कोरोना नियन्त्रणका लागि अब गर्नुपर्ने काम

अहिले विश्वले कोरोना भाइरस (कोभिड–१९) को महामारीको सामना गरिरहेको छ।

नेपालमा पहिलो संक्रमित देखिएको झन्डै चार महिनापछि केही दिनयता संक्रमितको ग्राफ उल्लेख्य दरमा बढ्न थालेको संकेत देखिन्छ।

रोग रोकथाम र नियन्त्रणको सन्दर्भलाई विश्लेषण गर्दा नेपाल सरकारबाट सुरुदेखि नै कोरोना नियन्त्रणको पूर्वतयारीमा कमीकमजोरी भएको छ।

परीक्षणलगायतका विषयमा स्वास्थ्य क्षेत्रको तयारीले अहिले केही गति लिएजस्तो देखिन्छ।

विशेषगरी प्रयोगशालाको उपलब्धता, जनशक्ति व्यवस्थापन, कोरोना अस्पताल र क्वारेन्टाइन व्यवस्थापन जस्ता क्रियाकलाप हेर्दा पछिल्लो समयमा धेरै सुधार भएको देखिन्छ।

तर कोभिड–१९ उपचारका सन्दर्भमा सुधार देखिए पनि ननकोभिडका बिरामीको उपचारप्रति अहिले पनि उचित व्यवस्थापन हुनसकेको छैन।

विपत्तिको सामनासँगै नियमित स्वास्थ्यसेवा पनि निरन्तर अगाडि बढाउनु जरुरी छ।

उदाहरणका लागि क्यान्सर रोगी, मिर्गौला रोगी, गर्भवती महिला, परिवार नियोजन, खोप कार्यक्रमहरू खासगरी अप्ठ्यारो अवस्थामा परेको देखिएको छ। यस्ता कार्यक्रमलाई सरकारले यथासक्दो छिटो सम्बोधन गर्नु आवश्यक छ।

स्वास्थ्य सेवाको प्रवृत्तिमा पनि परिवर्तन गर्नुपर्छ। जस्तो कि अप्रेसन गर्दा इन्डोस्कोपी, सर्जरीहरूमा बढी जोखिम हुन्छ। यो जोखिमबाट बच्दै सर्जन र अन्य प्राविधिकहरूले नयाँ प्रविधि अवलम्बन गर्नेमा चनाखो हुनुपर्छ।

कोरोना नियन्त्रण र नियमित स्वास्थ्य सेवा

यो कोरोनाको महामारी छिट्टै हट्ने सम्भावना छैन। भाइरसको प्रकोप कम्तीमा पनि एक-दुई वर्षसम्म आउने जाने गरिनै राख्छ भन्ने प्रक्षेपण गरिएको छ। यो रोगरोकथामको लागि खोप बन्ने क्रममा रहेको छ। तर, विश्वव्यापी रुपमा खोप उपलब्धता हुनु, हामीले किन्न सक्नु र सबैलाई दिनसक्नु ठूलो चुनौती हुनेछ।

त्यसकारण हाम्रो काम गर्ने जुन शैली छ, त्यो परिर्वतन गर्नु आवश्यक छ। अर्थात् महामारी चलिरहँदा पनि हाम्रो दैनिकी, स्वास्थ्यसेवालार्ई कसरी निरन्तरता दिन सकिन्छ भन्नेबारे सोच्नुपर्छ।

जति रहेका स्वास्थ्य संस्थामा स्वास्थ्यकर्मी यथेष्ट संख्यामा राख्ने र उनीहरूलाई दक्षता वृद्धिको तालिम दिन आवश्यक हुन्छ। महामारी नियन्त्रणका लागि स्वास्थ्य संस्थामा सामाजिक दूरी कसरी कायम गर्ने त्यो सोच सहित योजना बनाएर राम्ररी लागू गर्नुपर्छ। बिरामीको सेवा पनि अवरुद्ध नगर्ने तथा बिरामीमार्फत स्वास्थ्यकर्मीलाई रोग नसर्ने र स्वास्थ्यकमी मार्फत बिरामीमा रोग सर्न नसक्ने वातावरण बनाउनुपर्छ।

स्वास्थ्य सेवाको प्रवृत्तिमा पनि परिवर्तन गर्नुपर्छ। जस्तो कि अप्रेसन गर्दा इन्डोस्कोपी, सर्जरीहरूमा बढी जोखिम हुन्छ। यो जोखिमबाट बच्दै सर्जन र अन्य प्राविधिकहरूले नयाँ प्रविधि अवलम्बन गर्नेमा चनाखो हुनुपर्छ।

महामारी नियन्त्रण र समन्वय

महामारीको नियन्त्रण तथा रोकथाम गर्नका लागि सबै प्रकारका जनशक्ति र विज्ञको उचित समन्वयमा काम हुनुपर्छ। तर, स्वास्थ्य मन्त्रालयमा टिमवर्कमा काम हुन नसकेको महसुस भइरहेको छ। नेतृत्वदायी भूमिकामा बसेकाहरुले सबैसँग समवन्य गर्न चुकेका छन्। स्थानीय सरकार र जनप्रतिनिधिहरूले केन्द्र सरकारका सर्कुलर, तयारी र निर्देशनबाट अनभिज्ञता जनाइरहेको अवस्था पनि छ।

अर्कोतिर लकडाउनको बहुआयमिक असर परिरहेको छ। खासगरी, ज्याला, मजदुरी गर्ने मानिसहरूलाई एक ठाउँबाट अर्को ठाउँमा पुर्याउन गाह्रो परेको अवस्था छ। काम नहुँदा भोकै परेका सर्वसाधारणलाई खान दिन नसकेको अवस्था छ। जसले गर्दा महामारी रोकथाममा ठूलो चुनौती देखिन्छ।

अलपत्र परेकाको उद्दार र जनस्वास्थ्यको दृष्टिले सुरक्षित व्यवस्थापनबिना महामारी नियन्त्रण सम्भव हुन्न। यही अवस्था कायम रहेमा जनस्वास्थ्यमा कुपोषणलगायतका भारले अर्कै समस्या निम्त्याउन सक्छ।

कुपोषणको कारण रक्तअल्पतादेखि लिएर शिशु मृत्युदर पनि बढ्ने सम्भावना छ। परिवार नियोजनका कार्यक्रम राम्रोसँग सञ्चालन हुन सकेको छैन। दम्पती घरभित्र लकडाउनमा रहेको अवस्थामा भोलिका दिनमा गर्भवती महिलाको संख्या बढ्ने निश्चित छ। सेवा सुचारु हुन नसकेको अवस्थामा र गर्भवती महिलालाई कोभिड भएमा मातृमृत्युदर नबढ्ला भन्ने अवस्था रहँदैन।

कोरोनाको नियन्त्रणमा मात्र ध्यान दिएर हुँदैन। कोरोनाका साथसाथै सबै स्वास्थ्य सेवालाई समयमै ध्यान पुर्याएर व्यवस्थापनतर्फ लाग्नुपर्छ।

प्राथमिकता र परिणाम

सरकारले स्वास्थ्य क्षेत्रलाई प्राथमिकता दिएको छ। तर, प्राथमिकताको परिणाम जति आउनुपर्ने हो, आउन सकेको छैन। सरकारले सबैलाई लकडाउनमा बस्नका लागि निर्देशन दियो। अति आवश्यक पर्ने स्वास्थ्य सेवा उच्च रक्तचाप, मधुमेह, दम, मिर्गौला रोगीहरूले उपचार कहाँबाट लिइरहेका छन् ? ती सबै कुराको विश्लेषण गरेर सेवालाई निरन्तर दिन सकेको छैन।

गर्भवती महिलाको एन्टिनेटेल केयर कम्तीमा पनि चारवटा गर्नुपर्छ। अल्ट्रासाउन्ड आदिका उपकरणबाट पनि रोग सर्ने समस्या रहेका होलान्। त्यसलाई हामीले कसरी निराकरण गरेका छौं? त्यसका लागि निर्देशनात्मक गाइडलाइन के रहेका छन् ?

विभिन्न विधाका सोसाइटीले महामारीको बेलामा स्वास्थ्यकर्मीहरूले हरेक विषयमा कसरी सम्बोधन गर्नुपर्ने हो सो को गाइडलाइन निकाल्नुपथ्र्यो। व्यापक रूपमा मन्त्रालयको वेबसाइट लगायत विभिन्न संस्था तथा अस्पतालमा पुगेको देखिएको छैन।

लकडाउन खुला गर्दा स्वास्थ्य संस्थामा ठूलो चाप पर्छ। कोभिडको जोखिम बढ्न जान्छ, त्यसलाई कसरी व्यवस्थापन गर्ने भन्नेतर्फ अझै ध्यान पुगेको छैन।

यसका लागि स्थानीयतहलाई अझ बढी सक्रिय बनाउनुपर्छ। इन्टरनेट, टेलिफोनबाट स्वास्थ्यसल्लाह दिने व्यवस्था गरियो भने स्वास्थ्य सेवामा बिरामीको चाप धेरै क मगर्न सकिन्छ। पहिलाको मानिसहरू केन्द्र, क्षेत्रीय, अञ्चल अस्पतालका ओपिडीमा धेरै भीड हुने अवस्था थियो। अब, स्थानीय तहका स्वास्थ्य संस्थामा गतिलो ओपिडी सेवा दिन सकियो भने केही हदसम्म जोखिम कम हुन्छ। केन्द्र तथा क्षेत्रीय अस्पतालमा विशेषज्ञ सेवाका लागि मात्र बिरामी आउनसक्ने वातवरण बनाउन सक्यौं भने चाप कम गर्न सकिन्छ।

स्वास्थ्य क्षेत्रको बजेट विनियोजनमा स्थानीयतहलाई बढी प्राथमिकता दिनुपर्छ। बजेट विनियोजन हुँदा विभिन्न तहको कामको विश्लेष्ण गरेर कामहरूका लागि पुग्ने बजेट दिनुपर्छ। स्वास्थ्यका लागि बजेट भनेर २–४ वटा अस्पताल भवन निर्माणमा खर्च गरेर मात्र संरचनागत कुरामा परिर्वतन गर्न सकिन्न।

वडास्तरको स्वास्थ्य संस्था सक्षम बनाऔं

स्वास्थ्यको केही संरचनाको पुरर्संरचना गर्नुपर्छ। सामुदायिक स्वास्थ्यमा हेर्यौं भने महिला स्वयंसेविका मात्र रहेका छन्। सामुदायिक नर्सहरूको व्यवस्थापन गर्न सकियो भने धेरै समस्या स्वास्थ्य संस्थामा नआई हल हुन्छ। सामान्य उपचारका लागि वडास्तरको स्वास्थ्य संस्थालाई समक्ष बनाएर व्यवस्थापन गर्न जरुरी छ।

सामान्य उपचारका लागि ठूलो अस्पताल जाने जनसमुदायको बानी छ, त्यस बानीलाई परिवर्तन गर्नैपर्ने हुन्छ। सामान्य रोगका लागि स्थानीय तहमा उपचार पाउनसक्ने त्यस किसिमको पूर्वाधार बनाउनुप¥यो। सामुदायिक नर्स, स्वास्थ्यकर्मीको संख्यावृद्धि गर्नुपछ। वृद्धि भएको जनशक्तिले जनचेतनामूलकका साथै सेवाको सुधार गराउने वातावरण बनाउनुपर्छ।

स्वास्थ्य संस्थामा रहेको संक्रमणको रोकथामको पद्दतिलाई अझै सुदृढीकरण गर्नुपर्छ। स्वास्थ्य संस्थामा पानी नहुने, बाथरुम फोहोर हुने जस्ता विविध अवस्था परिर्वतन गराउनुपर्छ। बाथरुममा गएर कुनै बिरामीले ढोका,धारा देखि छोएपछि त्यसबाट अर्को मानिसलाई रोग संक्रमण हुन जान्छ। त्यसकारण अस्पतालमा रहेको कमजोर भौतिक पूर्वाधार पक्ष सुधार गर्नुपर्छ। साबुनपानीको उपलब्धता, सरसफाइ र अस्पतालको इन्फेक्सन, प्रिभेन्सन कुरा, संरचनागत कुराहरू परिवर्तन गर्नुपर्छ।

कामको विश्लेषणअनुसार बजेट विनियोजन

अहिले बजेको बनाउने बेला छ। स्वास्थ्य क्षेत्रको बजेट विनियोजनमा स्थानीयतहलाई बढी प्राथमिकता दिनुपर्छ। बजेट विनियोजन हुँदा विभिन्न तहको कामको विश्लेष्ण गरेर कामहरूका लागि पुग्ने बजेट दिनुपर्छ। स्वास्थ्यका लागि बजेट भनेर २–४ वटा अस्पताल भवन निर्माणमा खर्च गरेर मात्र संरचनागत कुरामा परिर्वतन गर्न सकिन्न।

कामको विश्लेषण गरी योजनाअनुरुप विभिन्न तहको सरकारमा विनियोजन हुनुपर्छ। उपलब्ध भएको रकमलाई हामीले सही रूपमा प्रयोग गर्यौं कि गरेनौं मूल्यांकन गर्न जरुरी छ। पुनः संरचना थप गर्न, स्वास्थ्यकर्मीको जनशक्ति बढाउन, मोबाइल हेल्थलाई बढवा गर्नुपर्छ। निजी क्षेत्रको अनुगमनमा धेरै कमजोरी भएको छ। अनुगमनको संयन्त्रहरू कसरी राम्रो पार्ने यस्ता विषयलाई मध्यनजर गरेर प्राथमिकतामा राख्नुपर्छ।

(पूर्वस्वास्थ्य सचिव डा. शर्मा सँग हेल्थपोस्टकर्मी पुष्पराज चौलागाईंले गरेको कुराकानीमा आधारित)

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै

रमाइलोसँगै केही समय जीवनीलेखनमा उपयोग गर्ने सोचमा छु

बच्चामा दसैँ कहिले आउला भनेर कुरेर बसिन्थ्यो । त्यतिवेला अहिलेजस्तो होइन, दसैँमा मात्र लुगा, जुत्ता किन्ने, खसी काट्ने चलन हुन्थ्यो । दसैँ आएपछि जताततै पिङ हाल्ने, चंगा उडाउने, लंगुरबुर्जा खेल्ने हुन्थ्यो । त्यो सझँदा अहिले उडेर त्यही अवस्थामा पुगौँझैँ लाग्छ ।

धेरै वर्ष काठमाडौंबाहिर भएको हुनाले यसपालि काठमाडौंमा दसैँ मनाउने योजनामा छु । घटस्थापनाको दिन जेठाजुको घरमा बसेर पूजाआजा गरियो, मन्दिर घुमफिर गरेर मनाइयो । हाम्रो ठूलो परिवार भएकाले दसैँमा पालैपालो सबैको घरमा जमघट तथा रमाइलो गरेर मनाउने गर्छौं ।

दसैँका वेला केही दिन फुर्सद मिल्दा आफ्नो जीवनीबारे संस्मरण लेख्दै छु । त्यसका लागि केही काम बाँकी भएकाले जीवनी लेखनलाई पनि केही समय दिने विचारमा छु । दसैँका दिनहरू प्रायः सबै आफन्तजनसँगको भेटघाट र रमाइलो गरेर मनाउने योजनामा छु ।

मेडिकल कलेज कासीमा पढ्दा प्रायः दसैँमा घर आउने गर्थें । एक वर्षको दसैँमा म घर आउन पाइएन । काठमाडौंमा घर–परिवारमा दसैँको रौनक छाएको थियो, तर मेरो मन एक्लै हुँदा पीडा नै पीडाले भरिएको थियो ।

दसैँ मनाउँदा सन्दर्भमा साना केटाकेटी र ठूला मानिसको सोचाइ अलि फरक हुने गर्छ । सानो छँदाको स्मरण आउँछ, दसैँभरि नै दाइहरूले चंगा उठाउनुहुन्थ्यो । म चंगाको धागोमा माजा लगाउने काम गरिदिन्थेँ । गाइने किराको पुच्छरमा धागो बाँधेर उठाउने गरिन्थ्यो । नयाँ लुगा र मिठो खाना पाइने हुँदा सानो छँदा दसैँ कहिले आउलाजस्तो हुन्थ्यो । उमेर बढेँसँगै घरपरिवारको जिम्मेवारी बढ्दै गयो । सन्तान पनि ठुल्ठूला भएपछि त्यति जिम्मेवारी छैन । त्यसैले फुर्सदमा आफूलाई पढ्न मन लागेका पुस्तक पढ्ने, भगवान्को आराधना गर्नेजस्ता काम गरेर दसैँको बिदाको उपयोग गर्ने योजना छ । दसैँको रौनक समय र उमेरअनुसार फेरिँदै जाँदो रहेछ ।

मेडिकल कलेज कासीमा पढ्दा प्रायः दसैँमा घर आउने गर्थें । एक वर्षको दसैँमा म घर आउन पाइएन । काठमाडौंमा घर–परिवारमा दसैँको रौनक छाएको थियो, तर मेरो मन एक्लै हुँदा पीडा नै पीडाले भरिएको थियो । त्यसवेलाको दसैँ अवधि रोएरै बिताएको स्मरण अहिले पनि ताजै छ । त्यो दसैँ सम्झँदा आज पनि नरमाइलो लाग्ने गर्छ ।

म काठमाडौंमा हुँदा पनि दुईवटा दसैँ केटाकेटी घर आएर टीकाटाला गरेर मनायौँ । दुईवटा भने शून्य नै भए । जहाँ बसे पनि दसैँको शून्यता मलाई रमाइलो लाग्दैन । रमाइलो गरेको कुरा सबै सम्झना पनि हुँदो रहेनछ । दसैँमा भएको शून्यताले भने दसैँको झन् बढी महत्त्वबोध गराउँदो रहेछ । आफू टाढा हुँदा दसैँ मनाउन पाइएन भने त्यसको रिक्तता र खाल्लोपन झन् बढी महसुस हुँदो रहेछ ।

प्रस्तुति : पुष्पराज चौलागाईं

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै

जसले सचिव पद छाडिन्, स्वाभिमान छाडिनन्

काठमाडौंको गौरीधाराछेउमै रहेको घर आफैँमा छुट्टै संसार थियो । परालको कुन्युमा लडिबुडी खेल्न होस् वा गाईबाच्छासँग खेल्न होस् कम्पाउन्डबाहिर जानुपर्दैनथ्यो । ब्याडमिन्टन, फुटबलसमेत त्यहीँ हुन्थ्यो । परिवार, ११ जना केटाकेटी त्यही कम्पाउन्डभित्र रमाउँथे । रमाइयो मात्रै होइन, त्यो परिवेश एउटा गुरुकुलसरह थियो । डा. सुधाका हजुरबुबा कुलचन्द्र गौतम, संस्कृत र नेपाली साहित्यका प्रकाण्ड विद्वान्, ‘विद्वत्शिरोमणि’ पदवीबाट विभूषित थिए । बुबा गभर्नर लक्ष्मीनाथ गौतम । सुधा र भाइलाई नजिकैको पण्डितले अमरकोश र अष्टाध्यायीबाट पढाइ सुरु गराएका थिए ।

पूर्वस्वास्थ्यसचिव डा. सुधा शर्माले जीवनमा हासिल गरेको प्रशासनिक र पेसागत उचाइको जग त्यही घर थियो । गौतम परिवारका ११ मध्ये १०औँ सन्तान थिइन् सुधा । उनको औपचारिक शिक्षा कन्यामन्दिर बहुउद्देश्यीय विद्यालयमा कक्षा ५ पछि मात्र सुरु भयो । बुबा आफैँ पनि सुधालाई अंग्रेजी पढाउँथे । पछि राजा महेन्द्रको दबाबका सामु नझुकीकनै गभर्नरबाट राजीनामा दिएपछि अझै उनीसँग छोराछोरीलाई पढाउन र संस्कार दिन थप समय भयो । घरको वातावरणजस्तै महत्वपूर्ण थियो आमाको हौसला । सानैमा पढ्न नपाएर विवाहबन्धनमा बाँधिनुपरेकी आमा छोरीलाई पढ्न निकै हौसाउँथिन् । उनका शिक्षक पनि उस्तै थिए । केदारनाथ न्यौपाने, कृष्णचन्द्रसिंह प्रधान, समरमान तुलाधर, राजभाइ तुलाधरजस्ता शिक्षकबाट मिहिनेत र अनुशासन सिकिन् सुधाले । घरमा पढ्ने वातावरण, सुधा २०२८ सालको प्रवेशिका परीक्षामा १ अंकले बोर्डमा परिनन्, अर्थात् ११औँ । छात्रातर्फ भने प्रथम ।  सुधाले प्रवेशिका पूरा गर्दासम्म घरमा कोही डाक्टर बनिसकेका थिए त कोही पढ्दै थिए । दाजु प्रसन्नचन्द्र, भाउजू, दिदी, भिनाजु पनि डाक्टर । पढाइमा अब्बल सुधाको डाक्टर बन्ने सपनामा कुनै तगारो आएन । उनले अमृत साइन्स कलेजबाट आइएससी र कोलम्बो प्लानअन्तर्गत भारतको राँचीस्थित राजेन्द्र मेडिकल कलेजबाट एमबिबिएस पूरा गरिन् ।

गड्यौला समात्दै उम्रियो, डाक्टर बन्ने सपना
त्यतिवेला उनी ५–६ कक्षमा पढ्दै थिइन् । दाइ आइएससी पढ्दै । दाइ घरमै गड्यौला संकलन गरेर मैनको प्लेटमा राखेर चिर्थे । सुधा गड्यौला समात्न सघाउँथिन् । त्यतिवेलै साइन्स पढ्ने, डाक्टर बन्ने सपनाको बिउ रोपियो । उनी विद्यालयमा निबन्ध लेख्दासमेत डाक्टरै बन्छु भनेर लेख्थिन् । डाक्टर बनेर बिरामीको सेवा गर्ने धोको थियो, त्यसमा सधैँ परिवारले ‘इन्करेज’ गरिरह्यो ।

राँची जाँदा बुबाले सम्झाउँदाको क्षण
आइएससी सिध्याउँदा उनी भर्खर १७ वर्ष टेकेकी मात्रै थिइन् । त्यति मात्र होइन, पहिलोपटक घर छोडेर विदेश यात्रा हुँदै थियो । आमाबाबुको छोराछोरीप्रति भरोसा मात्रै होइन, उदारता पनि थियो । अघिल्लो दिन बुबाले सम्झाए, ‘छोरी, तिमी भोलि बाहिर जाँदै छौ, यताउति नगर्नू, ब्वाइफ्रेन्ड हुन सक्छन्, तिम्रो पढाइमा डिस्टर्ब होला, ख्याल गर, राम्रो पढ्नू, मुख्य ध्यानचाहिँ नछोड्नू, हाम्रो कुलको पृष्ठभूमि यही हो ।’ बुबाको सम्झाइमा आदेश नभएर प्रेम थियो । सुधालाई बुबाको कुराले धेरै मन छोयो, उनले पढाइमा कहिल्यै सम्झौता गरिनन् ।

विवाहको कुरा भइरहेको छ भन्ने हल्ला होस्टलभरि फैलियो । भेटसमेत भएको थिएन विजयसित । दाइको विवाहमा पनि विजय कोलकातामा पढ्दै थिए, जन्त आएका थिएनन् । एमबिबिएस पढ्दापढ्दै सुधाका बुबा बितिसकेका थिए । अभिभावक दाइले विवाह गर्ने कुरा सोधेपछि उनले नाइँ भन्न सकिनन् ।

एमबिबिएस पढ्दापढ्दै विवाह
एमबिबिएस अन्तिम वर्ष पढ्दै थिइन्, दिदीका देबर डा. विजयकुमार शर्मासँग विवाहको कुरा चल्यो । डा. विजय दिल्लीमा भर्खर एमएसमा भर्ना भएका थिए । उनी कांग्रेस नेत्री, पूर्वसांसद एवम् मन्त्री लीला कोइरालाका भानिज हुन् । लीलाकी छोरी पनि राँचीमै एमबिबिएस पढ्न आइन् । विवाहको कुरा भइरहेको छ भन्ने हल्ला होस्टलभरि फैलियो । भेटसमेत भएको थिएन विजयसित । दाइको विवाहमा पनि विजय कोलकातामा पढ्दै थिए, जन्त आएका थिएनन् । एमबिबिएस पढ्दापढ्दै सुधाका बुबा बितिसकेका थिए । अभिभावक दाइले विवाह गर्ने कुरा सोधेपछि उनले नाइँ भन्न सकिनन् । ‘प्रायः फाइनल इयरमा कोही पनि विवाह गर्न तयार हुन्नन् । पढाइ राम्रै थियो, असर नपर्ने लाग्यो, हुन्छ भनिदिएँ,’ सुधा सम्झिन्छिन् । ०३६ को जनमतसंग्रहमा दुवैजना भोट हाल्न आएको समय थियो, सामान्य तरिकाले विवाह भयो । विजय बिपी कोइरालाका सालो हुन्, तडकभडक र फाल्तु खर्च गरेर विवाह गर्न पनि त मिल्दैनथ्यो ।

विवाहपछि सुरु भयो संघर्ष
विवाह हुँदाका बखत श्रीमान् विजय पनि पढ्दै थिए । विवाह भएपछि सुधा श्रीमान्सँग गोरखपुर हुँदै दिल्ली गइन् । केही समय सँगै बसे । श्रीमान्को पिजी ड्युटी कडा हुन्थ्यो । सुधा श्रीमान्लाई भेट्न बारम्बार राँचीबाट दिल्ली गइरहन्थिन् । रातभरको रेलयात्रा गर्नुपथ्र्यो । अब्बल विद्यार्थी भएकाले र भर्खर पढेका विषयवस्तु ताजै हुनाले कतिपय कुरा श्रीमान् र उनका साथीहरूलाई समेत सुधा सिकाइदिन्थिन्, पछि उनलाई सर्जरी विजयले सिकाए । त्यतिवेला भारतमा डा. शेखर कोइराला, डा. ध्रुव शर्मालगायत थुप्रै नेपाली डाक्टर पढ्दै थिए । डा. शशांक र डा. शेखरकी माइजू भएकाले उनी सबैकी माइजू भइन् । सुधा दिल्ली जाँदा श्रीमान् र नेपाली साथीहरूलाई समेत खाना पकाएर खुवाउँथिन् ।
फाइनल इयर पास गरेपछि सुधाको इन्टर्नसिप चलिहरेकै वेला पहिलो सन्तानका रूपमा छोरा जन्मियो । श्रीमान्को घर काठमाडौंमा थिएन । उनी सुत्केरी हुँदा काठमाडौं माइतीमै बसिन् । १९ दिनको छोरा आमासित छोडेर सुधा एमबिबिएसको प्रमाणपत्र लिन राँची गइन् । त्यसपछि उनको पेसागत करिअर सुरु भयो । त्यतिवेला ‘डाक्टर पाउन जति गाह्रो थियो, त्योभन्दा गाह्रो डाक्टरले काम पाउन थियो,’ सुधा सम्झिन्छिन् । सुरुको १ वर्ष ज्यालादारी काम मात्र पाइयो । नेपाल फर्किएपछि उनीहरू धोबीधारामा गणेशराज शर्माको घरनजिकै डेरा लिएर बस्थे । गणेशराजकी श्रीमती सुधाकी आमाजू, उनले छोराको रेखदेख गरिदिन्थिन्, सुधा प्रसूतिगृहमा काममा जान्थिन् । १३ महिनाको फरकमा सुधाको अर्को सन्तान छोरी जन्मिइन् । बच्चाहरू हुर्कंदै थिए, तर पढाइ पूरा भएको थिएन ।


०३९ मा पतिपत्नी दुवैजना लोकसेवा लडे । स्वास्थ्य मन्त्रालयअन्तर्गत नै काम गर्ने सोच बनाएर दुवैजना भरतपुरतिर लागे । त्यतिवेलाको लोकसेवाको फर्ममा सबै परिवारको नाम लेख्नुपर्ने । विजय र सुधा एकैपटक फर्म भर्न गएका थिए । विजयको परिवार १० जनाको, सुधाको ११ । अन्तर्वार्ता लिने चिकित्सकले समेत जिस्काउँथे, ‘बुबा र सुसुरा सल्लाह गरेजस्तो छ नि !’ त्यतिवेला त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थानमा पनि विज्ञापन खुलेको थियो । दुवैजनाको दुवैतिर नाम निस्कियो । तर, डा. विजयले शल्यचिकित्सामा विशेषज्ञता हासिल गरेको भए पनि कम्युनिटी मेडिसिन विभागबाट छिर्नुपर्याे । उनीहरू लोकसेवातिरै लागे । अर्कोतिर सुधालाई जतिसक्यो छिटो पढ्न जानु थियो । आइओएममा आबद्ध भएको भए त्यो अवसर चाँडै आउँथ्यो । तर, साना बच्चा कहाँ छाडेर जानु ? त्यसैले उनले श्रीमान्सँगै चितवन जाने बाटो रोजिन् । अमेरिकामा रहेका दाजु अरुण शर्माले उतै आउन धेरै कर गर्दा पनि उनीहरू दुवैले नेपालमै बसेर सेवा गर्ने अठोट गरेका कारण गएनन् ।

१५ रूपैयाँ चिकित्सा शुल्क ?
चितवनमा अस्पतालको क्वार्टर र श्रीमान्–श्रीमती सँगै भएकाले जीवन अलि सहज भयो, बच्चाले पनि समय पाए । आकस्मिक केस आउँदा झट्ट जान पनि पाइने । अर्कोतिर त्यतिवेला चितवनजस्तो ठाउँमा राम्रो सर्जन कोही थिएन । डा. विजयको अस्पताल र क्लिनिकमा समेत भ्याईनभ्याई हुन थाल्यो । बिपीका साला भनेपछि पञ्चायतको समयमा धेरै कांग्रेसी खोजीखोजी आउँथे । त्यतिवेला सरकारले प्राइभेट प्राक्टिसका लागि एउटा बिरामीसँग लिन पाइने शुल्क १५ रूपैयाँ तोकेको थियो । बिहान उठ्दा ६ बज्दानबज्दै आँगनभरि बिरामी हुन्थे । फेरि ९ बजे अस्पताल र २ बजेपछि क्लिनिक । जंगमान भन्ने प्रयोगशालाका टेक्निसियन दाइले इथर खन्याएर बिरामी बेहोस् (एनेस्थेसिया) पारिदिन्थे, विजय शल्यक्रिया गर्थे, एनेस्थेटिस्ट थिएनन् । कुनै जटिलता नहोस् भनेर सुधा बीचबीचमा अप्रेसन थिएटरमा चियाउन पुग्थिन् । त्यतिवेलाको चितवनको कमाइले उनीहरूले बाँसबारीमा जग्गा जोडे ।

त्रिवि शिक्षण अस्पतालमा डिप्लोमा इन गाइनो अब्स तालिम (डिजिओ) खुल्यो । सुधाले एक वर्ष काठमाडौं आएर सो कोर्स गरिन् । डिजिओ पढ्न काठमाडौं आएकै वेला सुधाले घर बनाइन् । डा. मणीन्द्ररञ्जन बराल (सुधाका भिनाजु)ले भनसुन गरिदिएर धेरै सामान उधारोमा जोहो गरिदिए । घर बन्यो । घर बनेपछि काठमाडौंमा बच्चालाई राख्ने छानो भयो । त्यसपछि दुवैजनाको विराटनगर पोस्टिङ भयो । छोटै अवधिको तालिमले भए पनि उनले विराटनगरमा राम्ररी प्रसूति सेवा दिइन् । तर, मनमा पढाइ पुगेको छैन भन्ने लागिरहेकै थियो । दुवै डाक्टर, दुवै व्यस्त । छोराछोरीको हेरचाह कठिन भयो । राति घर फर्किंदा खाए कि खाएनन् भन्ने तनाव । कमजोर होलान्, बिग्रेलान् भन्ने डर । विराटनगरबाट नजिकै दार्जिलिङमा पढाउने मन थियो, तर गोरखाल्यान्ड आन्दोलनका कारण डर भयो । बच्चाहरूलाई देहरादुनको होस्टलमा राखेर पढाउन थाले । बच्चाहरूलाई आफूसँगै राख्न नसकेको पछुतो अझै पनि छ सुधालाई ।

विशेषज्ञ पढाइ
सुधाले प्रसूति तथा स्त्रीरोग विशेषज्ञ कोर्सका लागि एमआरसिओजीको पार्ट १ परीक्षाको तयारी थालिन् । पहिलो चरणको परीक्षा पास गरिन् । पढाइको तयारीका लागि वीर अस्पतालमा काजमा आइन् । त्यहीबीचमा श्रीमान्लाई बेलायतमा ६ महिने तालिमको अवसर मिल्यो । सुधालाई पनि लाग्यो, सँगै गएर आफू पनि पढ्छु र काम खोज्छु । बेलायत गइन् र विज्ञापन हेर्दै कामका लागि निवेदन दिन थालिन् । उनले म्यानचेस्टर भन्ने ठाउँको एउटा अस्पतालमा काम पाइन् । त्यतिवेला कलेजले काम खोजिदिएर जनरल मेडिकल काउन्सिलको लिइदिने प्रक्रियाबाट जानुपथ्र्यो, तर सुधा भने आफ्नै प्रयासले सफल भइन् । श्रीमान् नेपाल फर्केपछि छोराछोरीलाई काठमाडौं ल्याएर एलिट स्कुलमा भर्ना गरियो । बेलायतमा फरक–फरक अस्पतालमा कामसहित छोटो अविधिका कोर्सहरू गर्ने, अन द जब तालिम गरेर परीक्षा दिने पद्धति थियो । कडा मानिने एमआरसिओजीको परीक्षा पनि सुधाले एकैपटकमा पास गरिदिइन् । १२ वर्षको क्लिनिकल र अध्यापन अनुभवपछि उनले बेलायतको एफआरसिओजी उपाधि पाइन् । बेलायतबाट विशेषज्ञ पढाइ सकेर सुधा सन् १९९४ को अन्तमा नेपाल फर्किइन् र १९९५ देखि प्रसूतिगृहमै काम थालिन् । पढाइ त पूरा भयो, तर पढाइअनुसारको दरबन्दी थिएन । बेलायत पढ्न जानुपूर्व उनी तृतीय श्रेणीमा थिइन्, फर्केर आएपछि पनि तृतीय श्रेणीमै । प्रसूतिगृहमा टिचिङ युनिटमा काम पाइन् । टिचिङ युनिटमा काम बढी हुन्थ्यो । पढाउनेले हप्ताको २ दिन २४ घण्टे ड्युटी गर्नुपथ्र्यो, अरूले एक दिन । दैनिक कामको समय पनि ९ देखि ५ सम्म, अरूलाई ९ देखि २ । तर, यसरी बढी काम गरेबापत शिक्षकको ‘रिकग्निसन’, तलबभत्ता आदि केही दिइएको थिएन । काममै रमाउने सुधा विद्यार्थीलाई पर्याप्त समय दिन्थिन् । उनलाई विद्यार्थीले औधी रुचाए र पछि नेसोगको चुनावताका धेरै मद्दत गरे ।

पेसागत नेतृत्व यात्रा
यही अवधिमा स्त्री तथा प्रसूतिरोग विशेषज्ञहरूको साझा संस्था नेसोगको नेतृत्वतर्फ उनको यात्रा अगाडि बढ्यो । त्यतिवेला अध्यक्ष थिइन् डा. विमला लाखे । उनले सुधालाई एउटा वर्कसपको नेतृत्व गर्ने जिम्मेवारी दिइन् । पहिलो काम नै लाखेलाई चित्त बुझेछ । उनले एकैपटक सुधालाई संस्थाको महासचिव बन्न प्रस्ताव गरिन् । कार्यसमिति सदस्यसमेत नभएको मान्छे एकैपटक महासचिव । सायद सुधालाई लिडरसिप क्षमतामा सिनियरहरूले समेत विश्वास गरेका थिए ।

८ वर्षसम्म नेसोगको कार्यकारी पदमा बसेर काम गरेको अनुभव सँगालेकी उनलाई एनएमएको नेतृत्व गर्ने रहर जाग्यो । उनले म अध्यक्ष बन्छु भनिन् । एनएमएमा जित्न प्यानलमै पर्नुपर्ने अवस्था थियो ।

नेसोगले उनलाई व्यावसायिक यात्रामा एउटा एभिन्यु दियो । सुधाले प्रस्ताव लेखेर स्त्रीरोग विशेषज्ञको अन्तर्राष्ट्रिय संस्था (ओसिया फेडेरेसन)बाट परियोजनासमेत ल्याइन् । जिल्ला–जिल्ला घुमेर थुपै्र काम गरिन् । अर्कोपटक नेसोगको अध्यक्ष हुने वरिष्ठ उपाध्यक्ष जितिन् । महासचिव, वरिष्ठ उपाध्यक्ष र अध्यक्षपछि निवर्तमान अध्यक्षका रूपमा पनि नेसोगको कार्यसमितिमा रहेर ८ वर्ष सेवा गरिन् । त्यहीबीचमा उनले चिकित्सकहरूको साझा संस्था नेपाल चिकित्सक संघ (एनएमए)मा जर्नलको सम्पादक सदस्यको रूपमा काम थालिन् । अध्यक्ष डा. आनन्द श्रेष्ठ थिए । सुधाले छोटो समयमै जर्नल प्रकाशनलाई व्यवस्थित गरिन् । ८ वर्षसम्म नेसोगको कार्यकारी पदमा बसेर काम गरेको अनुभव सँगालेकी उनलाई एनएमएको नेतृत्व गर्ने रहर जाग्यो । उनले म अध्यक्ष बन्छु भनिन् । एनएमएमा जित्न प्यानलमै पर्नुपर्ने अवस्था थियो । अध्यक्षमा चर्चा भइरहेका एकजना डाक्टरलाई फोन गरेर सुधाले ‘तपाईं उठ्ने भए म उठ्दिनँ’ भनिन् । ती डाक्टरले ‘हैन, म उठ्दिनँ, तपाईं उठ्नुस्’ भने । सुधा मनोनयन दर्ता गर्न गइन् । तर, पछि पो थाहा भयो, ती डाक्टरले त मनोनयन दर्ता गराइसकेका रहेछन् । श्रीमान् घरमा थिएनन्, सरसल्लाह हुनै पाएको थिएन, तत्काल चुनाव प्रचार–प्रसारमा लाग्नुपथ्र्यो । उनी पहिलोपटक उम्मेदवारी नदिई फर्किइन् ।

अर्को २ वर्षपछि चुनाव नजिकियो । तर, उनले यसपटक पनि टिकट पाउने सम्भावना देखिएन । उनी पछाडि हट्ने कुरै थिएन । अघिल्लोपटक नै सिनियरको नाममा छोडिसकेकी थिइन् । उनीविरुद्ध दुईजना पुरुष डाक्टर उठे, बाजी उनले नै मारिन् । संघको नेतृत्व उनको हातमा आइपुग्यो । पहिलोपटक महिला चिकित्सकले संघको नेतृत्व गरेको अवस्था थियो । उनी निकै भाग्यमानी पनि साबित भइन् । काम गरेर देखाउने प्रशस्त अवसर प्राप्त भए ।

दोस्रो जनआन्दोलनको मोर्चा
देशको राजनीतिक परिवर्तनको हिसाबले अत्यन्तै संवेदनशील समयमा उनले नेतृत्व पाइन् । ०६२/६३ को जनअन्दोलन थियो, पेसागत संस्थाहरू एउटै संगठन (पापड) बनाएर आन्दोलनमा थिए । यसमा आबद्ध ६ वटा संस्थाले पालैपालो २–२ महिनाको नेतृत्व लिने प्रावधान थियो । पत्रकार महासंघपछि पापडको नेतृत्वमा चिकित्सक संघ आउनुपर्ने थियो । सुधालाई प्यानलमा पार्न नखोज्नेहरू जनआन्दोलनमा चिकित्सक संघको उपस्थिति कमजोर हुन्छ भनेर प्रचार गर्दै हिँडेका थिए । तर, उनले पापडको नेतृत्व लिइन् । यो उनका लागि नेतृत्वक्षमता प्रमाणित गर्ने चुनौती र अवसर पनि थियो । जनआन्दोलन चर्किसकेको थिएन । दलहरूलाई राजाले निषेधको अवस्थामा पु¥याएका थिए । पेसागत संगठनहरू लोकतन्त्रका लागि अगाडि बढ्दै थिए । माइतीघर मण्डला निषेधित क्षेत्र थियो । पापडले निषेधित क्षेत्र तोड्यो । मण्डलामा सुधालगायत पापडका नेतृत्वकर्ताहरूले सम्बोधन गरे ।

स्वास्थ्यमन्त्री निक्षशमशेर जबरा थिए । मन्त्रीले सुधालाई मन्त्रालयमा बोलाए । ५ बजेको थियो । मन्त्री निक्षले उनलाई भने, ‘एक लाख मान्छे सडकमा उत्रिएर आन्दोलन सफल हुन्छ ? किन यस्तो गर्नुहुन्छ ? हामी तपाईंलाई कारबाही गर्छौं ।’ तर, मन्त्री जबरा निकै स्मार्ट थिए । सुधाले मन्त्रीलाई भनिन्, ‘हजुर राजासँग एकदम नजिक हुनुहुँदोरहेछ त सम्झाइदिए भयो नि ! एक लाख जनता भनेर कम नआँक्नुस्, धेरै जनता बाहिर बसेर हेरिरहेका छन् । आन्दोलन चर्कियो भने सबैजना यता ढल्किनेवाला छन्, यो म्यासेज पु¥याइदिनुभए हुन्छ,’ उनले थपिन्, ‘बाँकी, कारबाहीले केही फरक पर्दैन, डाक्टर हुँ औषधिपसलमा वा एउटा रुखमुनि बिरामी जाँचेर पनि आफ्नो ज्यान त पाल्न सकिहाल्छु । केही लोभ र डर पनि छैन मलाई ।’

मन्त्रालयले स्पष्टीकरण पनि सोध्यो । जवाफ ठेलिदिइन्, ‘पेसागत रूपमा म डाक्टर हुँ र सरकारी कर्मचारी पनि हुँ । त्यसकारण मैले दुईवटै धर्म पालना गर्नुपर्छ । के गर्नुपर्छ मलाई सबै राम्रोसँग थाहा छ, नियमबमोजिम गरिने जुनसुकै कारबाही सहन्छु ।’ कारबाही नै चाहिँ गर्न सकेनन्, आन्दोलन सफल भइहाल्यो । आन्दोलनको तयारीलगायत अन्य विषयमा पनि धेरै मिटिङ पर्थे । संघमा आफैँले बनाएको टिम थिएन । त्यसमा पनि चुनावको रणनीतिअनुसार देशभरबाट कार्यसमितिमा डाक्टरहरू राखिएका हुन्थे । कार्यसमितिमा अध्यक्ष मात्र फरक प्यानलबाट जितेर आएको । बैठकका लागि भेला गर्नसमेत मुस्किल । केही पदाधिकारी र सदस्यको साथ लिएर उनले आन्दोलनको मोर्चा तताइन् । जनआन्दोलनपछि फेरि स्वास्थ्यसंस्था तोडफोडका ठूला–ठूला घटना भए । त्यस्ता परिस्थितिको पनि उनले सामना गरिन्, जसले सोसिअल ‘रिकग्निसन’ दिएको बुझाइ छ डा. सुधाको । जनआन्दोलन सफल भएपछि सरकारले आन्दोलन घाइते उपचार समन्वय समिति गठन ग¥यो, त्यसमा समेत सुधालाई नै जिम्मेवारी आयो । त्यसको अफिस संघकै एउटा कोठामा राखेर काम सुरु गरिन् । त्यति ठूलो आन्दोलनका घाइतेको प्रकृतिका आधारमा वर्गीकरण र निराकरण उनकै नेतृत्वमा भयो । धेरै विशेषज्ञ चिकित्सकले उनलाई साथ दिए, जसका प्रति उनी सदा आभारी छिन् ।

मन्त्रालयले स्पष्टीकरण पनि सोध्यो । जवाफ ठेलिदिइन्, ‘पेसागत रूपमा म डाक्टर हुँ र सरकारी कर्मचारी पनि हुँ । त्यसकारण मैले दुईवटै धर्म पालना गर्नुपर्छ । के गर्नुपर्छ मलाई सबै राम्रोसँग थाहा छ, नियमबमोजिम गरिने जुनसुकै कारबाही सहन्छु ।’

उनले युद्धविराम आचारसंहिता अनुगमन समितिमा समेत काम गरिन्, जसले उनलाई राजनीतिक मुद्दाहरू केलाउन र बुझ्न मद्दत मिल्यो । त्यतिवेलासम्म डा. सुधा प्रसूतिगृहमा कार्यरत थिइन् । जनआन्दोलनमा निर्वाह गरेको भूमिका देखेर उनलाई मन्त्रालयको चिकित्सा सेवा महाशाखा प्रमुख बन्न अफर आयो । तर, उनले त्यहाँभन्दा प्रसूतिगृहमा बिरामी जाँचेर बस्न नै ठिक ठानिन्, गइनन् । लोकसेवाको खुला प्रतियोगिताबाट बढुवा भएर कन्सल्टेन्ट भएपछि र ५ वर्ष रातदिन नभनी गरेको प्राज्ञिक कामको प्रतिफलस्वरूप न्याम्सबाट प्रिसेप्टर भनेर एसोसिएट प्रोफेसर सरहको पद उनले पाइन् । बल्ल पढाएको समेत पारिश्रमिक आउन थाल्यो । पढाउँदै जाँदा पछि प्राध्यापक र अस्पताल निर्देशकसमेत भइन् ।

खुलाबाटै प्रथम श्रेणी
सन् २००० तिरको कुरा हो, उनी नेसोगमा काम गर्दागर्दै लोकसेवामा खुला प्रथम श्रेणीमा विज्ञापन खुल्यो । उनले परीक्षा दिइन् । उनी सरकारीतर्फ अझै तृतीय श्रेणीमै थिइन् । एकैपटक उनले प्रथमश्रेणी बढुवामा खुला प्रतिस्पर्धाबाट नाम निकालिन् । सुधालाई सधैँ आफ्नो क्षमतामा विश्वास थियो र प्रमाणित पनि गरेरै अगाडि बढिरहिन् ।
पदस्थापन वीरगन्ज भए पनि उनी प्रसूतिगृहमा पढाउने पनि जिम्मेवारी भएकाले त्यहीँ सरुवा मागिरहेकी थिइन् । सुरुको एक महिना त काजमा काठमाडौं बसिन् । कर्मचारीले एक महिनाभन्दा बढी काजमा राख्न मिल्दैन भने । त्यसवेला स्वास्थ्यमन्त्री कमल थापा थिए । मन्त्रीलाई भेटिन्, पढाउनुपर्ने हुनाले सरुवा हुन्छ भने पनि काम भइरहेको थिएन । केही महिनापछि एउटा सार्वजनिक कार्यक्रममा मन्त्रीले देखेर सोधे, ‘तपाईंको काम भयो ?’ उनले छैन भनेपछि मन्त्रालय पुगेर मन्त्रीले रोकिनुको कारण सोधखोज गरेछन् । त्यसपछि पोस्टिङ प्रसूतिगृहमै भइहाल्यो । यसरी उनलाई काम गर्ने वातावरण बनाइदिएर मन्त्रालयले सहयोग ग¥यो ।

अनि एमपिएच
नेसोगमा काम गर्दै गर्दा उनको दातृनिकायसँग पनि सम्बन्ध राम्रो भयो । दिल्लीमा एउटा किशोरकिशोरी स्वास्थ्यसम्बन्धी सम्मेलन थियो । त्यहाँ भाग लिएर फर्किएपछि उनले मन्त्रालयमा यो विषयमा एउटा प्रस्ताव बनाएर काम गरौँ भनिन् । मन्त्रालयका एकजना वरिष्ठ अधिकारीले तिमी क्लिनिकल हेल्थको मान्छेले यस्तो काम गर्न सक्दैनौ भने । सुधालाई साह्रैै इख गढ्यो । मैले के जानेको रहेनछु हेर्छु भनेर पब्लिक हेल्थ पढ्ने निधो गरिन् । उनले श्रीमान् र छोराछोरीलाई सुनाइन् ।
छोराछोरी डाक्टरी पढ्दै थिए । ‘अब किन पढ्नु ?’ भने । उनले परिवारलाई सम्झाइन्, ‘यो उमेरमा अरू गहना खोज्छन्, मेरा लागि म गहना किन्दिनँ, पब्लिक हेल्थ पढ्छु ।’ उनले चिकित्साशास्त्र अध्ययन संस्थानमा प्रवेश परीक्षा दिइन् । नाम पनि निस्कियो, असाधारण बिदा लिएर उनले पढिन् । उनले आइओएम टप नै गरिदिइन् । पछि त्यही पढाइ नै तान्जानियामा स्वास्थ्य र पोषण प्रमुख भएर काम गर्न काम लाग्यो । एमबिबिएसपछिका सबै अध्ययन सुधाले बेतलबी बिदा लिएर आफ्नै खर्चमा गरेकी हुन् ।

नेतृत्व निर्देशकको
जनआन्दोलनपछि प्रसूतिगृहमा डा. कस्तुरी मल्लको निर्देशकको कार्यकाल सकिएको थियो । स्वास्थ्यमन्त्री गिरिराजमणि पोखरेलले डा. सुधालाई निर्देशक बनिदिनुप¥यो भने । जनआन्दोलनको भूमिका देखेर मन्त्रीले प्रस्ताव गरेका होलान् । जनआन्दोलनमा म निजी स्वार्थका लागि लागेको हैन भन्ने ठानेर उनले सुरुमा मानिनन् । प्रसूतिगृहमा उनीभन्दा सिनियर अरू पनि थिए । उनले आफूभन्दा वरिष्ठ डा. सुधा थापालाई निर्देशक बनाउन मन्त्रीलाई सल्लाह दिइन् ।  मन्त्री पोखरेलले थापालाई बोलाएछन् । सुधा थापाले पनि म हैन, डा. सुधा शर्माले नेतृत्व गर्न सक्छिन्, उनैलाई दिनू भनिछिन् । मन्त्रीले फेरि आग्रह गरेपछि सुधाले स्विकारिन् । वरिष्ठ हुँदाहुँदै जुनियरलाई निर्देशक भन्नुपर्दा अरूलाई नराम्रो लाग्न सक्छ भन्नेमा उनी सचेत थिइन् । उनले सुधा थापालाई प्रस्ताव गरेकै कारण उनी निर्देशक भएर जाँदा सबैले वरिष्ठताको सम्मान गरेर आएको रूपमा लिए र सिनियरहरू सबैले सहयोग गरे । जुनियरहरू त सबै उनलाई सहयोग गर्ने नै थिए । निर्देशक बनेपछि सुधालाई एउटा चुनौती महसुस भयो । के–के गर्ने त ? अस्पतालभित्र पस्दैदेखि जुरेली चराले बिस्ट्याएको भित्ताभरि कटकटिएर बसेको थियो । चारैतिर फोहोर । जिम्मेवारी लिएपछि रातभर निद्रा पर्दैनथ्यो । सुरुमै रेलिङमाथि फ्रेम हालेर चरा नपस्ने बनाउन लगाइन् । वर्षौंदेखिको फोहोर सफा भयो, भित्ता रंगाएर सेता बनाइए ।

उनले बिहान ९ बजे अस्पतालमा नियमित बैठक बसेर बिरामीको ह्यान्डओभर लिने सिस्टम सुरु गरिन् । नत्र सिनियरजति सबै क्लिनिक सिध्याएर आउँथे । जुनियरले राउन्ड गरेर बिरामीको अवस्था सुनाउँदासुनाउँदै १२ बजिसक्थ्यो । फेरि सिनियरले राउन्ड गर्नुपर्ने, अनि ल्याबको रिपोर्ट आउन ढिलाइ हुने आदि कारणले गम्भीरखालका बिरामीले विशेषज्ञसेवा पाउन समस्या परिरहेको थियो । ९ बजेको मिटिङ सुरु भएपछि पहिला सिनियरहरूको फोकस गम्भीरखालका बिरामीमा जान थाल्यो । मातृशिशु मृत्युदर घट्यो र सेवाको गुणस्तर पनि राम्रो हुन थाल्यो । उनले अस्पताल सफाइको अभियानसमेत चलाइन् । अभियानमा सबैको सार्थक साथका लागि आफूले सबैभन्दा फोहोर ट्वाइलेट सफा गर्थिन् । पछि नियमित रूपमा शुक्रबार अस्पताल क्लिनिङ डे भनेर सफा गर्न थालियो । जहाँ जसको ड्युटी छ, त्यहीँ सफा गर्ने नियम बन्यो । केही दिनको अन्तरमा उनी अनुगमनमा निस्किइन् । सफाइको काम ठेक्कामा थियो । कर्मचारीले सफा गरेपछि ड्युटी इन्चार्जले सही गरिदिने नियम बसालिएको थियो । ड्युटी इन्चार्जले २ बजे नै ५ बजेको हस्ताक्षर गरिदिइसकेको, फोहोर भात, स्यानटरी प्याड जताजतै फालिएको थियो । सुधाले राम्ररी सम्झाएर अनुगमन पनि बढाउँदै सिस्टम बसालिन् ।

त्यतिवेला गंगालालमा डा. भगवान कोइराला निर्देशक थिए । उनले शून्य बेरुजु बनाएका थिए । यसले सुधालाई पनि ‘मोटिभेसन’ दियो । उनले पनि आन्तरिक लेखापरीक्षण गराइन् । सोक्रममा एक करोड रूपैयाँ रेकर्ड नभएको रकम बैंक खातामा भेटियो । उस्तै निर्देशक भएको भए, त्यो पैसा जे गर्न पनि सक्थे ।

त्यतिवेला गंगालालमा डा. भगवान कोइराला निर्देशक थिए । उनले शून्य बेरुजु बनाएका थिए । यसले सुधालाई पनि ‘मोटिभेसन’ दियो । उनले पनि आन्तरिक लेखापरीक्षण गराइन् । सोक्रममा एक करोड रूपैयाँ रेकर्ड नभएको रकम बैंक खातामा भेटियो । उस्तै निर्देशक भएको भए, त्यो पैसा जे गर्न पनि सक्थे । सुधाले यी सबै कुरालाई व्यवस्थित गराएर शून्य बेरुजु गराइन् । प्रसूतिगृहमा चाप उस्तै थियो । धेरै जोखिम नभएका, नर्सले समेत सुत्केरी गराउन सक्ने र उच्च जोखिम भएका सुत्केरी एकै ठाउँमा हुन्थे । जसले गर्दा लो रिस्कको चापले हाइरिस्कलाई समेत ध्यान दिन नभ्याइने । उनले लो रिस्क बर्थिङ युनिट सुरु गरिन्, जहाँ नर्सहरूले नै प्रसूति गराउँथे । छुट्टाछुट्टै क्युबिकलहरूमा श्रीमान्समेत बस्न मिल्थ्यो, जसले महिलालाई ‘मोरल सपोर्ट पनि मिल्ने भयो ।’ हाई रिस्क एरियामा नर्मल बिरामीको लोड कम भयो, गम्भीर बिरामीले बढी ‘अटेन्सन’ पाउन थाले । अहिले यो अवधारणा धेरै अस्पतालले ‘क्यारी’ गरेका छन् ।

प्रसूतिगृहअगाडिको नर्भिक अस्पताल आइएसओ स्ट्यान्डर्डको थियो । प्रसूतिलाई पनि के गरेर यो स्ट्यान्डर्डमा पु¥याउने भन्ने लाग्यो । उनले नर्भिकमा यो स्ट्यान्डर्ड हेर्ने डाक्टर भारत रावतकी श्रीमती अञ्जलीलाई भेटिन् । उनलाई बोलाएर अस्पतालको सम्पूर्ण टिमलाई कक्षा लिन आग्रह गरिन् । प्रक्रिया बुझिन् र प्रसूतिगृहलाई पनि यो सर्टिफिकेट पाउने दिशामा अग्रसर गराउँदै सेवाका न्यूनतम मापदण्डहरू निर्धारण गर्ने काम गराइन् । उनले निर्देशक हुँदा बाटोतर्फको ठूलो भवन निर्माण सुरु गराइन् । त्यतिवेला ठेकेदार र इन्जिनियरलाई उनले लागतमा डिस्काउन्ट मागिन् । उनीहरूले ६० लाख डिस्काउन्ट गरिदिए । सायद अरू कोही भएको भए त्यो कमिसन हुन सक्थ्यो, उनले सम्झौतामै डिस्काउन्ट भनेर लेख्न लगाइन् । कतिपयले उनलाई यो पैसा घटाउन लगाएपछि ठेकेदारले कमसल भवन बनाउँछ भनेर समेत त्रास देखाए । उनले ‘मैले कमिसन लिएको भए पो कमजोर बनाउँछ’ भनिन् । पछि २०७२ मा भूकम्प गयो, त्यो भवन केही भएन भन्ने थाहा पाएपछि ढुक्कको सास फेरिन् । त्यसपछि उनलाई लाग्यो, सही काम गर्दा परिणाम गलत आउँदैन रहेछ ।

स्वास्थ्य–सचिव
पुष्पकमल दाहाल प्रधानमन्त्री थिए । सामान्य प्रशासनमन्त्री पम्फा भुषाल, मुख्यसचिव भोजराज घिमिरे थिए । सचिव हुने सूची लिएर मुख्यसचिव मन्त्रीकहाँ गएछन् । मन्त्री भुषालले सोधिछन्, ‘यत्रो परिवर्तन भयो, यति धेरै सचिव बन्दै छन्, खै महिलाको नाम ?’ त्यतिवेला निजामतीतर्फ सिनियर महिला रहेनछन् । वरिष्ठ खोज्दै जाँदा सुधाको नाम प¥यो । महिला सहभागी गराउँदा उनी सचिव भइन् । स्वास्थ्य मन्त्रालयमा जनसंख्याको छुट्टै सचिव हुने व्यवस्था गरेकाले सुधा कामु सचिव बनिन् । कामु स्वास्थ्यसचिव डा. दीर्घसिंह बम थिए ।  सुरुमा महिला चाहिन्छ भन्ने पम्फा भुषाल ६ महिने कामु सचिवको अवधि सकिन लागेपछि तर्किएर हिँड्न थालिन् । सरकार परिवर्तन हुने समय भएको थियो । सुधाले आग्रह गर्दा पनि अर्को सरकार आएर गरिहाल्छ नि भनेर पन्छिइन् । सुधाको जीवनको पीडादायी समय थियो त्यो । प्रसूतिगृहमा रहेको उनको पदमा अर्को मान्छे आइसकेको थियो । सचिव भइसकेको मान्छे फेरि कहाँ जाने ? उनको पद सामान्य प्रशासन मन्त्रालयमा राखिएको थियो । काम केही थिएन, खालि हाजिरी गर्ने । स्वास्थ्य मन्त्रालयमा फर्काइदिनुस् भन्दा त्यहाँ अर्को सचिव छ हुँदैन भन्ने कुरा आयो । सामान्यमा हाजिर गरेर कति दिन बस्ने ?

सरकार परिवर्तन हुने समय भएको थियो । सुधाले आग्रह गर्दा पनि अर्को सरकार आएर गरिहाल्छ नि भनेर पन्छिइन् । सुधाको जीवनको पीडादायी समय थियो त्यो । प्रसूतिगृहमा रहेको उनको पदमा अर्को मान्छे आइसकेको थियो ।

मन्त्रालय फर्किएर सचिव भइसकेको मान्छे, जिम्मेवारीविना कसरी बस्ने ? उनी मुख्यसचिवलाई अनुरोध गरेर स्वास्थ्य मन्त्रालयमै फर्किइन् । तर, सचिवको कार्यकक्षबाट उनको नाम हटिसकेको थियो, जिम्मेवारी केही थिएन । अहिले पनि लाग्छ, अपमान सहेर पनि मन्त्रालय नगएको भए उनले सचिव बन्ने दौडमा ‘आउट अफ साइट, आउट अफ माइन्ड’ भनेजस्तै हुनुपथ्र्यो । नयाँ सरकार बन्यो, उमाकान्त चौधरी स्वास्थ्यमन्त्री भए, उनले पूर्वसचिवकै हिसाबले भए पनि ब्रिफिङ गरिन् । मन्त्रालयका काम राम्ररी बुझेको हुनाले सबै विश्लेषण गरी मन्त्रीलाई ‘ब्रिफिङ’ गर्न सजिलो भयो । चौधरीले सुधालाई स्वास्थ्यसचिवमा ल्याए र डा. प्रवीण मिश्रलाई जनसंख्यासचिव बनाए ।
सुधा पहिलोपटक जनसंख्यासचिव हुँदा स्वास्थ्य र जनसंख्याको कार्यविभाजन थिएन । जनसंख्यासचिवको पद नयाँ थियो । मुख्यसचिव घिमिरेले कार्यविभाजन गरेर जनसंख्यासचिवलाई धेरै प्राविधिक काम दिएका थिए । आर्थिक प्रशासन र चिकित्सा स्वास्थ्यसचिवमातहत राखिको थियो, अरू विभागहरू महाशाखासहित तीनचौथाइजति जनसंख्यासचिवको जिम्मेवारीमा थियो ।

६ महिना जनसंख्याको कामु सचिव हुँदा सुधाकै सल्लाह र काममा सरकारले निःशुल्क प्रसूति कार्यक्रम घोषणा ग¥यो । उनी त्यो कार्यक्रमको अनुगमन गर्न र प्रभावकारी बनाउन जिल्ला–जिल्ला घुमिन् । पहिला जे काम सुधाले गरिरहेकी थिइन्, त्यही कार्यविभाजन र त्यति नै काम पाउँदा पनि डा. प्रवीणलाई चित्त बुझेन । रातदिन मन्त्रालयमा किचकिच हुन थाल्यो । अन्ततः उमाकान्तले सुधालाई जनसंख्यामा सारे र प्रवीणलाई स्वास्थ्यसचिव बनाए । जनसंख्यामा सरेपछि आफ्नो कार्यविभाजनअनुरूप जिम्मेवारीको सदुपयोग गर्दै सुधाले संयुक्त राष्ट्रसंघको न्युयोर्क र जेनेभाका साधारणसभामा भाग लिइन् । व्यक्तिगत रूपमा पनि उनको अन्तर्राष्ट्रिय सम्बन्ध निकै बलियो बन्यो । माधव नेपाल, बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा उनीहरूसँगै गएर नेपालका विषय राखिन् । अंग्रेजी भाषा र विषयवस्तुमा समेत पकड भएकाले सुधा यस्ता कार्यक्रममा रोजाइमा पर्थिन् । पछि झलनाथ खनाल प्रधानमन्त्री हुँदा उनी फेरि स्वास्थ्यतर्फ सरुवा भइन् र प्रवीण जनसंख्यातर्फ सरे । तर, पछि स्वास्थ्यमा राजेन्द्र महतो मन्त्री भएर आए । महतोले सुधालाई स्वास्थ्यमै कायम राख्छु भनेका थिए । तर, प्रवीणले आफू स्वास्थ्यमा सर्न मन्त्रीसित किचकिच गरिरहेका थिए । उनले मन्त्रीलाई भनिन्, ‘तपाईंलाई अप्ठ्यारो पर्छ भने म बिदामा बसिदिन्छु, तर स्वास्थ्यबाट मलाई हटाउनचाहिँ नहटाउनुस् ।’ मन्त्रीले पहिला हुन्छ भनेर तर पछि थाहै नदिई दोस्रोपटक जनसंख्यामा सारिदिए । वरिष्ठतामा आफू अघि हुँदाहुँदै यसरी सरुवा गरेकोमा सुधालाई निकै तनाव भयो । उनले अढाई वर्ष बाँकी रहँदै सचिव पदबाट राजीनामा दिइन् ।

क्षमतामा सुधा कहिल्यै कुनै पुरुषभन्दा कमजोर थिइनन् । मन्त्रीहरू पार्टीको बैठक, संसद् सिध्याएर साँझ परेपछि मन्त्रालय आउँथे । मन्त्रालयको काम उनी जति अबेरसम्म बसेर पनि सक्थिन् । तर, महिलालाई एउटा अप्ठ्यारो हुने भनेको धेरै चलखेलका योजना ‘आउट अफ आवर’मा हुनेरहेछ । धेरै खेलहरू सिस्टम र मन्त्रालयबाहिर भए, जसले गर्दा उनलाई जबर्जस्ती मन्त्रालयमा टिक्न मन लागेन । आफ्नो कार्यकालका उपलब्धि विश्लेषण गर्दा उनी खुसी नै छिन् । साढे ३ वर्ष सचिव हुँदा मन्त्रालयले सुरु गरेको निःशुल्क आमा सुरक्षा कार्यक्रमका सबै काम सुधाकै नेतृत्वमा भएका हुन् । अहिले देशभर संस्थागत सुत्केरीको प्रतिशत ५८ पुगेको छ । स्वास्थ्यकर्मी तथा स्वास्थ्यसंस्थाको सुरक्षासम्बन्धी ऐन उनको नेतृत्वमा तर्जुमा भएको हो । लैंगिक हिंसा रोकथाम तथा लैंगिक मूल प्रवाहीकरणका धेरै काम उनकै नेतृत्वमा भए । जनसंख्याको दीर्घकालीन योजना उनकै नेतृत्वमा तर्जुमा भयो । राजनीतिक अस्थिरताले गर्दा सचिवका रूपमा गरेका धेरैजसो काममा सुधा आफैँ सन्तुष्ट छैनन् । जाजरकोटमा झाडापखालाको महामारी नियन्त्रणमा धेरै समय खर्च भयो । नीतिगत दूरगामी प्रभाव पार्ने काम र नियमित काम धेरै गरिन्, तर अन्य नयाँ काम मैले नै गरेर प्रभावकारी भयो भन्ने दाबी छैन ।

तान्जानियाको स्वास्थ्य नेतृत्व
कुनै योजना वा काम सुरक्षित गरेर सुधाले राजीनामा बुझाएकी थिइनन् । युएन प्रणालीमै जानुपर्छ कि भन्ने सोच भने थियो । विभिन्न समयमा उनले विशेषज्ञको काम गरेकी थिइन् । सोही आधारमा विशेषज्ञको ‘पुल’मा उनको नाम थियो । केही महिनापछि युनिसेफ तान्जानियाका लागि अवसर आयो । नोभेम्बरमा सचिवबाट राजीनामा दिएको, अर्को वर्षको फेब्रुअरीमा तान्जानियामा स्वास्थ्य तथा पोषण प्रमुखको पदमा अफर आयो । उक्त पदमा अर्कै विशेषज्ञ छानिएका रहेछन्, तर युनिसेफले जवाफ दिन ढिला गरेका कारण उनले अन्तै काम लिइसकेका रहेछन्, सुधाले अवसर पाइन् । श्रीमान् विजय पनि उनीसँगै गए र त्यहीँको प्राइभेट अस्पतालमा काम गर्न थाले ।

सुधाको तान्जानिया बसाइ निकै सुखद रह्यो । तान्जानिया प्र्राकृतिक सुन्दरताले परिपूर्ण देश हो । स्वास्थ्य समस्याहरू त्यहाँ पनि नेपालका जस्तै नै छन् । उनको यहाँको अनुभव त्यहाँ निकै काम लाग्यो । छोटो समयमै उनले निकै उपलब्धि हासिल गरिन् । तीमध्ये पोषणको ‘स्मार्ट’ सर्वेक्षण, सार्वजनिक खर्च पुनरावलोकन आदि उल्लेखनीय छन् । स्वास्थ्य संरचनाको सुदृढीकरण, मोबाइलको प्रयोगद्वारा प्रसूति हुने महिला र बालबालिकालाई सेवा पु¥याउने ‘इनोभेटिभ’ प्रयोग पनि उनको कामका अन्य केही उदाहरण हुन् । तान्जानियामा बिताएका ५ वर्षमध्ये ३ वर्ष उनले स्वास्थ्यका विकास साझेदारहरूको फोरमको नेतृत्व मण्डल (ट्रोइका)का रूपमा सरकारसँग एकदम नजिकको सहकार्य गर्दै ५ वर्षे स्वास्थ्य क्षेत्र सुधार कार्यक्रममा र राष्ट्रपति किकवेटेले सुरु गरेको अति महत्वाकांक्षी ‘बिग रिजल्ट्स नाउ’ नामक कार्यक्रम तर्जुमामा दातृसंस्थाको तर्फबाट नेतृत्व लिइन् ।

अब कता ?
अहिलेको विन्दुमा उभिएर पछाडि फर्केर हे¥यो भने सुधालाई जिन्दगी फुल अफ स्ट्रगल, फुल अफ च्यालेन्ज, फुल अफ सक्सेस फुल अफ मोटिभेसन लाग्छ । ‘आफूसँग क्षमता नभएको भए धेरै मान्छेले दबाउन खोज्थे नि ! जीवनमा सेल्फ कन्फिडेन्स महत्वपूर्ण हुन्छ । बच्चालाई आमाबुबाले सेल्फ कन्फिडेन्समा सपोर्ट दिनुपर्छ । छोरीलाई विवाह गरेर गएपछि नहेर्ने गरिन्छ, तर मेरी आमाले सुत्केरी हुँदादेखि सबै कुरामा हेल्प गर्नुभयो,’ सुधा भन्छिन् । श्रीमान्को सहयोग उनका लागि विशेष महत्वपूर्ण छ । उनीहरूले पैसा नकमाएका होइनन्, तर पैसा कहिल्यै प्राथमिकतामा परेन । अहिलेको सम्पत्ति दुवैको दुःखको आर्जन र त्यसको सदुपयोग मात्रै हो । उनी जीवनप्रति सन्तुष्ट छिन् । अहिले उनी आत्मसंस्मरण लेखन, नेपालको सुरक्षित मातृत्व कार्यक्रमको पुनरावलोकनका लागि परामर्श दिने काम र स्त्रीरोग सेवा प्रदान गर्नमा व्यस्त छिन् । नेपाल चिकित्सक संघको पूर्वअध्यक्ष र जनआन्दोलनमा नेतृत्वदायी भूमिका खेलेका कारण उनी राजनीतिक विकासक्रम र सामाजिक मुद्दाहरूलाई नजिकबाट नियालिरहेकी छिन् । स्वास्थ्य सेवाको गुणस्तर, सेवामा विपन्न वर्गको न्यून पहुँच र स्वास्थ्य सूचकहरूमा धनी–गरिब, सुगम–दुर्गमबीच बढ्दो खाडल उनका सरोकारका विषय हुन् । बलात्कारजस्ता जघन्य अपराधहरूको बढ्दो बिगबिगी र दण्डहीनता देखेर उनी चिन्तित छिन् ।

तान्जानियामा बिताएका ५ वर्षमध्ये ३ वर्ष उनले स्वास्थ्यका विकास साझेदारहरूको फोरमको नेतृत्व मण्डल (ट्रोइका)का रूपमा सरकारसँग एकदम नजिकको सहकार्य गर्दै ५ वर्षे स्वास्थ्य क्षेत्र सुधार कार्यक्रममा र राष्ट्रपति किकवेटेले सुरु गरेको अति महत्वाकांक्षी ‘बिग रिजल्ट्स नाउ’ नामक कार्यक्रम तर्जुमामा दातृसंस्थाको तर्फबाट नेतृत्व लिइन् ।

रिटायर्ड भए पनि सुधा टायर्ड भएकी छैनन् । छोराछोरी दुवै नेपालमा केही वर्ष काम गरी विदेशमा डाक्टरी पेसामा छन् । छोरी अमेरिकामा बालस्वास्थ्य विशेषज्ञ छिन् । छोरा बेलायतको लन्डन स्कुल अफ हाइजिन एन्ड ट्रपिकल मेडिसिनबाट पिएचडी सकेर अहिले अमेरिका नै गएका छन् । बुहारी पनि अमेरिकामै विश्वबैंकमा काम गर्छिन् ।
अहिले पनि स्वास्थ्यका कार्यक्रम, नीति, नेतृत्वलाई सुधाले नजिकबाट ‘अब्जर्भ’ गरिरहेकी छिन् । ‘स्वास्थ्यमा राम्रा सम्भावनाहरू छन्, तर तिनलाई हाँक्ने जनशक्तिको गुणस्तर खस्किँदै छ । केही वर्षअघिसम्म स्वास्थ्यमा दिग्गजहरूको कमी थिएन,’ उनी पुरानो पुस्ताका चिकित्सकहरूलाई सम्झिन्छिन् ।
‘अहिले जनस्वास्थ्य र क्लिनिकल पनि बुझेर खारिएका व्यक्तिहरूको कमी छ । दातृनिकायहरूसँग खुलेर छलफल गर्न सक्ने, राष्ट्रिय प्राथमिकताहरू निर्धारण गर्न सक्ने र चुनौतीहरूको सामना गर्दै अवसरको सदुपयोग गर्न सक्ने राजनीतिक र प्रशासनिक नेतृत्व भएमा हामीले लिएका लक्ष्यहरू हासिल गर्न सक्छौँ,’ उनी विश्वासका साथ भन्छिन् ।

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै