प्रधानमन्त्रीको स्वास्थ्य सुधार उन्मुख : सल्लाहकार थापा

प्रधानमन्त्रीका सल्लाहकार सूर्य थापाले प्रधानमन्त्री केपी ओलीको स्वास्थ्य अवस्था सुधारउन्मुख रहेको बताएका छन् । थापाले आफू विहानैदेखि अस्पतालमै रहेको र चिकित्सकहरुको अपडेट लिइरहेको भन्दै ओलीको स्वास्थ्य स्थिर रहेको बताए ।

उनले प्रमको स्वास्थ्य अवस्थाबारे कुनै तथ्य पनि नलुकाइएको समेत स्पष्ट पारे । ‘उहाँ (प्रम) होसमै हुनुहुन्छ, डाक्टरहरुसँग कुरा गरिरहनुभएकै छ’ थापाले भने, ‘अस्पतालले जारी गरेको विज्ञाप्तिमा पनि स्टेवल भनिएको छ, त्यो भनेको सुधारउन्मुख हो भनेर डाक्टरहरुले नै भनिरहनु भएको छ’ ।

चिकित्सा विज्ञानमा शरीरका मुख्य सूचकहरु नघटिरहेको अवस्थालाई स्टेवल भनिन्छ । सोमबार रातिदेखि पेट दुखेपछि ओलीलाई परीक्षणका लागि मनमोहन कार्डियोथोरासिस एवं ट्रान्सप्लान्ट सेन्टर पुर्याइएको थियो । परीक्षण गर्दा एपेन्डिसाइटिस देखिएपछि तत्काल शल्यक्रिया गरिएको थियो । शल्यक्रियापछि ओली आइसियुमा उपचाररत छन् । अहिले पेटमा फैलिएको संक्रमण नियन्त्रणका लागि उपचार जारी छ ।

ओलीको पेटमा फैलिएको संक्रमण नियन्त्रण गर्न औषधि दिइरहिएको छ । श्वासप्रश्वासमा कठिनाई उत्पन्न नहोस् भन्नका लागि इलेक्टिभ भेन्टिलेटरमा समेत राखिएको छ । अस्पतालले पनि साँझ ७ः३० मा प्रेस विज्ञाप्ति जारीगरि प्रधानमन्त्रीको स्वास्थ्य स्थिर रहेको जनाएको छ ।

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै

प्रधानमन्त्रीले गरे बुटवल मेडिकल कलेज कार्यालय उद्घाटन

प्रधानमन्त्री केपी शर्मा ओलीले बुटवल मेडिकल कलेजको पूर्वाधार विकास आयोजना कार्यालय उद्घाटन गरेका छन् । रूपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर ७ र ८ मा स्थापना हुने बुटवल मेडिकल कलेजको काम अगाडि बढाउन वडा नम्बर १ नयाँमिलमा कार्यालय स्थापना गरिएको हो ।

कार्यालयको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले सरकारी मेडिकल कलेज ठूलो आयोजना भएको बताए । ‘यो ठूलो योजनालाई सफल बनाउन सबैको सहयोग आवश्यक छ,’ प्रधानमन्त्री ओलीले भने । रूपन्देहीमा बन्न लागेको प्रदेशस्तरीय मेडिकल कलेज समयमै बन्ने विश्वास व्यक्त गर्दै उनले अब मुलुकले राम्रो अस्पताल, राम्रा डाक्टर, साधनस्रोतसम्पन्न अस्पताल, सक्षम, अनुभवी र दक्ष प्राध्यापकहरू चाहेको बताए ।

मन्तव्यका क्रममा मानव स्वास्थ्यको चर्चा गर्दै प्रधानमन्त्री ओलीले थकाइ मर्ने गरी आराम गर्न र भोक लाग्ने गरी काम र व्यायाम गरे लामो समय बाँचिने बताए । ‘मान्छे जति कम सुत्छ, उति छिटो मर्छ,’ प्रधानमन्त्री ओलीले भने, ‘थकाइ मर्ने गरी आराम र भोक लाग्ने गरी काम र व्यायाम गर्नु जरुरी छ ।’ दूषित पानी, पोषणयुक्त खानाको अभाव र असन्तुलित खानाले कुपोषण बढेको उनले बताए । स्वस्थ रहन स्वस्थ आहार–विहार आवश्यक हुने हुँदा स्वस्थ आहार–विहारलाई दैनिक जीवनको अंग बनाउन उनले आग्रह गरे ।

नेकपाका महासचिव विष्णु पौडेलले केपी ओली प्रधानमन्त्री र आफू अर्थमन्त्री रहेका वेला सातवटै प्रदेशमा मेडिकल कलेज स्थापना गर्ने घोषणा गरेको र सोही नीतिअनुसार काम अघि बढेको बताए । तिलोत्तमा नगरपालिकाका प्रमुख वासुदेव घिमिरेले मेडिकल कलेजका लागि २ सय बिघा (२६ सय रोपनी) जमिनको व्यवस्थापन गरिसकेको बताए ।

‘मान्छे जति कम सुत्छ, उति छिटो मर्छ,’ प्रधानमन्त्री ओलीले भने, ‘थकाइ मर्ने गरी आराम र भोक लाग्ने गरी काम र व्यायाम गर्नु जरुरी छ ।’ दूषित पानी, पोषणयुक्त खानाको अभाव र असन्तुलित खानाले कुपोषण बढेको उनले बताए । स्वस्थ रहन स्वस्थ आहार–विहार आवश्यक हुने हुँदा स्वस्थ आहार–विहारलाई दैनिक जीवनको अंग बनाउन उनले आग्रह गरे ।

हाल मासिक ३५ हजार रूपैयाँ भाडा तिर्ने गरी स्थापना भएको आयोजना कार्यालयमा आयोजना प्रमुखसहित उपसचिव, शाखाअधिकृत, इन्जिनियर, लेखाअधिकृत, सवारीचालक र कार्यालय सहयोगीसहित सातजना कर्मचारीको दरबन्दी रहेको उपसचिव घिमिरेले बताए । आयोजनाले मेडिकल कलेज स्थापनाका लागि इआइए, गुरुयोजना निर्माण, जग्गाप्राप्तिलगायत काम गर्नेछ ।

घिमिरेका अनुसार संघीय सरकारले चालू आर्थिक वर्षको बजेटमा तिलोत्तमा, बर्दिवास र सुर्खेतमा गरी तीनवटा मेडिकल कलेज स्थापनाका लागि एकमुष्ट ३० करोड रूपैयाँ विनियोजन गरेको छ । कम्तीमा ३ सय शय्याको अस्पताल बनाएर तीन वर्षसम्म सञ्चालन गरेपछि मात्र मेडिकल कलेजले एमबिबिएस तहका विद्यार्थी भर्ना गर्न पाउने प्रावधान छ । योजनाअनुसार मेडिकल कलेज त्रिभुवन विश्वविद्यालयको आंगिक कलेजका रूपमा स्थापना हुनेछ । त्यसका लागि करिब १० अर्ब खर्च हुने पूर्वानुमान गरिएको छ ।

नेपाल सरकारले मन्त्रीस्तरीय निर्णयबाट २७ असार ०७३ मा प्रा.डा. सरोज ओझाको संयोजकत्वमा ८ सदस्यीय मेडिकल कलेज प्रारम्भिक अध्ययन समिति गठन गरेको थियो । उक्त समितिले दुई महिनाको अध्ययनपश्चात् मेडिकल कलेज स्थापनाका लागि सिफारिस गरेको थियो ।
कार्यालय उद्घाटनपछि प्रतिक्रिया दिँदै अध्ययन समितिका एक सदस्य इन्जिनियर दुर्जेन्द्र बस्नेतले अन्योलका बीच भएको कार्यालय उद्घाटनले काम अघि बढ्ने र समयमै सम्पन्न हुने कुरामा विश्वास लिएको बताए ।

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै

प्रधानमन्त्री अाेली अस्पताल भर्ना

प्रधानमन्त्री केपी शर्मा ओली नियमित स्वास्थ्य जाँचका लागि महराजगञ्जस्थित मनमोहन कार्डियो थोरासिस एण्ड ट्रान्सप्लान्ट सेन्टरमा भर्ना भएका छन् । नियमित जाँचका लागि बैंकक जाने गरेको ओली यसपटक नभ्याएका कारण परीक्षणका लागि अस्पताल भर्ना गरिएको चिकित्सकहरुले बताएका छन् ।

नियमित भनिएपनि आकस्मिक रुपमा तय भएको परीक्षण योजनासँगै प्रधानमन्त्रीका निर्धारित सबै कार्यक्रम स्थगित गरिएको छ ।
प्रधानमन्त्रीकी निजी चिकित्सक डा. दिब्यासिंह शाहका अनुसार विहान १० बजे भर्ना गरेर सबै परीक्षण भइरहेको छ । अस्पतालका अनुसार रतग, दिशा, पिसाबका परीक्षणसँगै इसिजीलगायतका परीक्षण भइरहेको छ । रिपोर्ट आएसँगै सकेसम्म बुधबार र नभ्याए विहीबार डिस्चार्ज गरिने अस्पतालले जनाएको छ ।

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै

अस्पतालको बेडबाटै ओलीले डा. केसीलाई भने– अब चिकित्साशिक्षा विधेयक पारित गर्छु

फाइल तस्बिर

त्रिवि शिक्षण अस्पतालको मनमोहन कार्डियोथोरासिस एन्ड ट्रान्सप्लान्ट सेन्टरमा २ दिनदेखि उपचाररत प्रधानमन्त्री केपी शर्मा ओलीले अस्पतालकै बेडबाट चिकित्साशिक्षा सुधार अभियन्ता डा. गोविन्द केसीलाई संसद्को आगामी अधिवेशनबाट चिकित्साशिक्षा विधेयक पारित गर्ने वचन दिएका छन् ।

ओलीको स्वास्थ्यलाभको कामना गर्न बुधबार राति ९ बजे अस्पताल पुगेका डा. केसीलाई ओलीले आफू निको हुनासाथ बालुवाटार बोलाएर छलफल गर्नेसमेत वचन दिएका छन् ।

सुरुमै केसीले अभिवादन गर्दै ‘म अरू कुरा गर्न आएको होइन, तपाईंको स्वास्थ्यलाभको कामना गर्छु’ भनेका थिए । जवाफमा ओलीले ‘केहीबेर कुरा गरौँ न’ भन्दै आफ्नो उपचारको प्रसंग निकालेका थिए । ‘डाक्टरहरूको उपचारबाट म सन्तुष्ट छु,’ प्रधानमन्त्री ओलीले भने, ‘डा. दिव्या नेतृत्वको टिमले नै मलाई बचाइरहेको छ ।’ त्यसको जवाफमा केसीले समेत आफूलाई पनि पहिलो अनशनदेखि नै डा. दिव्याकै टिमले बचाएको जवाफ दिएका थिए ।

त्यसपछि दुईबीच ‘हाम्रा फिजिसियन एउटै रहेछन्’ भन्दै ठट्टा चलेको थियो । सोलगत्तै ओलीले गत अधिवेशनबाट चिकित्साशिक्षा विधेयक पारित गर्न नभ्याएकोमा दुखेसो गर्दै आगामी अधिवेशनबाट पारित गर्ने वचन दिएको भेटमा सँगै रहेका डा. केसीका सहयोगी डा. अभिषेक सिंहले हेल्थपोस्टलाई जानकारी दिए । तत्पश्चात् केसीले ‘अब धेरै कुरा नगरौँ, तपाईं आराम गर्नुहोस्’ भन्दै बिदा मागेका थिए ।

 

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै

प्रधानमन्त्रीको श्वासप्रश्वास मार्गमा ‘ब्याक्टेरियल इन्फेक्सन’, स्वाइन फ्लु ‘नेगेटिभ’

रुघाखोकी, ज्वरो र श्वासप्रश्वासमा संक्रमणपछि मनमोहन कार्डियोथोरासिस, भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टर भर्ना गरिएका प्रधानमन्त्री केपी ओलीको श्वासमार्गको संक्रमण (रेस्पिरेटोरी ट्र्याक इन्फेक्सन) नै प्रमुख समस्या भएको पाइएको छ ।  ११ वर्षअघि मिर्गौला प्रत्यारोपण गराएका ओलीमा अन्य संक्रमणको आशंकामा परीक्षण गर्दा श्वासनलीमा ब्याक्टेरियाको संक्रमण देखिएको छ । रुघाखोकी लाग्दा संक्रमण सर्दै गएर श्वासप्रश्वासमार्गमा पुगेर यस्तो संक्रमण हुने गर्छ । संक्रमण फोक्सोमा नपुगेको र निमोनियासमेत नभएको प्रधानमन्त्रीकी चिकित्सक डा. दिव्या सिंह शाहले बताइन् ।

चिकित्सकका अनुसार यस्तो संक्रमण घटाउन चलाइएको औषधिकै कारण सुगर असन्तुलित भएको थियो । ‘पहिल्यैदेखि नै उहाँमा सुगर छ, त्यसमाथि यो औषधिले पनि सुगर बढाउँछ,’ डा. शाहले भनिन्, ‘सुगर नियन्त्रणमा ल्याउन पनि अस्पताल भर्ना गर्नुपरेको हो ।’ प्रधानमन्त्री ओलीको मिर्गौला, मुटुलगायत महत्वपूर्ण अंगमा अहिले कुनै समस्या नभएको डा. शाहले बताइन् ।

‘स्वाइन फ्लु’ भनेर चिनिने मौसमी रुघाखोकी एच१एन१को आशंकामा गरिएको घाँटीको नमुना (थ्रोट स्वाब)को परीक्षणसमेत नेगेटिभ देखिएको छ । चिकित्सकले दसैँमा धेरैसँग भेटघाट गर्दा नै यस्तो संक्रमण भएको हुन सक्ने आशंका गरेका छन् । ‘श्वासप्रश्वासमा समस्या भएको र टीका लगाउँदा धेरै भेटघाट भएकाले पनि ‘स्वाइन फ्लु’ भयो कि भन्ने आशंका थियो,’ उपचारमा संलग्न एक चिकित्सकले भने, ‘तर, राष्ट्रिय प्रयोगशालामा द्रुत परीक्षण गर्दा नेगेटिभ आयो ।’

डा. शाहका अनुसार बिहान अस्पताल भर्ना गर्दाको तुलनामा उनको स्वास्थ्यमा धेरै सुधार आइसकेको छ । अहिले कहिले–कहिले मात्रै अक्सिजन दिनुपरेको छ । ओलीलाई चिकित्सकहरुले थप संक्रमणबाट जोगाउन अस्पतालमै राखेर औषधिको पूर्ण डोज चलाउने योजना बनाएका छन् । जसका लागि कम्तीमा थप ३ दिन अस्पताल राख्नुपर्ने बताइएको छ । यसैबीच अस्पतालले साँझ विज्ञप्ति जारी गरी पछिल्लो अवस्था सुधारोन्मुख देखिएको जनाएको छ । प्रधानमन्त्री ओलीको उपचारमा डा. अरुण सायमीको नेतृत्वमा मिर्गौला प्रत्यारोपण फिजिसियन डा. दिव्या सिंह शाह, छातीरोग विशेषज्ञ डा. सन्तकुमार दास संलग्न छन् ।

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै

प्रधानमन्त्रीलाई छातीको संक्रमण


प्रधानमन्त्री केपी शर्मा ओलीलाई छातीको संक्रमण भएको चिकित्सकले जनाएका छन् । उपचारमा संलग्न डा. अरुण सायमीका अनुसार उनलाई लोअरबेस डिस्ट्राक्ट इन्फेक्सन भएको छ । ओलीको शरीरमा चिनीको मात्रासमेत असन्तुलित देखिएको छ । उनलाई आज बिहान ४ बजे मनमोहन कार्डियोथोरासिस एण्ड ट्रान्सप्लान्ट सेन्टरमा भर्ना गरिएको थियो । उनको उपचारमा डा. अरुण सायमी, डा. सन्तकुमार दास संलग्न छन् । उपचाररत प्रधानमन्त्रीलाई भेट्न अस्पतालमा पार्टी नेता, कार्यकर्ता, घुँइचो लागेको छ । ओलीलाई सरकारका केही मन्त्री र नेकपाका वरिष्ठ नेताहरुलाई मात्र भेट गर्न दिइएको छ । ३ दिनदेखि मौसमी रुखाघोकी र ज्वरो देखिएपछि उनी घरमै आराम गरेर बसिरहेका थिए । अस्पतालले विज्ञप्ति मार्फत् प्रधानमन्त्रीको स्वास्थ्यमा क्रमिक सुधार देखिएको र अन्य स्वास्थ्यस्थिति सामान्य रहेको जनाएको छ ।

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै

प्रधानमन्त्रीको ज्वरो घट्यो

केही दिनदेखि अस्वस्थ प्रधानमन्त्री केपी ओलीको स्वास्थ्यमा सुधार आएको छ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन अर्यालले आजै विज्ञाप्तिमार्फत मौसमी रुघाखोकी र हल्का ज्वरोबाट अस्वस्थ भएका प्रधानमन्त्रीको स्वास्थ्यमा क्रमिक सुधार आएको जनाएका छन् । यद्यपि सार्वजनिक कार्यक्रममा भने स्वास्थ्यमा पूर्ण सुधारपछि मात्रै सहभागी हुने विज्ञप्तिमा उल्लेख छ ।

उनले अस्वस्थताका कारण २ दिनदेखि नियमित भेटघाट तथा बैठकबाट टाढा रहेर निवासमै आराम गरिरहेको समेत जनाएका छन् । अर्यालका अनुसार पछिल्लो समयमा ज्वरो नियन्त्रणमा आई स्वास्थ्यमा क्रमिक सुधार आएको भन्दै शुक्रबार स्थगित भएको मन्त्रिपरिषद् बैठक आइतबार तीन बजे बालुवाटारमा बस्दै छ । संभवत आजै बस्ने मन्त्रिपरिषद् बैठकले नयाँ स्वास्थ्य सचिवको टुंगो लगाउनेछ । यसअघि सरकारले स्वास्थ्य सचिव डा.पुष्पा चौधरीलाई प्रधानमन्त्री कार्यालयको अतिरिक्त समूहमा सरुवा गरेको थियो ।

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै

कति छाती पोलिरहेछ भन्ने त मलाई मात्र थाहा छ

प्रधानमन्त्रीज्यू, सर्वप्रथम यहाँलाई धेरै धेरै धन्यवाद ! २७ दिन लाग्यो तपाईंलाई कुरा बुझाउन । तर, ढिलै भए पनि तपाईं हामीले उठाउँदै आएका मुद्दामा सकारात्मक हुनुभएको छ । यसपटक त झन् मलाई जुस पिलाउन सुवास नेम्वाङ र विष्णु पौडेल पनि आउनुभएको थियो । तसर्थ म यसपटक धेरै नै आशावादी छु । त्यसलाई मैले यो हाम्रो समग्र अभियानलाई नै तपाईंले ‘ओन’ गर्नु भएको रूपमा बुझेको छु ।

तर, यति हुँदा–हुँदै पनि एउटा कुरा स्मरण गराउन चाहेँ । मैले आठौँ अनशन सुरु गर्नुअघि पनि तपाईंलाई भेटेर हाम्रो अभियानबारे सम्पूर्ण कुरा बताएको थिएँ । तर, कहीँ–कतैबाट पनि सुनुवाइ नभएपछि मैले अनशन बस्नुपरेको थियो ।
यति मात्र होइन, तपाईंसमेत गरी मैलै यसै बैठककक्षमा नेपालका ६ जना प्रधानमन्त्रीसँग भेट गरिसकेको छु । सबैजनाले मसँग उसैगरी माग पूरा गरिदिने प्रतिबद्धता पनि जनाउनुभएको छ । तर, मैले पटक–पटक धोका पाइसकेको छु ।

मुगु र डोल्पा हुन् सबैभन्दा कम गएका, त्यो पनि तीन–तीनपटक । अन्त त म धेरैपटक गएँ । दुर्गम पहाडी जिल्लामा जन्मिए पनि दक्षिण एसियाको सुविधासम्पन्न अस्पतालबाट चिकित्सकीय पढाइ सम्पन्न गर्ने मौका पाएँ । युरोप र अस्ट्रेलियामा गएर आफ्नो सीप तिखार्ने मौका पाएँ ।

तपाईंसँग समय छ भने प्रधानमन्त्रीज्यू, आज म तपाईंलाई बताउँछु, किन म यसरी पटक–पटक अनशन बसिरहेछु । रहरले वा लहडले म अनशन बसेको होइन प्रधानमन्त्रीज्यू, कति छाती पोलिरहेछ भन्ने कुरा त मलाई मात्र थाहा छ ।
नेपालमा कुनै पनि जिल्ला छैनन् जहाँ म तीनपटकभन्दा कम गएको छु । मुगु र डोल्पा हुन् सबैभन्दा कम गएका, त्यो पनि तीन–तीनपटक । अन्त त म धेरैपटक गएँ । दुर्गम पहाडी जिल्लामा जन्मिए पनि दक्षिण एसियाको सुविधासम्पन्न अस्पतालबाट चिकित्सकीय पढाइ सम्पन्न गर्ने मौका पाएँ । युरोप र अस्ट्रेलियामा गएर आफ्नो सीप तिखार्ने मौका पाएँ ।
तसर्थ विश्वका विकसित भनिएका देशमा के हुन्छन् र हाम्रो देशको सहर–बजारदेखि कुना–कन्दरासम्म स्वास्थ्य क्षेत्रमा के हुन्छ, मैले नजिकबाट देख्ने मौका पाएको छु ।
मौका मिलेसम्म म देशका विभिन्न ठाउँ डुलेर त्यहाँका बिरामीको सेवा गर्ने प्रयास गर्छु । गाउँ–गाउँ पुगेर त्यहाँका स्वास्थ्यकर्मीलाई आफूले जानेका सीप सिकाउने प्रयास गर्छु । तर, प्रधानमन्त्रीज्यू अञ्जुलीमा भरेर लगेको पानीले कति नै जनाको तिर्खा मेट्न सकिँदोरहेछ र ! हो, यसै कुराले हो मलाई सबैभन्दा बढी पोल्ने ।
सन् २०१२ को युनिसेफको तथ्यांकअनुसार नेपालमा प्रत्येक वर्ष ५ वर्षमुनिका २४ हजारभन्दा बढी बालबालिकाले अकालमै ज्यान गुमाइरहेका छन् । हरेक ४ देखि ६ घण्टाको बीचमा एकजना सुत्केरी महिलाको मृत्यु हुन्छ र सबैभन्दा महत्वपूर्ण कुरा त यी सबै घटना देशका ग्रामीण भेगमा घटिरहेका छन्, जहाँ कुल जनसंख्याको ८० प्रतिशत मानिसको बसोवास छ ।

यता, २० प्रतिशत जनसंख्या मात्र सहर–बजारमा बस्छन्, जसका लागि भने अनेकन सुविधासम्पन्न अस्पताल खुलेका छन् । यति हुँदाहुँदै पनि तिनै सहर–बजारका मध्य र निम्नवर्गीय जनतासमेत गुणस्तरीय र सर्वसुलभ स्वास्थ्य सेवाबाट वञ्चित हुँदै आएका छन् ।
हामी यतिन्जेल लड्दै आएको तिनै ग्रामीण भेगमा बस्ने मध्य र निम्नवर्गीय जनताका लागि हो । स्वास्थ्य क्षेत्र सेवामूलक हुनुप¥यो र देशैभरि तिनको न्यायोचित वितरण हुनुप¥यो भन्नका लागि हो ।
हरेक सरकारले स्वास्थ्य क्षेत्रमा छुट्याएको बजेटलाई खर्चका रूपमा लिँदै आएको छ । तर, त्यो खर्च होइन प्रधानमन्त्रीज्यू, लगानी हो, सरकारको दायित्व हो । अझ अहिले त दुईतिहाइ बहुमतको कम्युनिस्ट सरकार छ । समाजवादउन्मुख संविधान छ । संविधानमै स्वास्थ्य सबैको नैसर्गिक अधिकार हो भनेर लेखिएको छ । यस्तो अवस्थामा पनि सरकारले स्वास्थ्यलाई उद्योगकै रूपमा हेर्नु अत्यन्त दुःखद कुरा हो ।

स्वास्थ्य क्षेत्रको मेरुदण्ड भनेको मेडिकल कलेज हो । तर, यसैलाई अहिले स्वास्थ्यमा व्यापार गर्ने सबैभन्दा ठूलो अस्त्र बनाइएको छ । अस्पताल खोलेको १ वर्ष भएको हुँदैन, सबैलाई मेडिकल कलेज नै खोल्न हतार हुन्छ । अपोलो, एस्कर्ड, मेदान्तजस्ता प्रतिष्ठित अस्पतालहरू मेडिकल कलेज होइनन् । तर पनि तिनले गुणस्तरीय स्वास्थ्य सेवा दिनुका साथै नाफा नै गरिरहेका छन् ।
हाम्रो देशमा विचित्र छ । श्रीलंका दक्षिण एसियामै गुणस्तरीय स्वास्थ्य शिक्षाका लागि कहलिएको देश हो । साढे दुई करोड जनसंख्या रहेको श्रीलंकामा जम्मा आठवटा मेडिकल कलेज छन्, ती पनि सबै सरकारी । हाम्रोमा तीन करोड जनसंख्या छ, जसका लागि २२ वटा मेडिकल कलेज सञ्चालनमा छन् । त्यसमा पनि जम्मा तीनवटा सरकारी । आठवटा मेडिकल कलेज त बनेपासमेत गरी काठमाडौं उपत्यकामा मात्रै छन् ।

प्रधानमन्त्रीज्यू, अहिलेको अवस्थामा भए त म डाक्टर नै बन्न सक्ने थिइनँ । एमबिबिएस पढ्न ५०–६० लाख, एमडी, एमएसका लागि अर्को ५०–६० लाख । अझ डिएम, एमसिएच अध्ययनका लागि त झन् करोडसम्म लिइन्छ रे । यति पैसा तिर्न सक्ने मानिस नेपालमा कति होलान् ? ५ प्रतिशत ? तपाईं त देशकै अभिभावक । त्यसो हुँदा बाँकी ९५ प्रतिशत जनसंख्याको हित हुने गरी कानुन निर्माण गर्नुहुनेछ भन्ने मलाई विश्वास छ । त्यसका लागि सरकारी मेडिकल कलेजहरू खोलिनुपर्छ ।

अन्यथा नलिनुहोला, तर आजसम्म जो–जो प्रधानमन्त्री बन्नुभयो, उहाँहरूले नै आफ्ना भेगका जनतालाई उपेक्षा गरिरहनुभएको छ ।
तपाईंको जन्मथलो तेह्रथुम, तर त्यहाँ एउटा पनि ठूलो स्वास्थ्य संस्था खुलेको छैन । त्यस भेगका जनता स्वास्थ्योपचार गराउन कि भारतको सिलगुढी पुग्छन्, या त धरान, नभए काठमाडौं नै आउनुपर्ने बाध्यता छ । त्यसैले हामी पटक–पटक भनिरहेका छौँ, पूर्वका ताप्लेजुङ, पाँचथर, इलाम, संखुवासभालगायत जिल्लालाई सुविधा हुने गरी इलाम या पाँचथरमा एउटा मेडिकल कलेज खोलौँ ।

जुन ऐन आज संसद्मा प्रस्तुत भएको छ, त्यसमा हामीले धेरै कम्प्रमाइज गरिसकेका छौँ । अझ योभन्दा बढी कम्प्रमाइज गरे सो ऐन कुनै कोणबाट पनि विद्यार्थीमुखी र जनतामुखी बन्न सक्दैन र यो सरासर तीन करोड नेपालीका लागि धोका हुनेछ ।

देउवाजीको जन्मथलो भने पनि कर्मथलो भने पनि डडेल्धुरा । तर, उहाँ चार–चार पटकसम्म प्रधानमन्त्री बनिसक्दा पनि सुदूरपश्चिममा एउटा पनि सरकारी मेडिकल कलेज खुल्न सकेको छैन । डोटी र डडेल्धुराका जनता अझै पनि स्वास्थ्योपचारका लागि भारत जान बाध्य छन् । हामीले नै अनशन बसेर गेटा मेडिकल कलेज खोल्न दबाब दियौँ । सुदूरपश्चिमका ९ जिल्ला समेटिने गरी खुल्ने भनिएको त्यो कलेज पनि एकजना निजी मेडिकल कलेज सञ्चालकको प्रभावमा परी अलपत्र परेको छ ।

यता, प्रचण्डजीको उद्गम थलो नै रोल्पा । उहाँ स्वयम् प्रधानमन्त्री हुँदा हामीले पटक–पटक भेटी राप्तीमा मेडिकल कलेज खोल्न आग्रह ग¥यौँ । तर, उहाँले त सुनेको नसुन्यै गर्नुभयो । दाङमै पुगेर अनशन सुरु गर्न लागेपछि बल्ल राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान खोल्ने सहमति बन्यो । उहाँले त रोल्पाका जनताका लागि वकालत गर्नुपथ्र्यो, तर उहाँ एकजना व्यापारीको निजी फाइदाका लागि वकालत गरिरहनुभएको छ ।
यता, सरकारीस्तरमा सञ्चालनमा आइरहेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठन–पाठन सुरु गर्ने भनिएको पनि ८ वर्ष भइसक्यो, तर आजसम्म कुनै सुरसार नै छैन ।
यत्तिका वर्ष भयो हामी लडेको । यो अन्तरालमा चिकित्सा शिक्षाबारे धेरै रस्साकस्सी भए । जुन ऐन आज संसद्मा प्रस्तुत भएको छ, त्यसमा हामीले धेरै कम्प्रमाइज गरिसकेका छौँ । अझ योभन्दा बढी कम्प्रमाइज गरे सो ऐन कुनै कोणबाट पनि विद्यार्थीमुखी र जनतामुखी बन्न सक्दैन र यो सरासर तीन करोड नेपालीका लागि धोका हुनेछ ।
यसपटकको सत्याग्रह प्रारम्भ गर्नुपूर्व पनि हामीले शिक्षा मन्त्रीलाई भेटी यसबारे सबै कुरा बताएका थियौँ । तर, उहाँले झुक्याउनुभएछ । हामीले नै भनेअनुसार संसद्मा ऐन प्रस्तुत गर्छु भन्नुभएको थियो, तर पेस गर्ने वेलामा उहाँले त्यसमा यति धेरै तोडमोड गर्नुभयो कि हामीले जसका लागि लड्दै आएका थियौँ, तिनको त अस्तित्व नै नामेट हुने भयो ।
अन्ततः यहाँको सरकारले ढिलै गरेर भए पनि सम्पूर्ण बुँदामा सहमति जनाएको छ, यो स्वागतयोग्य काम हो ।
म संसदीय मर्यादा र प्रक्रियाको सम्पूर्ण रूपमा सम्मान गर्छु । जनताबाट निर्वाचित सांसदज्यूहरूप्रति मेरो अथाह विश्वास छ । थप छलफलका लागि विधेयक सायद संसदीय समितिमा गएको छ । छलफल होस्, विचार–विमर्श होस् ।
तर, दुईतिहाइको सरकारले जुन सहमति हामीसँग गरेको छ, त्यसबाट ब्याक हुनेछैन । र, प्रधानमन्त्रीज्यू, मलाई विश्वास छ, यसपटक चिकित्सा शिक्षा ऐनले दिनको घाम देख्नेछ ।
डा. केसीले ०७५ साउन २६ गते बालुवाटारमा प्रधानमन्त्री केपी ओलीसमक्ष व्यक्त गरेको धारणा ।

प्रस्तुति: विशद दाहाल

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै