टेकुमा १ दिन, वीर र कान्तिमा ३ दिन, प्रसूतिगृहमा ४ दिन ओपिडी बन्द, आकस्मिक कक्षमार्फत जुनसुकैवेला सेवा

दसैँ बिदामा नियमित तथा आकस्मिक स्वास्थ्योपचार सेवाको उपलब्धता सबैको चासोको विषय हो । मुलुक दसैँमय बनिसकेको छ । तर, रोगले चाडपर्व भन्दैन । अझ वर्षदिनको प्रतीक्षापछि आएको महान्तम पर्व दसैँ विशेषगरी मिठा–मिठा परिकारसँग प्रत्यक्ष जोडिएकाले असन्तुलित तथा अधिक भोजनका कारण रोगको जोखिम झन् बढी हुन्छ । यस्तोमा चाडपर्वको लामो बिदामा स्वास्थ्योपचार सेवा उपलब्ध स्वास्थ्यसंस्थाबारे खुलदुली हुनु स्वाभाविक छ । त्यसैले यहाँ राजधानीका प्रमुख अस्पतालहरूमा दसैँ बिदामा स्वास्थ्यसेवाप्रवाहको अवस्थाबारे जानकारी प्रस्तुत गर्नु वाञ्छनीय छ ।

वीर अस्पताल
मुलुकै सबैभन्दा पुरानो र ठूलो अस्पताल वीरले दसैँमा ३ दिन ओपिडीसेवा बन्द गर्ने भएको छ । फूलपाती (आज) शनिबार परेकाले यसै पनि ओपिडीसेवा बन्द नै छ । अष्टमी, नवमी र दशमीका दिन अस्पतालमा ओपिडीसेवा बन्द रहने निर्देशक डा. केदार सेन्चुरीले जानकारी दिए । तर, आकिस्मक सेवा भने सधैँ खुला रहनेछ । आकस्मिक कक्षमा सेवाका लागि आउने बिरामीका लागि भने सबैखाले सेवा उपलब्ध गराउने तयारी गरेको उनको भनाइ छ । त्यसका लागि हरक्षण डाक्टर उपलब्ध हुने डा. सेन्चुरीले जानकारी दिए । ‘चाडपर्वका वेला अस्पताल बन्द हुन्छ भन्ने भ्रम कसैलाई नहोस्,’ डा. सेन्चुरी भन्छन्, ‘वीरमा आएका बिरामीले सेवा नपाएर फर्कनुपर्ने छैन ।’

कान्ति बाल अस्पताल
कान्ति बाल अस्पतालले पनि दसैँ बिदामा जम्मा ३ दिन ओपिडीसेवा बन्द गर्ने भएको छ । अस्पतालका निर्देशक डा. आरपी बिच्छाका अनुसार दसैँमा अष्टमीदेखि मंगलबार (टीकाको दिन) सम्म ओपिडीसेवा बन्द रहनेछ । ओपिडी बन्द रहे पनि आकस्मिक सेवा भने २४ घण्टै खुला रहने निर्देशक बिच्छा बताउँछन् । ‘अस्पतालमा आएका बिरामी सबैले सेवा पाऊन्, दसैँका कारण केही पनि सेवाविहीन घर नफर्कियून् भन्ने उद्देश्यका साथ तयारी गरेका छौँ,’ डा. बिच्छाले भने, ‘यसका लागि हामीले थप ३ जना डाक्टर राखेका छौँ, जतिसुकैवेला अस्पताल आउँदा बिरामीले सेवा पाउनेछन् ।’

टेकु अस्पताल
शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालमा दसैँको टीकाको दिनबाहेक ओपिडीसेवा सुचारु रहनेछ । डेंगुको महामारी फैलिरहेको तथा अत्यावश्यक रेबिज तथा सर्पदंशको भाक्सिन लगाउनुपर्ने भएको हुँदा अस्पतालमा सेवा बन्द नगरिएको निर्देशक डा. वासुदेव पाण्डे बताउँछन् ।
‘टीकाको दिनबाहेक अन्य दिनमा बिहान ९ बजेदेखि हिउँसो २ बजेसम्म ओपिडी खुला रहनेछ,’ डा. पाण्डे भन्छन्, ‘सेवा अवरुद्ध नहोस् भनेर डाक्टर तथा कर्मचारीको बिदा चाडपर्वअनुसार आलोपालो मिलाएका छौँ ।’

प्रसूतिगृह
थापाथलीस्थित परोपकार प्रसूतिगृहमा आइतबारदेखि बुधबारसम्म ओपिडीसेवा बन्द रहनेछ । आकस्मिक सेवा भने हरेक दिन २४ घण्टै सुचारु रहने अस्पतालले जनाएको छ । दसैँमा अष्टमी, नवमी, दशमी र एकादशी गरी ४ दिन ओपिडी सेवा बन्द रहने निर्देशक डा. जागेश्वर गौतमले जानकारी दिए । उनका अनुसार आकस्मिक कक्षमा युनिट–युनिट गरी ड्युटी मिलाएर सेवा सुचारु गरिनेछ ।

नियमित १० देखि १२ जनाको संख्यामा चिकित्सक अस्पतालमा रहने गौतम बताउँछन् । दसैँ बिदाको हरेक दिन, टीकाको दिनसमेत अस्पतालमा चिकित्सक कार्यरत रहने उनको भनाइ छ । तर, टीकाको दिन भने केही समय ब्रेक गराउन निर्देशन दिएको गौतम बताउँछन् । उनका अनुसार ६ घण्टा ड्युटीमा रहँदा टीकासमेत लगाउन नपाउने अवस्था आउने भएकाले ब्रेक गराउन भनिएको हो । दसैँ, टीका तथा अन्य कुनै पनि कुराले डेलिभरी नरोकिने भएकाले निरन्तर सेवा दिइने गौतम बताउँछन् ।

‘दसैँका वेला झन् धेरै जोखिमका केस आउने गरेका छन् । जति बिरामी आउँछन्, जोखिमकै बढी हुन्छन्,’ डा. गौतम अनुभव सुनाउँछन्, ‘त्यसकारण चाडपर्वका वेला चिकित्सकहरू अन्य समयभन्दा झनै व्यस्त हुन्छन् ।’

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै

टेकु अस्पतालमा नेपालमै युनिक ‘पेडियाट्रिक टु एडल्ट भेन्टिलेटर’, वीरमा भन्दा पनि सस्तो सेवा

शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल टेकुले नेपालमै ‘युनिक’ दुईवटा भेन्टिलेटरमार्फत सेवा सुरु गरेको छ । अस्पतालले ‘पेडियाट्रिक टु एडल्ट’ अर्थात् बच्चादेखि वृद्धसम्म सबै उमेरका बिरामीका लागि प्रयोग गर्न मिल्ने दुईवटा भेन्टिलेटर खरिद गरेको हो । यससँगै स्थापनाको ८५ वर्षपछि मुलुकको एक मात्र सरुवारोग अस्पतालले आधुनिक प्रविधिसम्पन्न भेन्टिलेटरसेवा सुरु गरेको हो ।

अस्पताल र जर्मन कम्पनी पुटेन मेडिटेड इन्टरनेसनलबीच ९ वैशाखसम्म भेन्टिलेटर उपलब्ध गराउन खरिद–सम्झौता भएको थियो । तर, कम्पनीले तोकिएको समयमा उपलब्ध गराउन नसकेपछि म्याद थप गरी करिब १ महिनापछि अस्पताललाई भेन्टिलेटर उपलब्ध गराएको हो ।

‘हामीकहाँ भने सबै उमेरका बिरामी आउने भएकाले ‘पेडियाट्रिक टु एडल्ट’ खरिद गरेका छौँ,’ खतिवडाले भने, ‘यो बच्चादेखि वृद्धसम्म सबै उमेरका बिरामीका लागि प्रयोग गर्न मिल्ने भेन्टिलेटर हो ।’

खरिदमूल्य रु. ३५,९८,५००, बजेट अभावले २ वटा मात्र खरिद
अस्पताललाई चारवटा भेन्टिलेटरको आवश्यकता भए पनि नेपाल सरकारले सीमित बजेट उपलब्ध गराएकाले तत्कालका लागि २ वटा मात्र खरिद गरिएको अस्पतालका निर्देशक डा. वासुदेव पाण्डे बताउँछन् । अस्पतालले २ वटा भेन्टिलेटरका लागि ३५ लाख ९८ हजार ५ सय रूपैयाँ खर्च गरेको छ । हाल अस्पतालमा ४ वटा आइसियू बेड सञ्चालनमा छन् ।

बिरामीको उमेर र अवस्थाअनुसार फरक–फरक प्रकारका भेन्टिलेटर अवश्यक हुने अस्पतालका सूचना अधिकारी खतिवडा बताउँछन् । ‘हामीकहाँ भने सबै उमेरका बिरामी आउने भएकाले ‘पेडियाट्रिक टु एडल्ट’ खरिद गरेका छौँ,’ खतिवडाले भने, ‘यो बच्चादेखि वृद्धसम्म सबै उमेरका बिरामीका लागि प्रयोग गर्न मिल्ने भेन्टिलेटर हो ।’

सबैभन्दा सस्तो तर गुणस्तरीय सेवा
खतिवडाका अनुसार अन्य सरकारी अस्पतालको तुलनामा टेकुमा भेन्टिलेटरसेवा लिएबापत बिरामीले सबैभन्दा सस्तो शुल्क तिर्नुपर्ने अस्पतालले जनाएको छ । खतिवडा भन्छन्, ‘अन्य सरकारी अस्पतालले भेन्टिलेटरमा राखेर उपचार गराएबापत प्रतिदिन ८ हजार लिने गरेका छन्, तर हामीले ५ हजारमा सेवा दिइरहेका छौँ ।’ टेकुको भेन्टिलेटर सेवा वीर अस्पतालको भन्दा पनि सस्तो रहेको खतिवडाको भनाइ छ । वीरमा भेन्टिलेटरमा राखेर उपचार गराएबापत बिरामीले प्रतिदिन करिब साढे ६ हजार शुल्क बुझाउनुपर्छ ।

अस्पतालमा ४ वटा आइसियू बेड सञ्चालनमा भए पनि सीमित बजेटका कारण अस्पताल २ वटा मात्र भेन्टिलेटर खरिद गर्न विवश भएको छ । यसअघि राम्रो भेन्टिलेटरको पूर्णतः अभाव हुँदा अस्पतालले बिरामीलाई पूर्ण रूपमा आइसियूसेवा दिन सकिरहेको थिएन ।

यसअघि अनुदानमा प्राप्त पोर्टेबलमै सीमित, अझै न्यूनतम २ भेन्टिलेटर आवश्यक
अस्पतालमा ४ वटा आइसियू बेड सञ्चालनमा भए पनि सीमित बजेटका कारण अस्पताल २ वटा मात्र भेन्टिलेटर खरिद गर्न विवश भएको छ । यसअघि राम्रो भेन्टिलेटरको पूर्णतः अभाव हुँदा अस्पतालले बिरामीलाई पूर्ण रूपमा आइसियूसेवा दिन सकिरहेको थिएन । यसअघि अस्पतालले एभिएन इन्फ्लुएन्जा कन्ट्रोल प्रोजेक्ट नामक संस्थाले धेरै अघि दिएको पोर्टेबल भेन्टिलेटरले काम चलाउँदै आएको थियो । उक्त भेन्टिलेटरले दैनिक अधिकतम ६ घण्टाभन्दा बढी समय काम नगर्ने भएकाले अस्पतालले २४सै घण्टा काम गर्ने नयाँ भेन्टिलेटर खरिद गरेको निर्देशक पाण्डेले बताए । तर, ४ वटा आइसियू बेडका लागि जम्मा २ वटा मात्रै भेन्टिलेटर भएकाले अझै २ वटाको आवश्यकता रहेको निर्देशक डा. पाण्डे बताउँछन् ।

गुणस्तरीय भेन्टिलेटरको अभावमा मुलुकको एक मात्र सरुवारोग अस्पतालमा उपचारका लागि आउने सिरियस बिरामीलाई अन्यत्र रेफर गर्नुपर्ने बाध्यता अस्पतालको थियो । तर, अस्पतालले बच्चादेखि बुढासम्मका लागि प्रयोग हुने भेन्टिलेटर खदिर गरेसँगै अन्यत्र रेफर गर्नुपर्ने समस्या आंशिक रूपमै भए पनि दूर भएको छ ।

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै

टेकु अस्पताल ८५औँ वर्षमा

शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल, टेकुले स्थापनाको ८५औँ वार्षिकोत्सव मनाएको छ । १० माघ १९९० मा स्थापित सरुवा तथा संक्रामक रोगसम्बद्ध नेपालको एक मात्र केन्द्रीय अस्पतालले यसवर्ष विगतभन्दा फरक ढंगले वार्षिकोत्सव मनाएको हो । वार्षिकोत्सवका अवसरमा अस्पतालले ९ र १० माघमा अस्पतालमा कार्यरत सम्पूर्ण कर्मचारीका लागि सकारात्मक सोच, जीवन रूपान्तरणका पद्धतिहरू, जीवनशैलीको व्यवस्थापनलगायत उत्प्रेरणामूलक विषयमा दुईदिने तालिमको आयोजना गरेको थियो ।

तालिमको उद्घाटन गर्दै अस्पतालका निर्देशक डा. वासुदेव पाण्डेले अस्पतालमा कार्यरत सम्पूर्ण कर्मचारीलाई सेवाप्रति पुनर्जागृत गर्न यसखालका तालिम सहायकसिद्ध हुने अपेक्षाका साथ तालिम सञ्चालन गरिएको बताएका थिए । जीवन प्रशिक्षक नरबहादुर कार्की, जीवनपद्धति व्यवस्थापन विज्ञ डा. राजु अधिकारी र सकारात्मक सोचका अभियन्ता रामबहादुर रावलले सहजीकरण गरेको दुईदिने तालिममा अस्पतालका २ सयभन्दा बढी कर्मचारीको सहभागिता थियो ।

सेवाप्रवाहमा सकारात्मक रूपमा काम गर्ने वातावरणको सिर्जनाका लागि वार्षिकोत्सवका अवसरमा यस किसिमको तालिम आयोजना गरिएको र सहभागीहरूको उत्साहप्रद प्रतिक्रिया रहेको तालिमका संयोजक प्रशासन प्रमुख रूपनारायण खतिवडाले बताए ।
वार्षिकोत्सवकै अवसरमा अस्पतालको प्रांगणमा रहेको सहिद शुक्रराज शास्त्रीको सालिकमा माल्यार्पण गर्नुका साथै अस्पतालमा भर्ना भएका बिरामीलाई फलफूल वितरणसमेत गरिएको थियो ।

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै

८५ वर्षको टेकु अस्पताल आइसियूमा बल्ल वामे सर्दै

स्थापनाको ८५ वर्ष पुगिसक्दा शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल आइसियू सेवामा बल्ल वामे सर्न थालेको छ । पौनेशताब्दीभन्दा लामो समय स्वास्थ्य सेवा प्रदान गरिसकेको अस्पतालले १३ जेठ ०७५ देखि मात्र आइसियू सेवा सुरु गरेको हो । टेकु अस्पतालको नामले परिचित यो सरुवारोग अस्पतालको स्थापना देशले प्रजातन्त्रको उज्यालो देख्नुभन्दा १७ वर्षअघि नै १० माघ १९९० मा भएको थियो ।

४ शय्याको आइसियू कक्ष कुल १ करोड ५५ लाख लागतमा निर्माण सम्पन्न भएको अस्पतलाका प्रवक्ता डा. अनुप बास्तोला बताउँछन् । उनका अनुसार आइसियू सेवा लिएबापत बिरामीले प्रतिदिन २ हजार ५ सय रुपैयाँ शुल्क तिर्नुपर्छ । भेन्टिलेटरसहितको आइसियू सेवा लिने बिरामीले भने प्रतिदिन ५ हाजार रुपैयाँ तिनुपर्छ । आइसियू कक्षमा ६ जना मेडिकल अफिसर तथा ३ जना कन्सल्टेन्ट कार्यरत रहेको बास्तोला बताउँछन् । अस्पतालकी वरिष्ठ नर्सिङ प्रशासक कल्पना सुब्बाका अनुसार आइसियू कक्षमा १० जना नर्सिङ स्टाफ कार्यरत छन् । आइसियू कक्ष निर्माणका लागि कतिपय दातृनिकायले विभिन्न उपकरणहरू प्रदान गरी सहयोग गरेको अस्पतालका प्रशासन प्रमुख रूपनारायण खतिवडा बताउँछन् ।

अस्पतालले गम्भीर अवस्थाका बिरामीलाई आइसियूको स्थापना नहुँदासम्म रेफर गर्नुपर्ने बाध्यता रहेकोमा अहिले उक्त समस्याबाट मुक्ति मिलेको बास्तोला बताउँछन् । सरुवारोगको प्रकोप बढेमा सरकारको पहिलो नजर शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालमा पर्ने गर्छ ।

सेवारम्भको करिब ३ महिनाको अवधिमा करिब ५० जनाले अस्पतालबाट आइसियू सेवा लिएका छन् । जेठ महिनामा ४ महिला र ६ पुरुष गरी १० जना, असारमा ५ पुरुष र ७ महिला गरी १२ जना, साउनमा १० पुरुष र ४ महिला गरी १४ जना र भदौमा ८ पुरुष तथा ६ महिला गरी १४ जनाले आइसियू सेवा लिएको अस्पतालले जनाएको छ ।

धेरै अघिदेखि आइसियू स्थापना गर्ने अस्पताल प्रशासनको सोच भए पनि दक्ष जनशक्तिको अभावका कारण आइसियू कक्ष निर्माणमा ढिलाइ भएको प्रवक्ता वास्तोलाको भनाइ छ । शुक्रराज अस्पतालबाट रेफर भएका कतिपय बिरामी अन्य अस्पतालले सहज रूपमा लिन नमान्ने भएका कारण पनि अस्पतालले धेरै पहिले नै आइसियू कक्ष स्थापनाको आवश्यकता पहिल्याएको थियो । अस्पतालमा आइसियू सञ्चालनमा दक्ष जनशक्ति अपुग छ । कतिपय स्वास्थ्यकर्मीहरू अस्पतालमा दरबन्दी राखेर बाहिर पढ्न जाने परिपाटीका कारण पनि स्वास्थ्यकर्मीको अभाव भएको हो ।

नेपाल सरकारमातहतका अन्य अस्पतालभन्दा शुक्रराज ट्रपिकल निकै पिछडिएको अवस्थामा रहेको बास्तोलाको ठम्याइ छ । विदेश पढ्न जाने क्रममा दरबन्दी होल्ड रहनाले पनि अस्पतालले प्रभावकारी सेवा प्रदान गर्न सकेको छैन, जसका कारण जनमानसमा अस्पतालले प्रभावकारी सेवा प्रदान गर्न सक्छ भन्ने विश्वास जगाउन सकिएको छैन । अस्पतालको भिजनबारे जनता जानकार नभएका कारण पनि अस्पताल पिछडिएको महसुस भएको बास्तोला बताउँछन् ।

अस्पतालले गम्भीर अवस्थाका बिरामीलाई आइसियूको स्थापना नहुँदासम्म रेफर गर्नुपर्ने बाध्यता रहेकोमा अहिले उक्त समस्याबाट मुक्ति मिलेको बास्तोला बताउँछन् । सरुवारोगको प्रकोप बढेमा सरकारको पहिलो नजर शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालमा पर्ने गर्छ । सरकारले सरुवारोग तथा त्यसको व्यवस्थापनमा शुक्रराज अस्पताललाई नै एकलौटी अधिकार दिएको छ भन्दा अत्युक्ति हुँदैन ।

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै