चितवन: मृतक युवकमा कोरोना नभएको पुष्टि

कोरोना (कोभिड १९) भाइरस संक्रमण आशंकामा चितवनमा उपचारत सबैजनामा कोरोना नभएको पुष्टि भएको छ। भरतपुर अस्पताल र भरतपुर कोरोना विशेष अस्पतालमा भर्ना भएका १० जना बिरामीको स्वास्थ्य रिपोर्ट नेगेटिभ आएपछि उनीहरूमा कोरोना नभएको पुष्टि भएको हो।

कोरोनाको आशंकामा भरतपुर अस्पतालले आइतबार र सोमबार गरी आठजना र कोरोना विशेष अस्पतालले दुईजनाको स्वाब परीक्षणका लागि केन्द्रीय प्रयोगशाला टेकुमा नमुना पठाएको थियो। मंगलबार बिहान मृत्यु भएका ३० वर्षीय युवकको पनि कोरोनाका कारण मृत्यु नभएको भरतपुर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट श्रीराम तिवारीले जानकारी दिए। उनको रिपोर्ट आज पठाइएको थियो।

आज (मंगलबार) पनि चितवनबाट कोरोनाको आशंकामा चारजनाको स्वाब परीक्षणका लागि काठमाडौं पठाइएको कोरोना नियन्त्रण कार्यदल चितवनका प्रवक्ता डाक्टर भोजराज अधिकारीले जानकारी दिए ।

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै

‘चितवनमा एसइई दिने सबैलाई स्वास्थ्य जाँच गर्न सम्भव छैन’

राष्ट्रिय परीक्षा बोर्ड भक्तपुरले एसइईमा स्वास्थ्य परिक्षणपछि मात्र विद्यार्थीलाई परीक्षामा सामेल गराउन निर्देशन दिएको छ। तर, चितवनका स्थानीय तहले भने सवै विद्यार्थीको स्वास्थ्य परिक्षण गर्न नसिकिने बताएका छन्।

भरतपुर महानगरपालिका शैक्षिक प्रशासन महाशाखा सिताराम कोईरालाले स्वास्थ्य परिक्षण गर्नका लागि आवश्यक उपकरण नभएको बताए।
‘राष्ट्रिय परीक्षा केन्द्रले प्रत्येक केन्द्रमा हेल्थ डेस्क राखेर स्वास्थ्य परिक्षण गर्न भनेको छ । तर, हाम्रोमा स्वास्थ्य परिक्षण गर्ने स्वास्थ्यकर्मी, उपकरणसंगै मास्कको समेत अभाव छ’ उनले भने ‘एकदिनको तयारीमा २२ वटा केन्द्रमा स्वास्थ्य परिक्षण गर्न सम्भव छैन।’

परीक्षा जस्तो संवेदनशील विषयमा विद्यार्थीलाई मास्कको प्रयोग गर्न समेत भन्न नसकिएको उनले बताए । ‘मास्क लगाएर विद्यार्थीलाई भित्र छिर्न दियौँ भने एउटाको परीक्षा अर्कोले दिन सक्छ’ उनले भने, ‘यसमा कस्को ध्यान जाने?’ सम्भव भएसम्म एउटा केन्द्रमा दुई जनासम्म स्वास्थ्यकर्मी खटाईने गरी तयारी गरेको उनले बताए।

बिहीबारदेखि चैत १७ गतेसम्म एसइई परीक्षा सञ्चालन हुँदै छ । चितवन जिल्लामा ४२ केन्द्रबाट ११ हजार २ सय ५५ जना विद्यार्थीले परीक्षा दिँदैछन् । तर, राष्ट्रिय परीक्षाबोर्डको निर्देशन अनुसार सवै विद्यार्थीको स्वास्थ्यपरीक्षण गर्न सम्भव नभएको खैरहनी नगरपालिकामा रहेको डेजी आवासीय माध्यमिक परीक्षा केन्द्राध्यक्ष प्रेमराज रिमालले बताए ।

चितवनमा सवैभन्दा धेरै परीक्षा केन्द्र भरतपुर महानगरपालिका भित्र रहेका छन् । यहाँ स्वास्थ्य परिक्षण गर्नका लागि फिवर गन समेत नभएको भरतपुर महानगरपालिको स्वास्थ्य शाखाका जनस्वास्थ्य अधिकृत दिपक सुवेदीले बताए। ‘हामीसँग एउटामात्र फिवर गन छ । त्यो पनि भरतपुर विमानस्थलको हेल्थ डेस्कमा प्रयोग गरेका छौँ । बजारमा किन्न पाईएको छैन’, उनले भने, ‘सवै परीक्षा केन्द्रमा हेल्थ डेस्कका लागि हामीसँग उपकरण छैन।’ स्वास्थ्यकर्मीलाई पुग्ने मास्क समेत नभएको उनले बताए।

तर, शिक्षा विकास तथा समन्वय ईकाइ भरतपुरले भने सवै केन्द्रमा हेल्थडेक्स रहने बताएको छ । ‘प्रत्येक पालिकाहरुलाई कम्तीमा एउटा आईसोलेसन कक्ष र हेल्थ डेक्सका लागि कक्षा राख्न राष्ट्रिय परीक्षा बोर्डबाट निर्देशन भएको छ’ ईकाईका प्रमुख भुमिलाल सुवेदीले भने, ‘जिल्लाका सवै विद्यालयमा हेल्थ डेक्स सहित परीक्षा सञ्चालनमा उच्च सुरक्षासहित स्वास्थ्यमा विशेष ध्यान दिईएको छ।’ उनले एसइई परीक्षालाई मनोवैज्ञानिक एवं त्रासमुक्त वातावरण बनाइएको बताए ।

भोलिदेखि सञ्चालन हुने एसईई परीक्षामा चितवनका विभिन्न विद्यालयबाट ११ हजार २५५ परीक्षार्थी सहभागी हुँदैछन् । जसमध्ये १०२ सामुदायिक, खुला र प्राविधिक विधालयबाट छात्रा तीन हजार ४६२, छात्रा दुई हजार ७९७ गरी जम्मा ६ हजार २५९ सहभागी हुँदै छन् ।

संस्थागत विधालयबाट छात्रा दुई हजार २३४ र छात्र दुई हजार ७६२ गरी जम्मा चार हजार ९९६ जना परीक्षार्थी सहभागी हँुदैछन् । चितवनमा ४२ परीक्षा केन्द्र तोकिएका छन् भने एक हजार ६८८ जना जनशक्ति खटाइएको शिक्षा विकास तथा समन्वय इकाइ भरतपुरका प्रमुख सुवेदीले जानकारी दिए ।

यस्तै, देशभर भोलिदेखि सुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसईई)मा चितवनका १०२ विधार्थी एसईइ परीक्षाबाट बञ्चित हुने भएका छन् ।
विभिन्न विधालयका छात्रछात्रा गरी १०२ विधार्थी बञ्चित भएका हुन् । बञ्चित भएका विधार्थी मध्ये धेरैजसोको ७५ प्रतिशत बढी हाजिर नपुगेका कारण उनिहरु परीक्षा दिनबाट बन्चित भएका हुन् ।

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै

चितवनमा ७२ घण्टाभित्रै ‘कोरोना विशेष’ अस्पताल

सम्भावित कोरोना भाइरसको उपचारार्थ चितवनमा पनि अस्पताल बन्ने भएको छ। भरतपुर महानगरपालिकाको नेतृत्वमा ७२ घण्टाभित्र अस्थायी रुपमा कोरोना विशेष अस्पताल बनाउन लागिएको हो । भरतपुर महानगरपालिका र चितवन उद्योग वाणिज्य संघको मंगलबार बसेको बैठकले चितवनको प्रदर्शनी केन्द्रलाई अस्थायी अस्पताल बनाउन लागिएको हो ।

यहाँ ओपिडिसहितको विशेष अस्पताल बन्ने भएको हो। भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहालले प्रदर्शनी केन्द्रमा तीन वटा ठूला हलहरु निर्माण भइसकेकाले अब प्राविधिक सामग्रीहरु जडान गर्न मात्र बाँकी रहेको बताइन् ।

अस्थायी रुपमा निर्माण गर्न लागिएको अस्पतालमा ७० बेड क्षमता हुनेछ । जसमा ५० बेड जनरल, १० बेड सघन कक्ष (आइसियु) र १० बेड एचडियु बेड हुने भरतपुर अस्पतालका वरिष्ठ फिजिसियन डा.भोजराज अधिकारीले बताए ।

उनले स्थान छनोट भइसकेकाले भोलि (बुधबार)बाट नै उपकरणहरु जडान गरिने जानकारी दिए । उपकरणका लागि चितवनका अस्पतालहरुले केही सहयोग गर्नेछ भने प्रदेश सरकारबाट समेत बजेट माग गरिने डा.अधिकारीले बताए ।

उनले महानगरसंगै सबै संघसंस्थाहरुको सहयोगमा अस्पताल निर्माण गर्न लागिएको बताए । डा.अधिकारीले चितवनमा कोरोना शंकास्पद सबै बिरामीलाई सोही अस्पतालमा राखेर उपचार गरिने बताए ।
‘यो रेफरल अस्पताल जस्तै बन्नेछ, चितवन देशकै मध्यभागमा भएकाले धेरै स्थानबाट बिरामी आउने सक्ने अवस्थालाई मध्यनजर गरी यसलाई तयार पारिने छ’–डा.अधिकारीले भने । भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहालको संयोजकत्वमा १५ सदस्यीय कोरोना रोकथाम तथा उपचार स्पेशल टाक्र्स फोर्स तयार गरिएको छ ।

समितिको सदस्यहरुमा प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराई, भरतपुर अस्पतालका मेसु डा.श्रीराम तिवारी चितवन मेडिकल कलेजका निर्देशक, कलेज अफ मेडिकल साईन्सेसका निर्देशक, क्यान्सर अस्पतालका कार्यकारी निर्देशक डा.विजयचन्द्र आचार्य, नेपाल चिकित्सक संघका उपाध्यक्ष डा.अनिलविक्रम कार्की, भरतपुर महानगरपालिकाका स्वास्थ्य विज्ञ डा.भोजराज अधिकारी रहेका छन् ।

त्यसैगरी चितवन उद्योग संघका अध्यक्ष राजु पौडेल, उद्योग वाणिज्य संघ–चितवनका अध्यक्ष राजु श्रेष्ठ, जिल्ला जनस्वास्थ्य कार्यालयका प्रतिनिधि, नीजि अस्पताल समन्वय समितिका अध्यक्ष डा.नारायण सिंह कुँबर, नर्सिङ संघका अध्यक्ष, जिल्ला समन्वय समितिका प्रतिनिधि, नेपाल पत्रकार महासंघ चितवन शाखाका उपाध्यक्ष नारायणप्रसाद अधिकारी रहेका छन् ।

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै

कोरोना कहर : बिरामीलाई रगत अभाव

क्षेत्रीय रक्तसञ्चार केन्द्र भरतपुरको कार्यालयमा भरतपुरका राजु विश्वकर्मा उदास मुद्रामा थिए। हातमा रगत बोक्ने सेतो बाकस र भरतपुर अस्पतालको सिफारिस पत्र लिएर उनी यता–उता भौतारिइरहे थिए। ‘बुवाकोे उपचारको लागि रगत लिन आएको,’ उनले भने, ‘तर यहाँ छैन भन्नुहुन्छ।’

विश्वकर्मा कहिले काउन्टर त कहिले बाहिर ओहोरदोहोर गर्दै थिए। ब्लड बैंकमा रगत नपाएपछि उनले आफन्तलाई फोन लगाए । तर, कोही ब्लड दिने मान्छे भेटाएनन् । ‘सवैतिर प्रयास गर्दा पनि रगत पाइएन । यहाँ दुई घण्टा देखि कुरेको छु । तत्कालै दुई पोका ब्लड लिन डाक्टरले भनेका छन्’ उनले भने, ‘एबि पोजेटिभ रगत दिने मान्छे पनि पाएको छैन ।’

मध्यविन्दु नगरपालिकाका उत्तम गुरुङ्ग पनि दिउँसो डाक्टरले ब्लड लिनका लागि दिएको सिफारिस पत्र लिएर ब्लड खोज्न भौतारिएका छन् । ४२ बर्षीया आमाको अप्रेसनपछि ब्लड आवश्यक क्षेत्रीय रक्तसञ्चार केन्द्रमा आएका गुरुङ्ग रगत नपाएर निराश मुन्द्रामा छन् । ‘आमाको पाठेघरको अप्रेसनपछि शरीरको ब्लड बगिरहेको छ । डाक्टरले छिटो दुई पोका सेतो र एक पोका रातो ब्लड ल्याउन भनेका छन्’ उनले भने, ‘यहाँआएर दुई घण्टा लाईनमा बसेको छु । तर, दिने पाईएको छैन ।’

रगत अभाव खेपेका केही उदाहरणमात्रै हुन् यी । रक्तसञ्चार केन्द्रका कार्यालय अघिल्तिर पुग्दा रगत राख्ने झोला र सिफारिस पत्र बोकेर आएका यस्ता थुप्रै अनुहार देखिन्छन् । कार्यालयका कर्मचारी रगतको पर्खाइमा बसेका सबैलाई एउटै जवाफ दिईरहेका थिए, ‘ब्लड ग्रप मिल्ने आफ्नो मान्छे भए ल्याउनुस्, नत्र स्टक त छैन ।’

मेडिकल सिटिको रुपमा विकास भैईरहेको भरतपुरमा विरामीहरुको अत्यधिक चाप छ । यहाँ देशकै ठुलो क्यान्सर अस्पपताल, दुई मेडिकल कलेज, संघिय मन्त्रालय अन्तरगतको सरकारी अस्पताल र दुई दर्जन भन्दा बढि निजि हस्पिटलहरु रहेका छन् ।

खासगरी क्यान्सरका विरामीलाई बढि रगतको आवश्यक पर्दछ भने, चितवनमा सवारी दुर्घटना पनि बढि हुनेभएकाले रगतको माग बढि हुने गर्दछ । क्षेत्रीय रक्तसञ्चार केन्द्र भरतपुरका कार्यालयका प्रमुख रमेशकान्त पौडेलका अनुसार जिल्लामा दैनिक एक सय ५० युनिट रगतको माग हुन्छ । तर, अहिले ५० युनिट मात्र संकलन हुने गरेको पौडेलले बताए । ‘चितवनमा रगतको माग दैनीक सय देखि १सय ५० युनिटसम्म हुन्छ । संकलन मुस्किलले ५० युनिट हुने गरेको छ ।’ उनले भने ‘२५ प्रतिशतको हाराहारीमा मात्र व्यवस्थापन गर्न सकेका छौँ ।’ रगतका लागि विरामीका आफ्न्तले मान्छे खोजेर ल्याउनुपर्ने उनले बताए ।

कोरोना भाइरस संक्रमणको जोखिम वढ्दैगएपछि रक्तदानको अभाव हुन थालेको उनले बताए । ‘स्थानीय प्रशासनले सार्वजनिक सार्वजनिक स्थलमा जमघटका कार्यक्रम नगर्न आह्वान गरेको छ । प्रशासनको निति निर्देशन सवैले मान्नुप¥यो । नियमित रक्तदान गर्ने संघसंस्थाले पनि यो समयमा रक्तदान गरेका छैनन् ।’ उनले भने, ‘अहिले रगतको चर्को अभाव छ ।’ रगतको व्यवस्थापन गर्नका लागि छुट्टै रणनिति बनाउन लागिएको उनले बताए । हालको आपतकालिन अवस्थालाई रगतको व्यवस्थापन गर्नका लागि स्वयसेवी रक्तदाता र विभिन्न संघसंस्थालाई आग्रह गरिएको उनले बताए । रगतको अभावलाई व्यवस्थापन गर्नका लागि सवै लाग्नुपर्ने उनको धारणा छ । यही अवस्थामा गए चितवनमा कोरोनाको त्राससंगै ठुलो संकटकालको अवस्था सृजना हुने उनले बताए ।

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै

चितवनमा कोरोनाबारे सचेतना : नमस्कार स्वीकारौं, सकेसम्म हात नमिलाऔं!

प्राय चुनावमा नेताहरू दुई हात जोड्दै भोट मागेको देख्छौं। भरतपुर अस्पतालमा पनि गत सोमबार चिकित्सकहरू एक अर्कालाई नमस्कार गर्दै थिए। तर, त्यहाँ भने उनिहरूले भोट मागेका थिएनन्। अहिले विश्वभर फैलिएको कोरोना लगायत अन्य संक्रमणबाट बच्नका लागि नयाँ तरिका बारे जानकारी गराउँदै थिए।

बिरामीको चाप अत्याधिक हुने भरतपुर अस्तालका चिकित्सकहरूले कोरोना भाईरसबाट बच्नका लागि अनिवार्य माक्स र नमस्ते गर्ने अभियान नै चलाएका छन्। ‘नमस्कार स्वीकारौं, सकेसम्म हात नमिलाऔं,’ भरतपुर अस्पतालका पूर्व मेसु प्राध्यापक डाक्टर कृष्णप्रसाद पौडेलले भने, ‘कोरोना भाइरस लगायत द्रूत गतिमा आविष्कार भइरहेका मानवभन्दा चलाख भाइरसहरूले मानवजातिलाई नै च्यालेन्ज गरिरहेका छन्। सामान्य हात नमिलाउने बानिले संक्रमण कम हुन सक्छ।’ विभिन्न भाईरसहरू मुख र हातबाट पनि सर्ने भएकाले अनिवार्य माक्स र नमस्ने गर्ने अभियान एक सातादेखि सञ्चालन गरिएको उनले बताए।

यसका लागि भरतपुर अस्पतालले कर्मचारीदेखि स्वास्थ्यकर्मीलाई समेत सचेत गराएको छ। नमस्ते गर्नु नेपालीको संस्कार भएकाले संस्कृति समेत संरक्षण हुने उनले बताए।

चितवनमा पनि कारोना भाइरस आउन सक्ने भन्दै चिकित्सक तथा विभिन्न संघ संस्थाले सचेतना मुलक कार्यक्रम गरिरहेका छन्। जिल्ला स्वास्थ्य कार्यालय चितवनले पनि जिल्लाका निजि तथा सरकारी अस्पताल र स्वास्थ्य चौकीहरूमा चेतनामुलक कार्यक्रम र चिकित्सकहरूसँग परामर्श लिने गरेको छ।

‘जिल्लाका सात वटा स्थानीय तहमा स्वास्थ्यका लागि द्रूत प्रतिकार्य टोलि खटिएका छन्, हप्तामा दुई पटक जिल्लामा कोरोना भाईरसको जोखिमको विषयमा चिकित्सकहरूसँग परामर्श गर्ने गर्द छौं’, स्वास्थ्य कार्यालय चितवनका प्रमुख दिपक तिवारीले भने, ‘मिडिया मार्फत कोरोना भाइरसका विषयमा सचेतना जगाईरहेका छौं।’

चितवनमा कोरोना भाइरसका विरामीलाई लागि छुट्टै आइस्यूलेसन वाडको व्यवस्था गर्न लगाएको उनले बताए। अहिले भरतपुर अस्पतालले पाँच वटा बेड सहितको आइस्यूलेसन वार्ड बनाएको छ। चितवन मेडिकल कलेज र पुरानो मेडिकल कलेजले पनि तीन÷तीन वटा आइस्यूलेशन वार्डको व्यवस्था गरेका छन्। उनले भने, ‘अन्य अस्तालहरूले पनि आइस्यूलेसन वार्डको व्यवस्था ग छौं भनेका छन्।’ जिल्लामा संस्कास्पद विरामीको नमुनाहरू भरतपुर अस्पतालमा संकलन गरिने व्यवस्था गरिएको छ। यहाँबाट नमुना परिक्षणको लागि विमानबाट स्वास्थ्य प्रयोगाला काठमाडौं पठाउने व्यवस्था गरिएको उनले बताए। त्यसको नतिजा २४ घण्टा भित्रमा आईसक्ने छ। यसको उपचार निःशुल्क हुने उनले बताए।

भरतपुरको विमानस्थलमा पनि हेल्थ डेक्सको व्यवस्था गरिएको छ। विमानस्थलमा प्रवेश गर्ने व्यक्तिहरूलाई कोरोना भाईरस परिक्षण गर्नका लागि तीन जना चिकित्सकको समेत व्यवस्था गरिएको तिवारीले जानकारी दिए।

विश्व स्वास्थ्य संगठनले अन्तराष्ट्रिय रुपमा नै स्वास्थ्य आपतकालको घोषणा गरेपछि चितवनमा सतर्कता अपनाउन थालिएको हो। यहाँ विभिन्न संस्थाले चिकित्सकहरूलाई बोलाएर सचेतना मुलक अन्तरक्रिया समेत गर्ने गरिएको छ। चितवन कोरोना भाइरसको जोखिम रहेकाले उच्च सर्तकता अपनाउन आवश्यक रहेको नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का उपाध्यक्ष डाक्टर भोजराज अधिकारीले बताए।

‘चितवन देशकै केन्द्र र खुल्ला बोर्डर पनि छ। यहाँ अधिकांश रोगहरूको संक्रमणहरू बढि देखिन्छ। भरतपुरमा अदव मिडीया नेटवर्कले आयोजना गरेको कार्यक्रममा अधिकारीले भने, ‘कोरोना भाइरस र अन्य भाइरस जस्तै मानिसबाट सर्ने भएकोले यसको जोखिम बढ्ने गर्दछ।’ कोरोना भाईरसले रुघा, खोकी, ज्वरो र निमोनिया गराउने गरेकाले चीनबाट आएका व्यक्तिबाट सतर्क हुनुपर्ने धारणा राखे। उनले कोरोना भाईरस नयाँ भाइरस नभएको बताउँदै कोरोनाको सातौं रुपका रुपमा नोबेल कोरोना भाइरस रहेको बताए। उनका अनुसार विश्वमा दुई सय ९१ थरी भाइरस रहेका छन्।

कार्यक्रममा नेपाल चिकित्सक संघका चितवन शाखाका अध्यक्ष डाक्टर प्रकाश खतिवडाले चितवन कोरोना भाइरसको जोखिम उत्तिकै रहेकोले पूर्वतयारी कार्यक्रम र सचेत हुनुपर्नेमा जोड दिए। तर, कोरोना भाइरस त्यतिकै नसर्ने भएकाले रुघा खोकी लाग्दैमा डराईहाल्नुपर्ने अवस्था नरहेको उनले बताए। ‘विश्व स्वास्थ्य संगठनले पनि चीनबाट आएका व्यक्तिहरूमा रुघा खोकी ज्वरो आउने भएमा उच्च सर्तकता अपनाउन भनेको छ’, उनले भने, ‘तर, नेपालकै व्यक्तिमा यस्तो लक्ष्ण देखिएमा डराउनु पर्दैन।’ चीनबाट आएका विद्यार्थी र उनका परिवारमा भने निगरानी बढाउनुपर्ने उनले बताए। यो भाइरस श्वासप्रश्वासबाट सर्ने भाइरस भएकाले भिडभाड हुने ठाउनमा माक्स लगाएर जान उनले अनुरोध गरे।

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै

मुहानमा शुद्ध पानी धारामा पुग्दा कोलिफर्मयुक्त, चितवनमा २० प्रतिशत खानेपानीमा कोलिफर्म

सानो पटियानी खानेपानी आयोजना खैरहनीले समय–समयमा भरतपुरमा खानेपानीको गुणस्तर परीक्षण गराउने गर्छ । आयोजनाको बोरिङमा पानीको गुणस्तर ठिक हुन्छ । तर, उपभोक्ताको धारासम्म पुग्दा दिसाजन्य पदार्थमा पाइने कीटाणु कोलिफर्म देखापर्छ ।

‘सानो पटियानी खानेपानी आयोजना खैरहनीबाट यस वर्ष पानीको गुणस्तर परीक्षणका लागि तीनवटा नमुना ल्याउनुभएको थियो, जसमध्ये दुईवटामा कोलिफर्म देखियो,’ क्षेत्रीय पानी परीक्षण प्रयोगशाला भरतपुरका केमिस्ट योगेन्द्रनारायण देवले भने, ‘उपभोक्ताको धारामा कोलिफर्म भेटियो ।’
चितवनका खानेपानी आयोजनाको मुहानमा कोलिफर्म कम भेटिए पनि उपभोक्ताको धारामा पुग्दा बढी मात्रामा कोलिफर्म भेटिने गरेको देवले बताए ।

क्षेत्रीय पानी परीक्षण प्रयोगशाला भरतपुरको तथ्यांकअनुसार चालू आर्थिक वर्षमा मात्र चितवनमा ६८ खानेपानी योजनाका पानीको गुणस्तर परीक्षण गरिएकोमा १६ आयोजनाका उपभोक्ताको घरमा कोलिफर्म देखापरेको छ । त्यसमध्ये एउटामा मात्र मुहानमा कोलिफर्म भेटिएको उनले जानकारी दिए । उनका अनुसार खैरहनीको ठूलो खोल्सा खानेपानी आयोजनाको मुहानमा कोलिफर्म भेटिएको छ । अन्य आयोजनाका मुहानमा पानीको गुणस्तर ठिक भएको तर, उपभोक्ताको धारामा पुग्दा कोलिफर्म भेटिएको उनले बताए ।

चालू आर्थिक वर्षमा जगतपुर केरुङ्गा खानेपानी आयोजनाले ५ वटा नमुना परीक्षण गराएकोमा ४ वटामा कोलिफर्म भेटिएको छ । त्यस्तै, जुटपानी खानेपानी आयोजनामा ३ मध्ये १, चैनपुर कुसुमखोला आयोजनामा ५ मध्ये २, अभिनाश एग्रो एन्ड पोल्ट्रिफर्म, वीरेन्द्रनगर तेस्रो साना सहरी खानेपानी तथा सरसफाइ आयोजना, भण्डारा शिखर बस्तीमा ३ मध्ये १, फुजेलीटोल वाटर सप्लाइमा १, काप्रेगौरी खोला धारामानीमा १ नमुनामा कोलिफर्म फेलापरेको थियो ।

प्रहरी तालिम केन्द्र र आर्मी ब्यारेकको पानीमा पनि कोलिफर्म देखापरेको देवले जानकारी दिए । तर, उनीहरूले तत्काल पानी शुद्धीकरण गरिसकेको उनको भनाइ छ ।

पाइपलाइन टुटफुट तथा धारावरिपरि फोहोर हुँदा उपभोक्ताको धारामा कोलिफर्म बढी देखिएको देवले बताए । ‘मुहानमा पानीको गुणस्तर ठिक छ, तर उपभोक्ताको घरसम्म जाने बाटोमा पाइप फुट्यो भने पनि कोलिफर्म देखापर्न सक्छ,’ उनले भने, ‘त्यसकारण खानेपानी आयोजना र उपभोक्ताहरूले यसतर्फ ध्यान दिनु आवश्यक छ ।’

चितवनमा गत वर्ष क्षेत्रीय पानी परीक्षण प्रयोगशालाले चितवन जिल्लाका ५ खानेपानी आयोजना छनोट गरेर पानी परीक्षण गरेको थियो । त्यसमध्ये ४ आयोजनामा कोलिफर्म देखापरेको थियो । शुक्रनगर खानेपानी आयोजना, माडी नगरपालिका–९ को गोविन्द बस्ती खानेपानी आयोजना, वीरेन्द्रनगरको अमृत खानेपानी आयोजना र माडी नगरपालिका–१ को द्रौपदी खानेपानी आयोजनामा कोलिफर्म भेटिएको केमिस्ट देवले जानकारी दिए । तर, उनीहरूलाई सचेत गराएपछि अहिले पानी शुद्धीकरण भइसकेको उनले बताए ।

चितवनको २० प्रतिशत खानेपानीमा कोलिफर्म भेटिने गरेको छ । केमिस्ट देवका अनुसार बोरिङको पानीमा भन्दा मूलको पानीमा बढी कोलिफर्म भेटिने गरेको छ ।

प्रयोगशालाले बागमती प्रदेशलाई कार्यक्षेत्र बनाएर काम गर्ने गरेको छ । त्यसबाहेक पश्चिम नवलपरासी, पूर्वी नवलपरासी (नवलपुर) र रूपन्देही जिल्लाबाट पनि पानी परीक्षण गराउन आउने गरेका छन् । गत आर्थिक वर्षमा यहाँ ४ सय ४५ वटा नमुना परीक्षण गरिएको थियो ।

प्रयोगशालाले १८ वटा प्यारामिटरका आधारमा पानीको गुणस्तर परीक्षण गर्दै आएको छ । त्यसमध्ये, सबैभन्दा बढी समस्याका रूपमा कोलिफर्म पाइने गरेको छ । पानीको गुणस्तरजाँचका क्रममा धमिलोपन, हाइड्रोजन, आर्सेनिक, आइरन, क्रोमियम, एमोनिया, सल्फेट, तामा, इकोलीलगायत तत्त्वको परीक्षण गरिन्छ । त्यसमध्ये तराईको पानीमा आइरन बढी पाइने गरेको केमिस्ट देव बताउँछन् । पनीमा इकोली ब्याक्टेरिया शून्य हुनुपर्छ ।

प्रयोगशालाले पानीको कोलिफर्म मात्र परीक्षण गरेको २७५, आइरनको १९०, आर्सेनिकको ३५० रूपैयाँ शुल्क लिने गरेको छ । त्यसबाट गत वर्ष ४ लाख ७८ हजार ४ सय ७५ रूपैयाँ राजस्व संकलन भएको थियो ।

कोलिफर्म दिसाजन्य फोहोर मिसिएको पानीमा पाइने एक प्रकारको ब्याक्टेरिया भएकाले यसबाट बच्नुपर्छ । ‘मानिसलगायत पशुजन्य प्रणालीको दिसाबाट संक्रमित भएर कोलिफर्म खानेपानीमा मिसिन पुग्छ । यसरी संक्रमित पानी खाएमा मानव स्वास्थ्यमा प्रतिकूल असर गर्छ । यसले झाडापखाला, आउँ, हैजा, टाइफाइड, जन्डिसजस्ता रोग निम्त्याउँछ,’ केमिस्ट देवले भने, ‘स्वच्छ पानीका लागि मुहान मात्र सफा राखेर हुँदैन, खानेपानीको धारावरपरको सरसफाइमा ध्यान दिनुपर्छ । मुहानबाट उपभोक्ताको धारामा जाने पाइप टुटफुट हुनुहुँदैन । साथै, सेफ्टी ट्यांकीमाथिबाट खानेपानीको पाइप लैजानुहुँदैन ।’

आँखाले सफा देख्दैमा पानी पिउनयोग्य नहुने देव बताउँछन् । खानेपानीको गुणस्तर नियमित परीक्षण गराउन उनको सुझाब छ ।

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै

चितवनमा साउनयता १८५७ मा डेंगु संक्रमण, तीव्र फैलावट जारी, असोजसम्म जोखिम रहने

चितवन जिल्लामा डेंगुका बिरामी दिनप्रतिदिन बढ्दै गएका छन् । चालू आर्थिक वर्षमा चितवनमा १ हजार ८ सय ५७ जनामा डेंगु संक्रमण भइसकेको स्वास्थ्य कार्यालय चितवनले जानकारी दिएको छ । त्यसमध्ये चितवन जिल्लाका संक्रमित १ हजार ४ सय ९६ जना छन् । नवलपुरका २ सय ३, मकवानपुरका ४१ र अन्य जिल्लाका १ सय १८ जनाले चितवनमा डेंगुको उपचार गराइरहेको स्वास्थ्य कार्यालयका किटनियन्त्रक राम केसीले जानकारी दिए । चितवनमा हालसम्म करिब ६ हजारमा डेंगु परीक्षण गरिएको छ ।

जिल्लामा सबैभन्दा धेरै भरतपुर महानगरपालिकामा डेंगुका बिरामी भेटिएका छन् । महानगरमा १ हजार ३ सय ३३ जनामा डेंगु देखापरेको केसीले जानकारी दिए । महानगरका १, २, ३ नम्बर वडा बढी प्रभावित देखिएका छन् । त्यस्तै, खैरहनी नगरपालिकामा २०, राप्ती नगरपालिकामा ११, कालिका नगरपालिकामा २१, माडी नगरपालिकामा २५ र इच्छाकामना गाउँपालिकामा १२ जनामा डेंगु देखापरेको छ । एकजना भारतीय नागरिकमा समेत डेंगु संक्रमण भेटिएको छ । संक्रमितको संख्या अझै बढ्न सक्ने स्वास्थ्य कार्यालयको अनुमान छ ।

असोज महिनासम्म डेंगुको प्रकोप कायमै रहने भएकाले सचेत रहन प्रादेश ३ स्वास्थ्य निर्देशनालयका निर्देशक रमेश अधिकारीले आह्वान गरे । आइतबार भतरपुरमा आयोजित सञ्चारकर्मीसँगको अन्तरक्रियामा निर्देशक अधिकारीले प्रदेश ३ मा चितवन डेंगुबाट सबैभन्दा प्रभावित बनेकाले प्रदेश सरकारको ध्यान चितवनतर्फ बढेको बताए ।

असोज महिनासम्म डेंगुको प्रकोप कायमै रहने भएकाले सचेत रहन प्रादेश ३ स्वास्थ्य निर्देशनालयका निर्देशक रमेश अधिकारीले आह्वान गरे । आइतबार भतरपुरमा आयोजित सञ्चारकर्मीसँगको अन्तरक्रियामा निर्देशक अधिकारीले प्रदेश ३ मा चितवन डेंगुबाट सबैभन्दा प्रभावित बनेकाले प्रदेश सरकारको ध्यान चितवनतर्फ बढेको बताए । उनले डेंगु नियन्त्रणका लागि लाग्न सबै समुदायलाई आग्रहसमेत गरे ।

कार्यक्रममा विश्व स्वास्थ्य संगठनका अन्तर्राष्ट्रिय विज्ञद्वय लुङदेन, डा. बिएन नग्पाल, जिल्ला स्वास्थ्य कार्यालय चितवनका प्रमुख दीपक तिवारी, चितवन मेडिकल कलेजका डा. शीतल अधिकारी, डा. दयाराम लम्साल, भरतपुर अस्पतालका डा. युवानिधि बर्सौलालगायतले डेंगु रोगबारे जानकारी दिएका थिए । कार्यक्रममा उनीहरुले डेंगु संक्रमित लामखुट्टेको टोकाइबाट लाग्ने रोग भएकाले घरवरपर पानी जम्न नदिन सर्वसाधारणलाई आग्रह गरे ।

हालसम्म भरतपुर अस्पतालमा सबैभन्दा बढी डेंगु संक्रमितले उपचार गराएका छन् । भरतपुरपछि सबैभन्दा बढी डेंगुका बिरामी नारायणी सामुदायिक अस्पतालमा भेटिएका छन् । त्यसपछि चितवन मेडिकल कलेज, पुरानो मेडिकल कलेजलगायत अस्पतालमा डेंगु संक्रमितले उपचार गराएको पाइएको छ ।

साउनयता डेंगुका कारण चितवनमा २ जनाको मृत्यु भइसकेको छ भने एकजनाले स्क्रबटाइफसर र डेंगु दुवैको संक्रमणका कारण ज्यान गुमाएका छन् ।

विपद् कोषबाट किट किनेर दिनू : प्रशासन
चितवन जिल्ला विपद्व्यवस्थापन समितिले जिल्लाका सबै स्थानीय तहलाई स्थानीय विपद्व्यवस्थापन कोषबाट डेंगु परीक्षण किट खरिद गरी स्थानीय अस्पतालहरूलाई वितरण गर्न निर्देशन दिएको छ । बिहीबार बसेको समितिको बैठकले बजेट अभावमा जिल्लामा प्रकोपको रूपमा देखापरेको डेंगुको परीक्षणमै बाधा उत्पन्न भएका कारण त्यसलाई सहज बनाउन यस्तो निर्देशन दिएको हो ।

अहिले जिल्लाका सबैजसो क्षेत्रमा डेंगुको संक्रमण देखिएको छ । तर, हरेक सरकारी अस्पताल तथा स्वास्थ्यसंस्थाले किट अभावको समस्या झेलिरहेका छन् । यही अभाव कम गर्न समितिले कोषमा रहेको रकमबाट काम चलाउन भनेको हो । समिति संयोजक प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतको अध्यक्षतामा बसेको बैठकले विपद्कै रूपमा फैलिएको डेंगु संक्रमण नियन्त्रण गर्न आवश्यक निर्णय र प्रयास गर्न भनेको छ ।

स्वास्थ्य विभागअन्तर्गतको इपिडिमियोलोजी तथा रोगनियन्त्रण महाशाखाले दिएको डेंगु परीक्षण किट साउनको पहिलो सातामै सकिएको थियो । लगत्तै भरतपुर अस्पतालले महानगरपालिकासँग किट सहयोग गर्न आग्रह गरेको थियो । तर, महानगरपालिकाले करिब तीन हप्तापछि बिहीबार मात्र एक हजार थान किट उपलब्ध गराएको छ ।

ढिलो गरी महानगरले गर्यो एक हजार किट सहयोग
चितवनमा डेंगुको प्रकोप देखिएको झन्डै एक महिनापछि बल्ल महानगरपालिकाले किट सहयोग गरेको छ । स्वास्थ्य विभागअन्तर्गतको इपिडिमियोलोजी तथा रोगनियन्त्रण महाशाखाले दिएको डेंगु परीक्षण किट साउनको पहिलो सातामै सकिएको थियो । लगत्तै भरतपुर अस्पतालले महानगरपालिकासँग किट सहयोग गर्न आग्रह गरेको थियो । तर, महानगरपालिकाले करिब तीन हप्तापछि बिहीबार मात्र एक हजार थान किट उपलब्ध गराएको छ ।

यसअघि निजी क्षेत्रबाट करिब पाँच सय थान किट अस्पताललाई प्राप्त भएको थियो । ‘महानगरको स्रोत र साधनले भ्याएसम्म सहयोग गरिरहेका छौँ,’ भरतपुर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. श्रीराम तिवारीलाई किट हस्तान्तरण गर्दै मेयर रेणु दाहालले भनिन्, ‘किटका लागि गरिएको प्रयास बल्ल सफल भयो ।’ यसअघि पनि डेंगु नियन्त्रणका लागि र्याली, अन्तरक्रियालगायत विभिन्न सचेतनामूलक कार्यक्रम गरिए पनि महानगरपालिकाले ‘केही गरेन’ भनेर आलोचना गरिएको भन्दै उनले गुनासो गरिन् ।

कार्यक्रममा महानगरपालिकाको जनस्वास्थ्य शाखाका हेल्थ असिस्टेन्स अधिकृत सूर्य तिवारीले डेंगु किटको उपयोग अत्यावश्यक परेको अवस्थामा मात्रै गरिए अभाव नहुने बताए । कार्यक्रममा मेसु तिवारीले भरतपुर अस्पतालमा दैनिक ३ सय किट आवश्यक पर्ने गरेको भन्दै थप सहयोग गर्न सरोकारवाला निकायलाई आग्रह गरेका थिए । महानगरले जनस्वास्थ्य शाखाको भइपरी आउँदा प्रयोग गर्न छुट्याइएको रकमबाट दुई लाख र बाँकी अन्य कार्यक्रमबाट एक लाख रूपैयाँ गरी तीन लाख रूपैयाँ मूल्यबराबरको किट अस्पताललाई प्रदान गरेको हो ।

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै