम्पस, विराटनगर नर्सिङ क्याम्पसमध्ये प्रथम चरणमा पोखरा नर्सिङ क्याम्पसमा १ सय शय्याको अस्पताल निर्माण गर्ने कार्यक्रम छ । प्रथम चरणको लागत अनुमान तयार गर्ने कार्य सम्पन्न भइसकेको र अन्य क्याम्पसमा पनि क्रमशः विस्तार गरिने योजना छ । त्यसैगरी, केन्द्रीय जनस्वास्थ्य विभागको स्थापना गरी जनस्वास्थ्य विषयमा स्नातकोत्तर तथा विद्यावारिधि तहको कार्यक्रम सञ्चालन गर्नेलगायत अन्य कार्यक्रमको स्तरोन्नति गर्न त्रिवि कीर्तिपुरमा निर्मित बेसिक साइन्स भवनको प्रयोग गर्ने उल्लेख छ ।

डा. अग्रवालले ०७६÷७७ का लागि कार्यालयले विकास कार्यक्रमका लागि ७३ करोड ७० लाख प्रस्ताव गरेको बताए । त्यसैगरी, डिन कार्यालयले नियमिततर्फ ३ करोड २५ लाख, ३८ हजार ३ सय ८८ र आन्तरिक स्रोततर्फ १२ करोड २१ लाख ८९ हजार ३ सय ५५ रूपैयाँ प्रस्ताव गरेको जानकारी उनले दिए ।

अस्पतालमा सबैखाले बिरामीको चाप बढ्दै
त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालले गरेको कार्यप्रगति प्रतिवेदन प्रस्तुत गर्दै अस्पतालका कार्यकारी निर्देशक डा. प्रेमकृष्ण खड्काले सुरुवातको चरणमा ३ सय १ बेड क्षमताबाट सुरु भएको शिक्षण अस्पताल हाल करिब ७ सय बेड क्षमतामा सञ्चालन भइरहेको र अस्पतालमा नियमित उपचार गराउन आउने बिरामीको संख्या वृद्धि हुँदै गएको बताए । डा. खड्काको प्रतिवेदनअनुसार आर्थिक वर्ष ०७४÷७५ मा उपचार गराउन आउने बिरामीको संख्या ओपिडीतर्फ ५ लाख ८ हजार ३ सय ३१ रहेकोमा आर्थिक वर्ष ०७५÷७६ मा ५ लाख २५ हजार ५ सय ११ ले सेवा लिएका छन् । अस्पतालमा भर्ना भई उपचार गराउने बिरामीको संख्या आर्थिक वर्ष ०७४÷७५ मा २५ हजार १२ रहेकोमा आर्थिक वर्ष ०७५÷७६ मा वृद्धि भई २५ हजार ८ सय ४५ पुगेको छ । त्यसैगरी, इमर्जेन्सीमा आउने बिरामी संख्या ०७४÷७५ मा ४८ हजार ८ सय ५७ बाट ०७५÷७६ मा ५० हजार ३ सय ६९ पुगेको डा. खड्काले जानकारी दिए ।

फार्मेसीको आम्दानी पनि बढ्यो
अस्पतालको फार्मेसीबाट आर्थिक वर्ष ०७४÷७५ मा १४ करोड ३० लाख ७५ हजार मुल्यबराबरको औषधि विक्री भएकोमा फार्मेसी सेवालाई सुधार गर्दै आर्थिक वर्ष ०७५÷७६ मा १९ करोड ७६ लाख ११ हजारको औषधि विक्री गर्न सफल भएको प्रतिवेदनमा उल्लेख छ ।

चालू आव ०७६÷७७ मा अस्पतालमा ६८ लाख ८९ हजार ३ सय ५५ घाटा हुने अनुमान
चालू आर्थिक वर्ष ०७६÷७७ को अनुमानित आर्थिक विवरणमा आम्दानीतर्फ २ अर्ब १८ करोड ५६ लाख २२ हजार ९ सय ९४ प्रक्षेपण गरिएको छ भने खर्चतर्फ २ अर्ब १९ करोड, २५ लाख, १२ हजार ३५ हुने अनुमान गरिएको छ । जसअनुसार ६८ लाख ८९ हजार ३ सय ५५ घाटा हुने देखिएको डा. खड्काले बताए ।

महिनामा एउटा कलेजो प्रत्यारोपण गर्ने लक्ष्य
अस्पतालले एक दशकदेखि मिर्गौला प्रत्यारोपणलाई सफलतापूर्वक निरन्तरता दिँदै आएको छ भने ०७६ सालमा पहिलोपटक कलेजो प्रत्यारोपण सेवा सुरु गरेको छ । अस्पतालको भौतिक एवं प्रविधिक क्षमतालाई मध्यनजर गरी महिनामा एउटा बिरामीमा कलेजो प्रत्यारोपण गर्ने लक्ष्य लिएको छ ।
वार्षिकोत्सवमा ०७२ सालपछि अस्पतालबाट अवकाश भएका कर्मचारीलाई सम्मान गरियो ।

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै

कलेजो प्रत्यारोपण गरिएका व्यक्ति डिस्चार्ज

तीन साताअघि त्रिवि शिक्षण अस्पतालमा कलेजो प्रत्यारोपण गरिएका व्यक्ति अस्पतालबाट डिस्चार्ज भएका छन् । जेठ १७ मा ३३ वर्षे छोरीले दिएको कलेजो प्रत्यारोपण गरिएका ५८ वर्षे पुरुषको शुक्रबार डिस्चार्ज गरिएको छ ।

प्रत्यारोपणपछि २ सातासम्म आइसियूमा राखिएका उनलाई एक साता हाइकेयर यूनिटमा राखेर उपचार गरिएको थियो । प्रत्यारोपणमा डा. रमेशसिंह भण्डारीको नेतृत्वको टोलीले प्रत्यारोपण गरेको थियो । नेपाली चिकित्सकको टोलीलाई डा. निरभ गोयलको टोलीको सघाएको थियो ।

डा. भण्डारीले विहानै आफ्नो सामाजिक सञ्जाल फेसबुकमा डिस्चार्ज भएको र त्यसले आफू र आफ्नो टिमलाई ठूलो राहत मिलेको उल्लेख गरेका छन् ।

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै

प्रसूति सेवाका लागि परोपकार प्रसूतिगृह नै अब्बल, कुन अस्पतालकाे रेकर्ड कस्तो ?

सरकारी अस्पतालको नाम सुन्दा आमसहरिया नाक खुम्च्याउँछन् । त्यसमा पनि प्रसूतिसेवाका लागि त सरकारी अस्पताल राम्रो हुन्न भन्ने सोच छ । आफैँमा ठूलो जनसंख्या बसोवास गर्ने उपत्यका, त्यसमाथि पनि देशैभरको उपचारको गन्तव्य, प्रसूति गराउन धेरै विकल्प छन्, तर कुन संस्था उपयुक्त होला भन्ने प्रश्न आमसेवाग्राहीको मनमा खड्किरहन्छ ।

तर आमसोचविपरीत प्रसूति सेवाप्रदायक देशभरका स्वास्थ्यसंस्थामा थापाथलीस्थित परोपकार प्रसूतिगृह अब्बलसँगै पहिलो रोजाइमा पर्ने गरेको पाइएको छ । राजधानीमा सरकारी तहकै त्रिवि शिक्षण अस्पताल, पाटन अस्पतालसँगै निजी क्षेत्रका थुपै्र अस्पताल प्रसूति सेवाका लागि नाम चलेका छन् ।

आकस्मिक तथा जटिल प्रसूति गराउनका लागि उपकरण तथा प्रविधिसँगै, न्यून बाल र मातृमृत्युदर, दक्ष तथा अनुभवी चिकित्सा जनशक्ति, सुलभ सेवा तथा पहुँच, २४सै घण्टा विशेषज्ञ जनशक्तिको उपस्थिति, सेवामा विविधता, चुस्त प्रशासनजस्ता कुराले प्रसूति सेवाकेन्द्रहरुको प्रभावकारिता निर्धारण गर्छ ।

बढ्दो प्रसूतिसम्बन्धी जनचेतना, नियमित गर्भपरीक्षण तथा स्वास्थ्यसंस्थामा प्रसूति गराउने बढ्दो परिपाटीले पछिल्लो समय बाल तथा मातृमृत्युदरमा उल्लेख्य कमी आएको छ । सरकारी ग्रामीण क्षेत्रमा बर्थिङ सेन्टरसँगै, कम्तीमा जिल्ला तहमा शल्यक्रियाबाट प्रसूति सेवासँगै अन्य केन्द्रसम्म जनशक्ति पु¥याएर सुरक्षित सुत्केरीमा जोड दिइरहेको छ । सहरवासीका थुपै विकल्प उपलब्ध भएर पनि आम रोजाइमा भने प्रसूतिगृह नै पर्ने गरेको पाइएको छ ।

करिब ६ दशक पुरानो सरकारी तहको पहिलो प्रसूतिगृह परोपकार प्रसूतिगृहले गत आर्थिक वर्षमा २० हजार ६ सय ८० डेलिभरी गराएको छ । यहाँ देशभरबाट सबैखाले बिरामी डेलिभरी सेवाका लागि आउने गर्छन् । अस्पतालका निर्देशक डा. जागेश्वर गौतमका अनुसार वर्षौदेखि अस्पतालमा २४ घण्टै कम्तीमा १० जना सर्जन डाक्टरको उपलब्ध हुनुले प्रसूतिगृह गुणस्तरीय प्रसूति सेवा दिन सफल भएको हो । ‘आम सेवाग्राहीको विश्वास जित्नका लागि पहिलो शर्त जतिसुकै बेला दक्ष जनशक्ति उपलब्ध हुनुपर्छ’ उनले भने । प्रसूतिगृहले बिरामीको अवस्था हेरी शल्यक्रिया, बालआइसियु, आइसियुलगायत सुविधा दिँदै आएका छ । हाल ७ सय कर्मचारी कार्यरत रहेको प्रसूतिगृहमा ६० जना सर्जन चिकित्सक छन् ।

दक्ष जनशक्तियुक्त अस्पतालमा सेवा पनि निकै सुलभ छ । जनरल वार्डमा बस्न नचाहने र क्याबिन खोज्नेले पनि प्रसूतिगृहमा क्याबिनको सुविधा लिएबापत न्यूनतम ५०० देखि ३००० रूपैँयासम्म शुल्क तिनुपर्छ । अस्पतालका अनुसार प्रसूतिगृहले गत आर्थिक वर्षमा सेवा लिएकाहरुको संख्या २० हजार अघिल्लो वर्षभन्दा करिब २५०० ले बढी हो ।

प्रसूतिगृहले ०६९ मा भिन्नै भवनमा टेस्टट्युब बेबी केन्द्रको स्थापना गरेको छ । स्थापनाकालदेखि नै निःसन्तानको समस्या भएका दम्पतीलाई प्रसूतिगृहले टेस्टट्युब बेबी सेवा दिने गरेको छ । कुल ४ सय १५ शय्यामार्फत सेवा दिइरहेको प्रसूतिगृह अत्यन्तै साँघुरो क्षेत्रफलमा सञ्चालन गर्नुपरेका समस्या हुने गरेको गौतमको भनाइ छ । अस्पतालले सुत्केरीभत्ताबापत नेपाल सरकारले दिने २ हजार रूपैयाँ पनि प्रदान गर्र्दै आएको छ । ४ पटकसम्म प्रसूतिगृहमै गर्भपरीक्षण (एन्टिनेटल) गराउनेहरूका लागि थप ८०० रूपैयाँ समेत प्रदान गर्दै आएको छ ।

डेलिभरीका लागि किन प्रसूतिगृह नै ?
नेपालको विशिष्टीकृत संस्था भएको र यहाँ २४ घण्टै १० जना वरिष्ठ सर्जनको उपलब्धता हुने भएकाले प्रसूति सेवामा प्रसूतिगृह नै अब्बल भएको डा. गौतम दावी गर्छ । अस्पतालमा शल्यक्रियामा उच्च क्षमता भएका ६० चिकित्सक कार्यरत छन् । गत आर्थिक वर्षमा प्रसूतिगृहमा गराइएको कुल २० हजार ६ सय ८० डेलिभरीमा जम्मा २ आमा र २६ बच्चाको मृत्यु हुनु भनेको अत्यधिक न्यून मृत्युदर हो । यो आँकडाले देशभरका प्रसूति सेवा दिने स्वास्थ्यसंस्थामध्ये प्रसूतिगृह नै अब्बल रहेको पुष्टि गर्छ । त्यसैले पनि प्रसूति सेवाका लागि प्रसूतिगृह नै धेरै सेवाग्राहीको रोजाइमा पर्ने गरेको छ । सेवाको गुणस्तरसँगै सेवाग्राहीले कुनै पनि शुल्क तिर्नुनपर्ने भएकाले पनि प्रसूतिगृह निम्नदेखि उच्च आयस्तरका बिरामीको आकर्षण बन्दै आएको निर्देशक गौतम बताउँछन् ।

कस्तो छ त्रिवि शिक्षण अस्पतालमा प्रसूति सेवा ?
२०४२ देखि भिन्नै प्रसूति विभागको स्थापना गरेको सेवा दिँदै त्रिवि शिक्षण अस्पताल पनि प्रसुतिका लागि धेरैको रोजाईमा पर्ने गरेको छ । अस्पतालले दैनिक १५ देखि २० सम्म डेलिभरी गराउँदै आएको छ । अस्पतालको प्रसूति विभागमा जम्मा ३३ शय्या छन्, जसमा ७ शय्या शल्यक्रिया भएका बिरामीका लागि छुट्याइएको त्रिवि शिक्षण अस्पतालकी नर्सिङ निर्देशक कोपिला श्रेष्ठ बताउँछिन् ।

प्रसूति विभागमा २ सयदेखि ६ हजार रूपैयाँसम्म शुल्कका बेड उपलब्ध छन् । अस्पतालमा समेत देशभरबाट जटिल खालका डेलिभरी केस रेफर भएर आउने गरेको छन् । बहुविशेषज्ञ अस्पताल भएकोले कुनै गम्भीर खालका जटिलता आइपरे अन्य खालका विशेषज्ञ जनशक्तिसमेत भएकोले यो अस्पताललाई समेत सुरक्षित मान्न सकिन्छ । स्वदेशबाट मात्र नभएर कतिपय डेलिभरी केस विदेशबाट समेत आउने गरेको श्रेष्ठ बताउँछिन् । अन्यत्रबाट रेफर भएर यहाँ आउने डेलिभरी केसहरूमा कार्डिक (मुटुसम्बन्धी) बिरामीको संख्या बढी हुने गरेको उनको भनाइ छ ।

त्रिवि शिक्षण अस्पतालमा धेरैजसो जटिल समस्या भएका डेलिभरी केस मात्र आउने गरेको प्रसूति विभाग नर्सिङ प्रमुख पार्वती सिवाकोटीको अनुभव छ । मधुमेह, जन्डिस, मुटुरोगजस्ता जटिल समस्या जोडिएका डेलिभरी केस देशभरबाट रेफर भएर यहाँ आउने गरेको सिवाकोटी बताउँछिन् । बिरामीको चापअनुसार बेड अभावका कारण डेलिभरीका लागि आउने बिरामीको उपचारमा कठिनाइ उत्पन्न भइरहेको उनको भनाइ छ ।

शिक्षण अस्पतालले सोही अस्पतालमा नियमित गर्भ परीक्षण गराउँदै आएका र अन्यत्रबाट रेफर भएका बिरामीको मात्र डेलिभरी गराउने गरेको छ । अस्पतालले २८ हप्ता नाघेका डेलिभरीका नयाँ बिरामी लिने गरेको छैन ।
नेपाल सरकारले दिने सुत्केरी भत्ता भने त्रिवि शिक्षण अस्पतालमा उपलब्ध छैन । केही वर्षअघि अस्पतालले सुत्केरीभत्ता कार्यक्रम चलाएको भए पनि प्रशासनिक समस्याका कारण कार्यक्रम बन्द गराइएको सिवाकोटी बताउँछिन् । बिरामीको आर्थिक अवस्था ज्यादै नै न्यून भएको अवस्थामा भने अस्पतालले निःशुल्क बेड सेवा दिने गरेको छ ।

त्रिवि शिक्षण अस्पतालमा धेरै जोखिमयुक्त केसहरू रेफर भएर आउने भएकाले गत वर्ष डेलिभरीका क्रममा ९ जना आमा र ४१ जना बच्चाको मृत्यु भएको अस्पतालले जनाएको छ । अस्पताल प्रसूतिका लागि मात्रै विशिष्टीकृत नभएका कारण प्रसूतिसम्बन्धी आवश्यक नयाँ प्रविधियुक्त औजार तथा प्रविधि नहुनुुले समेत प्रसूति सेवा सोचेजति प्रभावकारी बनाउन नसकिएको निर्देशक श्रेष्ठको भनाइ छ । ‘विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार प्रसूति सेवा प्रदान गर्न सकिएको छैन,’ श्रेष्ठ भन्छिन्, ‘अस्पतालमा उपलब्ध जनशक्तिको अनुपातमा बिरामीको चाप अत्यधिक हुनाले यस्तो भएको हो ।

अस्पतालले १२ असार ०७१ मा भिन्नै बर्थिङ सेन्टरको रूपमा मंगलादेवी बर्थिङ केन्द्रको स्थापना गरेर सेवा दिँदै आएको छ । उक्त केन्द्रमा कम जोखिम भएका बिरामीको डेलिभरी गराइन्छ । अस्पतालले दैनिक ४ जनासम्म बिरामीको डेलिभरी बर्थिङ केन्द्रबाट गराउने गरेको छ । बर्थिङ केन्द्रले २४ घण्टै सेवा दिने गरेको श्रेष्ठको भनाइ छ । उनी भन्छिन्, ‘बर्थिङ सेन्टरमा बिरामीको संख्या न्यून हुने भएकाले त्यहाँ हेरचाह राम्रो हुन्छ । त्यहाँको सेवाबाट बिरामी बढी सन्तुष्ट हुने गरेको पाइएको छ । त्यहाँ डेलिभरीका क्रममा श्रीमान्समेत सँगै बस्न पाउने व्यवस्था छ ।’ बेड अभाव नहुने हो भने त्रिवि शिक्षण अस्पतालले पनि परोपकार प्रसूतिगृहसरहको डेलिभरी सेवा उपलब्ध गराउन सक्ने श्रेष्ठ बताउँछिन् ।

रेफरका केसमा बाल तथा मातृमृत्युदर बढी हुने बताउँदै श्रेष्ठ भन्छिन्, ‘मृत्यु हुनेमा बढी मुटुरोगी तथा दीर्घरोगी छन् ।’ क्षमताभन्दा बढी बिरामीको उपचार गर्नुपर्ने बाध्यताका कारणसमेत बाल तथा मातृमृत्युदर बढी हुने गरेको श्रेष्ठको भनाइ छ ।

पाटन अस्पतालमा प्रसूति सेवाको अवस्था
पाटन अस्पतालले आर्थिक वर्ष ०७४/७५ मा करिब ८ हजारको संख्यामा डेलिभरी गराएको तथ्यांकले देखाएको छ । अस्पतालको रेकर्डअनुसार उक्त वर्षको डेलिभरीमा १ सय ३२ शिशु तथा ५ जना आमाको मृत्यु भएको छ ।
स्थापनाकालदेखि जनतालाई प्रभावकारी स्वास्थ्य सेवा दिनमा अस्पताल तल्लीन रहेको अस्पतालका निर्देशक विण्णुप्रसाद शर्मा बताउँछन् ।

मृत्युदर कम गर्नका लागि विश्व स्वास्थ्य संगठनले बनाएको मापदण्डअनुसार गर्भावस्थामा चेकजाँच हुनुपर्ने शर्मा बताउँछन् । अस्पतालले पछिल्लो समय अनुभवी चिकित्सकमार्फत गुणस्तरीय सेवा दिइरहेको शर्माको दाबी छ । वरिष्ठ चिकित्सक पवनकुमार शर्माका अनुसार २४ घण्टै अस्पतालमा अनुभवी डाक्टरहरूको उपलब्धता रहेकाले पनि डेलिभरी सेवाको गुणस्तर वृद्धि भएको छ । पाटन अस्पताल उपत्यकामा प्रसूतिगृहपछि डेलिभरी बढी गराउने अस्पताल हो । अस्पतालले नेपाल सरकारले अस्पतालमा सुत्केरी गराएबापत प्रदान गर्ने २ हजार रूपैयाँ भत्ता सुत्केरीलाई उपलब्ध गराउने गरेको छ ।

विश्व स्वास्थ्य संगठनको सामान्य मापदण्डसमेत पूरा नगरी अधिकांश डेलिभरी गराउने गरिएकाले नेपालमा बर्सेनि कतिपय आमा तथा शिशुको मृत्यु हुने गरेको पाटन अस्पतालका निर्देशक शर्मा बताउँछन् । विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार गर्भवती महिलाले कम्तीमा ४ पटक स्वास्थ्य परीक्षण गराउनुपर्ने हुन्छ । नेपालमा अझै पनि सामान्य मापदण्डसमेत पूरा नगरी अन्तिम अवस्था आइपरेपछि मात्र डेलिभरी गराउन अस्पताल आउने महिलाको संख्या धेरै छ । अस्पतालहरूमा क्षमताभन्दा बढी बिरामी आउनुले पनि स्तरीय स्वास्थ्य सेवा प्रदान गर्न नसकिएको शर्माको भनाइ छ ।

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै

त्रिवि शिक्षण अस्पताल कलेजो प्रत्यारोपणका लागि सम्पूर्ण रुपमा तयार

महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा कलेजो प्रत्यारोपणको सम्पूर्ण तयारी पूरा भएको छ । बहुप्रतीक्षित कलेजो प्रत्यारोपण सेवाका लागि अस्पतालले भौतिक, प्राविधिकलगायत सबै तयारी पूरा गरी प्रत्यारोपण अनुमतिसमेत पाइसकेकाले अब नेपाली बिरामीले सस्तो र सर्वसुलभ सेवा देशभित्रै पाउने भएका छन् ।

चिकित्सा विज्ञानमा जटिल मानिने कलेजो प्रत्यारोपण सेवाका लागि हालसम्म नेपालमा प्रयास हुँदै नभएका भने होइनन् । तर, आत्मनिर्भर नभइसकेकाले अझ ठूलो संख्याका बिरामी भारतलगायत विदेशी मुलुकहरूमा महँगो मूल्यमा सेवा लिन बाध्य छन् ।अस्पतालले एक महिनाभित्रै सेवा सुरु गर्ने जनाएको छ ।
विभिन्न कारणले लिभरसिरोसिस भई पूर्ण रूपमा ड्यामेज भएको कलेजोलाई फालेर स्वस्थ कलेजो भएको अन्य व्यक्तिको केही भाग काटेर प्रत्यारोपण गरिन्छ । यसरी प्रत्यारोपण गर्न डोनर (कलेजो दाता)सँग ब्लड ग्रुप, लिभरको आकारका साथै शरीरको एनाटोमी मिल्नुपर्छ ।

त्रिवि शिक्षण अस्पतालमा प्रत्यारोपणका लागि नेपाल चिकित्सक संघ, नेपाल मेडिकल काउन्सिल, स्वास्थ्य मन्त्रालय, कानुन मन्त्रालयका प्रतिनिधिको समूहले अस्पतालको तयारीबारे स्थलगत अध्ययन गरी योग्य ठहर गरेको थियो । सो समूहले योग्य ठहर गरेपछि केही दिनअघि मात्रै स्वास्थ्य मन्त्रालयले अस्पताललाई कलेजो प्रत्यारोपण अनुमतिपत्र दिएको छ ।
कानूनतः अंगप्रत्यारोपणका लागि चिकित्सक र संस्था दुबै सूचीकृत भएर अनुमति दिनुपर्छ ।

यसअघि पनि अस्पतालको टिमले कलेजोका एकपछि अर्को जटिल शल्यक्रिया गरेको र सोको सफलताले कलेजो प्रत्यारोपणका लागि आत्मविश्वास बढेको वरिष्ठ कलेजो सर्जन डा. रमेश भण्डारी बताउँछन् ।

‘सुरुवातमा महिनाको १ देखि २ जनाको मात्र प्रत्यारोपण गर्ने योजना छ, किनकि प्रत्यारोपण कहिलेकाहीँ असफल पनि हुन सक्छ,’ डा. भण्डारीले भने, ‘प्रत्यारोपण गरेको बिरामीलाई उच्च निगरानी र हेरचाहका साथ राख्नुपर्छ । त्यसैले कति प्रत्यारोपण गर्ने भन्ने अस्पतालको क्षमतामा भर पर्छ ।’

हालसम्म कलेजो प्रत्यारोपणका लागि नेपाली बिरामी भारतसँग निर्भर छन् । भारतमा प्रत्यारोपण शुल्क मात्रै करिब ७० लाख रूपैयाँसम्म लाग्ने चिकित्सक बताउँछन् । त्यसबाहेक बिरामी कुरुवाका लागि लाग्ने खर्च त छँदै छ ।
अहिलेको क्षमता हेर्दा त्रिवि टिचिङमा कलेजो प्रत्यारोपण करिब २० देखि २५ लाखसम्ममा गर्न सकिने डा. भण्डारी बताउँछन् ।
अस्पतालले अहिले बिरामीको छनोट गरिरहेको छ । ‘सुरुवातमा महिनाको १ देखि २ जनाको मात्र प्रत्यारोपण गर्ने योजना छ, किनकि प्रत्यारोपण कहिलेकाहीँ असफल पनि हुन सक्छ,’ डा. भण्डारीले भने, ‘प्रत्यारोपण गरेको बिरामीलाई उच्च निगरानी र हेरचाहका साथ राख्नुपर्छ । त्यसैले कति प्रत्यारोपण गर्ने भन्ने अस्पतालको क्षमतामा भर पर्छ ।’
कलेजो प्रत्यारोपण सेवा नियमित गर्न सकेमा धान्नै नसक्ने बिरामी आउने उनको विश्वास छ । ‘यहाँकोे सुलभ मूल्यका कारण बाहिरी मुलुकबाट पनि बिरामी आकर्षित हुनेछन्,’ उनले भने ।

डा. भण्डारीकै पहलमा भारतबाट विशेषज्ञ चिकित्सकको टोलीले कलेजो प्रत्यारोपणका लागि सघाउनेछ । भारतमा करिब डेढ दशकअघि सुरु भएको कलेजो प्रत्यारोपण सेवाबाट बर्सेनि हजारौँ बिरामी लाभान्वित हुँदै आएका छन् ।
अमेरिकाका वरिष्ठ सर्जन डा. थोमस स्टार्लले सन् १९६३ मा पहिलोपटक कलेजो प्रत्यारोपण सुरु गरेका थिए भने पहिलो सफल कलेजो प्रत्यारोपण सन् १९६७ मा भएको थियो ।

कलजो मानव शरीरको एक प्रमुख अंग हो । मानव विज्ञानका अनुसार कलेजोले ५०० सय क्रियाकलाप गर्छ भने स्वस्थ शरीरका लागि चाहिने १,००० इन्जाइम उत्पादन गर्छ । यसअघि ०७३ मंसिरमा मानवअंग प्रत्यारोपणमा समेत सुरुमा विदेशी विज्ञको सहयोगमा कलेज प्रत्यारोपण भएपनि केन्द्रले विज्ञ टोलीलाई टिकाउन नसक्दा सेवालाई निरन्तरता दिन सकेन् ।

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै

कलेजोमा ५ केजीको ट्युमर, त्रिवि शिक्षण अस्पतालमा सफल शल्यक्रिया

डिस्चार्जपछि बिरामीसँग रेजिडेन्ट चिकित्सक (दायाँ) ट्युमर निकालिँदै (बायाँ)

काठमाडौंको महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा कपिलवस्तुका ४४ वर्षे एक वयष्क बिरामीमा कलेजोको करिब ७० प्रतिशत भागमा फैलिएर जटिल बनिसकेको ५ केजी तौलको ट्युमरको सफल शल्यक्रिया गरिएको छ । सम्भवतः यो नै नेपालको सरकारी क्षेत्रमा कलेजोसम्बन्धी अहिलेसम्मकै ठूलो र चुनौतीपूर्ण शल्यक्रिया हो ।

वरिष्ठ शल्यचिकित्सक डा. रमेशसिंह भण्डारीको नेतृत्वमा पाँच विशेषज्ञको टोलीले अघिल्लो साता करिब साढे ४ घण्टा लगाएर शल्यक्रिया सफलतापूर्वक सम्पन्न गरेको थियो । भण्डारी नेतृत्वको टोलीमा डा. निनादिनी श्रेष्ठ, डा. प्रमेससुन्दर श्रेष्ठ र डा. अजित थापालगायतको संलग्नता थियो । सफल शल्यक्रियाको सात दिनपछि अस्पतालबाट बिहीबार डिस्चार्ज भइसकेको र उनी पूर्णतः सुरक्षित रहेको उपचारमा संलग्न चिकित्सकले जानकारी दिएका छन् । चिकित्सकका अनुसार शल्यक्रियाको समयमा बिरामीको ३ केजी रगत क्षति भएको थियो ।

प्रमुख डा. भण्डारीकाअनुसार कलेजोको दायाँपट्टिबाट करिब ७० प्रतिशत भाग पूरै ट्युमरले ढाकेको थियो । ‘हामीलाई देख्नासाथ कति काटेर फाल्नुपर्छ भन्ने थाहा भइहाल्छ,’ उनले भने, ‘यो कलेजोलाई काट्ने प्रक्रिया नै सबैभन्दा जटिल र चुनौतीपूर्ण हुन्छ । शल्यक्रियाका क्रममा अधिक रक्तस्राव भएर बिरामीको ज्यानै जाने जोखिम हुन्छ । बिस्तारै–बिस्तारै ट्युमरले ढाकेको सबै कलेजोको भाग काटेर फाल्यौँ ।’

बाँकी रहेको ३० प्रतिशत कलेजो क्रमशः बढ्दै जाने उनको भनाइ छ ।  ‘करिब ६ महिनाअघि बिरामीको कलेजोमा ट्युमर पत्ता लागेको थियो,’ डा. भण्डारीले बिरामीलाई उद्धृत गर्दै भने, ‘तर, उपचारका क्रममा विभिन्न ठाउँमा घुम्दाघुम्दै त्रिवि शिक्षण अस्पताल आइपुग्दा ट्युमर बढेर ५ केजी तौलको भइसकेको थियो भने यसको फैलावट ३० सेन्टिमिटरको थियो ।’

डा. भण्डारीका अनुसार हेमाइगियोमा नामक यो ट्युमरमा अन्य ट्युमरजस्तो क्यान्सर हुने, काटेर फाले पनि फेरि पलाउनेजस्ता जोखिम भने हुँदैन । तर, समयमै शल्यक्रिया गरेन भने बिरामीलाई अत्यन्तै दुुख्ने, फुट्ने तथा रक्तस्राव हुनेलगायत समस्या हुन सक्छ । ‘हामीले यसअघि १२ सेमीसम्मको यस्तोखाले ट्युमरको शल्यक्रिया गरेका थियौँ,’ उनले अनुभव सुनाउँदै भने, ‘तर, यति ठूलो भने हाम्रा लागि निकै चुनौतीपूर्ण केस थियो ।’

डा. भण्डारीका अनुसार सुरुमा यति जटिल, दुर्लभ शल्यक्रिया गर्ने कि नगर्ने भन्ने दोधार चिकित्सकहरुमा भएको थियो । तर, अस्पतालमा कलेजो प्रत्यारोपण तयारी भइरहेको हुँदा चित्सिकहरुले विरामी पक्षलाई परामर्श दिई सहमति लिएर जटिल शल्यक्रियाको तयारी गरेका थिए । अस्पतालमा प्रत्यारोपणका लागि ल्याइएका अत्यधुनिक उपकरणसमेत जडान भइसकेकोले जटिल शल्याक्रिया गर्न सहज भएको चिकित्सकहरु बताउँछन् । ‘यो शल्यक्रिया सफलताले हामीमा थप जटिल शल्यक्रिया र प्रत्यारोपणको चुनौती लिन कन्फिडेन्स बढेको छ’ उनले हेल्थपोस्टसँग भने ।

शल्यक्रियाका विकसित पद्धति, आधुनिक स्वास्थ्य उपकरण, विकसित एनेस्थेसिया र राम्रो आइसियू केयरलगायत कुराले यस्तो जटिल उपचारपद्धति पनि नेपालमा सम्भव भएको चिकित्सक भण्डारीले बताए ।

किन हुन्छ यस्तो ट्युमर ?
डा. भण्डारीका अनुसार यो ट्युमर किन पलाउँछ भन्ने जवाफ अहिलेसम्म छैन । यो जसलाई पनि हुन सक्छ । ट्युमर ३ देखि ४ सेमीसम्मको भए केही गर्नुपर्दैन । तर, बढ्दै गएर १० भन्दा माथिको भएपछि शल्यक्रिया गर्नुपर्छ । यस्तो ट्युमर बढ्दै गएपछि सहनै नसक्ने गरी दुख्छ ।

पूरा भयो कलेजो प्रत्यारोपणको तयारी
चिकित्सा विज्ञानमा जटिल मानिने कलेजो प्रत्यारोपणको तयारीसमेत अन्तिम चरणमा पुगेको अस्पतालले जनाएको छ । कलेजोका एकपछि अर्को जटिल शल्यक्रिया सफलताले बहुप्रतीक्षित कलेजो प्रत्यारोपणका लागि आत्मविश्वास बढेको डा. भण्डारी बताउँछन् ।

प्रत्यारोपणका लागि गत साता नेपाल चिकित्सक संघ, नेपाल मेडिकल काउन्सिल, स्वास्थ्य मन्त्रालय, कानुन मन्त्रालयका प्रतिनिधिको समूहले अस्पतालको तयारीबारे स्थलगत अध्ययन गरेको थियो । सो समूहले योग्य ठहर गरी स्वीकृति दिएपछि स्वास्थ्य मन्त्रालयले कलेजो प्रत्यारोपणका लागि अनुमतिपत्र दिन्छ । ‘हामी अनुमतिपत्र पाउनेमा विश्वस्त छौँ,’ भण्डारीले भने, ‘यो शल्यक्रियाले आमजनमानसमा पनि कलेजो प्रत्यारोपणका लागि सकरात्मक सन्देश दिएको छ ।’

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै

त्रिवि शिक्षण अस्पतालको निर्देशकमा सिफारिस, छनाेटकाे अाधार वरिष्ठता

सात महिनाभन्दा लामो समयदेखि रिक्त त्रिवि शिक्षण अस्पताल महाराजगन्जको निर्देशक पदका लागि तीनजनाको नाम सिफारिस भएको छ । सर्च कमिटीले आइतबार नियमानुसार तीनजनाको नाम सिफारिस गर्ने निर्णय गरेको हो । सिफारिस हुनेमा डा. प्रेम खड्का, डा. वाइपी सिंह र डा. सुशील शील्पकार छन् ।

निर्देशक सिफारिसका लागि पहिलोपटक गठित समितिमा एकमत हुन नसकेपछि नाम सिफारिस नगरीकनै समिति विघटन भएको थियो । तत्पश्चात् त्रिवि कार्यकारी परिषद्ले ८ कात्तिकमा पछिल्लो सर्च कमिटी बनाएको थियो । त्रिवि नियमअनुसार आइओएमका डिन डा. जगदीशप्रसाद अग्रवालको संयोजकत्वमा गठित समितिमा डा. प्रदीप ज्ञवाली र डा. अभिमन्यु झा सदस्य थिए । अघिल्लोपटक विभिन्न मापदण्ड निर्धारण गर्दा एक सदस्यले पार्टीनिकटका चिकित्सकलाई सिफारिस गर्न अडान राखेपछि विवाद भएको थियो । यसपटक भने पूर्ण रूपमा वरिष्ठताका आधारमा सिफारिस गरिएको सर्च कमिटीमा एक सदस्यले बताए ।

वरिष्ठता हेर्दा प्राध्यापक भएको मितिलाई आधार मानिएको र एकैदिन प्राध्यापक भएको सन्दर्भमा भने सेवा प्रवेश मितिलाई थप आधार बनाइएको थियो । वरिष्ठता सूचीमा अगाडि रहेका केही प्राध्यापक निर्देशक बन्न अनिच्छुक देखिएकाले इच्छा राखेका र वरिष्ठतामा पनि अगाडि रहेकामध्ये तीनजना सिफारिसमा परेका हुन् । डा. गोविन्द केसीले वरिष्ठतासँगै पूरा चारवर्षे कार्यावधि बाँकी रहेकालाई मात्रै निर्देशक बनाउनुपर्ने माग राख्दै आएका छन् । सिफारिसमा परेकामध्ये डा. खड्का १ वर्ष ७ महिनामा अवकाश पाउँदै छन् भने अन्य दुईको अवधि पूर्ण कार्यकालका लागि बाँकी छ ।

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै

सिनियरको हेपाइले दुईपटक त राजीनामै दिएँ

वि.सं. २०३८ को एसएलसी परीक्षाको नतिजा सार्वजनिक भइसकेको रहेछ । म लुगा धोइरहेका वेला केही साथीहरूले एसएलसीको नतिजा आएको र म दोस्रो श्रेणीमा उत्तीर्ण भएको बताएपछि खुसीले गद्गद् भएँ । त्यतिवेला मेरो घर काठमाडौंको लगनमा थियो । ४ दाजुभाइ, ३ दिदीबहिनी र आमाबुबा गरी ९ जनाको मध्यमवर्गीय परिवार हो मेरो ।

एसएलसी पास गरेर पनि कहाँ गएर कलेज पढ्ने, कसरी भर्ना गर्ने भन्ने मलाई केही ज्ञान थिएन । एसएलसीपछि म १ वर्ष विनापढाइ बसेँ । त्यसबीचमा मेरा बहिनीलाई किन नपढाएको भनी प्रश्न गर्नेहरू धेरै भएपछि दाजुले मलाई वाणिज्यशास्त्र अध्ययनका लागि भर्ना गरिदिनुभयो ।

नर्सको प्रमोसन त्रिवि अस्पतालमा निकै गाह्रो छ । २० वर्षको लामो कार्यानुभवपछि ०६६ मा बल्ल मेरो प्रमोसन भयो । त्यतिवेला सिस्टरमा बढुवा भएको, अहिले पनि सिस्टर नै छु ।

वाणिज्यशास्त्रमा आइएसरहको पढाइ सकेपछि म बिबिएस अध्ययनका लागि भर्ना भएँ । बिबिएसमा अंग्रेजी विषयमा ब्याक लाग्यो । त्यसपश्चात् मैले जागिरको खोजीमा लाग्ने निधो गरेँ । जागिरका लागि विभिन्न ठाउँ चहारेँ । त्यतिवेला शर्मिला मल्लले गाएको ‘जागिर खोज्दाखोज्दा…’ बोलको गीत मेरो जीवनमा मेल खायो । प्रयासको सिलसिलामा कतिपय ठाउँमा मेरो लिखितमा नाम निस्कियो पनि । कतिपयमा अन्तर्वार्तामा पनि बोलाइएँ, तर जागिर भने खाइनँ ।

नर्सिङ पढ्नुअघि मलाई यो विषयप्रति खासै चासो थिएन । मलाई बिरामीको हेरचाहमा खासै मन नभएकाले नसिङ त्यति रुचिको विषय थिएन । तर, मेरी दिदी नर्स भएकाले मलाई पनि आमाले नर्सिङ पढ्न प्रेरित गर्नुभयो ।
म धेरै सोझी, खासै बाहिरी वातावरणमा घुलमिल हुने खालकी थिइनँ । बाहिर जानुपर्दा सधैँ साथीसँग मात्रै जाने मलाई आमाले एक्लै गएर नर्सिङ कलेज बुझेर भर्ना गर्न प्रेरणा दिनुभयो । आमा धेरै बिरामी भइरहने भएकाले पनि दिदीले नर्सिङ विषय रोज्नुभएको थियो ।

मेरा सानोमामा महाराजगन्ज नर्सिङ कलेजमा सवारीचालक हुनुहुन्थ्यो । ०४३ मा मैले नर्सिङ अध्ययनका लागि महाराजगन्ज नर्सिङ क्याम्पसमा आवेदन दिएँ । मेरो नाम निस्कियो । अध्ययन सुरु गरेँ । पढ्दै जाँदा यसप्रतिको मोह बढ्दै गयो ।

वेला–वेलामा सिनियरको अनावश्यक हेपाइ सहनुपर्दा पेसा नै छोडौँजस्तो भावना पनि मनमा नआएको भने होइन । मैले दुईपटकसम्म जागिरबाट राजीनामा पनि दिइसकेको थिएँ । बच्चाको हेरचाहका लागि २ दिनको बिदा माग गरी मेट्रोन म्यामसँग गर्दा नदिएपछि मैले राजीनामा दिएकी थिएँ ।

०४६ मा मेरो नर्सिङ पढाइ सकियो । रिजल्ट हुन बाँकी नै थियो । हामी केही साथी घुमघामका लागि त्रिवि अस्पताल आएका थियौँ । त्यतिवेला मैलै जमुना संग्रौला म्यामलाई जागिर मिलाइदिन अनुरोध गरेँ । उहाँले भोलेन्टेयर गर्न आउन भन्नुभयो । भोलेन्टेयरका लागि दिएको आवेदनमा मेरो पहिलो नम्बरमै नाम निस्कियो । त्यसपश्चात् ०४६ माघ १ देखि चैत १ सम्म मैले भोलेन्टेयर गरेँ । त्यतिवेला जनआन्दोलन चलिरहेको थियो । त्यसपश्चात् २४ चैतबाट मैले दैनिक ज्यालामा काम सुरु गरेँ । मासिक तलब १ हजार ६ सय हुन्थ्यो । ०४७ पुससम्म दैनिक ज्यालामै काम गरेँ । तलब बढेर २ हजार २ सयसम्म पुग्यो । त्यसपछि ५ फागुन ०५३ सम्म करार सम्झौतामा काम गरेँ । त्यसदेखि यता स्थायी कर्मचारीका रूपमा कार्यरत छु ।

नर्सको प्रमोसन त्रिवि अस्पतालमा निकै गाह्रो छ । २० वर्षको लामो कार्यानुभवपछि ०६६ मा बल्ल मेरो प्रमोसन भयो । त्यतिवेला सिस्टरमा बढुवा भएको, अहिले पनि सिस्टर नै छु । अहिले प्रसूति विभागको इन्चार्जका रूपमा कार्यरत छुँ ।

२ दिन बिदा बसेका कारण ३ महिनासम्म तलब रोकिँदा मलाई धेरै दुःख लागेको थियो ।

पहिले–पहिले त मलाई नर्सिङ पेसा अँगालेकोमा पछुतो पनि लाग्थ्यो । तर, अहिले नर्स बनेर राम्रै गरेँ भन्ने लाग्छ । वेला–वेलामा सिनियरको अनावश्यक हेपाइ सहनुपर्दा पेसा नै छोडौँजस्तो भावना पनि मनमा नआएको भने होइन । मैले दुईपटकसम्म जागिरबाट राजीनामा पनि दिइसकेको थिएँ । बच्चाको हेरचाहका लागि २ दिनको बिदा माग गरी मेट्रोन म्यामसँग गर्दा नदिएपछि मैले राजीनामा दिएकी थिएँ । त्यतिवेला कृष्णा प्रजापति तथा प्राणेश्वरी म्यामले जागिर नछोड भन्दै राजीनामापत्र च्यातेर मेरो गोजीमा राखिदिनुभयो । त्यो २ दिन बिदा बसेका कारण ३ महिनासम्म तलब रोकिँदा मलाई धेरै दुःख लागेको थियो । यो ०५७ तिरको कुरा हो । कृष्णा प्रजापति म्यामले मेरो जागिर जोगाइदिनुभएको हो त्यतिवेला । अहिले आजको आजै राजीनामा स्वीकृत हुने व्यवस्था छ । उहाँहरूले त्यतिवेला जागिर नजोगाइदिएको भए म अहिले यहाँ हुँदैनथेँ ।

मेरो कामप्रति मेरो परिवार सधैँ खुसी नै हुनुहुन्छ । मलाई विवाहपश्चात् पनि नर्सिङ पेसामा आबद्ध हुन सधैँ घरपरिवारको साथ र सहयोग प्राप्त भइ नै रह्यो । छोराछोरीले साथीजस्तो र सासूआमाले छोरीजस्तो व्यवहार गरेको भएर नै म आज आफ्नो पेसामा सफल छु । श्रीमान्ले सधैँ सहयोगी भूमिका निर्वाह गर्नुभएको छ । नर्स बनेकोमा कहिल्यै पछुतो मानेको छैन । म बिरामीसँग सधैँ मित्रवत् व्यवहार गर्छु । बिरामीबाट मप्रति कहिल्यै गुनासो आएको छैन । नयाँ–नयाँ नर्सको व्यवहार भने पुरानाको जस्तो छैन । उनीहरूले बिरामीप्रति गर्ने व्यवहार अलि भिन्न भएको पाउँछु । तर, हाम्रोमा काम गर्ने नर्सको व्यवहार भने त्यस्तो पाइएको छैन । उनीहरूले सिनियरलाई सम्मान गरेको पाउँछु । कतिपय निजी अस्पतालमा भने नर्सले बिरामीप्रति गर्ने व्यवहार असामान्य छ भन्ने समेत सुनिन्छ । तर, त्रिवि अस्पतालमा त्यस्तो छैन ।

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै

शिक्षण अस्पताल निर्देशक नियुक्ति, ‘सर्च कमिटी’ मै फेरि भागभण्डा

त्रिवि शिक्षण अस्पतालको रिक्त निर्देशक नियुक्तिका लागि त्रिभुवन विश्वविद्यालयले नयाँ सर्च कमिटीसमेत राजनीतिक भागभण्डाको आधारमा बनाएको छ । राजनीतिक खिचातानीकै कारण अघिल्लो सर्ज कमिटीले तीन महिनासम्म डिनका लागि तीन जनाको नाम सिफारिस गर्न सकेको थिएन । यस्तो अवस्थामा फेरी पनि त्रिविले भागभण्डाकै आधारमा सर्च कमिटी बनाएको छ ।

नियामअनुसार समितिको संयोजक स्वतः डिन हुन्छ। बाँकी दुई सदस्य विश्वविद्यालयका प्राध्यापकमध्येबाट बनाउन सकिन्छ । तीमध्ये त्रिविले यसपटक पनि राजनीतिक रुपमा खुलेका दुई प्राध्यापकलाई सदस्य बनाएको छ । जसमा नेकपानिकट डा.प्रदीप ज्ञवाली र नेका कोटामा डा.अभिमन्यु झा छन् । डा.केसीले ०६७ मा पहिलो अनशनदेखि नै पदाधिकारी नियुक्ति राजनीतिक भागभण्डाका आधारमा नभई वरिष्ठता र कार्यकुशलताका आधारमा नियुक्ति गर्नुपर्ने माग राख्दै आएका छन् ।
तर, त्यसविपरीत राजनीतिक भागण्डामा नियुक्ति त्रिवि पदाधिकारीले भने निर्देशकमा पनि आफ्ना दलनिकटमा मान्छे ल्याउन सर्च कमिटीका सदस्यमार्फत चलखेल गर्ने गरेका छन् । अघिल्लो सर्च कमिटीमा नेकपा कोटामा डा.जीवन शेरचन परेका थिए ।

डा.शेरचनले तीन जनाको नाम सिफारिस गर्दा जसरी पनि डा.दिनेश काफ्लेको नाम पर्नुपर्ने अडान राखेपछि कमिटीभित्र विवाद उत्पन्न भएको थियो । काफ्ले वरिष्ठतामा पछाडि रहेर पनि नेकपाका तर्फबाट एक मात्रै उमेदवार हुन् ।
सर्च कमिटीले सुरुमा मापदण्ड बनाएरै बढी अंकका आधारमा तीन जनाको सिफारिस गर्ने तयारी गरे पनि पार्टीनिकटका मान्छेलाई ल्याउन खोज्दा त्रिवि शिक्षण अस्पतालको निर्देशक नियुक्तिमा किचलो बढ्दै गएको छ । केही दिनअघि डा.गोविन्द केसीले विज्ञाप्तिमार्फत निर्देशक वरिष्ठताको आधारमा नियुक्ति नगरे अनशन थाल्ने चेतावनी दिएका छन् ।

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै

दलीय स्वार्थले रोकियो शिक्षण अस्पताल निर्देशक नियुक्ति

स्वास्थ्य र शिक्षण संस्थामा हुने नियुक्ति दलीय भागभण्डामा नभई योग्यता, क्षमताका आधार हुनुपर्ने भन्दै अनशन र अभियान सुरु भएको झन्डै दशक बितिसक्दा पनि शिक्षण अस्पतालको निर्देशक नियुक्ति राजनीतिक भागभण्डाकै चपेटामा परेको छ ।
रिक्त निर्देशकमा सिफारिसका लागि गठन भएको समितिमा क–कसको नाम सिफारिस गर्ने भन्नेमा कुरा नमिलेपछि प्रक्रिया अवरुद्ध भएको छ । त्रिवि विनियमावलीअनुसार आइओएमका डिनको संयोजकत्वमा गठित सर्च कमिटीले गरेको तीनजनाको सिफारिसमध्येबाट कार्यकारी परिषद्ले एकजनालाई निर्देशकमा नियुक्त गर्छ ।

समितिले नाम सिफारिस गर्न नसकेको भन्दै ६ भदौमा त्रिवि कार्यकारी परिषद्लाई पत्र पठाएको छ । संयोजक डा. अग्रवालले नाम सिफारिसका विषयमा सदस्यबीच सहमति हुन नसकेपछि सोको जानकारी उपकुलपतिलाई गराएको बताए । उनले सहमति हुन नसक्नुको कारण भने खुलाएनन् ।

त्रिविले ८ जेठमा डिन डा. जगदीशप्रसाद अग्रवालको संयोजकत्वमा डा. जीवन शेरचन र डा. रमेश सिंह सदस्य रहेको समिति बनाएको थियो । समिति बनाउँदा नै प्रमुख दुई दल नेकपा र कांग्रेसनिकट व्यक्तिलाई सदस्यमा राखिएको थियो । समितिले वरिष्ठता, अनुभव, संस्था हाँक्ने दृष्टिकोणजस्ता विषयलाई हेरेर दरखास्त आह्वान गरेको थियो ।

सो आधारमा कसलाई माथि पार्ने भन्नेमै मुख्य खेल सुरु भएको थियो । समितिसमक्ष यसअघिका डेपुटी निर्देशक भइसकेका डा. ईश्वर लोहनी, डा. दिनेश काफ्लेसहित वरिष्ठ चिकित्सकहरू डा. वाइपी सिंह, प्रदीप वैद्य र डा. दिनेश पोखरेलले समेत दरखास्त हालेका थिए ।
तीमध्ये अस्पतालबारे राम्रो बुझेका अस्पतालका १० भन्दा बढी कमिटीमा संयोजक रहिसकेका डा. लोहनीलाई अधिकांश प्राध्यापकको समर्थन छ । कुनै पदमा नहुँदा पनि शिक्षण अस्पतालमा आइपर्ने जुसुकै समस्या सल्टाउन नेतृत्व र अग्रसरता दिने लोहनीको छवि छ । प्रतिस्पर्धामा रहेका बाहेक सबै वरिष्ठ चिकित्सक लोहनीकै पक्षमा छन् । उनी राजनीतिक रूपमा पनि तटस्थ मानिन्छन् ।

डा. भगवान कोइराला निर्देशक रहँदा डेपुटी भएर काम गरेका लोहनी सबैभन्दा निर्विवाद उम्मेदवार हुन् । त्यसैगरी, गत कार्यकालमा डेपुटी निर्देशक बनेका काफ्ले पनि कामका आधारमा सफल नै मानिन्छन् । काफ्ले पनि संस्थाको हितकै पक्षमा भए पनि कार्यावधि धेरै वर्ष बाँकी रहेकाले एक कार्यकाल पर्खिन उनलाई अधिकांश चिकित्सकको सुझाब छ ।

तर, पाँचौँ नम्बरमा रहेका उनै डा. काफ्लेको नाम जसरी पनि सिफारिस गर्नुपर्ने डा. शेरचनको अडान रहँदै आएको छ । बाहिर डा. केसीले डा. सिंहको नाम सिफारिस गर्न दबाब दिएको हल्ला चलाए पनि राजनीतिक रूपमा भने डा. काफ्लेकै नाममा विवाद हो ।
सुरुमा काफ्लेको नाम ३ नम्बरमा पठाउन समितिका सदस्यहरू सकारात्मक देखिएका थिए । तर, काफ्लेको नाम सिफरिस भए उसैलाई नियुक्ति गर्नुपर्ने बाध्यता रहेको त्रिवि पदाधिकारीहरूले बताए । त्यसको सुइँको पाएपछि यसबीचमा डा. गोविन्द केसीले वरिष्ठतालाई नाघेर सिफारिस नगर्न सचेत गराएपछि समितिभित्रै डा. काफ्लेको नाम विवादमा आएको थियो ।

नेकपानिकट चिकित्सकको समर्थन रहेका काफ्लेको नाम कुनै पनि हालतमा सिफारिस गर्नुपर्ने अडान सर्च कमिटीका डा. शेरचनले छाडेका छैनन् ।  उनले सुरुदेखि नै ‘अरू मतलब छैन, काफ्लेको नाम जानुपर्छ’ भन्दै आएका छन् । त्यसैगरी, अर्का सदस्य सिंह डा. लोहनीको नाम १ नम्बरमा सिफारिस हुनुपर्ने अडानमा छन् । डा. अग्रवाल वरिष्ठतम तीनजनाको नाम पठाउने पक्षमा थिए । जसमा डा. लोहनी, सिंह र वैद्यका नाम पर्थे ।
उपकुलपति तीर्थ खनियाँले ‘प्रधानमन्त्रीले काफ्लेको नाम सिफारिस भएर आए उसैलाई निर्देशक बनाइदिनू’ भन्ने निर्देशन दिएको बताउँदै आएका छन् । सो आधारमा खनियाँले काफ्लेको नाम आए आफूले कुलपतिको निर्देशन अवज्ञा गर्न नसक्ने संकेत गरेका छन् । ‘सर्च कमिटीमा डा. काफ्लेको सिफारिस जति नम्बरमा भए पनि हुनुपर्छ भन्ने अडान छ भने माथि पनि उनको नाम आए गर्नुपर्छ भन्ने दबाब छ,’ त्रिवि स्रोतले भन्यो, ‘यो स्पष्ट रूपमा दलीय हस्तक्षेप हो ।’

डा. केसीले २०६७ मा पहिलोपटक अनशन थाल्दा आइओएममा पदाधिकारी दलीय भागभण्डाका आधारमा नभई वरिष्ठताका आधारमा नियुक्त गर्नुपर्ने माग राख्दै आएका थिए । यसबीचमा वरिष्ठता मिचेर बनेका दुई डिनविरुद्ध डा. केसीले अनशन गरेपछि सरकारले हटाएको थियो ।

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै