२० वर्षसम्म निष्क्रिय जीवन बिताउनेमा आकस्मिक मृत्युको जोखिम दोब्बर : अनुसन्धान

निष्क्रिय जीवनशैली मानव स्वास्थ्यका लागि कति हानिकारक छ भन्ने तथ्य पछिल्लो एक अध्ययनले उजागर गरेको छ । नयाँ अध्ययनले देखाएको छ कि, २० वर्षदेखि निष्क्रिय (सुस्त) जीवनशैली अपनाइरहेका मानिसमा स्वस्थ र सक्रिया जीवनशैली अपनाइरहेका मानिसको तुलनामा अकस्मात् मृत्युको जोखिम दुई गुणा हुन्छ । नर्वे विश्वविद्यालयका प्रोफेसर तथा अध्ययनका नेतृत्वकर्ता ट्राइन मोहोल्डट भन्छन्– हाम्रो अध्ययनबाट प्राप्त निष्कर्षले भन्छ कि, अकस्मात् मृत्युका सबै कारण र हृदयरोगहरुबाट हुने मृत्युबाट सुरक्षित रहन तपाईं शारीरिक रुपले सक्रिय रहनु जरुरी छ, शारीरिक सक्रियताबाटै तपाईंले आकस्मिक मृत्युबाट सुरक्षा र शारीरिक गतिविधिको अधिकतम लाभ प्राप्त गर्न सक्नुहुनेछ ।

यो अध्ययनमा पछिल्लो २२ वर्षभन्दा बढी समयमा कसरी शारीरिक गतिविधिमा बदलाव र सबै प्रकारका मृत्यु तथा मुटुरोगबीच सम्बन्ध रहिआएको छ भन्ने तथ्य पत्ता लगाउने कोसिस गरिएको छ । ‘द हन्ट’ नामक अध्ययनले नर्वेका २० वर्ष वा त्यसभन्दा बढी उमेरका सबै निवासीलाई १९८४ देखि ८६, १९९५ देखि ९७ र २००६ देखि ०८ मा अध्ययनमा सहभागी हुन बोलाएको थियो । यी तीन समयावधिमा मानिसलाई उनीहरुको शारीरिक गतिविधिका प्रकार तथा अवधि र उनीहरु कति लामो समयसम्म यी गतिविधिमा सक्रिय रहन्छन् भन्नेबारे सोधिएको थियो । वर्तमान अध्ययनमा पछिलो चरणमा तेस्रो सर्वेबाट प्राप्त आँकडाको प्रयोग गरिएको छ ।

पेरिसमा आयोजित इसिएम कंग्रेस २०१९ मा प्रस्तुत अध्ययनमा बताइएको छ– २० वर्षदेखि निष्क्रिय जीवनशैली अपनाइरहेका मानिसमा स्वस्थ (सक्रिय) जीवन बिताइरहेका मानिसको तुलनामा अकस्मात् मृत्युको जोखिम दुई गुणा बढी हुन्छ ।

यो विश्लेषणमा कुल २३ हजार १ सय ४६ पुरुष र महिलालाई सामेल गराइएको थियो । सहभागीलाई शारीरिक गतिविधि बिलकुलै नगर्ने, सामान्य गर्ने, हप्तामा २ घण्टाभन्दा कम गर्ने र हप्तामा २ घण्टा वा त्यसभन्दा बढी गर्नेमा वर्गीकरण गरिएको थियो ।

शारीरिक गतिविधिको तथ्यांक नर्वे कज अफ डेथ रजिस्ट्रीको प्रयोग गर्दै २०१३ को अन्तसम्म भएका मृत्युको जानकारीसित जोडिएको थियो । प्रत्येक शारीरिक गतिविधि समूहमा मृत्युको जोखिमको तुलना सन्दर्भ समूहसित गरिएको थियो । दुवै सर्वेको अवधिमा सहभागीले उच्चस्तरको व्यायाम गर्ने बताएका थिए ।

सन्दर्भ समूहको तुलनामा ती मानिस जो १९८४–८६ र २००६–०८ दुवैमा कुनै पनि प्रकारको व्यायाम गर्दैनथे, उनीहरुमा हृदयरोगबाट मृत्युवरण गर्ने जोखिम २.७ गुणा र अन्य कारणले मृत्युवरणको जोखिम २ गुणासम्म थियो ।

दुवै समयमा सामान्य शारीरिक गतिविधि गर्ने मानिसमा सन्दर्भ समूहको तुलनामा क्रमशः सबै कारणले हुनेवाता मृत्यु र हृदयरोगबाट मृत्युवरणको जोखिम ६० र ७० प्रतिशत थियो । फ्रान्सको पेरिसमा इसिएस कंग्रेस २०१९ मा प्रस्तुत अध्ययनबारे मोहोल्डरले भने, ‘हाम्रो तथ्यांकले बताउँछ– यदि तपाईं पहिले शारीरिक रुपले सक्रिय हुनुहुन्नथ्यो, तर छिटै सक्रिय हुन थाल्नुभयो भने छिटै नै त्यसको सकारात्मक परिणाम देख्न सक्नुहुन्छ ।

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै

३५ वर्ष कटेका पुरुषले यी ५ स्वास्थ्यजाँच अवश्य गराउनुहोस्

३५–४० वर्षको उमेरपश्चात् व्यक्तिको शरीरमा अनेकतरहका बदलाव आउने गर्छन् । आजकल युवावस्थामै मानिसहरू मोटोपन, उच्च रक्तचाप, मधुमेहलगायत दीर्घरोगको सिकार हुन्छन् । यही कारणले नै उमेर बढेसँगै कतिपय घातक (असाध्य) रोगहरूको खतरा बढ्दै जान्छ । स्वास्थ्यमा ध्यान नदिनाले आजकल कम उमेरमै हृदयाघात, क्यान्सरलगायत समस्या निकै बढिरहेका छन् । केही यस्ता स्वास्थ्यपरीक्षण छन्, जुन हरेक पुरुषले ३५ वर्ष उमेर पार गरेपश्चात् कम्तीमा वर्षको एकपटक अनिवार्य गराउनुपर्ने हुन्छ । ती स्वास्थ्यपरीक्षणबारे जानौँ :

१. बिएमआई परीक्षण गराउनुहोस्
बिएमआई अर्थात् बडी–मास इन्डेक्स एउटा साधारण स्वास्थ्यपरीक्षण हो । बिएमआईमा व्यक्तिको उचाइ र वजनको अनुपात निकाल्ने गरिन्छ, ताकि ऊ कति स्वस्थ छ भन्ने पत्ता लगाउन सकियोस् । आजकल मोटोपन एउटा ठूलो समस्या हो । मोटोपन स्वयम्मा कुनै रोग होइन, तर यो अनगिन्ती रोगको कारण बन्न सक्छ । १८.५ देखि २४.९ सम्मको बिएमआई राम्रो मानिन्छ । यदि तपाईंको बिएमआई योभन्दा बढी छ भने तपाईंले आफ्नो खानपान र जीवनशैलीमा आजैदेखि परिवर्तन गर्नु आवश्यक छ ।

२. दाँतको परीक्षण गराउनुहोस्
तपाईंलाई यो सुनेर आश्चर्य लाग्न सक्छ कि, तपाईंको दाँत र मुटुका बीच आपसमा गहिरो सम्बन्ध हुन्छ । दाँतमा हुने कतिपय सामान्य मानिने रोग हृदयाघातको कारण बन्न सक्छन् । यसैले प्रतिवर्ष आफ्नो दाँतको परीक्षण गराउनुहोस् । गिजामा हुने कुनै पनि प्रकारका समस्यालाई सामान्य नसम्झनुहोस् ।

३५ वर्षको उमेर पार गरेपछि मोटोपन, हृदयाघात, उच्च रक्तचापलगायत रोगको खतरा बढी हुन्छ । विशेषगरी पुरुषहरूले यस उमेरमा आफ्नो स्वास्थ्यको विशेष ख्याल गर्नुपर्ने हुन्छ । तसर्थ, ३५ वर्ष उमेर पार गरेका पुरुषले यी पाँच स्वास्थ्यपरीक्षण प्रतिवर्ष अनिवार्य गराउनुपर्छ ।

३. ब्लड सुगर (मधुमेह)को परीक्षण गराउनुहोस्
रगतमा चिनीको मात्रा बढेमा डायबिटिज (मधुमेह) हुन्छ । सुरुवाती चरणमा यसका धेरै लक्षणहरू देखिँदैनन् । यसकारण ३५ वर्ष उमेरपश्चात् प्रतिवर्ष एक–दुईपटक आफ्नो रगतमा सुगर लेबल (चिनीको मात्रा) अवश्य पनि परीक्षण गराउनुपर्ने हुन्छ । यदि सही समयमा डायबिटिज पत्ता लाग्यो भने औषधि र जीवनशैलीमा बदलावबाट यसलाई निको पार्न सकिन्छ । तर, समस्या बढ्दै जाँदा डायबिटिजको कुनै उपचार उपलब्ध छैन ।

४. कोलेस्टेरोलको परीक्षण गराउनुहोस्
उच्च केलेस्टेरोलका कारण मुटुसम्बन्धी विभिन्न रोगहरू (हृदयाघात, कार्डियक अरेस्ट, हार्ट ब्लक आदि)को खतार बढ्छ । वास्तवमा कोलेस्टेरोल बढ्नाले धमनीहरूमा कल्मस जम्न सुरु हुन्छ, जसले रक्तप्रवाह (ब्लड सर्कुलेसन)लाई अवरुद्ध गर्छन् । त्यसैले वर्षमा कम्तीमा एकपटक आफ्नो रगतमा कोलेस्टेरोलको लेबल अवश्य परीक्षण गराउनुहोस् । यसबाट तपाईं हृदयाघातको खतराबाट बच्न सक्नुहुन्छ ।

५. मेटाबोलिजमको परीक्षण गराउनुहोस्
तपाईंको शररको मेटाबोलिजममा नै तपाईंको स्वास्थ्य निर्भर रहन्छ । यदि तपाईंको मेटाबोलिजम कमजोर छ भने तपाईंमा अनेक रोेगहरू, जस्तै, डायबिटिज, मोटोपन, कमजोरी आदिको खतरा बढ्छ । मेटाबोलिक सिन्ड्रोम लक्षणहरूको यस्तो समूह हुन्छ, जसका कारण डायबिटिज र हृदयाघातको खतरा बढ्न जान्छ । यी लक्षणहरू देखिनासाथ मेटाबोलिक सिन्ड्रोमको परीक्षण गराउनुपर्ने हुन्छ :
– कम्मरको आकार ४० वा त्यसभन्दा बढी भएमा ।
– गुड कोलेस्टेरोलको मात्रा ४० मि.ग्रा./डे.लि.भन्दा कम भएमा ।
– ट्रिग्लाइकेरिडसको स्तर १५० मि.ग्रा./डे.लि.भन्दा अधिक भएमा ।
– रक्तचाप १३०/८५ भन्दा अधिक भएमा ।
– फस्टिङ ग्लुकोजको स्तर १०० भन्दा अधिक भएमा ।

यदि तपाईंमा उल्लेखितमध्ये कुनै पनि ३ लक्षण देखापरेमा चिकित्सकले सि–रियाक्टिभ प्रोटिन (सिआरपी)को परीक्षणसमेत गराउन सक्छन् । यसलाई मुटुको स्वस्थतामा निगरानी राख्ने सबैभन्दा राम्रो तरिका मानिन्छ ।

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै

रक्तचाप नियन्त्रण र स्वस्थ मुटुको चालका लागि ६ मूलमन्त्र

पृष्ठभूमि :
मुटु तथा रक्तनलीका विभिन्न रोगमध्ये उच्च रक्तचाप संसारमै सबैभन्दा बढी देखिएको समस्या हो । विश्वमा हरेक चारमध्ये एक व्यक्तिलाई उच्च रक्तचाप भएको पाइन्छ । हरेक वर्ष विश्वमा करिब ७० लाख मानिसको उच्च रक्तचापका कारण मृत्यु भएको तथ्यांक छ । नेपालको सन्दर्भमा, सहरी क्षेत्रमा १८ वर्षभन्दा माथिका वयस्कहरूमा करिब २० प्रतिशतभन्दा बढीलाई उच्च रक्तचापको समस्या देखिएको छ ।

उच्च रक्तचाप भएका बिरामीमा आट्रियल फिब्रिलेसन(Atrial Fibrilation) भनिने मुटुको चालको गडबडी हुने सम्भावना बढी हुन्छ । आट्रियल फिब्रिलेसन हुँदा मुटुका माथिल्ला कोठाहरू जसलाई अट्रियम भनिन्छ, त्यसले बलियोसँग रगत पम्प गर्न सक्दैन । जसले गर्दा ती कोठाहरूमा रगत जम्ने सम्भावना हुन्छ र ती रगतका साना चोक्टाहरू उछिट्टिएर शरीरका रक्तनलीहरूमा अवरोध पुर्याउन सक्छन् । यस्तो अवस्थामा उच्च रक्तचापका बिरामीमा मस्तिष्काघात हुने सम्भावनासमेत बढी हुन जान्छ । यसैले उच्च रक्तचापको नियन्त्रण गरेर आट्रियल फिब्रिलेसनजस्ता मुटुको चालको गडबडी नियन्त्रण गरी मस्तिष्काघातजस्ता गम्भीर रोगको रोकथाम गर्नुपर्छ । उच्च रक्तचापबारे जनचेतना अभिवृद्धि गराई उच्च रक्तचाप रोकथाम गर्न, जाँच गर्न र उपचार गर्न अभिप्रेरित गर्नु र उच्च रक्तचापबाट हुन सक्ने मस्तिष्कघात, पक्षाघात, हृदयाघात र मिर्गौलाको खराबीजस्ता रोगको रोकथाम गर्नु आवश्यक छ ।

कतिपय उच्च रक्तचापका बिरामीको त अकस्मात् मृत्युसमेत हुन सक्छ । नियमित औषधि खानुका साथसाथै चिकित्सकसँग नियमित जाँच गराउनु, रक्तचाप नियमित रूपमा जाँच्नु पनि अत्यन्त महत्वपूर्ण हुन्छन् । यदि उच्च रक्तचा पनि यन्त्रणमा छ भने तपाईं अन्य व्यक्तिसरह सामान्य गुणस्तरीय जीवन बिताउन सक्नुहुन्छ ।

उच्च रक्तचापको संक्षिप्त विवरण :
मुटुबाट रगत पम्प भएर शरीरका सम्पूर्ण भागहरूमा सञ्चालन हुनेक्रममा रगतले रक्तनलीहरूमा एक प्रकारको चाप पैदा गर्दछ, यसलाई नै रक्तचाप भनिन्छ । बोलीचालीको भाषामा यसलाई ब्लडप्रेसर पनि भन्ने चलन छ । रक्तचापको अन्तर्राष्ट्रिय वर्गीकरण (JNC – 7 Classification) अनुसार १२० का मुनि ८० भन्दा कमको रक्तचापलाई आदर्श रक्तचाप भनिन्छ । १ सय २० देखि १३९ का मुनि ८० देखि ८९ सम्मको रक्तचापलाई रक्तचापको पूर्वावस्था भनिन्छ । १४० का मुनि ९० वा सोभन्दा बढी भएको अवस्थालाई उच्च रक्तचाप भनिन्छ । त्यसैले उच्च रक्तचाप भएका बिरामीका लागि लक्षित रक्तचाप भनेको १४० का मुनि ९० भन्दा कम हो । यो लक्ष्य मधुमेह वा मिर्गौला रोग भएका व्यक्तिहरूका लागि १३० का मुनि ८० भन्दा कम हो ।

टाउको दुख्ने (Headache),  मुटुको ढुकढुकी बढेको अनुभव हुने (Palpitation),  आँखा धमिलो हुने (Blurred Vision),  नाकबाट रगत बग्ने(Epistaxis) आदि उच्च रक्तचापका केही प्रमुख लक्षण हुन् । तर, आधाभन्दा बढी उच्च रक्तचापका बिरामीमा यसको कुनै लक्षण नदेखिन सक्छ । लक्षण भए पनि नभए पनि यसको उपचार तथा नियन्त्रण गर्नुपर्छ । अन्यथा, मस्तिष्क, मुटु, मिर्गौला, आँखाजस्ता महत्वपूर्ण अंगहरूमा क्षति पुग्न गई मानिस अपांग हुने तथा अकस्मात् मृत्युसमेत हुन सक्छ । यसैले यसलाई सुसुप्त हत्यारा अर्थात् Silent Killer पनि भनिन्छ ।

यो मुख्यतया जीवनशैलीसँग सम्बन्धित रोग हो । रक्तचाप दिनानुदिन बढ्नुमा दुईवटा मुख्य कारकतत्व छन् । यसलाई 2T पनि भन्न सकिन्छ, अर्थात् Technology (प्रविधिको विकास) र Transportation (यातायातको विकास) । यसले गर्दा मानिसको शारीरिक सक्रियता मात्र कम हुन गयो । त्यसअलावा हिजोआज अस्वस्थ खानाको प्रयोग पनि निकै बढेको छ । यी कारणले गर्दा उच्च रक्तचाप, मधुमेह, मोटोपन, उच्च कोलेस्टेरोलजस्ता रोग सहरी तथा उपसहरी क्षेत्रहरूमा ह्वात्तै बढ्न थालेको छ । यसबाहेक उमेर र वंशानुगत कारणले पनि यो रोग हुन सक्छ ।

उच्च रक्तचाप रोकथाम तथा नियन्त्रणका उपाय
उच्च रक्तचापको रोकथाम तथा नियन्त्रणका लागि जीवनशैलीमा परिवर्तन ल्याउनु अति नै जरुरी हुन्छ । जीवनशैली परिवर्तनका लागि निम्न पाँच मूलमन्त्रलाई याद गर्नुहोस् । यिनीहरू सरल छन्, सम्भव छन् र प्रभावकारीसिद्ध पनि छन् । यी पाँचै मूलमन्त्रको सामूहिक प्रयासमा उच्च रक्तचापको रोकथाम तथा नियन्त्रण सम्भव हुन्छ ।

१.धूमपान तथा सुर्तीजन्य पदार्थको सेवन त्याग्ने :
धूमपान गर्ने वा सुर्तीजन्य पदार्थको सेवन गर्ने व्यक्तिमा उच्च रक्तचाप हुने सम्भावना धेरै हुन्छ । अतः यस्ता कुराको कदापि सेवन गर्नुहुँदैन । यदि उच्च रक्तचाप भएका व्यक्तिमा यस्तो अम्मल छ भने यसलाई चटक्कै छोड्नु नै बिरामीको पहिलो जिम्मेवारी हो ।

२. नियमित व्यायाम गर्ने :
उच्च रक्तचापको एक प्रमुख कारकतत्व निष्क्रिय जीवनशैली हो । हरेक मानिसले प्रत्येक दिन कम्तीमा आधा घण्टा चलायमानखालका कुनै न कुनै व्यायाम गर्नुपर्छ । चलायमानखालका व्यायाम भन्नाले हिँड्ने, दुगुर्ने, पौडी खेल्ने, डोरी खेल्ने, खेतबारीमा काम गर्नेजस्ता क्रियाकलाप पर्छन् । हिँड्नु सबैभन्दा राम्रो र सरल व्यायाम हो । एकैपटक आधा घण्टा व्यायाम गर्ने फुर्सद नभएमा कम्तीमा १०–१० मिनेट गरी दिनमा ३–४ पटक व्यायाम गर्न सकेमा पनि फलदायी हुन्छ । विभिन्न अध्ययनले नियमित व्यायाम गर्ने उच्च रक्तचापका रोगीमा औषधीले समेत राम्ररी काम गरेको तथ्य प्रमाणित गरेका छन् ।

३. नुन कम खाने :
नुन शरीरका लागि अत्यावश्यक लवणतत्व हो । तर, यो थोरै मात्रामा भए पुग्छ । एउटा स्वस्थ व्यक्तिले प्रतिदिन ५ ग्रामभन्दा बढी नुन खानु हुँदैन । अझ उच्च रक्तचाप भएका बिरामी, अन्य मुटुरोगी, मधुमेहीले दिनमा ४ ग्रामभन्दा बढी नुनको प्रयोग गर्नुहुँदैन । यस हिसाबले एक स्वस्थ व्यक्तिले महिनामा १५० ग्रामसम्म नुन खान सक्छन् भने मुटुरोगी, उच्च रक्तचापका बिरामीले १२० ग्रामभन्दा बढी नुन खानु हुँदैन । यस अर्थमा नुनको हिसाब राख्न थाल्नु उपयुक्त हुन्छ । १५० ग्राम नुन भनेको १५० एमएल अट्ने कचौराको एक कचौरा हुन्छ ।

नुन कम खाने भन्ने कुरा सरल सुनिए पनि यसका लागि हामी चनाखो हुनु जरुरी छ । अत्यधिक मात्रामा नुन हुने खानेकुरा, जस्तै, पापड, ससेज, सस, सिसीको अचार, दालमोठ, भुजिया, टिनका बट्टामा हुने खानेकुराहरू सकेसम्म कम खानुपर्छ । त्यस्तैगरी, नुन छर्केर वा थपेर खाने बानी गर्नुहुँदैन । कहिलेकहीँ उच्च रक्तचापका बिरामीले बिल्कुल नुन नखाने गरेको पाइन्छ, योचाहिँ सही उपाय होइन । नुन पटक्कै नखाने होइन, बरु कम खाने हो ।

नुनका साथसाथै उच्च रक्तचापको रोकथाम तथा नियन्त्रणका लागि चिल्लो पनि कम खानुपर्छ । चिल्लो कम भन्नाले तेलमा डुबाएर पकाएका, तारेका खानेकुराहरू खानुहुँदैन । साथै, जनावरजन्य चिल्लोपदार्थहरू, जस्तै, घिउ, बोसो, छाला, चिज, बटरजस्ता खाद्य पदार्थहरू सकेसम्म कम खानु पर्छ । साथै, प्रशस्त मात्रामा सागसब्जी, तरकारी तथा फलफूल खानुपर्छ ।

४. वजन घटाउने :
उच्च रक्तचाप नियन्त्रणका लागि स्वस्थ वजन अत्यावश्यक हुन्छ । मोटोपन भएका मानिसमा उच्च रक्तचाप हुने सम्भावना धेरै हुन्छ ।

एउटा व्यक्तिका लागि स्वस्थ वजन कति हुन्छ भन्नेबारे विभिन्न वैज्ञानिक अवधारणा छन् । तीमध्ये दुईवटाको विषयमा हामी यहाँ छलफल गर्छौं । एउटा हो द्यचयअब क्ष्लमभह, यसअनुसार आप्mनो उचाइलाई सेन्टिमिटरमा नाप्नुहोस् । त्यसमा १०० घटाउनुहोस् । जुन प्रतिफल आउँछ, त्यो नै तपाईंका लागि आदर्श वजन हो । यसको १० प्रतिशतसम्म तलमाथि भएमा पनि सामान्य मानिन्छ । जस्तै, तपाईंको उचाइ १६० सेन्टिमिटर छ भने तपाईंका लागि आदर्श वजन ६० केजी हो । यसको १० प्रतिशत अर्थात ६ केजीसम्म तलमाथि (५४केजीदेखि ६६ केजी) हुँदासम्म पनि सामान्य मान्न सकिन्छ ।

नियमित औषधि खानुका साथसाथै चिकित्सकसँग नियमित जाँच गराउनु, रक्तचाप नियमित रूपमा जाँच्नु पनि अत्यन्त महत्वपूर्ण हुन्छन् । यदि उच्च रक्तचा पनि यन्त्रणमा छ भने तपाईं अन्य व्यक्तिसरह सामान्य गुणस्तरीय जीवन बिताउन सक्नुहुन्छ ।

आफ्नो वजन सही छ कि छैन भन्ने पत्ता लगाउने अर्को तरिका भनेको कम्मरको गोलाइ नाप्ने हो । भुँडी लाग्नुु उच्च रक्तचाप र क्रोेनरी मुटुरोगको जोखिम हो । कतिपय मानिसको वजन सामान्य भईकन पनि पेट लागेको हुन्छ, जुन अस्वस्थ अवस्था हो । सामान्य पुरुषको कम्मरको गोलाइ ३५ इन्च वा सोभन्दा कम हुनुपर्छ भने महिलाको कम्मरको गोलाइ ३१ इन्च वा सोभन्दा कम हुनुपर्छ ।

५. औषधि खाने :
औषधिको कुनै विकल्प छैन । उच्च रक्तचापका बिरामीले चिकित्सकले सिफारिस गरेबमोजिम नियमित औषधि खानैपर्छ । औषधि खाएन भने उच्च रक्तचापको नकारात्मक असर हुन सक्छ । यसबाट पक्षाघात, हृदयाघात, किड्नी फेल हुने आदि हुन सक्छ । यति मात्रै होइन, कतिपय उच्च रक्तचापका बिरामीको त अकस्मात् मृत्युसमेत हुन सक्छ । नियमित औषधि खानुका साथसाथै चिकित्सकसँग नियमित जाँच गराउनु, रक्तचाप नियमित रूपमा जाँच्नु पनि अत्यन्त महत्वपूर्ण हुन्छन् । यदि उच्च रक्तचा पनि यन्त्रणमा छ भने तपाईं अन्य व्यक्तिसरह सामान्य गुणस्तरीय जीवन बिताउन सक्नुहुन्छ ।

६.मुटुको चालको गडबडीको पहिचान तथा उपचार :
उच्च रक्तचाप भएका बिरामीले चिकित्सकको सल्लाहमा नियमित इसिजी भनिने जाँच गरेर आप्mनो मुटुको चालको अवस्था थाहा पाउन सकिन्छ । यदि कसैमा आट्रियल फिब्रिलेसन (Atrial Fibrilation)को समस्या छ भने त्यस्ता बिरामीलाई रगत पातलो गर्ने औषधि दिएर यसबाट हुन सक्ने नकारात्मक जोखिमको रोकथाम गर्न सकिने समस्या छ भने त्यस्ता बिरामीलाई रगत पातलो गर्ने औषधि दिएर यसबाट हुन सक्ने नकारात्मक जोखिमको रोकथाम गर्न सकिन्छ ।

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै

उच्च रक्तचाप : कारण र जीवनशैली व्यवस्थापन

उच्च रक्तचाप जनस्वास्थ्यको प्रमुख समस्या हो । मानिसको जीवनशैलीमा आएको परिवर्तनसँगै उच्च रक्तचाप र त्यसका जटिलताहरू विश्वका विकसित, विकासोन्मुख र अल्पविकसित सबै देशको साझा चुनौती बनेको छ ।

विश्व स्वास्थ्य संगठनका अनुसार विश्वमा हाल एक अर्ब मानिसमा उच्च रक्तचापको समस्या छ, जसमा दुईतिहाइ विकासोन्मुख देशका नागरिक छन् । सन् २०२५ सम्म यो संख्या बढेर १ अर्ब ५६ करोड पुग्ने आकलन गरिएको छ । दक्षिणपूर्वी एसियाका एकतिहाइ युवा उच्च रक्तचापबाट पीडित छन् । उच्च रक्तचापबाट बर्सेनि ८० लाख मानिसको मृत्यु हुन्छ । दक्षिणपूर्र्वी एसियामा मात्र प्रतिवर्ष १५ लाख मानिसले उच्च रक्तचापबाट जीवन गुमाउँछन् ।

विश्वमा मुटु एवम् मुटुको रक्तनलीजन्य रोग मृत्युको प्रमुख कारण बनेको छ । सन् २०१७ मा १ करोड ७९ लाख मानिसको मृत्यु मुटु एवम् मुटुको रक्तनलीजन्य रोगबाट भयो, जुन कुल मृत्युको ३१ प्रतिशत हो । त्यसमा पनि ८५ प्रतिशतको मृत्यु हृदयाघात र मस्तिष्काघातबाट भएको छ । हृदयाघात र मस्तिष्काघातको प्रमुख कारण उच्च रक्तचाप हो । हृदयाघातबाट हुने मृत्युका लागि ४५ प्रतिशत र मस्तिष्काघातबाट हुने मृत्युका लागि ५१ प्रतिशत उच्च रक्तचाप मात्र जिम्मेवार मानिन्छ । यसका अतिरिक्त उच्च रक्तचापले मुटुरोग, मिर्गौलारोग, मधुमेह आदि पनि गराउँछ । विश्वमा तीनमध्ये एक वयस्कमा उच्च रक्तचाप रहेको, तीनमध्ये एकलाई उच्च रक्तचाप भएको थाहा नभएको र तीनमध्ये एकको उच्च रक्तचाप नियन्त्रणमा नरहेको बताइन्छ ।

नेपालमा पनि नसर्ने रोगको महामारी बढ्दै गएको छ । सन् २०१७ मा कुल मृत्युको ६६ प्रतिशत नसर्ने रागबाट भयो । मुटु एवम् मुटुको रक्तनलीजन्य रोगबाट मात्र ३० प्रतिशतको मृत्यु भयो । नेपाल स्वास्थ्य तथा जनसांख्यिक सर्वेक्षण २०१७ अनुसार १७ प्रतिशत महिला र २३ प्रतिशत पुरुषमा उच्च रक्तचापको समस्या छ । त्यस्तै, २४ प्रतिशत महिला र ३१ प्रतिशत पुरुषमा पूर्व–उच्च रक्तचाप (प्रि–हाइपरटेन्सन) छ । ननकम्युनिकेबल डिजिज रिक्स प्याक्टर सर्वे २०१३ का अनुसार २५.७ प्रतिशत मानिसमा उच्च रक्तचाप छ । विगत पाँच वर्षका विभिन्न अनुसन्धानहरूबाट सिन्धुलीको ग्रामीण क्षेत्रमा १२.३ प्रतिशत, धुलिखेलमा २७.७ प्रतिशत, पोखरामा २८ प्रतिशत, सुर्खेतमा ३८.९ प्रतिशत र काठमाडौंमा ३२.५ प्रतिशत मानिसमा उच्च रक्तचाप रहेको पाइएको छ ।

उच्च रक्तचाप अस्वस्थकर आहार, विहार, विचार र व्यवहारको नतिजा हो । विश्व स्वास्थ्य संगठनद्वारा प्रस्तुत एक मोडेलअनुसार विभिन्न सामाजिक चालक एवम् कारकतत्वहरू, जस्तै, औद्योगीकरण, सहरीकरण, आर्थिक अवस्था, शिक्षा, पेसागत संलग्नता एवम् कार्यशैली, बसाइ आदिले बानीव्यहोरालाई प्रभाव पार्छ अर्थात् अस्वस्थकर बानीउन्मुख बनाउँछ ।

परिचय
मुटुको नियमित खुम्चिने र फैलिने क्रियाबाट शुद्ध रगत शरीरभरि पुग्दछ । रगतको वहावबाट रक्तनलीको भित्तामा पर्ने दबाब नै रक्तचाप हो । मुटु खुम्चिने अवधिको दबाबलाई सिस्टोलिक र मुटु फैलिने अवस्थाको दबाबलाई डायस्टोलिक प्रेसर भनिन्छ । बोलिचालीको भाषामा सिस्टोलिक प्रेसरलाई माथिको र डायस्टोलिक प्रेसरलाई तलको प्रेसर भन्ने गरिएको पाइन्छ । सामान्यतः सिस्टोलिक प्रेसर १०० देखि १४० एमएम एचजी र डायस्टोलिक प्रेसर ६० देखि ९० एमएम एचजीसम्म हुन्छ । सिस्टोलिक प्रेसर १४० र डायस्टोलिक प्रेसर ९० एमएम एचजीभन्दा बढी भएको अवस्थालाई उच्च रक्तचाप भनिन्छ ।

उच्च रक्तचाप प्राइमरी र सेकेन्डरी गरी दुई प्रकारका हुन्छन् । प्राइमरी हाइपरटेन्सनको निश्चित कारण थाहा छैन अथवा विभिन्न मिश्रित कारणहरूबाट रक्तचाप बढ्छ । ९० देखि ९५ प्रतिशत उच्च रक्तचापमा प्राइमरी हाइपरटेन्सन पाइन्छ । ५ देखि १० प्रतिशत उच्च रक्तचाप मुटुरोग, मिर्गौलारोग, हर्मोनल समस्या, औषधिको पाश्र्व प्रभाव आदिका कारण हुन्छ, जसलाई सेकेन्डरी हाइपरटेसन भनिन्छ । अमेरिकाको नेसनल हार्ट, लंग्स एन्ड ब्लड इन्स्टिच्युटको प्रिभेन्सन, डिटेक्सन, इभालुएसन एन्ड ट्रिटमेन्ट अफ हाई ब्लड प्रेसरसम्बन्धी सातौँ रिपोर्टअनुसार सिस्टोलिक ब्लड प्रेसर १२० भन्दा कम र डायस्टोलिक प्रेसर ८० भन्दा कमलाई सामान्य मानिएको छ । त्यस्तै, सिस्टोलिक प्रेसर १२० देखि १३९ र डायस्टोलिक ८० देखि ८९ एमएम एचजीलाई प्रि–हाइपरटेन्सन भनिएको छ । सिस्टोलिक १४० देखि १५९ र डायस्टोलिक ९० देखि ९९ एमएम एचजीलाई स्टेज फस्ट हाइपरटेन्सन र सोभन्दा बढी भएमा स्टेज सेकेन्ड हाइपरटेन्सन भनिएको छ ।

यो गाइडलाइन २०१७ मा अमेरिकन कलेज अफ कार्डियोलोजी र अमेरिकन हार्ट एसोसिएसनले संशोधन गरेको छ, जसअनुसार सिस्टोलिक ब्लड प्रेसर १२० र डायस्टोलिक ब्लड प्रेसर ८० भन्दा कमलाई सामान्य रक्तचाप मानेको छ । त्यस्तै, सिस्टोलिक प्रेसर १२० देखि १२९ र डायस्टोलिक प्रेसर ८० भन्दा कमलाई इलिभेटेड ब्लडप्रेसर (बढ्दो रक्तचाप) भनिएको छ । सिस्टोलिक प्रेसर १३० देखि १३९ र डायस्टोलिक प्रेसर ८० देखि ८९ लाई स्टेज फस्ट हाइपरटेन्सन र सोभन्दा बढी भएमा स्टेज सेकेन्ड हाइपरटेन्सन भनिएको छ । त्यस्तै, सिस्टोलिक प्रेसर १८० र डायस्टोलिक प्रेसर १२० भन्दा बढी भएमा हाइपरटेन्सिभ अरजेन्सी र यसको साथमा लक्षित अंगहरूमा क्षति पुगेमा हाइपरटेन्सिभ इमर्जेन्सी भनिएको छ । यो पछिल्लो गाइडलाइनलाई आधार मान्ने हो भने पुरानो गाइडलाइनलाई आधार मानेर विश्लेषण गरिएको तथ्यांकमा ठूलो अन्तर आउँछ । नेपाल स्वास्थ्य तथा जनसांख्यिक सर्वे २०१६ मा उल्लेखित उच्च रक्तचापको २१.२ प्रतिशत बढेर ४४.२ प्रतिशत हुन्छ ।

उच्च रक्तचापको कारण
प्राइमरी हाइपरटेन्सन विविध कारणको संयुक्त नतिजा हो, जसलाई अपरिवर्तनीय र परिवर्तनीय कारण गरी वर्गीकरण गर्न सकिन्छ ।

अपरिवर्तनीय कारण
क) उमेर : सामान्यतया उमेर बढ्दै जाँदा रक्तनलीमा आउने संरचनागत परिवर्तन (साँघुरो र कडापन)ले रक्तचाप पनि बढ्ने गर्दछ ।
ख) आनुवंशिकता :रक्तचाप निर्धारणमा जिनको भूमिका रहने विश्वास गरिन्छ । एउटै जाइगोटबाट जन्मिएका जुम्ल्याहा बच्चामध्ये एकलाई उच्च रक्तचाप भएमा अर्कोलाई पनि भएको पाइएको छ । त्यस्तै, सामान्य रक्तचाप भएका आमाबुबाबाट जन्मेका बच्चाहरूमा पछि उच्च रक्तचाप हुने सम्भावना ३ प्रतिशत मात्र हुन्छ, तर आमाबुबा दुवैमा उच्च रक्तचाप भएमा बच्चामा उच्च रक्तचाप हुने सम्भावना ४५ प्रतिशत हुन्छ ।
ग) जातीयता : तुलनात्मक रूपमा काला(अफ्रिकन–अमेरिकन)हरूमा अरूभन्दा रक्तचाप बढी पाइएको छ ।

परिवर्तनीय कारण
उच्च रक्तचाप अस्वस्थकर आहार, विहार, विचार र व्यवहारको नतिजा हो । विश्व स्वास्थ्य संगठनद्वारा प्रस्तुत एक मोडेलअनुसार विभिन्न सामाजिक चालक एवम् कारकतत्वहरू, जस्तै, औद्योगीकरण, सहरीकरण, आर्थिक अवस्था, शिक्षा, पेसागत संलग्नता एवम् कार्यशैली, बसाइ आदिले बानीव्यहोरालाई प्रभाव पार्छ अर्थात् अस्वस्थकर बानीउन्मुख बनाउँछ । अस्वस्थकर आहार, शारीरिक निष्क्रियता, सुर्ती र रक्सीजन्य पदार्थको सेवन (बानीव्यवहारजन्य रिक्स)ले उच्च रक्तचाप, मोटोपन, मधुमेह र उच्च लिपिड (मोटाबोलिक रिक्स) गराउँछ, जसबाट मुटु एवम् रक्तनलीजन्य रोग र मिर्गौला रोग गराउँछ ।

१) धूमपान : सुर्तीजन्य पदार्थमा निकोटिन, टार, कार्बनमोनोअक्साइडजस्ता २५० भन्दा बढी घातक रसायनहरू पाइन्छन्, जसमध्ये कम्तीमा ५० वटाले फोक्सोलगायतको क्यान्सर गराउँछन् । यसका अलावा मुटुरोग, स्ट्रोक, दीर्घ श्वास–प्रश्वास, मधुमेह आदिको जोखिम बढाउँछ । विश्वमा बर्सेनि ७० लाख मानिसले धूमपानका कारण मृत्युवरण गर्छन । १० मध्ये १ मृत्युका लागि धूमपान जिम्मेवार मानिन्छ ।

सन् २०१३ को तथ्यांकअनुसार नेपालमा १७.६ प्रतिशत मानिसले धूमपान गर्दछन् । ३६ प्रतिशत मानिस सेकेन्ड हेन्ड स्मोकर (अरूले गरेको धूमपानबाट प्रभावित) छन् । निकोटिनले मुटु एवम् रक्तनलीमा संरचनागत र क्रियागत परिवर्तन गराउँछ । अध्ययनहरूबाट धूमपानले रगतको तरलतामा परिवर्तन ल्याउने, एथेरोमा प्लेग बन्न सघाउने, रक्तनली साँघुरो र कडा बनाई रक्तप्रवाहमा कमी ल्याउने गर्दछ । धूमपान नगर्ने व्यक्तिमा समेत सेकेन्ड हेन्ड स्मोकका कारण एक्युट कोरोनरी डिजिज हुने सम्भावना २५ देखि ३५ प्रतिशत बढ्ने बताइन्छ । धूमपान गरिरहेको समयमा सिम्पेथेटिक नर्भस सिस्टम सक्रिय भई मुटुको चाल र रक्तचाप बढ्छ, जुन सामान्य हुन २० मिनेट लाग्छ । धूमपान छोडेको एक वर्षमा हृदयाघात हुने सम्भावना आधा कम हुन्छ भने पक्षाघात हुने सम्भावना धूमपान नगर्नेजतिको अवस्थामा पुग्न पाँच वर्ष लाग्छ ।

२) मद्यपान : विश्वमा मध्यपानका कारण २०१७ मा ३० लाख मानिसको मृत्यु भयो, जसमा १९ प्रतिशतको मृत्यु अत्यधिक मद्यपानका कारण भएको मुटु एवम् रक्तनलीको रोगबाट भएको छ । मद्यपानले सडक दुर्घटना, कलेजो एवम् पेटको रोग, क्यान्सर, मानसिकरोग निम्त्याउँछ । नेपालमा २०१३ को तथ्यांकअनुसार १७.४ प्रतिशत मानिसले रक्सीजन्य पदार्थ सेवन गर्छन् र औसत ४.४ स्टान्डर्ड ड्रि«न्क्स प्रतिपटक सेवन गर्छन् । ४० प्रतिशतले एक हप्तामा चार वा बढी दिन रक्सीजन्य पदार्थको सेवन गर्छन् । अमेरिकी पोषण निर्देशिका २०१५ दखि २०२० ले रक्सीजन्य पदार्थको सेवनलाई सिफारिस गरेको छैन ।

रक्सी सेवन गर्ने पुरुषलाई प्रतिदिन २ स्टान्डर्ड ड्रिन्क्स र महिलालाई १ स्टान्डर्ड ड्रिन्क्स (१ स्टान्डर्ड ड्रिन्क्सबराबर बियर, जाँड २५० मिली, वाइन १०० मिली, लोकल रक्सी ४५ मिली र ह्विस्की, रम, भोडका ३० मिली)भन्दा बढी सेवन नगर्न सुझाएको छ । रक्सीजन्य पदार्थहरूले रक्तचाप एवम् मुटुमा पार्ने प्रभाव सेवन मात्रा, समय आदिमा निर्भर गर्छ । एक अध्ययनले रक्सी सेवनको एक घण्टापछि रक्तचाप बढ्ने र अर्को सात घण्टामा पूर्ववत् अवस्थामा आउने देखाएको छ । रक्सी सेवनबाट मुटुको चाल र कार्डियक आउटपुट बढ्छ भने रक्तनली फैलिएर पेरिफेरल रेसिस्टेन्ट केही कम हुन्छ । थोरै मात्रामा रेड वाइन सेवनले कोरोनरी हार्ट डिजिजको रिक्स घटाउने मान्यता पनि केहिले राख्ने गरेको पाइन्छ । तर, त्यो रेड वाइनमा प्रयोग हुने फलफूलमा भएको पोलिफिनोल, एन्टिअक्सिडेन्ट एवम् फाइटोकेमिकल्सहरूको असरले गर्दा हो भन्ने मत पनि छ ।

अल्कोहल बढी मात्रामा लामो समयसम्म सेवन गरेमा कार्डियोमायोप्याथी, हार्ट फेलर, मुटुको चाल अनियमित हुने समस्या गराउँछ । बढी मात्रामा रक्सी सेवन गर्ने उच्च रक्तचापका रोगीहरूलाई रक्सी छुटाउँदा रक्तचाप पनि कम भएको अनुसन्धानहरूले देखाएका छन् । यसका अलावा अल्कोहलले शरीरको मेटाबोलिज्म, लिपिड प्रोफाइल, मोटोपन, कलेजोको सक्रियता आदिमा असर गर्छ । सन् २०१८ मा ल्यान्सेट जर्नलमा प्रकाशित एक अनुसन्धानले मद्यपानको कुनै सुरक्षित मात्रा नरहेको निष्कर्ष निकालेको छ ।

अध्ययनअनुसार हाल अमेरिकनहरूले दैनिक ३४०० मिग्रा सोडियम प्राप्त गर्दछन्, जसको ७० प्रतिशत तयारी परिकार र रेस्टुरेन्टको खानाबाट प्राप्त गर्छन् । खानेनुन सोडियम क्लोराइड हो, जसमा ४० प्रतिशत सोडियम र ६० प्रतिशत क्लोरिन हुन्छ । दैनिक ५०० मिग्रा सोडियमले शरीरको नर्मल फिजियोलोजी मेन्टेन गर्ने बताइन्छ ।

३) अस्वस्थकर आहार: मुटुस्वास्थ्यसँग नुन (सोडियम)को मात्रा, स्याचुरेटेड फ्याट र फाइवरयुक्त आहारको सेवन सम्बन्धित हुन्छन् । नुन सेवन बढी हुँदा प्रेसर बढ्छ । विश्व स्वास्थ्य संगठनले दैनिक ५ ग्राम नुनको सेवन शरीरका लागि पर्याप्त मानेको छ । तर, अध्ययनहरूले ९ देखि १२ ग्राम नुन दैनिक सेवन भइरहेको देखाएको छ । भान्छामा प्रयोग गरिने तयारी नुनका अतिरिक्त मासु, दूध, सागपात, फलफूलमा पनि नुनको मात्रा हुन्छ । झनै प्रशोधित एवम् तयारी (पत्रु) खानाहरूमा नुनको मात्रा अत्यधिक हुन्छ, जसले मानिसले प्राप्त गर्ने नुनको ७५ देखि ८० प्रतिशत हिस्सा ओगट्छ । मानव जातिको विकासक्रम हेर्दा कृषि पेसा सुरु गर्नु (५, ००० देखि १०, ००० वर्ष )अघि एक व्यक्तिले प्रतिदिन १ ग्राम नुन प्राप्त गर्ने गरेको देखिन्छ, जुन आजको भन्दा १० गुणा कम हो । अहिले पनि अफ्रिका एवम् दक्षिण अमेरिकाको जंगल वा आसपास बस्ने आदिवासीहरूले दैनिक ३ ग्रामभन्दा कम (कतिले त ५०० मिग्रा) नुन सेवन गर्छन् । उनीहरूको रक्तचाप उमेरअनुसारसमेत बढेको पाइँदैन र जीवनभर सामान्य रक्तचाप रहने पाइएको छ ।

त्यस्तै, नुन न्यून मात्रामा सेवन गर्ने जापानको अलस्सकन स्किमोे जातिमा उच्च रक्तचापको समस्या छैन, जब कि नुन बढी सेवन गर्ने उत्तरी क्षेत्रमा बस्ने करिब ३९ प्रतिशत जापनिजहरूमा उच्च रक्तचापको समस्या छ । हाल नुन व्यापारिक स्वार्थबाट प्रेरित भई प्रयोगमा ल्याइएको र यौगिक स्वरूपको सोडियमले शरीरमा हानि गर्ने भएकाले प्राकृतिक स्रोतबाट आवश्यक सोडियम पुर्ती गर्नुपर्छ भन्ने मत राख्नेहरू पनि छन् । प्राकृतिक चिकित्सामा नुनलाई सेतो विष भनिन्छ । यद्यपि, पसिना निस्कने शाकाहारीहरूलाई सोडियम आवश्यक हुन्छ । अमेरिकन हार्ट एसोसिएसनले दैनिक २३०० मिग्राभन्दा कम सोडियम सेवन सिफारिस गरको छ भने १५०० मिग्राभन्दा कम मात्रालाई उपयुक्त(आइडियल) मात्रा भनेको छ ।

अध्ययनअनुसार हाल अमेरिकनहरूले दैनिक ३४०० मिग्रा सोडियम प्राप्त गर्दछन्, जसको ७० प्रतिशत तयारी परिकार र रेस्टुरेन्टको खानाबाट प्राप्त गर्छन् । खानेनुन सोडियम क्लोराइड हो, जसमा ४० प्रतिशत सोडियम र ६० प्रतिशत क्लोरिन हुन्छ । दैनिक ५०० मिग्रा सोडियमले शरीरको नर्मल फिजियोलोजी मेन्टेन गर्ने बताइन्छ । शरीरमा सोडियमको मात्रा निर्धारण गर्न मिर्गौलाले भूमिका खेल्छ र बढी सोडियम पिसाब र पसिनाबाट बाहिर जान्छ । मिर्गौलाको सोडियम छान्ने क्षमता ३० वर्षपछि बिस्तारै कम हुँदै जान्छ, जुन ८० वर्ष पुग्दा ४० प्रतिशतमा सीमित रहन्छ । अन्ततोगत्वा उमेर ढल्दै जाँदा सोडियम बढी भइरहेमा प्लाज्मा सोडियम र फ्लुड भोलुम बढेर ब्लड प्रेसर बढ्छ । एक अध्ययनमा दैनिक ८ ग्राम नुन सेवन गरिरहेका व्यक्तिहरूलाई ४ हप्तासम्म ४ ग्राम नुन सेवन गराउँदा सिस्टोलिक प्रेसर ८ र डायस्टोलिक प्रेसर ४ एमएम एजजी कम भएको पाइएको छ ।

त्यस्तै, स्याचुरेटेड फ्याटको अत्यधिक सेवन पनि मुटुका लागि प्रतिकूल हुन्छ । शरीरलाई आवश्यक जम्मा क्यालोरीको १० प्रतिशतभन्दा कम क्यालोरीको स्रोत स्याचुरेटेड फ्याट हुनुपर्छ । अझै अमेरिकन हार्ट एसोसिएसनले यसलाई ५ दखि ६ प्रतिशतमा सीमित राख्न सुझाएको छ । अध्ययनहरूले स्याचुरेटेड फ्याटको सेवनले कोलेस्टेरोल र लो डेन्सिटी लिपोप्रोटिन बढ्ने देखिएको छ, जसले मुटुरोगको सम्भावना बढाउँछ । स्याचुरेटेड फ्याटको मुख्य स्रोत जनावरजन्य आहार हुन् । कोकोनट र पाम तैलजन्य वनस्पति भए पनि स्याचुरेटेड फ्याटका स्रोत हुन् । सागपात एवम् फलफूल मुटुका लागि हितकर छन् । सागपात एवम् फलफूल फाइबर, भिटामिन, मिनरल्सका स्रोत हुन् ।

यिनीहरूले लो डेन्सिटी लिपोप्रोटिन घटाउँछन् । फलफूल पोटासियमको राम्रो स्रोत हो । यसले सोडियमको निष्कासनमा सहयोग गर्दछ, रक्तनलीहरूलाई फैलाउँछ र रक्तचाप कम गर्न सहयोग गर्दछ । विश्व स्वास्थ्य संगठनका अनुसार दैनिक ५ मात्रा (४०० ग्राम) सागपात र फलफूल सेवन गर्नुपर्छ । विभिन्न अध्ययनले नेपालमा ९८ प्रतिशत मानिसले मापदण्डभन्दा कम फलफूल एवम् सागपात सेवन गर्ने गरेको देखाएको छ ।

४) शारीरिक निष्क्रियता : सक्रिय शारीरिक गतिविधि मुटुस्वास्थ्यका लागि महत्वपूर्ण छ । विश्व स्वास्थ्य संगठनले हप्तामा १५० मिनेट मध्यम व्यायाम (पसिना आउने र अलिअलि स्याँ–स्याँ हुने) गर्न सुझाएको छ । दैनिक कामसँग सम्बन्धित (घर वा कार्यालय वा पेसागत), यातायातसँग सम्बन्धित (हिँडडुल, दौड, साइक्लिङ, सवारीसाधनको प्रयोग), मनोरञ्जनात्मक शारीरिक व्यायाम (योग, प्राणायाम, नृत्य, जगिङ, खेलकुद आदि) नै शारीरिक गतिविधिका घटक हुन् । ननकम्युनिकेबल डिजिज रिक्स फ्याक्टर स्टेप सर्भे २०१३ अनुसार नेपालमा करिब ४ प्रतिशत मानिसले न्यून व्यायाम गर्छन् । ४५ देखि ६९ वर्षका ६ प्रतिशत मानिसले मापदण्डबमोजिम व्यायाम गर्दैनन् । व्यायाममा शारीरिक श्रमको हिस्सा ६२.७ प्रतिशत, यातायातसँग सम्बन्धित क्रियाकलापको हिस्सा ३३.६ प्रतिशत र मनोरञ्जनात्मक व्यायामको हिस्सा ३.७ प्रतिशत मात्र छ ।

९.३ प्रतिशत मानिसले श्रमसँग सम्बन्धित क्रियाकलाप, ६.७ मानिसले यातायातसँग सम्बन्धित क्रियाकलाप र ८७.९ प्रतिशत मानिसले मनोरञ्जनात्मक व्यायाम न्यूनतम मापदण्ड (१०/१० मिनेट) पूरा नगर्ने गरेको देखिएको छ । व्यायामले स्वयम् मुटुको रक्तसञ्चार सुदृढ बनाउँछ । विभिन्न केमिकल मेडिएटरहरूले रक्तनलीहरूको लचकता र फैलावट बढाउँछन्, शरीरको तौल घटाउन सहयोग गर्छन्, नराम्रा कोलेस्टेरोल घटाउँछन् र राम्रा कोलेस्टेरोल बढाउँछन् । मनोरञ्जनात्मक व्यायामले सिम्पाथेटिक नर्भस सिस्टमको सक्रियता घटाउँछ र रक्तचाप कम गर्न सहयोग गर्छ । केही कडाखालका व्यायामलगत्तै भने रक्तचाप बढ्छ (पोस्ट एक्सरसाइज हाइपरटेन्सन), जुन केही समयमा स्वतः घट्छ ।

उच्च रक्तचापका लक्षण
उच्च रक्तचापले खासै लक्षण नदेखाई मृत्युको मुखसम्म पुर्याउने भएकाले यसलाई ‘साइलेन्ट किलर’ पनि भनिन्छ । केहीलाई टाउको दुख्ने, चक्कर लाग्ने, हेर्न असहज हुने, क्षणिक बेहोस हुने आदि हुन सक्छ ।

उपचार एवम् जीवनशैली व्यवस्थापन
अमेरिकन कलेज अफ कार्डियोलोजी र अमेरिकन हार्ट एसोसिएसनले रक्तचाप सामान्य (१२०÷८० भन्दा कम) रहेको अवस्थामा वार्षिक रूपमा रक्तचाप मापन गर्र्न र स्वस्थ जीवनशैली अपनाउन सुझाएको छ । त्यस्तै, बढ्दो रक्तचाप (सिस्टोलिक १२० देखि १२९ र डायस्टोलिक ८० भन्दा कम)को अवस्थामा ३ देखि ६ महिनामा पुनः परीक्षण गर्न र जीवनशैली व्यवस्थापन गर्न भनेको छ । फस्ट स्टेज हाइपरटेन्सनमा कार्डियोभास्कुलर रिक्स १० प्रतिशतभन्दा कम भएमा जीवनशैली व्यवस्थापन र ३ देखि ६ महिनामा पुनः रक्तचाप परीक्षण गर्नुपर्छ । तर, कार्डियोभास्कुलर रिक्स १० प्रतिशतभन्दा बढी भएमा औषधि सेवनका साथै जीवनशैली परिवर्तन गर्नुपर्छ । एक महिनामा रक्तचाप नियन्त्रणमा आएमा पुनः ३ देखि ६ महिनामा रक्तचाप परीक्षण गर्नुपर्छ र नियन्त्रण नभएमा औषधि पुनरावलोकन गर्नुपर्छ । सेकेन्ड स्टेज हाइपरटेन्सनमा औषधि र जीवनशैली व्यवस्थापन सँगसँगै गर्नुपर्छ र १ महिनामा पुनः परीक्षण गर्नुपर्छ ।

औषधि
आधुनिक चिकित्सापद्धतिमा थाइजाइड (हाइपोक्लोरोथाइजाइड), एन्जिओटेन्सिन कन्भर्टिङ इन्जाइम इन्हिबिटर (लिसिनोप्रिल, क्याप्टोप्रिल), एन्जिओटेन्सिन सेकेन्ड ब्लकर (लोसार्टन), क्याल्सियम च्यानल ब्लकर (एम्लोडिपिन), बिटा ब्लकर (एटेनोलोल) आदि औषधि उपलब्ध छन् । त्यस्तै, आयुर्वेद चिकित्सापद्धतिमा सर्पगन्धा, जटामसी, अर्जुन, प्रभाकर वटी, सर्पगन्धा घनवटी, गुगुल योगलगायत विभिन्न प्याटेन्ट औषधिहरू उपलब्ध छन् ।

तौल सामान्य राख्नुपर्छ अर्थात् बिएमआई (तौल/उचाइ (मि.) स्क्वायर) १८.५ देखि २४.९ सम्म हुनुपर्छ । दैनिक खाने आहारमा पाइने जम्मा क्यालोरी र शरीरलाई आवश्यक क्यालोरी हिसाब गरी सन्तुलित आहारको मेनु बनाउनुपर्छ । शरीरलाई आवश्यक क्यालोरीको ५० देखि ६५ प्रतिशत कार्बोहाइड्रेटबाट, १० दखि १५ प्रतिशत प्रोटिनबाट र २० देखि ३० प्रतिशत चिल्लोबाट पूर्ति गर्नुपर्छ ।

जीवनशैली व्यवस्थापन
विभिन्न अनुसन्धानले उच्च रक्तचापको रोकथाम, व्यवस्थापन एवम् नियन्त्रणमा जीवनशैली व्यवस्थापनलाई प्रभावकारी रूपमा उपयोग गर्न सकिने देखाएका छन् । बढी भएको तौल १० केजी कम गर्दा ५ देखि २० एमएम एचजी सिस्टोलिक प्रेसर कम हुन्छ । आहारमा फलफूल तथा सागपातको पर्याप्त सेवन र चिल्लो कम गर्दा ८ देखि १४ एमएम एचजी प्रेसर कम हुन्छ । नुनको मात्रा कम गरेर २ देखि ८ एमएम एचजी, व्यायाम गरेर ४ देखि ९ एमएम एचजी र अल्कोहल बन्द वा न्यून गरेर २ देखि ४ एमएम एचजी सिस्टोलिक प्रेसर कम गर्न सकिन्छ ।

१) तौल नियन्त्रण
तौल सामान्य राख्नुपर्छ अर्थात् बिएमआई (तौल/उचाइ (मि.) स्क्वायर) १८.५ देखि २४.९ सम्म हुनुपर्छ । दैनिक खाने आहारमा पाइने जम्मा क्यालोरी र शरीरलाई आवश्यक क्यालोरी हिसाब गरी सन्तुलित आहारको मेनु बनाउनुपर्छ । शरीरलाई आवश्यक क्यालोरीको ५० देखि ६५ प्रतिशत कार्बोहाइड्रेटबाट, १० दखि १५ प्रतिशत प्रोटिनबाट र २० देखि ३० प्रतिशत चिल्लोबाट पूर्ति गर्नुपर्छ । आरामदायी जीवन जिउने पुरुषलाई २ हजार ३ सय २० किलो क्यालोरी, औसत सक्रिय जीवन जिउनेलाई २ हजार ७ सय ३० किलो क्यालोरी र कडा परिश्रम गर्ने पुरुषलाई ३ हजार ४ सय ९० किलो क्यालोरी शक्ति दिने आहार दैनिक चाहिन्छ । त्यस्तै, आरामदायी जीवन जिउने महिलालाई १ हजार ९ सय किलो क्यालोरी, औसत श्रम गर्ने महिलालाई २ हजार २ सय ३० किलो क्यालोरी र कडा परिश्रम गर्ने महिलालाई २ हजार ८ सय ५० किलो क्यालोरी दैनिक आवश्यक हुन्छ । कार्बोहाइड्रेटले ४ किलो क्यालोरी प्रतिग्राम, प्रोटिनले ४ किलो क्यालोरी प्रतिग्राम र फ्याटले ९ किलो क्यालोरी प्रतिग्राम शक्ति दिन्छन् ।

शरीरका लागि आवश्यक क्यालोरीको ५० देखि ७० प्रतिशत मुटु, फोक्सो, मस्तिष्क, मिर्गौला आदि अंगहरूको काममा खर्च हुन्छ । १५ देखि ३० प्रतिशत शारीरिक श्रममा र बाँकी तापक्रम सन्तुलित राख्न उपयोग हुन्छ । शरीरलाई आवश्यकभन्दा बढी खपत गरिएको क्यालोरीले शरीरको तौल बढाउँछ । बढी भएको शरीरको तौल कम गर्न क्यालोरीको खपत कम गरेर र खर्च बढी गरेर क्यालोरी डिफिसिट गराउनुपर्छ । प्रतिहप्ता ३ हजार ५ सय किलो क्यालोरी नेगेटिभ क्यालोरी ब्यालेन्स भएमा ०.४५ केजी तौल कम हुन्छ । एकैपटक अधिक क्यालोरी खर्च गर्ने वा धेरै तौल घटाउने वा लामो समय निराहार बस्ने कुरा स्वास्थ्यका दृष्टिकोणले उपयुक्त हुँदैन । प्रतिहप्ता आधा केजी तौल कम गर्नु राम्रो मानिन्छ, जुन न्यून क्यालोरीयुक्त आहार सेवन र नियमित शारीरिक व्यायामबाट गर्न सकिन्छ । अमेरिकन कलेज अफ स्पोट्र्स मेडिसिन गाइडलाइनले महिलाले न्यूनतम १ हजार २ सय किलो क्यालोरी र पुरुषले १ हजार ८ सय किलो क्यालोरी आहार सेवन गर्न सुझाएको छ ।

२) शारीरिक सक्रियता
स्वस्थ मानिसले दैनिक ३० मिनेट मध्यम शारीरिक व्यायाम गर्नुपर्छ । बढ्दो रक्तचाप वा उच्च रक्तचाप भएमा थप ३० मिनेट व्यायाम गर्नुपर्छ । बिहान र साँझ छिटो–छिटो हिँड्नु (ब्रिस्क वाकिङ), दौडनु, पौडी खेल्नु, साइकल चलाउनु, नाँच्नु, आउटडोर गेम खेल्नु, योग तथा प्राणायाम गर्नु, शारीरिक श्रम गर्नु आदि व्यायामका विभिन्न रूप हुन् । व्यक्तिको उमेर, अवस्था, रोग र क्षमताअनुसार व्यायामको स्वरूप फरक–फरक हुन सक्छन् । शारीरिक रूपमा सक्रिय रहँदा क्यालोरी खर्च हुन्छ र तौल नियन्त्रण गर्न सघाउ पुग्छ । हिँड्दा २ किलो क्यालोरी, छिटो–छिटो हिँड्दा ४ किलो क्यालोरी र दौडँदा ८ किलो क्यालोरी प्रतिमिनेट खर्च हुन्छ ।

सामान्यतया न्यून क्यालोरी सेवनबाट घट्ने तौलको २० प्रतिशत अतिरिक्त तौल व्यायामबाट घटाउन सकिने अनुसन्धानले देखाएको छ । एकपटक घटेको तौललाई सोही अवस्थामा स्थिर राख्न वा तौलको वृद्धिदर कम गर्न व्यायामले सबैभन्दा महत्वपूर्ण भूमिका खेल्ने पाइएको छ । त्यस्तै, नियमित योग एवम् प्राणायामले रक्तचाप र तनाव नियन्त्रण गर्न सहयोग गर्ने अनुसन्धानहरूले देखाएका छन् । ओमलगायतको मन्त्रोच्चारण, जगिङ, सूर्यनमस्कार, सेतुबन्धासन, भुजंगासन, चन्द्रभेदी प्राणायाम, शीतली प्राणायाम, सीत्कारी प्राणायाम, भ्रामरी प्राणायाम, योगनिद्रा आदि अत्यन्त प्रभावकारी छन् ।

३) स्वस्थकर आहार
दैनिक रूपमा फलफूल एवम् सागपात सेवन गर्नुपर्छ । खानासँगै वा अघि सलाद प्रयोग गरेर खाना÷भातको मात्रा कम गरी क्यालोरी घटाउन सकिन्छ । खाजाका रूपमा फलफूल सेवन गर्न सकिन्छ । त्यस्तै, खानामा हरियो सागपात छुटाउनुहुुँदैन । आफैँले करेसाबारी वा कौसीमा आवश्यक तरकारी उत्पादन गरेमा झनै स्वस्थकर हुन्छ । चिल्लोको मात्रा कम गर्नुपर्दछ । बजारमा पाइने तयारी खाना एवम् होटेलका परिकारहरूमा चिल्लो बढी प्रयोग हुने भएकाले सेवन गर्दा सही परिकार छनोट र सकभर कम सेवन गर्नुपर्छ ।

अव्यवस्थित जीवनशैलीबाट हुने भएकाले रोकथाम एवम् उपचार जीवनशैली व्यवस्थापनबाटै गर्नुपर्छ । उचित आहार, विहार, विचार र व्यवहारले उच्च रक्तचाप र त्यसबाट हुन सक्ने जटिलता कम गरी व्यक्तिलाई स्वस्थ सहन र उत्पादनशील एवम् गुणस्तरीय जीवन जिउन सघाउँछ ।

४) नुनको मात्रा कम गर्ने
परिकारहरू तयार गर्दा नुन कम प्रयोग गर्नुपर्दछ वा नुन नराखी तयार गरेर पछि खानेवेलामा थोरै राख्न सकिन्छ । नुन प्रयोग नगर्दा स्वाद फरक लाग्छ भने कागती र अन्य मसलाहरूको प्रयोगबाट स्वाद कायम राख्न सकिन्छ । सोडियमको मात्रा भान्छाको खानाभन्दा बजारको तयारी खानाबाट बढी प्राप्त हुने भएकाले सेवन गर्दा त्यसको खोलमा उल्लेखित सोडियमको मात्रा हेर्नुपर्छ । प्रति १०० ग्राम तयारी परिकार (जकंफुड)मा ०.२ ग्रामभन्दा बढी सोडियम भएमा त्यस्तो तयारी परिकार सेवन नगर्नु बुद्धिमानी हुन्छ । त्यस्तै, सोडा, सस, अजिनोमोटो (मोनो सोडियम ग्लुटामेट)को प्रयोग नगर्दा वा कम गर्दा राम्रो हुन्छ ।

५) रक्सीजन्य पदार्थको सेवन र धूमपान नगर्ने
रक्सीजन्य पदार्थको सेवन र धूमपानले मुटुलाई हानि गर्ने भएकाले सेवन गर्नुहुँदैन । यी दुवै कुलत छाड्न आत्मविश्वास र प्रतिबद्धता चाहिन्छ । चिकित्सक वा परामर्शदातासँग सल्लाह लिन सकिन्छ । यसको सेवनबाट स्वास्थ्यमा, आर्थिक अवस्थामा, पारिवारिक एवम् सामाजिक सम्बन्धमा पर्ने प्रभावहरूको मूल्यांकन गरी बेफाइदाहरू मनन गर्नुपर्दछ, जसबाट मद्यपान र धूमपानप्रति वितृष्णा पैदा हुन्छ । सेवनको मात्रा बिस्तारै घटाउँदै निश्चित समयसीमा तोकेर बन्द गर्नुपर्दछ । काममा व्यस्त रहने, धूमपान र मद्यपान गर्नेहरूको संगत नगर्ने र तलतल मेट्न अन्य वैकल्पिक उपायहरू अपनाउने गर्नुपर्छ ।

६) औषधि एवम् चिकित्सकको परामर्श
रक्तचापको अवस्थाअनुसार उपचारका लागि जीवनशैली परिवर्तन र औषधि चिकित्सकले सिफारिस गर्ने गर्दछन् । यसर्थ, चिकित्सकको नियमित सम्पर्कमा रही रक्तचाप मापन र अन्य आवश्यक परीक्षण गर्नुपर्छ । रक्तचाप सामान्य रहेमा र अन्य कुनै रिक्स नभएमा औषधिको मात्रा घटाउँदै चिकित्सकको निगरानी र सल्लाहमा बन्द गर्न पनि सकिन्छ । तर, आफैँले औषधि परिवर्तन वा बन्द गर्नुहुँदैन । चिकित्सकसँगको भेटमा बिरामीले रक्तचापको हालको अवस्था, हुनुपर्ने रक्तचाप, आफ्नो तौलको अवस्था, उचित आहारको छनोट, शारीरिक व्यायाम, औषधिको नाम, मात्रा, साइडइफेक्ट, अपनाउनुपर्ने सावधानी, औषधि सेवनको समय र तरिका आदिबारे पूरा जानकारी लिनुपर्छ र त्यसको पालना गर्नुपर्छ ।

निष्कर्षमा भन्नुपर्दा उच्च रक्तचाप जनस्वास्थ्यको जल्दोबल्दो समस्या हो । यो अव्यवस्थित जीवनशैलीबाट हुने भएकाले रोकथाम एवम् उपचार जीवनशैली व्यवस्थापनबाटै गर्नुपर्छ । उचित आहार, विहार, विचार र व्यवहारले उच्च रक्तचाप र त्यसबाट हुन सक्ने जटिलता कम गरी व्यक्तिलाई स्वस्थ सहन र उत्पादनशील एवम् गुणस्तरीय जीवन जिउन सघाउँछ ।

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै