समान संक्रमणका इटली र कोरियाको मृत्युदरमा सातगुणा अन्तर, चिनियाँ विज्ञ भन्छन्– कोरोना जुनसम्म फैलिन्छ

चीनबाट ३१ डिसेम्बरमा सुरु भएको कोरोना भाइरस डिजिज (कोभिड–१९)को संक्रमण ७० दिनमा विश्वका १०९ देशमा फैलिएको छ । सुरुको करिब डेढ महिना मुख्यतः चीनलाई मात्र आक्रान्त बनाएको कोरोना पछिल्लो समय बाँकी विश्वमा तीव्र गतिमा फैलिरहेको छ । विशेषगरी, युरोप, पूर्वी एसिया र मध्यपूर्वका मुलुकहरू बढी प्रभावित छन् ।

भाइरसको केन्द्रविन्दु चीनले संक्रमण नियन्त्रणमा प्रतिदिन ठूलो सफलता हासिल गरिरहेको छ । आइतबार चीनमा जम्मा ४२ जना नयाँ संक्रमित फेलापरेका छन् भने २२ संक्रमितले ज्यान गुमाएका छन् । चीनमा संक्रमणले महामारीको रूप लिएपछिको यो नै सबैभन्दा कम एक दिनको संक्रमित संख्या हो । २० जनवरीदेखि चीनले प्रतिदिन २४ घण्टाभित्र फेलापरेका संक्रमित र मृत्यु संख्या सार्वजनिक गर्दै आएको छ ।

चीनमा आइतबारसम्म कुल ८० हजार ७ सय ३५ जनामा संक्रमित पुष्टि भएको छ । तीमध्ये ३ हजार १ सय १९ जनाले ज्यान गुमाएका छन् । करिब ६० हजार संक्रमित उपचारपछि भाइरसमुक्त भएर घर फर्किसकेका छन् । चीनमा संक्रमितको मृत्युदर ३.८६ प्रतिशत छ ।

हालसम्म विश्वमा १ लाख ९ हजार ९ सय ३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । तीमध्ये ३ हजार ८ सय ५९ को मृत्यु भएको छ भने उपचार सफल भएका ६२ हजार १ सय ७६ जना भाइरसमुक्त भई डिस्चार्ज भएका छन् । बाँकी अस्पतालमा उपचाररत छन् ।

कोरोनाको वैश्विक महामारी जुनसम्म रहने चिनियाँ महामारीविद्को आकलन
चीनका महामारीविद् (इपिडिमियोलोजिस्ट) झोङ नान्सानले कोरोनाको वैश्विक महामारी कम्तीमा जुन महिनासम्म रहने आकलन गरेका छन् । ग्वाङडोङ टेलिभिजनले आइतबार जारी गरेको एक स्लिपमा उनले कोरोना संक्रमणको समयावधिबारे अनुमान सार्वजनिक गरेका हुन् ।

झोङले चीनको ध्यान संक्रमणका आयात केसको नियन्त्रणमा केन्द्रित हुनुपर्ने बताए । चीनमा धेरै हदसम्म भाइरस नियन्त्रणमा आइसकेको अवस्थामा बाहिरी मुलुकबाट भित्रिने केस समस्या बन्न थालेको छ । विशेषगरी, प्रमुख अन्तर्राष्ट्रिय ट्राभल हबका रूपमा रहेको ग्वाङडोङ प्रान्तमा आयात केस नियन्त्रणमा ध्यान केन्द्रित गर्नुपर्ने झोङको भनाइ छ । यो प्रान्तमा हालसम्म चारवटा बाहिरी देशबाट भित्रिएका संक्रमित फेलापरेका छन् ।

‘सीमाक्षेत्रमा स्वास्थ्यपरीक्षणलाई थप प्रभावकारी बनाउनु र बढी प्रभावित देशबाट भित्रिने नागरिकका लागि क्वारेन्टाइनको व्यवस्था गर्नु आवश्यक छ,’ उनले भने, ‘ग्वाङडोङमा परीक्षण किट, उपचार प्रविधि, सुरक्षण सामग्रीलगायत सहयोग पठाउनु आवश्यक छ ।’

इटलीमा ५ र दक्षिण कोरियामा ०.६ प्रतिशत मृत्युदर, विश्वको औसत मृत्युदर ३.५ प्रतिशत
संक्रमित र मृत्यु संख्याका हिसाबले चीन पहिलो नम्बरमा भए पनि मृत्युदरका हिसाबले इटली कोरोनाबाट सबैभन्दा बढी प्रभावित छ । कोरोना संक्रमणबाट विश्वको औसत मृत्युदर ३.५ प्रतिशत छ । तर, इटलीमा संक्रमितको मृत्युदर ५ प्रतिशत छ ।

इटली र दक्षिण कोरियामा करिब–करिब समान रूपले संक्रमण फैलिरहेको छ । दुवै देशमा संक्रमितको संख्या ७ हजार कटेको छ । दक्षिण कोरियामा संक्रमितको मृत्युदर जम्मा ०.६ प्रतिशत छ । इटली र दक्षिण कोरियामा समान रूपले भाइरसको संक्रमण हुँदा मृत्युदरमा भने ठूलो अन्तर देखिएको छ । इटलीमा दक्षिण कोरियामा भन्दा करिब सातगुणा बढी संक्रमितको ज्यान गएको छ । दक्षिण कोरियामा ७ हजार ४ सय ७८ जनामा संक्रमण पुष्टि भएकोमा ५१ जनाले ज्यान गुमाएका छन् ।

दक्षिण कोरियाले प्रतिदिन १० हजारभन्दा बढीमा भाइरस परीक्षण गरेर विश्वसामु नमुना प्रस्तुत गरेको छ । दक्षिण कोरियाको उत्कृष्ट ल्याब क्षमताको विश्वले प्रशंसा गरेको छ । जति धेरैमा परीक्षण गरियो त्यति नै भाइरस नियन्त्रणमा सहयोग पुग्ने र वास्तविक मृत्युदर पत्ता लगाउन सकिने विज्ञहरूको भनाइ छ ।

इटलीमा ७ हजार ३ सय ७५ जनामा संक्रमण पुष्टि हुँदा ३६६ को मृत्यु भइसकेको छ । आइतबार एकै दिनमा इटलीमा १३३ संक्रमितले ज्यान गुमाएका छन् भने १४९२ नयाँ केस देखिएका छन् । इटलीका सेनाप्रमुखसमेत संक्रमित भएका छन् । सुरुवाती दिनमा चीनले झेलेको महामारी अहिले इटलीमा देखिएको छ ।

कोरोनाबाट चौथो सबैभन्दा प्रभावित इरानमा हालसम्म ६ हजार ५ सय ६६ जनामा संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये २३७ जनाले ज्यान गुमाएका छन् । इरानमा ढिलो गरी भाइरस संक्रमण सुरु भए पनि एक्कासि संक्रमण तीव्र बनेको थियो । इरानका उपराष्ट्रपति, उपस्वास्थ्यमन्त्री तथा सांसदहरू पनि भाइरसको सिकार बनेका छन् । कोरोना संक्रमणबाट इरानमा सांसदले ज्यान गुमाइसकेका छन् ।

भारतीय प्रधानमन्त्री मोदीको वंगलादेश भ्रमण रद्द
वंगलादेशमा पनि कोरोना भाइरसको संक्रमण भेटिएपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमण रद्द गरिएको छ । वंगलादेशमा ३ जनामा संक्रमण पुष्टि भएसँगै मोदीको राजधानी ढाकाको निर्धारित भ्रमण रद्द गरिएको हो । प्रधानमन्त्री मोदी १७ मार्चमा हुने वंगलादेशी पूर्वराष्ट्रपछि सेख मुजिबुररहमानको जन्मशताब्दी समारोहको मुख्य वक्ताका रूपमा बोलाइएका थिए । तर, यतिवेला भाइरसको खतरालाई दृष्टिगत गर्दै वंगलादेश सरकारले सो कार्यक्रम सीमित स्तरमा मात्र मनाउने निर्णय गरेको छ ।

नेपाललाई तीनतिरबाट खुला सिमानाले घेरेको भारतमा अहिलेसम्म ४३ जनामा संक्रमण पुष्टि भएको छ । तीमध्ये सुरुमा केरल राज्यमा भेटिएका ३ संक्रमित उपचारपछि भाइरसमुक्त भइसकेका छन् । सबैभन्दा बढी जयपुरमा १७ जनामा संक्रमण पुष्टि भएकोमा १६ जना इटालियन छन् । उनीहरू भ्रमणका लागि भारत आएका थिए । भारतमा संक्रमण बढ्दा नेपालमा जोखिम बढ्ने भएकाले नेपालीको ध्यान मूलतः भारततर्फ नै केन्द्रित छ । यद्यपि, अहिलेसम्मको अवस्थालाई नियाल्दा भारतमा भाइरस अनियन्त्रित भएको छैन । भारतले २२ राज्यका ५२ वटा ल्याबमा भाइरस परीक्षणको व्यवस्था मिलाएको छ ।

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै

इराकमा पनि कोरोना संक्रमणले मृत्यु

कोरोना भाइरस डिजिज (कोभिड–१९) को संक्रमणबाट इराकमा दुईजनाको मृत्यु भएको छ । बिहीबार इराकको स्वास्थ्य मन्त्रालयले कोरोनाबाट पहिलो दुई मृत्यु पुष्टि गरेको हो । संक्रमितको मृत्युका हिसाबले इराक विश्वको १६औँ प्रभावित देश बनेको छ ।

इराकी स्वास्थ्य मन्त्रालयका अनुसार प्रतिरक्षात्मक शक्ति कमजोर बनाइएकी एक महिला र दीर्घरोगले पीडित ६५ वर्षीय एक पुरुषको कोरोना संक्रमणपछि मृत्यु भएको हो । उनी हरूको उपचारका क्रममा बुधबार राजधानी बग्दादमा निधन भएको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयले कोरोनाबाट दुईजनाको मृत्यु पुष्टि गरे पनि अर्का एक व्यक्तिको मृत्युमा कोरोनाको आशंका गरिएको छ । ७० वर्षीय एक धर्मगुरुको सुलेमानियामा भएको मृत्युमा भाइरसकै आशंका गरिए पनि परस्पर विरोधी रिपोर्ट आएकाले पुष्टि नगरिएको इराकी अधिकारीले बताएका छन् । कुर्दिस अधिकारीले ती पुरुषको मृत्यु कोभिड–१९ को संक्रमणबाटै भएको दाबी गरेका छन् । तर, स्वास्थ्य मन्त्रालयले भने त्यसको निर्क्योल नभइसकेको बताएको छ ।

‘धर्मगुरुको मृत्युअघि क्वारेन्टाइनमा रहेको उनका दुई आफन्तमा कोरोना संक्रमण पुष्टि भएको थियो,’ कुर्दिस स्वास्थ्य अधिकारीले भनेका छन् ।

इराकमा हालसम्म कोरोनाका ३४ संक्रमित फेलापरेका छन् । विश्वस्वास्थ्य संगठनका अनुसार संक्रमितमध्ये अधिकांश छिमेकी इरानसँग जोडिएका छन् । इरानमा कोरोना संक्रमणले हालसम्म १०७ जनाको मृत्यु भइसकेको छ भने ३५१३ जनामा संक्रमण पुष्टि भइसकेको छ । फेब्रुअरीको तेस्रो सातासम्म इरानले आफूलाई कोरोनामुक्त बताउँदै आएकोमा पहिलो केस भेटिपछि उच्च मृत्युदरका साथ संक्रमण तीव्र गतिमा फैलिएको हो ।

विश्वका ८० भन्दा बढी देशमा फैलिएको कोरोना कोभिड–१९ बाट संक्रमित हुनेको संख्या लाख छुन लागेको छ । बिहीबार दिउँसोसम्म ९६ हजार ३ सय ३६ जनामा संक्रमण पुष्टि भइसकेको छ । भाइरसले १६ देशका ३ हजार ३ सय ३ जनाको ज्यान लिइसकेको छ । हालसम्म ५३ हजार ४ सय ५७ संक्रमित संक्रमणमुक्त भएका छन् । उनीहरूलाई उपचारपछि डिस्चार्ज गरिएको छ ।

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै

कोरोनाबारे अध्ययनका २ खुलासा : कोभिड–१९ कै दुई प्रकार, दिसा–पिसाबबाट पनि संक्रमण

विश्वभर महामारीको रूपमा फैलिरहेको कोरोना भाइरस डिजिज (कोभिड–१९) बारे नयाँ तथ्य खुलेको छ । ‘नेसनल साइन्स रिभ्यु’मा मंगलबार प्रकाशित एक अध्ययनका अनुसार कोरोनाको पछिल्लो प्रकार (कोभिड–१९) अलग–अलग प्रकारमा विकसित भएका छन् । यसलाई अन्तरसंचरण दर र भौगोलिक वितरणका हिसाबले दुई भागमा वर्गीकरण गर्नुपर्ने अध्ययनको दाबी छ ।

चीनका वैज्ञानिक समूहले १०३ कोरोनाभाइरसका ‘जिनोम’को विश्लेषण गरेर यो तथ्य पत्ता लगाएका हुन् । अध्ययनबाट वैज्ञानिकले हाल फैलिरहेको कोरोना भाइरस दुई प्रकारको रहेको दाबी गरेका छन् । पहिलो प्रकारको नाम एल (एल टाइप) दिइएको छ, जुन अर्कोभन्दा अधिक प्रचलित रहेको अध्ययनका क्रममा पाइएको छ । एस (एस टाइप) नाम दिइएको दोस्रो प्रकार अधिक संक्रामक रहेको अध्ययनको दाबी छ ।

अध्ययनमा यो पनि पुष्टि भएको छ कि कोरोनाको एल प्रकार एस प्रकारबाटै विकसित भएको हो । ७ जनवरीअघि भाइरसको उद्गमस्थल उहानमा एल प्रकारको व्यापक संक्रामण रहेको अध्ययनकर्ताले बताएका छन् ।

अध्ययनकर्ताले भाइरसको विकास र प्रसारबारे विस्तृत ज्ञानका लागि अनुवर्ती अध्ययन (फलोअप स्टडी)को अवश्यकता औँल्याएका छन् ।

दिसा–पिसाबबाट संक्रमण पहिचान
चीनको नवीनतम कोरोना भाइरस निदान तथा उपचार योजनामा दिसा–पिसाबबाट कोरोना भाइरसको संक्रमण फैलिने कुरालाई संक्रमणको अतिरिक्त माध्यमका रूपमा मान्यता दिइएको छ ।

अनुसन्धान क्रममा गरिएको नमुना परीक्षणमा संक्रमितको दिसामा कोरोना भाइरसको निशान पाइएको दाबी गरिएको छ ।

चीनका स्वास्थ्य अधिकारीले भनेका छन्, ‘श्वास–प्रश्वासको बुँद र संक्रमितसितको निकट सम्पर्क नै कोरोना भाइरस फैलिने मुख्य माध्यम हुन् ।’ तर, पछिल्लो अध्ययनले दिसा–पिसाबबाट पनि कोरोनाको संक्रमण हुने दाबी गरेको हो ।

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै

चीनमा उद्योग नचल्दा भारतमा औषधिको मूल्य ७० प्रतिशतसम्म वृद्धि, नेपालमा के छ अवस्था ?

डेढ महिनाभन्दा लामो समयदेखि चीनमा महामारीको रूपमा फैलिरहेको कोरोना भाइरस डिजिज (कोभिड–१९) का कारण उद्योगहरू बन्द हुँदा औषधिको अन्तर्राष्ट्रिय बजार प्रभावित भएको छ । चीनमा उद्योग नचल्नुको असर छिमेकी देश भारतमा प्रत्यक्ष देखिएको छ । विश्वकै ठूलो बजारमध्ये रहेको भारतमा यतिवेला अत्यावश्यक प्यारासिटामोलको मूल्य करिब डेढगुणा पुगेको छ ।

ब्लुमबर्गको रिपोर्टअनुसार चीनबाट आपूर्ति बन्दा भएका कारण भारतमा अत्यावश्यक प्यारासिटामोलको मूल्य ४० प्रतिशतले बढेको छ । भारतीय अधिकारीका अनुसार ब्याक्टेरिलय इन्फेक्सनमा प्रयोग हुने एन्टिबायोटिक ‘एजिथ्रोमाइसिन’को मूल्य ७० प्रतिशतले वृद्धि भएको छ । मार्चको पहिलो सातासम्म चीनमा उद्योग सञ्चालनमा आई आपूर्ति सुरु नभएमा भारतीय फर्मा इन्डस्ट्री (औषधि उद्योग) ‘इन्ग्रिडिएन्ट्स’ (कच्चापदार्थ)को कमी हुने अधिकारीले जनाएका छन् ।

एक्टिभ फर्मास्युटिकल्स इन्ग्रिडिएन्ट्स (एपिआई)को आयातमा भारतको चीनमाथिको निर्भरता अत्यधिक छ । कुनै औषधि बनाउन एपिआई सबैभन्दा महत्त्वपूर्ण हुन्छ । यसको आयातमा भारतको चीनमाथिको निर्भरता प्रतिवर्ष बढ्दै आएको छ ।

भारतको कमर्सियल इन्टेलिजेन्स एन्ड स्ट्याटिस्टिक्स महानिर्देशनालयका अनुसार सन् २०१६–१७ मा भारतले एपिआई सेग्मेन्टमा १ अर्ब ९६ करोड ५३ लाख २५ हजार भारतीय रूपैयाँको आयात गरेको थियो, जसमा ६६.६९ प्रतिशत चीनबाट मात्र भित्र्याएको थियो । २०१७–१८ मा भारतको आयात २ अर्ब १४ करोड ८१ लाख पुग्यो, जसमा चीनको हिस्सेदारी ६८.३६ प्रतिशत थियो ।

भारतले २०१८–१९ मा एपिआई र थोक औषधिको आयातमा २ खर्ब ५५ करोड ५२ लाख भारतीय रूपैयाँ खर्च गरेकोमा आधिकांश आयात चीनबाटै भएको छ । पछिल्लो ३ वर्षको अवधिमा औषधिको क्षेत्रमा भारतको चीनमाथिको निर्भरता २३ प्रतिशतले भारतको तथ्यांकले देखाएको छ ।

किन छ भारत चीनमा निर्भर ?
भारत एपिआई र बल्क ड्रग्स (थोक औषधि)मा चीनमाथि निर्भर हुनुमा उत्पादन लागत र मूल्य नै प्रमुख कारण हो । भारतको रसायन एवम् उर्वरक मन्त्रालयअन्तर्गतको डिपार्टमेन्ट अफ फर्मास्युटिकल्सका अनुसार उत्पादन लागतका हिसाबले चीनबाट आउने एपिआई र बल्क ड्रग्स भारतीय औषधि कम्पनीका लागि निकै फाइदाजनक हुन्छ ।

चीनमा एपिआई उत्पादनको लागत भारतमा भन्दा २० देखि ३० प्रतिशत सस्तो पर्छ । भारतमा एपिआई उत्पादन एकाइले आफ्नो क्षमताको ३० प्रतिशत मात्र काम गरिरहेको छ भने चीनमा क्षमताको ७० प्रतिशत उत्पादन भइरहेको छ । भारतमै उत्पादित एपिआईको प्रयोग गरेर औषधि उत्पादन गर्दा नाफा ज्यादै कम हुने भएकाले भारतीय कम्पनीले चीनबाट एपिआई आयात गरी औषधि उत्पादन गरेर अन्य देशमा निर्यात गर्दै आएका छन् ।

– नेपाली औषधि उद्योगले सबैजसो कच्चापदार्थ आयात गर्छन्
– नेपाली औषधि बजारमा स्वदेशी उत्पादनको हिस्सा ४५ प्रतिशत
– औषधिमा नेपालको भारतमाथिको निर्भरता ५२ प्रतिशत
– कोरोनाले चीनमा उद्योग नचल्दा अन्तर्राष्ट्रिय बजार प्रभावित
– भारतमा प्यारासिटामोलको ४०, एजिथ्रोमाइसिनको ७० प्रतिशत मूल्यवृद्धि
– ३–४ महिनालाई ‘स्टक’ले धान्ने औषधि व्यवस्था विभागको आकलन

विश्वबजारमै प्रभाव
चीनमा उद्योग नचल्दा भारत मात्र नभएर विश्वभर नै औषधिको आपूर्ति प्रभावित भएको छ । भारतीय अधिकारीका अनुसार आउँदा दिनमा एपिआईको मूल्य अत्यधिक बढ्न सक्छ ।

विश्वमा जेनेरिक औषधिको आपूर्तिमा भारत सबैभन्दा अगाडि छ । अमेरिकी बजारमा औषधि आपूर्ति गर्नेमध्ये १२ प्रतिशत ‘म्यानुफ्याक्चरिङ साइट्स’ भारतमा छन् । भारतले ८० प्रतिशतसम्म फर्मा इन्ग्रिडिएन्ट्स चीनबाट आयात गर्छ ।

नेपालमा सोझो असर, तर ‘स्टक’ले करिब ३ महिनालाई राहत दिने आकलन छ : महानिर्देशक ढकाल
चीनमा उद्योग नचल्दा भारत र बाँकी दुनियाँसँगै नेपाली औषधि बजारमा पनि सोझो असर पुग्ने देखिएको छ । स्वदेशी कम्पनीको उत्पादनले नेपाली औषधि बजारको ४५ प्रतिशत मात्र माग धानिरहेको छ । त्यसमा पनि नेपालमा उत्पादन हुने सबैजसो औषधिको कच्चापदार्थ आयात हुने गरेको छ । नेपालले मूलतः भारत, चीन र बंगलादेशबाट कच्चापदार्थ आयात गर्दै आएको छ ।

भारतमा अत्यावश्य औषधिको मूल्य अकासिरहँदा नेपालमा प्रत्यक्ष प्रभाव पर्ने भए पनि तत्कालका लागि भने समस्या नदेखिएको औषधि व्यवस्था विभागका महानिर्देशक नारायण ढकालले जानकारी दिए ।
‘चीन र भारतको प्रभाव नेपाली औषधि बजारमा नपर्ने त कुरै भएन,’ महानिर्देशक ढकालले हेल्थपोस्टसित भने, ‘तर, तत्काल भने असर देखिसकेको छैन ।’

चीनमा उद्योग नचल्नुले र भारतीय बजार प्रभावित हुनुले आयात औषधिमा मात्र नभई नेपाली उत्पादनमा समेत प्रत्यक्ष प्रभाव पर्ने उनले बताए । ‘नेपाली उत्पादनमा पनि सबैजसो कच्चापदार्थ आयात हुने गरेको छ,’ ढकालले भने, ‘यसले नेपाली उत्पादनले कच्चापदार्थको अभाव झेल्ने र आयात औषधि पनि मूल्य बढेर आउने देखिएको छ ।’

विभागका अनुसार नेपालले चीनबाटै पनि ठूलो परिमाणमा कच्चापदार्थ आयात गर्दै आएको छ । चीनमा उद्योग नचल्दा भारत, बंगलादेशलगायत अन्य मुलुकमा समेत औषधि बजार प्रभावित बन्ने भएकाले नेपाललाई कच्चापदार्थको संकट आइपर्न सक्ने वा उच्च मूल्य खर्चिएर आयात गर्नुपर्ने अवस्था आउन सक्ने महानिर्देशक ढकाल बताउँछन् ।

‘बदलिँदो अवस्थालाई मध्यनजर गरेरै हामीले उत्पादक र व्यवसायीहरूलाई बोलाएर बैठक राखिसकेका छौँ,’ महानिर्देशक ढकालले भने, ‘उहाँहरूले उपलब्ध गराएको स्कटको विवरणअनुसार ३–४ महिनालाई समस्या देखिएको छैन ।’ यद्यपि, एक–दुईवटा औषधिमा भने आकस्मिक रूपमा समस्या आउन सक्ने उनको भनाइ छ ।

‘यसबीचमा पनि एक–दुईवटा आइटममा भने ‘सर्टेज’को असर पर्न सक्छ,’ उनले भने, ‘चीनले १५–१५ दिनमा अवस्थाको अद्यावधिक गर्ने भएकाले अघिल्लो अवस्थालाई (मार्चको) हेरेर रणनीति बनाउँदै छौँ ।’

नेपाली औषधि उद्योगले सबैजसो कच्चापदार्थ विदेशबाट आयात गर्दै आएका छन् । यसरी स्वदेशमै उत्पादित औषधिले नेपाली बजारको आधा माग पनि सम्बोधन गर्न सकेको छैन । पछिल्लो तथ्यांकअनुसार नेपाली बजारमा ४५ प्रतिशत औषधि मात्र स्वदेशी कम्पनीका विक्री हुँदै आएका छन् ।

औषधिमा नेपालको भारतमाथिको निर्भरता ५२ प्रतिशत छ । बाँकी ३ प्रतिशत नेपालले बंगलादेशलगायत अन्य मुलुकबाट आयात गर्दै आएको छ । त्यसैले भारतमा औषधि तथा कच्चापदार्थको मूल्य अकासिँदा तथा कच्चापदार्थको अभाव हुँदा त्यसको सोझो प्रभाव नेपालमा पर्ने देखिन्छ ।

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै

क्वारेन्टाइनवरिपरिका मानिस आत्तिनुपर्दैन (भिडियो)

डा. अनुप बास्तोला, राष्ट्रिय शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालमा कार्यरत छन्। उनी सरुवारोग विशेषज्ञ हुन्।

चीनको उहानबाट विश्वभरि फैलिइरहेको कोरोना भाइरसका कारण अहिले दिनहुँ मानिसको मृत्यु भइरहेको छ। हज्जारौं मानिस संक्रमित भएका छन्।

नेपाल सरकारले केही दिनअघि मात्रै चीनको उहानमा रहेका नेपालीलाई उद्धार गरेर ल्याएको छ।

उनीहरुलाई खरीपाटीमा ‘क्वारेन्टाइन’मा राखिएको छ।

विद्युत प्राधिकरणको तालिम केन्द्रमा राखिएपछि स्थानीय भने त्रसित भइरहेका छन्। कैयौंले घर छोडेका छन्।

तर, डा. बास्तोलाका अनुसार क्वारेन्टाइनवरिपरिका बस्तीमा कुनै रिस्क हुँदैन ।

हेल्थपोस्ट नेपालले डा. बास्तोलासँग गरेको कुराकानी : 

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै

उहानबाट फर्किएको खुसी : ‘सरकारले गरेर देखायो’

उहानमा २० दिनदेखि कोठाभित्रै थुनिएका थियौँ । नेपालमा सबै तनावमा ग्रुजिरहेका थिए ।

त्यहाँ खानेकुरा पाइँदैनथ्यो, कहिलेकाहीँ भोकै बस्नुपर्ने हुन्थ्यो । पानीको त सारै अभाव नै थियो । भाइरसको भय त झन् अकल्पनीय थियो ।
यस्ता कुराले हामी सबै एक किसिमको मानसिक तनावमा थियौँ ।

बाहिर निस्किन नपाइने, कतिवेला के हुने थाहा थिएन । संक्रमणको उच्च जोखिम थियो ।
यहाँबाट कहिले निस्कन पाइएला भनेर भगवान् पुकारिरहेका हुन्थ्यौँ ।

हिजो नेपाल आउने भनेपछि मनमा अब बाचिँयो भन्ने आशा पलायो । चीनबाट हिड्ँदा कतिवेला नेपाल पुगिन्छ जस्तो लागेको थियो । एयरपोर्ट उत्रिएपछि लामो सास फेरेर नेपाल सरकारलाई मनमनै धन्यवाद दिएँ ।

सबैजना डिप्रेसनमा जान लागेका थिए, अहिले सबै खुसी छन् । नयाँ जीवन पाएको अनुभव भइरहेको छ ।

चीनको अवस्था धेरै भयावह छ । कोही पनि आफ्नो कोठाबाट बाहिर निस्कन पाउँदैनन् । बाहिर भएको घटनाबारे केही थाहा हुँदैन ।

जंगलमा गएर पाल राखेरै बस्न पनि तयार छौँ भन्ने मानसिकता बनाएर आएका थियौँ । सरकारबाट धेरै आशा पनि गरेका थिएनौँ । सरकारले सक्छ कि सक्दैन भन्ने लागेको थियो, तर गरेर देखायो, खुसी लागेको छ । सोचेभन्दा निकै राम्रो व्यवस्थापनका लागि सरकारलाई धन्यवाद !

१७५ जना नेपाल आएका छौँ । नेपाल आउन तयारी अवस्थामा रहनुभएका ५–६ जना आउन पाउनुभएन । शरीरमा ३७.३ डिग्री सेल्सियसभन्दा माथि तापक्रम देखिएपछि उहाँहरूलाई चीनमै राखियो । उहाँहरू अन्तिम समयमा आएर आउन नपाउनुभएकोमा दुःख लागेको छ ।

यहाँ आउनुभएका सबै जोखिमबाट मुक्त भइरहेको महसुस भएको छ । आज सबै जाँच भयो । यहाँ भएका कसैलाई पनि कोरोनाको लक्षण छैन जस्तो लाग्छ । चिनियाँ एयरपोर्ट, नेपाली एयरपोर्ट तथा यहाँ (क्वारेन्टाइनमा) आएपछि पनि चेकजाँच भएको छ ।

यहाँ एउटा कोठामा तीनजना बसेका छौँ । बेडसिट नयाँ छन् । तातोपानीको व्यवस्था गरिएको छ । नेपाल सरकारले हामीले सोचेभन्दा राम्रो व्यवस्था गरेको रहेछ, खुसी छौँ ।

जंगलमा गएर पाल राखेरै बस्न पनि तयार छौँ भन्ने मानसिकता बनाएर आएका थियौँ । सरकारबाट धेरै आशा पनि गरेका थिएनौँ । सरकारले सक्छ कि सक्दैन भन्ने लागेको थियो । तर, गरेर देखायो, खुसी लागेको छ । सोचेभन्दा राम्रो व्यवस्थापनका लागि सरकारलाई धन्यवाद छ ।

खानपानको व्यवस्था राम्रो छ । सबै खानेकुरा प्याकिङ गरेर आउँछ । सोचेभन्दा धेरै नै राम्रो व्यवस्थापन पाउँदा खुसी झन् थपिएको छ ।

(चीनको उहानबाट आएका डा. जितसिंह भण्डारीसँग हेल्थपोस्टकर्मी पुष्पराज चौलागार्ईंले गरेको कुराकानीमा आधारित । उनी अहिले खरिपाटीस्थित क्वारेन्टाइनमा छन् ।)

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै

चिनियाँ राष्ट्रपतिले भने, ‘हाम्रो स्वास्थ्य प्रणाली निकै कमजोर रहेछ, अब कडा कानुन बनाऔँ’

चिनियाँ राष्ट्रपति सी चीनफिङले स्वास्थ्य क्षेत्रको आपतकालिन प्रणालीमा व्यापक सुधार गर्नुपर्ने बताएका छन्।

‘अहिले पूरै चीन र सारा चिनियाँ कोरोनासँग जुधिरहेका छन्। यसले एकातिर प्राणघातक भइरहेको छ भने अर्काेतिर चिनियाँ अर्थतन्त्रलाई पनि ठूलो धक्का दिएको छ’ चिनियाँ कम्यूनिष्ट पार्टीको उच्च नेताहरुको एक बैठकलाई सम्बोधन गर्दै राष्ट्रपति सीले भने ‘महामारीलाई सम्बोधन गर्ने सम्पूर्ण चिनियाँ कानुन र नियमहरुलाई अझैं कडा बनाउनुपर्ने आवश्यक भएको छ र, त्यसको समिक्षा गर्ने बेला भएको छ।’

उनले आम जनावर तथा पशुपंक्षीको संरक्षणको कडा कानुन बनाउनुपर्ने पनि आवश्यकता औंल्याए।

‘भाइरस विरुद्धको यो लडाई हाम्रो राष्ट्रिय शासन प्रणाली र क्षमताको पनि परीक्षा हो’ सीले भने ‘र, हामीलाई लागिरहेको छ कि, हामी यो प्रणालीमा फेल भएका छौं। त्यसैले अब सम्पूर्ण कानुनहरु परिवर्तन गर्नुपर्ने बेला भएको छ।’

गत डिसेम्बरमा पहिलोपटक चीनको उहानमा देखिएको कोरोना भाइरस
(कोभिड–१९)ले १ हजार ५ सय २६ जना मानिसको ज्यान लिइसकेको छ।

यीमध्ये तीन जना संक्रमितको चीन बाहिर मृत्यु भएको छ भने अरु सबैजनाको उहानलगायत अन्य चिनियाँ प्रान्तमा मृत्यु भएको छ।

त्यस्तै अहिलेसम्म ६७ हजार १सय मानिस यो भाइरसबाट संक्रमित भएका छन्।

‘भाइरस विरुद्धको यो लडाई हाम्रो राष्ट्रिय शासन प्रणाली र क्षमताको पनि परीक्षा हो’ सीले भने ‘र, हामीलाई लागिरहेको छ कि, हामी यो प्रणालीमा फेल भएका छौं। त्यसैले अब सम्पूर्ण कानुनहरु परिवर्तन गर्नुपर्ने बेला भएको छ।’

चीनमा मात्रै होइन विश्वका धेरै देशमा यसको संक्रमण देखिइसकेको छ।
शुक्रबार मात्रै अफ्रिकी मुलुक इजिप्टमा पनि एक जना कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। अफ्रिकी देशमा यो पहिलो केश हो।

चीन सरकारले बिदा मनाएर बेइजिङ फर्किएकाहरुलाई पनि कम्तीमा १४ दिन क्वारेन्टाइनमा राख्न निर्देशन दिएको छ।

चिनियाँ नयाँ वर्षका बेला नागरिक घुम्न निस्किएका थिए। उहानमा कोरोना भाइरसको संक्रमण एकाएक तीव्र भएपछि नयाँ वर्षकै दिनमा उहान सहर ‘लक–डाउन’ भएको थियो।

नयाँ वर्षको विदा सकिएर मानिस फर्किने बेला भएपछि सरकारले उनीहरुलाई क्वारेन्टाइनमा राख्न निर्देशन दिएको हो।

चीन फर्किएकाहरु अब सोझैं घरमा जान पाउने छैनन्। सरकारले स्थापना गरेको क्वारेन्टाइनमा १४ दिन बिताइसकेपछि मात्रै उनीहरुको स्वास्थ्य स्थितिको आधारमा घर पठाईने सरकारले जनाएको छ।

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै

नेपाली ल्याउन आज दिउँसो उहान जाँदै सरकारी टोली

उहानमा रहेका नेपालीलाई लिनका लागि आज सरकारी टोली चीन जाँदैछ। नेपाल वायु सेवा निगमको विमान स्वास्थ्यकर्मीसहितको टोली लिएर बिमान आज दिउँसो पौने तीन बजे चीन उड्नेछ।

१ सय ८0 जना नेपाली लिएर नेपाल वायु सेवा निगमको ‘ए–३३०’ वाइडवडी बिमान आइबार बिहान २ बजे काठमाडौं आइपुग्ने तालिका तय भएको छ।

कोरोना भाइरस(कोभिड–१९)को इपिसेन्टर उहानबाट सरकारले १ सय ८0 जना नेपाली फर्काउन थालेको हो।

उहानबाट फर्केर विमानस्थलमा अवतरण हुनासाथ उनीहरु सबैलाई सुरक्षाकर्मीले

खरीपाटीमा स्थापना गरिएको ‘क्वारेन्टाइन’मा पु¥याउनेछन्।

बिमानस्थलमा उनीहरुलाई कसैले पनि भेट गर्न पाउनेछैनन्।

त्यसका लागि सरकारले यात्रा अवधि र क्वारेनटाइनमा पालना गर्नुपर्ने नियमहरु पनि बनाइसकेको छ।

कोरोना भाइरस डिजिज २०१९ (कोभिड–१९) को संक्रमणबाट चीनमा बिहीबारसम्म १ हजार ४ सय ९१ जनाले ज्यान गुमाइसकेका छन्, जसमा हुबेई प्रान्तका मात्र १ हजार ४ सय १६ जना छन् । ३ साताभन्दा लामो समयदेखि बन्द गरिएको करिब १ करोड १० लाख जनसंख्याको उहान सहरमा १८८ जना नेपाली सम्पर्कमा आएको बताइएको छ । उनीहरुमध्ये १८० नेपालीले स्वदेश फर्किनका लागि निवेदन दिएका छन् ।

उहानबाट नेपाली ल्याउनका लागि सरकारले नेपाल एयरलाइन्सको वाइडबडी विमान तयार गरेको छ । विमानमा रहने स्वास्थ्यकर्मीको टोली र विमान दलका सदस्यहरूलाई विशेष तालिम दिइएको छ । विमान, विमानस्थलबाट क्वारेन्टाइनस्थलसम्म पुर्याउने बस र क्वारेन्टाइनस्थल खरिपाटीमा आवश्यक सम्पूर्ण सुविधा र जनशक्ति उपलब्ध गराइएको छ ।

यस्तो छ यात्रुका लागि ५३ बुँदे नियम तथा जानकारी

    नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय तपाईहरु सबैलाई नेपालमा स्वागत गर्दछ। कोरोना भाईरसका कारण उत्पन्न यस असहज परिस्थितिमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय तथा सम्पूर्ण नेपाली जनता तपाईहरुको साथमा रहेको अवगत गराउँदछौ।तपाईहरुलाई स्वस्थ र सुरक्षित रुपमा नेपाल लैजानका लागि बिषेश तालिम प्राप्त जहाजदलका सदस्य तथा स्वास्थ्य टोलि चीनको वुहान आएको छ।

    यहाँबाट तपाईलाई नेपाल सरकारले तयार गरेको सुरक्षित क्वारेन्टाईन स्थल खरिपाटीमा लगेर १४ देखि १७ दिन वा आवश्यकता अनुसार सो भन्दा बढी दिन राखिने छ। तपाँईहरुको यात्रा, स्वास्थ्य परीक्षण तथा क्वारेन्टाईनको बसाईलाई सकेसम्म सहज, ब्यवस्थित तथा स्वस्थ बनाउँनका लागि Hand Hygiene, Respiratory Hygiene जस्ता सुबिधालाई प्रभावकारीताका साथ ब्यबस्थित गरिएको छ।

    यस पर्चामा उल्लेख गरिएका सबै बुँदाहरुको तपाईहरुले पूर्ण पालना गर्नु पर्नेछ।

    तपाईहरुको ब्यक्तिगत कागजात तथा सामानहरुको उचित ब्यवस्थापन गरिएको छ। तपाईहरुको ब्यक्तिगत कागजात तथा सामानहरुमा एउटा बिषेश कोड नं. अंकित गरी गोपनियता कायम गरिएकोछ।

चीनको वुहान देखि काठमाण्डौ सम्मको उडानका अवधिमा ध्यान दिनुपर्ने बिषयहरु 

    जहाजमा रहदा चालकदलका सदस्य तथा स्वास्थ्यकर्मिले दिएको निर्देशन, सल्लाह, सुझाबको पूर्णरुपमा पालना गर्नुहोस।

    जहाजमा तोकिएको सिटमा बस्नुहोस।

    तपाँई तथा अन्य यात्रुहरुको स्वास्थ्य सूरक्षाका कारण जहाजको सम्पूर्ण उडान अवधिभर आफ्नो मोबाईल फोन पूर्णरुपमा स्विच अफ गर्नु पर्नैछ। “Aeroplane Mode” मा राख्ने मात्र होईन। स्वास्थ्य प्रयोजनका अलवा कुनै पनि बिध्युतिय सामाग्रीहरु प्रयोग गर्न पाईने छैन।

    काठमान्डौ बिमानस्थल नपुगे सम्मका लागि आवश्यक खाना तथा पानीको ब्यवस्था तपाईको सिटमा नै गरिएको छ। आवश्यकता अनुसार सुरक्षित किसिमले उपभोग गर्नुहोस।

    सम्पूर्ण उडान अवधिभर मास्क लगाई राख्नुहोस।

    यदि तपाईलाईज्वरो आउने, खोकि लाग्ने, श्वास-प्रश्वासमा अप्ठ्यारो हुने जस्ता लक्षणहरु भएमा जहाजदलका सद्स्य वा स्वास्थ्य टोलिका सदस्यलाई जानकारी गराउनुहोसर उहाँले दिएको सुझाबलाई पालना गर्नुहोस। आवश्यकता अनुसार तपाईलाईविमानकोतोकिएकोसिटमासार्न सकिनेछ।

    सामान्य यात्रुले सर्जिकल मास्क लगाउनु होस। यदि शंकास्पद लक्षण देखा परेको छ भने उक्त यात्रु र निजको सम्पर्कमा आएका ब्यक्तिहरूले एन्९५ मास्क प्रयोग गर्नुपर्नेछ l

    शौचालय जानु पर्दा आफ्नो सिटबाट उठ्नु भन्दा पहिला शौचालयमा अन्य कोहि ब्यक्ति छैन भन्ने यकिन गर्नुहोस। शंकास्पद बिरामी यात्रुहरुको लागि छुट्टै शौचालय व्यवस्था गरिएको छlयदि कुनै शंकास्पद लक्षण देखिएको भएमा तोकिएको शौचालय मात्र प्रयोग गर्नुहोस।

    आफ्नो स्वमुल्याङ्कंन फारम जहाजबाट झर्नु भन्दा आधा घण्टा अघि मात्र भर्नुहोस।

    आवस्यकताअनुसारजहाजदलका सदस्य तथा स्वास्थ्य टोलिका सदस्यले तपाईहरुको नियमितरुपमा अनुगमन तथा निरीक्षणगर्नेछनl

    काठमाण्डौ बिमानस्थालमा जहाजबाट उत्रनु भन्दा पहिला दिसा तथा पिसाब गरेर निस्कनुहोस।

    अन्य यात्रुहरूसँगकुराकानी गर्दा होशियारीअपनाउनुहोस।

    अर्को यात्रुको सम्पर्कमा आएपछि सावुनपानीलेराम्रोसँगहातधुनु होसवा ह्याण्ड स्यानीटाइजर प्रयोग गर्नुहोस।

    दुषित  तथा फोहोर भएका स्थानहरु मापदण्ड अनुसार तत्कालै सुरक्षित रुपमा सफा गरिनेछ।

    काठमाण्डौ बिमानस्थलमा जहाजबाट बाहिर जाँदा आफ्नो बोर्डिङ पास र भरिएको स्वमुल्याङ्कन फारम सँगै लिएर जानुहोस र स्क्रिनिङ डेस्कमा रहेको स्वास्थ्यकर्मिलाई बुझाउनुहोस।

काठमाण्डौ बिमानस्थलमा अवतरण पश्चात ध्यान दिनुपर्ने बिषयहरु

    जहाजबाट उत्रनु अगाडि धैर्यता र संयमता अपनाउनुहोस।
    संक्रमित भएको शंका लागेका यात्रुहरूलाई जहाजको पछाडिको ढोकाबाट बाहिर ल्याईनेछ भने संक्रमित नभएका यात्रुहरूलाई जहाजको अघिल्लो ढोकाबाट बाहिर ल्याईनेछ।
    जहाजबाट उत्रदा क्रमश करिब एकआपसमा १मिटरको दुरि कायम गर्नुहोस।
    जहाजबाट झरिसकेपछि स्क्रिनिङ्ग गर्नेठाउँमा एक-एक गरी जानुहोस।
    आँफुसँग भएको फोहर मैलाको झोला स्क्रिनिङ डेस्कमा रहेको बायोहजार्ड ब्यागमा लगेर राख्नुहोस।
    जहाज दलका सदस्य तथा स्वास्थ्यकर्मिले दिएको निर्देशन तथा सुझाबलाई पालना गर्नुहोस।

हेल्थ स्क्रिनिङ डेस्क 
    काठमाण्डौ बिमानस्थलमा पाँचवटा हेल्थ स्क्रिनिङ डेस्क रहेका छन ।
    प्रत्येक स्क्रिनिङ्ग टिममा तालिम प्राप्त मेडिकलअफिसर, नर्स/ प्यारामेडिक्सगरी २ जनाको समूह छन् l सबै स्क्रिनिङ्ग गर्ने सदस्यहरुले व्यक्तिगत सुरक्षा साधन (PPE)पहिरिएका हुनेछन।
    आफुले भरेको स्वघोषणा फारम लगेर स्क्रिनिङ्ग गर्ने स्थानमा तोकिएका कर्मचारीलाई बुझाउनुहोस।
    स्क्रिीनिङ्गको लागि इन्फ्रारेड थर्मामिटर (व्यक्तिलाई छुन नपर्ने थर्मोमिटर) को सहयोगमा शारीरिक तापक्रम मापन गरिनेछ lहेल्थ डेस्कमा एक जना कर्मचारीले ज्वरो नाप्ने र अर्को कर्मचारीले अन्य विवरणको अभिलेखिकरण गर्ने छन्। ती कर्मचारीहरुको निर्देशन तथा सुझाब मान्नुहोस र उहाहरुलाई सहयोग गर्नुहोस।

    संक्रामक रोगको आशंका गरिएका व्यक्तिहरुलाई तयारी अवस्थामा राखिएको एम्बुलेन्समा राखेर शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल वा पाटन अस्पताल वा शसस्त्र प्रहरी अस्पताल मध्ये कुनै एक अस्पतालको आइसोलेसन वार्डमा उपचारको लागि लगिनेछ।

    संक्रमण नभएका यात्रुहरुलाई तोकिएको बसमा राखेर क्वारेन्टाइनस्थान खरिपाटीमा लगिनेछ।

    आँफुसँग भएको फोहर मैलाको झोला स्क्रिनिङ डेस्कमा रहेको बायोहजार्ड ब्यागमा लगेर राख्नुहोस।

    तपाईहरुको सम्पूर्ण लगेजहरु सुरक्षित रुपमा बसमा राखेर क्वारेन्टाईन केन्द्रमा लगिनेछ। तपाईहरुले आफ्नो लगेज क्वारेन्टाईन केन्द्रमा पाउनुहुनेछ।

बिमानस्थल देखि क्वारेन्टाईन स्थल खरिपाटी सम्मको यात्रामा ध्यान दिनुपर्ने बिषयहरु

    तपाईहरुलाई बिमानस्थलबाट क्वारेन्टाईन केन्द्र खरिपाटी लैजान पाँच ओटा वातानुकुलित बसको व्यवस्था मिलाईएको छ।
    पालै पालो गरेर तोकिएको बसमा गएर बस्नुहोस।
    तपाईका सबै सामानहरु सुरक्षित रुपमा बसमा राखिनेछ।
    क्वारेन्टाईन स्थलमा पुग्नुपूर्व बीचबाटोमा बस कहि पनि रोकिने छैन।
    बीचबाटोमा कोही पनि बसबाटओर्लन पाईनेछैन।

क्वारेन्टाईन केन्द्र, खरिपाटीमा बसोबास गर्दा ध्यान दिनुपर्ने बिषयहरु

    भक्तपुर, खरीपाटीमा क्वारेन्टाईन केन्द्रको ब्यवस्था गरिएको छ।
    क्वारेन्टाईनमा लगभग ६० कोठाहरुमा उचित दुरिको फरकमा एक जना देखि तीन जना सम्मको सामूहिक बसोबासको ब्यवस्था गरिएको छ। लगभग ६ जनाले एक शौचालय प्रयोग गर्ने गरी ब्यवस्था गरिएकोछ।
    क्वारेन्टाईनमा रहदा तपाईको सुबिधाको लागि खाना, पानी, शौचालय, स्वास्थ्य उपचार, Infection Prevention and Control को सबै ब्यवस्थापन गरिएकोछ  ।

    स्वास्थ्य टोलि आवश्यकता अनुसार चौबिसै घण्टा सेवामा रहेनछन।

    विशेष स्वास्थ्य जाँचको लागि क्लिनिकको व्यवस्था गरिनेछ।
    व्यक्ति स्वंयमले स्व-जाँच गर्न मिल्ने थर्मोमिटरको माध्यमबाट प्रत्येक व्यक्तिले दिनको दुइपटक तापक्रम जाँचगरी तोकिएको ढाँचामा अभिलेख राख्नु पर्नेछ। हरेक व्यक्तिको ज्वरो नाप्न छुट्टाछुट्टै थर्मामिटर उपलब्धछन।

    हरेक व्यक्तिका लागि छुट्टछुट्टै मास्क, हेण्डस्यानीटाइजर आदि उपलब्ध छन।

    अन्य जाँच गर्ने सरसामाग्री जस्तै, इन्फ्रारेड थर्मोमिटर, स्व–जाँच गर्ने थर्मोमिटर, व्यक्तिगत सुरक्षाकवच, ज्वरोको अभिलेख राख्ने खाता, कुनै कुराआवश्यक परेमा माग गर्नको लागि र रोगको लक्षण देखिएमा तत्कालै जानकारी दिन र सम्पर्क गर्नको लागि ईमरजेन्सि फोन नम्बरआदिको उचित व्यवस्था गरिएकोछ।आवश्यकता अनुसार प्रयोग गर्नुहोस्।

    आवस्यकता अनुसार मानसिक स्वास्थ्य जाँच गर्ने तथा अन्य मनोसामाजिक परामर्शदिने व्यवस्था गरिएको छ। आफुलाई त्यस्तो कुनै समस्या भएमा तुरुन्तै स्वास्थ्य कर्मचारीलाई खबर गर्नुहोस्।

    आवश्यकता अनुसार मेडिकल वा अन्य सरसामाग्री सहज रुपमा उपलब्ध गराईनेछन।

    तपाईले नियमीत सेवन गरिरहेको औषधीहरू सकिएमा स्वास्थ्य कर्मचारीलाई समयमा नै जानकारी गराउनुहोस, तुरुन्तै उपलब्ध गराईनेछ।

    तपाईहरु सबैको प्रारम्भीक Throat Swab जाँच क्वारेन्टाईनमा पुगेको २४ घण्टा भित्र र अर्को जाँच १४ दिनमा गरिनेछ।

    क्वारेन्टाईन रहेका व्यक्तिहरूमा शंकास्पद लक्षण देखिएमा थप परीक्षण तथा उपचारका लागि शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल वा पाटन अस्पताल वा शसस्त्र प्रहरी अस्पतालमा अविलम्ब स्थानान्तरण गरिनेछ।
    क्वारेन्टाईनमा रहदा तपाईहरुले अभिभावकहरुसँग प्रत्यक्षरुपमा भेटघाट गर्न पाउनुहुने छैन।

    तपाँईहरुले त्यहाँ दिईएको हरेक नियम (Room rules, rest room rules, food rules, timing rules) हरुको पूर्णरुपमा पालना गर्नुपर्नेछ।

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै

कोरोनाको उपचारमा संलग्न १७१६ स्वास्थ्यकर्मी संक्रमित, नेपालसितको सीमानाकामा भारतले बढायो सतर्कता

चीनमा महामारी फैलाइरहेको कोरोना भाइरस डिजिज (कोभिड–१९) ले उपचारमा संलग्न स्वास्थ्यकर्मीलाई नराम्ररी आक्रमण गरेको छ । हालसम्म संक्रमितको उपचारमा संलग्न १ हजार ७ सय १६ स्वास्थ्यकर्मी स्वयंमा भाइरसको संक्रमण भइसकेको चिनियाँ अधिकारीले पुष्टि गरेका छन् । तीमध्ये अहिलेसम्म ६ चिकित्सकको मृत्यु पुष्टि भएको छ ।

संक्रमित १७१६ स्वास्थ्यकर्मीमध्ये १५०२ हुबेई प्रान्तका मात्र छन् । त्यसमा पनि भाइरसको उद्गमस्थल तथा सबैभन्दा प्रभावित क्षेत्र उहान सहरमा मात्र ११०२ स्वास्थ्यकर्मीमा भाइरसको संक्रमण भएको छ ।

चीनमा डेढ महिनादेखि फैलिएको नयाँ भाइरस कोभिड–१९ को संक्रमणबाट बिहीबारसम्म १४९१ ज्यान गुमाइसकेका छन् भने ६३ हजार ८ सय २७ जनामा संक्रमण पुष्टि भएको छ । शुक्रबारको आँकडा शनिबार बिहान सार्वजनिक हुनेछ । करिब ३० देशमा संक्रमण फैलिँदा चीनबाहिर हालसम्म फिलिपिन्स, हङकङ र जापानमा एक–एकजनाको भाइरसका कारण मृत्यु भएको छ ।

चीनले शुक्रबार पहिलोपटक कोभिड–१९ भाइरसबाट संक्रमित स्वास्थ्यकर्मीको आँकडा सार्वजनिक गरेको छ । सतर्कताका यथासम्भव उपाय अपनाएर उपचारमा संलग्न चिकित्सक तथा स्वास्थ्यकर्मी स्वयम् यति ठूलो संख्यामा भाइरसको सिकार बनेसँगै भाइरसको परीक्षण गर्ने र गराउने दुवैमा भय बढ्ने बताइएको छ ।
युनिभर्सिटी अफ हङकङका प्राध्यापक बेन्जमिन काउलिङले उपचार गर्ने चिकित्सकहरु नै भाइरसको चपेटामा आउनु आश्चर्यजनक भएको बताएका छन् । सतर्कता अपनाउनुका बाबजुद पनि मानिसबाट मानिसमा तीव्र गतिमा भाइरस संक्रमण हुनु निकै चिन्ताको विषय बनेको विशेषज्ञहरुको भनाइ छ ।

चीनले यो आँकडा सार्वजनिक गरेसँगै विश्वका अधिकांश देशले कोरोनाविरुद्ध सतर्कता बढाएका छन् ।

भारतले नेपालसितको सीमानाकामा बढायो सतर्कता, विमानस्थलबराबर सुरक्षा तथा सतर्कता अपनाउन निर्देशन
चीनले शुक्रबार कोरोना संक्रमित स्वास्थ्यकर्मीको चिन्ताजनक आँकडा सार्वजनिक गरेसँगै छिमेकी देश भारतले आफ्ना सीमानाकाहरुमा सुरक्षा सतर्कता बढाएको छ । भारतले नेपालसहित चीन र भुटानसितको सीमानाकामा तैनाथ आइटिबिपी र एसएसबी जवानलाई उच्च सावधानी अपनाउन निर्देशन दिएको छ ।

भारतको केन्द्रीय गृह मन्त्रालयले शुक्रबार नोटिफिकेसन जारी गर्दै बोर्डर चेकप्वाइन्टमा सन्दिग्ध व्यक्तिहरुको जाँचका लागि विमानस्थलबराबरको सुरक्षा व्यवस्था गर्न भनेको छ । यससँगै नेपाल–भारत आवत–जावत गर्ने व्यक्तिमा कडा निगरानी राखिनेछ ।

भारत सरकारले सीमानाकासँगै विमानस्थलहरुमा समेत भाइरसविरुद्धको सतर्कता बढाएको छ । डिजिसिएले विमानस्थल प्रशासनलाई चीनका अलावा जापान र दक्षिण कोरियाबाट आउने यात्रुको पनि जाँच सुरु गर्न निर्देशन दिएको छ ।

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै