केमोथेरापीले निम्त्याउने प्रतिकूल असर र तिनको सामना

केमोथेरापी के हो ?
केमोथेरापी भनेको विशेष प्रकारको औषधिद्वारा क्यान्सरको उपचार गर्ने प्रक्रिया हो । यसमा प्रयोग हुने औषधिहरूलाई केमोथेरापीका औषधि भन्ने गरिन्छ । केमोथेरापी क्यान्सरको प्रकृति हेरेर निर्धारण गरिन्छ । केही क्यान्सरमा रोगको निदान भएपछि केमोथेरापी सुरु गरिन्छ भने अरू क्यान्सरमा अपरेसनपछि अथवा रेडियसनसँगै र पछि दिइन्छ । केमोथेरापीको प्रकार बिरामीलाई चाहिने मात्रामा भरपर्छ । बिहान आएर केमोथेरापी लिएर बेलुका घर फर्किने केमोथेरापीलाई ‘डे केयर केमोथेरापी’ भन्छन् । भर्ना भएर लिने केमोथेरापीलाई ‘इनपेसेन्ट केमोथेरापी’ भनिन्छ ।

केमोथेरापी कसरी दिइन्छ ?
केमोथेरापी कि त खाने गोली औषधिमार्फत दिइन्छ, कि रगतका नसाबाट दिइन्छ । इन्जेक्सनबाट दिनुपर्ने खण्डमा वार्डमा नर्सले केमोथेरापी मिसाइएको सलाइन लगाइदिन्छन्, जसबाट औषधि जान्छ । औषधि कतिवटा र कहिलेसम्म लिनुपर्छ भन्ने कुरा आफ्नो डाक्टरलाई सोध्नुपर्छ । कुनै केमोथेरापी केही मिनेटमा सकिन्छ भने कुनै ३–४ दिनसम्म चलाउनुपर्छ । सबै केमोथेरापीका औषधि महँगा हुँदैनन्, केही महँगा औषधि पक्कै छन् । तर, कुन केमोथेरापीले सबैभन्दा फाइदा गर्छ, त्यसबारे सल्लाह गरेर मात्र उपचार सुरु गरिन्छ ।
केमोथेरापीका कारण विभिन्न प्रतिकूल असर देखिन सक्छन्, तर यी असर सबैलाई हुन्छ भन्नेचाहिँ होइन । यसमा बिरामीको उमेर, तौल, पोषणले फरक पार्छन् । आफूलाई हुन सक्ने असरबारे डाक्टरसँग सल्लाह गर्नुपर्ने हुन्छ ।

केमोथेरापीका प्रतिकूल असर के–के हुन् र कसरी सामना गर्ने ?

कमजोरी : केमोथेरापीपछि शरीरमा ताकत नभएजस्तो, कमजोरी हुने धेरैजनालाई हुन्छ । अलिअलि कसरत गर्नुहोस्, पोसिलो खाना खानुहोस् । आफूजस्तै अरू बिरामीसँग कुरा गर्नुहोस्, चिन्ता नगर्नुहोस्, केमोथेरापी सकिएपछि धेरै समस्या हराएर जान्छन् ।

वाकवाकी लाग्नु, उल्टी हुनु  : केमोथेरापीको प्रकृतिअनुसार कसैकसैलाई वाकवाकी लाग्ने, उल्टी हुने हुन सक्छ । यसलाई रोक्ने औषधि केमोथेरापी दिनुअघि नै दिइन्छ र केमोथेरापी लिएपछि केही दिनसम्म लिनुपर्छ ।

पखाला लाग्नु : कुनै–कुनै केमोथेरापीले पखाला लाग्न सक्छ । जीवनजल र झोल पदार्थ प्रशस्त पिउनुहोस्, धेरै भयो भने तुरुन्त अस्पताल जानुपर्छ ।

खाना खान मन नलाग्नु : केमोथेरापी लिइसकेपछि खानेकुरा खान रुचि हराउन सक्छ । त्यसो भयो भने थोरै थोरै गरेर पटक पटक खानुहोस , हल्का फुल्का खाने गर्नुहोुस , चिन्ता नगर्नुहोस, केमोथेरापी सकिए पछि खानाको रुची बढेर आउँछ ।

दुख्नु : सुई लगाएको ठाउँमा दुख्नु, पूरै शरीरमा दुखेजस्तो हुनु, झमझम हुनु केमोथेरापीका प्रतिकूल असर हुन् । यस्तो भयो भने आफ्नो डाक्टरसँग भन्नुहोस् ।

ज्वरो आउनु : केमोथेरापीका कारण शरीरको संक्रमणसँग लड्ने क्षमतामा कमी आउन सक्छ र यस्तो भयो भने ज्वरो आउँछ । केमोथेरापी लगाएपछि ज्वरो आयो भने तुरुन्त अस्पताल जानुपर्छ ।

रगतको कमी हुनु : केमोथेरापी लगाउनुअघि र लगाइसकेपछि रगत जँचाउनुपर्छ । केमोथेरापीले रगतको कमी गराउन सक्छ । रगतको कमी भएको खण्डमा रगत चढाउन पर्न सक्छ ।

छालामा समस्या : केमोथेरापी लगाउन सुई लगाएको ठाँउमा दागहरू देखिन सक्छन्, केमोथेरापी लगाएको रगतका नसा सुक्न सक्छन् । छाला सुक्खा हुन सक्छ, त्यसका लागि सामान्य क्रिम लगाउनुहोस् ।

यौन र प्रजनन केमोथेरापीका कारण कसैकसैलाई यौन चाहना घटेर जान्छ, महिलाको योनि सुक्खा भएर समस्या आउन सक्छ । अर्को कुरा के याद गर्नुपर्छ भने क्यान्सर सर्ने रोग होइन र यी सबै लक्षण अस्थायी हुन् । केही केमोथेरापीका औषधिले महिला र पुरुषको प्रजनन शक्ति घटेर जान्छ, जुन स्थायी वा अस्थायी हुन सक्छन् । केमोथेरापी लिइरहेका बिरामीले पनि यौनसम्पर्क राख्न सक्नुहुन्छ ।

कपाल झर्नु : केमोथेरापी लिइरहेकामध्ये कसैकसैको कपाल झर्न सक्छ । कसैको कपाल पातलो भएर जान्छ भने कसैको सबै कपाल झर्छ । केमोथेरापी सकिएपछि धेरैजसोको कपाल फेरि पलाउँछ । त्यसैले टोपी लगाउनुहोस्, सामान्य स्याम्पु प्रयोग गर्नुहोस्, अनि नरम ब्रसले कपाल कोर्नुहोस् । आजकल बजारमा नक्कली कपाल (विग) लगाउन सक्नुहुन्छ ।

(काठमाडौं क्यान्सर सेन्टर)

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै

क्यान्सरमा केमोथेरापीबारे जान्नैपर्ने कुरा

डा. कमलराज सोती

मानिसको शरीरमा अनियन्त्रित हिसाबले कोष तथा कोषिकाकोे संख्या बढ्नु क्यान्सर हो । यसरी अनियन्त्रित रूपमा बढेका कोषिकालाई नष्ट गर्न औषधि दिनुलाई केमोथेरापी भनिन्छ । केमोथेरापी विभिन्न तरिकाले दिने गरिन्छ । इन्जेक्सन तथा ट्याब्लेटको प्रयोग गरेर पनि दिन सकिन्छ । केमोथेरापी औषधिको प्रयोगबाट गरिने उपचार प्रविधि हो । वैज्ञानिक आधारमा पहिलेदेखि चलिआएको भनेको इन्जेक्सनबाट दिने केमोथेरापी हो ।

अहिले ट्याब्लेटबाट दिइने ‘टार्गेटेड एजेन्ट्स’ नामक नयाँ प्रविधि आएको छ । हर्माेन परिवर्तनका लागि दिइने केमोथेरापीलाई हर्माेनल एजेन्ट्स भनिन्छ । केमोथेरापीको क्षेत्रमा विकास भएका पछिल्ला प्रविधि ट्याब्लेटबाट दिइने टार्गेटेड एजेन्ट्स र इमिनोथेरापी हुन् ।

क्यान्सरको प्रकृति र केमोथेरापी
क्यान्सरको प्रकार तथा प्रकृति हेरेर केमोथेरापी दिने गरिन्छ । कुनै प्रकृतिको क्यान्सरलाई केमोथेरापीले एकदमै राम्रो प्रभाव पारी सुक्ने गर्छ । कुनै केमोथेरापीले सेकाउँदा राम्रो हुने प्रकृतिका क्यान्सर छन् भने कुनै–कुनैमा शल्यक्रिया नै पनि गराउनुपर्ने हुन्छ । क्यान्सरको प्रकृतिअनुसार केमोथेरापी दिने गरिन्छ । जस्तै, गिर्खाको क्यान्सर छ भने त्यसलाई केमोथेरापीले बढी काम गर्ने गर्छ । त्यस्तै, अण्डकोषको क्यान्सरमा केमोथेरापीले बढी नै काम गर्छ । त्यसैले क्यान्सररोग विशेषज्ञले यी क्यान्सरहरूमा सुरुको अवस्थादेखि नै केमोथेरापी दिने गर्छन् ।

स्टेजको हिसाबले पनि केमोथेरापी चाहिने या नचाहिने भनी छुट्याउने गरिन्छ । पहिलो स्टेजभन्दा पनि स्टेज बढ्दै जाँदा केमोथेरापीको आवश्यकता बढी पर्दै जान्छ । क्यान्सरको चौथो स्टेजमा केमोथेरापीको नै बढी प्रभाव हुन्छ ।
नेपालमा अन्यभन्दा फोक्सोका रोगीको संख्या बढ्दो छ । त्यसपश्चात् महिलामा हुने पाठेघरको क्यान्सर बढी मात्रामा छ । त्यसपश्चात् स्तनक्यान्सर, ठूलो आन्द्राको क्यान्सर रहेको छ भने अन्य विभिन्न अंगहरूको क्यान्सर पनि पाइएका छन् ।
फोक्सोको क्यान्सर भएमा इन्जेक्सनबाट पनि केमोथेरापी दिन सकिन्छ । यसका साथै ट्याब्लेटबाट तथा इमिनोथेरापीको माध्यमबाट पनि केमोथेरापी गराउन सकिन्छ । फोक्सोको क्यान्सर भएको चौथों अवस्थामा यस्तो प्रविधिको प्रयोग गर्न सकिन्छ ।

दोस्रोमा महिलालाई देखिने गरेको पाठेघरको मुखको क्यान्सरमा बढी मात्रामा सेकाइको भूमिका रहन्छ । तर, चौथो स्टेजमा गइसकेपश्चात् भने पाठेघरको मुखको क्यान्सरमा पनि केमोथेरापीको भूमिका धेरै हुने गर्छ । यस अवस्थामा इन्जेक्सनको सहायताले औषधि दिने गरिन्छ । त्यसैगरी स्तनक्यान्सरमा पनि स्टेज हेरेर उपचार हुने गर्छ । स्तन क्यान्सरमा सबैभन्दा पहिले शल्यक्रिया गरिन्छ । शल्यक्रियापश्चात् इन्जेक्सनबाट बिरामीलाई केमोथेरापी दिने गरिन्छ । यदि इन्जेक्सनबाट केमोथेरापी दिइसकेपश्चात् पनि सेकाइको जरुरत छ भने त्यो पनि गरिन्छ । यसको अन्तिम उपचारका रूपमा हर्माेनल औषधि दिने गरिन्छ । तसर्थ, स्तनक्यान्सरको उपचारमा इन्जेक्सनका साथसाथै हर्माेनल औषधिको समेत आवश्यकता पर्ने गर्छ ।

यो क्यान्सरको प्रकृतिमा निर्भर हुन्छ । कतिपयलाई एक साताको फरकमा केमोथेरापी दिनुपर्ने हुन्छ । त्यसैले केमोथेरापी ठ्याक्कै यति नै समयमा दिने भन्ने हुँदैन । क्यान्सरको प्रकृतिअनुसार यसको आवश्यकता निर्धारण हुन्छ । यो इन्जेक्सनको हकमा भयो ।

प्रविधि तथा उपकरण
केमोथेरापीका लागि खासै जटिल प्रविधिको प्रयोगचाहिँ गरिँदैन । यसमा कस्तो बिरामीलाई कस्तो प्रकारको केमोथेरापी दिने भन्ने निर्णय महत्वपूर्ण रहन्छ । कुन प्रकारको केमोथेरापीको असर तथा डोज के हुन्छ भन्ने कुराले यसमा अर्थ राख्छ । कति अवधिमा केमोथेरापी दिने, त्यसको फाइदा तथा बेफाइदा के हुन् भन्ने कुरा महत्वपूर्ण हुन्छन् ।

यसका लागि मेसिनको खासै आवश्यकता नपरे पनि मेसिन मिक्स गर्नका लागि एक प्रकारको ‘केमो क्याबिनेट’ नामक मेसिनको भने प्रयोग गरिन्छ, जसमा केमोथेरापीहरू मिक्स गर्ने गरिन्छ । त्यसको तयारीका क्रममा धुलोहरू आउने गर्छ, त्यसले केमोथेरापी बनाउने मान्छेको स्वास्थ्यमा केही असर भने गर्छ । क्यान्सरसम्बन्धी तालिमप्राप्त नर्सले यसरी तयार गरिएको केमोथेरापी दिने गर्छन् ।

एन्टिबायोटिकले जसरी कीटाणुलाई मार्ने गर्छ, त्यसरी नै केमोथेरापीले कोषिकाहरूलाई नष्ट गर्ने हो । तर, डोज बढी दिनुपर्ने, असरहरू बढी हुने, बारम्बार दिनुपर्ने भएको हुनाले यसमा डाक्टर तथा नर्सले बढी ध्यान दिनुपर्ने हुन्छ । यसमा बिरामीले डाक्टरको सल्लाहबमोजिम काम गर्नु एकदमै जरुरी छ ।

केमोथेरापी र समयको अन्तराल
यो क्यान्सरको प्रकृतिमा निर्भर हुन्छ । कतिपयलाई एक साताको फरकमा केमोथेरापी दिनुपर्ने हुन्छ । त्यसैले केमोथेरापी ठ्याक्कै यति नै समयमा दिने भन्ने हुँदैन । क्यान्सरको प्रकृतिअनुसार यसको आवश्यकता निर्धारण हुन्छ । यो इन्जेक्सनको हकमा भयो ।
त्यस्तै, ट्याब्लेटको कुरा गर्नुपर्दा कुनै–कुनै ट्याब्लेट दिनहुँ दिने गरिन्छ । त्यसले बिरामीमा पार्ने असरको अवस्था हेरी दिनहुँ दिने गरिन्छ । कतिपय अवस्थामा मासिक रूपमा ट्याब्लेट फरक पारेर पनि प्रयोग गर्ने गरिन्छ ।

केमोथेरापीको प्रयोग र प्रभावकारिता
यसको प्रयोग नितान्त डाक्टरको सीप तथा ज्ञानसँग जोडिएर आउने विषय हो । हालको सूचना–प्रविधिको जमानामा सबै प्रविधिको ज्ञान इन्टरनेटबाट पनि पाउन सकिन्छ । विशेषखालको दक्षता भएको डाक्टरले प्रविधिको बदलिँदो परिवेशसँग आफूलाई जोड्न सक्नुपर्छ । विश्वमा उपलब्ध केमोथेरापीका विकसित प्रविधिबारे अध्ययन गरेर त्यहीअनुरूप नेपालका बिरामीमा प्रयोग गर्न सकिन्छ ।

प्रविधिकै कुरा गर्नुपर्दा केमोथेरापीमा नेपालमा सबै प्रकारका प्रविधि उपलब्ध छन् । यदि कुनै चिजको अभाव भएमा हामीले विदेशबाट पनि त्यस्ता प्रविधि मगाउन सक्ने अवस्था छ । त्यसैले विश्वस्तरमा प्रयोग भइरहेको केमोथेरापी र नेपालमा उपलब्ध केमोथेरापीमा खासै अन्तर छैन । तर, त्यस्तो प्रविधिबारे डाक्टर जानकार भने हुनुपर्छ ।

पहुँच
नेपाल सरकारले विपन्न नागरिकका लागि भनेर केमोथेरापीका १ लाखको सहयोग गर्ने गरेको छ । त्यसबाहेक बिमाबाट पनि ५० हजार पाउने व्यवस्था छ । त्यसका साथै अन्य संघ–संस्थाहरूबाट पनि सहयोग मिलाउन सक्ने अवस्था छ ।
उपचारका क्रममा आउने बिरामीको आर्थिक अवस्था बुझेर पनि डाक्टरले विभिन्न प्रकारका उपचारका विकल्पहरू दिने गर्छन् । औषधिका प्रकार तथा त्यसका फाइदा–बेफाइदाबारे बिरामीलाई हामीले जानकारी दिने गर्छाैं ।
एकदमै विपन्न बिरामीको हकमा भने नेपाल सरकारले दिने गरेको १ लाख रुपैयाँ पर्याप्त छैन । त्यसका लागि हामी डाक्टरहरूले पनि आवाज उठाइरहेका छौँ ।

सस्तो प्रकारको इन्जेक्सन दिने हो भने क्यान्सरको प्रकृति हेरेर डेढ–दुई लाखमा पनि उपचार गराउन सकिन्छ । नयाँ–नयाँ ट्याब्लेट तथा प्रविधिको प्रयोग गर्ने हो भने कुनै ट्याब्लेटमा मासिक रूपमै ८० हजार खर्च हुने गर्छ । फोक्सोको क्यान्सरको कुरा गर्ने हो भने मासिक १० हजार पर्नेदेखि लिएर ८० हजार पर्ने नयाँ प्रविधिको ट्याब्लेट उपलब्ध छन् । तर, एक महिनामै बिरामी पूर्ण रूपमा निको त हुँदैन । जबसम्म रोग फैलिँरहन्छ, तबसम्म ट्याब्लेट दिइरहनुपर्ने हुन्छ ।

क्यान्सररोगीको हकमा अन्य रोगको जस्तो हुँदैन । यसमा हुने परीक्षणहरू महँगा हुन्छन् । भक्तपुर क्यान्सर अस्पतालले सेकाइको प्रविधि भर्खरै ल्याउन लागेको छ, जुन अस्पतालले १५ हजारमा दिने तयारी गरेको छ । तर, अन्य निजी अस्पतालको कुरा गर्नुपर्दा यस प्रविधिको प्रयोगमा २ लाख रुपैयाँसम्म लाग्न सक्छ । त्यसैले, यस्ता जटिल रोगका सम्बन्धमा सरकारी अस्पतालहरूमा सरकारको ध्यान जानु आवश्यक छ । सरकारी अस्पतालहरूमा सरकारको लगानी बढ्नु अत्यावश्यक छ ।
दोस्रो कुरा, बिरामीको अवस्था हेरेर सरकारले सम्बन्धित विशेषज्ञ टोलीको सल्लाहअनुसार बिरामीलाई गर्ने आर्थिक सहयोगको निर्णय गर्नुपर्ने हुन्छ । विदेशमा बिरामीको उपचारका लागि कस्तो औषधिको आवश्यकता छ भनी सरकारलाई डाक्टरहरूको समूहले सल्लाह दिने गर्छ । त्यसैअनुसार बिरामीले आर्थिक सहायता पाउने गर्छन् । नेपालमा पनि त्यस्तै व्यवस्था ल्याउनु आवश्यक छ ।

साना बच्चाहरूमा क्यान्सरको उपचार भएको छ भने ९० देखि ९५ प्रतिशतमा क्यान्सर पूर्ण रूपमा निको हुन सक्छ । तर, केमोथेरापी तथा उपचारपश्चात् दीर्घकालीन रूपमा बच्चाको स्वास्थ्यमा विभिन्न समस्या भने देखापर्न सक्छन् ।

प्रभावकारीता
यो क्यान्सरको प्रकृति तथा स्टेजमा निर्भर रहन्छ । जस्तै, पहिलो स्टेजको अण्डकोषको क्यान्सर छ भने करिब ९८ प्रतिशत उपचार सफल हुन सक्छ । त्यस्तै, गिर्खाहरूको क्यान्सर भएको छ भने करिब ८५ प्रतिशत उपचार सफल हुन्छ ।
त्यस्तै, पहिलो स्टेजका सबै प्रकारका क्यान्सरका बिरामी केमोथेरापीको माध्यमबाट पहिलेकै अवस्थामा आउन सक्ने सम्भावना अधिक हुन्छ । स्टेज बढ्दै जाँदा क्यान्सर फर्किने अवस्था पनि बढ्दै जान्छ । त्यसैले पहिलो स्टेजको क्यान्सरलाई क्युरेटिभ भन्ने गरिन्छ भने तेस्रो, चौथो स्टेजको क्यान्सरलाई हामी प्यालोटी भन्छौँ । प्यालोटी भनेको पूरा निको हुन नसक्ने अवस्था हो । यस्तो अवस्थामा बिरामीको अवस्था बिग्रन नदिनका लागि उपचार गरिन्छ । यस अवस्थामा क्यान्सर निको पार्नतिर भने कम ध्यान दिने गरिन्छ ।

‘कन्ड्रोसारकोमा’ नामक क्यान्सर, जुन हड्डीमा हुने क्यान्सर हो, यसमा केमोथेरापीको प्रभाव ज्यादै नै न्यून हुन्छ । यसमा सेकाइले पनि काम गर्दैन । यस्तो प्रकारको क्यान्सरमा सर्जरीकै आवश्यकता पर्छ । कुनै वेला यस्तो क्यान्सरमा सर्जरी गर्न नमिल्ने अवस्था आयो भने बिरामीलाई डाक्टरले उपचारमा अन्य सहयोग गर्न सक्दैनन् । यस्तोमा दुखाइ कम गर्ने औषधिको प्रयोगबाहेक विकल्प रहँदैन ।

उपचारपछिको अवस्था
यो भनेको कस्तो प्रकारको उपचार गरिएको छ भन्ने कुरामा निर्भर रहन्छ । यदि घाँटीको सर्जरी गरिएको हो भने बिरामी पहिलेकै अवस्थामा नआउन पनि सक्छ । उसको बोली बन्द हुन सक्ने अवस्था पनि आउन सक्छ । तर, सामान्य काम भने उसले गर्न सक्छ । त्यस्तै, अन्य क्यान्सर, जस्तै, फोक्सोको क्यान्सर पहिलो वा दोस्रो स्टेजमा छ भने औषधिको प्रयोगले निश्चित समयपश्चात् बिरामी पहिलेकै अवस्थामा आउन सक्छ । तर, अधिकांश क्यान्सरको उपचारपश्चात् पनि बिरामीले डाक्टरको निगरानीमा बस्न जरुरी हुन्छ । किनभने क्यान्सर लागिसकेपछि दीर्घकालीन रूपमा विभिन्न स्वास्थ्य समस्या देखापर्न सक्छन् । जस्तै, साना बच्चाहरूमा क्यान्सरको उपचार भएको छ भने ९० देखि ९५ प्रतिशतमा क्यान्सर पूर्ण रूपमा निको हुन सक्छ । तर, केमोथेरापी तथा उपचारपश्चात् दीर्घकालीन रूपमा बच्चाको स्वास्थ्यमा विभिन्न समस्या भने देखापर्न सक्छन् ।

केमोथेरापीको असर
अधिकांश केमोथेरापीका असर भनेका रगत कम गर्नु, सामान्य कोषहरू मार्नु, कोषिकाहरू मार्नु, रगत कम गर्नुको अर्थ रोगसँग लड्न सक्ने क्षमतामा कमी आउनु हुन् । यसका कारण निमोनियादेखि लिएर पिसाबका संक्रमणहरू हुने गर्छन् । क्यान्सरको प्रकृति हेरेर कुनै–कुनै क्यान्सरका कारण मुटुमा समेत प्रभाव पर्न सक्छ । रगत कम भएका कारण कुनै केमोथेरापीपश्चात् नाक तथा गिजाबाट रगत बग्नेजस्ता समस्याहरू देखापर्ने गर्छन् । कसै–कसैमा कपाल झर्ने समस्या पनि आउन सक्छ ।
केमोथेरापीका क्रममा बिरामीले सफा तथा स्वच्छकर खानेकुरा खानुपर्ने हुन्छ । फलफूल खाँदा बाहिरको बोक्रा राम्रोसँग फालेर खानुपर्ने हुन्छ । राम्रोसँग पाकेको खानेकुरा मात्र खानुपर्ने हुन्छ । खानेकुरा तथा सरसफाइमा विशेष ध्यान दिनुपर्ने हुन्छ । भर्ना गरेर राखेको बिरामी छ भने त्यस्ता बिरामीलाई बढी मान्छेसँग भेटघाट गर्न दिनुभएन । भेट्न आएका मानिसमा भएका रुघाखोकीजस्ता भाइरसहरू बिरामीमा सर्ने हुन्छ । भिडभाडमा यात्रा नगर्नु राम्रो हुन्छ । पोसिलो खानेकुरा धेरै खानुपर्ने हुन्छ । बिरामीले प्रशस्त मात्रामा पानी पिउनुपर्ने हुन्छ ।

(भक्तपुर क्यान्सर अस्पतालका मेडिकल अंकोलोजिस्ट डा. सोतीसँग हेल्थपोस्टका लागि लक्ष्मी चौलागाईंले गरेको कुराकानीमा आधारित)

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै