रहेनन् वरिष्ठ अर्थोपेडिक सर्जन डा. दाहाल, चिकित्सक संघले बिहीबार देशभर शोक मनाउने

नेपाल चिकित्सक संघका उपाध्यक्ष एवम् वरिष्ठ अर्थोपेडिक सर्जन डा. मुकुन्द दाहालको मंगलबार राति करिब १ बजे निधन भएको छ । १८ महिनादेखि मस्तिष्कको समस्याका कारण बिरामी रहेका ५४ वर्षीय डा. दाहाललाई ज्वरो थपिएपछि मंगलबार वसुन्धारास्थित बिपी स्मृति अस्पतालमा भर्ना गरिएकोमा उपचारकै क्रममा उनको निधन भएको हो ।
सुनसरीको धरान स्थायी घर भएका डा. दाहाल वरिष्ठ अर्थोपेडिक सर्जनका रूपमा नेपाल सरकारको १०औँ तहमा कार्यरत थिए । डेढ वर्षअघि मोरङस्थित विराटनगर अञ्चल अस्पतालमा कार्यरत रहेकै वेला डा. दाहाललाई एक्कासि मस्तिष्करोगले सताएको थियो । मस्तिष्करोगको आक्रमणपछि ब्रेन डेथकै अवस्थामा रहेका डा. दाहाल त्यसपछि काममा फर्किन सकेका थिएनन् ।डा. दाहालको मस्तिष्कमा ब्लड आर्टरी बेलुनजस्तै फुकेर एन्युलिजम भएपछि करिब १ वर्षअघि दिल्लीको अखिल भारतीय मेडिक संस्थान (एम्स)मा शल्यक्रियामार्फत इनयाक्टिभ गरिएको थियो । त्यसयता ब्रेन फंक्सनमा समस्या खेपिरहेका डा. दाहाल घरमै रही उपचार गराइरहेका थिए ।
डा. दाहालको पार्थिव शरीर श्रद्धाञ्जलिका लागि मंगलबार बिहान ९ बजेदेखि बिपी स्मृति अस्पतालमा राखिएको थियो । उनको पार्थिव शरीरमा चिकित्सा क्षेत्रका विभिन्न संघसंगठनका पदाधिकारी, चिकित्सक तथा स्वास्थ्यकर्मीहरू, सामाजिक व्यक्तित्वहरू, परिवार तथा आफन्तजनले श्रद्धाञ्जलि दिएका थिए । उनको पार्थिव शरीरलाई परिवार तथा आफन्तजनले मंगलबार दिउँसो करिब २ बजे पशुपति आर्यघारटमा अन्येष्टि गरेको छ ।नेपाल चिकित्सक संघले संघका उपाध्यक्ष एवम् वरिष्ठ अर्थोपेडिक सर्जन डा. दाहालको निधनप्रति गहिरो दुःख व्यक्त गरेको छ । संघले बुधबार विज्ञप्ति जारी गर्दै डा. दाहालको असामयिक निधनसँगै मुलुकले एक इमानदार, कर्मठ, लगनशील र अर्थोपेडिक सर्जनलाई गुमाउनुपरेको जनाएको छ । संघले दुःख यो घडीमा शेकसन्तप्त परिवारजनप्रति समवेदनासमेत प्रकट गरेको छ । संघले डा. दाहालको शोकमा १९ वैशाखका दिन आफ्नो केन्द्रीय कार्यालयसहित देशभरका शाखाकार्यालयहरू बन्द गर्ने जनाएको छ ।
‘डा. दाहाल अत्यन्त इमानदार, क्षमतावान्, समस्त मेडिकल कम्युनिटीकै सुहृदयी र राष्ट्रका लागि निःस्वार्थ रूपमा केही दिऊँ भन्ने उत्तम सोच भएका चिकित्सक हुनुहुन्थ्यो,’ बिपी स्मृति अस्पतालका अध्यक्ष एवम् नेपाल चिकित्सक संघका पूर्व अध्यक्ष डा. केदारनरसिंह केसीले डा. दाहाललाई सम्झिँदै भने, ‘उहाँको असामयिक निधनबाट नेपाल चिकित्सक संघले निष्ठावान् सदस्य, मेडिकल कम्युनिटीले एक क्षमतावान्, सुहृदयी चिकित्सक र राष्ट्रले बरिष्ठ अर्थोपेडिक सर्जन, एक असल नागरिक गुमाएको छ ।’
  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै