दक्षिणपूर्वी एसियामा हेपाटाइटिस बी नियन्त्रण गर्ने पहिलो राष्ट्र बन्यो नेपाल, स्वास्थ्यमन्त्रीले थापे डब्लुएचओको प्रशंसापत्र

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले नेपाललाई सार्वजनिक स्वास्थ्यमा उपलब्धि हासिल गरेबापत प्रशंसापत्रबाट सम्मान गरेको छ । हेपाटाइटिस बीको नियन्त्रणमा सफलता हासिल गरेबापत डब्लुएचओले नेपाललाई सधन्यवाद सम्मान गरेको हो । डब्लुएचओको दक्षिणपूर्वी एसिया क्षेत्रीय कमिटीको ७२औँ सेसनमा उपप्रधान एवम् स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले प्रशंसापत्र ग्रहण गरे । यससँगै नेपाल दक्षिणपूर्वी एसिया क्षेत्रमा हेपाटाइटिस बीमाथि नियन्त्रण प्राप्त गर्ने पहिलो मुलुक बनेको छ । नेपालसहित यस क्षेत्रका अन्य ३ मुलुक पनि हेपाटाइटिस बी नियन्त्रणमा पहिलो बनेका छन् ।

नेपालसहित हेपाटाइटिस बीको नियन्त्रणमा सफलता हात पार्ने दक्षिणपूर्वी एसिया क्षेत्रका ४ देश मंगलबार भारतको नयाँदिल्लीमा डब्लुएचओबाट सम्मानित भएका हुन् । नयाँदिल्लीस्थित डब्लुएचओको दक्षिणपूर्वी एसिया हेर्ने एसइएआर कार्यालयमा बसेको क्षेत्रीय बैठकले नेपाल, भुटान, थाइल्यान्ड र बंगलादेशलाई हेपाटाइटिस बीको नियन्त्रणमा सफलता हासिल गरेबापत प्रशंसापत्र प्रदान गरेको हो । यी चारै देश दक्षिणपूर्वी एसियामा हेपाटाइटिस बी नियन्त्रण गर्ने पहिलो देश बन्न सफल भएको डब्लुएचओले जनाएको छ । उल्लेखित देशले ५ वर्षभित्रका बालबालिकामा हेपाटाइटिस बीको संक्रमण १ प्रतिशतभन्दा कममा झारेको र त्यसमार्फत क्रोनिक इन्फेक्सन र लिभर क्यान्सरका कारणहरुलाई न्यूनीकरण गरेको डब्लुएचओले जनाएको छ ।

डब्लुएचओको क्षेत्रीय बैठकले आमाबाट बच्चामा सर्ने एचआइभी र सिफिलिस उन्मूलन गरेबापत माल्दिभ्सलाई प्रशंसापत्रद्वारा सम्मान गरेको छ । त्यसैगरी, डब्लुएचओले दादुरा उन्मूलन गरेबापत श्रीलंकालाई पनि सम्मान गरेको छ । डब्लुएचओले आफ्ना सदस्य राष्ट्रहरुलाई स्वास्थ्यका विभिन्न क्षेत्रमा गरेको प्रगतिबापत यसरी सम्मानित गर्न थालेको यो चौथो वर्ष हो ।

नेपालले हेपाटाइटिस बीमाथि नियन्त्रण पाउनुमा सरकारले चलाएको यसविरुद्धको खोप कार्यक्रमको सफलतालाई नै मुख्य रुपमा लिइएको छ । नेपालले यसअघि पनि डब्लुएचओबाट विभिन्न रोगमाथि पाएको नियन्त्रण तथा उन्मूलनका लागि प्रशंसा तथा सम्मान पाइसकेको छ । पोलियो उन्मूलन, मातृशिशु मृत्युदर न्यूनीकरण, रुबेला नियन्त्रण, धनुष्टंकार उन्मूलनलगायतमा पाएका सफलताका लागि डब्लुएचओले नेपाललाई धन्यवादसहित प्रमाणपत्र दिइसकेको छ ।

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै

तिलगंगाले २५औँ वर्षगाँठमा पायो डब्लुएचओको मान्यता, ४ लाख शल्यक्रियासहित ६० लाख आँखारोगीको उपचार

नेपालको मात्र नभएर छिमेकी मुलुकहरूका बिरामीमाझसमेत आँखा उपचारको केन्द्रका रूपमा ख्याति आर्जन गर्न सफल तिलगंगा आँखा अस्पतालले विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)को मान्यता पाएको छ । अस्पतालले आँखा उपचारको क्षेत्रमा पुर्याएको गुणस्तरीय सेवाको कदर गर्दै डब्लुएचओले तिलगंगालाई आफ्नो समन्वय केन्द्रका रूपमा सोमबार मान्यता दिएको हो ।

स्थापनाको २५औँ वर्ष प्रवेशका अवसरमा अस्पतालले सोमबार काठमाडौंमा आयोजना गरेको वार्षिकोत्सव समारोहका बीच प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा डब्लुएचओले तिलगंगालाई आफ्नो समन्वय केन्द्रको मान्यता दिएको घोषणा गर्यो । डब्लुएओका अनुसार अस्पतालले आँखा स्वास्थ्यसेवा, लेन्सको उत्पादन र अनुसन्धानको क्षेत्रमा पुर्याएको उल्लेख्य योगदानको कदरस्वरूप समन्वय केन्द्रको मान्यता दिइएको हो ।

वार्षिकोत्सव तथा डब्लुएचओ मान्यता घोषणा समारोहमा प्रधानमन्त्री ओलीले अस्पतालले आँखा उपचारको क्षेत्रमा असाधारण काम गरेको बताए । अस्पतालले मुलुकको समृद्धिको अभियानमा समेत महत्त्वपूर्ण योगदान पुर्याएको जनाउँदै प्रधानमन्त्री ओलीले अस्पतालका कार्यकारी निर्देशक डा. सन्दुक रुइतसहितको टिमले आँखा उपचारको क्षेत्रमा पुर्याएको योगदानको मुक्तकण्ठले प्रशंसा गरे । अस्पतालको विकासका लागि आवश्यक जस्तोसुकै सहयोग गर्न सरकार सदैव तयार रहेको प्रधानमन्त्री ओलीको भनाइ थियो ।

कार्यक्रममा उपप्रधान एवम् स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले आँखा स्वास्थ्यसेवालाई अनुगमन गर्न मन्त्रालयमा छुट्टै आँखा एकाइको व्यवस्था गर्ने घोषणा गरे । आँखा स्वास्थ्यसेवालाई अन्य सेवासँगै जोडेर अघि बढाउने गरी सरकारले स्वास्थ्य नीति ल्याएको मन्त्री यादवको भनाइ थियो ।

कार्यक्रममा अस्पतालका कार्यकारी निर्देशक डा. रुइतले अस्पतालले हालसम्म ६० लाख आँखारोगीको उपचार गरेको गरिसकेको जानकारी दिए । अस्पतालले २५ वर्षदेखि आँखा उपचारको क्षेत्रमा पुर्याएको योगदानको स्मरण गर्दै डा. रुइतले अस्पतालको कार्यप्रगति विवरण प्रस्तुत गरे । उनका अनुसार अस्पतालले हालसम्म ४ लाखभन्दा बढी आँखाको शल्यक्रिया गरिसकेको छ ।

तिलगंगाले उत्पादन गरेको लेन्स नेपालमा मात्र नभएर विश्वका ७० भन्दा बढी मुलुकमा निर्यात हुँदै आएको छ । ३५ लाखभन्दा बढी नेपालीले स्वदेशमै उत्पादित कृत्रिम लेन्सबाट उज्यालो देख्न पाएका छन् । तिलगंगामा उत्पादित लेन्स विश्वमै सस्तो र गुणस्तरीय भएका कारण यसको माग दिनप्रतिदिन बढ्दो छ । लेन्स उत्पादनको नेतृत्वकर्ता वर्तमान निर्देशक डा. रुइत आँखा उपचारको क्षेत्रमा पुर्याएको अमूल्य योगदानबापत सुप्रसिद्ध म्यागासिसी पुरस्कारबाट सम्मानित समेत भएका छन् ।

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै

खाद्यजन्य रोगबाट बर्सेनि ६० करोड मानिस प्रभावित

पछिल्लो समय नेपालका लागि मात्र नभएर विश्वभर नै खाद्य सुरक्षा चुनौतीपूर्ण बन्दै गएको छ । शुक्रबार (७ जुन) विश्वभर पहिलो विश्व खाद्य सुरक्षा दिवस मनाइयो । ‘खाद्य सुरक्षा सबैको जिम्मेवारी’ मूल नाराका साथ यस वर्ष खाद्य सुरक्षा दिवस मनाउन सुरु गरिएको हो ।

‘खाद्य सुरक्षा सबैको जिम्मेवारी’को मूल मर्म खाद्यान्न उत्पादन हुने जमिनदेखि लिएर हाम्रो थालसम्म आइपुग्ने सबै चिजबिज सुरक्षित होऊन्, जसले हाम्रो स्वास्थ्यमा नोक्सानी नपुर्याऊन् भन्ने नै हो । यस अभियानको सुरुवात संयुक्त राष्ट्रसंघले गरेको हो । संयुक्त राष्ट्रसंघको विश्वास छ कि, विभिन्न स्तरमा व्यक्ति तथा संगठनहरू यो मुद्दासँग लड्न सशक्त ढंगले सामेल हुनेछन् ।

संयुक्त राष्ट्रसंघले प्रत्येक वर्ष ७ जुनलाई विश्व खाद्य सुरक्षा दिवसका रूपमा मनाउने निर्णय गरेको छ । शुक्रबार विश्वभर पहिलो खाद्य सुरक्षा दिवस मनाइयो । यस वर्षको विश्व खाद्य सुरक्षा दिवसको मूल सार ‘खाद्य सुरक्षा सबैको जिम्मेवारी’ थियो ।

किन जरुरी छ खाद्य सुरक्षा ?
वास्तवमा खाद्यजन्य रोगहरूका कारण प्रतिवर्ष ६० करोड मानिस प्रभावित हुने गरेका छन्, जससँग लड्नु अत्यावश्यक भइसकेको छ । किनकि, यो स्वास्थ्यसमस्याको मात्र विषय होइन, यो दिगो विकासको लक्ष्यसित पनि जोडिएको विषय हो । यो विश्वव्यापी खाद्य सुरक्षालाई बढावा दिन पनि उत्तिकै आवश्यक छ । खाद्यजन्य रोगहरू जीवाणु, विषाणु, परजीवी वा रासायनिक पदार्थहरूले दूषित भोजन वा पानीको माध्यमबाट शरीरमा प्रवेश गरेका कारण लाग्ने गर्छन् । एक तथ्यांकका अनुसार प्रतिवर्ष करिब ४ लाख २० हजार मानिसको मृत्यु दूषित खानाका कारण हुने गरेको छ ।

‘दूषित खानाका कारण हुने यी सबै मृत्युलाई पूर्ण रूपले रोक्न सकिन्छ,’ विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)का महानिर्देशक डा. टेड्रस अधानम घेब्रेयेसस भन्छन्, ‘असुरक्षित भोजन हाम्रो स्वास्थ्य र अर्थव्यवस्था दुवैका लागि खतरापूर्ण छ ।’

विश्व खाद्य सुरक्षा दिवसको माध्यमबाट डब्लुएचओले दूषित खानाका कारण लाग्ने रोगको बोझ घटाउने लक्ष्य लिएको छ । जबसम्म यस विश्वका सरकारहरू, संघ–संस्थाहरू र आममानिस यस अभियानमा जोडिँदैनन्, तबसम्म खाद्य सुरक्षा अभियान पूरा हुन नसक्ने मान्यता डब्लुएचओको छ ।

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै

डब्लुएचओका १० चाखलाग्दा तथ्य, शौचालयमा पहुँच नहुनेहरू मोबाइलमा अभ्यस्त

डब्लुएचओले प्रत्येक देशलाई ‘सबैका लागि स्वास्थ्य’ नारालाई आत्मसात् गर्न आग्रह गरेको करिब ७ दशक भइसक्यो । बर्सेनि स्वास्थ्य क्षेत्रमा अर्बौं खर्च गरिन्छ । लाखौँ प्रतिबद्धताका बाबजुद पनि हरेक वर्ष स्वास्थ्य क्षेत्रमा नमिठा सत्य दोहोरिरहन्छन्, जुन अकाट्य छन् । डब्लुएचओले सन् २०१८ मा गरेको अध्ययनका आधारमा सार्वजनिक गरेका केही तथ्य निकै चाखलाग्दा छन्–

१. विश्वमा स्वास्थ्य सेवा आवश्यक पर्ने कम्तीमा आधाजसो जनसंख्या स्वास्थ्यसेवाबाट वञ्चित छन् ।
डब्लुएचओले गुणस्तरीय र आधारभूत स्वास्थ्यसेवालाई मानवको मौलिक अधिकारका रूपमा परिभाषित गरेको छ । अधिकांश राज्यले यसलाई अंगीकार पनि गरेका छन् । तर पनि करिब आधा जनसंख्या आर्थिक अभावलगायत कारणले आवश्यक स्वास्थ्यसेवाको पहुँचबाहिर छन् ।

सन् २०१७ को तथ्यांकअनुसार झन्डै ८ अर्बभन्दा बढी मानिसले उनीहरूको आम्दानीको १० प्रतिशत स्वास्थ्योपचारमा खर्च गरेका थिए । करिब १ अर्ब मानिस, जो पहिले गरिब थिएनन्, उपचार खर्चका कारण गरिब हुन बाध्य भएका थिए ।

२. करिब १० करोड मानिस स्वास्थ्योपचार खर्चकै कारण गरिब बनिरहेका छन् ।
सन् २०१७ को तथ्यांकअनुसार झन्डै ८० करोडभन्दा बढी मानिसले उनीहरूको आम्दानीको १० प्रतिशत स्वास्थ्योपचारमा खर्च गरेका थिए । करिब १० करोड मानिस, जो पहिले गरिब थिएनन्, उपचार खर्चका कारण गरिब हुन बाध्य भएका थिए ।

३. ट्वाइलेटमा पहुँच नभएका मानिसको पनि मोबाइलमा पहुँच छ ।
अझै पनि ठूलो संख्यामा मानिसलाई लाग्ने गर्छ कि, खाद्यान्न, लत्ताकपडा, आवास प्रमुख आवश्यकता हुन्, न कि ट्वाइलेट । वर्तमानमा जति मानिस मोबाइल प्रयोग गर्छन्, त्योभन्दा कमले ट्वाइलेट प्रयोग गर्छन् ।’

स्वास्थ्यक्षेत्रमा विश्वव्यापी रूपमा पुरुषको वर्चस्व छ । डब्लुएचओमा समेत अधिकृत स्तरमा करिब एकचौथाइ मात्र महिला कार्यरत छन्, जहाँ केवल २८ प्रतिशत स्वास्थ्य अधिकारी महिला छन् ।

४. कमजोर स्वास्थ्यसेवा प्रणालीका कारण प्रत्येक वर्ष ६ दशमलव ६ मिलियन बालबालिका मृत्युवरण गर्न पुग्छन् ।

५. गर्भवती अवस्था तथा प्रसूतिका क्रममा आउने विभिन्न स्वास्थ्यसम्बन्धी जटिलताका कारण हरेक दिन ८ सय महिलाले ज्यान गुमाउँछन् ।

६. अमेरिकनले प्रत्येक वर्ष ‘हलुइन’मा जति खर्च गर्छन्, त्यति विश्वभरि मलेरियारोगविरुद्ध खर्च गरिँदैन ।

७. झाडापखाला र निमोनियाले बसेनि लाखौँ मानिसको ज्यान लिने गर्छ, जुन एड्स, मलेरिया र क्षयरोगका कारण मर्नेको संख्याभन्दा बढी हो ।
विभिन्न संघ–संगठनले एड्स र क्षयरोग नियन्त्रणका लागि पैसाको खोलो बगाएका छन् । तर, अझै पनि झाडापखाला र निमोनियाजस्ता बेवास्ता गरिएका रोगका कारण ती रोगले भन्दा बढी मानिस मरिरहेका छन् ।

८. विश्व स्वास्थ्य पुरुषको संसारजस्तो देखिएको छ ।
स्वास्थ्यक्षेत्रमा विश्वव्यापी रूपमा पुरुषको वर्चस्व छ । डब्लुएचओमा समेत अधिकृत स्तरमा करिब एकचौथाइ मात्र महिला कार्यरत छन्, जहाँ केवल २८ प्रतिशत स्वास्थ्य अधिकारी महिला छन् ।

९. विश्वमा महिलाहिंसा बढ्दो छ ।
डब्लुएचओको रिपोर्टअनुसार प्रत्येक वर्ष ३५ दशमलव ६ प्रतिशत महिला कुनै न कुनैखाले शारीरिक तथा मानसिक हिंसा खप्न बाध्य छन् ।

१०. स्वास्थ्यसम्बन्धी गरिएका अधिकांश अनुमान वा प्रक्षेपण मुस्किलले पूरा हुन्छन् ।

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै