अस्पतालले लिन नमान्दा १५ जना कोरोना संक्रमित दुई दिनदेखि क्वारेन्टाइनमै

कोरोना संक्रमितको उपचारका लागि बेलझुन्डीमा स्थापना भएको कोरोना विशेष अस्पतालमा बिरामी भरिएपछि १५ जना संक्रमित क्वारेन्टाइनमै रहेका छन्। घोराही उपमहानगरपालिकाका नौ जना र बंगलचुली गाउँपालिकाका ६ जना गरी १५ कोरोना संक्रमित अस्पताल भर्ना हुन नपाएका हुन्।

दाङका बंगलाचुली र घोराही उपमहानगपालिकामा सोमबार र मंगलबार १७ जनामा कोरोना संक्रमण देखिएको थियो। १७ संक्रमित मध्य राप्ती गाउँपालिका दुई जना बिरामीलाई नेपालगंज लगिएको छ। सोमबार कोरोना संक्रमण देखिएका घोराहीका ९ जनालाई घोराही उपमहानगरपालिकाले ३ नम्बर वडाको कुइरेपानीमा रहेको क्वारेन्टाइन राखिएको छ।

६ जना संक्रमितलाई कमिरेचौरमा राखिएको बंगलाचुली गाउँपालिका अध्यक्ष भक्तबहादुर वलीले जानकारी दिए। उनले अस्पतालको क्षमता बढाएर विरामीको उपचार गर्ने बेला केन्द्र सरकारले सहयोग नगर्ने र प्रदेश सरकार पन्छिन खोज्दा बिरामीहरूको क्वारेन्टाइमै मर्ने अवस्था आएको गुनासो गरे।

‘हाम्रो गाउँपालिकामा हिजो कोरोना संक्रमण देखिएका ६ जनालाई अस्पतालले लिन मानेको छैन,’ गाउँपालिका अध्यक्ष वलीले भने, ‘जसले गर्दा बिरामीहरूलाई क्वारेन्टाइनमै राख्नुपरेको छ।’ विरामीहरू उपचार नपाएरै मर्ने अवस्थाको सिर्जना भएकाले आफूहरू निकै चिन्तित रहेको उनले बताए।

उनले कोरोना संक्रमितका लागि कोरोना विशेष अस्पताल बेलझुण्डीलगायतका अस्पतालमा सम्पर्क गर्दा कुनै अस्पतालले विरामी लिन नमानेको गुनासो गरे।

एक सय बेड क्षमता रहेको कोरोना विशेष अस्पतालमा ५१ जना कोरोना संक्रमितको उपचार भैरहेको छ। उनीहरू मध्य पोजिटिभ रिपोर्ट आएका बिरामीहरूलाई बेड परिवर्तन गर्नुपर्नेभन्दै बाँकी विरामी लिन नसकिने भन्दै अस्पतालहरू पन्छिरहेको उनको आरोप छ।

बेलझुण्डीमा रहेको कोरोना विशेष अस्पतालमा एक सय बेड क्षमता भएपनि जनशक्ति र अन्य व्यवस्थापनका कारण थप बिरामी राख्न समस्या भएको प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले बताएका छन्। अहिले थप संक्रमितलाई उपचारका लागि आइसोलेसन अस्पताल बनाउने काम भैरहेको उनको भनाई छ।

संक्रमितलाई फनपार्कमा

यसैविच स्थानीय सरकार, स्थानीय प्रशासन र सम्बन्धित व्यवसायीको सहमति र समन्वयमा घोराही उपमहानगरपालिका अमराइमा सञ्चालनको तयारीमा रहेको फनपार्कलाई कोरोना अस्पतालका रुपमा प्रयोग गरिने भएको छ। सो स्थानमा आवश्यक बेड र अन्य भौतिक पूर्वाधार तयारको काम भैरहेको प्रमुख जिल्ला अधिकारी रिजालले बताए।

त्यहाँ कम्तीमा ५० जनासम्म संक्रमितलाई राखिने छ। ‘कुइरेपानी क्वारेन्टाइनमा राखिएका संक्रमितलाई भोलि बुधवारदेखि नै फनपार्कमा व्यवस्थापन भएको आइसोलेसन अस्पतालमा राखिने छ’, प्रमुख जिल्ला अधिकारी रिजालले भने।

त्यसैगरी सम्भावित थप संक्रमितहरुलाई राख्नका लागि सम्बन्धित पालिकाहरूले आ–आफ्नो क्षेत्रमा कोरोना आइसोलेसन बेड बनाउने तयारीमा रहेको पनि उनले बताए। जिल्ला आपतकालिन कार्य सञ्चालन केन्द्रका अनुसार जिल्लामा १६ वटा अस्पतालहरूमा १६६ आइसोलेशन बेड तयार छन्। तर, ती अस्पतालहरूले कुनै पनि विरामीहरू लिन मानेका छैनन्।

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै

कोरोना संक्रमित स्वास्थ्यकर्मी भन्छन्- ‘हाम्रै मनोबल कमजाेर भए, बिरामीलाई कसले देला हौसला?’

पहिला जसरी खटिन्थे, अहिले पनि सेवामा त्यसरी नै खटिन्छन्। मात्र थोरै फरक शैलीमा।

सोच्छन्, ‘आफू नै कमजोर भएँ भने अरु बिरामीको अवस्था के होला?’ त्यसैले उनी अरुलाई पनि सम्झाइबुझाइ गर्दै सेवा दिन्छन् ।

उनी हुन् धनकुटा जिल्ला अस्पतालका कोरोना भाइरसको संक्रमित स्वास्थ्यकर्मी गणेश बुढाथोकी। कोरोनाको संक्रमण भए पनि उनले अरु संक्रमित सर्वसाधारणको सेवा गर्न छाडेका छैनन्।

उनी आफूलाई मात्रै सम्हाल्दैनन्, अस्पतालमा रहेका सबै संक्रमितलाई हौसला तथा सान्त्वना दिन भ्याउँछन्।

संक्रमित स्वास्थ्यकर्मीले नै सामान्य स्वास्थ्य परीक्षण तथा हेरचाह गरेपछि अरु संक्रमित पनि केही संयमित हुने गरेका छन्।

उनी आफू संक्रमित भएर पनि अन्य बिरामीको ज्वरो नाप्ने, सान्त्वना दिने तथा भाइरसको संक्रमणबारे अरुको जिज्ञासा मेटाउने काम गर्छन्।

संक्रमित बुढाथोकी कोसी अञ्चल (कोभिड १९) अस्पतालको आइसोलेसन वार्डमा उपचाररत छन्।

‘कोरोना पोजेटिभ देखिँदैमा कोही मर्दैन, आत्मबल आत्मविश्वास बलियो भए सजिलैसँग कोरोना जित्न सकिन्छ,’ संक्रमित बुढाथोकी भन्छन्, ‘आफू संयमित नभई अन्य संक्रमितलाई सम्झाउन सकिँदैन। मन, मुटु दरिलो बनाई सबैलाई सम्हालिन आग्रह गरिरहेका छौं।’

संक्रमित हुँदैमा कसैलाई केही नहुने भन्दै उनी स्वास्थ्यकर्मीलगायत सबैलाई आत्मबल बढाएर महामारी जित्नुपर्ने बताउँछन्।

नेपालमा कोरोना भाइरसको संक्रमण देखिएपछि उनले एकदिन महामारीसँग लड्नुपर्छ भन्ने मानसिकता तयार पारेका थिए। फलस्वरुप आफूलाई कोरोनाले तनाव तथा मरिन्छ भन्ने सोचबाट टाढा राख्न सकेको उनले सुनाए।

‘कोरोना पोजेटिभ देखिँदैमा कोही मर्दैन, आत्मबल आत्मविश्वास बलियो भए सजिलैसँग कोरोना जित्न सकिन्छ,’ संक्रमित बुढाथोकी भन्छन्, ‘आफू संयमित नभई अन्य संक्रमितलाई सम्झाउन सकिँदैन। मन, मुटु दरिलो बनाई सबैलाई सम्हालिन आग्रह गरिरहेका छौं।’

‘हामी नै हतोत्साही भयौं भने सर्वसाधारणको अवस्था के होला? यही सोचेर मनोबल बढाएका हौं। एकदिन भाइरसको महामारी सामना गर्नुपर्छ भन्ने थाहा थियो, त्यसै अनुसार आफूलाई तयार पारेका थिए,’ उनले दृढ आत्मविश्वास पोखे ।

उनले आफैं संक्रमित भएकाले मानवीयता तथा सेवाका कारण अरु संक्रमितलाई सम्झाउन सजिलो भएको सुनाए।

संक्रमित स्वास्थ्यकर्मीहरूले सर्वसाधारणलाई ढाडस दिने काम गरिरहेका छन्। पहिले आत्तिए पनि अहिले सामान्य छन्। त्यो अवस्था आउनु भनेको स्वास्थ्यकर्मीको मनोबल तथा सान्त्वना नै हो।

‘कोसी अञ्चल अस्पतालमा उपचाररत सर्वसाधारण सुरुमा एकदमै अतालिएका थिए। उनीहरूमा भाइरसप्रति त्रास थियो तर हामीलाई पनि देखेपछि केही फरक महसुस गर्न थालेका छन्,’ बुढाथोकी भन्छन्, ‘उनीहरू अहिले आत्मविश्वासले नै कोरोना जित्नुपर्ने मनस्थितिमा पुगेका छन्।’

‘आफूले स्वास्थ्यसेवा रोजेकाले धर्मकर्म नै बिरामीको सेवा हो,’ उनी भन्छन्, ‘कोरोना जित्न धैर्य र उत्साही हुनुपर्छ। सकुन्जेल सेवा गर्छौं, सबैले दायित्व तथा कर्तव्य पालना गर्नैपर्छ।’

उनले आफूलाई घरपरिवारलगायत सबै साथीभाइले हौसला दिएको सुनाए। भन्छन्, सबैको साथ सहयोगले अझै आत्मबल बढेको छ ।

जेठ ४ मा रिपोर्ट आएपछि उनमा कोरोना पोजेटिभ देखिएको थियो। उनमा संक्रमण देखिएपछि जेठ ५ मा अरु ८३ स्वास्थ्यकर्मीको पिसिआर विधिमार्फत स्वास्थ्य परीक्षण गरिएको थियो। त्यसमध्ये चारजना स्वास्थ्यकर्मीको रिपोर्ट पोजेटिभ आएको थियो। त्यसमा बुढाथोकी पनि थिए।

बुढाथोकीलाई कोरोना पोजेटिभ देखिएपछि श्रीमती तथा छोराको स्वास्थ्य परीक्षण गरिएको थियो। उनीहरू दुवैको रिपोर्ट नेगेटिभ आएको छ।

‘अस्पतालमा ड्युटी गर्ने र क्वाटरमा बस्ने दिनचर्या थियो। हामी न जिल्लाबाहिर गएका छौं, न त ट्राभल हिस्ट्री नै छ,’ बुढाथोकी भन्छन्, ‘आफूमा कोरोना संक्रमण कसरी देखियो थाहा नै छैन।’

उनी सबेरै उठेर आधा घण्टा व्यायाम गर्छन्। अनि अन्य बिरामीको स्वास्थ्य परीक्षण गर्नुका साथै उनीहरूसँग एकदिन गफिन्छन्। खाली समयको सदुपयोग गर्न पब्जी खेल्छन्। नयाँ गीतसंगीत सुन्छन्। हिन्दी तथा दक्षिण भारतीय फिल्म पनि हेर्छन्।

स्वास्थ्यकर्मीलाई कोरोना भाइरसको संक्रमण भएको खबरबीच धनकुटा अस्पतालमा कार्यरत एकजना स्वास्थ्यकर्मीले जेठ २ स्वास्थ्य परीक्षण गराएकी थिइन्।

जेठ ४ मा रिपोर्ट आएपछि उनमा कोरोना पोजेटिभ देखिएको थियो। उनमा संक्रमण देखिएपछि जेठ ५ मा अरु ८३ स्वास्थ्यकर्मीको पिसिआर विधिमार्फत स्वास्थ्य परीक्षण गरिएको थियो। त्यसमध्ये चारजना स्वास्थ्यकर्मीको रिपोर्ट पोजेटिभ आएको थियो। त्यसमा बुढाथोकी पनि थिए।

धनकुटामा सुरुमा स्वास्थ्यकर्मीमै कोरोना भाइरसको संक्रमण रहेको पाइएको हो। अहिले धनकुटा अस्पतालका चार स्वास्थ्यकर्मी, दुई सुरक्षाकर्मी र एक कर्मचारीको श्रीमान गरी ७ जना कोरोना संक्रमित छन्।

संक्रमित बुढाथोकीलगायत सबैको स्वास्थ्यस्थिति सामान्य छ।

अञ्चल अस्पतालको आइसोलेसन वार्डमा ६ जना छन्। वार्डमा सामाजिक दूरी कायम गर्न एक–एक बेडको अन्तर कायम गरिएको छ।

‘अहिलेसम्म अवस्था सामान्य छ। हामी सबै स्वास्थ्यकर्मी फ्रेस छौं। आत्मबल बलियो भए कोरोनाको जोर चल्दैन,’ उनले भने, ‘कोरोना भाइरसको संक्रमण निको भएपछि अस्पताल फर्किएर पुनः पहिलाकै सेवामा फर्किन्छु।’

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै

तीन बालकसहित २१ संक्रमितले १० दिनमै जिते कोरोना, मेयरको स्वागत

पर्सा जिल्लामा २१ कोरोना संक्रमितले १० दिनमै निकाे भएर फर्केका छन्। ३० संक्रमितमध्ये कोरोना मुक्त भएका उनीहरु नारायणी अस्पताल बिशेष कोरोना अस्थायी कोभिड अस्पताल गण्डकबाट मंगलबार राति साढे १० बजे घर फर्किएका हुन् ।

डिस्चार्ज हुनेमा तीन बालबालिकासहित ५ जना महिला र १६ जना पुरुष छन् । डिस्चार्ज हुने वीरगन्ज महानगरपालिकाका र कालिकामाई गाउँपालिकाका स्थानीय हुन् । पछिल्लो दुईवटा पीसीआर रिर्पोट नेगेटिभ आएपछि २१ जनालाई डिस्चार्ज गरिएको नारायणी अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. मदनकुमार उपाध्यायले बताए ।

वैशाख २७ र ३० गते कोभिड १९ पुष्टि भएदेखि उनीहरूलाई आइसोलेसनमा राखिएको थियो । गण्डक अस्पताल अहिले नारायणी अस्थायी कोभिड अस्पतालको रूपमा सञ्चालन भइरहेको छ ।अस्थायी अस्पताल अब ९ जना संक्रमित छन् ।

डिस्चार्ज भएकाहरुलाई वीरगञ्ज महानगरपालिकाका मेयर विजय कुमार सरवगीले स्वगत अस्पतालमै पुगेर स्वागत गरेका थिए ।मेयर सरवगीले नवनिर्मित कोरोना अस्पतालको राम्रो व्यवस्थापन र हेरचाहका कारण छिट्टै संक्रमणमुक्त भएको दावी गरे ।

वैशाख २७ र ३० गते कोभिड १९ पुष्टि भएदेखि उनीहरूलाई आइसोलेसनमा राखिएको थियो । गण्डक अस्पताल अहिले नारायणी अस्थायी कोभिड अस्पतालको रूपमा सञ्चालन भइरहेको छ ।
अस्थायी अस्पताल अब ९ जना संक्रमित छन् ।

यसअघि नारायणी अस्पतालको आइसोलेसन वार्डमा भर्ना भएका ७२ जना कोरोना संक्रमित निको भएर घर फर्किसकेका छन् । सबै संक्रमित डिस्चार्ज भइसकेकाले नारायणी अस्पतालमा अहिले कोरोना संक्रमित छैनन् ।

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै

रौतहटमा फेरि थपिए २१ कोरोना संक्रमित, सबै भारतबाट आएका

रौतहटमा फेरि २१ जना नयाँ कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको विवरणअनुसार रौतहटमा थप २१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

यसअघि रौतहटमा सोमबार २७ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो।

गौर नगरपालिकाका ८, गरुडा नगरपालिकाका १ र देवाही गोनाही नगरपालिकाका १२ जनामा मंगलबार संक्रमण पुष्टि भएको रौतहटका कोरोना फोकल पर्सन महेश साहले जानकारी दिए। नयाँ थपिएका कोरोना संक्रमित पनि भारतको विभिन्न स्थानबाट आएर क्वारेन्टाइनमा बसेको उनले बताए।

साहले जेठ २ र ३ गते उनीहरू भारतको मुम्बई, दिल्ली, पञ्जाबलगायतका स्थानबाट फर्केको जानकारी दिएका छन्। यसअघि पनि रौतहटमा संक्रमण देखिएकामध्ये अधिकांश भारतबाट आएका नेपाली रहेको उनले बताए।

संक्रमितको संख्या बढ्दै गएपछि रौतहटमा आइसोलेसन कक्षको समस्या देखिएको साहको भनाइ छ। जिल्लामा जम्मा ४० बेडको आइसोलेसन रहेको भन्दै उनले संक्रमितको संख्या झन्डै ७० पुगिसकेकोले व्यवस्थापन गर्न चुनौती थपिएको बताए।

पछिल्लो पटक रोजगारीका लागि भारतमा रहेका नेपालीहरूू आउने क्रम सुरु भएसँगै प्रदेश २ मा कोरोना संक्रमितको संख्यासमेत थपिँदै गएको छ।

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै

‘संक्रमित भएर के भाे, नर्स हुँ सँगैका संक्रमितकाे पनि सेवा गर्छु’

कोसी (कोभिड १९) अस्पतालमा हाल ३५ जना कोरोना भाइरस संक्रमित उपचार भइरहेको छ । तीमध्य धनकुटा अस्पतालका २ नर्स सहित ७ जना स्वास्थ्यकर्मीको पनि उपचाररत छन्।

जेठ ४ गते गरिएको विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्वाब परीक्षणका क्रममा एकजना नर्समा पनि कोरोना संक्रमण देखियो। धनकुटा अस्पतालमा कार्यरत ती नर्समा कोरोना देखिएकै भोलिपल्ट अर्थात ५ गते गरिएको स्वाब परीक्षणमा अस्पतालका कर्मचारी र अन्य एक गरी ७ जनामा कोरोना पोजेटिभ देखियो।

कन्ट्याक्ट ट्रेसिङ गर्दा संक्रमित सबै नर्सको सम्पर्कमा आएका व्यक्तिहरू रहेको पुष्टि भयो। यतिबेला सबै संक्रमितको उपचारमै संक्रमित नर्स नै तल्लिन छन्।

मोरङ घर भएकी सुब्बा १४ वर्षदेखि नर्सिङ पेसामा आवद्ध छन्। उनका श्रीमान् इन्द्रपुर हेल्थपोस्टमा कार्यरत छन्। ‘सातवर्षे सानो छोरा मसँगै बसेको छ। तर, उसलाई कोरोना संक्रमण देखिएको छैन। त्यो राम्रो पक्ष हो,’ उनी भन्छिन्।

संक्रमण कसरी देखियो थाहा छैन

स्वास्थ्यकर्मीमा पनि कोरोना पोजेटिभ देखिएको समाचार जताजतै फैलिएको थियो। कोरोनाको आशंकामा नर्स शिला सुब्बाले परीक्षण गरिन्। जेठ २ मा स्वाब लिइयो, दुई दिनपछि रिपोर्ट आयो। तर, रिपोर्ट सुनेपछि उनी छाँगाबाट खसेजस्तै भइन्। कोरोना संक्रमण कसरी देखियो भन्ने आफू अनविज्ञ रहेको सुब्बा बताउँछिन्।

‘हामी जति पनि संक्रमित रहेका छौं। जिल्ला बाहिर गएको कुनै ट्राभल हिस्ट्री पनि रहेको छैन,’ सुब्बाले भनिन्, ‘अस्पतालमा ड्युटी गर्ने र क्वाटरमा बस्ने दिनचर्या रहेको थियो।’

उनी धनकुटा अस्पतालको बहिरंगकी विभाग इन्चार्ज समेत हुन्। संक्रमण देखिपछि सुब्बा आइसोलेसन रहिन्। उनीसँग सम्पर्कमा आएका सबैको परीक्षण गरियो। परीक्षण गर्दा उनी सँगै काम गर्ने एक नर्स, आकस्मिक कक्षका दुई स्टाफ, २ सुरक्षाकर्मी र एक स्टाफको श्रीमान्मा कोरोना संक्रमण भएको पुष्टि भयो।

बहिरंगको विभाग इन्चार्ज सम्हालेकी सुब्बाको ड्युटी १०–५ थियो। बहिरंग विभाबाट दिने सेवाको व्यवस्थापनमा उनी बढी सक्रिय हुन्थिन्। बिरामीको हेरचाह, प्रसूति, गर्भपतन, शल्यक्रिया जस्ता सेवामा प्रत्यक्ष संलग्न हुँदै आएको उनले बताइन्।

मोरङ घर भएकी सुब्बा १४ वर्षदेखि नर्सिङ पेसामा आवद्ध छन्। उनका श्रीमान् इन्द्रपुर हेल्थपोस्टमा कार्यरत छन्। ‘सातवर्षे सानो छोरा मसँगै बसेको छ। तर, उसलाई कोरोना संक्रमण देखिएको छैन। त्यो राम्रो पक्ष हो,’ उनी भन्छिन्।

उनी संक्रमित भएर पनि अन्य संक्रमितको हेरचाहमा खटिरहेकी छन्। नर्स सुब्बा वैशाख ५ देखि कोसी (कोभिड–१९) अस्पतालको आइसोलेसन वार्डमा रहेकी छन्। आफू संक्रमित भए पनि अन्य संक्रमितको हेरचाहमा तल्लीन रहनुमा उनलाई गर्व छ।

‘नर्सिङ पेसा अँगालेको कारण मेरो कर्तव्य बिरामीलाई सेवा दिनु नै हुन्छ,’ उनले सुनाइन्, ‘हामीले आफूले अरु संक्रमितलाई भित्रबाट दिनसक्ने सेवा दिइरहेका हुन्छौं।’

अस्पतालमा रहेका प्रायजसो सबै संक्रमितको अवस्था सामान्य नै छ। तर, एकजनाको स्वास्थ्य अवस्थामा केही समस्या आएको सुब्बाले बताइन्।

‘संक्रमितलाई निमोनियाको समस्या देखिएको छ। उसलाई समयमा औषधी दिने, सुईं दिने लगायतका हेरचाह सबै गर्ने गरेका छौं। आफ्नो कर्तव्यबाट टाढा हुन पनि भएन नि।’

संक्रमितको सम्पर्कमा आउने मानिसलाई संक्रमण हुने जोखिम धेरै हुन्छ। अस्पतालका स्वास्थ्यकर्मीलाई थप जोखिम नहोस् भन्नका लागि सकेसम्म र मिल्ने सेवा भित्रबाट आफूहरूले दिने गरेको नर्स सुब्बाको भनाइ छ।

‘हामी त संक्रमित छाै‌ं। अरु स्वास्थ्यकर्मीलाई किन थप जोखिममा पार्ने,’ उनी भन्छिन्, ‘बिरामीको अवस्था हेरेर डाक्टर तथा अरु नर्स साथीसँग समन्वय गरिरहेका हुन्छाै‌ं।’

‘हामी त संक्रमित छाै‌ं। अरु स्वास्थ्यकर्मीलाई किन थप जोखिममा पार्ने,’ उनी भन्छिन्, ‘बिरामीको अवस्था हेरेर डाक्टर तथा अरु नर्स साथीसँग समन्वय गरिरहेका हुन्छाै‌ं।’

उनी बिरामीको हेरचाह मात्र गर्दिनन्। संक्रमितको मनोबल उच्च राख्नका लागि हौसला पनि दिँदै आएकी छन्। संक्रमितलाई एक्लोपन महसुस नहोस् भनेर दैनिक तालिका व्यवस्थापन गर्दै आएको उनले सुनाइन्। ‘धेरै संक्रमित डराएर आउनुभएको हुन्छ,’ उनले भनिन्, ‘हामीले उहाँहरूलाई हौसला दिएर मनोबल उच्च राख्ने काम गर्दै आएका छौं।’

अस्पताल व्यवस्थापन धेरै राम्रो

कोसी (कोभिड–१९) अस्पतालले संक्रमितको हेरचाहका लागि राम्रो व्यवस्थापन गर्दै आएका छ। संक्रमितलाई समय–समयमा खानाको व्यवस्था गर्ने गरेको छ।

‘खाना–खाजामा पौष्टिक आहारको व्यवस्था छ,’ सुब्बाले भनिन्, ‘हाम्रा स–साना आवश्यकता पनि अस्पताल व्यवस्थापनले पूरा गरिदिएको छ।’

संक्रमितलाई हेर्ने नजर बदलियोस्

कोरोना भाइरसको संक्रमणले कसैलाई पनि नछाड्ने हुँदा सबैले सावधानी अपनाउनुपर्ने सुब्बाको भनाइ छ। तर संक्रमितलाई अझै पनि समाजले हेर्ने दृष्टिकोण फरकमा उनको चित्तदुखाइ छ।

उनी भन्छिन्, ‘भाइरस आफैंले सारेको हुँदैनन्। यसमा संक्रमितको दोष के हुन्छ र? संक्रमित व्यक्ति रोगी त हुँदैनन्, केही समयपछि उनीहरू पनि सामान्य मानिसजस्तै हुन्छन्।’

समाजले स्वास्थ्यकर्मी तथा संक्रमितलाई हेर्ने भावना राम्रो हुन सकेमात्र यो महामारीलाई जित्न सकिने उनको बुझाइ छ।

(नर्स सुब्बाकै स्वीकृतिमा उनको नाम उल्लेख गरेका हौं)

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै

राहत वितरणमा पनि सहभागी थिइन् भक्तपुरकी संक्रमित नगर सदस्य

भक्तपुर नगरपालिकामा भेटिएकी कोरोना संक्रमित नगर सदस्य राहत वितरणदेखि जनप्रतिनिधिको सम्पर्कमा रहेको खुलेको छ। भक्तपुर नगरपालिकाले संक्रमित नगर सदस्यको कन्ट्याक्ट ट्रेसिङ गर्दा उनी नगरपालिकाको राहत वितरणदेखि जनप्रतिनिधिसँग सम्पर्कमा रहेको खुलेको हो।

उनलाई जेठ ९ गते कोरोना संक्रमण रहेको पुष्टि भएको थियो। ४२ वर्षीया उनी भक्तपुर नगरपालिका ९ की वडासदस्य हुन् । अहिले त्यो क्षेत्र सिल गरिएको छ।

नगर सदस्यमा कोरोना भाइरसको संक्रमण देखिएपछि उनको सम्पर्कमा आएकाको कन्ट्याक्ट ट्रेसिङमार्फत स्वाब संकलन गरी परीक्षणका लागि जनस्वास्थ्य प्रयोगशाला पठाइएको छ।

‘पहिलो चरणअन्तर्गत संक्रमितको नजिक रहेका १९ जनाको स्वाब संकलन गरी परीक्षणका लागि पठाएका छौं,’ स्वास्थ्य कार्यालय भक्तपुरका प्रमुख कृष्ण मिजारले भने, ‘कन्ट्याक्ट ट्रेसिङमार्फत सम्पर्कमा आएका १९ र जनप्रतिनिधिलगायत अन्य १० जनाको स्वाब संकलन गरी परीक्षणका लागि पठाएका छौं, रिपोर्ट आएपछि के कसरी गर्ने भन्ने निर्णय गर्छौं।’

‘संक्रमितको कन्ट्याक्ट ट्रेसिङ गर्दा राहत वितरण तथा जनप्रतिनिधिसँग प्रतयक्ष सम्पर्कमा रहेको देखिएको छ,’ उनले भने, ‘नजिकको सम्पर्कमा आएका सबैको स्वास्थ्य परीक्षण अनिवार्य छ।’

संक्रमितको घरपरिवारको स्वास्थ्य परीक्षण गरी संक्रमितको प्रत्यक्ष सम्पर्कमा आएका जनप्रतिनिधिलाई घरमै सेल्फ क्वारेन्टाइनमा बस्न आग्रह गरेको मिजारले बताए।

‘संक्रमितको कन्ट्याक्ट ट्रेसिङ गर्दा राहत वितरण तथा जनप्रतिनिधिसँग प्रतयक्ष सम्पर्कमा रहेको देखिएको छ,’ उनले भने, ‘नजिकको सम्पर्कमा आएका सबैको स्वास्थ्य परीक्षण अनिवार्य छ।’

संक्रमित महिला नगर सदस्य भक्तपुरकै स्थानीय हुन्। उनी उपत्यका बाहिर गएकी थिइनन्। उनको क्लोज कन्ट्याक्टमा आएका अन्य सर्वसाधारणलाई नगरपालिकाले क्वारेन्टाइनमा राखेको छ। भाइरसको संक्रमण तुरुन्त नदेखिने भएकाले कन्ट्याक्ट ट्रेसिङमार्फत सम्पर्कमा आएका अन्यको १० दिनपछि पुनः स्वास्थ्य परीक्षण गर्ने नगरपालिकाले निर्णय गरेको छ।

कोरोना भाइरसको संक्रमण बाहिरबाट आएकामा मात्रै नहुने भन्दै स्वास्थ्य प्रमुख मिजारले स्थानीयमा पनि संक्रमण हुनसक्ने बताए। ‘नगर सदस्य उपत्यका बाहिर कतै जानुभएको छैन, बाहिरबाट आएकालाई मात्रै कोरोना हुन्छ भन्ने छैन,’ मिजारले भने।

पहिलो चरणमा संक्रमितसँग एकदमै नजिकको सम्पर्कमा रहेकालाई विशेष निगरानी गरी स्वास्थ्य परीक्षण गरिएको बताउँदै मिजारले स्वाब संकलन गरी पठाएकाको रिपोर्ट आएपछि शंकास्पद अन्यको पनि स्वास्थ्य परीक्षण गरिने बताए।

भक्तपुरमा अहिलेसम्म ४ जनामा कोरोना भाइरसको संक्रमण रहेको पुष्टि भएको छ। संक्रमितमध्ये २ जना निको भर्ई घर फर्किसकेका छन् भने दुई जनाको उपचार भइरहेको छ। उपचार हुनेमा एक जना नगर सदस्य र अर्काे काठमाडौं महानगरपािलकाको सरसफाई व्यवस्थापन महाशाखामा काम गर्ने कर्मचारी रहेका छन्।

काठमाडौं महानगरपालिका वातावरण व्यवस्था विभागले भने कोरोनाको संक्रमण देखिएका कर्मचारीको दोस्रो रिपोर्ट नेगेटिभ आएको जानकारी दिएको छ।

‘महानगरले वातावरण व्यवस्था विभागमा काम गर्ने ९ सय ३४ जना कर्मचारीको स्वास्थ्य परीक्षण गराइसकेका छौं,’ काठमाडौं महानगरपालिका वातावरण व्यवस्था विभाग प्रमुख हरिकुमार श्रेष्ठले भने, ‘एक जनामा भाइरसको संक्रमण देखिए पनि दोस्रो चरणको रिपोर्टमा नेगेटिभ देखिएको छ।’

विभागले ६ सय ६४ जनाको आरडिटी र २ सय ६८ जनाको पिसिआर विधिमार्फत स्वास्थ्य परीक्षण गरेको विभागले जनाएको छ।

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै

बैतडीमा थप ४ जना कोरोना संक्रमित

सुदूरपश्चिम प्रदेशको बैतडीमा थप ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

योसंगै प्रदेशभर संक्रमितको स‌ख्या १४ पुगेको छ । आज थपिएका चारै जना संक्रमितलाई सेती अस्पतालको आईसोलेसनमा राखिएको जनाइएको छ।

आज थपिएका संक्रमित बैतडीको शिवनाथ गाउँपालिकाका–१ का २७ र २० वर्षीय  तथा वडा नम्वर २ का २२ र ३० वर्षीय पुरुष छन्। प्रदेशबाट पाँच जना भने कोरोना निको भएर घर गएका छन्।

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै

त्रिवि मनमोहन सेन्टरमा भर्ना भएकी ५४ वर्षे महिलामा कोरोना, अवस्था जटिल

त्रिवि चिकित्साशास्त्र अध्ययान संस्थान (आइओएम) स्थित मनमोहन कार्डियो भास्कुलर एण्ड टन्सप्लान्ट सेन्टरमा उपचाररत एक महिलामा कोरोना पोजेटिभ देखिएको छ। मकवानपुर हेटौडा-३ स्थायी घर भएकी ती महिलाको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणअनुसार कोरोना पोजेटिभ देखिएको हो।

मुटुको समस्या भएकी ती महिलामा निमोनियासमेत देखिएपछि चिकित्सकले शंका लागेर कोरोना परीक्षण गर्न पठाएका थिए। अहिले ती महिलाको मुटुको चाल र रक्तचापसमेत कम भएको कारणले मोनिटरिङका लागि अस्पतालमै राख्ने तयारी छ।

जटिलता नभएका  बिरामी पाटनमा रेफर गर्ने गरिए पनि महिलाको स्वास्थ्य अवस्था जटिल भएका कारण गणेशमान सि‌ँह भवनस्थित लेवल थ्री सेन्टरमा सार्ने चिकित्सकले जानकारी दिएका छन् ।

बिहीबार सेन्टरमा कार्यरत चिकित्सक र बिरामीसमेतको ठूलो संख्यामा आरडिटी परीक्षण गरिएको ५४ जनामा पोजेटिभ देखिएको थियो । आरडिटी पोजेटिभ आएकालाई पिसिआर परीक्षण गर्दा ५४ वर्षे महिलाको मात्रै पोजेटिभ आएको टेकूस्थित प्रयोगशाला स्रोतले जानकारी दियो ।

टेकुबाट रिपोर्ट पोजेटिभ देखिनासाथ सेन्टरका चिकित्सकलाई खबर गरिएको थियो । यसअघि आइओएमअन्तर्गतकै र परिसरमा रहेको त्रिवि शिक्षण अस्पतालमा पनि शल्यक्रियाका लागि भर्ना गरिएकी बालिका र एक जना कुरुवामा कोरोना पोजेटिभ देखिइसकेको छ ।

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै

काठमाडौंका यी ठाउँमा छन् २६ जना कोरोना संक्रमित

देशभर कोरोना भाइरसको संक्रमित संख्या बढ्दै जाँदा उपत्यकाभित्र पनि भित्रभित्रै संक्रमण फैलिरहेको पाइएको छ।

स्वास्थ्य मन्त्रालयले संक्रमणको जानकारी दिँदा स्थायी ठेगानाका आधारमा विवरण सार्वजनिक गर्ने गरे पनि बसोबास ठेगाना र अस्थायी ठेगाना फरक पर्दा अन्योल हुने गरेको छ।

केही दिनअघि राष्ट्रिय सूचना आयोगले समेत विज्ञप्ति नै जारी गरेर संक्रमितको स्पष्ट ठेगाना खुलाउन स्वास्थ्य मन्त्रालयलाई निर्देशन दिएको थियो। तर मन्त्रालय, इडिसिडी, स्थानीय सरकार र स्वास्थ्यकै अन्य निकायबीच समन्वय नहुँदा संक्रमितको कन्ट्याक्ट ट्रेसिङ गर्नसमेत कठिन भइरहेको अवस्था छ।

स्वास्थ्य मन्त्रालय, संक्रमितको उपचार भइरहेको अस्पतालका तथ्यांकका आधारमा उपत्यकाभित्र अझै २८ जना कोरोना पोजेटिभ रहेका छन्।

बिहीबार मात्रै टेकु अस्पतालबाट ४ जना डिस्चार्ज भएका थिए। अहिले उपत्यकामा भएका संक्रमितमध्ये पाटन अस्पतालमा ११ जना, बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालमा १५ जना, टेकु अस्पतालमा एक र त्रिवि शिक्षण अस्पतालमा एकजना संक्रमित उपचाररत छन्।

तर, संक्रमितको कन्ट्र्याक ट्रेसिङ गर्ने प्रमुख जिम्मेवार निकाय इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखासँग समेत जिल्लाका आधारमा को संक्रमित कहाँ छन् भन्ने आँकडा नै छैन।

विशेष गरी बढी जनसंख्या र धेरै स्थानहरू भएको उपत्यकामा संक्रमितको ठेगाना खुलाउन सक्दा कम्तीमा स्थानीय तहको सक्रियतासँगै स्थानीयमा सावधानी अपाउने क्रम बढ्ने विज्ञहरू बताउँछन्।

तर, सरकार भने उपत्यकाभित्रै बढ्दो संक्रमण दर खुलाएमा त्रास र आलोचना बढ्ने शंकको आधारमा विवरण लुकाउन तल्लीन रहेको अधिकारीहरू बताउँछन्।काठमाडौं महानगरपालिका, काठमाडौं स्वास्थ्य कार्यालयले आफूहरूलाई संक्रमितको बसोबास ठेगाना सार्वजनिक नगर्न निर्देशन आएको जनायो।

विभिन्न निकायबाट प्राप्त सूचनाका आधारमा अहिले उपत्यकाभित्र रहेका संक्रमितहरू चन्द्रागिरि, कालिमाटी, नक्साल, कलंकी, एयरपोर्टगेट, मैतीदेवी, बानेश्वर, त्रिपुरेश्वर, टेकु, बागबजार, तारकेश्वर र गोकर्णेश्वर लगायतका ठाउँमा बसोबास गर्छन्।

महामारीमा खटिएका विभिन्न निकायका अधिकारी एवं कर्मचारीसँगको अनौपचारिक कुराकानीका आधारमा उपत्यकाभित्रका १३ भन्दा बढी स्थानमा संक्रमित र संक्रमण फैलिन सक्ने जोखिम रहेको छ।

विभिन्न निकायबाट प्राप्त सूचनाका आधारमा अहिले उपत्यकाभित्र रहेका संक्रमितहरू चन्द्रागिरि, कालिमाटी, नक्साल, कलंकी, एयरपोर्टगेट, मैतीदेवी, बानेश्वर, त्रिपुरेश्वर, टेकु, बागबजार, तारकेश्वर र गोकर्णेश्वर लगायतका ठाउँमा बसोबास गर्छन्।

स्थानीय सरकारका प्रतिनिधिले अग्रसरता लिएका ती ठाउँमा सिल गर्ने र प्रत्यक्ष सम्पर्कमा आएकाहरूको स्वाब संक्रलनसमेत भइरहे पनि धेरै व्यक्तिको कन्ट्र्याक ट्रेसिङ नै हुन नसकेको इपिडिमियोलोजी महाशाखाका अधिकारीहरू बताउँछन्।

तीबाहेक उपत्यकाकै अर्को जिल्ला भक्तपुरको भक्तपुर नगरपालिकाको भेलुखेलमा पनि एक संक्रमित भेटिएका थिए। भक्तपुरमा साँझ १ संक्रमित थपिएका छन् । चाँगुनारायण नगरपालिका दुवाकोट–१ सरस्वती खेलका सशस्त्र प्रहरी र थिमि नगरपालिका शंखधर चोक बस्ने युवतीले भने कोरोना संक्रमण जितिसकेका छन्।

उपत्यकाकै अर्को जिल्ला ललितपुरको पाटन क्षेत्रमा बस्ने इडिसिडीका एक चिकित्सकमा कोरोना देखिए पनि अधिकारीहरूले उनको बसोबास ठेगानाबारे जिल्लालाई समेत जानकारी गराएका छैनन्।

स्वास्थ्य मन्त्रालयका सह–प्रवक्ता डा. समिरकुमार अधिकारीले पछिल्ला दिनमा मन्त्रालयले स्थायी र अस्थायी ठेगानामा सन्देह पैदा नहुनेगरी विवरण सार्वजनिक गरिरहेको बताए।
उनले मन्त्रालयले पछिल्ला दिनमा संक्रमितको विवरणलाई व्यवस्थित गरेको भन्दै केही समय लगाएर कुन जिल्लाको कुन ठाउँमा बसोबास छ भन्नेसमेत तथ्यांक निकाल्न सकिने बताए।
कन्ट्याक्ट ट्रेसिङ गर्ने तीन निकाय, छैन समन्वय

नेपालमा पहिलो संक्रमित भेटिएको शुक्रबार १ सय २१ दिन पुगेको छ। पछिल्ला दिनमा मात्रै संक्रमितको संख्या उल्लेख्य रूपमा बढेको हो।

यसबीचमा सरकारले देशव्यापी रूपमा परीक्षणको दायरा बढाउनु सँगै प्रभावकारी रूपमा कन्ट्र्याक ट्रेसिङ गर्नका लागि हालसम्म संयन्त्र बनाउन नसकेको प्रस्ट छ।

‘हामीसँग कन्ट्याक्ट ट्रेसिङको टिम गठन भएकै छैन, अबचाहिँ बनाउनुपर्छ कि भनेरै लागिरहेका छौं,’ ओलीले भने, ‘हामीले पनि केही ठाउँका नाम इडिसिडीबाट पाएका छौं, अरू खोज्दैछौं।’

पछिल्लो समय इडिसिडी एक्लैले कन्ट्र्याक ट्रेसिङ गर्न नसकेपछि मन्त्रालयले निर्देशिका जारी गरेरै प्रत्येक स्थानीय निकायमा त्यसका लागि टिम बनाउने जनाएको छ। तर, स्वास्थ्य अधिकारीहरूका अनुसार स्थानीय तहसँग त्यसका लागि आवश्यक जनशक्ति र सामथ्र्य नै छैन। उपत्यकाकै संक्रमितको लगत राख्ने सन्दर्भमा नै त्यो झल्कन्छ। थोरै संक्रमित देखिएका भक्तपुर र ललितपुरमा खासै समस्या नदेखिए पनि काठमाडौंमा समस्या देखिएको छ।

काठमाडौंभित्र संक्रमित रहेको स्थानको यकिन आँकडा माग्दै इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अधिकारीलाई तीन दिनदेखि फलो गर्दा पनि व्यवस्थित तथ्यांक भेटिएन।

महाशाखाका प्रमुख डा. वासुदेव पाण्डेले यही ठाउँमा यकिन गरेर कति संक्रमित छन् भन्ने खोज्न कठिन भइरहेको बताए। ‘मन्त्रालयले एकातिरको ठेगाना भन्छ, त्यता खोज्यो मान्छे भेटिन्न, कहाँ छ कहाँ भन्ने अन्योल भयो,’ उनले भने।

उनले आफूले टेकु अस्पतालका निर्देशक, प्रशासन र चिकित्सकसमेतलाई प्रयोगशालामा स्वाब पठाउँदा नै बसोबास गरिहेको ठेगाना नै उल्लेख गरिदिन आग्रह गरेको बताए।
डा. पाण्डेले स्थानीय तहले नै संक्रमितको कन्ट्याक्ट ट्रेसिङ गर्दा सजिलो हुने बताए।

पछिल्लो दिनमा महाशाखाकै एक चिकित्सकमा संक्रमण देखिएपछि कन्ट्याक्ट ट्रेसिङको काम गर्दै आएको टिम पनि तितरबितर भएको छ। ‘कोही होम क्वारेन्टाइनमा छन् भने कोही

आइसोलेसनमा आएका पनि बहाना गर्दै हिँड्छन्,’ महाशाखाका एक जनस्वास्थ्य अधिकृत भन्छन्, ‘झन् संक्रमित थपिँदै छन् कन्ट्र्याक ट्रेसिङको काम त स्थानीय सरकारतिर पन्छाएर छाडिँदै छ।’

जिल्लाको स्वास्थ्य समन्वय गर्नका लागि भन्दै सुरुमा खारेज गरी पछि ब्युँताइएको स्वास्थ्य कार्यालय महामारीको समन्वय सन्दर्भमा निरीह जस्तै छ।

काठमाडौं स्वास्थ्य कार्यालयकी प्रमुख सिर्जना श्रेष्ठले संवाददाताले संकलन गरेका केही ठाउँका नाम सोधेर त्यस्तै.. त्यस्तै.. भएको भन्दै विवरण आउनेक्रममै रहेको भन्दै पन्छिइन्। ‘तथ्यांक राख्ने मान्छे हुनुहुन्न, उहाँ आएपछि म खोजेर भन्छु,’ उनले भनिन्।

काठमाडौं महानगरपालिका सहरी स्वास्थ्य महाशाखाका उपप्रमुख ज्ञानबहादुर ओलीले महानगरभित्र ११ जना संक्रमित बसोबास भएको थाहा पाए पनि सबैको ठाउँ ठेगाना नभएको बताए।

‘हामीसँग कन्ट्याक्ट ट्रेसिङको टिम गठन भएकै छैन, अबचाहिँ बनाउनुपर्छ कि भनेरै लागिरहेका छौं,’ ओलीले भने, ‘हामीले पनि केही ठाउँका नाम इडिसिडीबाट पाएका छौं, अरू खोज्दैछौं।’

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै

सर्लाहीमा थपिएका १५ जना कोरोना संक्रमित सबै भारतबाट आएका

प्रदेश २ को सर्लाहीमा शुक्रबार थप १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार बिहान सार्वजनिक गरेको विवरणअनुसार सर्लाहीको गोडैता नगरपालिका र रामनगर गाउँपालिकामा नयाँ कोरोना संक्रमित पुष्टि भएको हो।

सर्लाहीका प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसीले जिल्लाको गोडैता नगरपालिकामा १४ र रामनगर गाउँपालिकामा १ जना गरी १५ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए। गोडैतामा संक्रमित पुष्टि भएकामध्ये एकजना महिलासमेत रहेको उनले बताए।

शुक्रबार संक्रमण पुष्टि भएका सर्लाहीका सबैजना नाका बन्द रहेकाा बेला भारतबाट फर्किएका थिए। प्रमुख जिल्ला अधिकारी जिसीले संक्रमण पुष्टि भएका गोडैता र रामनगरका सबैजना भारतको विभिन्न स्थानबाट ‘लकडाउन’ कै अवधिमा सात/आठ दिनअघि फर्केको बताए।

‘संक्रमण देखिएका उनीहरू सबैजना सात/आठ दिनअघि भारतबाट फर्केका हुन्,’ प्रमुख जिल्ला अधिकारी जिसीले भने,‘आएलगत्तै उनीहरु सबैलाई क्वारेन्टाइनमा राखिएको थियो। अहिले पनि उनीहरू सबैजना क्वारेन्टाइनमै छन्।’ कोरोना संक्रमण पुष्टि भएका उनीहरूलाई आइसोलेसनमा पठाउने तयारी भइरहेको जिसीले बताए।

शुक्रबार संक्रमण पुष्टि भएका उनीहरूको मंगलबार स्वाब संकलन गरिएको थियो। यससँगै सर्लाहीमा कोरोना संक्रमितको संख्या २० पुगेको छ।

थप ३० जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ४८७ पुग्यो

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै

गुल्मीका कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य मन्त्रालयद्वारा पुष्टि

रुपन्देहीको क्रिमशन अस्पतालमा उपचाररत कोरोना संक्रमित बिरामीको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ। उनको उपचारका क्रममा मृत्यु भएको मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताए।

गुल्मी मदाने गाउँपालिका- ६ का ४१ वर्षका उनी यहि जेठ १ गते क्रिमशन अस्पतालमा भर्ना भएका थिए। उनको स्वाब परीक्षणमा कोरोना पोजेटिभ देखिएको थियो। उनी गाउँकै विद्यालयका शिक्षक हुन्।

योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या तीन पुगेको छ।

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै

अमेरिकामा २४ घण्टामा १४ सयबढीको मृत्यु, २० हजारबढी नयाँ कोरोना संक्रमित

अमेरिकामा बितेको २४ घण्टामा कोरोना भाइरसबाट १४ सय बढीको मृत्युभएको छ। यस्तै ३५ हजार भन्दाबढी नयाँ संक्रमित थपिएका छन्।

बुधबार बिहानसम्म ९३ हजार ५ सय ३३ जनाको मृत्यु र १५ लाख ६७ हजार ५ सय ८३ जनामा संक्रमण रहेको अमेरिकामा बिहीबार दिउँसोसम्म ९४ हजार ९ सय ४१ जनाको मृत्यु भएको छ भने १५ लाख ९३ हजार ३९ जनामा संक्रमण पुष्टि भएको छ। यसरी अमेरिकामा कोरोनाका कारण २४ घण्टामा १ हजार ४ सय ८ जनाको ज्यान गएको छ भने ३५ हजार ४ सय ५६ जना थप संक्रमित भेटिएका छन्।

अमेरिकामा रहेका भाइरसका संक्रमितमध्ये ११ लाख २७ हजार २ सय ८६ जनाको उपचार भइरहेको छ। उपचार भइरहेका मध्ये १७ हजार ८ सय १५ जनाको अवस्था गम्भीर छ। संक्रमितमध्ये ३ लाख ७० हजार ८ सय १२ जना उपचारपछि निको भएर घर फर्किसकेका छन्।

विश्वभर कोरोना भाइरसको संक्रमणबाट ३ लाख ३० हजार ३ जनाको मृत्यु भएको छ भने ५१ लाख ५८ हजार ९७ जनामा संक्रमण रहेको पुष्टि भएको छ। संक्रमितमध्ये २० लाख ३५ हजार ४ सय ३२ जना उपचारपछि घर फर्किसकेका छन्।

नेपालमा अहिलेसम्म ४ सय २ जनामाकोरोना भाइरसकोसंक्रमण देखिएकोमा ३ जनाको मृत्यु भएको छ भने ४९ जना उपचारपछि घर फर्किसकेका छन्।

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै

अमेरिकामा २४ घन्टामा १५ सय बढीको मृत्यु, थपिए २० हजार कोरोना संक्रमित

अमेरिकामा बितेको २४ घण्टामा कोरोना भाइरसबाट १५ सय बढी मानिसको मृत्यु भएको छ भने २० हजार बढी नयाँ संक्रमित थपिएकाे छ।

मंगलबार अमेरिकामा कोरोनाका कारण मृत्यु हुनेको संख्या ९१ हजार ९ सय ८१ रहेको थियो । १५ लाख ५० हजार २ सय ९४ जना संक्रमित थिए। बुधबार बिहानसम्म यो संख्या बढेर ९३ हजार ५ सय ३३ जनाको मृत्यु भएको छ ।

१५ लाख ६७ हजार ५ सय ८३ जनामा भाइरसको संक्रमण रहेको पुष्टि भएको छ।

यसरी अमेरिकामा बितेको २४ घण्टामा भाइरसको संक्रमणबाट १ हजार ५ सय ९२ जनाको मृत्यु भएको छ भने २० हजार २ सय ८९ जना नयाँ संत्रमित थपिएका छन्।

अमेरिकामा रहेका भाइरसका संक्रमितमध्ये ११ लाख १५ हजार ८ सय ७० जनाको उपचार भइरहेको छ जसमा १७ हजार २ सय ४९ जनाको अवस्था गम्भीर रहेको छ। संक्रमितमध्ये ३ लाख ६१ हजार १सय ८० जना उपचारपछि निको भई घर फर्किसकेका छन्।

विश्वभर कोरोना भाइरसको संक्रमणबाट ३ लाख २४ हजार ८ सय ८९ जनाको मृत्यु भएको छ भने ४९ लाख ८५ हजार ८ सय २५जनामा संक्रमण रहेको पुष्टि भएको छ। संक्रमितमध्ये १९ लाख ५८ हजार ४ सय ४१ जना उपचारपछि घर फर्किसकेका छन्।

नेपालमा अहिलेसम्म ४ सय २ जनामा कोरोना भाइरसको संक्रमण देखिएकोमा २ जनाको मृत्यु भएको छ भने ३७ जना उपचारपछि घर फर्किसकेका छन्।

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै

काठमाडौंकाे तारकेश्वर, गोकर्णेश्वर र कालिमाटीमा काेराेना संक्रमण पुष्टि

मंगलबार काठमाडौंमा तीन जना कोरोना संक्रमित थपिएका छन्। उच्च स्रोतका अनुसार ती संक्रमित काठमाडौंकाे तारकेश्वर, गोकर्णेश्वर, कालिमाटीका हुन्।

योसँगै काठमाडौंमा कोरोना संक्रमतिको संख्या ११ पुगेको छ । देशभर कुल संक्रमित संख्या ४ सय २ पुगेको छ ।

मंगलबार भक्तपुर र ललितपुरमा पनि संक्रमण देखिएको छ। मन्त्रालयका अनुसार भक्तपुरमा १ र ललितपुरमा १ जनामा संक्रमण पुष्टि भएकाे छ।

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै

भारतबाटै फर्किएका थिए जनकपुरका दुईजना कोरोना संक्रमित

धनुषामा थप दुईजनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार राति सार्वजनिक गरेको विवरणअनुसार धनुषाका दुईजना नयाँ संक्रमित जनकपुरधाम उपमहानगरपालिका बस्ने हुन्।

मन्त्रालयका अनुसार जनकपुरधाम–६ बस्ने ४५ वर्षीय पुरुष र वडा नम्बर २१ घर भएका २१ वर्षीय युवकमा कोरोना संक्रमण पुष्टि भएको हो। संक्रमण पुष्टि हुनुअघिसम्म दुवैजना धनुषाको नगराइन नगरपालिकास्थित गंगुली क्वारेन्टाइनमा भर्ना थिए।

४५ वर्षीय पुरुष वैशाख ३० गते भारतको हरियाणा र २१ वर्षीय युवक महोत्तरी सीमा नजिकै रहेको विहार राज्यको विहारी भन्ने गाउँबाट जनकपुर फर्केका थिए। दुवै देशमा जारी ‘लकडाउन’ र सीमामा कडाइ छँदा उनीहरू जनकपुर फर्केको बताइएको छ।

३० गते जनकपुर फर्केका उनीहरू एकदिन आ–आफ्नो घरमा बसेका थिए। उनीहरू भारतबाट फर्केको जानकारी छिमेकीले प्रहरीलाई दिएपछि दुवैजनालाई क्वारेन्टाइनमा राखिएको थियो।

गंगुली क्वारेन्टाइनका संयोजक सन्तोष ठाकुरले दुवैजनालाई जेठ १ गते भर्ना गरिएको जानकारी दिए। भारतबाट फर्केको जानकारी स्थानीयले प्रहरीलाई दिएपछि उनीहरुलाई क्वारिन्टाइनमा भर्ना गरिएको उनले बताए।

जेठ २ गते स्वाब संकलन भएका उनीहरुको रिपोर्ट सोमबार राति आएको ठाकुरले जानकारी दिए। सामान्य स्वास्थ्य अवस्था रहेका दुवैजनामा कोरोना पुष्टि भइसकेपछि प्रादेशिक अस्पताल जनकपुरको आइसोलेसन वार्डमा भर्ना गरिएको ठाकुरले बताए।

थप दुईजना संक्रमित भएको पुष्टि भएसँगै धनुषामा संक्रमितको संख्या ८ पुगेको छ।

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै

राैतहट जनस्वास्थ्य प्रमुख भन्छन्– किट छैन, क्वारेन्टाइन भरिए, कता राख्ने?

नेपालमा कोरोना संक्रमितको संख्या दिनहुँ थपिँदो छ। भारतबाट लुकिछिपी आउने क्रम पनि रोकिएको छैन। भारतबाट चोरबाटो प्रयोग गरेर आउनेहरू नरोकिँदा नेपालमा संक्रमणको अत्यधिक जोखिम बढेको हो।

यसको ज्वलन्त उदाहरण प्रदेश २ मा देख्न सकिन्छ। रौतहटमा सोमबार बिहान ८ जना नयाँ कोरोना संक्रमित थपिए। नेपालमा आइतबार १० जनामा संक्रमण देखिएको थियो।

सोमबार नयाँ थपिएका संक्रमितमध्ये ७ जना भारतबाट आएका हुन्। रौतहट माधवनारायण नगरपालिकाकी २८ वर्षीया महिलामा पनि कोरोना संक्रमण देखिएको छ। उनी भने घरमा नै थिइन्।

संक्रमित महिलाकी बहिनी र ज्वाईं केही समयअघि भारतबाट आएका थिए। तर उनीहरुमा कोरोना संक्रमण नभएको जिल्ला जनस्वास्थ्य प्रमुख महेश शाहले बताए।
उनका अनुसार ती संक्रमित महिलामा कसरी संक्रमण देखियो भनेर खोजी भइरहेको छ।

‘बहिनी र ज्वाईंमार्फत संक्रमण स-यो कि अन्य व्यक्तिबाट हामी त्यसको खोजी गरिरहेका छौं । हामी संक्रमित महिलाको सम्पर्कमा आएका सबैको खोजी गरिरहेका छौं,’ शाहले भने।

संक्रमण देखिएका महिलाबाहेक सबै क्वारेन्टाइनमा रहेका थिए। हाल रौतहटमा २० वटा क्वारेन्टाइनमा ४ सय ९१ जना रहेका छन्। क्वारेन्टाइनमा रहेकामध्ये १ सय २० जनाको कोरोना परीक्षण गरिएको शाहले हेल्थपोस्टनेपाललाई बताए।

भारतबाट लुकिछिपी आउने क्रम दैनिक बढिरहेको उनको भनाइ छ। ‘क्वारेन्टाइनमा समेत मानिस राख्ने ठाउँको अभाव भइरहेको छ,’ शाहले भने, ‘दैनिक यसैगरी संख्या बढ्ने हो भने संक्रमणले भयावह रूप लिने खतरा छ।’

कोरोना परीक्षण गर्ने किट नभएका कारण क्वारेन्टाइनमा बसेकाहरूकै परीक्षण हुन नसकेको शाह बताउँछन्। ‘हामीसँग भएको किटले १ सय २० जनाको परीक्षण गरिसकेका छौं।

क्वारेन्टाइनमा बसेका मात्र ३ सय ५० भन्दा बढीको कोरोना परीक्षण गर्न बाँकी नै छ,’ शाहले भने, ‘प्रदेश सरकारले पठाउँदै छौं भन्ने आश्वासनमात्र दिन्छ।’
रौतहट जिल्लामा हालसम्म कोरोना संक्रमितको संख्या २१ पुगेको छ।

क्वारेन्टाइनमा बस्नेलाई मात्र नभई अब समुदायमा पनि परीक्षण गर्ने बेला आएको शाहको भनाइ छ। केन्द्र तथा प्रदेश सरकारलाई प्रत्येक दिनको अपडेट दिइरहेको भए पनि अपेक्षित सहयोग प्राप्त नभएको उनको गुनासो छ।

‘यहाँ १० हजारभन्दा बढीको परीक्षण गर्नुपर्ने देखिन्छ। यो कुरा मैले प्रदेश र केन्द्र सरकारलाई प्रत्येक दिन भनिरहेको छु,’ शाहले भने, ‘तर, केन्द्र तथा प्रदेश सरकारको कुनै सुनुवाइ नै हुँदैन।’

संक्रमितहरू रौतहटमा रहेको नर्सिङ कलेजमा उपचाररत छन्। गौर अस्पतालमा पनि १५ बेडको आइसोलेसन कक्ष तयार गरिएको छ।

हालसम्म देखिएका संक्रमित र क्वारेन्टाइनमा रहेका सबैको कोरोनाको कुनै लक्षण नरहेको र सबैको अवस्था सामान्य रहेको शाहले बताए। तर, भारतबाट आएका मानिसको पहिचान गरेर क्वारेन्टाइनमा राख्ने काममा भने समस्या भइरहेको उनले बताए।

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै

बाँकेमा एकै दिन थपिए ४७ कोरोना संक्रमित

बाँकेमा सोमबार ठूलो संख्यामा कोरोना भाइरस संक्रमित फेला परेका छन्। भेरी अस्पताल नेपालगन्जमा गरिएको परीक्षणमा ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। संक्रमित मध्ये ४६ पुरुष र एक जना महिला रहेका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता विकास देवकोटाका अनुसार ४७ जनामा कोरोनामा पोजेटिभ देखिएको हो।

उनीहरू सबै भारतबाट आएर नरैनापुर गाउँपालिकाका विभिन्न क्वारेन्टाइनमा बसिरहेका छन्।

यसअघि नै उक्त क्वारेन्टाइनमा ९ जना संक्रमित फेला परिसकेका छन्। तीमध्ये एक जना कोरोना संक्रमितको आइतबार मृत्यु भएकाे थियाे।

यी संक्रमितसँगै क्वारेन्टाइनमा बसेका २ सय ६३ जनाको स्वाब संकलन गरेर परीक्षण थालिएको थियो।

अहिलेसम्म नेपालमा ठूलो संख्यामा कोरोना संक्रमित भेटिएको यो नै पहिलो तथ्याङ्क हो।

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै

के कुकुरले कोरोना संक्रमितको पहिचान गर्न सक्ला, ब्रिटेन परीक्षण हुँदै

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

पुरै संसार यतिवेला कोरोनाको त्रासमा छ। जति प्रायस गर्दा पनि अहिलेसम्म कुनै पनि देशले कोरोनाको एन्टिडोज पत्ता लगाउन सकेका छैनन्।

कोरोना रोक थामका लागि थुप्रै देशले आ-आफ्नै तरिकाले प्रयास गरिरहेका छन्। तर, अहिलेसम्म कुनै पनि प्रयास सफल हुन सकिरहेको छैन। यस्तै बीच ब्रिटेनले पनि एउटा नौलो प्रयास गरेको छ। कोरोनाका संक्रमित पहिचान गर्न कुकुरको प्रयोग गर्ने।

ब्रिटेनले स्निफर डग्समा कोरोना संक्रमित व्यक्तिको पहिचान गर्ने सम्भावनाको अध्ययन गरिरहेको छ। ब्रिटेनले यसका लागि कुकुरमाथी ट्रेनिङ पनि सुरु गरिसकेको छ। र, सरकारले करिब पाँच करोड रुपैयाँ पनि बिनियोजन गरिसकेको छ।

उसले लेब्राडोर र कोकर स्पेनियल प्रजातिका कुकुरमा प्रशिक्षण दिइदैछ। यस ट्राइलले स्निफर डग्सले कोरोना संक्रमितको पहिचानमा अहम भूमिका खेल्न सक्ने नसक्ने कुराको निर्क्योल गर्ने छ।

यदी यो परीक्षण सफल भए भविश्यमा कोरोना संक्रमितको पहिचान गर्न ठूलो सफलता मिल्ने छ। यसको पहिलो परीक्षण लन्डनको स्कुल अफ हाइजिन एन्ड ट्रपिकल मेडिसिनमा गरिएको छ।

कुकुरमा सुघ्ने क्षेमता निकै बढी हुनेगर्छ। ब्रिटेनका विशेषज्ञले प्रशिक्षणपछि कुकुरले कोरोना संक्रमितलाई पहिचान गर्न सक्ने विश्वास लिएका छन्।

विश्वका थुप्रै देशमा स्निफर डग्सले क्यान्सर, मलेरिया र पर्किसन जस्ता विरामीका पीडितको पहिचान गर्नका लागि पनि प्रशिक्षित गराइँदैछ।

ब्रिटेनका मन्त्री लोई बेथेलले कुकुरमा गरिएको यो परीक्षण कोरोना संक्रमितको चाडो पहिचान गर्ने एक रणनीति हो। उनले परीक्षण सफल भए मेसिनको भन्दा यसले निकै धेरै परिणाम दिने बताए। उनका अनुसार प्रशिक्षित कुकुरले एक घन्टामा करिब २२ जनासम्मको पहिचान गर्न सक्ने छ। एजेन्सी

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै

थप ३ मा कोरोना, नेपालमा संक्रमित संख्या २७६

नेपालमा कोरोना संक्रमितको २७६ पुगेको छ । प्रादेशिक प्रयोगशाला वुटवलमा गरिएको परिक्षण अनुसार कपिलवस्तु शिबराज नगरपालिका चन्द्रौटामा तीन जनामा संक्रमण पुष्टि भएको हो ।

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै

२३ हजार ९ सय १४ को पिसिआरमार्फत कोरोना परीक्षण

नेपालमा कोरोना संक्रमित संख्या बढ्दै गएको अवस्थामा परीक्षण संख्यामा पनि सुधार हुँदै गएको छ। गत २४ घण्टामा १ हजार २ सय ५० नमुना परीक्षण भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। हालसम्म पिसिआरमार्फत २३ हजार ९ सय १४ को नमुना परीक्षण भएको पाइएको छ।

शुक्रबार देशभर १५ हजार ५ सय ८३ जना क्वारेन्टाइनमा रहेका छन्। जसमध्ये प्रदेश १ मा ८ सय ८५, प्रदेश २ हजार ५१, वागमती प्रदेशमा १ सय १७, गण्डकी प्रदेशमा ३ सय १७ क्वारेन्टाइनमा रहेका छन्। त्यसैगरी, प्रदेश ५ मा ८ हजार ३ सय २५, कर्णाली प्रदेशमा १ हजार ८२ र सुदूरपश्चिम प्रदेशमा २ हजार ९ सय १६ जना क्वारेन्टाइनमा रहेका छन्।

हालसम्म २४ जिल्लामा कुल संक्रमित २ सय ५८ पुगेको छ। जसमध्ये २ सय १० जना पुरुष र ४८ जना महिला रहेका छन्। प्रदेश १ मा ३५, प्रदेश २ मा १ सय, बागमती प्रदेशमा १३, गण्डकी प्रदेशमा ३, प्रदेश ५ मा १ सय २, र सुदूरपश्चिम प्रदेशमा ५ जना संक्रमित रहेका छन्। संक्रमित मध्ये ३६ जना निको भएर घर फर्किएका छन्।

शुक्रबार २ सय ६७ आइसोलेसनमा रहेका छन्। जसमध्ये उपत्यकामा २७ र उपत्यका बाहिर २ सय ४० रहेका छन्। प्रदेश १ मा २२, प्रदेश २ मा १ सय २, बागमती प्रदेशमा ३४, गण्डकीमा १ र प्रदेश ५ मा १ सय ८ जना आइसोलेसनमा रहेका छन्।

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै

पर्सामा कोरोना संक्रमित भागेमा गोलीसम्म हान्ने अधिकार

पर्सा जिल्लामा कोरोना संक्रमित भागेमा प्रशासनले गोलीसम्म हानेर नियन्त्रणमा लिन सक्ने अधिकार सुरक्षाकर्मीलाई दिइएको छ।

बिहीबार जिल्ला प्रशासन कार्यालय पर्सामा बसेको संकट व्यवस्थापन केन्द्रको बैठकले अस्पतालबाट भाग्ने कोरोना संक्रमितलाई नियन्त्रणमा लिन सक्ने अवस्था नभए गोलीसम्म चलाउन पाउने अधिकार दिइएको हो।

गत बुधबार वीरगन्जकाे नारायणी उपक्षेत्रीय अस्पतालबाट शौचालय जाने बहानामा दुईजना संक्रमित भेन्टिलेसन फोडेर भागेका थिए। प्रहरीले उनीहरूलाई सोही दिन पक्राउ गरेको थियो। उक्त घटनालाई मध्यनजर गर्दै प्रशासनले यस्तो निर्णय लिएको हो।

सुरक्षाकर्मीलाई संक्रमित भागेमा नियन्त्रणमा लिन आवश्यकताअनुसार बल प्रयोग गर्ने र त्यतिले नपुगे गोलीसमेत चलाउन पाउने बैठकले निर्णय गरेको हो।

प्रमुख जिल्ला अधिकारी विष्णुकुमार कार्कीको अध्यक्षतामा बसेको बैठकमा वीरगन्ज महानगरपालिकाका मेयर विजय सरावगी, अस्पतालका मेसु डा. मदन उपाध्याय, प्रमुख सेनानी मदनजंग राणा, प्रहरी उपरीक्षक गंगा पन्त, सशस्त्र प्रहरी उपरीक्षक दिपेन्द्र कुँवरलगायतकाे सहभागिता थियो। बैठकले स्थानीय प्रशासन ऐनअनुसार सेना परिचालन समेतको निर्णय गरेको छ।

बैठकले नारायणी अस्पतालमा मात्रै कोरोना संक्रमित अट्ने अवस्था नरहेको कुरालाई मध्यनगर गर्दै कोरोना पुष्टि भएका तर कुनै लक्षण नदेखिएका व्यक्तिहरूका लागि सिद्धार्थ माविको आइसोलेसन प्रयोग गर्ने निर्णय गरेको छ।

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै

भारतबाट आएका थिए चितवनका कोरोना संक्रमित पुरुष

चितवनस्थित भरतपुर कोरोना परीक्षण प्रयोगशालामा गरिएको परीक्षणबाट कोरोना पोजेटिभ देखिएका पुरुष भारतबाट आएको खुलेको छ।

पूर्वि नवलपरासीस्थित देवचुली नगरपालिका- १२ स्थायी घर भएका ४९ वर्षिय संक्रमित पुरुष भारतको कलकत्ताबाट रक्सौल नाकाहुँदै नेपाल आएका थिए।

भारतबाट नेपाल एक्लै आएको उनी रक्सौँलबाट घर नगई बैशाख ३० गते राति भरतपुर कोरोना विशेष अस्पतालमा स्वास्थ्य परीक्षण गर्न आएको भरतपुर अस्पतालका सुचना अधिकारी लिलाधर पौडेलले जानकारी दिए। बैशाख ३१ गते कोरोना परीक्षण गर्दा उनमा कोरोना पोजेटिभ देखिएको हो।

अहिले उनको उपचार भरतपुर कोराना विशेष अस्थायी अस्पतालको आइसोलेसनमा भैइरहेको छ। उनको अवस्था सामान्य रहेको भरतपुर अस्पतालले जनाएको छ।

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै

नारायणी अस्पतालको दुई तलामाथिबाट हाम्फालेर भागे दुई कोरोना संक्रमित

नारायणी उपक्षेत्रीय अस्पताल वीरगन्जमा उपचाररत् दुई जना कोरोना संक्रमित भागेका छन्।

बुधबार आइसोलेसन कक्षको भेन्टिलेसनबाट हामफालेर उनीहरू भागेको पर्सा प्रहरीले जनाएको छ।

प्रहरी नायब उपरीक्षक वीरेन्द्रबहादुर शाहीका अनुसार भाग्नेमा वीरगन्ज महानगरपालिका-१६ र वीरगन्ज-३ छप्कैयाका छन्।

दुबै जना मंगलबार आइसोलेसन भर्ना भएका थिए। ‘दुई तलामाथिको आइसोलेसन वार्डबाट हाम्फालेर भागेको सूचना आएको छ,’ शाहीले भने।

मंगलबार पर्सामा ३९ जना कोरोना संक्रमित फेला परेका थिए। ३९ जनामध्येबाट भागेका ती दुईको खोजीको लागि व्यापक प्रहरी परिचालन गरिएको शाहीले बताए।

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै

वीरगन्जका थप दुईजनामा भेटियो कोरोना, संक्रमित संख्या ५१

वीरगन्जमा थप दुईजनामा कोरोना संक्रमण भएको पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार योसँगै संक्रमितको संख्या ५१ पुगेको छ।

वीरगन्ज महानगरपालिका छपकैयामा दुईजनामा कोरोना संक्रमण भएको पुष्टि भएको हो। छपकैयाको मस्जिदमा बसेका कोरोना संक्रमित तीन भारतीयको सम्पर्कमा आएका दुईजनाको स्वाब लिई परीक्षणका लागि काठमाडौं पठाइएको थियो।

उनीहरू दुवैजनाको रिपोर्ट पोजिटिभ आएको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीद्वारा जारी विज्ञप्तिमा छ। प्रदेश २ मा कोरोना संक्रमितको संख्या सात पुगेको छ।

अहिले दुवैलाई नारायणी अस्पतालको आइसोलेसनमा राखिएको छ। एक संक्रमित वीरगन्ज–३ का सफाइ कर्मचारी रहेको बताइएको छ भने अर्का वडा–१६ का रहेको पर्साका प्रमुख जिल्ला अधिकारी विष्णु कार्कीले जानकारी दिए।

यता छपकैयामा कोरोनाबाट दुईजनाको संक्रमण पुष्टि भएकाले उक्त वडालाई सिल गरिएको छ।

वीरगन्जका नयाँ संक्रमित दुवैजना ५० वर्षका पुरुष रहेको मन्त्रालयले जनाएको छ। उनीहरू आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ। विभिन्न जिल्लामा रहेका ५१ संक्रमितमध्ये १२ निको भएर घर फर्किसकेका छन्।

पछिल्ला दिनमा प्रदेश १ र २ कोरोनाको हटस्पट बनेका छन्। प्रदेश १ को उदयपुर भुल्केआसपास क्षेत्रमा मात्रै २८ जना संक्रमित भेटिइसकेका छन्।

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै

बागलुङकी कोरोना संक्रमित १९ वर्षे अंशु डिस्चार्ज

बागलुङकी कोरोना संक्रमित १९ वर्षीया अंशु सापकोटाको छैठौं रिपोर्ट पनि नेगेटिभ आएपछि अस्पतालबाट डिस्चार्ज भएकी छिन् ।

शुक्रबार पोखराको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको कोरोना प्रयोगशालामा गरिएको परीक्षण नेगेटिभ आएको धौलागिरी अञ्चल अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट शैलेन्द्र पोखरेलले जानकारी दिए ।

रिपोर्ट नेगेटिभ आएपछि उनलाई आजै डिस्चार्ज गरिएको पोखरेलले बताए । ‘उहाँको आज गरिएको परीक्षणको रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरेका छौ,’ उनले भने । यसअघि बिहिबार गरिएको पाँचौं परीक्षणको रिपोर्ट नेगेटिभ आएको थियो ।

उनी गत चैत ४ मा बेल्जियमबाट कतार हुँदै नेपाल आएकी थिइन् ।

नेपाल आएको ११ औं दिनमा उनलाई कोरोना पुष्टि भएको थियो । अंशुसँगै एउटै जहाजमा आाएकी बाग्लुङकी ६५ वर्षीया मनकुमारी पौडेल उपचारपछि निको भएर घर फर्किसकेकी छिन् ।

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै

सुदूरपश्चिमका तेस्रो कोरोना संक्रमित डिस्चार्ज

सुदूरपश्चिमका तेस्रो कोरोना संक्रमित पनि अस्पतालबाट डिस्चार्ज भएका छन्। सेती प्रादेशिक अस्पतालका अनुसार कञ्चनपुर बेदकोट नगरपालिकाका ४१ वर्षीय पुरुषको तेस्रो र चौथो रिपोर्ट नेगेटिभ आएपछि उनलाई अस्पतालबाट डिस्चार्ज गरिएको हो।

उनको यसअघि गरिएको पहिलो र दोस्रो रिपोर्टमा कोरोना पोजेटिभ देखाएको थियो।

यसअघि कैलालीको लम्कीचुहा नगरपालिकाका २१ वर्षीय युवक र धनगढी उपमहानगरपालिका–५ का ३४ वर्षीय संक्रमित युवकलाई सञ्चो भएपछि अस्पतालले डिस्चार्ज गरिसकेको छ।

अब सेती अस्पतालमा दुईजना कोरोना संक्रमित बिरामी उपचार गराइरहेका छन्। जसमा धनगढी–५ कि ३४ वर्षीया महिला र लम्कीचुहा–१ की ६५ वर्षीया महिला छन्।

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै

झापाका ७० मस्जिदमा प्रहरी निगरानी

झापा प्रहरीले जिल्लाका ७० वटा मस्जिदमा सुरक्षा निगरानीमा बढाएको छ। झुल्के मस्जिदमा बस्दै आएका मुस्लिम समुदायका १३ जनामा कोरोना संक्रमण (कोभिड -१९) पुष्टि भएपछि झापाका सबै मस्जिदमा निगरानी बढाएको जिल्ला प्रहरीले जनाएको छ।

१३ जना संक्रमित फेला परेको मस्जिद त्रियुगा नगरपालिका- ३ मा रहेको छ। झापाको बिर्तामोड र दमक नगरपालिकामा दुई ठुला मस्जिद छन्। ती मस्जिदमा मुस्लिम समुदायका २० धर्मगुरु रहेका छन्। उनीहरुमध्ये १८ भारतीय नागरिक भएको झापा प्रहरीले जनाएको छ।

ठूला मस्जिदमा भारतीय धर्मगुरु बसेको भेटिएपछि प्रहरीले निगरानी बढाएको हो। ती मस्जिदमा बस्ने सबै धर्मगुरुको स्वास्थ्य परीक्षण गर्न सुरु गरिएको छ।

उनीहरूको आरडिटी परीक्षण गरिएको कोरोना रोकथाम तथा नियन्त्रण समिति झापाका सचिव जीवन चौलागाईंले बताए। तर, परीक्षणको रिपोर्ट रिपोर्ट नेगेटिभ आएको बताइएको छ। झापा प्रहरीका अनुसार बिर्तामोडको मामे मस्जित मुनवारमा ९ र दमकमा ११ मुस्लिम समुदायका धर्मगुरु छन्।

चौलागाईंले दमकमा रहेको मस्जिदमा बस्ने धर्मगुरुसहित तीन कर्मचारीको पनि स्वास्थ्य परीक्षण गरिएको बताए। झापामा ७० मस्जिद र ४९ मदरसा रहेका छन्।

जिल्लामा रहेका सबै मस्जिद र मदरसा सञ्चालकसँगको समन्वयमा धार्मिक कर्म अहिले बन्द गराइएको बिर्तामोडस्थित जामे मस्जिदका सचिव एजाज अहमदले बताए। मस्जिदमा आउनेहरुलाई धर्मप्रतिको विश्वास, नमाज पढ्न सिकाउने, ध्यान, आचरण शिक्षा, दायित्व, कर्तव्यका बारेमा धर्मगुरुहरूले सिकाउने गरेको एजाजले जानकारी दिए।

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै

चैत ३ मै बेलायतबाट हङकङ हुँदै नेपाल आएका थिए चितवनका कोरोना संक्रमित

चितवनमा कोरोना पोजिटिभ देखिएका आमा-छोरा नै बेलायतबाट आएको खुलेको छ । पूर्वी चितनवको राप्ती नगरपालिका-८ का ६३ वर्षीया महिला र २७ वर्षीय पुरुष बेलायतबाट हङकङ हुँदै गत चैत ३ गते कतार एयरवेजमार्फत नेपाल आएका थिए ।

दुई दिन काठमाडौं बसेर उनीहरू चैत ५ गते चितवन आएको बताइएको छ । बेलायतमा रहेका आफ्नो परिवार भेटेर बेलायतबाट फर्किएको बुझिएको छ ।

उनीहररूमा संक्रमण पुष्टि भएपछि प्रहरी परिचालन गरेर गाउँमा सम्पर्कमा आएका व्यक्तिहरूको विवरण संकलन गर्न थालिएको छ । उनीहरूको परिवार ठूलो भएकोले सबैको संख्या यकिन गर्न थालिएको राप्ती नगरपालिकाकी मेयर प्रभा बरालले जानकारी दिइन् ।

बरालका अनुसार उनीहरू विदेशबाट आएपछि होम क्वारेन्टाइनमा बसेका थिए । तर, समय अवधि पुगेपछि बाहिर निस्केको हुन सक्ने बताइन् । अहिले परिवारहलाई होम क्वारेन्टाइनमा बस्न भनिएको र भोलि छुट्टै व्यवस्थापन गरिने उनले बताइन् । अहिले स्थानीय पनि त्रसित छन् ।

यसअघि भरतपुर कोभिड–१९ परीक्षण प्रयोगशालाले ती दुई जनाको विहिबार राती कोरोना पोजिटिभ भएको नतिजा दिएको थियो । त्यसपछि राती नै पुनः परीक्षणका लागि स्वाब काठमाडौं पठाइएको थियो । काठमाण्डौँमा पनि पोजिटिभ आएपछि बल्ल भरतपुर अस्पतालले आधिकारीक रुपमा कोरोना पुष्टि गरेको थियो । उनिहरुको उपचार अहिले भरतपुर अस्पतालको आईसोलसनमा भईरहेको छ । उनिहरुलाई लक्षण भने केही देखिएको छैन । उनीहरुलाई दुई वटा आईसुलेसनमा राखिएको छ ।

-यापिड टेस्टको क्रममा शंकास्पद देखिएपछि दुई जनासहित परिवारका अर्का एक व्यक्तिलाई भरतपुर ल्याइएको थियो । उनीहरुको हिजो (बिहीबार) स्वाब संकलन गरी भरतपुरमा परीक्षण गरिएको थियो । कोरोना संक्रमित दुवै जनाको अवस्था सामान्य रहेको भरतपुर अस्पतालका अध्यक्ष डाक्टर भोजराज अधिकारीले जानकारी दिए ।

सीसीटीभी मार्फत बिरामीको निगरानी
कोरोना पोजेटिभ देखिएपछि भरतपुर अस्पतालले उच्च सतर्कता अपनाएको छ । विरामीलाई सीसीटीभीको निगरानिमा उपचार गरिनने भरतपुर अस्पतालका सुचना अधिकारी लिलाधर पौडलले जानकारी दिए । “हामीले आईसोलेसन वार्डमा सीसीटीभी, टेलिफोन र ईन्टरनेटको व्यवस्था गरेका छौँ ।” उनले भने, “कोरोना संक्रमणको जोखिमलाई ध्यान दिँदै बेला बेलामा पिपिई लगाएर विरामीको हेरचाह गर्ने व्यवस्था हामीले गरेका छौँ ।” चिकित्सकहरुले घरमाम बसेर नै उहाँहरुको हेरचाह गर्न सक्ने उनले बताए । घरबाट उहाँहरुको इन्टरकम मार्फत कुरा गर्न मिल्ने उनको भनाई छ । चितवनमा कोरोना संक्रमित विरामी देखा परेपछि भरतपुर अस्पतालले आईसुलेसन थप गर्दै १ सय ३५ पुर्याएको छ ।

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै

उदयपुरका १२ संक्रमितमध्ये केही नेपाली हुन सक्ने, रिपोर्टका आधारमा नेपाली र भारतीय पहिचान हुँदै

भारतबाट नेपाल आएका १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार त्रियुगा नगरपालिका-३ भुल्केस्थित मस्जिदमा बसिरहेका १६ मध्ये १२ जनामा कोरोना संक्रमण देखिएको हो।

प्रहरी उपरीक्षक वीरबहादुर बुढा मगरले १२ जनामा कोरोना संक्रमण पुष्टि भएको बताए। उनका अनुसार बुधबार १६ जनाकै स्वाब परीक्षण गर्न विराटनगरस्थित कोसी अञ्चल अस्पताल पठाइएको थियो।

‘१६ जनामध्ये १२ मा कोरोना संक्रमण रहेको खबर पुष्टि हुन आएको छ,’ बुढाले भने, ‘उनीहरू को कुन देशका हुन् भन्ने खुलिसकेको छैन।’

बुढाका अनुसार स्वाब पठाइएका १६ मध्ये चार नेपाली र १२ जना भारतबाट आएका थिए। ‘तीमध्ये १२ जना भारतबाट आएका थिए, चार जना विराटनगरबाट,’ बुढाले भने, ‘हामी पुष्टि गरिरहेका छौं।’

प्रदेश नम्बर १ का आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले उदयपुरको मस्जिदमा रहेका १२ जनामा कोरोना पुष्टि भएको बताए। ‘कोसी अञ्चल अस्पतालमा स्वाब परीक्षण गर्न ल्याइएका १६ मध्ये १२ जनामा कोरोना पुष्टि भएको छ,’ मन्त्री कार्कीले हेल्थपोस्टनेपालसँग भने, ‘कोरोना संक्रमित भएका कति नेपाली, कति भारतीय हुन् भन्ने खुल्न बाँकी छ।’

उनका अनुसार संक्रमित सबैलाई कोसी अस्पताल ल्याउने र बाँकी चार जनालाई क्वारेन्टाइनमा राख्ने व्यवस्था मिलाइँदैछ।

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै

उदयपुरमा १२ र चितवनमा दुईजनामा कोरोना पुष्टि , संक्रमित संख्या ३० पुग्यो

विश्वव्यापी महामारीका रूपमा देखिएको कोरोना भाइरस (कोभिड १९) का एकै दिन १४ संक्रमित थपिएका छन्। नेपालमा हालसम्म १६ जनामा संक्रमण प्रमाणित भएकोमा आज एकै दिन १४ जना थपिएका हुन्। उदयपुरमा प्रमाणित भएका सबै भारतीय हुन्।

शुक्रबार उदयपुरको एक मस्जिदमा लुकेर बसेको अवस्थामा १२ जना र चितवनका दुईजना गरी १४ जना थपिएको पुष्टि भएको हो। स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता समिर अधिकारीले १४ जना थपिएको जानकारी दिए।

उदयपुरको एक मस्जिदमा भेटिएका १२ मध्ये अधिकांश भारतीय नागरिक रहेको बताइएको छ। ती सबै पुरुष हुन्। उनीहरू ३४, २९, २६, २८, २८, २८, २८, २२, २५, २०, ४० र २९ वर्षका छन्।

त्यस्तै, चितवनबाट बिहीबार बेलुका ल्याइएको दुईवटा स्वाबको रिपोर्ट पोजिटिभ देखिएको भरतपुर अस्पतालले जनाएको छ। बेलायतबाट एक महिनाअघि फर्किएका आमा र छोरामा कोरोना पोजिटिभ देखिएको हो। यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ३० पुगेको छ। उनीहरू गत चैत ५ गते हङकङबाट नेपाल आएका थिए। छोरा २७ वर्ष र आममा ६३ वर्षीया छन्।

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै