आधुनिक चिकित्सा विज्ञानका नामुद ‘लापरबाही’

१. रिचार्ड स्मिथले पाएको गलत औषधि

यो सन् २०१० मा संयुक्त राज्य अमेरिकामा घटेको घटना हो । ७९ वर्षीय रिचार्ड स्मिथ किड्नीका बिरामी थिए । उनी केही वर्षदेखि लगातार अस्पताल आएर डायलासिस गराइरहेका थिए । अचानक एकदिन उनलाई सास फेर्न निकै अप्ठ्यारो भयो र चिकित्सकहरूले उनलाई आइसियुमा राखेर उपचारको थालनी गरे । आइसियुमा राखेको अर्को दिन उनलाई पेट दुख्यो । ग्यास्ट्राइटिसको शंका गरी चिकित्सकहरूले उनलाई ‘एन्टासिड’ प्रेस्क्राइब गरे । तर, भइदियो के भने– एकजना आइसियुमै कार्यरत नर्सले एन्टासिडजस्तै देखिने ‘प्यानक्युरोनियम’ नामको अर्कै औषधि स्मिथलाई दिइन् ।
‘प्यानक्युरोनियम’ मानिसलाई बेहोस बनाएर इन्ट्युबेट गर्न प्रयोग गरिने औषधि हो । सो औषधि पाउनासाथ, स्मिथ बेहोस भए र डाक्टरहरूको लाख कोसिसका बाबजुद पनि एक महिनापश्चात् उनको मृत्यु भयो ।

त्यसपछि जे भयो…
झट्ट हेर्दा उक्त घटनामा, उपचारमा संलग्न नर्सले लापरबाही गरेको प्रस्ट देखिन्छ । तर, स्मिथका परिवारले अस्पतालमा हुलहुज्जत गरेनन्, कानुनी बाटो रोजे ।

अस्पताल र उपचारमा संलग्न ती नर्सलाई विपक्षी बनाई मुद्दा दाएर भयो । तत्पश्चात् घटनाको विस्तृत अनुसन्धान गर्न विज्ञ सम्मिलित टोली बन्यो । अन्तमा सो टोलीले जुन प्रतिवेदन बुझायो, त्यसले अस्पताल, चिकित्सक र नर्सलाई मात्रै होइन, स्वयम् स्मिथका परिवारलाई समेत एकपटक सोच्न बाध्य तुल्यायो ।

सबैले अपेक्षा गरेभन्दा विपरीत उक्त अनुसन्धानले घटनाको सबै जिम्मेवारी ती नर्सको टाउकोमा मात्र थुपारेन । बरु घटना घट्नुको मिहिन कारणहरू समेत केलायो । भएछ के भने– त्यस घटना घट्नुअघि उक्त अस्पतालमा औषधिको राम्रोसँग लेबलिङ (नाम टाँस्ने काम) गरिँदोरहेनछ र झट्ट सिरिन्जमा हेर्दा एन्टासिड र प्यानक्युरोनियम उस्तै देखिँदारहेछन्, जसका कारण सो दिन नर्स झुक्किएकी थिइन् ।

हाम्रोमा पनि फाट्टफुट्ट रूपमा यस्ता घटना घटिरहेका हुन्छन्, दाहिने घुँडाको अप्रेसन गर्दा देब्रेको हुन गएको, घाँटीको गर्दा पाठेघरको भएको आदि । तर, चिकित्सकलाई मात्र दोषी ठहराई यस्ता घटना सेलाउने गरेका छन् । साँच्चै त्यस्ता घटनाहरू भविष्यमा दोहोरिन नदिने हो भने यस विषयमा विस्तृत अध्ययन र अनुसन्धान हुनुपर्दैन र ?

घटनापश्चात् प्रशासनले अस्पतालका सबै डिपार्टमेन्टहरूमा हेर्दा उस्तै–उस्तै देखिने औषधि सँगै नराख्न परिपत्र जारी गर्यो । साथै, ‘प्यानक्युरोनियम’ एनेसथेसियाले मात्रै चलाउन पाउने नियम बन्यो ।

सरसरती हेर्दा, नर्सलाई कारबाही गरी अस्पतालले बिरामीका आफन्तलाई क्षतिपूर्ति दिएको भए त्यो मुद्दा त्यहीँनेर सकिन्थ्यो । तर, विज्ञ सम्मिलित अनुसन्धान टोलीले जुन निष्कर्ष दियो, त्यसले भविष्यमा घट्न सक्ने उस्तै प्रकृतिका घटनालाई न्यूनीकरण गर्न पनि सहयोग पुर्यायो ।

२. रेजिना टर्नरको गलत सर्जरी :
यो सन् २०१३ अप्रिलको घटना हो । लगातार रूपमा स–साना पक्षघात भइरहेपश्चात्, अमेरिकन नागरिक रेजिना टर्नरले आवाज गुमाइन् ।

चिकित्सकहरूको सल्लाहबमोजिम उनको क्रानियोटोमी बाइपास (एककिसिमको मस्तिष्कको सर्जरी) गर्नुपर्ने भयो ।
अप्रेसनभन्दा अघि उनी ठमठम हिँड्न सक्थिन्, आफ्नो स्याहार आफैँले गर्न सक्थिन् । पेसाले वकिल रेजिना आफ्नै ल फर्ममा कार्यरत पनि थिइन् ।

तर, अप्रेसनपश्चात् भने उनी सम्पूर्ण रूपमा अपांग भइन् ।

अलिक पछाडि मात्र चिकित्सकहरूले पत्ता लगाए, टर्नरको देब्रे भागको बाइपास सर्जरी गर्नुपर्नेमा भूलवश दाहिने भागको सर्जरी भएको रहेछ । तर, जब कारण पत्ता लाग्यो, तबसम्म ढिलो भइसकेको थियो । उनको आवाज हरायो र अन्ततोगत्वा उनी २४ घण्टै स्याहार चाहिने अवस्थामा पुगिन् ।

उनको परिवारले अस्पताललाई विपक्षी बनाई मुद्दा दायर गर्यो ।
घटनापश्चात् अस्पतालले उच्चस्तरीय छानबिन समिति गठन गर्यो । उक्त समितिले पहिलोपटक सर्जन र नर्सलाई मात्र दोषी देखाएर अस्पताललाई उन्मुक्ति दिने सजिलो बाटो रोजेन । बरु त्यस अस्पतालमा दैनिक रूपमा हुने सर्जरीको संख्यादेखि स्वास्थ्यकर्मीलाई लगाइने ड्युटी हावर्समाथि पनि गम्भीर प्रश्न उठायो ।
त्यसैको प्रतिवेदनमा टेकी ‘रङ साइट सर्जरी’ अर्थात् गलत ठाउँमा गरिने अप्रेसनबारे संसारभर बहस चर्कियो । अमेरिकामा मात्र साना–ठूला गरी सातामा ४० वटाभन्दा बढी रङ साइट सर्जरी हुने सनसनीपूर्ण समाचार बाहिर आयो ।
हो, त्यसै घटनाको अनुसन्धान र प्रतिवेदनले जन्माएको बहसका कारण संसारभर सर्जरीपूर्व पूरा गर्नुपर्ने प्रोटोकललाई अझ परिष्कृत र सशक्त बनाइएको छ ।

हाम्रोमा पनि फाट्टफुट्ट रूपमा यस्ता घटना घटिरहेका हुन्छन्, दाहिने घुँडाको अप्रेसन गर्दा देब्रेको हुन गएको, घाँटीको गर्दा पाठेघरको भएको आदि । तर, चिकित्सकलाई मात्र दोषी ठहराई यस्ता घटना सेलाउने गरेका छन् । साँच्चै त्यस्ता घटनाहरू भविष्यमा दोहोरिन नदिने हो भने यस विषयमा विस्तृत अध्ययन र अनुसन्धान हुनुपर्दैन र ?

३. एन्डी वारहोलको रहस्यमय मृत्यु

यो सन् १९९० को घटना हो । प्रसिद्ध अमेरिकी कलाकार एन्डी वारहोल अस्पताल र स्वास्थ्यकर्मीहरूसँग भयंकर डराउँथे । यसकारण नै उनले आफ्नो पित्तथैलीको शल्यक्रिया पछि–पछि सारिरहेका थिए । तर, दिन प्रतिदिन अवस्था नाजुक बन्दै गएपश्चात् भने उनी शल्यक्रिया गराउन राजी भए ।
१९८७ फेब्रुअरीमा उनको शल्यक्रिया भयो । तर, दुर्भाग्यवश, शल्यक्रिया भएको अर्कोदिन रहस्यमय ढंगले उनको मृत्यु भयो ।
सफलतापूर्वक सम्पन्न भएको सर्जरीपश्चात् उनको अवस्था सामान्य भइसकेको थियो । तर, अर्को दिन घाम झुल्किँदानझुल्किँदै अचानक उनको मुटु बन्द भयो । यसरी एक प्रसिद्ध अमेरिकी कलाकारले संसारको सबैभन्दा सुविधासम्पन्न अस्पतालमा मृत्युवरण गर्नुपर्यो ।

अस्पतालको लापरबाहीले मृत्यु भएको भनी उनका आफन्तले मुद्दा दर्ता गराए । लामो अनुसन्धान भयो तर पनि यकिन कारण पत्ता लाग्न सकेन ।

पोस्टमार्टम गर्दा उनको फोक्सो र शरीरका अन्य भागमा समेत पानी भरिएको देखियो । यसैमा टेकेर वारहोलका वकिलले उनलाई दिइनुपर्ने फ्ल्युड (स्लाइन पानी) को मात्रा डबल पर्न गई यस्तो भएको भनी दलिल पेस गरे । तर, अदालतमा त्यो पुष्टि भएन ।

अस्पतालमै स्वास्थ्यलाभ गर्दै गर्दा अचानक उनी बेहोस भए । चिकित्सकले बचाउने लाख कोसिस गरे पनि अचेत अवस्थामा रहेका इंग्लिसले त्यसपछि कहिल्यै आँखा खोलेनन् ।

त्यत्रो जोखिमपूर्ण सर्जरीबाट जोगिएका वारहोलको मुटु कसरी अचानक बन्द भयो ?

चिकित्सा विज्ञान आफैँमा एक अनिश्चितताको खेल हो । अरू विज्ञानमा जस्तो २ मा २ जोडे ठ्याक्कै ४ हुने हिसाब यहाँ लागू हुँदैन । फेरि, आजसम्म जति मानव शरीरबारे पत्ता लागेको छ, भनिन्छ, त्यो सम्पूर्ण भागको एक प्रतिशत पनि होइन ।

४. सिबिएसले गरेको सनसनीपूर्ण खुलासा

३४ वर्षीय रोड्नी इंग्लिस जन्मजात स्पाइना बाइफिडा नामक समस्याबाट ग्रस्त थिए । नियमित उपचार गराइरहेका इंग्लिस यसपटक पनि सामान्य संक्रमणका कारण अस्पताल भर्ना भएका थिए । केही दिन अस्पतालमै राखी उनको सामान्य उपचार भइरहेको थियो ।

अस्पतालमै स्वास्थ्यलाभ गर्दै गर्दा अचानक उनी बेहोस भए । चिकित्सकले बचाउने लाख कोसिस गरे पनि अचेत अवस्थामा रहेका इंग्लिसले त्यसपछि कहिल्यै आँखा खोलेनन् ।

अस्पतालले स्पष्ट रूपमा मृत्युको कारण बताउन सकेन, तर मर्ने वेलामा उनलाई एनेमिया भएको तथ्य बाहिर ल्यायो । यसै तथ्यमा टेकेर अमेरिकन सञ्चार सिबिएसले विभिन्न विज्ञहरूको सहयोगमा अनुसन्धान गर्यो ।

अन्तमा एउटा सनसनी मच्चाउने समाचार बाहिर आयो, जसमा भनिएको थियो– रोड्नी इंग्लिसलाई दिइएको गलत रगतका कारण उनको मृत्यु भएको हो । त्यस समाचारले रेडक्रसजस्तो संस्थालाई पनि शंकाको घेरामा तानेको थियो ।

आखिर रेडक्रस सोसाइटीले त्यत्रो होसियारीपूर्वक तयार गरेको ब्लड जो पुनः १०–१२ ठाउँमा राम्रोसँग परीक्षण गरिन्छ, कसरी गलत भयो त ? जुन आजसम्म पनि रहस्यपूर्ण नै छ ।

एउटा बिरामीको उपचारमा कसरी एउटा चिकित्सक वा नर्स मात्र नभई धेरैवटा सेवाप्रदायकहरू संलग्न हुन्छन् र कुनै एउटा ठाउँमा हुने सानो भूलको मूल्य कति भयावह हुन्छ भन्ने उदाहरण यस केसबाट लिन सकिन्छ ।

पुनश्च, प्रस्तुत दृष्टान्तहरू संसारभर लापरबाही हुन्छन्, तसर्थ यहाँका चिकित्सक र स्वास्थ्यकर्मीले पनि लापरबाही गर्न पाउनुपर्छ भन्ने आशयका दिइएका पक्कै होइनन् । बरु संसारका विकसित भनिएका देशहरू र प्रतिष्ठित मानिएका अस्पताल र स्वास्थ्यकर्मीहरूबाट समेत त्रुटि हुन्छन् भन्ने भाव प्रस्तुत गर्न खोजिएको हो । आखिर डाक्टर पनि मानव हो र मानिसले जान–अन्जानमा अनेक गल्ती गरिरहेको हुन्छ ।

मानिसबाट कहीँकतै गल्ती त भइहाल्छ । यस्ता गल्ती पूरै निमिट्यान्न त बनाउन सकिँदैन, तर यिनलाई न्यूनीकरण गर्नेतर्फ सबैको ध्यान जानु वाञ्छनीय छ । भविष्यमा गल्ती दोहोरिन नदिन थप अध्ययन र अनुसन्धानको खाँचो छ ।

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै