प्रवेश परीक्षा रोक्ने मनसायले आइओएममा ताला

चिकित्साशिक्षा संघर्ष समितिले त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम)को डिन कार्यालय र परीक्षा नियन्त्रण शाखामा तालाबन्दी गरेको छ । परीक्षा शाखामा तालाबन्दीसँगै आइओएमले अर्को साताका लागि तय गरेको प्रवेश परीक्षा प्रभावित हुन सक्ने देखिएको छ । आइओएमले २१-२३ भदौका लागि एमबिबिएसलगायतको प्रवेश परीक्षाको मिति तोकिसकेको छ ।

विभिन्न ८ बुँदे माग राखेर आन्दोलनमा उत्रिएको संघर्ष समितिले माग पूरा गर्न १२ गते ७२ घण्टाको अल्टिमेटम दिएको थियो । तर, माग सुनुवाइ गर्ने कुनै लक्षण नपाएपछि बाध्य भएर तालाबन्दी गर्नुपरेको गण्डकी मेडिकल कलेजका विद्यार्थी अनित सिन्हाले बताए ।

चिकित्साशिक्षा ऐनले व्यवस्था गरेको ७५ प्रतिशत छात्रवृत्तिको प्रावधान लागू हुनुपर्ने, मेडिकल कलेजले विभिन्न शीर्षकमा लिँदै आएका मनोमानी शुल्क फिर्ता हुनुपर्ने तथा त्यस्तो शुल्क लिने कलेजलाई कारबाही हुनपर्ने, समयानुकूल पाठ्यक्रम परिमार्जन गरी गुणस्तरीय र प्रविधिमैत्री पाठ्यक्रम बनाउनुपर्नेजस्ता ८ बुँदे माग संषर्ष समितिले अघि सारेको छ ।

‘समितिले दिएको समयसीमा बितिसक्दा पनि सम्बन्धित कुनै निकायले पनि चासो देखाएको पाइएन, जसका कारण बाध्य भएर तालाबन्दी गर्ने अवस्थामा पुग्यौँ,’ सिन्हा भन्छन्, ‘जबसम्म हाम्रो माग सुनुवाइ हुँदैन, तबसम्म तालाबन्दी तथा आन्दोलन गर्न छोड्दैनौँ ।’

संघर्ष समितिले आइतबार ११ बजे धर्ना तथा आन्दोलनका कार्यक्रम गरेसँगै दिउँसो १ बजे तालाबन्दी गरेको हो । आफूले उठाएका माग पूरा नगरे सबै मेडिकल कलेजका शैक्षिक तथा प्रशासनिक कार्य ठप्प पार्ने र राजधानीमा विशाल स्वास्थ्य प्रदर्शन गर्नेसमेत समितिले चेतावनी दिएको छ ।

गत साता मात्र चिकित्साशिक्षा अध्ययनरत विद्यार्थीहरूले संघर्ष समिति गठन गरी चिकित्साशिक्षा सुधारका लागि आन्दोलन गर्ने जानकारी दिएको थियो । १० भदौमा सरोकारवालासित छलफल आयोजना गरेरै समितिले आफ्ना कार्यक्रम सार्वजनिक गरेको थियो ।

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै