गन्तव्य बुढासुब्बा-धागो बाँध्दै रमाउँदै

युवाहरूमाझ प्रेमसम्बन्ध प्रगाढ हुने भनाइले धरानको बुढासुब्बा मन्दिर चर्चित छ । देशका विभिन्न ठाउँबाट प्रेमी–प्रेमिका आफ्नो नाम बाँसमा कुँद्न र बाँसको फेदमा ध्वजा बाँधेर मनोकांक्षा पूरा गर्न बुढासुब्बा आउने गर्छन् । तर, अहिले भने बाँसमा नाम लेख्न प्रतिबन्ध गरिएको छ ।
बुढासुब्बामा बाँसमा ध्वजा र धागो बाँध्नेको कमी छैन । त्यहाँ पुग्नेले मनोकामना पूरा हुने विश्वासमा बाँसको तलको भागमा बाँसै नदेखिने गरी ध्वजा र धागो बाँधेको देखिन्छ ।

धरानबजारबाट ट्याम्पु रिजर्भ गरेर १५ मिनेटको उकालीमा विजयपुरमा रहेको बुढासुब्बा मन्दिर पुग्न सकिन्छ ।
बुढासुब्बा को थिए भन्ने कुरा हालसम्म स्पष्ट छैन । कसैकसैले यसलाई बुद्धिकर्ण राईको त कसैले बुढासुब्बाको समाधिस्थल मानेका छन् । यहाँका पुजारी मगर जातिका रहेकाले यसलाई मगर भारदारको समाधि पनि मान्ने गरिन्छ ।

बुढासुब्बा स्वयम् भगवान् नभएर उनी केवल एक आमसिकारी भएको बताइन्छ । बुढासुब्बा र उनकी बहिनी सुब्बिनी पहाडमा गुलेली र मट्यांग्राले सिकार खेल्ने गर्थे । एकदिन भूलवश उनीहरूले कागलाई गुलेली ताक्दा बाँसको टुप्पोलाई मट्यांग्राले लाग्यो । त्यस दिनदेखि बाँसको टुप्पो बढेन र त्यसपछि विजयपुरमा कहिल्यै काग आएनन् । त्यसका कारण बुढासुब्बाले सिकार खेल्न छोडे र आफ्नो गुलेलीलाई माटोमा पुरिदिए ।
त्यसपछि बुढासुब्बाले त्यहीँ ध्यान गरे, जहाँ अहिले बुढासुब्बाको मन्दिर छ । छेउमै छ, उनकी बहिनी सुब्बिनीको मन्दिर पनि ।

बुढासुब्बाको मन्दिरमा आफ्नो भाकल, प्रेम तथा वैवाहिक सम्बन्ध बनाउन देशका विभिन्न भागबाट भक्तजन आउने गरेका छन् । बुढासुब्बा मन्दिरमा प्रत्येक शनिबारका दिन ठूलो भिडभाड हुने गर्छ । उक्त दिन बुढासुब्बालाई कुखुराका भाले र सुँगुरको बलि दिने गरिन्छ । आपद्–विपद्, दुःख, बिमार पर्दा बुढासुब्बालाई सम्झिएर कुखुरा, सुँगुर आदि भाकल गरेमा मनोकामना सिद्ध हुन्छ भन्ने विश्वासमा किरात धर्मावलम्बीले मात्र नभएर अन्यले समेत भाकल गर्ने प्रचलन छ ।

इतिहासमा लेखिएअनुसार बुढासुब्बा मन्दिर विजयपुरको किराती अधिराज्यको एक भाग हो । अचम्मको कुरा के छ भने बुढासुब्बा मन्दिरमा भाले कुखुराको मात्र बलि चल्छ । साथै, सँगै रहेको बहिनी सुब्बिनीको मन्दिरमा भने पोथी कुखुराको मात्र बलि चल्ने गरेको छ ।
प्रेम र धर्मका अलावा बुढासुब्बाको आफ्नै इतिहास छ । विजयपुर किराती राज्यको राजधानी भएको र त्यहाँका राजा विजयनारायण राई रहेको इतिहासमा पाइन्छ । तर, केही इतिहासविद् भने राजा विजय सेनको राज्यकालपछि मात्र विजयपुर नामकरण हुन गएको बताउँछन् ।

 

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै

बिदाको प्रयोग बोझका लागि होइन, स्वस्थ मोजका लागि

सप्ताहान्तको होस् या चाडपर्वको, बिदालाई उल्लासमय बनाउनुपर्छ, यो एक रोमाञ्चक क्षण पनि हो । तर, कहिलेकाहीँ त्यसो भइदिँदैन । हामी हप्ताभरिको कामको चापले थुप्रिएका सबै काम बिदाका लागि साँच्छौँ । यसले बिदालाई झनै बोझिलो बनाइदिन्छ ।
नियमित कामको चापबाट छुटकारा पाउने र थप ऊर्जा प्राप्तिको उत्तम विकल्प हो, बिदा । त्यसैले यसलाई बोझिलो र भड्किलो नबनाऔँ ।
बिदा मनाउने प्रचलन परापूर्वकालदेखि नै चल्दै आएको हो । भनिन्छ, भगवान्ले पनि समय–समयमा गुप्तवास, जंगलवास, सिकार, नदी तथा ताल भ्रमण गरेर नियमित दैनिकीलाई क्रमभंग गर्ने गर्थे । राजा महाराजाले त घरमै संगीत, नृत्यजस्ता विशेष मनोरञ्जनका क्रियाकलाप गर्थे ।

पछि, औद्योगिकीकरणको विकाससँगै साप्ताहिक एक वा दुई दिन औपचारिक बिदा मनाउने प्रचलन आयो । हप्ताभरिको कामपछि १ दिन आराम गर्ने, परिवारलाई समय दिने, भेटघाट गर्ने, घरको काम गर्ने, बच्चाका लागि किनमेल गर्ने आदि काममा बिदा स्थापित हुँदै गयो । तर, हिजोआज बिदाका लागि पनि काम बढी हुँदै गएका छन् । बिदाका लागि थुप्रिएका कामको लामो सूची– भेटघाट, परिवार तथा बच्चाको किनमेलको सूची, नियमित चेकअप, सरसफाइ, पार्टी आदिले बिदा उल्लासमयभन्दा बढी झन्झटिलो बन्दै त छैन ?
जीवनलाई सदा उत्सासमय राखिरहन र स्वास्थ्यका दृष्टिकोणले पनि नियमिततामा क्रमभंगता जरुरी छ । यसका लागि बिदा निर्विकल्प माध्यम हो । यसलाई बोझिलो बनाउने गल्ती नगरौँ ।
कसरी गर्ने त बिदाको उच्चतम सदुपयोग ?

१. व्यक्तिगत/पारिवारिक कामलाई प्राथमिकतामा राख्नुहोस् ।
साथीभाइ भेटघाट, पार्टी, घुमफिरजस्ता कुराभन्दा पहिले आफ्नो नुहाइधुवाइ, परिवारसँग खाना खाने, आराम गर्ने काम पहिले गर्नुहोस् । धेरै ठाउँको ग्यादरिङ, धेरैलाई भेट्ने रुटिन, बच्चालाई घुमाउने वाचा आदिले तपाईंको व्यक्तिगत समय नमार्नुस् ।

२. बजेट तय गर्नुहोस् ।
विवाहित हुनुहुन्छ भने बच्चा, श्रीमान्–श्रीमतीलाई, अर्थात् पारिवारिक आवश्यकताअनुसार र अविवाहित हुनुहुन्छ भने प्रेमी–प्रमिकामा किनमेलको प्रतिबद्धता गर्नु सामान्य नै हो । यसले पारिवारिक माहोलमा पनि रमाइलो थप्छ । तर, कहिलेकाहीँ मागको सूची बढ्दै जान सक्छ । यदि आफ्नो क्षमताभन्दा बढीको किनमेल गर्नुपर्यो भने त्यसले झन् तनाब थप्न सक्छ । त्यसैले किनमेलको प्रतिबद्धता गर्नुपूर्व आफ्नो बजेटलाई ध्यान दिनुहोस् र उपयुक्त बजेट छुट्यानुहोस् ।

बिदामा वर्षौंदेखि नभेटेका साथी, आफन्त भेट्ने, धेरै काम सक्ने, नयाँ–नयाँ ठाउँ घुम्न जानेजस्ता धेरै योजना नबनाउनुहोस् । कहिलेकाहीँ गर्दै जाँदा सोचेजति काम नसकिन सक्छ र अचानक नसोचेका केही काम गर्नुपर्ने हुन सक्छ ।

३. चाडपर्व र संस्कृतिलाई सरलीकृत गर्नुहोस् ।
पछिल्लो समय हाम्रा चाडपर्व, संस्कृति भड्किला र महँगा बन्दै गएका छन् । आयातित महँगो खानपान, लुगाफाटो, आफन्तलाई दिनुपर्ने समय र सम्मान आदिले कतिपय अवस्थामा चाड नै नआए हुन्थ्योजस्तो बनाउने गरेको पनि धेरैले सुनाउँछन्, जुन कालान्तरमा झन् हानिकारक बन्ने पक्का छ । अरुको देखासिकी गरेर आफूलाई थप दुःखी बनाउनु मूर्खता हो । चाड र संस्कृति मर्म भनेको आप्mनोपनको संरक्षण गर्दै परम्परागत मूल्य–मान्यतालाई नयाँ पुस्तामा स्थानान्तरण गर्नु हो । त्यसैले यसलाई बिगार्ने र महँगो बनाउने गल्ती नगरौँ ।

४. धेरै अपेक्षा नगर्नुहोस् ।
बिदामा वर्षौंदेखि नभेटेका साथी, आफन्त भेट्ने, धेरै काम सक्ने, नयाँ–नयाँ ठाउँ घुम्न जानेजस्ता धेरै योजना नबनाउनुहोस् । कहिलेकाहीँ गर्दै जाँदा सोचेजति काम नसकिन सक्छ र अचानक नसोचेका केही काम गर्नुपर्ने हुन सक्छ । यस्तो अवस्थामा योजनाअनुरूप काम गर्न नसकेकोमा पश्चात्ताप हुन सक्छ । त्यसले थप दुःखीबाहेक केही बनाउँदैन । काम गर्ने प्रतिबद्धता पक्कै गर्नुहोस्, तर स्विकार्न सक्ने पनि बन्नुहोस् ।

५. प्रकृतिसँग समय बिताउनुहोस् ।
घुम्नु नै छ भने सकेसम्म प्राकृतिक ठाउँमा घुम्न जानुहोस् । प्रकृतिसँगको सामीप्यले मानिसले नसोचेको ऊर्जा प्राप्त गर्छ । बढ्दो सहरीकरणसँगै मानिस प्रकृतिसँग टाढिएका छन् । आत्मिक शान्तिका लागि प्राकृतिक स्थान वरदान हुन् भन्ने तथ्यलाई मनन गर्नुहोस् । घरमै खेतबारीमा काम गर्ने, बच्चालाई पनि यस्ता काम सिकाउने गर्नुहोस् ।

६. घरमै पकाएको खानुहोस् ।
बिदा भन्नासाथ बाहिर खाना खानैपर्ने, आफन्तसँग ग्यादरिङमा पनि बाहिरबाट मगाएर खाने प्रचलन बढ्दो छ । आर्थिक र स्वास्थ्य दुवै हिसाबले बाहिरको भन्दा घरमै बनाएर खानु लाभदायी छ । अझ सम्भव भए घरकै उत्पादन खानेमा जोड दिऔँ ।

७. हिँड्ने योजना बनाउनुहोस् ।
सहरी जीवनशैली मानव स्वास्थ्यका लागि अभिसाप बन्दै गएको छ । त्यसैले बिदामा लामो या छोटो एउटा गन्तव्य हिँडेर पुग्ने योजना बनाउनुहोस् । यो हिँडाइ स्वास्थ्यका दृष्टिकोणले निकै फाइदाजनक हुनेछ ।

८. सक्दो सहयोग गर्नुहोस् ।
बिदामा भेटघाट र पार्टी मात्र प्राथमिकतामा नराख्नुहोस् । कोही पुरानो साथी, आफन्त, छिमेकी या अन्य कोही एक्लो छ, उसलाई कुनै सहयोग आवश्यक छ भने त्यस्तालाई साथ दिनुहोस् । सन्तुष्टि र खुसी दुवै मिल्नेछन् ।

९. चराचुरुंगी र जनावरलाई खाना खुवाउनुहोस् ।
यो संसारमा अन्य प्राणीको पनि अस्तित्व छ भन्ने मानिसले बिर्संदै गएको छ । चराचुरुंगीलाई वेला–वेलामा खाना खुवाउने गर्नाले आफूलाई र बालबच्चालाई पनि खुसी मिल्छ भने जनावरको संरक्षणका टेवा पुग्छ । प्रकृतिको संरक्षण र मानव जीवनरक्षाका लागि यो अपरिहार्य छ ।

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै

फोहर हटाउँदै पर्यटक तान्दै पाल्पा

पहाडको काखमा रहेको सुन्दर तानसेन बजार

तानसेन नगरपालिकाले पहाडको काखमा रहेको नगर सफा र चिटिक्क देखाउनका लागि फोहर हटाउने अभियान शुरु गरेको छ । दशै तिहार जस्तो ठूलो चाडको आउदै गर्दा नगरपालिकाले नगर सफा राख्नका लागि चासो देखाएको हो । नगरपालिकाले दशै तिहार बिशेष पोका अभियान र टोल विकास संस्थाहरुलाई नकुहिने फोहर राख्नका लागि डस्टबिन वितरण गरेको छ । नगरपालिकाले बिशेष पोका अभियानमा घरभित्रैबाट वा पोका पारेर फोहर फाल्नेको पहिचानगरी लिखित क्षमायाचना गराउनेदेखि नगद जरीवाना गराउनेसम्म गरेको छ ।

कालीगण्डकीको छेउमा रहेको रानीमहल

अहिलेसम्ममा २१ जनालाई फोहरको पोका फालेबापत कार्वाही गरिएको नगरका फोहर व्यवस्थापन शाखाका प्रमुख शंकर भण्डारीले बताए । केहीलाई लिखित क्षमा याचना र अलि बढी गर्नेलाई २१ सयसम्मको जरीवानासम्म लिइएको उनले बताए । घरबाट निस्कने नकुहिने फोहरलाई राख्नका लागि डस्टबिनको वितरण गरिएको र यसले नगर सफा हुनमा सहयोग पुग्ने भण्डारीले बताए । उनका अनुसार नगरपालिकाले प्रत्येक घरबाट बर्गीकरण गरेको फोहर मात्र उठाउने गर्दछ । फोहर बर्गीकरण नगर्ने घर धनीलाई ५ सय देखि १५ सयसम्म जरीवाना लिने गरेको भण्डारीले सुनाए ।

तानसेनमा दशैको चाड सुरु भएसँगै आन्तरिक र बाह्य पर्यटन आउने क्रम शुरु हुन्छ । पर्यटकलाई तानसेन सफा र सुन्दर छ भन्ने सन्देश दिन र नगरलाई सफा राख्नका लागि नगरपालिकाले फोहर व्यवस्थापनमा जोड गरेको स्थानीयको भनाई छ । पहाडको काखमा रहेको तानसेन बजार, पुरानो शैलीमा पुनःनिर्माण भएको पाल्पा दरबार, श्रीनगर डाडा, भैरब मन्दिर र कालीगण्डकीको किनारमा रहेको रानीमहल हेर्नका लागि हजारौ पर्यटक पाल्पा आउने गर्दछन् ।

आफ्नो घर, आँगन, टोल आफै सफा गरौँ, सफा टोल सफा शहर, तानसेनवासीको रहर ! नारा बनाएको नगरले चार वटा वडामा रहेका पाँच वटा टोल विकास संस्थालाई डस्टबिन वितरण गरेको हो ।

टोल विकास संस्थालाई डस्टबीन वितरण गर्दै नगर प्रमुख अशोक शाही

तानसेन नगरपालिका सरसफाई शाखाको पहलमा भएको कार्यक्रममा तानसेनका नगरप्रमुख अशोककुमार शाहीले नगरभित्रका वार्ड नं १, २, ३ र ६ का ५ टोल विकास संस्थालाई २२३ वटा डस्टबिन हस्तान्तरण गरेका हुन । नगर प्रमुख शाहीले सरसफाई सामग्री हस्तान्तरणले सफा तानसेनका लागि नगरवासीको सहयोग हुने बिश्वास व्यक्त गरे । नकुहिने फोहर ब्यबस्थापनका लागि २५ प्रतिशत लागत सहभागितामा काम भइरहेको नगरपालिकाको भनाई छ ।

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै

खानका लागि बाँच्ने कि बाँच्नका लागि खाने ?

गोरखपुरबाट दिल्ली हुँदै पहिलोपटक पटियाला पुग्दा बिहानको ३ बजिसकेको थियो । तर, रात जति नै छिप्पिसकेको भए तापनि हामीलाई भने पूरा निस्फिक्री थियो । पहिलो त पन्जाबका व्यस्त रात्रिकालीन सडकहरू र त्यहाँ चौबिसै घण्टा चल्ने सार्वजनिक यातायात छँदै थिए । दोस्रोचाहिँ हामी पन्जाबी साथीकै साथ लागेर उसको देश घुम्न गएका थियौँ । त्यसैले छिप्पिसकेको रातले मनमा कुनै त्रास पैदा गर्न सकेको थिएन ।

सामान्यतः तपाईंको घरमा बिहानको ३ बजे कोही पाहुना आइपुगे के गर्नुहुन्छ ? सुत्नका लागि ओढ्ने–ओछ्याउने व्यवस्था गरिदिने, अनि थप सत्कारका लागि बिहानीको प्रतीक्षा गर्ने ।

तर, पटियालाले भने हामीलाई बिहानको ३ बजे नै चौरासीव्यञ्जनले भव्य स्वागत गर्यो । यहाँ चौरासीव्यञ्जनलाई विम्बका रूपमा प्रयोग गरिएको होइन, झन्डै–झन्डै गनेरै ८४ थरीका परिकार हाम्रा लागि तयार पारिएका थिए । म त आफ्नो जीवनकालमा पहिलोपटक त्यति झिसमिसेमा पेट चर्कने गरी खाँदै थिएँ ।

बिहानीले दिनको संकेत गर्छ । हो, त्यस बिहानीले पनि हाम्रो पन्जाब बसाइ र त्यसदौरान हाम्रा खान्कीबारे स्पष्ट संकेत गर्दै थियो ।

२०औँ शताब्दीकी प्रसिद्ध लेखिका भर्जिनिया वुल्फ भन्छिन्– यदि तपाईंले राम्रोसँग खानुभएको छैन भने तपाईं राम्रोसँग सोच्न सक्नुहुन्न, राम्रोसँग सुत्न सक्नुहुन्न, न त राम्रोसँग प्रेम नै गर्न सक्नुहुनेछ । राजा अकबरले आफ्नो दरबारमा मिष्ठान्न भोजनका लागि मात्र ४ सयभन्दा बढी मानिस नियुक्त गरेका थिए रे । बेलायती प्रधानमन्त्री विन्स्टन चर्चिल सबेरै पेट चर्कने गरी नखाएसम्म केही काम गर्दैनथे ।

‘पाजी, आज हम घर नही जायंगे, ठीक हे ?’
‘पर क्यूँ भाई, घर क्यूँ नही जायंगे ?’
‘क्यूँ की, घर वाले ख्वा ख्वा कर मुजे मार डालेंगे,’ उसले निकै नै हतास भएर भन्यो । गुनासो एकजनाले पोख्यो तर भावनाचाहिँ पूरै टोलीकै त्यही थियो ।

पन्जाबीहरू पनि खानका अत्यन्त सौखिन, अरू कुरा जे होस्, खानेकुरामा कहिल्यै कम्प्रोमाइज नगर्ने । दिनको सुरुवात पन्जाबी लस्सी, ‘गोबीका पराठा’, परौठामा दल्नैपर्ने शुद्द देशी मख्खन, थरीथरीका अचार, अण्डाका परिकार, खुवा, पन्जिरी (जौको पिठोबाट बनेको पन्जाबी परिकार), चिया आदिले हुन्थ्यो । त्यो पनि एक–दईवटा परौठा र एक–दुई गिलास लस्सी खाएर उम्कन नपाइने, अनिवार्य थपीथपी खानैपर्ने ।

बेलुकी मख्खी (मकैको) रोटी, सर्सोका साग, चावल, दाल, चिकेन सुप, अनि सबै परिकारमा मिसाउनका लागि छुट्टै मख्खन । त्यति खाइसकेपछि उठ्नेवेला गुलाब–जामुन अनि फेरि चुठ्नेवेला पन्जाबी सुप ।

दिउँसो खालीमुख बसेको देख्नै नहुने, मानौँ मुख चल्न रोकियो भने संसार पनि चल्न रोकिनेछ । समोसा, पकौडा, चाप (एक प्रकारको भेज सेकुवा), आलुका परिकार, भुजिया आदिले दिनमा संसारलाई चलायमान राख्दथ्यो ।

दिउँसो प्रायः हामी पटियालाका सहर–बजार अनि पुरातात्विक ठाउँहरू घुम्न निस्किन्थ्यौँ । एकदिन त एकजना साथीले असह्य भएर प्रस्ताव राख्यो–
‘पाजी, आज हम घर नही जायंगे, ठीक हे ?’
‘पर क्यूँ भाई, घर क्यूँ नही जायंगे ?’
‘क्यूँ की, घर वाले ख्वा ख्वा कर मुजे मार डालेंगे,’ उसले निकै नै हतास भएर भन्यो । गुनासो एकजनाले पोख्यो तर भावनाचाहिँ पूरै टोलीकै त्यही थियो ।

टाउकोमा पगरी नलगाएका नौला मानिस, अनि त्यसमाथि विदेशी पाहुना भनेर हामीले त्यहाँ राम्रै सत्कार पाएका थियौँ । तर पनि बिहान–बेलुकी यसो घुम्न निस्कँदा हामी भने सकेसम्म पाजीको आफन्त वा साथीको घरमा छिर्न खोज्दैनथ्यौँ । जहाँ छिर्यो, पेट चर्कने गरी खानैपर्ने ।

केही दिनअघि मात्रै राजदीपको घरमा घाँटीसम्म आउने गरी समोसा, लालमोहन अनि गाँजरको हलुवा खानुपरेको हामी कसैले बिर्सिएका थिएनौँ । दोस्रोबाट तेस्रो लालमोहन प्लेटमा थपिँदा त सातैजनाको हात आत्मसमर्पण गर्ने शैलीमा ठडिएको थियो ।

हाम्रो बसाइकै दौरान नयाँ वर्ष आयो, जसको रौनकले सिंगो पन्जाब झुमेको थियो । चोक–चोकमा नाँच्ने–गाउनेहरूको ठूलो भिड जम्मा भएको थियो अनि बजारका सयौँ स्टलहरूमा हजारौँ परिकारका खानेकुरा उपलब्ध थिए । घरमा हाम्रा लागि भनेर झन् विशेष परिकार तयार भइरहेका थिए । जता गयो खाने र खुवाउने कुरा मात्रै ।


कति–कतिखेर त साथीले ‘क्या गाना हे ?’ भनेर गीतको तारिफ गर्दा पनि गानालाई खाना सुनेर ‘बस भाई, नही खाना हे’ भनेका उदाहरणहरू छन् । समग्रमा भन्नुपर्दा पन्जाबले हाम्रा लागि एककिसिमको खानाआतंक नै सिर्जना गरिदिएको थियो ।

झन् त्यसवेला हामी आश्चर्यचकित भयौँ, जतिखेर उहाँहरू भन्दै हुनुहुन्थ्यो– पाहुना आएका छन् भनेर हामीले विशेष केही पकाएका होइनौँ । धेरै परिकार बनाएर खाने हाम्रो संस्कार नै हो । नभन्दै सहर, बजार अनि गल्लीहरूमा भेटिने हरेक पन्जाबी खाएजस्तै अग्ला, हृष्टपुष्ट अनि फुर्तिला देखिन्थे ।

पन्जाबीहरूमा खाने संस्कृति विकास हुनुको मुख्य कारण उनीहरूको सबल कृषिकर्म नै हो । भारतमा १९६० को दशकमा हरित क्रान्ति अर्थात् ग्रिन रिभोलुसन सम्पन्न भयो, जसको नेतृत्व पन्जाबले नै गरेको थियो । प्रशस्त खेतीयोग्य जमिन र अधिकांश मानिस कृषि पेसामै संलग्न रहँदारहँदै पनि मनग्य उत्पादन भने हुन सकिरहेको थिएन । तर, पन्जाब सरकारले ६० को दशकमा एउटा निर्णयमार्फत कृषि क्षेत्रमा व्यापक लगानी बढायो । मेक्सिकोबाट आफ्नो माटोसुहाउँदो १८ हजार टन गहुँका दाना मगाएर कृषकलाई वितरण गर्यो । बिजुली, पानी र फर्टिलाइजरहरू लगभग निःशुल्क रूपमा खेतबारीमा उपलब्ध गरायो । फलस्वरूप पन्जाब आफूलाई मात्र होइन, सारा भारतलाई पुग्ने अन्न उत्पादन गर्न सक्षम बन्यो । आज पनि त्यहाँका खेतीयोग्य जमिन प्लटिङ गरेर बेच्न वा बसोवास गर्न निकै नै झन्झटिलो कानुनी प्रक्रिया पूरा गर्नुपर्छ । खेतबारीमा सरकारले निःशुल्क बिजुली र सिँचाइको व्यवस्था गरेको छ । हरेक मुख्य सहरवरिपरि ठूला–ठूला नहर देख्न सकिन्छ । कृषि औजार खरिद गर्न कृषकले मनग्य अनुदान पाएका छन् ।

त्यसैले त पन्जाब सिंगो राष्ट्रकै अन्नभण्डार बनेर उभिएको छ । तसर्थ, भण्डारकै डाडुपुन्यु भएकाको भान्सामा अनेकथरि परिकार पाक्नु नौलो कुरो पनि त भएन ।

अझ मानिसले खान नछाडोस् भनेर प्रकृतिले जिब्रोमा अनेकथरी स्वाद भरिदिएको छ । निश्चित समयमा भोक लाग्ने, खाऊँ–खाऊँ लाग्ने, मीठो खाना देख्दा वा सम्झना मात्रैले पनि मुख रसाउने आदि प्राकृतिक गुणहरूले त झन् खाने कर्मलाई महत्वपूर्ण नै बनाइदिएका छन् ।

शाह जाले औरंगजेबलाई बन्दी बनाउँदै गर्दा उनकै रोजाइको एउटा मात्र अन्न खान दिनू भनी आदेश दिएका थिए रे । कुटिल औरंगजेबले चना मागे र आफ्नो निर्वासित जीवन चना मात्र खाएर बिताए । त्यो बाँच्नका लागि खाइएको खाना थियो ।

संसारमा आधाभन्दा बढी जनसंख्या (सायद) आज पनि बाँच्नका लागि मात्र खान्छ । गिठ्ठा–भ्याकुर बटुलेर गुजारा गर्ने या अरूले फालेको जुठो खाना खाएर जीविका चलाउने सयौँ उदाहरण त हाम्रै वरिपरि प्रशस्तै छन् । कोही रोगव्याधिका कारण खानबाट वञ्चित हुन्छन् । फेरि कोहीचाहिँ आफ्नो सिद्धान्त, धर्म, तपस्या या पेसाका कारण ठिक्क शरीरसुहाउँदो अड्कलेर खाने हुन्छन् । न्यूनतम बाँच्नका लागि पनि खान नपाउनेहरूका निम्ति खानु ज्यादै नै महत्वपूर्ण कर्म हो, त्यसमा कुनै दुईमत नै रहेन । तर, जो ‘बाँचिरहेका’ छन् उनीहरूका लागि खानु कत्तिको महत्वपूर्ण छ त ?

सन् २००९ मा प्रकाशित जर्मन जर्नललाई आधार मान्ने हो भने मानिस विनाखाना र पानी ८ देखि २१ दिनसम्म बाँच्न सक्छ र पानी मात्र पिएर २ महिनासम्म । तर, त्यति लामो समय भोकै बस्दा विभिन्न अंगमा पर्ने असर भने भयावह छ । तसर्थ, मानिसले बाँच्नका लागि खानुपर्ने न्यूनतम खाना भनेको वयष्क पुरुषका लागि १ हजार २ सय क्यालोरी प्रतिदिन र वयष्क महिलाका लागि १ हजार ८ सय क्यालोरी प्रतिदिन हो । मानिसलाई बाँच्नका लागि न्यूनतम कति खाना चाहिन्छ भनेर विभिन्न साइन्टिफिक रिसर्च भएका छन्, तिनैलाई आधार बनाएर सूत्रहरू पनि बनेका छन् । उदाहारणका लागि ५ फिट ४ इन्च उचाइ र ६० केजी तौल भएकी ३० वर्षीया महिलालाई प्रतिदिन न्यूनतम १ हजार ४ सय १५ क्यालोरी शक्ति बाँच्नका लागि चाहिन्छ ।

सर्सर्ती हिसाब गर्दा ठिक्कको एक थाल पाकेको भातमा ३ सय क्यालोरी, एक कचौरा दालमा ३ सय ५० क्यालोरी, एउटा रोटीबराबर सय क्यालोरी, बन्दाको तरकारी १ सय २२ क्यालोरी, प्रतिगोटा आलु सय क्यालोरी र एउटा अण्डाबराबर १ सय ७३ क्यालोरी शक्ति हाम्रो शरीरले प्राप्त गर्दछ । अझ घिउ, मासु, दही, मोहीमा छुट्टै थप क्यालोरी पाइन्छ । यसरी हेर्दा हामीले खाने एक छाक सामान्य खाना मात्रै पनि बाँच्नका लागि पर्याप्त छ ।
तर, के हामी बाँच्नका लागि मात्र खान्छौँ त ?
प्रायः मानिसका लागि खानु, अझ मीठो खानु जीवनको महत्वपूर्ण कर्म हो । धेरैले तर्क गर्छन्– यो सब गरेको खानकै लागि त हो । हुन पनि हो, हाम्रो शरीरको बनावट नै त्यस्तै छ । यो मेसिनरूपी शरीर चलेकै हामीले खाने खानाबाटै हो । खाएको खानालाई घण्टौँ लगाएर पचायो, त्यसैबाट शक्ति सञ्चय गर्यो, रगतमार्फत त्यही खानाबाटै सञ्चित शक्तिलाई कोषिकाहरूसम्म पुर्यायो, अनि यो हड्डी र मांसपेशीहरूलाई जीवित तुल्यायो ।
अझ मानिसले खान नछाडोस् भनेर प्रकृतिले जिब्रोमा अनेकथरी स्वाद भरिदिएको छ । निश्चित समयमा भोक लाग्ने, खाऊँ–खाऊँ लाग्ने, मीठो खाना देख्दा वा सम्झना मात्रैले पनि मुख रसाउने आदि प्राकृतिक गुणहरूले त झन् खाने कर्मलाई महत्वपूर्ण नै बनाइदिएका छन् ।

एकचोटि यसरी सोचौँ न– यदि मानिसले खानेकर्मलाई आफ्नो सबैभन्दा न्यूनतम प्राथमिकतामा राखे के हुन्छ ? (यस आलेखमा दुई छाक खान धौ–धौ पर्ने समुदायको खानेकर्मबारे चर्चा गरिएको छैन ।) हामी मीठै खाऊँ भन्नका निम्ति असल वा खराब जस्तो कार्य पनि गर्छौं । खानैका लागि कतिपय ठाउँमा आफ्नो श्री, इतिश्री भुलिदिन्छौँ । दौडधूप, मारकाट, झैझगडा खानाकै लागि हुन्छन् । पापी पेटका अघि इमान र न्याय झुकेका सयौँ उदाहरण छन् ।

भनिन्छ, मानिसको सृष्टि गर्दा उसलाई भगवान्ले एउटा अर्ती दिनुभएको थियो रे, एकपटक खानू, अनि तीनपटक नुहाउनू । तर, मानिसले भने त्यसलाई ठिक उल्टो बुझ्यो, एकपटक नुहाउनू, अनि तीनपटक खानू । फलस्वरूप मानिसले आज खाना खानुलाई नै जीवन ज्युनुको पर्याय बनाएको छ ।

हो, खानुपर्छ, मीठो–मसिनो नै खानुपर्छ । पेट चर्कने गरी नै खानुपर्छ । बाँच्नका लागि मात्र होइन, स्वस्थ रहन अनि चुस्त–दुरुस्त रहन पनि खानैपर्छ । तर, हरेक दिन हरेक गाँस हाल्नुअघि एउटै प्रश्नको उत्तर खोज्न जरुरी छ–
के यो खाना मेरो इमान र परिश्रमको खाना हो ?

आखिर पन्जाबले हामीलाई सिकाएको कुरो पनि त्यही थियो– बडो इमानदारीका साथ कृषिकर्म गर्ने अनि आफ्नो परिश्रमको कमाइ उस्तै रइस पाराले खाने ।

तस्बिर : वीर अनमोल सिंह सन्धु, पटियाला ।

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै

गोसाइँकुण्ड ताल : शिवजी, बिरामी भक्तालु अनि फोहोर

गोसाइँकुण्ड निकै सुन्दर लाग्छ मलाई । ४ हजार ३ सय मिटर उचाइमा रहेको यो ठाउँ प्राकृतिक रूपले परिपूर्ण लाग्छ । गोसाइँकुण्ड, भैरवकुण्ड, सूर्यकुण्ड, दूधकुण्ड, सरस्वतीकुण्डलगायत सुन्दर १७ कुण्डहरू नजिक–नजिक टाँसिएरै बसेका छन् । सत्ययुगमा समुद्र मथेर निस्केको विषले संसार तहसनहस पार्ने अवस्था आएपछि शिवजीले सेवन गर्नुभएछ । त्यो कालकुट विष सेवन गर्नासाथ शिवजीको कण्ठमा जलन सुरु भएछ । अरूअनेक उपाय लगाउँदा पनि जलन कम नभएपछि चिसो पानीको खोजीमा शिवजी भौँतारिँदै अहिलेको गोसाइँकुण्ड क्षेत्रमा पुग्नुभएछ । त्यहाँ पुग्दा असह्य भएर शिवजीले आफ्नो त्रिशूल नजिकैको ढुंगामा बजार्नुभएछ र त्यहीँबाट त्रिशूलधारा पानी बग्न थालेछ । त्यही त्रिशूलधाराको पानी पिएपछि शिवजीको तिर्खा शान्त भएछ । त्यही त्रिशूलधाराको पानी बगेर नै गोसाइँकुण्ड बनेको भन्ने किंवदन्ती रहँदै आएको छ । त्रिशूली नदीको मुहान पनि त्यसैलाई मानिन्छ ।

शिवजीको सम्झना र भक्तिमा हरेक वर्ष जनैपूर्णिमाका दिन गोसाइँकुण्डमा भव्य मेला लाग्छ । बौद्ध र हिन्दूधर्मावलम्बी दुवैले पवित्र थलो मान्छन् गोसाइँकुण्डलाई ।करिब २ हजार मिटरको उचाइमा रहेको रसुवाको सदरमुकाम धुन्चेबाट बलियो गरी हिँड्नेहरूएकैदिनमा र सुस्त–सुस्त हिँड्नेहरुतथा वृद्धवृद्धा भने एक रात बाटोमावास बसेर दोस्रो दिन गोसाइँकुण्ड पुग्छन् । केही पर्यटक र तिर्थालु भने सुन्दरीजलको लामो र कठिन बाटो रोज्छन् । छोटो समयमै करिब १० हजारभन्दा बढी तिर्थालु आइपुग्छन् स्नान गर्न ।

तर, हाम्रो टोली भने २ रात बाटोमै वास बस्यो । हिँड्न नसकेर होइन, लेक लाग्ला भन्ने जोखिम आकलन गरेर होसियारी अपनायौँ । जनैपूर्णिमाको मेलालाई लक्ष्य गरेरहिमालयन उद्धार संघको आयोजनामा प्रत्येक वर्ष सञ्चालन हुने स्वास्थ्य शिविरका लागि यसवर्ष मसहित ७ जनाको टोली तयार भएका थियौँ । ३ वर्षअघि पनि सोही शिविरका लागि आएको थिएँ, मेडिकल स्टुडेन्टका रूपमा । तर,यसपटक भने फरक जिम्मेवारी थियो ।

भरियाले बोकिरहेका हाम्रा उपकरण, औषधि, अक्सिजन छेवैमा असरल्ल छर्यौँ । केटोले हिजो धुन्चेबाट गोसाइँकुण्ड पुगेको, मम्मीलाई हिजो साँझबाटै टाउको दुख्न सुरु भएपनि मध्यरातबाट निकै च्यापेको र करिब मिर्मिरेमा पटक–पटक बान्ता भई बेहोस भएको बतायो ।

सधैँझैँ एकादशीको दिन सबेरै गोसाइँकुण्ड पुग्ने लक्ष्यसहित धुन्चेबाट पैदलयात्रा सुरु गर्यौं । योजनामुताबिक नै सोही दिन चन्दनबारी र अर्को रात लौरीविनामा बस्यौँ । भोलिपल्ट सबेरै लौरीविनाको उकालो उक्लेर बुद्ध मन्दिर पुग्दानपुग्दै थर्पुकी साहुनीले हामीलाई रोकिहालिन् । ‘तपाईंहरू क्याम्पको डाक्साबहरू होइन?’ हामीले ‘हो’ भनेर मुन्टो हल्लाउन नपाउँदै ती तामाङ्नी साहुनीले थपिन्,‘माथि थर्पुमा एकजना आइमाईलाई लेक लागेजस्तो छ, बेहोस छिन्, गएर हेर्दिनुपर्यो,’ एकै सासमा ती साहुनीले आफ्ना कुरा सकिसक्दा पनि हाम्रो सास अझै आइपुगेको थिएन । हतार–हतार तिनले देखाएको थर्पुतिर लाग्यौँ । त्यहाँ पुगेर आफ्नो परिचय दिन नपाउँदै १८–२० वर्षको ठिटो छेवैमा अचेत पल्टिरहेकी अन्दाजी ४५ वर्षीया महिलालाई देखाउँदैरुन पो लाग्यो, ‘लौन सरहरू, मेरो मम्मीको ज्यान बचाइदिनुपर्यो !’

भरियाले बोकिरहेका हाम्रा उपकरण, औषधि, अक्सिजन छेवैमा असरल्ल छर्यौँ । केटोले हिजो धुन्चेबाट गोसाइँकुण्ड पुगेको, मम्मीलाई हिजो साँझबाटै टाउको दुख्न सुरु भएपनि मध्यरातबाट निकै च्यापेको र करिब मिर्मिरेमा पटक–पटक बान्ता भई बेहोस भएको बतायो । निकै गाह्रो भएपछि बुद्ध मन्दिरसम्म झार्ने भरिया खोजेर त्याहाँसम्म झारेको कुरा उसले रुँदै बतायो । सामान्य चेकजाँच गरेपछि लेकको कारणले दिमागमा पानी जमेको हुनसक्ने (हाई अल्टिच्युड सेरेब्रल एडेमा) सम्भावित निदान गर्यौँ र सोको उपचारार्थ अक्सिजन र एउटा सुई पनि लगाइदियौँ । हिजोदेखिनै केही नखाएकाले ग्लुकोजको मात्रा कम भएर हुने हाइपोग्लाइसेमिया पनि सँगसँगै भएको हुनसक्ने अड्कल गरी सोका लागि पनि उपचार गर्यौँ । केही अघिसम्म पुरै बेहोस अवस्थाकी ती दिदी अक्सिजन र सुईले चमत्कार नै गरेजसरी करिब १०–१५ मिनेटमै आफैँ बस्न र नाम भन्न सक्ने भइन् । हामीसबैले ढुक्कको लामो सास फेर्यौँ । तर, ढुक्क हुने स्थिति अझै भएको थिएन । मुखबाट दिइने थप १–२ दबाइ खुवाइसकेपछि उनलाई झट्ट तल झार्ने प्रबन्ध मिलाउन आग्रह गर्यौँ । भरिया दाइहरूभेटिए, झट्ट राजी पनि भइहाले तल ओराल्न ।

तिर्थालुमा आइपर्ने समस्याहरू भने अन्य पर्यटकमा भन्दा भिन्न र चुनौतीपूर्ण छन् । न जाडो छल्न पर्याप्त लुगा, न खुट्टामा जुत्ता, व्रत बसेको खालीपेट र सीमित जनचेतना ।बिरामी भइसक्दा पनि देवताले बचाउनुहुन्छ भन्ने अटुट विश्वास र पवित्रस्थानमा मृत्युवरण पनि स्वीकार्य हुनु प्रमुख चुनौती हुन् ।

हामी औषधिको पोकोपन्तुरो कसेर लाग्यौँ गोसाइकुण्डतिर । बाटोभरि मनमा कुरा खेलिरह्यो । पछि हाम्रो शिविरमा आउने बिरामीमा पनि लेक लाग्ने समस्या नै प्रमुख थियो । लेक लाग्ने सम्बन्धमा जनचेतना देखेर त म अवाक् भएँ । छिटो उचाइ उक्लनु लेक लाग्नुका जोखिमहरूमध्ये प्रमुख हो । अन्तर्राष्ट्रिय मापदण्डहरूले अघिल्लो रातको तुलनामा ५ सय मिटरभन्दा बढी उचाइमा नसुत्न सुझाए पनि निकै कम तिर्थालुले मात्र त्यसो गरेको पाइयो । बाटोमा भेटिएकी ती आमा पनि एकैदिन करिब २ हजार मिटर उचाइ उक्लेकाले नै बिरामी परेकी हुनसक्छ । जनैपूर्णिमामेलाको शान्तिसुरक्षार्थ भन्दै धुन्चेस्थित एपिएफको एक टुकडी जनैपूर्णिमाको अघिल्लो साँझ गोसाइँकुण्ड आइपुगेको थियो । त्यहाँ आइपुग्नासाथ गाह्रो भयो भन्दै सिपाहीहरू छटपटाउन थाले । बिसन्चोकै कारण सोही रात मेला नैभएपनि कसैले ड्युटी गर्न नसक्ने जानकारी दिएर पूरा टिम सुत्यो, शिविरकै छाप्रोमा । रातभर पनि कोही न कोही बिरामी भएँ भन्दै उठिरहे । भोलिपल्ट सबेरै टिमको अस्वस्थताकै कारण देखाएर प्रहरी जवानहरू धुन्चेकै बाटो सोझिए ।

करिब ७०–८० प्रतिशततिर्थालुले त लेक लाग्नबाट जोगिन भन्दै लशून, अदुवा खाने र कागती सुँघ्ने गरेको हामीले पायौँ । उक्लँदै गर्दा बाटोभरि तिर्थालुले सेवन गरेको लशूनको कडा गन्धले नाकलाई खूब सताइरह्यो, जबकि लशूनबारे व्याप्त धारणा भ्रम मात्रै हो । यसमा कत्ति पनि वैज्ञानिकता छैन । हाम्रै साथीहरूले गोसाइँकुण्डमा केहीवर्ष पहिले गरेको अध्ययनले पनि सोही कुरा संकेत गरेको थियो र लेक लाग्न नदिनमा लशूनको भूमिका सिद्ध हुन सकेन । दक्षिण अमेरिकी देशहरू पेरू, बोलिभियामा व्याप्त ‘कोका पातले लेक लाग्नबाट बचाउँछ’ भन्ने भ्रमजस्तै सिद्ध भयो लशून पनि । लेक लागेको बिरामीको उपचार भने निकै सजिलो छ । जतिसक्दो छिटो कम्तीमा ५ सय मिटरदेखि हजार मिटर तल झार्ने । तर, गोसाइँकुण्डमा भने यति सजिलो उपचार विधिको प्रयोग गर्न पनि निकै कठिनाइ भोग्नुपर्यो ।

जनैपूर्णिमाको अघिल्लो रात हामी सिफ्ट मिलाएर नाइट ड्युटीमा व्यस्त थियौँ । पूर्णिमाको चम्किलो उज्यालोले रातको अँध्यारोलाई परास्त गरेको थियो । त्यही चन्द्रमाको प्रकाशमुनितामाङ समुदायका तिर्थालु नाँच्दै–गाउँदै रमाइलो गर्दै थिए । भएका ४ स्थायी होटेलमा त मान्छे अट्ने कुरै भएन, अस्थायी थर्पुहरू पनि कोचाकोच थिए । सबैमा जसोतसो रात गुजारौँ भन्ने थियो । छेवैको शिवमन्दिरको घण्टीको आवाजसँगै मिसिएर तामाङ गीत र नाचको ध्वनि हाम्रो शिविरको छाप्रोसम्मै आइरहेको थियो । राति करिब १२ बजेतिर अन्दाजी ६० वर्षका एक बुवा आउनुभयो । आफ्नी श्रीमतीसिकिस्त बिरामी परेको भन्दै थर्पुमै पुगेर उपचार गरिदिन अनुनय–विनय गर्नुभयो । व्यस्तताका कारण हामीले त्यसो गर्न नसकिने बताएपछि पुलिसको सहयोगमा पछि क्याम्पमै लिएर आउनुभयो ।सामाखुसीबाट तीर्थ आउनुभएको रहेछ श्रीमान्श्रीमती भएर । आमाका लक्षणहरूसोधखोजगरिसकेपछि थाहा भयो, गम्भीर प्रकृतिको लेक लागेको रहेछ । हामीसँग उपलब्ध केही औषधिले आमाको अवस्थामा क्षणिक सुधार त आयो, तर तल झर्नुको विकल्प थिएन । आमालाई ढिला नगरी तुरुन्त तल ओराल्नुपर्ने बताएपछि आमा त उल्टै हामीसँग पो रिसाउनुभयो । ‘यत्रो टाढाबाट यति दुःख गरेर आएको म,भोलि बिहान ननुहाई झर्दिनँ ।मलाई केही हुँदैन । केही भइहाले नि ठिकै छ, पवित्र ठाउँमा आएर मरिन्छ । म झर्दिनँ’ भनेर आमाले ढिपी कस्नुभयो । निकै लामो रस्साकस्सीपछि बल्ल–बल्ल आमालाई सम्झायौँ र झर्न मान्नुभयो ।

शिविरबाट जानेवेला मनग्य आशिष पनि दिएर जानुभयो । त्यस उमेरका बुबाले आशीर्वाद दिँदा टन्नै पुण्य कमायौँ भनेर हामी पनि दंग पर्यौँ । पछि जनैपूर्णिमाको दिन बुबाले कुण्डछेवैमा ‘ताओ’ बाँधिरहेको भेट्टायौँ । हामीले पनि बुबाकै हातबाट ताओबाध्यौँ ।

तिर्थालुमा आइपर्ने समस्याहरू भने अन्य पर्यटकमा भन्दा भिन्न र चुनौतीपूर्ण छन् । न जाडो छल्न पर्याप्त लुगा, न खुट्टामा जुत्ता, व्रत बसेको खालीपेट र सीमित जनचेतना ।बिरामी भइसक्दा पनि देवताले बचाउनुहुन्छ भन्ने अटुट विश्वास र पवित्रस्थानमा मृत्युवरण पनि स्वीकार्य हुनु प्रमुख चुनौती हुन् । त्यसो तआन्तरिक पर्यटकमा पनि लेक लाग्ने समस्या र जनचेतना अभाव उत्तिकै विकरालरूपमा देखिएको छ । २०१६मा जोनाथान रिसम्यानले मनाङ गाउँमा गरेको अध्ययनले पनि सोही कुरालाई प्रस्ट्याएको छ । बेसीसहर–मनाङ सडकखण्डले लेक लाग्ने समस्यामा पारेको प्रभाव केलाइएको उक्त अध्ययनले बाटो निर्माणपश्चात् लेक लाग्ने समस्या बढेको, लेक लागेका आधाभन्दा बढी बिरामीले गाडीमा छिटो यात्रा गरेको र नेपाली बिरामीले तुलनात्मक रूपमा गाडीको बढी प्रयोग गरेको जनाएको छ । मुक्तिनाथ क्षेत्रमा गरिएको अर्को अध्ययनले पनि सोहीकुरा विम्बित गरेको छ । अर्थ, हामी नेपालीमा लेक लाग्ने सम्बन्धमा जनचेतना निकै न्यून छ ।

जनैपूर्णिमाको २ दिनअघि एकजना अधबैँसे तामाङ दिदी हाम्रो शिविर खोज्दै आइपुग्नुभयो । हेर्दै लत्रक्क गलेको, दयालाग्दो भएको थियो अनुहार । यसो बुझ्दा नागपञ्चमीदेखि नै गोसाइँकुण्ड आएर थर्पु चलाएर बसिरहनुभएको रहेछ । ‘भनेसि दिदीको घर स्याफ्रु त होला नि?’ मैले सोधेँ । दिदीले हो भन्ने इसारामा मुन्टो हल्लाइन् । अधिकांश थर्पु चलाउनेहरू स्याफ्रुकै हुन्छन् । हिजोदेखि पखाला चलेर दिदीलाई हैरान भएको रहेछ । झन् त्यसमाथि तारन्तार बान्ता पनि थपिएपछि त दिदीलाई अब बाँच्दिनँ भन्ने नै लागेछ । शरीरमा पानीको मात्रा कम भएको प्रस्टै हुन्थ्यो ।बान्ता रोक्न सकेसम्म मुखबाटै औषधि दिने प्रयास गर्ने र त्यसपछि जीवनजल र अन्य झोल खुवाउने हाम्रो योजना सफल हुन सकेन । नसाबाट औषधि र सलाइनपानी चलाउनुपर्ने भयो ।

करिब २ घण्टाको प्रयासपछि दिदीको मुहार अलिक उज्यालो भएको आभास भयो । बिरामी भएको पिर त छँदै छ, त्यत्रो दुःख गरेर पैसा कमाउन भनेर आएको, मेलाको मुखैमा बिरामी पर्दा वर्षभरिको कमाइ गुम्ने डरले दिदीलाई तर्साएको थियो । छुट्टिनेवेलामा अहिलेसम्म कतिको व्यापार भयो त भन्ने हाम्रो जिज्ञासामा ‘यो साल त छैन नि सर, मान्छे नै छैनन्’ भन्दै निराश भइन् । जानेवेलामा सबैजना डाक्टरलाई आफ्नो थर्पुमा चिया खान निम्ता पनि दिइन् । दिदीको जस्तो झाडाबान्ताको समस्या नौलो भने होइन गोसाइँकुण्डमा । करिब १० हजारभन्दा बढीले तीर्थ गर्ने ठाउँमा मुस्किलले ३–४ वटा बनाइन्छन् सार्वजनिक शौचालय । थर्पुहरूको आफ्नै शौचालय हुने कुरै भएन, ती ४ स्थायी होटेलहरूका शौचालय र ३–४ सार्वजनिक शौचालयको भर पर्नुपरेपछि त्याहाँको सरसफाइको अवस्था अनुमान गर्न सकिन्छ । यसमा अझै समितिको भने ध्यान पुग्न सकेको छैन ।

जनैपूर्णिमाको दिउँसो शिविरबाट होटेलतर्फ जाँदै थियौँ । बाटोमै तिनै दिदीको थर्पु पथ्र्यो । ‘सरहरू आउनुस् न चिया खान,’ दिदीले थर्पुभित्रैबाट निम्ता दिइन् । दिदीको अनुहार निकै फुर्तिलो देखिन्थ्यो र खुसी पनि । ‘अहिले त भ्याउँदैनौँ दिदी, अब अर्कोचोटि । कस्तो छ हजुरलाई? अनि हिजो राति कतिजना गेस्ट सुताउनुभयो त?’ हामीले सोध्यौँ । दिदीले मक्ख पर्दै भनिन्, ‘अस्ति त यसपालि काम गर्न नसक्ने भएँ भन्ठानेर पिर गरेको, सरहरूले गर्दा धन्न गर्न सकियो । हिजो त पूरै प्याक भो सर, १सय१२ जना अटे ।’ मैले मनमनै हिसाब गरेँ, ‘खाएको,बसेको गरेर करिब हजारका दरले लाखभन्दा माथि नै व्यापार भएछ ।’ दिदीसँग छुट्टिएर होटेलतिर लाग्दा मनमा खुसी लाग्यो । यसपटकको मेलामा हामीले अपेक्षा गरेभन्दा धेरै संख्यामा जाडोले कठ्यांग्रिएका (हाइपोथेर्मिया) बिरामी हामीकहाँ आए । गोसाइँकुण्डको चिसो पानीमा नुहाउने, तर नुहाइसकेपछि पर्याप्त न्यानो लुगा नहुनाले त्यस्ता समस्या आउँछन् । एक–दुईजना तिर्थालुको त निकै नाजुक अवस्था हुँदाहुँदै पनि ज्यान बचाउन सफल भयौँ । खुसी लाग्छ ।

जनैपूर्णिमाको दिन बिहान ३ बजे मन्दिरको घण्टीसँगै चहलपहल सुरु भइसकेको थियो । स्नान गर्ने तिर्थालुको भिडले कुण्डछेउछाउ पूरै भरिएको थियो । पवित्र दिन भएकाले कुण्डमै नुहाउने अठोटसहितअरू साथीसँगै म पनि लागेँ कुण्डतिर । तर, गोसाइँकुण्डको त्यो अवस्था देखेर साह्रै पीडा र लज्जाबोध भयो म आफैँलाई । सायद, शिवजी पनि दुःखी हुनुभयो होला । कुण्डको किनारैकिनार स्नान गरिसकेर फालिएका भित्री लुगाले कुण्डलाई नै कुरूप बनाएको थियो । मसँगै स्नान गर्न हिँडेका डा. बद्रीले जिस्कँदै भने,‘ओहो ! कट्टुआतंक नै फैलिएछ त दाइ ।’ समितिले यसै वर्षदेखि किनारछेउमा भित्री लुगा डम्प गर्न छुट्टै बिन नै बनाइदिएको भए पनि त्यसभित्र लुगा फाल्न धेरैलाई चासो थिएन । धेरैको चासो केवल कुण्डमा स्नान गर्ने र सात पुस्तासम्मकै पाप पखाल्नमा केन्द्रित थियो । यसरी पवित्र कुण्ड फोहोर गर्दा झन् पापी भइएला कि भन्ने चासो कसैलाई थिएन । पछि धुन्चेतिर फर्कने वेलासम्मै यही कुरा मनमा खेलिरह्यो । झन् बाटोको दृश्यले थप दुःखी बनायो । बाटोभरि असरल्ल छरिएका चाउचाउ, बिस्कुट, चकलेट, पराग आदिका प्लास्टिकजन्य फोहोरले म आएको सफा र सुन्दर बाटो नै त्यही थियो भनेर पत्याउनै मुस्किल भयो । ‘पदचापबाहेक केही नछोड, सम्झनाबाहेक केही नलैजाऊ’ भन्ने ट्रेकिङमा प्रचलित उक्ति त हावा खायो । म बाटाभरि सोच्दै आएँ– आखिर हामी नेपाली कहिले सुध्रन्छौँ त?

नेपाललाई प्रकृतिले अपार साथ दिएको छ । गोसाइँकुण्ड त्यस्तै प्रकृतिको अनुपम उपहार हो । सुन्दर तालहरू र यात्रा अवधिभर मनै लोभ्याउने लाङटाङ, गणेश र मनास्लु हिमालको ‘प्यानोरोमिक’ दृश्य देख्न पाइन्छ । सांस्कृतिक रूपमा पनि हिन्दू र बौद्ध धर्मको सहिष्णुताको संगम हो गोसाइँकुण्ड । तर, गोसाइँकुण्डमा जे देखियो, त्यसले कुन प्रकृतिप्रेमीको मन नरोला र? प्रकृतिको स्याहार–सम्भार हाम्रै दायित्व होइन र?

मेला सकेर धुन्चेतर्फ हतार–हतार ओर्लंदै थियौँ, पछाडिबाट कसैले ‘ओहो ! बाबुहरू पनि फर्कन लाग्नुभएछ’ भन्नासाथ टक्क रोकियौँ । पछाडिबाट को मानिसले बोलायो भनेर फर्किंदा बुटवलका ८० वर्षीया शर्मा बुबा पो हुनुहुँदोरहेछ । द्वादशीको दिन दमले च्यापेर स्वाँ–स्वाँ गर्दैहाम्रो शिविरमा आउनुभएको थियो बुबा । थर्पुका साहुले ‘बुबालाई लेक लागेजस्तो छ, अब तल झर्नुपर्छ’ भनिदिँदा बुबालाई कम्ता पिर परेनछ । ८० वर्षको उमेरमा तीर्थव्रत गर्न भनेर त्यत्रो उकालो उक्लेर आइयो, पूर्णिमासम्म पनि नबसी झर्नुपर्ने भयो भनेर बुबा निराश हुनुभएको रहेछ । हामीले चेकजाँच गरेपछि ‘बुबालाई लेक लागेको होइन, दमको लक्षण हो, तत्कालै झरिहाल्नुपर्दैन’ भनिदिँदा बुबा खुसीले फुरुंग पर्नुभयो । शिविरबाट जानेवेला मनग्य आशिष पनि दिएर जानुभयो । त्यस उमेरका बुबाले आशीर्वाद दिँदा टन्नै पुण्य कमायौँ भनेर हामी पनि दंग पर्यौँ । पछि जनैपूर्णिमाको दिन बुबाले कुण्डछेवैमा ‘ताओ’ बाँधिरहेको भेट्टायौँ । हामीले पनि बुबाकै हातबाट ताओबाध्यौँ ।त्यसरी आफैँले माथि उपचार गरेका भक्तालुहरू भेटिँदा मनै दंग हुन्थ्यो । फेरि बाटोमै बुबाले धन्यवाद टक्र्याउनुभयो ।
बुबासँग छुट्टिएर हामी फेरि आफ्नै बाटो लम्कियौँ । बाटाभरि माथि बिताएका क्षण,मेलाको रमाइलो, बिरामी र बिरामीका अज्ञानताबारे मनमा कुरा खेलिरह्यो ।

सत्ययुगमा कालकुट विष पिएर औडाहा भएपछि शिवजीले भैरवलाई एउटा अनुरोध गर्नुभएछ । आफूलाईभइरहेको जलन ठिक गर्न उच्च लेकमा चिसो पानी पिउन मिल्ने कुण्ड बनाउन लगाउनुभएछ । भैरवजी ‘हुन्छ’ भन्दै लेक उक्लिनुभएछ र अहिलेको गोसाइँकुण्डनजिकै एउटा सुन्दर कुण्ड बनाउनुभएछ । बनाइसकेपछि त्यो कुण्ड यति सुन्दर लागेछ कि, भैरवजी आफैँ त्यसमा सुत्नुभएछ । पछि भैरवजीको चाला देखेर शिवजी रिसले आगो हुनुभएछर भैरवजीलाईश्राप दिनुभएछ,‘भक्तालुले तिमीलाई पूजा गर्ने छैनन्, मेरो दर्शन गर्नुपूर्व तिम्रो दर्शन गरेमा उनीहरूलाई धर्म होइन, पाप मिल्नेछ ।’ धुन्चे हुँदै उक्लँदा भैरवकुण्ड नहेरी गोसाइँकुण्ड हेर्न सम्भवै छैन । उक्लिएपछि बिरामी पर्नेहरू कोहीले भैरवकुण्ड दर्शन गर्नाले शिवजीको श्राप लागेको त कोहीले कुन जन्ममा पाप गरेकाले अहिले तीर्थ आउँदा बिरामी परेको भन्दै आफैँलाई धिक्कार्छन् । उनीहरूलाई लेक लाग्ने वा बिरामी हुने भगवान्को श्रापले होइन, छिटो उकालो उक्लेर, पर्याप्त खाना–पानी नभएर, बाक्ला लुगा नभएर, सरसफाइको कमीले हुन्छ भनेर बुझाउन हामीले अझै कसरत गर्न बाँकी छ ।

माउन्टेन मेडिसिन सोसाइटी अफ नेपाल
sumann .acharya@gmail .com

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै

जहाँ पुग्दा मनै प्रफुल्लित हुन्छ

काठमाडौंबाट १३३ किलोमिटर सडकयात्रापछि ५ घण्टामा चरिकोट पुगिन्छ । चरिकोटबाट १७ किलोमिटर कच्ची सडक उकालो चढेपछि कुरी पुगिन्छ । कुरी धेरैले वास बस्ने ठाउँ हो । यहाँ धेरै होटेल खुलिसकेका छन् । मोटरसाइकल वा गाडी रिजर्भ गरेर पनि यहाँ पुग्न सकिन्छ । तर, बाटो निकै जोखिमपूर्ण छ । ढुंगा बिछ्याइएको बाटो धेरै ठाडो छ ।

सडकको अवस्थाका कारण १७ किमि दूरी पार गर्न गाडीबाट ३ घण्टा लाग्ने भएपनि हिँडेरै जानुको मज्जा बेग्लै छ । चरिकोटबाट हिडेर जानका पुरानो ५ देखि ६ घण्टामा पुगिन्छ कालिन्चोक । जहाँ पुग्दा मनै प्रफुल्लित हुन्छ ।

चरिकोटबाट कुरी जाँदा जाडो मौसम र केही दिनअघि मात्रै पानी परेको भए हिउँमा खेल्दै जान पाइन्छ भने चैत–वैशाखको समयमा वनभरि फुलेका रंगीचंगी लालीगुराँसले यात्रुलाई आकर्षित गर्छन् । दोलखा जिल्लामा अवस्थित कालिञ्चोक भगवती रमणीय एवं धार्मिक हिसाबले महत्वपूर्ण मन्दिरका रूपमा परिचित छ ।

यो पर्यटकीय दृष्टिले पनि उत्तिकै महत्वपूर्ण छ । कालिञ्चोक पार्वतीले महादेव स्वामी पाऊँ भनेर तपस्या गरेको भूमि मानिन्छ । हिमालय पर्वतकी पुत्री पार्वतीले गौरीशंकर क्षेत्रमा ध्यानमा रहेका महादेवलाई देख्ने गरी कालिञ्चोकको डाँडामा तपस्या गरेको किंवदन्ती छ । त्यसैले पनि विशेषगरी नेपाली तथा भारतीय हिन्दू धर्मावलम्बीले यथासम्भव कालिञ्चोक भगवतीको दर्शन गर्ने गरेका छन् ।

कालिञ्चोक भगवतीलाई भगवतीका सात दिदीबहिनीमध्ये एक मानिँदै आएको छ । यही आस्थाका कारण यहाँ पूजाआजाका लागि दैनिकजसो तीर्थयात्री आउने गरेका छन् ।

कालिञ्चोक भगवतीको दर्शन गरेर भाकल गरेपछि मनले चिताएको पूरा हुने जनविश्वाससमेत रहिआएको छ । कालिञ्चोक क्षेत्रबाट भेडाबाख्रा हराएमा कालिञ्चोक भगवतीको नाम पुकारेपछि भेटिने गरेको किंवदन्तीसमेत छ ।

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै