आइओएमले सुरु गर्यो आफ्नै दन्तचिकित्सा शिक्षण अस्पताल

त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम)अन्तर्गत महाराजगन्ज चिकित्सा क्याम्पसले आफ्नै दन्तचिकित्सा शिक्षण अस्पताल सुरु गरेको छ । सोमबार त्रिभुवन विश्वविद्यालयका उपकुलपति तीर्थराज खनियाले अस्पतालको उद्घाटन गरेका हुन् ।

यसअघि, त्रिवि शिक्षण अस्पतालमा दन्तविभागका रूपमा दाँतसेवा सञ्चालनमा थियो । तर, सीमित सेवाका कारण दाँतको उपचारका लागि आएका बिरामीलाई अन्यत्रै पठाउनुपर्ने बाध्यता थियो । अस्पतालकै रूपमा दन्तसेवालाई विस्तार गरिएसँगै आब दाँतका बिरामीले सबैखाले सेवा पाउन सक्ने बताइएको छ ।

उद्घाटन कार्यक्रममा उपकुलपति खनियाले सबैखाले रोगको उपचारका लागि त्रिवि शिक्षण अस्पताल पूर्ण रहेको बताए । खनियाले भने, ‘महाराजगन्ज क्याम्पसले अन्य विधामा जति ख्याति कमाएको छ, दन्तचिकित्साले पनि त्यसलाई कायम राख्नुपर्छ ।’
त्यसैगरी, आइओएमका डिन प्रा.डा. जगदीशप्रसाद अग्रवालले पहिला महाराजगन्ज क्याम्पसमा बिडिएस पठन–पाठन कार्यक्रम नभएको हुँदा लज्जाबोध भएको बताए । ‘बिडिएस अध्यापन र दन्तचिकित्सा शिक्षण अस्पताल स्थापनालाई सुरुदेखि नै प्राथमिकतामा राखेर काम गरिएको थियो,’ अग्रवालले भने, ‘तर, आज बिडिएस अध्यापन र दन्तचिकित्सा शिक्षण अस्पताल स्थापनाले इतिहास रच्ने काम भएको छ ।’

हाल महाराजगन्ज क्याम्पसमा बिडिएसमा २५ जना विद्यार्थीले अध्ययन गरिरहेका छन् । अस्पतालमा डेन्टल बेड ३० वटा रहेका छन् । पोर्टेबल एक्स–रे मेसिन ४ वटा छन् । पठन–पाठनका लागि १० जना शिक्षकको दरबन्दी तयार भइसकेको र ११ जनाको विज्ञापन गरिएको दन्तविभागका प्रमुख डा. कृष्ण केसी बताउँछन् ।
केसीका अनुसार अस्पतालमा रहेको पूर्वाधारका आधारमा दैनिक १ सय ५० देखि २ सयसम्म बिरामीलाई उपचारसेवा दिन सकिन्छ ।

अस्पतालले दाँत निकालेबापत प्रतिदाँत १ सय, जरा उपचारका लागि २ हजार, दाँत सफा गराएबापत ५ सय, सिमेन्ट भरेबापत ४ सय रूपैयाँ उपचारशुल्क निर्धारण गरेको छ । अन्य निजी अस्पतालको तुलना ५० प्रतिशत सस्तोमा उपचारसेवा उपलब्ध गराउने अस्पतालले जनाएको छ ।

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै

गुणस्तर सुधारेकोमा हाई–हाई हुनुपर्नेमा उल्टै आलोचना ?

कुनैवेला त्रिविअन्तर्गतको चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम) एसियाकै नामी इन्स्टिच्युटमा गनिन्थ्यो । अहिले त्यो बिरासत नरहे पनि चिकित्साशिक्षाका लागि आइओएम नै विद्यार्थीको पहिलो रोजाइमा छ । यो आकर्षणसँगै प्रत्येक वर्ष भर्नाको समयमा विवाद पनि जन्मिन्छन् । पछिल्लोपटक पनि पूर्ववत् विवाद आइरहेका छन् । पछिल्लो भर्ना विवाद, आइओएममा भएका सुधार प्रयास, चिकित्साशिक्षालगायत विषयमा केन्द्रित रही आइओएमका डिन डा. जगदीशप्रसाद अग्रवालसँग हेल्थपोस्टकी प्रमुख संवाददाता गीता सापकोटाले गरेको कुराकानीको सारसंक्षेप:

यसपटक पनि चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम)को अन्डरग्य्राजुएसन तहका भर्ना विवादित भइरहेका छन्, कारण के हो ?
विवाद किन गरिरहेका छन्, म कसरी भनूँ ? कम्तीमा म डिन भएर आएपछि हाम्रो एउटै उद्देश्य परीक्षा प्रणाली पारदर्शी र विश्वसनीय होस् भन्ने थियो । यसबीचमा हामीले परीक्षा प्रणालीमा धेरै सुधार गरेका छौँ । त्यसैले भर्नासम्बन्धी सर्तहरूमा नै सबै कुरा सार्वजनिक गरिदिएका छौँ ।
अहिले पनि सबैभन्दा पहिला योग्यताक्रमअनुसार विद्यार्र्थीलाई पालो दियौँ । अब क्रमशः कम नम्बर भएकाहरूलाई यथाक्रम बोलाउँछौँ । पहिला काउन्सिलिङमा बोलाइएका सबै विद्यार्थीलाई एउटै कोठामा राखेर छान्ने तरिकाबारे पूर्ण जानकारी दिन्छौँ । उपलब्ध सिट र आकांक्षीका आधारमा प्रोजेक्सनसमेत देखाउँछौँ । यस्तो अवस्थामा तोकिएको समयभन्दा ५ मिनेट ढिला भए पनि विद्यार्थीले अवसर पाउन्नन् ।
सुरुमा मेरिटमा एक नम्बरमा आएका विद्यार्थीले कलेज रोज्दै जान्छन् । सबै सिट भरिने गरी काउन्सिलिङ सकिएपछि भर्नाका लागि निश्चित समय दिइन्छ । भर्ना गर्न पनि विद्यार्थी कलेज–कलेज धाउनुपर्दैन, कलेजको खातामा पहिलो किस्ता जम्मा गरिदिएर त्यसको भौजरको कपी हाम्रो वेबसाइटमा राखेर भर्ना गर्न सक्छन् । तोकिएको समयमा कुनै कारणवश (पारिवारिक, आर्थिक, मनस्थिति परिवर्तनलगायत) रोजेको कलेजमा विद्यार्थी भर्ना भएनन् भने त्यो सिट खाली हुन्छ । फेरि त्यही काउन्सिलिङको निरन्तरताअनुसार तलका विद्यार्थीलाई बोलाएर बाँकी सिट छान्ने अवसर दिन्छौँ ।

हामीले परीक्षा प्रणालीमा फोकस भएरै प्रत्यक्ष रूपमा देखिने गरी केही सुधार गरेका छौँ । हाम्रा आंगिक कलेजहरूमा मेरिट भर्ना पूर्ण रूपमा लागू हुन्छ । ३ वर्षअघिसम्म त्यो स्थिति थिएन ।

अहिलेको विवाद यही विषयमा केन्द्रित छ । काउन्सिलिङमा आएर पनि यदि कसैले रोजेअनुसारका कलेज पाइनँ भनेर, अहिले म छनोट गर्दिनँ भन्यो भने त्यसलाई फेरि दोस्रो काउन्सिलिङमा चान्स दिइन्छ । पहिला रोजेर जान्छु भनिसकेपछि गएन भने त त्यो विद्यार्थी छुटिहाल्छ नि ! यो विषय हामीले सुरुमै भर्नासम्बन्धी सूचनामा पनि प्रस्टसँग लेखेका छौँ । अहिले आन्दोलिन विद्यार्थीको भनाइ छ कि– ती खाली सिटमा हामीले अवसर पाउनुपर्छ, ती ठाउँमा आफूभन्दा कम नम्बर भएकालाई चान्स दिनु गलत हो । मेरिटका आधारमा विद्यार्थीलाई चान्स दिनुपर्छ र क्रमशः आएको पालोअनुसार नै भर्ना हुन्छ ।
हामीले बुझ्नुपर्छ कि, प्रवेश परीक्षामा पास भएका जति सबै योग्य विद्यार्थी नै हुन् । यो परीक्षाको विश्वव्यापी मान्यता हो । एकपटक पनि चान्स नदिईकनै कम नम्बर ल्याउनेलाई चान्स दिएको भए पो गलत हुन्थ्यो ।

बढी नम्बर ल्याउनेले कलेजमा अवसर नै नपाउने र कम नम्बर ल्याउनेहरू भटाभट भर्ना भइरहँदा अलि अस्वाभाविक देखिएन र ?
आफूले रोजेको कलेज पाइनँ भनेर उनीहरूले त्यतिवेला नै दोस्रो काउन्सिलिङमा आउने भनेकै हुन् । अहिले भइरहेको त पहिलो काउन्सिलिङको निरन्तरता हो । विद्यार्थीले पहिलो काउन्सिलिङमा आएर कलेज पनि रोजेका छन् र उनीहरूकै कारणले भर्ना भएका छैनन् भने चाहिँ अब चान्स पाउन्नन् । हामीले अलिकति पनि मेरिटलाई छलेका छैनौँ । ९० प्रतिशत ल्याउनेलाई पहिलो प्रथमिकता दिनुपर्छ, ।

एकातिर विवाद छ, अर्कोतिर तपाईं सुधार गरेका छौँ भनिरहनुभएको छ, के–के सुधार भए त ?
हामीले परीक्षा प्रणालीमा फोकस भएरै प्रत्यक्ष रूपमा देखिने गरी केही सुधार गरेका छौँ । हाम्रा आंगिक कलेजहरूमा मेरिट भर्ना पूर्ण रूपमा लागू हुन्छ । ३ वर्षअघिसम्म त्यो स्थिति थिएन । पहिला भर्नाका लागि कलेज–कलेज धाउँदा पनि अतिरिक्त शुल्क मागेर विद्यार्थी हैरान बनाइन्थे । पहिला एकमुष्ट शुल्क तिर्न सक्नेले मात्रै भर्ना पाएको सुनेकै हो । अहिले त तोकिएअनुसारको किस्ताबन्दीमै भर्ना हुन्छ । अहिले विद्यार्थीले भर्नाका लागि कलेज धाउनुपर्दैन । तोकिएभन्दा बढी शुल्क लिन सक्ने अवस्था छैन । विद्यार्थी आइओएममै भर्ना गरेर जान सक्छन् । यो निकै ठूलो सुधार हो । तोकिएको शुल्कमा, योग्यतासूचीका आधारमा भर्ना हुन सक्ने स्थितिले चिकित्साशिक्षाको गुणस्तरमा ठूलो अन्तर ल्याउँछ ।

यति भएर पनि प्रवेश परीक्षा धाँधली र अनियमितता विवादबाट किन मुक्त छैन त ?
चिकित्साशिक्षामा बढी प्रतिस्पर्धा र चासो हुने भएपछि विवाद आउने गरेको होला । योग्यतासूचीमा दशमलवले तल–माथि पर्ने भएकाले बढी संवेदनशीलता देखाउनु स्वाभाविक नै हो । म दाबीका साथ भन्न सक्छु– आइओएमको परीक्षा प्रणाली निकै व्यवस्थित, पारदर्शी र वैज्ञानिक छ । परीक्षा प्रणाली बाहिरबाट हेरेजस्तो मात्रै होइन । परीक्षाका लागि सुरुमा एउटा समिति बनाएपछि त्यसले तिथि र विधिअनुसार काम गर्छ । समितिकै सदस्यहरू पनि सो समितिमा पस्दा र निस्कँदा मुचुल्का गर्नुपर्छ ।
कुनै पनि सामग्री, उपकरण बाहिरबाट लिएर जान पाइन्न । सो कक्षाको २४ घण्टै सिसिटिभीबाट सर्भिलेन्स हुन्छ । ढोका खोल्नसमेत समितिकै कम्तीमा दुईजनाको फिंगरप्रिन्ट चाहिन्छ । मैले डिन कार्यालयमा बसेर समेत त्यहाँ के भइरहेको छ, हेर्न सक्छु । प्रश्नपत्र पनि प्रश्न बैंकबाट सोहीअनुसार तयार हुन्छ । विद्यार्थीको कोडिङ हुन्छ, जुन सफ्टवेयरले मात्रै पहिचान गर्छ । यस्तो अवस्थामा अनियमितताको गुन्जायस नै हुन्न ।

आन्दोलित विद्यार्थीले भनेजस्तो यसपटक उनीहरूको मागको सम्बोधन हुने सम्भावना कति छ ?
यो विषय अदालतमा विचाराधीन छ, त्यसैले यसमा म धेरै कुरा बोल्न चाहन्नँ । यसपटक पनि २४ असोजमा सूचना निकाल्दा नै स्पष्टसँग यी सर्त उल्लेख गरेका छौँ ।

कमजोर ठानिएका कलेजहरूमा पनि विद्यार्थी खाली नहोस् भनेर आइओएम प्रशासन ‘सफ्टकर्नर’ भयो भन्ने आरोप छ नि ! कमजोर कलेज, बलियो कलेज के आधारमा भन्ने हो र ? कलेजका भौतिक, प्राज्ञिक पूर्वाधारका आधारमा नै उनीहरूको सिट निर्धारण भएको हो । कलेजहरूले जति सिट पाए, त्यति विद्यार्थी पढाउन सक्छन् भनेरै सिफारिस भएको हुन्छ ।

भर्ना मात्रै होइन, अहिले ओपनहाउस काउन्सिलिङबाट छानिएर गएका विद्यार्थीसँग पनि अतिरिक्त शुल्क लिन्छौँ भनेर कलेजहरू भनिरहेका छन्, त्यसलाई किन रोक्न सक्नुहुन्न ?
३ वर्षअघि सरकारले शुल्क तोकेको हो । त्यतिवेला प्रत्येक २ वर्षमा शुल्क पुनरवलोकन गर्ने भन्ने थियो । यसपटक सरकारले पुरानै शुल्क कायम गरिसकेको छ । कार्यकारी परिषद्ले पनि शुल्क सिफारिस गर्न नयाँ समिति बनाएको थियो । यतिवेला कार्यकारी परिषद्ले निर्णय गरेको सन्दर्भमा त्यही लागू हुन्छ । हैन भने जथाभावी यति शुल्क लिन्छौँ भनेर आफैँ घोषणा गर्दै हिँड्नुको अर्थ छैन । अतिरिक्त शीर्षक तोकेर शुल्क लिने हो भने अहिले लिएको शुल्कचाँहि केको हो त ? जथाभावी शुल्क लिए जिल्ला प्रशासन कार्यालयमा उजुरी गर्नुहोस् ।

कमजोर ठानिएका कलेजहरूमा पनि विद्यार्थी खाली नहोस् भनेर आइओएम प्रशासन ‘सफ्टकर्नर’ भयो भन्ने आरोप छ नि !
कमजोर कलेज, बलियो कलेज के आधारमा भन्ने हो र ? कलेजका भौतिक, प्राज्ञिक पूर्वाधारका आधारमा नै उनीहरूको सिट निर्धारण भएको हो । कलेजहरूले जति सिट पाए, त्यति विद्यार्थी पढाउन सक्छन् भनेरै सिफारिस भएको हुन्छ । किन कोहीप्रति ‘सफ्टकर्नर’ भयो भन्ने आरोप लगाइएको छ, मैले बुझ्न सकेको छैन । जानकी कलेजकै कुरा गर्ने हो भने पनि जानकीले गत वर्ष ८० सिट पाएको थियो, अहिले ५० मा आएको छ । आरोप लगाउनेले त जे लगाइदिए पनि भएको छ । आरोप लगाउनेले प्रमाणित गर्न सक्छन् ? सिट बेच्यो भन्नेसमेत आरोप लागाएका छन् । कहाँ बेचियो ?

हामीले दिन खोजेको ज्ञान, सिकाउन खोजेको सीप विद्यार्थीले ग्रहण गरे कि गरेनन् भनेर समीक्षा गर्नुपर्ने हो । सबै सीप बिरामीबाट सिक्न सम्भव हुन्न । त्यसका लागि कलेजहरूमा ‘स्किल ल्याब’ चाहिन्छ ।

मेडिकल एजुकेसन विज्ञसमेत भएको नाताले भन्नुपर्दा नेपालको चिकित्साशिक्षामा तपाईं के–कस्ता आशाहरू देख्नुहुन्छ ?
चिकित्साशिक्षाको सुधारका लागि जति अभियान, आन्दोलन, बहस भए, ती सबैको एक मात्र उद्देश्य चिकित्साशिक्षा र उत्पादिन जनशक्तिको गुणस्तर नै हो । त्यसका लागि हाम्रो पहिलो स्टेप र पहिलो प्राथमिकता गुणस्तरीय विद्यार्थी नै हुन् । त्यसपछि पढाइको वातावरण, शिक्षण पद्धति र मूल्यांकन प्रणाली प्रमुख सर्त हुन् । विद्यार्थी छनोटमा धेरै सुधार आइसकेको छ ।
विद्यार्थी छनोटमा सुधारपछि अब हामीले ध्यान दिनुपर्ने भनेको पढाइ कस्तो छ भन्ने कुराको लेखाजोखामा हो । पठन–पाठनलाई विद्यार्थीकेन्द्रित बनाउनुपर्छ ।
हामीले दिन खोजेको ज्ञान, सिकाउन खोजेको सीप विद्यार्थीले ग्रहण गरे कि गरेनन् भनेर समीक्षा गर्नुपर्ने हो । सबै सीप बिरामीबाट सिक्न सम्भव हुन्न । त्यसका लागि कलेजहरूमा ‘स्किल ल्याब’ चाहिन्छ । भिडियो रेकर्डिङबाट यस्ता सीप सुन्ने, हेर्ने र सिक्ने हो । नेपाल मेडिकल काउन्सिलले पनि यो कुरा उठाइरहेको छ । हामीले पनि उठाइरहेका छौँ । समयसापेक्ष सुधार चाहिन्छ । मुख्य कुरा गुणस्तरीय स्वास्थ्यसेवा नै हो । यो धेरै टाढा छैन

एकातिर नयाँ मेडिकल कलेज नथपौँ भन्ने बहस चलिरहेको छ, आइओएमले आफ्नै बिडिएस कार्यक्रम थप्यो, किन ?
यो सम्बन्धन होइन, आंगिक कार्यक्रम हो । चिकित्साशिक्षाको गुणस्तरका लागि आफ्नो कार्यक्रम नभईकन सम्बन्धन दिनुहुन्न भन्ने बहस चलिरहेको छ । यो अवस्थामा आइओएमले ५ वटा कलेजलाई डेन्टलमा समेत सम्बन्धन दिएको थियो, तर आफ्नै कार्यक्रम थिएन । त्यसैले हामीले बाध्य भएर यो कार्यक्रम थप्नुपरेको हो । यसविषयमा आइओएमले गुणस्तर सुधारका लागि राम्रो गर्यो भनेर हाई–हाई हुनुपर्ने हो । फेरि किन आलोचना ?

तपाईंको कार्यकालमा आइओएमको गुणस्तर सुधारका लागि के–के प्रयत्न गर्नुभयो ?
मैले अघि नै भनेँ, परीक्षा प्रणालीको सुधार, बिडिएस कार्यक्रम सञ्चालन लामो समयको प्रयास र प्रयत्नबाट पनि अगाडि बढ्न सकेका थिएनन् । हामीले यसबीचमा धेरै दरबन्दी सिर्जना गरेर स्वीकृति गराएर ल्याएका छौँ । यसले बल्ल मूर्तरूप पायो । अहिले ६४ जनाका लागि आइओएमको प्रिफ्याब छात्रावास ३ महिनाभित्रै सञ्चालनमा आउन सक्ने गरी तयार भएको छ ।५० करोडको लागतमा क्याम्पसको एकेडेमिक भवनको काम सुरु भएको छ । अस्पतालमा आधारित नहुने बेसिक साइन्सका कार्यक्रमहरू त्रिविमा सार्ने गरी काम भइरहेको छ । सम्भवतः मेरै कार्यकालमा आइओएमको एउटा विस्तृत गुरुयोजना बन्छ । अब हामीले अस्पतालको सेवासुधारको काम गर्नुपर्नेछ । हामी अब त्यसमा लाग्छौँ ।

 

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै

मधुमेहले कुन अंगमा के असर गर्छ ?

आज विश्व मधुमेह दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै छ । करिब ९० प्रतिशतमा खराब आचारका कारण मधुमेह लाग्ने चिकित्सकहरुको भनाइ छ । चिकित्सकका अनुसार मधुमेहले असर नगर्ने शरीरको कुनै पनि अंग छैन । यस सन्दर्भमा मधुमेहका प्रमुख असरबारे विभिन्न रोगका विशेषज्ञले व्यक्त गरेका धारणा यसप्रकार छ :

बढीभन्दा कम सुगर जोखिम

बुद्धिबहादुर थापा, हर्मनरोग विशेषज्ञ,पोखरा

सामान्य रूपमा रगतमा चिनीको मात्रा बढेको अवस्थालाई मधुमेह (सुगर) भनिन्छ । मधुमेह अहिले विश्वकै लागि प्रमुख जनस्वस्थ्य समस्याको हो । विश्वभर ४ सय मिलियन मानिस यो रोगबाट पीडित छन् । नेपालमा पनि प्रिभ्यालेन्स दरका आधारमा हेर्दा २० वर्षमाथिका ५ लाख ५२ हजार मानिस यो समस्याबाट ग्रस्त छन् । केही वर्षअघिसम्म नेपालमा मधुमेहको प्रिभ्यालेन्स दर ३.८ प्रतिशत थियो, अहिले ८.४ छ ।

रगतमा सुगरको मात्रा सामान्यतः ८० देखि १०० हुनुपर्छ । सुगर खाएको अवस्थामा २०० भन्दा माथि जानुहुन्न । नखाएको अवस्थामा १४० देखि १९९ सम्म भएमा प्रिडाइबेटिज अवस्था हो । खालीपेटको नमुना परीक्षणमा ११० र १२५ भए पनि मधुमेह भएको मानिन्छ । मधुमेह यस्तो समस्या हो, जसले धेरै जटिलता लिएर आउँछ । अहिले विभिन्न कारणले कम उमेरमै पनि मधुमेह देखिन थालेको छ । सुगर भएका मान्छेलाई बढी सुगरभन्दा कम सुगर बढी जोखिम हुन्छ । ४० भन्दा कम सुगर भएको अवस्थामा बेहोस नै हुने खतरा हुन्छ ।

मधुमेहले कुनै पनि अंगलाई असर गर्न छाड्दैन । तसर्थ, समयमै यसको पहिचान हुनुपर्छ । पहिचान भएपछि खाना, योग, व्यायामबाट यसलाई नियन्त्रण राख्नुपर्छ । मधुमेह भएकाले खानेकुरा सामान्य नै खाने हो । तर, बढी सुगर भएका खानेकुरा भने खान भएन । मिठाइ, चिनी खानुहुँदैन । फलफूलमा केरा, आँप खानुहुँदैन । तरकारी प्रशस्त खाँदा हुन्छ ।

७५ प्रतिशत मधुमेहीको मृत्यु मुटुरोगबाट

डा. श्यामराज रेग्मी, मुटुरोग विशेषज्ञ, चितवन मेडिकल कलेज

मधुमेहले सबैभन्दा जटिल असर मुटुमा गर्छ । मधुमेहका कारण हुने मृत्युको ७५ प्रतिशत मुटुसम्बन्धी रोगबाटै हुन्छ । मधुमेहले सबैभन्दा बढी असर मुटुका धमनीमा गर्छ । धमनीहरूमा बोसो जमाउँछ र जसले हृदयाघातको जोखिम बढाउँछ । मधुमेहसँगै उच्च रक्तचाप, कोलेस्टेरोलको समस्या पनि थपिने सम्भावना बढी हुँदा जोखिम पनि गुणात्मक रूपमा बढ्छ ।

मैले आफ्नो चिकित्सा जीवनमा २६ वर्षको युवामा समेत स्टेन्ट प्रत्यारोपण गरेको छु । महिलामा पनि कम उमेरमै मुटुरोगका जटिलता देखिन थालेका छन् । मधुमेही पुरुषलाई अन्य पुरुषको तुलनामा हृदयाघातको सम्भावना ५० प्रतिशत र महिलामा ३०० प्रतिशत बढी हुन्छ ।
मैले आफूले एन्जियोप्लास्टी गरेका बिरामी संख्याको विश्लेषण गरेर हेर्दा पनि ६० प्रतिशतभन्दा बढी मधुमेहीको एकभन्दा बढी धमनीमा समस्या छ । मुटुमा मुख्यगरी तीनवटा नसा हुन्छन् । ती नसा थुनिएको अवस्थामा स्टेन्ट (जाली) हाल्नुपर्छ । मधुमेहले नसालाई यति असर गरेको हुन्छ कि, मधुमेहीमा जाली हाल्न पनि निकै जटिल हुन्छ । हालिसके पनि परिणाम राम्रो निस्किँदैन । कम्तीमा रोग नै नलागोस् भन्नेतिर लाग्ने र लागिसकेको छ भने मुटु, मिर्गौलाको नियमित परीक्षण गर्नुपर्छ । कम्तीमा डेढ–दुई वर्षमा मुटुको परीक्षण गरिरहनुपर्छ । यति गरे मात्रै बिरामीको जीवन जीवनको गुणस्तर पनि लम्ब्याउन सकिन्छ ।

गर्भावस्थामा मधुमेह भए पछिसमेत हुन सक्छ

डा. सुनीलमणि पोखरेल, स्त्री तथा प्रसूतिरोग विशेषज्ञ, भरतपुर अस्पताल

गर्भावस्था र मधुमेह निकै अन्तरसम्बन्धित छन् । मधुमेह ३ प्रकारका हुन्छन् । टाइप–१, टाइप–२ र तेस्रो टाइप भनेको गर्भवती अवस्थामा हुने मधुमेह जेस्टेसनल डाइबेटिज हो । पहिले नै सुगर भएकी महिलाको सुरुमा मधुमेह व्यवस्थापन नगरी गर्भवती भएमा त्यसको व्यवस्थापन जटिल हुन्छ ।
गर्भवती हुनुभन्दाअघि नै मधुमेहको जाँच गरेर यदि मधुमेह देखिएमा बहुविशेषज्ञ जाँच गरेर गर्भ रहन दिएमा राम्रो नतिजा दिन सकिन्छ । मधुमेह छ भने उच्च रक्तचाप हुने, बच्चाको पेटमै मृत्यु हुने, गर्भपतन हुने जोखिम पनि रहन्छ । परिवारमा पहिल्यै सुगर भएका, पहिलो बच्चा ठूलो भएर डेलिभरी गरेका महिलामा दोस्रो गर्भावस्थामा मधुमेह हुने जोखिम बढी हुन्छ ।

सबै महिलामा जुनसुकै महिना मधुमेह देखिन सक्ने भएकाले महिलालाई प्रत्येक महिना ५० ग्राम सुगर दिएर जाँच गरिन्छ । मधुमेह भइहालेमा यसले जोखिम लिएर आउँछ । गर्भवती अवस्थामा मात्रै देखिने मधुमेह धेरैमा पछि नियन्त्रण भएर जाने भए पनि जीवनकालमा मधुमेह हुने जोखिम भने यस्ता महिलामा अरूमा भन्दा ५० प्रतिशत बढी हुन्छ । खानामा सन्तुलन, व्यायाम र तनाव नियन्त्रण गरे सुगर घटाउन सकिन्छ ।

नसा प्रणालीको दुस्मन

डा. जगदीशप्रसाद अग्रवाल, नसारोग विशेषज्ञ

मनिसका शरीमा दुईखाले नसा हुन्छन्– रक्तसञ्चार गर्ने नसा र चेतना सञ्चार गर्ने नसा ।
दुवै नसाका आ–आफ्नै प्रणाली हुन्छन् । चेतना सञ्चार गर्ने प्रणालीमा ब्रेन, मेरुदण्डदेखि खुट्टासम्म जोडिएको हुन्छ । सुँघ्ने, नानी चलाउने यस प्रणालीका उदाहरण हुन् । मधुमेह नसा प्रणालीको दुस्मन हो । यसले धमिराले काठ भित्रभित्रै सिध्याएजसरी नै सबै अंगलाई सिध्याउँछ ।

यो एकप्रकारको दुस्मन हो । यसलाई नियन्त्रणमा राख्नुपर्छ । खासै ठूलो लक्षण देखिन्न, तर पनि डाइबेजिट हुँदा हातखुट्टा झम्झमाउनु कमन लक्षण हो । मधुमेहले मस्तिष्काघात, पक्षाघात, अपांगतासमेत गराउँछ । मधुमेह छ भने, शल्यक्रिया गर्दा संक्रमणको जोखिम हुन्छ । यसले ब्रेनमा पानी जम्मा गराएर बेहोस बनाउँछ । विस्मृति पनि ल्याउँछ । मधुमेह रोगभन्दा पनि लक्षण हो, जसलाई सन्तुलिन राख्न सक्यो, नियन्त्रणमा राख्न सक्यो भने स्वस्थ जीवनशैली अपनाउन सकिन्छ, अन्यथा मृत्युको कारक बन्छ ।

बारम्बार संक्रमण हुँदा क्यान्सरको जोखिम

डा.मदन पिया क्यान्सर रोग विशेषज्ञ

डाइबेटिजले क्यान्सर गर्छ भन्ने प्रमाणित भइसकेको छैन, तर पनि यसको क्यान्सरसँग सम्बन्ध छ । स्वास्थ्यसम्बन्धी सूचना प्रणाली राम्रो भएका देशहरूको तथ्यांक हेर्दा मधुमेह भएकामध्ये २७ प्रतिशत महिलालाई क्यान्सर भएको छ । त्यस्तै, मधुमेह भएका पुरुषमा १९ प्रतिशतलाई क्यान्सर भएको छ ।

मानिसका विभिन्न अंगमा क्यान्सर हुन्छ । उमेर ढल्किँदै जाँदा क्यान्सरको जोखिम बढी हुन्छ । मधुमेहमा पनि बारम्बार संक्रमण हुँदा क्यान्सरको जोखिम हुन सक्छ । मधुमेहले डिएनए चाँडै ड्यामेज गर्ने हुनाले पनि क्यान्सरको जोखिम बढी हुन्छ ।

नियमित परीक्षण गरेर मिर्गौला फेल हुने जोखिम घटाउन सकिन्छ

डा. अरुण सेढाईं, मिर्गौलारोग विशेषज्ञ, चितवन मेडिकल कलेज

मिर्गौला शरीरमा उत्सर्जन हुने विकारजन्य पदार्थलाई छानेर फाल्ने अंग हो । शरीरमा यसको ठूलो भूमिका छ । जनसंख्याको ८.४ प्रतिशतलाई मधुमेह छ भन्ने तथ्यांक छ । दीर्घ रुपमा मिर्गौला रोग लागेका ४२-४३ लाखमध्ये ६ लाखलाई मधुमेहका कारण मिर्गौलारोग लागेको अनुमान छ । मधुमेहजस्तै मिर्गौला रोगको पनि सुरुमा लक्षण हुन्न । बढी पिसाब लाग्ने, निद्रा नलाग्ने, जिउ सुन्निँदै आउने समस्या हुन्छन् । पहिला मिर्गौलाले पिसाबमा प्रोटिन फाल्छ । पहिलो उपाय पिसाब जाँच नै हो । मधुमेहीले त तीन–चार महिनामा एकपटक पिसाब जाँच्नैपर्छ । वर्षको एकपटक क्रिएटिन जाँच्नुपर्छ ।

समयमै बिग्रन लागेको पत्ता लाग्यो भने मिर्गौलाले कामै नगर्ने अवस्था छिट्टै आउनबाट रोकेर केही वर्ष लम्ब्याउन सक्छौँ । ३ वर्षमा फेल हुनेलाई १५ वर्ष लम्ब्याउन सकिन्छ । अहिले पनि हामी धेरैमा मधुमेहको औषधि खान नपरे हुन्थ्यो भन्ने सोच देखिन्छ । औषधि खाए पनि इन्सुलिन लिन नपरे हुन्थ्यो भन्ने धारणा पाउँछु । सुरुमा औषधि दिनुपर्छ । औषधिले प्याङक्रियाजलाई निचोरेर इन्सुलिन निकाल्छ । कुनै वेला यस्तो आउँछ, प्याङक्रियाजबाट इन्सुलिन निकाल्न छाड्छ, त्यसपछि इन्सुलिन नै दिनुपर्छ ।

(कात्तिक १७ गते चितवनमा आयोजित लायन्स स्वास्थ्य दर्पण मधुमेह विशेष टेलिभिजन कार्यक्रमका अवसरमा व्यक्त विचारको सम्पादिन अंश)

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै