श्रीमतीलाई मर्न दिन त कसरी सक्छु र !

पलपल निल्न खोजिरहेको मृत्युसँग कति लड्नु र, जब अस्पतालको ‘बेड’ मृत्युशय्या बनिसकेको हुन्छ ।

के ठेगान जीवनका पलहरू कहाँनेर झिपिक्क निभिदिन्छन् ।

ट्रमा सेन्टर, बेड नम्बर ५१४ ।

जहाँ एउटा अर्धमृत शरीर ढलिरहेको छ, भेन्टिलेटरमा सास फुक्दै ।

त्यो चेली तामाङको शरीर हो ।

डाक्टरले भनिसकेका छन्, ‘अब चेलीको जीवन सम्भव छैन ।’

सास फेर्ने नसा घाँटीको नसाबाट आएको हुन्छ । त्यो घाँटीको नसा नै चुँडिएको छ । भेन्टिलेटरको सहायताविना यस्ता बिरामी बाँच्न सक्दैनन् । सास फेराउने नसा जुन छ, पेसमेकर राख्नसम्म डाक्टरले प्रयास गरेका थिए ।

उनको उपचारमा संलग्न डा. राजीव झाका अनुसार पहिले नर्भिकमा लैजाँदा उनले सास फेर्न सकेकी थिइनन् । उनको स्पाइनल कर्ड बीचबाटै चुँडिएको छ ।
यसका लागि नेपालमा न उपकरण छ, न विज्ञ नै ।

उनका लागि पनि पेसमेकर राख्न डाक्टर बोलाइएको थियो । उनीहरूले आएर प्रयास पनि गरे, तर त्यो सम्भव भएन । डा. झा भन्छन्, ‘बिरामीको नसा मरेका कारण यो प्रविधिले काम गरेन ।

अब चेलीसामु एउटा मात्र विकल्प छ, जीवनभर भेन्टिलेटरबाटै सास फेर्ने । भेन्टिलेटर नभए २० मिनेटमै उनको सास रोकिन्छ । अहिले चेलीका लागि विदेशीको सहयोगमा ‘पोर्टेबल भेन्टिलटेर’ प्रयोग गरिएको छ, जुन घरमा लगेर पनि राख्न सकिन्छ । एकपटक चार्ज भएपछि चार घण्टासम्म काम गर्छ ।

चेलीको पनि बाँच्ने आशा त छैन नै । श्रीमान्सँग भनिरहेकी हुन्छिन्, ‘अब होस्, मेरा लागि खर्च नगर्नुस् । कि दुर्घटना भएकै ठाउँमा लगिदिनस् कि प्रहरीचौकीमा लगेर छाडिदिनुस्, म त्यहीँ मर्छु ।’ २०७३ चैत २४ गते दिउँसो बानेश्वरमा मोटरसाइकलले ठक्कर दिएर उनलाई कोमामा पुर्यायो । ठक्कर दिने मोटरसाइकल चेलीलाई जेब्राक्रसमै ढालेर भाग्यो । तत्काल एभरेस्ट अस्पतालमा लगियो ।

धत् ! के सोचेछु त्यस्तो…
चेलीका श्रीमान् वसन्तकुमार शाही त्यसवेला मलेसियामा काम गर्थे । श्रीमान्ले पठाएको पैसा झिकेर फर्किंदा चेली दुर्घटनामा परिन् । पाँच दिनपछि नेपाल फर्किने तयारीमा रहेका वसन्तले बाटोखर्च राखेर कमाइजति सबै श्रीमतीका नाममा पठाएका थिए ।

उनीहरूकी नौ वर्षकी छोरी छिन् । छोरी पढाउन काठमाडौंको पेप्सीकोला बसेकी चेली ब्युटी पार्लरमा काम गर्थिन् । घरखर्च उनैको कमाइले चल्थ्यो । वसन्तको कमाइ बचत हुन्थ्यो । त्यो रकमले काठमाडौंमा घडेरी किन्ने सल्लाह गरेका थिए । तीनवर्षे करार सकेर एक वर्ष थपेका वसन्तको घर फर्किने दिन नजिकिएको थियो । तर, जब उनी घर फर्किने तयारी गर्न थाले, यता चेलीको फोन अफ भयो । त्यतिवेला वसन्तले सोचे, ‘सबै पैसा कुम्ल्याएर श्रीमती अर्कैसँग टाप कसिछन् ।’ केही दिन निरन्तर फोन अफ नै भइरह्यो ।

‘ऊ अर्कैसँग गएकी रहिछे भने म किन नेपाल जानु ?’
त्यो सोचाइमा वसन्तलाई अहिले पनि ग्लानि हुन्छ, ‘मैले पाप सोचेको रहेछु, उनी दुर्घटनामा परेकी रहिछिन् । सालीलाई फोन गरेपछि थाहा पाएँ । उनी त अचेत अवस्थामा अस्पतालमा रहिछिन् ।’ वसन्त घर फर्किन लागेकाले परिवारले उनलाई त्यो दुःखद खबर सुनाएका थिएनन् ।

‘जब त्यो खबर सुनेँ शरीर गलेर आयो, कतिवेला नेपाल पुगेर उनको अनुहार हेरौँजस्तो भयो । तर, ५ दिनपछि मात्रै नेपाल फर्किने टिकट लिएको थिएँ,’ वसन्तले त्यो विवशता सुनाए । क्वालालम्पुरबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल झरेपछि हतार–हतार थापाथलीस्थित नर्भिक अस्पताल पुगे । त्यहाँ बेहोस अवस्थाकी चेलीको उपचार भइरहेको थियो । उनको गर्धन भाँचिएको थियो । शरीर सबै सुन्निएको थियो ।

रसिला आँखा, मलिन अनुहार, साँच्चै जीवनदेखि हारेको जस्तै देखिन्थिन् चेली । डाक्टरहरूले ‘नसा च्यापिएको छ, अप्रेसन गरेपछि ठिक हुन्छ’ भनेका थिए । त्यतिवेला उनीहरूलाई आर्थिक समस्या थिएन । तीन वर्षको कमाइ पूरै बचेको थियो । जति खर्च लागे पनि उपचार गरिदिनू भन्ने अवस्थामा थिए वसन्त ।

‘अब मलाई दुर्घटना भएकै ठाउँमा मर्न दिनुस्’
ठक्कर दिने चालकलाई केही समयपछि प्रहरीले समायो । चेलीका आफन्त र उनीहरूबीचमा बानेश्वर प्रहरी वृत्तमा छलफल भयो । छलफलमा चेलीको उपचार खर्च बेहोर्ने, मृत्यु भएमा छोरीको पढाइ खर्च बेहोर्ने र १० लाख रुपैयाँ दिने सहमति भएको थियो ।

सहमतिअनुसार चालकले खर्च बेहोर्दै थिए । कहिले २० हजार, कहिले ५० हजार रुपैयाँ दिन्थे । सहमति भएकै कारण वसन्तले अदालतमा मुद्दा गरेनन् । तर, ९० दिनपछि प्रहरी र चालकको कुरा फेरिन थालेको वसन्त बताउँछन् ।

‘दुर्घटनामा संलग्न व्यक्ति बिस्तारै सम्पर्कविहीन भए, प्रहरीले पनि ‘रेस्पोन्स’ गर्न छाड्यो,’ वसन्त भन्छन्, ‘प्रहरी र दुर्घटना गराउने व्यक्ति मिलेर मलाई एक्ल्याए ।’
जीवनदेखि थाकिसकेकी चेली भनिरहन्छिन् ‘अब मलाई बचाउनुपर्दैन ।’ खर्च सकिँदै गएपछि वसन्तले चेलीलाई नर्भिकबाट ट्रमा सेन्टरमा सारेका छन् । दुई वर्षदेखि ट्रमामै चेलीको उपचार भइरहेको छ ।

ट्रमामा ल्याएको एक वर्षसम्म आइसियुमै राखियो । विदेशमा कमाएर ल्याएको रकम सकिसकेको थियो । वसन्तले हारगुहार गरेपछि विदेशमा रहेका नेपाली र नेपालबाटै पनि सहयोग जुट्यो । पछि त्यही सहयोग पनि आउन छोड्यो । ऋण पनि थपिँदै गयो ।

श्रीमतीको स्याहारसँगै ट्रमामा जागिर
उनीहरूको अवस्था देखेर अस्पतालले बिरामी फर्काउन सकेन । दिनहुँ थपिएको उधारो तिर्न सक्ने अवस्थामा वसन्त थिएनन् । बरु यो परिवारका लागि अस्पतालले नै विकल्प खोजिदियो । वसन्तले ट्रमामा सुरक्षा गार्डको काम पाए । मासिक १८ हजार तलबमा वसन्तले जागिर पाए ।

मृत्युसँग लडिरहेकी चेलीको उपचारमा यो कमाइ केही पनि होइन, तथापि वसन्तका लागि यो जागिर मन भुलाउने मेसो बनेको छ । अचेल वसन्तको दैनिकी श्रीमतीको स्याहारसँगै ट्रमा सेन्टरको सुरक्षामा बित्छ ।

ड्युटीमा भएका वेला चेलीलाई गाह्रो भयो भने नजिकैका बिरामी कुरुवाले फोन गरिदिन्छन् । अनि वसन्त काम छाडेर हतार–हतार चेलीको स्याहारमा फर्किन्छन् । छोरी चेलीकी बहिनीसँग जडीबुटीमा बस्छिन् । आमासँग भेट गराउन उनलाई वेला–वेला अस्पताल ल्याइरहन्छन् । अचेत आमासँग भेट गराउँछन् र फर्काउँछन् ।

‘म कसरी चेलीलाई मर्न दिन सक्छु ? यी अबोध (छोरी) ले पछि मलाई के भन्लिन् ?’ छोरी सम्झिँदै वसन्त भन्छन् ‘यो भेन्टिलेटरसँगै म उनलाई घर लैजान सक्छु, तर त्यो भनेको सीधै मार्न लैजानुजस्तै हो ।’ घर लगेर के गर्नु ! वसन्तलाई त्यो उपकरण चलाउनसमेत आउँदैन ।

तीन वर्ष अस्पताल बस्दा वसन्तले धेरैथरि बिरामी र कुरुवाको संगत गरेका छन्, ‘कसैले बेहोस श्रीमतीलाई बेडमै छाडेर भागेको देखेँ, कसैले बा–आमालाई अस्पतालमै छाडेर भागे ।’ सास हुँदासम्म आश त कहाँ मर्छ र ? वसन्त पनि त्यो आश मार्न सक्दैनन्, ‘मेरी छोरीले मलाई आफ्नी आमालाई मार्यो नभनून् ।’

तामाङ चेली र ठकुरी वसन्तले १४ वर्षपहिले लगनगाँठो कसेका थिए । चेली आफ्नो दाइको होटेलमा काम गर्थिन्, जहाँ वसन्त खाना खान गइरहन्थे । त्यहीँ उनीहरूको चिनजान भयो । चिनजान माया–प्रेमसम्म पुग्यो । अनि त्यही प्रेम पछि विवाहमा परिणत भयो ।

११ वर्षसम्म जीवन ठिकठाक चलिरहेकै थियो । तर, दुर्घटनाले परिवारको खुसी नै बिथोलिदियो । वसन्तलाई थाहा छ, बिथोलिएको त्यो खुसी पनि चाँडै खोसिनेछ ।
चेलीको उपचारमा देश–विदेशबाट पाएको सहयोगबाहेक वसन्तको आफ्नै ४० लाख रुपैयाँ पनि सकिसकेको छ ।

‘कहिलेसम्म खर्च गर्नुहुन्छ ?’
श्रीमतीको मृत्युसँग जुधिरहेका वसन्तलाई यो प्रश्न निकै गह्रुंगो लाग्छ । वसन्तको जवाफ आउँछ, ‘जबसम्म उनको सास चलिरहन्छ ।’

वसन्तलाई सहयोग गर्न :
खाता नम्बर : 00602405 pd (प्राइम कमर्सियल बैंक लिमिटेड), वसन्तकुमार शाही
सम्पर्क नम्बर : 9849532421

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै

न्युरो सर्जरीमा वीरको सेवा देशभरमै अब्बल, निजीमा भन्दा १५ गुना सस्तो, शून्य शुल्कमा पनि हुन्छ उपचार

वीर अस्पतालको न्युरो सर्जिकल वार्डबाट हालै मात्रै डिस्चार्ज भए १४ वर्षीय किशोर केशव तिमल्सिना ।  करिब १ वर्षअघिदेखि उनलाई टाउको दुख्ने, आँखाको नानी दुख्ने, बान्ता हुने, शरीर गल्ने, निद्रा लागिरहनेजस्ता समस्या देखापर्दै गयो । मकवानपुर जिल्ला मनहरि– ७ मा बस्ने केशवले करिब केही समय टाउकोको दुखाइ कम गर्ने औषधि नजिकै रहेको मेडिकलबाट ल्याएर खाइरहे । तर, उनलाई त्यसले निको भएन ।  केही महिनापछि तिलगंगा सामुदायिक अस्पतालमा आँखाशिविर बस्यो । उनी त्यहाँ जाँच गर्न पुगे । तर, त्यहाँ उनको रोग पत्ता लागेन । समय बित्दै जाँदा उनलाई झन् पीडा हुन थाल्यो ।

अहिले उनी ती दिन सम्झँदै भन्छन्, ‘कहीले काहीँ त अब मर्छु जस्तो लाग्थो । टाउकोको पीडा सहन नसकेर रुने गर्थें ।’ दसैँको वेला भएकाले परिवारले दसैँ सकिएपछि मात्र चेकजाँचका लागि काठमाडौं जाने निधो गरे । दसैँ सकिएपछि उनी ५ कात्तिकमा काठमाडौंमा रहेको नेपाल मोडल अस्पतालमा भर्ना भए । चेकजाँचपछि उनको रोग पत्ता लाग्यो । उनको ब्रेनमा ठूलो ट्युमर रहेछ । उपचार गर्दै जाँदा उनको टाउकोमा भएको पानी सुकाउन पेटमा पाइप राखियो । मोडल अस्पतालमा उनको उपचार भयाे । करिब २५ दिन मोडलमा उपचार गर्दा ३ लाखभन्दा बढी खर्च भएको बताउँछन्, उनका आफन्त कमल लामा ।

घर–परिवारसँग भएको पैसा सकियो, तर उनको थप उपचार हुन सकेन । थप उपचारका लागि अस्पतालमा उपकरण नभएको जानकारी गराउँदै मोडल अस्पतालले वीर अस्पतालमा रेफर गर्यो । वीरमा अप्रेसनका लागि केही दिन पालो कुरेर बस्नुपर्ने भयो । केही दिन अस्पतालको बसाइपछि वीरमा टाउकोकाे ट्युमरकाे सफलतापूर्वक निकाले ।

डा. राजीव झा

लामाका अनुसार अप्रेसन खर्च, औषधि, खान–बस्नदेखि लिएर डाक्टरको चार्जसमेत गरेर वीरमा उनको उपचारमा जम्मा एक लाख खर्च हुन आएको छ ।
कमल लामा भन्छन्, ‘निजी अस्पतालभन्दा वीरमा धेरै सस्तो हुनेरहेछ । पहिल्यै यहाँ आएको भए यत्रो खर्च हुने थिएन र रोग पनि समयमै निको हुने थियो ।’

मुलुकको सबैभन्दा पुरानो र ठूलो अस्पताल वीरमा न्युरो सर्जरीका लागि उपकरण पर्याप्त छन् । तर, न्युरो सर्जन विशेषज्ञको कमीले गर्दा बिरामीले उपचारका लागि केही समय कुर्नुपर्ने बाध्यता छ ।

वीरमा न्युरो सर्जरी सेवा सुरु भएको करिब ६० वर्ष पुगिसकेको बताउँछन्, न्युरो सर्जन प्रमुख डा. राजीव झा । नेपालमा पहिलोपटक ब्रेनको अप्रेसन डा. दिनेशनाथ गंगोलले गरेका थिए । त्यसपछि वि.सं. २०४६ मा डा. उप्रेन्द्र देवकोटाले वीरमा न्युरो सर्जरी युनिटको स्थापना गरे । न्युरो सर्जन झा भन्छन्, ‘वीरमा न्युरो सर्जरीका सबै अप्रेसन देवकोटाबाटै भएका थिए । देवकोटाकै देनबाट आज न्युरो सर्जरी फस्टाइरहेको छ । उनले देखाएको मार्गबाटै अझै राम्रो गुणस्तरीय उपचार सेवा दिने काम भइरहेको छ ।’

निजीमा भन्दा १५ गुना सस्तो, शून्य शुल्कमा पनि हुन्छ उपचार, गुणस्तरमा पनि अगाडि
न्युरो सर्जरीसम्बन्धी उपचार गराउँदा निजी अस्पतालको तुलनामा वीरमा १५ गुनासम्म सस्तो पर्न आउँछ । अस्पतालका अनुसार न्युरोसम्बन्धी अप्रेसन गराएबापत वीरमा बिरामीले ७ हजारसम्म तिर्नुपर्ने हुन्छ । वार्डमा बस्दा प्रतिदिन सय रूपैयाँ र भेन्टिलेटर सेवा लिएबापत ७ सय रूपैयाँ तिर्नुपर्छ । तर, कत्ति पनि पैसा नहुनेका लागि सबैखाले शुल्क मिनाहा गरेर उपचार गराउने व्यवस्थासमेत अस्पतालले गरेको छ ।

‘अस्पतालमा आएका कुनै पनि बिरामीले पैसाकै अभावमा उपचार नपाएर फर्कनुपर्ने अवस्था छैन,’ डा. झा भन्छन्, ‘बिरामीसँग पैसा छैन भने अस्पतालमा लाग्ने सबै चार्ज मिनाहा गरेर पनि उपचार गरेर पठाउने गरेका छौँ ।’
वीरजस्ता अस्पतालमा उपलब्ध सुलभ सेवाकै कारण निम्न तथा मध्यमवर्गीय नेपालीको न्युरो सर्जरीमा पहुँच पुगेको छ । वीरमा सेवा उपलब्ध नहुने हो भने न्युरो सर्जरीसम्बन्धी रोग लागेका सर्वसाधारणले पैसाकै अभावमा मुत्यु कुर्नुबाहेक कुनै विकल्प रहँदैन ।
सस्तो र सुलभ मात्र होइन, गुणस्तरका हिसाबले पनि वीरको न्युरो सर्जरी सेवा नेपालमै अब्बल छ । वीरको सेवा देशका अत्यधिक महँगा निजी अस्पतालको भन्दा कुनै हिसाबले पनि कम छैन । न्युरो सर्जरीका जुनसुकै अन्तर्राष्ट्रियस्तरका प्रविधि र उपकरण वीर र राष्ट्रिय ट्रमा सेन्टरमा उपलब्ध छन् ।

वीरमा न्युरो सर्जरी सेवा सुरु भएको करिब ६० वर्ष पुगिसकेको बताउँछन्, न्युरो सर्जन प्रमुख डा. राजीव झा । नेपालमा पहिलोपटक ब्रेनको अप्रेसन डा. दिनेशनाथ गंगोलले गरेका थिए । त्यसपछि वि.सं. २०४६ मा डा. उप्रेन्द्र देवकोटाले वीरमा न्युरो सर्जरी युनिटको स्थापना गरे ।

वीर अस्पतालमा न्युरो सर्जरीका महत्वपूर्ण उपकरण
इन्ट्राअपसिटी स्क्यान
माइक्रोस्कोप (एन्जिओग्राम)
न्युरो नार्विकेसन स्टिम
इन्ट्रोस्कप
सिटियोट्रक्यासी
न्युरो फिजिओ मोनोटरी

डा. प्रकाश बिष्ट विभागीय प्रमुख न्यूरोसर्जरी विभाग

उपकरण पर्याप्त, तर विशेषज्ञ अभावले समस्या
तर, पर्याप्त मात्रामा उपकरण उपलब्ध भएर पनि विशेषज्ञ न्युरो सर्जनको कमीले बिरामीलाई समयमै उपचार दिन समस्या भइरहेको डा. झाको भनाइ छ । हाल वीर र ट्रमा सेन्टरमा जम्मा ५ जना न्युरो सर्जन उपलब्ध छन् भने न्युरो सर्जरी पढिरहेका ९ जना इन्टर्न चिकित्सक बिरामीको उपचारमा खटिरहेका छन् ।

वीरबाट प्रतिमहिना ७०–८० जनाले न्युरो सर्जरी सेवा लिने गरेका छन्, जसमध्ये १५ देखि २० जना बिरामीले विशेषज्ञ अभावकै कारण पालो कुरेर बस्नुपर्ने बाध्यता छ ।
दक्ष जनशक्ति नभएको कारण उपकरण चलाउनै समस्या भएको न्युरो सर्जन डा. प्रकाश विष्ट बताउँछन् । संसारको टेन्ड्रलाई हेर्ने हो भने एक न्युरो सर्जनले एक वर्षमा १ सय ५० बिरामीको शल्यक्रिया गर्ने गरेका छन् । तर, नेपालमा एक न्युरो सर्जनले एक वर्षमा ३ सयभन्दा बढी बिरामीको शल्यक्रिया गर्नुपरेको डा. विष्टको भनाइ छ । बिरामीको चापलाई हेर्दा तीनजना विशेषज्ञ र तिनलाई सहयोग गर्ने ६ जना डाक्टर अपुग छ ।
देशभर अहिले लगभग ८० जना न्युरो विशेषज्ञ उपलब्ध छन् । त्यसमध्ये वीर र ट्रमामा गरी ३ जना विशेषज्ञ दरबन्दीमा कार्यरत छन् भने २ जनाले वीरको आन्तरिक स्रोतबाट तलब लिएर काम गरिरहेका छन् ।

विगतमा १८–२० घण्टा लाग्ने अप्रेसन ३ घण्टामा
सीप, प्रविधिमा पूर्ण रूपमा परिवर्तन आएका कारण पहिला १८–२० घण्टा लाग्ने अप्रेसन अहिले प्रविधिका माध्यमले ३ घण्टामा सकिने भएको छ । हाल दिनमा ४ वटासम्म बिरामीको अप्रेसन हुने गरेको डा. झा बताउँछन् ।
वीरमा दुर्घटनामा परेका, नसा फुटेका, रगत जमेका बिरामी धेरै आउने गरेका छन् । नसारोगको सर्जरीलाई न्युरो सर्जरी भन्न सकिन्छ । त्यो नसा शरीरको जुनसुकै भागमा, मुख्यतः ब्रेनदेखि दिएर मेरुदण्डसम्म पाइन्छ ।

वीरमा न्युरो सर्जिकल वार्डमा ५० वटा बेड छन् भने आइसियूमा न्युरोका लागि ५ वटा बेड छन् । त्यसैगरी, राष्ट्रिय ट्रमा सेन्टरमा ४० वटा न्युरो सर्जिकल बेड छन् भने आइसियूमा १२ वटा बेड छन् । साधारण बिरामी (माएलहेडइजुरी) ७० प्रतिशत, मध्यमखाले (मोडेट) बिरामी १८ प्रतिशत, १२ प्रतिशत कोमा गएका अथवा सिबिएर भएका बिरामी थिए ।

विशिष्टीकृत गर्नु आवश्यक
समयको परिवर्तनसँगै न्युरो सर्जरीलाई पनि विशिष्टीकृत गरेर लानुपर्ने डा. झा बताउँछन् । उनका अनुसार न्युरोसर्जरीभित्र पनि रोगको प्रकृतिअनुसार फरक समस्याका लागि फरक विशेषज्ञ उत्पादन र निर्धारण गरिनुपर्छ ।
‘कुनै डाक्टरले न्युरो सर्जरी पढेर आएपछि बच्चाको मात्र न्युरो सर्जरी गरोस्, त्यसैगरी चोट–पटक लागेका बिरामीका लागि छुट्टै डाक्टर होस्, एउटाले नसा फुटेर आएका बिरामी मात्र हेरोस्, जन्मजात रोग भएका बिरामीको अप्रेसन गर्ने छुट्टै डाक्टर होस्,’ उनी भन्छन्, ‘यसो भएमा बिरामीले राम्रो र गुणस्तरीय उपचार पाउँछन् ।’ नेपालमा हालसम्म यस्तो छुट्टाछुट्टै विधा हेर्न न्युरो सर्जनहरू उपलब्ध छैनन् ।

उपचारमा उपकरणको प्रयोग
डा. झाका अनुसार अप्रेसन गर्दागर्दै कति ट्युमर वा रगत बाँकी रहेको छ भनेर हेर्न इन्ट्राअपसिटी स्क्यानले सहयोग पुर्याउँछ । त्यसैगरी, राम्रो माइक्रोस्कोपले बिरामीका नसाहरू देखाउँछ र नसाको अप्रेसन कतिहदसम्म पूरा भयो वा भएन भनी (एन्जिओग्राम) हेर्न सकिन्छ ।
न्युरो नार्बिकेसन स्टिममा टाउकोको माथिल्लो भागबाट हेरेर कुन ठाउँमा ट्युमर छ भनी हेर्न सकिन्छ । जति ठाउँमा देखिएको छ, त्यहाँ मात्र अप्रेसन गरेर बाँकी भए–नभएको हेर्न सकिन्छ ।
इन्ट्रोस्कपको सहायताले टाउकोभित्र रहेको रगत, ट्युमर निकाल्न सकिन्छ । त्यसैगरी, सिटियोट्रक्यासीले अप्रेसन गर्नुपर्ने भागलाई देखाउने गर्छ । न्युरो फिजिओ मोनोटरीले टाउकोदेखि मेरुदण्डको भागमा भएका सबै नसा अप्रेसन गर्दा छोयो भने मेसिन बज्न थाल्छ र अप्रेसन गर्दा संयमता अपनाउनुपर्ने हुन्छ ।

वीर र ट्रमा सेन्टरमा कार्यरत न्युरो विशेषज्ञ
प्रा.डा. प्रकाश विष्ट, न्युरो सर्जन प्रमुख, वीर अस्पताल
प्रा.डा. राजीव झा, न्युरो सर्जन प्रमुख/एकाइ युनिट इन्चार्ज, ट्रमा सेन्टर
डा. निमल खड्का, कलन्सेन्ट्रड न्युरो सर्जन
डा. राजेन्द्र श्रेष्ठ
डा. विकेश खम्बू

वीरमा न्युरो सर्जरीका बिरामीको चाप
वीरको ४ वार्षको तथ्यांकअनुसार न्युरो सर्जरीका सेवाग्राहीको संख्या बिस्तारै बढ्दै गएको छ । ०७१ मा वीरमा ६ हजार २ सय ५६ जनाले ओपिडीमा भर्ना भएर सेवा लिएका थिए । उक्त वर्षमा ६ सय २ जनाले न्युरो सर्जरी गराएका थिए ।
त्यसैगरी, ०७२ मा ५ हजार ३ सय ९४ बिरामीले ओपिडी सेवा लिएकोमा ५ सय १० जनाले अप्रेसन गराएका थिए । ०७३ मा ६ हजार ६ सय ५६ जनाले ओपिडी सेवा लिएका थिए, त्यसमध्ये ३ सय ८४ ले अप्रेसन सेवा लिएका थिए ।

०७४ मा ६ हजार ७ सय ७३ जनाले ओपिडी सेवा लिएकोमा ६ सय २९ जनाले अप्रेसन सेवा लिएका थिए । यो ४ वर्षमा ८ सय ४ बिरामीले न्युरो सर्जरीसम्बन्धी आकस्मिक सेवा लिएको अस्पतालको तथ्यांकले देखाएको छ । राष्ट्रिय ट्रमा सेन्टरमा पछिल्ला ३ वर्षमा न्युरो सर्जरीको उपचारका क्रममा ४५ जनाको मुत्यु भएको छ भने ३५ जना कोमामा छन् ।

राष्ट्रिय ट्रमा सेन्टरमा पछिल्ला ३ वर्षमा न्युरो सर्जरीका ८ हजार ५ सय २६ बिरामीले ओपिडी सेवा लिएका छन् । त्यसमध्ये १ हजार ७० जनाले भर्ना भएर उपचार गराएका छन् । यसमध्ये ५५ प्रतिशत दुर्घटनामा परेका, ३६ प्रतिशत लडेका, ६ प्रतिशत चोट–पटक लागेका र ३ प्रतिशत अन्य समस्या भएका बिरामी थिए ।
ट्रमामा उपचार गराउने न्युरो सर्जरीका बिरामीमध्ये ३० प्रतिशतको अप्रेसनमार्फत उपचार गरिएको थियो भने ७० प्रतिशत बिरामीको उपचार अप्रेसनविनै सम्भव भएको थियो । पछिल्ला ३ वर्षमा ४५ जनाको उपचारका क्रममा मुत्यु भएको छ भने ३५ जना बिरामी कोमामा पुगेका छन् । यस अवधिमा ९ सय ६५ बिरामीको चामत्कारिक उपचार भएको छ ।

वीरमा न्युरो सर्जिकल वार्डमा ४० वटा बेड छन् भने आइसियूमा न्युरोका लागि ५ वटा बेड छन् । त्यसैगरी, राष्ट्रिय ट्रमा सेन्टरमा ५० वटा न्युरो सर्जिकल बेड छन् भने आइसियूमा १२ वटा बेड छन् । साधारण बिरामी (माएलहेडइजुरी) ७० प्रतिशत, मध्यमखाले (मोडेट) बिरामी १८ प्रतिशत, १२ प्रतिशत कोमा गएका अथवा सिबिएर भएका बिरामी थिए ।

 

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै