डा. बास्तोलाको सुझाब : डेंगुका बिरामीको उपचारमा एन्टिबायोटिक र पेनकिलरको प्रयोग नगर्नुहोस्

डाक्टर : कहाँबाट आउनुभयो ? के भयो ?
बिरामी : यहीँ डल्लुबाट । एक साता भयो, ज्वरो आएको छ, आँखाको नानी दुख्छ, शरीर पूरै करकरी दुख्छ, टाउको फुल्टाजसरी दुखिरहन्छ ।’
डाक्टर : औषधिको प्रयोग गर्नुभएको छ ?
बिरामी : छ, डाक्टर सा’ब । यही हो औषधि मेडिकलबाट दिनुभएको, खाइरहेको छु, तर सन्चो भएन ।
डाक्टर : ओहो ! एन्टिबायोटिक, पेनकिलर पो खानुभएको रहेछ ! तपाईंलाई डेंगु भएको हो । आँखाका नानी दुख्नु, शरीर दुख्नु, टाउको बेसरी दुख्नु डेंगुका लक्षण हुन् । डेंगु हुँदा एन्टिबायोटिक, पेनकिलर खानुपर्दैन । बस, घरमा बसेर झोलिलो कुरा र सिटामोल खानुहोस्, बिस्तारै सन्चो हुँदै जान्छ ।

सोमबार बिहान टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालका प्रमुख कन्सल्टेन्ट सरुवारोग विशेषज्ञ डा. अनुप बास्तोलाले उपचारका लागि आएका एक बिरामीसित गरेको संवाद हो यो ।

श्रीमान्लाई ज्वरो आएपछि गत साता काठमाडौंको स्वयम्भूनजिक डल्लु बस्ने रीता भुजेलले घरनजिकैको एक मेडिकलमा जाँच गराइन् । क्लिनिकमा स्वास्थ्य परीक्षण गराएपछि त्यहाँ उनलाई झोलाभरि एन्टिबोयोटिक, पेनकिलरजस्ता औषधि दिएर पठाए । मेडिकलमा दिइएको एन्टिबोयोटिक, पेनकिलर खाएपछि पनि ठिक नभएर उनी सोमबार बिहानै श्रीमान्लाई टेकु अस्पताल आएकी थिइन् ।

डेंगु संक्रमित बिरामी यति पुगे, यतिको मृत्यु भयो भनेर गनेर मात्र बस्यौँ । यसको रोकथामका लागि व्यवहार परिवर्तन हुनु आवश्यक रहेको डा. बास्तोलाको बुझाइ छ । उनका अनुसार लामखुट्टेको टोकाइबाट कसरी बच्ने भन्ने जानकारी आममानिसमा हुनु जरुरी छ ।

यी मात्र होइनन्, ज्वरो आउँदा एन्टिबायोटिक खाएर ठिक नभएपछि डेंगुको आशंकामा टेकु अस्पताल आउने बिरामी सयौँको संख्यामा छन् । देशभर डेंगुले महामारीको रूप लिइरहँदा उपचारसमेत कतै अलमलिन पुगेको छ । बिरामीमा मात्र होइन, स्वास्थ्यकर्मीमा समेत डेंगुरोग र त्यसको उपचारबारे चेतनामा कहीँ–कतै कमी भएझैँ देखिएको छ, जसका कारण सर्वसाधारण बिरामी सामान्य प्यारासिटामोल झोलिलो पदार्थको सेवन गरेर आराम गरेमा निको हुने डेंगुका लागि अनावश्यक एन्टिबायोटिक र पेनकिलरको सेवनबाट शरीरलाई थप हानि पुर्याउन बाध्य छन् ।

डेंगुमा एन्टिबायोटिक, पेनकिलर तथा फ्लेक्सन सेवनले आन्द्रामा असर
डेंगु संक्रमितले एन्टिबोयोटिक खानुपर्दैन, तर धेरै क्लिनिक तथा मेडिकलमा परीक्षण गराएका बिरामीलाई चिकित्सक, स्वास्थ्यकर्मी तथा फार्मेसी सञ्चालक स्वयंले पनि एन्टिबोयोटिक, पेनकिलरजस्ता अनाश्वयक औषधि सेवन गराइरहेको डा. बास्तोला बताउँछन् । ‘सामान्यतया डेंगु भएका बिरामीलाई प्रशस्त पानी पिएर आराम गर्दा सामान्य प्यारासिटामोलको सेवनले नै रोग ठिक हुन्छ,’ बास्तोला भन्छन्, ‘डेंगु लागेका बिरामीले फ्लेक्सन, एन्टिबोयोटिक, पेनकिलर सेवन नगर्नु नै बुद्धिमानी हुन्छ, किनकि फ्लेक्सन खाँदा आन्द्रा सुन्निने, रगतमा प्लेटलेट कम भएका वेला रगत बग्न सक्नेजस्ता जोखिम निम्तिन सक्छन् ।’

९३ प्रतिशतमा अनावश्यक एन्टिबायोटिकको प्रयोग
‘डेंगुमा एन्टिबायोटिक चलाउने विभिन्न आधार हुन्छन्– वृद्ध अवस्थाको बिरामी छ, डेंगुका लक्षण भयानक रूपमा देखिएका छन्, ७ दिनभन्दा बढी ज्वरो आएको छ, सोडियम घटेर गएको छ, डेंगुका साधारणभन्दा जटिलखालका लक्षण देखिएका छन् भने त्यस्तो अवस्थामा मात्र एन्टिबायोटिक्स चलाउनुपर्ने हुन्छ,’ डा. बास्तोला भन्छन्, ‘तर, डेंगु ज्वरो आएका प्रत्येक बिरामीलाई चिकित्सकले अनावश्यक रूपमा एन्टिबायोटिक चलाएको पाइन्छ । हामीले ९३ प्रतिशतलाई अनावश्यक रूपमा एन्टिबायोटिक चलाइरहेको अनुसन्धानले देखाएको छ ।’

डेंगु ज्वरो सामान्य ज्वरो हो । यसमा दुखाइ धेरै हुने गर्छ । यसको व्यवस्थापन सामान्य झोल कुरा तथा सिटामोल खाएर गर्न सकिन्छ । डेंगु हुँदा देखिने समान्य लक्षणमा ज्वरो आउने, आँखाको नानी दुख्ने, शरीरमा स–साना डाबर आउने, खाना नरुच्ने, जोर्नी तथा मांसपेशीहरू दुख्ने, पेटमा गडबडी हुने गर्छन् । केही व्यक्तिमा भने जटिलखाले लक्षणसमेत देखिने गर्छन् ।

एडिस जातको पोथी लामखुट्टेको टोकाइबाट सर्ने डेंगु रोग अहिले ५६ भन्दा बढी जिल्लामा फैलिएको छ । एकपटक लामखुट्टे संक्रमित भएपछि त्यसबाट संक्रमित भएका लामखुट्टेले टोक्दा डेंगुका बिरामी बढ्दै गएको डा. बास्तोलाको भनाइ छ ।  विशेषगरी, डेंगु सार्ने लामखुट्टेले सफा पानी जमेको स्थानमा फुल पार्ने गर्छ । प्रायः वर्षाको पानी जम्ने जथाभावी फालेका बोतल, टिनका भाँडा, थोत्रो टायर, अलकत्रा वा मट्टितेलका खाली ड्रमहरू, गमला, पानीका ट्ंयाकी आदिमा यसले फुल पार्छ । सहरी क्षेत्रमा यस्ता वस्तुहरू थुप्रै हुने भएकाले पनि सहरमा बढी लामखुट्टे देखिने गर्छन् ।

डेंगुका सामान्य तथा जटिल लक्षण
डेंगु ज्वरो सामान्य ज्वरो हो । यसमा दुखाइ धेरै हुने गर्छ । यसको व्यवस्थापन सामान्य झोल कुरा तथा सिटामोल खाएर गर्न सकिन्छ । डेंगु हुँदा देखिने समान्य लक्षणमा ज्वरो आउने, आँखाको नानी दुख्ने, शरीरमा स–साना डाबर आउने, खाना नरुच्ने, जोर्नी तथा मांसपेशीहरू दुख्ने, पेटमा गडबडी हुने गर्छन् । केही व्यक्तिमा भने जटिलखाले लक्षणसमेत देखिने गर्छन् । यदि बिरामीलाई उल्टी हुने, गिजाबाट रगत आउने, श्वासप्रश्वासमा समस्या हुने, कालो रङको दिसा आउने, उल्टी हुँदा रगत देखिने, बिरामी मूच्र्छा हुने भयो भने चिकित्सकको सल्लाहअनुसार स्वास्थ्यसंस्थामा भर्ना हुनेपर्ने डा. बास्तोला बताउँछन् ।

बच्ने उपाय : व्यवहार परिवर्तन
डेंगु संक्रमित बिरामी यति पुगे, यतिको मृत्यु भयो भनेर गनेर मात्र बस्यौँ । यसको रोकथामका लागि व्यवहार परिवर्तन हुनु आवश्यक रहेको डा. बास्तोलाको बुझाइ छ । उनका अनुसार लामखुट्टेको टोकाइबाट कसरी बच्ने भन्ने जानकारी आममानिसमा हुनु जरुरी छ । ‘बाहिर निस्कँदा शरीर ढाक्ने कपडा लगाएर निस्कने, घरका झ्यालढोकामा जाली हाल्ने, दिउँसो सुत्दा झुल हाल्नेजस्ता पक्षलाई व्यवहारमा उतार्नुपर्छ,’ डा. बास्तोला भन्छन्, ‘तर, हामी डेंगुका केस कति आए भनेर दौडिरहेका छौँ, डेंगु सार्ने लामखुट्टेको अन्त्यका लागि कमै मात्र लागेका छौँ । खोइ ‘खोज र नष्ट गर’ अभियानलाई व्यवहारमा उतारेको ? त्यसबारे जनमानसमा पर्याप्त सूचना दिनु जरुरी छ ।’

लामखुट्टेको लार्भा यस्तो हुन्छ, त्यसलाई यसरी खोजेर नष्ट गर्नुपर्छ भन्ने जानकारी दिनुपर्ने डा. बास्तोला बताउँछन् । ‘खोज र नष्ट गर अभियानलाई महाअभियानका रूपमा निरन्तर चलाउनुपर्छ,’ बास्तोला भन्छन्, ‘जसरी वाग्मतीबाट फोहोर निकालेर सफा गरियो, त्यसैगरी घर–घरबाट डेंगुका लार्भाको वासस्थान खोजेर नष्ट गर्नु जरुरी छ ।’

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै

नियन्त्रणबाहिर डेंगु, निरीह सरकारी संयन्त्र

मुलुकका ५६ जिल्लालाई आक्रान्त बनाइसकेको डेंगुको संक्रमण फैलिनेक्रम जारी छ । सरकारी अस्पतालमा उपचारका लागि आउने बिरामीको संख्या मात्र हेर्दा पनि साउनयता ५ हजार ९५ जना डेंगुको चपेटामा आइसकेका छन् । तीमध्ये ६ जनाको मृत्यु भइसकेको अवस्था सरकारी तथ्यांक छ । डेंगुले महामारीको रूप लिँदा पनि जिम्मेवार निकाय स्वास्थ्य तथा जनसंख्या मन्त्रालय मूकदर्शक बनेर बसिरहेको अवस्था छ । सरकारका जिम्मेवार मन्त्रीदेखि रोगनियन्त्रण महाशाखाको नेतृत्वमा रहेका कर्मचारीहरू समस्या समधानमा प्रभावकारी कदम चाल्नुको साटो हात उठाएर संक्रमितको संख्या गनेर बसेका छन् ।

करिब ४ महिनादेखि फैलिएको डेंगुको संक्रमण सरकारको काबुबाहिर गएको घोषणा गर्न मन्त्रालयलाई कुनै हिचकिचाहट छैन । डेंगु नियन्त्रणमा तीनै तहका सरकारका सबैखाले प्रयास प्रभावहीन बनेपछि सरकार लाचार देखिएको हो । सरकारहरूबीच तालमेल नहुनाले समस्या जटिल बन्दै गएको सरकारी अधिकारीहरू नै बताउँदै आएका छन् । डेंगु नियन्त्रणको एक मात्र अस्त्रका रूपमा रहेको ‘खोज तथा नष्ट अभियान’लाई प्रभावकारी रूपमा सञ्चालन गर्न र समाजका सबै वर्गमा सचेतना पुर्याउन सरकार विफलसिद्ध भएको छ । परिणामस्वरूप मन्त्रीदेखि सर्वसाधारणसम्म डेंगुको त्रासमा दिन बिताउन बाध्य छन् ।

विभिन्न अनुसन्धानले डेंगु समुद्री सतहदेखि २ हजार १ सय मिटरसम्मको स्थानमा फैलिन सक्ने देखाएको छ । यसबाट के प्रस्ट हुन्छ भने अझै पनि पहाडी जिल्लाहरूमा डेंगुको संक्रमण बढ्दै जाने निश्चित छ । हालसम्म इपिडिमियोलोजी तथा रोगनियन्त्रण महाशाखाले उपलब्ध गराएको तथ्यांकअनुसार सिन्धुपाल्चोकमा १, सुनसरीमा १, चितवनमा १, काठमाडौंमा २ र डोटीमा १ गरी ६ जनाले डेंगुका कारण ज्यान गुमाइसकेका छन् ।

टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालका सरुवारोग विशेषज्ञ डा. अनुप बास्तोला डेंगु रोग नियन्त्रणका लागि ‘खोज र नष्ट अभियान’लाई महाअभियानका रूपमा चलाउनुपर्ने बताउँछन् । ‘हामी स्वास्थकर्मी तथा अन्य जिम्मेवार व्यक्तित्वहरू डेंगु संक्रमितको संख्या गनेर बस्यौँ,’ डा. बास्तोला भन्छन्, ‘डेंगु नियन्त्रणका लागि व्यवहार परिवर्तन गर्नु आवश्यक छ, अर्को कुनै विकल्प छैन ।’

सरुवारोग अस्पतालमा परीक्षण गराउनेको भिड, २४ दिनमा २ हजारभन्दा बढीमा भटियो संक्रमण

टेकु अस्पतालमा डेंगु परीक्षण गराउनेको भिड दिनानुदिन बढ्दै गएको छ । १ भदौदेखि बुधबारसम्मको तथ्यांकलाई हेर्दा ३ हजार ६ सय ५४ जनामा परीक्षण गरिएकोमा २ हजारभन्दा बढीमा डेंगु पोजेटिभ देखिएको अस्पतालका सूचना अधिकारी रूपनारायण खतिवडा बताउँछन् ।

अस्पतालको पछिल्ला चार दिनको तथ्यांक हेर्ने हो भने डेंगुका बिरामी बढ्दै गएको पाइन्छ । २१ भदौ (शनिबार) ३ सय ९६ जनामा परीक्षण गरिएकोमा १ सय ४४ जनामा डेंगु प्रमाणित भएको थियो । त्यस्तै, आइतबार ३ सय ६३ परीक्षण गरिएकोमा १ सय ९४ मा संक्रमण पाइएको थियो । सोमबार ४ सय ४६ मा परीक्षण गरिएकोमा ३ सय ११ मा डेंगु प्रमाणित भएको थियो । त्यसैगरी मंगलबार ५ सय ४६ जनामा परीक्षण गरिएकोमा २ सय २५ मा डेंगु संक्रमण पाइएको थियो । बुधबारको रिपोर्ट भने आउन बाँकी नै रहेको अस्पतालले जनाएको छ ।

टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालका सरुवारोग विशेषज्ञ डा. अनुप बास्तोला डेंगु रोग नियन्त्रणका लागि ‘खोज र नष्ट अभियान’लाई महाअभियानका रूपमा चलाउनुपर्ने बताउँछन् । ‘हामी स्वास्थकर्मी तथा अन्य जिम्मेवार व्यक्तित्वहरू डेंगु संक्रमितको संख्या गनेर बस्यौँ,’ डा. बास्तोला भन्छन्, ‘डेंगु नियन्त्रणका लागि व्यवहार परिवर्तन गर्नु आवश्यक छ, अर्को कुनै विकल्प छैन ।’

साउनयता डेंगु संक्रमणको प्रदेशगत विवरण
प्रदेश १ : ८३१
प्रदेश २ : ३९
प्रदेश ३ : ३१२६
गण्डकी प्रदेश : ९७२
प्रदेश ५ : ९७
कर्णाली प्रदेश : ३
सुदूरपश्चिम प्रदेश : २७
मृत्यु संख्या : ६

सुरुवातमा प्रदेश १ मा फैलिएको डेंगु पछिल्ला २ सातादेखि प्रदेश ३ मा महामारीको रूपमा अस्वाभाविक रूपमा फैलिएको छ । राजधानीसहित प्रदेश ३ का जिल्लाहरूमा पछिल्ला दिनहरूमा प्रतिदिन संक्रमण गुणोत्तर श्रेणीमा बढिरहेको तथ्यांक छ । निजी स्वास्थ्यसंस्थामा उपचार गराउनेको तथ्यांकलाई समेत जोड्ने हो भने डेंगुले विकराल रूप लिइसकेको विशेषज्ञहरूको भनाइ छ ।

शरीरका कुनै पनि भागबाट रक्तस्राव बढी हुने, रक्तचाप कम हुने र रगतमा प्लेटलेट्स कम भयो भने खटिरा धेरै आउने लक्षणहरू देखिएमा यी असाधारण लक्षण हुन् र यो अवस्थालाई जटिल मानिन्छ । यसको निर्मूल गर्ने उपचार भने हुँदैन, लक्षणअनुसारको उपचार मात्र हुन्छ । सँगसँगै यसले अरू रोगसँग लड्न सक्ने क्षमतालाई पनि कम गरिदिन्छ, जसले गर्दा अरू रोगले यदि आक्रमण गरेमा झन्–झन् जटिल बन्दै जान्छ ।

डेंगु के हो ?
डेंगु भनेको भाइरल इन्फेक्सन हो । यो एडिज लामखुट्ठेको टोकाइबाट सर्छ । एडिज लामखुट्टे भनेको एक प्रजातिको लामखुट्टे हो जुन प्रायः कृत्रिम भण्डारण गरेर राखेको फ्रेस पानीमा बस्छ र यसले प्रायः दिनमा टोक्ने गर्छ । डेंगु विभिन्न प्रकारका हुन्छन् । साधारणतया सबै डेंगु खतरनाक हुँदैनन् । डेंगु कुनै साधारण लक्षण देखिएर पनि हुन्छ भने कुनै असाधारण लक्षण देखाएर पनि हुन्छ ।

यो रोग लागेका ९७ प्रतिशतलाई सामान्य ज्वरोका रूपमा लक्षण देखिन्छ । यो साधारण लक्षण हो । शरीरका कुनै पनि भागबाट रक्तस्राव बढी हुने, रक्तचाप कम हुने र रगतमा प्लेटलेट्स कम भयो भने खटिरा धेरै आउने लक्षणहरू देखिएमा यी असाधारण लक्षण हुन् र यो अवस्थालाई जटिल मानिन्छ । यसको निर्मूल गर्ने उपचार भने हुँदैन, लक्षणअनुसारको उपचार मात्र हुन्छ । सँगसँगै यसले अरू रोगसँग लड्न सक्ने क्षमतालाई पनि कम गरिदिन्छ, जसले गर्दा अरू रोगले यदि आक्रमण गरेमा झन्–झन् जटिल बन्दै जान्छ ।

डेंगुका लक्षण के हुन् ?
साधारण लक्षण
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ–२००९)का अनुसार डेंगु विदाउट साइन (लक्षणविनाको डेंगु)मा एकदमै बढी ज्वरो (१०२ डिग्री) आउँछ । यसका ५ देखि ७ दिनसम्म जिउ एकदमै दुख्ने, टाउको दुख्ने, पेट दुख्ने, वाकवाकी लाग्ने, आँखामुनि दुख्नेजस्ता साधारण लक्षण हुन् ।
असाधारण लक्षण
खटिरा आउने, रक्तस्राव बढी हुने, बान्ता हुने, शरीरमा प्लेटलेट्सको संख्या कम भएमा रक्तनलीहरूबाट रगत शरीरका अन्य तन्तुमा जाने भएकाले शरीरमा डाबर आउने, बिरामी सिकिस्त हुने, पिसाब कम हुने, रक्तचाप निकै कम हुने हुन्छन् । अधिकांश रोगी सामान्य उपचारपछि निको हुने भए पनि वेलैमा उपचार नगरेमा मानिसको ज्यानै जान सक्छ ।

डेंगुबाट बच्न यी उपाय अपनाउनुहोस् ।

– लामखुट्टेको टोकाइबाट बच्नुपर्छ ।
– घरवरपर पानी जम्ने खाल्डाखुल्डी पुर्नुपर्छ ।
– घरनजिक कुनै पनि किसिमका झाडी राख्नुहुँदैन ।
– लामखुट्टेको टोकाइबाट बच्न झुलको प्रयोग गर्ने वा लामखुट्टेको धूप वा क्रिम प्रयोग गर्नुपर्छ ।
– झ्याल–ढोकामा जाली राख्नुपर्छ ।
– शरीर पूरै ढाक्ने कपडा लगाउनुपर्छ ।
– सरसफाइमा ध्यान दिनुपर्छ ।
– आफ्नो घरवरिपिर मात्र नभई समुदाय, समाजलाई पनि सफासुग्घर राख्न मद्दत गर्नुपर्छ ।

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै