परम्परागत उपचारका क्षेत्र र जलवायु परिवर्तनमा मिलेर काम गर्न नेपाल र चीन सरकार सहमत

नेपाल र चीन सरकार परम्परागत उपचारका क्षेत्रमा मिलेर काम गर्न सहमत भएका छन् । चिनियाँ राष्ट्पति एवं चिनियाँ कम्युनिस्ट पार्टीका महासचिव सी जिनपिङको दुईदिने नेपाल भ्रमणका क्रममा नेपाल र चीन सरकारबीच २० बुँदे सहमति, सम्झौता तथा साझेदारीपत्रमा हस्ताक्षर भएको छ । यसअन्तर्गत परम्परागत उपचारपद्धतिको विकास तथा जलवायु परिवर्तनको असर न्यूनीकरणका विषयमा दुई सरकारले मिलेर काम गर्ने सहमति भएको हो ।

आइतबार प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति सीको उपस्थितिमा दुई देशका प्रतिनिधिहरुले सहमतिको आदान–प्रदान गरेका छन् । समारोहमा स्वास्थ्य तथा जनसंख्यासचिव खगराज बराल र नेपालका लागि चिनियाँ राजदूत हउ यान्चीले परम्परागत उपचारका क्षेत्रमा दुई देशले एक–आपसमा सहयोग अभिवृद्धि गर्ने सहमति आदान–प्रदान गरे । नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र चीनको परम्परागत चिनियाँ औषधिको राष्ट्रिय प्रशासनबीच परम्परागत औषधिको समन्वयसम्बन्धी एमओयू भएको हो । सहमतिमा दुई देशबीच परम्परागत उपचारपद्धतिको विकास, त्यससम्बन्धी तालिम, जडीबुटीको सम्भाव्यता अध्ययनलगायत विषयमा आपसी सहयोग वृद्धि गर्ने उल्लेख छ । यद्यपि, सहयोगको ठोस प्रारुप भने तयार भइनसकेकाले थप गृहकार्य गरेर पछि विषयगत सम्झौता गरिने स्रोतले बताएको छ ।

त्यसैगरी, पछिल्लो समय समग्र विश्वकै चिन्ताको विषय बनेको जलवायु परिवर्तनका विषयमा समेत दुई सरकार मिलेर काम गर्न सहमत भएका छन् । शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीले दिएको रात्रिभोजका अवसरमा संक्षिप्त मन्तव्य राख्दै राष्ट्रपति सीले नेपाल र चीन जलवायु परिवर्तनको असर न्यूनीकरणका लागि एक–आपसमा मिलेर काम गर्न सहमत भएको बताइसकेका छन् । नेपाल र चीन दुवै देशले पछिल्लो समय जलवायु परिवर्तनको मार खेपिरहेका छन् ।

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै

जलवायु परिवर्तनको असर : उन्मूलनको अवस्थामा पुगेका रोगले लिन थाले महामारीको रूप

जलवायु परिवर्तनको असर दिनप्रतिदिन बढ्दो छ । पछिल्लो समय मानव स्वास्थ्यले जलवायु परिवर्तनको प्रत्यक्ष असर खेपिरहेको छ । जलवायु परिवर्तनकै असरस्वरूप नेपालसँगै विश्वभर नै उन्मूलनको अवस्थामा पुगेका रोगहरूले पुनः महामारीको रूप धारण गर्न थालेका छन् । जलवायु परिवर्तनकै कारण नेपालमा निमूलन घोषणा गर्न लागिएका रोगहरू बढ्दै गई पुनः प्रकोपको रूप धारण गर्न थालेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

पहिले–पहिले खासगरी तराईका क्षेत्रमा देखिने लामखुट्टेको वासस्थान बढ्दै गई मुलुकभर नै फैलिएको अवस्था छ । यसका कारण अहिले डेंगुरोगले अनियन्त्रित रूपमा देशका सम्पूर्ण भागमा महामारीको स्वरूप लिन पुगेको छ । डेंगु नियन्त्रणका निमित्त चालिएका सम्पूर्ण कदम प्रभावहीनसिद्ध भइरहेका छन् भने अधिकांश जिल्लामा रोग फैलिसकेको अवस्था छ । बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र विश्व स्वास्थ्य संगठनको सहकार्यमा आयोजित कार्यक्रममा जलवायु परिवर्तनले गर्दा विभिन्न रोगको प्रकोप फैलिँदै गएको र यसलाई नियन्त्रण गर्न नसकिएको खण्डमा स्वास्थ्य क्षेत्रमा विकराल अवस्था निम्तिने खतरा विज्ञहरूले औँलाएका छन् ।

जलवायु परिवर्तनले निर्मूलन घोषणा गर्न लागिएका रोगले थप चुनौती दिँदै
नेपालमा कालाजार, औलो, मलेरियाजस्ता कीटजन्य रोग निर्मूलनको अवस्थामा पुगेकोमा देशका कुनाकाप्चामा पुनः देखिन थालेका छन् । पहिलोपटक सन् २००४ मा चितवनमा देखिएको डेंगुले सन् २०१० मा चितवनमा महामारी रूप लिएको थियो । तर, हाल आएर देशैभर डेंगुको फैलावट अनियन्त्रित बन्दै गएको छ । झन्डै साढे ३ महिनादेखि निरन्तर नियन्त्रणका प्रयास गरिँदै आए पनि हाल ४२ वटा जिल्लालाई डेंगुले नराम्ररी प्रभावित बनाइसकेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठले जानकारी दिए ।

‘कालाजार निर्मूलन गर्ने पहिलो देश बन्ने लक्ष्यका साथ घोषणा प्रक्रियामा थियौँ, तर मुगु, प्युठान जिल्लामा पुनः कालाजार देखियो,’ प्रवक्ता श्रेष्ठले भने, ‘मौसम परिर्वतनका कारण हिजो नभएका रोगहरू आज फैलिँदै गएको छन् ।’

सिंगापुरमा कुनै समय उन्मूलनको अवस्थामा पुगेको डेंगुले अहिले महामारीको रूप दिँदै छ । त्यस्तै, थाइल्यान्डमा यसले महामारीको रूप लिइसकेको छ भने त्यहाँको सरकारले आपत्काल घोषणा गरिसकेको छ । दक्षिण अमेरिकाका होन्डुरसलगायत तीन देशमा पनि आपत्कालको घोषणा गरिएको छ भने फिलिन्सको अवस्था पनि त्यस्तै छ ।

विश्वभर नै ब्युँतिँदैछन् निर्मूल गरिएका रोग
सिंगापुरमा कुनै समय उन्मूलनको अवस्थामा पुगेको डेंगुले अहिले महामारीको रूप दिँदै छ । त्यस्तै, थाइल्यान्डमा महामारीको रूप लिइसकेको छ भने त्यहाँको सरकारले संकटको घोषणा गरिसकेको छ । दक्षिण अमेरिकाका होन्डुरसलगायत तीन देशमा पनि आपत्कालको घोषणा गरिएको छ भने फिलिन्सको अवस्था त्यस्तै छ ।

पछिल्ला २ दशकमा विश्वमा २१ भन्दा बढी नयाँ रोग
सन् २००० पछि हेर्ने हो भने संसारमा २१ वटाभन्दा बढी नयाँ रोग थपिएका छन् । सन् १८०० मा संसारको जनसंख्या १ अर्ब थियो, हाल ७ अर्ब ६० करोडको हाराहारीमा छ । यरी हेर्दा हाल संसारभर प्रतिवर्ष १० देखि १२ करोड मानिस थपिँदै छन् । मानिसले धेरै प्राकृतिक दोहन गरेका कारण जलवायुमा परिवर्तन आएसँगै विभिन्न रोगहरू फैलिँदै गएको श्रेष्ठ बताउँछन् ।

जलवायु परिवर्तन अथवा विषमताका कारण स्वास्थ्य क्षेत्रमा दूषित पानी र खाना, वायु प्रदूषण र पोषणको कमीबाट हुने रोग, चोटपटक तथा मनोरोगलगायत समस्या बढिरहेका छन् । फोहोर पानीको निरन्तर सम्पर्कका कारण हुने छालाका रोगहरूमा वृद्धि हुँदै वर्षाको प्रवृत्ति वा परिमाणमा हुने परिवर्तनले जलाधार क्षेत्रमा पानीको स्रोतको उपलब्धता कम हुन थालेको छ भने बाह्य प्रदूषणले यसको गुणस्तरमा असर पर्दै गएको छ । जलवायु परिवर्तनबाट सिर्जित विपद्बाट भौतिक संरचनामा क्षति पुगी स्वच्छ पानीको वितरणमा अवरोध उत्पन्न गरेको विज्ञ बताउँछन् । हानिकारक भाइरस र ब्याक्टेरियाद्वारा संक्रमित मानव तथा जनावरको दिसा–पिसाब पानीमा मिसिन गई प्रदूषित बनेको पानीद्वारा सिर्जित रोगहरूको अतिक्रमण बढ्दै गएको छ ।

जलवायु परिवर्तनका कारण विश्वभर नै नसर्ने रोगहरू बढ्दै गएको अनुसन्धानले देखाएको छ । नेपालमा पर्याप्त मात्रामा अनुसन्धान नभए पनि अन्य देशको अनुसन्धानलाई हेर्दा मौसम परिवर्तनका कारण नसर्ने रोगको भार बढ्दै विज्ञको भनाइ छ ।

लवायु परिवर्तनले निम्त्याउने समस्या कम गर्न नेपाललाई १ मिलियन डलर, राम्रो गर्न सके थपिने
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विश्व स्वास्थ्य संगठनसँग समन्वय गरी ग्लोबल इन्भारमेन्ट फ्यासिलिटी प्रोजेक्ट ल्याएको छ । यसअन्तर्गत नेपाललाई ग्लोबल इभारमेन्ट फ्यासिलिटी र युएनडिपीबाट १ मिलियन डलर प्राप्त हुनेछ । यस्तो प्रोजेक्ट बंगलादेश, कम्बोडिया, म्यानमारजस्ता ६ देशले पाएका छन् । नेपालले राम्रो काम गरेर देखाएको खण्डमा अझै रकम बढ्ने अपेक्षा राखिएको छ । मौसम परिवर्तनले गर्दा नेपालमा नसर्ने रोगको भार कति रहेको छ, त्यसको अनुसन्धान गर्ने, स्वास्थ्यकर्मीमा जनचेतना विस्तार गर्नेदेखि लिएर अन्य महत्त्वपूर्ण काम गर्ने मन्त्रालयले जनाएको छ ।

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै

जलवायु परिवर्तनमा गाई-भैँसी कसरी जिम्मेवार

जलवायु परिवर्तनबाट चिन्तित वैज्ञानिक र पर्यावरणविद्हरूका लागि गाईले निकाल्ने ग्यास र तिनीहरूको डकार लामो समयदेखि चिन्ताको विषय रहिआएको छ वायुमण्डलमा हानिकारक मिथेन ग्यास अत्यधिक हुनुमा गाई-भैँसीको डकार र तिनीहरूको पेटबाट निस्किने ग्यासलाई उनीहरू जिम्मेवार ठान्छन्। मिथेन ग्यासको उत्सर्जन रोक्नका लागि गाईको खानामा सुधार ल्याउन वैज्ञानिकहरू प्रयासरत छन्।

तिनीहरूलाई लसुन, केशर र अरू सागसब्जी खुवाएर त्यसको प्रभाव हेर्ने प्रयास गरिएका छन्।

हानिकारक

अमेरिकाको क्यालिफोर्निया विश्वविद्यालयका सोधकर्ताहरूले गाईले निकाल्ने ग्यासलाई कम हानिकारक बनाउने उपाय निकालेको बताएका छन्।

वैज्ञानिकहरूका अनुसार गाई-भैँसीलाई समुद्री लेउ खुवाइए तिनीहरूले निकाल्ने ग्यासमा मिथेनको मात्रा घटाउन सकिन्छ र त्यसले पर्यावरणलाई जोगाउन सकिन्छ।
शोध अन्तर्गत वैज्ञानिकहरूले करिब एक दर्जन दुधालु गाईहरूलाई समुद्री लेउ खुवाएका थिए।

लेउ खुवाइएपछि गाईहरूको डकार र ग्यासमा मिथेनको मात्रामा ३० प्रतिशतले कमी आएको पाइएको वैज्ञानिकहरूले बताएका छन्। शोधमा संलग्न सो विश्वविद्यालयका पशुसम्मबन्धी वैज्ञानिक एर्मियास केब्रियाबले शोधको नतिजाबाट आफू आश्चर्यमा परेको बताए।

उनले भने, “थोरै मात्रामा गाईलाई समुद्री लेउ खुवाएर चमत्कार हुनसक्छ भनेर मलाई लागेको थिएन।”

केब्रियाबका अनुसार उनीहरूको टोलीले अब भैँसीमा त्यसको परीक्षण गर्नेछ र यसै वर्षको अक्टोबरबाट त्यसको शुरूवात गरिनेछ।

उत्सर्जन

संयुक्त राष्ट्रसंघको खाद्य तथा कृषि संगठनको सन् २०१४ को एउटा प्रतिवेदन अनुसार गाई, भैँसी, भेँडा, बाख्रा लगायतका चौपायाले दिनभरि उघ्र्याइरहन्छन् र डकारिरहन्छन्।

सो क्रममा तिनीहरूको पेटबाट मिथेन ग्यास निस्किन्छ।

सन् २००६ को नोभेम्बरमा प्रकाशित एउटा अध्ययन प्रतिवेदन अनुसार जलवायु परिवर्तनका लागि गाडी र कलकारखानाको धूँवा जति जिम्मेवार हुन्छ त्योभन्दा बढी गाईको पेटबाट निस्किने मिथेन ग्यास जिम्मेवार हुन्छ। उक्त प्रतिवेदनका अनुसार वायुमण्डललाई सबैभन्दा बढी खतरा गाई र भैँसीबाट छ। कारहरूबाट कार्बन डाइअक्साइड उत्सर्जन हुन्छ भने गाईबाट मिथेन ग्यास।

र, कार्बन डाइअक्साइडको तुलनामा मिथेन ग्यास वायुमण्डलका लागि अझ बढी खतरनाक हुन्छ।

त्यसले हरितगृह ग्यासलाई बढी मात्रामा बाँधिराख्छ, जुन विश्व तापमान वृद्धिको ठूलो कारण हो।

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै