११ वर्षमा १४२७ मिर्गौला प्रत्यारोपण, ३ सरकारी अस्पतालको योगदान ९६%, निजीमा नामका लागि अनुमति !

नेपालमा मिर्गौला प्रत्यारोपणको ११ वर्षको इतिहासमा १ हजार ४ सय ३२ मिर्गौलाको सफल प्रत्यारोपण भएका छन् । त्रिवि शिक्षण अस्पतालबाट सुरु भएको मिर्गौला प्रत्यारोपण अहिले आधा दर्जनभन्दा बढी अस्पतालले गराउँदै आएका छन् । सरकारीस्तरका ३ र निजीस्तरका ५ वटा अस्पतालले प्रत्यारोपण अनुमति पाए पनि प्रत्यारोपणको अधिकांश हिस्सा भने सरकारी अस्पतालले ओगटेको छ ।

नेपालमा पहिलोपटक ८ अगस्ट २००८ मा त्रिवि अस्पतालमा नेफ्रोलोजिस्ट डा. दिव्यासिंह शाह, युरोलोजिस्ट डा. भोलाराज जोशी र उनको टिमले अस्ट्रेलियाका सर्जन डा. डेभिड फ्रान्सिसको सहयोगमा सफलतापूर्वक मिर्गौला प्रत्यारोपणलाई मूर्तरूप दिएको थियो । हेमराज श्रेष्ठ स्वदेशमै मिर्गौला प्रत्यारोपण गराउने पहिलो बिरामी हुन् । श्रेष्ठलाई उनकी श्रीमतीले मिर्गौला दान गरेर पुनर्जीवन दिएकी थिइन् । प्रत्यारोपणले एक दशक पार गर्दा प्रत्यारोपणले जुनकिसिमले गति लिनुपर्ने हो, त्यो भने लिन नसकेको देखिन्छ । सरकारीस्तरका अस्पतालहरूले सीमित संख्यामै भए पनि नियमित प्रत्यारोपण गराइरहेको पाइन्छ भने निजी अस्पतालले निरन्तरता दिन सकेको पाइँदैन ।

सरकारी अस्पतालमा १३७८ (९६.२१%) मिर्गौला प्रत्यारोपण, मानव अंग र टिचिङको मात्र हिस्सा ८६%

वि.सं. २०६८ फागुनमा स्थापित राष्ट्रिय मानव अंग प्रत्यारोपण केन्द्रले २७ कात्तिक ०६९ देखि हेमोडायलाइसिस सेवा सुरु गरेको थियो । केन्द्रले ६ माघ ०६९ देखि मिर्गौला प्रत्यारोपण सेवा सुरु गर्यो । अंग प्रत्यारोपणकै लागि स्थापित केन्द्रले ७ वर्षको अविधिमा ६ सय ५६ जनामा मिर्गौला प्रत्यारोपण गराएको तथ्यांक छ, जुन देशको कुल प्रत्यारोपणको झन्डै ४६ प्रतिशत हो । केन्द्र सबैभन्दा बढी प्रत्यारोपण गराउने अस्पतालको शीर्षस्थानमा छ ।

त्यसैगरी, मिर्गौला प्रत्यारोपणमा पहिलो सफलता हात पारेको त्रिवि शिक्षण अस्पतालले हालसम्म ५ सय ७२ जनामा प्रत्यारोपण गराएको छ । कुल प्रत्यारोपणको करिब ४० प्रतिशत भार वहन गरेको त्रिवि अस्पताल बढी प्रत्यारोपण गराउनेमा दोस्रो स्थानमा छ । यसरी हेर्दा मिर्गौला प्रत्यारोपणको अनुमति ८ अस्पतालले लिए पनि कुल प्रत्यारोपणमा झन्डै ८६ प्रतिशत योगदान भने मानव अंग र टिचिङ अस्पतालको मात्र छ ।

केही वर्षयता संसारभर नै मिर्गौलारोगीको संख्या बढ्दै गएको विभिन्न तथ्यांकले देखाएका छन् । नेपालमा यो संख्या झन् बढ्दो छ । नेपालको कुल जनसंख्याको करिब १० प्रतिशत अर्थात झन्डै ३० लाख मानिसमा कुनै न कुनै रूपले मिर्गौलामा समस्या रहेको अनुमान गरिएको छ । त्यसमध्ये करिब ३ लाख नेपाली मिर्गौला फेल भएर घरमै बस्न बाध्य छन् ।

देशकै पुरानो र ठूलो अस्पताल वीरले त्रिवि शिक्षणभन्दा केही महिनापछि मात्र मिर्गौला प्रत्यारोपणको अनुमति पाए पनि प्रत्यारोपणलाई भने गति दिन सकेको छैन । त्रिविको तुलनामा वीरको प्रत्यारोपणदर निकै सुस्त छ । पछिल्लो ६ महिनादेखि वीरमा प्रत्यारोपण सेवा ठप्प रहेको थियो, पुन निरन्तरता दिदैँ गएको छ । वीरले हालसम्म जम्मा १ सय ५० जनामा मिर्गौला प्रत्यारोपण गराएको छ, जुन कुल प्रत्यारोपणको करिब १०.४७ प्रतिशत हो । पहिले भएका विशेषज्ञले छोडेर जानु र हाल भएका विशेषज्ञले नेतृत्व लिन नसक्नु पनि प्रत्यारोपण कम संख्यमाम भएको अस्पतालका पदाधिकारी बताउँछन् ।

निजी ५ अस्पतालले ४% पनि योगदान दिन सकेनन्, जम्मा ५४ प्रत्यारोपणमा ग्रान्डीमा मात्र ४५

प्रत्यारोपण अनुमतिका हिसाबले संख्यात्मक रुपमा सरकारीलाई पछि पार्दै ५ वटा निजी अस्पतालले अनुमतिप्राप्त गरेकोमा योगदान भने नगण्य देखिएको छ । निजी अस्पतालले कुल प्रत्यारोपणको ४ प्रतिशत पनि योगदान पुर्याउन सकेको अवस्था छैन । त्यसमा पनि अधिकांश प्रत्यारोपण ग्रान्डी अस्पतालले गरेको छ । चितवन मेडिकल कलेजले अनुमति लिए पनि हालसम्म प्रत्यारोपणको खाता खोल्न सकेको छैन ।

निजी अस्पतालतर्फ १० असार ०७३ मा प्रत्यारोपण अनुमति पाएको ग्रान्डी इन्टरनेसनल हस्पिटलले हालसम्म ४५ जनाको प्रत्यारोपण गरेको छ । ग्रान्डीसँगै एउटै मितिमा प्रत्यारोपण अनुमति पाएको निदान अस्पतालले भने हालसम्म जम्मा ५ जनाको मात्र प्रत्यारोपण गरेको अस्पतालले जनाएको छ । त्यसैगरी, कलेज अफ मेडिकल साइन्सेस भरतपुरले २ जना बिरामीमा प्रत्यारोपण गरेको छ । त्यस्तै, सुमेरु सामुदायिक अस्पतालले ३० असार र २ साउनमा गरी निःशुल्क रूपमा २ जनाको मिर्गौला प्रत्यारोपण गरेको छ । सरकारले प्रत्यारोपणका लागि दिने गरेको सहुलियत पाएको अवस्थामा मिर्गौला प्रत्यारोपणलाई निरन्तरता दिने अस्पतालले जनाएको छ । चितवन मेडिकल कलेजले भने गत वैशाखमा प्रत्यारोपण अनुमति पाए पनि हालसम्म प्रत्यारोपण गर्न सकेको छैन । यसरी हेर्दा निजी अस्पतालहरुलाई प्रत्यारोपणलाई निरन्तरता दिनभन्दा पनि विज्ञापन र नामका लागि अनुमति चाहिएको हो कि भन्ने आशंका उत्पन्न भएको छ ।

नेपाल सरकारको पछिल्लो तथ्यांकअनुसार करिब ४ हजार ५ सय मिर्गौलारोगीले नियमित डायलाइसिस गराइरहेका छन् । नेपालले पछिल्लो समय अंग प्रत्यारोपणको क्षेत्रमा क्रान्तिकारी कानुनी व्यवस्थासँगै निःशुल्क सेवा दिँदै आए पनि प्रत्यारोपणले तीव्रता भने लिन सकेको छैन । मिर्गौलादाताको अभाव, कानुनी अड्चन, महँगो सेवा, प्रत्यारोपणपछिको महँगो औषधि खर्चलगायत कारणले गर्दा नै विश्वमै प्रत्यारोपणको गति सुस्त रहेको विशेषज्ञहरू बताउँछन् ।

१ वैशाख ०७४ बाट सरकारले मिर्गौला प्रत्यारोपण निःशुल्क गरेपछि प्रत्यारोपणको चाप बढ्दै गएको तथ्यांकले देखाएको छ । सरकारले डायलाइसिससेवा यसअघि ने निःशुल्क गरिसकेको छ । प्रत्यारोपणका बिरामीलाई सरकारले साढे ६ लाखसम्म सहयोग गर्ने भएपछि लामो समयदेखि डायलाइसिस गराइरहेका बिरामीको आकर्षण प्रत्यारोपणतर्फ बढेको छ । यद्यपि, प्रत्यारोपणले आवश्यक मात्रामा गति भने दिन सकेको छैन ।

३ लाख नेपालीको मिर्गौला फेल, करिब ३० लाखमा समस्या
केही वर्षयता संसारभर नै मिर्गौलारोगीको संख्या बढ्दै गएको विभिन्न तथ्यांकले देखाएका छन् । नेपालमा यो संख्या झन् बढ्दो छ । नेपालको कुल जनसंख्याको करिब १० प्रतिशत अर्थात झन्डै ३० लाख मानिसमा कुनै न कुनै रूपले मिर्गौलामा समस्या रहेको अनुमान गरिएको छ । त्यसमध्ये करिब ३ लाख नेपाली मिर्गौला फेल भएर घरमै बस्न बाध्य छन् ।

प्रतिवर्ष ३ हजार नयाँ बिरामी थपिँदै
नेपालमा प्रत्येक वर्ष मिर्गौलारोगको उपचारमा ३ हजार नयाँ बिरामी थपिने गरेको तथ्यांकले पुष्टि गरेको छ । यो संख्या उपचारका लागि अस्पताल आउनेको मात्र हो । कतिपय बिरामी स्वास्थ्योपचारमा पहुँच अभाव र रोगसम्बन्धी चेतना अभावमा रोग पालेर बस्न र अस्पताल नै नदेखी मृत्युवरण गर्नसमेत बाध्य छन् ।

साढे ४ हजार डायलाइसिसमा
नेपाल सरकारको पछिल्लो तथ्यांकअनुसार करिब ४ हजार ५ सय मिर्गौलारोगीले नियमित डायलाइसिस गराइरहेका छन् । नेपालले पछिल्लो समय अंग प्रत्यारोपणको क्षेत्रमा क्रान्तिकारी कानुनी व्यवस्थासँगै निःशुल्क सेवा दिँदै आए पनि प्रत्यारोपणले तीव्रता भने लिन सकेको छैन । मिर्गौलादाताको अभाव, कानुनी अड्चन, महँगो सेवा, प्रत्यारोपणपछिको महँगो औषधि खर्चलगायत कारणले गर्दा नै विश्वमै प्रत्यारोपणको गति सुस्त रहेको विशेषज्ञहरू बताउँछन् ।

निजी अस्पतालमा प्रत्यारोपणका लागि पूर्णकालीन डाक्टर अभाव
अंग प्रत्यारोपणका लागि अस्पतालमा शल्यचिकित्सक र फिजिसियन पूर्णकालीन हुनुपर्छ । मानव शरीर अंग प्रत्यारोपण (नियमित तथा निषेध) निर्देशिका, २०७५ को दफा २८ को उपदफा २ (ग) मा अस्पतालमा अंग प्रत्यारोपणसम्बन्धी शल्यचिकित्सक र फिजिसियन पूर्णकालीन हुर्नुपर्ने प्रावधान छ । तर, अंग प्रत्यारोपणको अनुमति पाएका अधिकांश निजी अस्पतालमा पूर्णकालीन अवस्थामा शल्यचिकित्सक छैनन् ।

अंग प्रत्यारोपण समन्वय समितिका सदस्य डा. ऋषिकुमार काफ्लेका अनुसार समितिले निजी अस्पताललाई ६ महिनाभित्र पूर्णकालीन शल्यचिकित्सक र फिजिसियनको व्यवस्था गर्न भनेको छ । तोकिएको समयसीमाभित्र चिकित्सकको व्यवस्था नगरे अस्पतालको लाइसेन्स रद्द हुने उनको भनाइ छ । उनी भन्छन्, ‘डाक्टरले एक अस्पतालमा काम गर्ने तथा अर्को अस्पतालमा गएर प्रत्यारोपण गर्ने गरेका छन् । सरकारले अंग प्रत्यारोपणका लागि निर्धारण गरेको न्यूनतम मापदण्ड सबैले पूरा गर्नुपर्छ ।’

प्रत्यारोपणका लागि अस्पतालमा दुईवटा अप्रेसन थिएटर, त्यसलाई चाहिने एनेस्थेसियाको इक्विपमेन्ट, भेन्टिलेटर, मनिटर, रक्तपरीक्षण २४ घण्टै उपलब्ध हुनुपर्नेजस्ता विषय आवश्यक पर्छन् । त्यसैगरी, शल्यचिकित्सक र फिजिसियन, एनेस्थेसिओलोजिस्ट, रेडियोलोजिस्ट, प्याथोलोजिस्ट आदि जनशक्ति आवश्यक हुन्छ । मिर्गौला प्रत्यारोपण निःशुल्क भइसकेपछि सरकारले सूचीकृत अस्पताललाई प्रत्यारोपणबापत प्रतिव्यक्ति करिब साढे चार लाख रूपैयाँ उपलब्ध गराउँदै आएको छ । त्यसैगरी, क्रसचेकबापत ५० हजार रूपैयाँ तथा औषधिबापत एक लाख रूपैयाँ गरी प्रत्यारोपणको केसमा अधिकतम साढे ६ लाख रुपैयाँ सरकारले लगानी गरिरहेको छ ।

अंग प्रत्यारोपण समन्वय समितिका पदाधिकारी
अध्यक्ष  :  डा. दिव्यासिंह शाह
सदस्य : डा. राकेशकुमार बर्मा
सदस्य : डा. ऋषिकुमार काफ्ले,
सदस्य :  डा. दिलीप शर्मा
सदस्य : डा. वीरेन्द्रप्रसाद यादव
सदस्य :  डा. दीपेन्द्ररमण सिंह,
सदस्य : डा. मुक्तिराम श्रेष्ठ,
सदस्य–सचिव :  डा. गुणराज लोहनी र श्री पुरुषोत्तम नेपाल

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै

मिर्गौला प्रत्यारोपणमा त्रिवि शिक्षण अस्पतालका ११ वर्ष, ५७२ सफल प्रत्यारोपण

नेपालमा मिर्गौला प्रत्यारोपणको ११ वर्ष पूरा भएको छ । महाराजगन्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालले ११ वर्षअघि आजकै दिन (८ अगस्टमा) मिर्गौलाको पहिलो सफल प्रत्यारोपण गराएको थियो । मिर्गौला प्रत्यारोपणको इतिहासलाई केलाउँदा सन् २००७ मा सोल्टी होटेलमा नट्स अफ सार्कको सम्मेलनमा तत्कालीन स्वास्थ्यमन्त्री गिरिराजमणि पोेखरेलले नेपालमा प्रत्यारोपणको आवश्यकता महसुस गरी अंग प्रत्यारोपण समन्वय समितिको गठन गरेका थिए । समितिले प्रत्यारोपण सम्भव छ वा छैन, कुन अस्पताललाई कसरी लाइसेन्स दिनेलगायत विषयमा अध्ययन गरी सिफरिस गर्ने जिम्मेवारी पाएको थियो ।

स्वदेशमा प्रत्यारोपण सेवा उपलब्ध नहुँदा अन्य देशमा गएर महँगो मूल्यमा प्रत्यारोपण गराएर आउनुपर्ने बाध्यता र त्यसपछि पनि आवश्यक नियमित चेकजाँच र उपचारसमेत स्वदेशमा उपलब्ध नहुँदा बिरामीले पटक–पटक विदेश धाइरहनुपर्ने असहज अवस्था थियो । यही झन्झटिलो उपचारसेवा पनि सम्भ्रान्त परिवारको मात्र पहुँचमा थियो, किनकि, निम्न र मध्यमवर्गीय परिवारका लागि विदेश गएर प्रत्यारोपण गराउनु र त्यसपछिको नियमित व्ययभारको वहन गर्नु कल्पनाबाहिरको कुरा थियो ।

अर्कोतर्फ मुलुकमा मिर्गौला फेलका बिरामीको संख्या बढ्दै थियो । मिर्गौलारोगीको यसकिसिमको उपचारमा पहुँचहीनताको अवस्थालाई मध्यनजर गर्दै त्रिवि शिक्षण अस्पतालका केही चिकित्सकले आफ्नै अस्पतालमा मिर्गौला प्रत्यारोपण सेवा सञ्चालन गर्न सक्रियता देखाए । अस्पतालले प्रत्यारोपण सेवा सुरु गर्ने लक्ष्यका साथ तयारी बढाइरहेकै थियो, समितिले पनि पूर्वाधार, जनशक्तिलगायतको अध्ययन–अनुसन्धान गरी सक्षम पाइएका केही अस्पताललाई प्रत्यारोपण लाइसेन्स दिने प्रक्रिया बढायो ।

यसैबीच, त्रिवि अस्पतालले मिर्गौला प्रत्यारोपण अनुमति प्राप्त गर्यो । लाइन्सेस पाएसँगै अस्पताल मिर्गौला प्रत्यारोपणको तयारीमा जुट्यो । नेपालमै पहिलोपटक ८ अगस्ट २००८ मा त्रिवि अस्पतालमा नेफ्रोलोजिस्ट डा. दिव्यासिंह शाह र युरोलोजिस्ट डा. भोलाराज जोशी र उनको टिमले अस्ट्रेलियाका सर्जन डा. डेभिड फ्रान्सिसको सहयोगमा सफलतापूर्वक मिर्गौला प्रत्यारोपणलाई मूर्तरूप दियो । हेमराज श्रेष्ठ स्वदेशमै मिर्गौला प्रत्यारोपण गराउने पहिलो बिरामी बने । आफ्नी श्रीमतीले मिर्गौला दान गरेर श्रेष्ठलाई पुनर्जीवन दिइन् । प्रत्यारोपणले एक दशक पार गर्दा हाल सरकारी र निजी गरी ८ वटा अस्पतालले मिर्गौला प्रत्यारोपणका लागि अनुमति पाइसकेका छन् । हालसम्म १ हजार ३ सयभन्दा बढी मिर्गौला प्रत्यारोपण भइसकेको सरकारी तथ्यांक छ ।

त्रिविमा ५ सय ७२ प्रत्यारोपण, ५ महिना पालो कुर्नुपर्ने बाध्यता
त्रिवि शिक्षण अस्पतालको मिर्गौला प्रत्यारोपण विभागले हालसम्म ५ सय ७२ वटा प्रत्यारोपण गरिसकेको छ । एउटा विभागका रूपमा एक दशकमा यत्रो संख्यामा प्रत्यारोपण गर्नु आफैँमा महत्वपूर्ण कुरा हो । त्रिविको यो प्रत्यारोपण संख्या मानव अंग प्रत्यारोपणकै लागि स्थापना भएको विशिष्टीकृत अस्पताल मानव अंग प्रत्यारोपण केन्द्रको भन्दा केही मात्र कम हो । यसबाट जनशक्ति र साधन–स्रोतका हिसाबले मिर्गौला प्रत्यारोपणमा नेपाल बिस्तारै आत्मनिर्भरतातर्फ उन्मुख भएको देखिन्छ ।

‘मिर्गौला प्रत्यारोपणलाई अलि सहज, सरकारको सहयोग, ब्रेनडेथ भएकाबाट मिर्गौला लिई प्रत्यारोपण (क्याडामेरिक प्रोग्राम) सुरु गर्न सकेमा डायलाइसिसमा लामो समय बस्नुपर्ने बाध्यताबाट छुटकारा पाउन सहज हुने थियो,’ डा. चालिसे भन्छन्, ‘यसका साथै छुट्टै मिर्गौला रोग केन्द्र स्थापना गर्न सकेमा अझ बढी बिरामीले सेवा पाउने कुरामा विश्वस्त छु ।’

सुरुवाती दिनहरूमा हप्ताको एउटा मात्र प्रत्यारोपण गर्दै आएको त्रिविले प्रत्यारोपण गर्ने बिरामीको चाप बढ्दै गएपछि प्रत्येक साताको बुधबार दुईवटा प्रत्यारोपण गर्न थालेको अस्पतालका मिर्गौला विशेषज्ञ उपप्रा. डा. पवनराज चालिसेले जानकारी दिए । पूर्वाधारको कमीका बाबजुद पनि अस्पतालले मिर्गौला प्रत्यारोपणका लागी हप्तामा एकदिन २ वटा अप्रेशन थिएटरको समय दिएको छ । तर, यसले प्रत्यारोपणको माग थेग्न सकिरहेको छैन । अस्पतालले एकदिनको मात्र समय उपलब्ध गराउन सक्दा प्रत्यारोपणका लागि बिरामीले ४–५ महिनासम्म कुनुपर्ने बाध्यता विद्यमान छ । सबै विभागहरूलाई अप्रेशन गर्ने व्यवस्था मिलाउनु पर्ने भएकोले तत्काल भौतिक पूर्वधार नबढेसम्म हप्तामा २ जनाले मात्र सेवा पाउने छन् ।

धेरै विभाग हुँदा विशेषज्ञका हिसाबले प्रत्यारोपणमा फाइदा, साधन–स्रोतका हिसाबले घाटा
प्रत्यारोपणका लागि युरोलोजिस्ट, नेफ्रोलोजिस्ट, रेडियोलोजि, ल्याब, नसिंङ्ग सेवा लगाएतका अन्य विशेषज्ञ चिकित्सकको आवश्यकता पर्छ । ‘अस्पतालमा सबै विभाग मजबुत भएका कारण उपचारका क्रममा केही समस्या देखिएको खण्डमा त्यसको तत्काल समाधान गर्न सहज हुन्छ,’ डा. चालिसे भन्छन्, ‘तर, धेरै विभागबीच भएका पूर्वाधार र अप्रेसन थिएटरहरू बाँढ्नुपर्दा प्रत्यारोपणलाई मात्र समय दिन सकिराखिएको छैन । यसको विकल्प भनेको त्रिवि शिक्षण अस्पताल हातामा छुट्टै मिर्गौलारोगको सेन्टर स्थापना गर्नु नै हो ।’

मिर्गौला फेल हुने कारणमा पिसाबनलीमा ढुंगा
अस्पतालमा आएका बिरामीका आधारमा मिर्गौला फेल हुने प्रमुख कारण पिसाब बन्द हुने समस्या रहेको चिकित्सकहरूको अनुभव छ । बिरामीका दुवै पिसाबनलीमा ढुंगा आएर बसेको खण्डमा पिसाब रोकिन गई मिर्गौला फेल हुने उच्च सम्भावना हुने चिकित्सकको भनाइ छ । तर, तुरुन्तै अप्रेसन गरेर ढुंगा निकाल्न सकेको खण्डमा भोलिका दिनमा मिर्गौला फेल हुनबाट जोगिन सकिने डा. चालिसे बताउँछन् ।

‘रोग लागेको प्रथम चरणमै उपचार गराएको खण्डमा मिर्गौला बचाउन सकिन्छ,’ डा. चालिसे भन्छन्, ‘मधुमेह भएको खण्डमा सुगरलाई नियन्त्रणमा राख्न सकिएन भने यसको असर आँखा, मिर्गौला र मुटुमा पर्ने गर्छ । मिर्गौलामा असर गरेमा जीवनभर डायलाइसिस गर्नुपर्ने अवस्था आउँछ । पहिले नै नियन्त्रणमा राख्न सकेको खण्डमा मिर्गौला फेल हुनबाट जोगाउन सकिन्छ ।’ मिर्गौला फेल हुनुमा अस्वस्थकर खानपिन, पानी कम खानु, रक्तचाप र मधुमेहमा नियन्त्रण नहुनुजस्ता कारण प्रमुख रूपमा रहेको उनको भनाइ छ ।

मिर्गौला फेल गराउने अर्को रोग ‘गोल्मेरुलो नेप्राइटिस’
चिकित्सा विज्ञानले मिर्गौला उपचारको क्षेत्रमा धेरै ठूलो उपलब्धि हासिल गरिसकेको छ । प्रविधि र चिकित्साज्ञानको विकाससँगै मिर्गौलाको प्रत्यारोपणमा समेत अभूतपूर्व सफलता हासिल भइरहेकै छ । समयमै उपचार गराउने हो भने अधिकतर मिर्गौलारोगमा डायलाइसिस वा प्रत्यारोपणमा पुग्नुपर्ने अवस्थै नआउने र सामान्य उपचारबाटै रोग निको हुने चिकित्सकहरू बताउँछन् ।

सामान्यतया सबैखाले मिर्गौलारोगको उपचारमा सफलता मिलेको छ । तर, मिर्गौलाको यस्तो रोग पनि छ, जुन पत्थरी, मधुमेह, प्रेसर केही नभएको व्यक्तिलाई पनि हुने गर्दछ । ‘गोमेरुन नेफ्रोनाइटिज’ नाम दिइएको मिर्गौलारोग मानव शरीरभित्रैबाट आउने रोग हो, जसको उपचार नगराएमा मिर्गौला फेल हुने सम्भावना हुन्छ ।
‘गोमेरुन नेफ्रोनाइटिज रोग भने शरीरभित्रबाटै आउने रोग हो, जसले जिउमा नै अटो एन्टिबडी बनेर मिर्गौलालाई बिगार्ने काम गर्छ,’ डा. चालिसे भन्छन्, ‘यो बच्चा तथा युवामा देखिने गर्छ, जसको उपचारका लागि चाँडै डाक्टरको सल्लाहमा बस्नुपर्छ र फेल नै भएको अवस्थामा प्रत्यारोपणमा जानुपर्ने हुन्छ ।’

पछिल्लो वर्ष २२ हजार युरोका बिरामीले ओपिडीसेवा लिए, ४०% मा अप्रेसन आवश्यक
पछिल्लो एक वर्षमा त्रिवि शिक्षण अस्पतालमा युरोका २२ हजार बिरामीले ओपिडीसेवा लिएको अस्पतालको तथ्यांकले देखाएको छ । एकदिनमा सयदेखि १ सय ५० को हाराहारीमा बिरामी आउने गरेको चालिसे बताउँछन् । देशकै उपचारको केन्द्र मानिने त्रिवि अस्पतालमा धेरैजसो बिरामी मुलुकभरका अस्पतालबाट रेफर भएर आउने गरेका छन् । त्यसरी रेफर भएर आएका अधिकांश युरोका बिरामीको अवस्था जटिल हुने हुँदा अप्रेसन आवश्यक हुने गरेको डा. चालिसेको अनुभव छ । सयजना बिरामीको ओपिडी चेकजाँचका क्रममा ४० जनालाई अप्रेसन गर्नुपर्ने केस आउने गरेको डा. चालिसेको भनाइ छ ।

प्रत्यारोपणमा ९३ प्रतिशत सफलता (११ वर्षमा)
मिर्गौला प्रत्यारोपणमा शतप्रतिशत सफलता हासिल हुन्छ भन्ने होइन । शिक्षण अस्पतालको ११ वर्षको अवधिलाई हेर्ने हो भने पेसेन्ट सभाइबल दर ९३ प्रतिशत छ । बाँकी ७ प्रतिशत बिरामीको सर्जरी कम्पिकेसन्स (शल्यक्रियामा जटिलता), इन्फेक्सन (संक्रमण), एमआई भएर हर्टयाट्याकलगायत कारणले मुत्यु भएको तथ्यांक छ । त्यसैगरी, ग्राफ सर्भाइबल प्रत्यारोपण गरेको मिर्गौलाले कति वर्षसम्म काम गर्यो त भन्ने विषय महत्त्वपूर्ण हुन्छ । टिचिङको ग्राफ सर्भाइबरको ११ वर्षसम्मको आँकडा हेर्ने हो भने ८८ प्रतिशतभन्दा बढी छ । यस्ता बिरामीको पुनः मिर्गौलामा समस्या देखापर्छ । ‘बिरामी बाँच्छ, तर फेरि मिर्गौला प्रत्यारोपण गर्नुपर्ने हुन्छ या डायलाइसिसमा जानुपर्छ,’ डा. चालिसे बताउँछन् ।

ल्याप्रोस्कोपिक विधिबाट मिर्गौला निकाल्न सुरु

मिर्गौला प्रत्यारोपणमा स्वस्थ मानिसबाट एउटा मिर्गौला निकालेर जोड्नयोग्य बनाएर अर्को मानिसमा जोडिदिने काम गरिन्छ । दाता (डोनर)को जीवित मिर्गौला निकाल्दा दुईवटा विधिको प्रयोग गरिन्छ । यसअघि सामान्यतया चिरफार विधिबाट मिर्गौला निकाल्ने गरिन्थ्यो । तर, हाल आधुनिक प्रविधि ल्याप्रोस्कोपीबाट सानो प्वाल पारेर मिर्गौला निकाल्ने गरेको डा. चालिसे बताउँछन् । यसको फाइदा बिरामीलाई नदुख्ने, शरीरमा ठूलो चिरफारको दाग नदेखिने हुन्छ । नेपालमा पनि ल्याप्रोस्कोपीमार्फत ६–७ जनाको मिर्गौला निकालिएको छ भने टिचिङ अस्पतालमा पनि ल्याप्रोस्कोपिक प्रविधिबाट मिर्गौला प्रत्यारोपण चाँडै सुरु हुने विश्वास डा. चालिसेको छ ।

‘विश्वको ट्रेन्ड हर्ने हो भने रोबटिक प्रविधिबाट मिर्गौला जोड्ने काम भइरहेका छन्, जुन हाम्रो छिमेकी देश भारतमा समेत सञ्चालन भइसकेको छ,’ डा. चलिसे भन्छन्, ‘तर, नेपालमा भने यसस्तरको प्रविधि उपलब्ध नभएको र रोबटिक प्रविधिबाट प्रत्यारोपण गर्दाको जोखिम तथा मूल्य पनि बढी हुने भएकाले यो सेवा दिन सकिने अवस्था छैन ।’

मिर्गौलाका बिरामीको संख्या बढ्दोक्रममा भए पनि नेपालभर क्रसम्याच र एचएलए ट्रेस गराउन समस्या छ । नेपालमा यो सेवा आरोग्य केन्द्रमा मात्र उपलब्ध छ । पहिलेका दिनमा भारतको दिल्लीमा गएर गर्नुपर्ने बाध्यता थियो, जुन केही हदसम्म घटेको छ । तर, बिरामीको चापलाई हेर्दा प्रत्यारोपण गर्ने अस्पतालमा क्रसम्याच र एचएलए ट्रेसको सेवा उपलब्ध हुनुपर्ने देखिन्छ ।

प्रत्यारोपणलाई सजिलो बनाउन ल्याबमा प्रविधिको विकास गर्नुपर्ने देखिन्छ । यो सबै गर्नका लागि एउटा शिक्षण अस्पतालको हाताभित्र मिर्गौला प्रत्यारोपणको छुट्टै केन्द्र आवश्यक भएको डा. चालिसेको भनाइ छ ।

नेपालका मिर्गौला प्रत्यारोपणको अनुमति पाएका अस्पतालमध्ये एक विभागका रूपमा रहेर मिर्गौला प्रत्यारोपणलाई उच्च सफलतापूर्वक निरन्तरता दिँदै आएको शिक्षण अस्पतालले कसरी अझ बढी प्रभावकारी ढंगबाट यस प्रोग्रामलाई अगाडि बढाउँछ भन्ने प्रश्न गहन छ । डा. चालिसे भन्छन्, ‘अस्पतालमा आएका सबै बिरामीलाई डायलाइसिस गराउन सकिरहेको अवस्था छैन । ‘मिर्गौला प्रत्यारोपणलाई अलि सहज, सरकारको सहयोग, ब्रेनडेथ भएकाबाट मिर्गौला लिई प्रत्यारोपण (क्याडामेरिक प्रोग्राम) सुरु गर्न सकेमा डायलाइसिसमा लामो समय बस्नुपर्ने बाध्यताबाट छुटकारा पाउन सहज हुने थियो,’ डा. चालिसे भन्छन्, ‘यसका साथै छुट्टै मिर्गौला रोग केन्द्र स्थापना गर्न सकेमा अझ बढी बिरामीले सेवा पाउने कुरामा विश्वस्त छु ।’

प्रत्यारोपणका लागि अधिकतम ५ लाख ५० हजारबराबरको सरकारी सुविधा, तर प्रत्यारोपणपछिको महँगो औषधिले समस्या
सरकारले मिर्गौलाका बिरामीलाई डायलाइसिसदेखि लिएर प्रत्यारोपण गर्दा लाग्ने उपचारसमेत निःशुल्क उपलब्ध गराउँदै आएको छ । तर, धेरै नेपालीको जीवनस्तर आर्थिक हिसाबले कमजोर भएका कारण प्रत्यारोपण गरेपश्चात् नियमित खानुपर्ने औषिधिले समस्या पार्ने गरेको छ । प्रत्यारोपणपछि बाँचुन्जेल खानुपर्ने औषधि महँगो भएका कारण पनि प्रत्यारोपण गर्न नसक्ने अवस्थामा सिर्जना भइरहेको छ ।

नेपालमै पहिलोपटक ८ अगस्ट २००८ मा त्रिवि अस्पतालमा नेफ्रोलोजिस्ट डा. दिव्यासिंह शाह र युरोलोजिस्ट डा. भोलाराज जोशी र उनको टिमले अस्ट्रेलियाका सर्जन डा. डेभिड फ्रान्सिसको सहयोगमा सफलतापूर्वक मिर्गौला प्रत्यारोपणलाई मूर्तरूप दियो । हेमराज श्रेष्ठ स्वदेशमै मिर्गौला प्रत्यारोपण गराउने पहिलो बिरामी बने । आफ्नी श्रीमतीले मिर्गौला दान गरेर श्रेष्ठलाई पुनर्जीवन दिइन् ।

मिर्गौलारोगीले प्रत्यारोपण गरेको खण्डमा ४ लाख, डायलाइसिस पूर्णतया निःशुल्क, औषधोपचारका लागि १ लाख, प्रत्यारोपण गरेपश्चात् औषधि सेवनका लागि १ लाख, मिर्गौला दिने र लिनेको क्रसजाँचका लागि ५० हजारसम्मको उपचारसेवा सरकारले उपलब्ध गराउने व्यवस्था छ । समग्रमा प्रत्यारोपण गर्ने मिर्गौलारोगीको हकमा अधिकतम ५ लाख ५० हजारसम्मको उपचारखर्च सरकारले बेहोर्दै आएको छ ।

प्रत्यारोपणपछि बिरामीलाई प्रत्येक महिना करिब १५ हजारको औषधि खानुपर्ने हुन्छ । प्रत्यारोपणका बिरामीले एक–दुई दिन मात्र पनि औषधि खान छोडेको खण्डमा रिजेक्सनमा जाने सम्भावना हुने डा. चालिसे बताउँछन् । उनी भन्छन्, ‘सरकारले औषधिमा केही सहुलियत प्रदान गर्ने वा औषधिमा करछुटको व्यवस्था गरेको खण्डमा धेरै मिर्गौलारोगीलाई सहयोग पुग्छ ।’

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै

कलेजोको सफल प्रत्यारोपणपछि टिचिङबाट घर फर्किए कञ्चनपुरका रावल, २८ वर्षीय ज्वाइँले दिए पुनर्जीवन

त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगन्जमा सफलतापूर्वक कलेजो प्रत्यारोपण गराएका दोस्रो बिरामी दीपेन्द्रसिंह रावल शुक्रबार घर फर्किएका छन् । दुई साताअघि कलेजो प्रत्यारोपण गराएका रावल स्वस्थ भई डिस्चार्ज भएपछि बिरामी र बिरामीका आफन्तसँगै प्रत्यारोपण टोलीको नेतृत्व गरेका सर्जन डा. रमेश भण्डारीसहित टोलीमा संलग्न चिकित्सक तथा स्वास्थ्यकर्मी निकै खुसी र उत्साहित देखिएका छन् । नातामा ज्वाइँ पर्ने व्यक्तिबाट कलेजोदान पाई पुनर्जीवन पाएका रावल पूर्वस्वास्थ्यकर्मी हुन् ।

३ साउनमा भारतको नयाँदिल्लीस्थित फोर्टिस हस्पिटलका वरिष्ठ सर्जन विवेक बिजको मार्गदर्शनमा अंगप्रत्यारोपण सर्जन डा. रमेश भण्डारी नेतृत्वको चिकित्सक तथा स्वास्थ्यकर्मीको टोलीले रावलको सफलतापूर्वक कलोजो प्रत्यारोपण गरेको थियो । डा. भण्डारीका अनुसार रावलमा कुनै पनि स्वास्थ्य समस्या नदेखिएपछि उनलाई शुक्रबार डिस्चार्ज गरिएको हो । रावललाई २८ वर्षीय ज्वाइँ पर्ने व्यक्तिले कलेजो दिएको र उनको यसअघि नै डिस्चार्ज भइसकेको डा. भण्डारीले हेल्थपोस्टलाई जानकारी दिए । बिरामीले स्वास्थ्यलाभ गरेर घर फर्किएसँगै डा. भण्डारीले प्रत्यारोपणमा सघाएका भारतीय चिकित्सक डा. बिजलाई पुनः एकपटक धन्यवाद दिएका छन् ।

डा. भण्डारीका अनुसार रावलमा कुनै पनि स्वास्थ्य समस्या नदेखिएपछि उनलाई शुक्रबार डिस्चार्ज गरिएको हो । रावललाई २८ वर्षीय ज्वाइँ पर्ने व्यक्तिले कलेजो दिएको र उनको यसअघि नै डिस्चार्ज भइसकेको डा. भण्डारीले हेल्थपोस्टलाई जानकारी दिए ।

प्रत्यारोपणपछि दुई साताको अस्पताल बसाइपछि स्वास्थ्यलाभ भएका रावललाई शुक्रबार अस्पतालबाट डिस्चार्ज गरिएको हो । यसअघि अस्पतालले १७ जेठमा डा. भण्डारीकै नेतृत्वमा ५८ वर्षीय पुरुषमा कलेजोको पहिलो सफल प्रत्यारोपण गरेको थियो । त्यतिवेला डा. भण्डारी नेतृत्वको टोलीलाई भारतकै एपोलो अस्पतालको विशेषज्ञ चिकित्सक टोलीले सघाएको थियो भने ३३ वर्षीय छोरीले कलेजो दान गरेर बुबालाई पुनर्जन्म दिएकी थिइन् ।

पहिलो प्रत्यारोपणको करिब डेढ महिनापछि दोस्रो प्रत्यारोपण गरेको त्रिवि अस्पतालले सुरुवाती दिनमा महिनामा कलेजोको एउटा प्रत्यारोपण गर्ने योजना बनाएको छ । भविष्यमा अस्पतालले कलेजो प्रत्यारोपणलाई दिने गतिबारेको जिज्ञासामा डा. भण्डारीले भने, ‘अहिले सुरु–सुरुमा महिनामा एउटा प्रत्यारोपण गर्ने लक्ष्य हो, दोस्रो सफलतासँगै तेस्रो प्रत्यारोपणका लागि बिरामी तयार पारेका छौँ । ८–१० वटा प्रत्यारोपण गरेपछि महिनाको दुईवटासम्म गर्ने योजना छ ।’ ८–१० वटा प्रत्यारोपण नगरुन्जेल विदेशी चिकित्सक टोलीको सहयोगलाई निरन्तरता दिइने डा. भण्डारीको भनाइ थियो ।

भविष्यमा अस्पतालले कलेजो प्रत्यारोपणलाई दिने गतिबारेको जिज्ञासामा डा. भण्डारीले भने, ‘अहिले सुरु–सुरुमा महिनामा एउटा प्रत्यारोपण गर्ने लक्ष्य हो, दोस्रो सफलतासँगै तेस्रो प्रत्यारोपणका लागि बिरामी तयार पारेका छौँ । ८–१० वटा प्रत्यारोपण गरेपछि महिनाको दुईवटासम्म गर्ने योजना छ ।’

नेपालमा हालसम्म सरकारी र निजी गरी जम्मा ४ वटा अस्पतालले कलेजो प्रत्यारोपणको अनुमति पाएका छन्, जसमध्ये २ वटाले मात्र प्रत्यारोपण गराएका छन् । सरकारीस्तरमा भक्तपुरस्थित सहिद धर्मभक्त मानव अंग प्रत्यारोपण केन्द्रले दुई बिरामीमा कलेजोको सफल प्रत्यारोपण गराएको थियो । यद्यपि, अस्पतालले यसलाई निरन्तरता दिन सकेन । त्रिवि शिक्षणले भने अनुमति पाएको झन्डै पाँच महिनाको तयारीपछि प्रत्योरोपण सुरु गरेकोमा डेढ महिनाको बीचमा दोस्रो सफलता हात पारेको हो । यससँगै त्रिवि शिक्षणले भने प्रत्यारोपणलाई निरन्तरता दिएर प्रत्यारोपणको सुस्ततालाई केही गति दिने विश्वास पलाएको छ ।

यसबाहेक मोफसलका दुई निजी अस्पतालले पनि कलेजो प्रत्यारोपणको अनुमति पाइसकेका छन् । दुवै अस्पताल चितवनका हुन् । यद्यपि, उनीहरूले हालसम्म प्रत्यारोपण सुरु गरेका छैनन् । चितवन मेडिकल कलेज र कलेज अफ मेडिकल साइन्सेसले केही महिनाअघि कलेजो प्रत्यारोपणको अनुमति पाएका थिए ।

नेपालमा विदेशको तुलनामा एकतिहाइभन्दा पनि कम खर्चमा कलेजो प्रत्यारोपण हुने गरेको छ । विदेशमा प्रत्यारोपण गर्दा ७० लाख रूपैयाँभन्दा बढी खर्च लाग्ने गरेकोमा नेपालमा २० देखि २५ लाखमै प्रत्यारोपण हुन्छ । तर, प्रत्यारोपण अत्यन्त जटिल भएका कारण त्यसका लागि अत्यन्त सम्पन्न पूर्वाधारको आवश्यकताका साथसाथै कानुनी व्यवधान र दातासित बिरामीको अंगको मेल खानुपर्ने हुँदा प्रत्यारोपणले गति लिन नसकेको विज्ञहरूले बताउँदै आएका छन् । यद्यपि, पछिल्लो समय त्रिवि टिचिङको सक्रियता बढेसँगै नेपाली बिरामीले सस्तो मूल्यमा स्वदेशमै गुणस्तरीय सेवा पाउने आशा पलाएको छ ।

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै

त्रिवि टिचिङले दोब्बर बनायो प्लास्टिक सर्जरीको ओपिडी, बिरामीको चाप थेग्न अब सातामा ४ दिन सेवा

बिरामीको बढ्दो चाप र गुणस्तरीय सेवालाई मध्यनजर गर्दै महाराजगन्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालले प्लास्टिक सर्जरी विभागको ओपिडी सेवालाई दोब्बर बनाउने निर्णय गरेको छ । अस्पतालले १२ साउनबाट बिहान र दिवा सत्रमा गरी साताको ४ दिन प्लास्टिक सर्जरीको ओपिडीसेवा दिने भएको हो । यसअघि अस्पतालले साताको २ दिन दिवा सत्रमा मात्र सेवा दिँदै आएको थियो ।

‘पहिले आइतबार र बिहीबार दिवा सत्रमा मात्रै प्लास्टिक सर्जरीको ओपिडी सेवा दिँदै आएका थियौँ,’ प्लास्टिक सर्जरी विभागका प्रा.डा. ईश्वर लोहनीले भने, ‘तर, बिरामीको चाप बढेसँगै आइतबार र सोमबार बिहानी सत्र र मंगलबार र बिहीबार दिवा सत्रमा ओपिडीसेवा दिन लागेका हौँ ।’

आस्पतालमा प्लास्टिक सर्जरीमा ओपिडीसँगै अप्रेसन गर्ने दिन पनि थपिएको डा. लोहनीले जानकारी दिए । ‘सेवाको माग उच्च छ, ओपिडीका बिरामीसँगै अप्रेसन गर्ने बिरामी पनि बढेका छन्,’ डा. लोहनीले भने, ‘त्यसैले ओपिडीसँगै अप्रेसन गर्ने दिन पनि बढाएका छौँ ।’

‘सेवाको माग उच्च छ, ओपिडीका बिरामीसँगै अप्रेसन गर्ने बिरामी पनि बढेका छन्,’ डा. लोहनीले भने, ‘त्यसैले ओपिडीसँगै अप्रेसन गर्ने दिन पनि बढाएका छौँ ।’

अस्पतालमा हालसम्म प्लास्टिक सर्जरीको अप्रेसन सोमबार, मंगलबार र शुक्रबार हुने गरेकोमा अब एक दिन थप गरी आइतबार, सोमबार, मंगलबार र बिहीबार गरिने भएको डा. लोहनीले जानकारी दिए ।

अस्पतालमा एक सत्रमा ८० देखि १०० जनासम्म बिरामीले ओपिडीसेवा लिँदै आएका छन् । अप्रेसनको प्रकृति हेरेर एक अप्रेसन थिएटरमा एक दिनमा ४ वटासम्म अप्रेसन हुने गरेको डा. लोहनी बताउँछन् ।

प्रा.डा. लोहनीले सोमबारको बिहानी सत्र र बिहीबारको दिवा सत्रमा ओपिडीसेवा दिनेछन् भने प्रा.डा. जयनमान श्रेष्ठले आइतबार दिवा सत्र र मंगलबार बिहानी सत्रमा सेवा दिनेछन् ।

अस्पतालमा आएका प्लास्टिक सर्जरीका बिरामीलाई अन्यत्र रेफर गर्नुपर्ने अवस्था नरहेको र उपचारका लागि आवश्यक सम्पूर्ण प्रविधि अस्पतालमा उपलब्ध रहेको प्रा.डा. लोहनीको दाबी छ ।

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै