‘कति रक्सी खान मिल्छ ? महँगो रक्सी छ, खाऊँ कि नखाऊँ ?’

हालै विश्व स्वास्थ्य संगठनले प्रकाशन गरेको सूचनाका आधारमा विश्वमा २० मध्ये १ जनाको मृत्यु रक्सी सेवनसँग जोडिएको हुन्छ । रक्सीले विश्वभरि वर्षमा ३० लाख मानिसको ज्यान लिने गरेको छ । यस्तो भयावह चित्र हुँदाहुँदै पनि हरेक चाडपर्व, भोजभतेर, बिहेवारी, सुखदुःखमा बदलिँदो समयसँगै के जात, के पेसा, सबैतिर नभई नहुने चिज बनेको छ– रक्सी ।
वास्तविकता के हो भने– ‘रक्सी र कलेजो’ कहिल्यै एउटै ठाउँमा रहेर साथी हुन सक्दैनन् । केही मान्छेका लागि थोरै मात्राको रक्सीजन्य पदार्थ, जस्तै ः दिनको एक गिलास वाइन वा बियर पनि कलेजोमा रोग सिर्जनाका लागि काफी हुन्छ । कलेजोरोग विशेषज्ञका रूपमा मकहाँ आउने धेरै बिरामी, अझ विशेषगरी चाडपर्वको मुखमा, एउटै प्रश्न बारम्बार सोध्ने गर्छन्– कति रक्सी खान मिल्छ ? रक्सीले मेरो कलेजो त नबिगार्ला नि ? अझ कतिको प्रश्न हुन्छ– मसँग यति विशेष महँगो रक्सी छ, खाऊँ कि नखाऊँ ?

कलेजो शरीरको निकै शक्तिशाली अंग हो, जसले कैयौँ विकारयुक्त तत्व, विषाक्त पदार्थलाई प्रशोधन गरी शरीरबाट बाहिर फाल्छ, साधारणतया थोरै मात्राको रक्सीजन्य पदार्थ स्वस्थ कलेजोले सजिलै व्यवस्थापन गर्दछ, तर यदि विभिन्न अन्य कारणले कलेजो कमजोर वा थाकिसकेकोे छ वा अत्यन्त छिटो धेरै मात्रामा रक्सी सेवन गर्नुभयो भने यो पावरहाउस पनि प्रशोधन प्रक्रियामा अनुर्तीण भई रोगी हुन जान्छ ।

अब एकछिन कलेजोबारे जानौँ :
कलेजो शरीरको निकै शक्तिशाली अंग हो, जसले कैयौँ विकारयुक्त तत्व, विषाक्त पदार्थलाई प्रशोधन गरी शरीरबाट बाहिर फाल्छ, साधारणतया थोरै मात्राको रक्सीजन्य पदार्थ स्वस्थ कलेजोले सजिलै व्यवस्थापन गर्दछ, तर यदि विभिन्न अन्य कारणले कलेजो कमजोर वा थाकिसकेकोे छ वा अत्यन्त छिटो धेरै मात्रामा रक्सी सेवन गर्नुभयो भने यो पावरहाउस पनि प्रशोधन प्रक्रियामा अनुर्तीण भई रोगी हुन जान्छ । जब रक्सी सेवन गरिन्छ, तब यसले शरीरभित्र विषाक्त जुस एसिटल्डिहाइड (Acetaldehyde) निकाल्छ, जसले कलेजोका कोषिकाहरूलाई बिगार्छ र कलेजोमा बिस्तारै घाउ हुँदै जान्छ, जो बढ्दै गएर कलेजोमा विभिन्न समस्या आउँछन् । तर, यो साधारणतया अस्वस्थ कलेजो, कमजोर कलेजो अनि अत्यधिक रक्सी सेवन गर्दाको अवस्थामा हुन्छ ।
अर्को कुरा शरीरमा रक्सीजन्य पदार्थ सेवनपछि प्रायः पिसाब बढी लाग्ने गर्छ, जसले गर्दा पानीको मात्रा कम भई डिहाइड्रेसन हुन्छ, जसले गर्दा कलेजोले आफ्नो नियमित कार्यका लागि चाहिने पानी अन्य स्रोतबाट खोज्छ । रक्सी सेवन गरेको भोलिपल्ट टाउको दुख्ने प्रमुख कारण यही हो ।
नियमित अत्यधिक रक्सी सेवनले बिस्तारै कलेजोको क्षमता र प्रशोधनकार्यमा असर गरी केही वर्षपछि रक्सीबाट हुने कलेजोका रोगहरू जस्तैः अल्कोहोलिक, स्टेटोहेपाटाइटिस, अल्कोहोलिक लिभर साइनोसिस, लिभर फेलर, लिभर क्यान्सर गराउँछ ।

कति रक्सी पिउन सकिन्छ ?
संसारका शोधकर्ता र कलेजोरोग विशेषज्ञका अध्ययनले एकजना स्वस्थ कलेजो भएको व्यक्तिलाई २ स्ट्यान्डर्ड ड्रिंक्सभन्दा बढी कुनै पनि अवस्थामा नपिउँदा रक्सीजन्य कलेजोको समस्याबाट बच्न सकिने देखाउँछ । जीवनको कुनै कालखण्डमा एकचोटिमा स्ट्यान्डर्ड ड्रिंक्स पिउनुलाई बिन्ज डिंकिङ भनिन्छ, जसले कलेजोमा समस्या ल्याउन सक्छ ।

रक्सी र फ्याटी लिभर
हामी सबैले यो बुझ्नु जरुरी छ कि अत्यधिक रक्सी सेवन गर्ने मानिसको कलेजोमा धेरै बोसो जम्दै जान्छ, अनि बिस्तारै सुजन हुँदै फ्याटी लिभर रोग लाग्छ । तपाईं मोटो हुनुहुन्छ, अनि अत्यधिक रक्सी पिउनुहुन्छ भने त कलेजो बिग्रने सम्भावना अझ बढी हुन्छ । हाम्रो देशको सहरी क्षेत्रमा हरेक १० जनाबराबर १ जनामा फ्याटी लिभर रोग भएको अनुमान छ । यस्तोमा रक्सी सेवनपश्चात् कलेजोरोग देखिनु अचम्म होइन ।

‘अल्कोहोलिक हेपाटाइटिस’
लामो समयसम्म निरन्तर अत्यधिक मात्रामा रक्सी सेवन गर्नाले कलेजोमा सुजन भएर लाग्ने रोग हो अल्कोहोलिक हेपाटाइटिस । यो अवस्थामा कलेजो सुन्निने र अलिकति कडा पनि हुन्छ । मोटोपन वा अन्य कारणले फ्याटी लिभर भएका व्यक्तिमा निरन्तर रक्सी सेवन गर्दा छिटै अल्कोहोलिक हेपाटाइटिस हुन्छ ।

‘अल्कोहोलिक लिभर सिरोसिस’
निरन्तर अत्यधिक रक्सी सेवन गर्ने व्यक्तिलाई कलेजोमा सुजन बढ्दै गएपछि विभिन्न घाउहरू बन्दै गएर बिस्तारै गिर्खाहरू बन्दै कलेजो कडा हुन थाल्छ । त्यसपछि यसले कलेजोभित्र रगत र अन्य तरल पदार्थको आवत–जावतमा असर गर्छ, बिस्तारै कलेजोले काम गर्न छोड्छ, अनि लिभर सिरोसिस हुन्छ । यो अवस्थामा यदि रक्सी सेवन गर्न छोडिएन, चिकित्सकीय सल्लाह लिइएन भने कलेजोको क्यान्सरसमेत हुन सक्छ ।  ‘रक्सी र भाइरल हेपाटाइटिस’  संसारमा करिब ४० करोड मानिस दीर्घकालीन भाइरल हेपाटाइटिस बी र सीबाट संक्रमित छन्, जसमा करोडौँ रोगबाट अज्ञात छन् । यस्तो अवस्थामा भाइरल हेपाटाइटिसका बिरामीले रक्सी सेवन नगरेको राम्रो हुन्छ, कारण पहिले नै भाइरसले कमजोर बनाएको कलेजोलाई थोरै मात्राको रक्सीले पनि छिटै जटिल रोगी बनाउँछ ।

के–कस्ता समस्या र लक्षण देखिन्छन् ?
अल्कोहोलिक लिभर डिजिज भएका व्यक्तिमा विभिन्न शारीरिक अस्वस्थता देखिन्छन्, जस्तै ः पेट दुख्ने, बान्ता होलाजस्तो हुने, कसैमा झाडापखाला, खानामा रुचि कम हुने पनि देखिन्छ । रोगीहरूले पहिले याद गर्ने लक्षण हो– जन्डिस, हल्का गोडा सुन्निनु, कसैकसैमा जिउ चिलाउनु आदि ।
रक्सीको कारणले देखिने कलेजोरोगका सुरुका दिनमा खासै लक्षण नदेखिने कारणले प्रायः बिरामी रोग निकै बढेपछि, बिग्रेपछि सिरोसिस भएको अवस्थामा आउने गर्छन् ।

यदि कोही व्यक्तिले सोसल ड्रिंकिङ मात्र गर्नुहुन्छ भने नियमित रूपमा ६ महिनामा एकपटक लिभर फंक्सन टेस्ट, अल्ट्रासाउन्ड गर्ने, सोअनुसार कलेजोको अवस्था हेरेर विज्ञको सल्लाहबमोजिम आफ्नो पिउने बानीलाई मोडिफाई गर्नुपर्छ । बिन्ज ड्रिंकिङ धेरै नै हानिकारक हुन्छ, यो बानी छोड्नुपर्छ ।

उपचार
रक्सी सेवन बन्द गर्नु
कुनै पनि प्रकारका रक्सीजन्य पदार्थ सेवन बन्द गर्नु उपचारको प्रमुख कडी हो । कलेजोरोग भइसकेकाले प्रसादका रूपमै भए पनि एक थोपा रक्सीलाई पनि विष मानेर ‘जेरो टोलरेन्स पोलिसी’ अपनाउनुपर्छ । अल्कोहोलिक हेपाटाइटिस फेजका कतिपय बिरामी रक्सी छोडेर राम्रो खाना (गुड सपोर्टिभ डाइट)पछि बिस्तारै निको हुँदै गएका छन् ।
केही बिरामीमा कलेजो कडा हुनेक्रम देखिएपछि तुरुन्त रक्सी बन्द गर्दा ‘अल्कोहल्स विथड्रल सिन्ड्रोम’ देखिने हुनाले चिकित्सकीय सल्लाह लिई अवस्था हेरेर अस्पताल भर्ना भई वा नियमित फलोअपमा बसेर उपचार गर्न सकिन्छ ।
जीवनशैलीमा आमूल परिवर्तन ‘अल्कोहोलिक लिभर डिजिज’को उपचारको अर्को पाटो हो । वजन घटाउनु, रातो मासु, डिप फ्राइड, धेरै चिल्लो, बोसोयुक्त खाना नखाने तर अल्कोहोलिक लिभर सिरोसिस भएका बिरामीमा यदि मधुमेह भएमा प्रशस्त क्यालोरी भएका, कार्बोहाइडे«ट र प्रटिनयुक्त खाना खानुपर्छ ।

औषधि
अल्कोहोलिक हेपाटाइटिस भएका बिरामीलाई पेन्टक्सिफाइलिन र कार्टिकोस्टेरोइड दिँदा राम्रो भएको देखिन्छ । साथै, मल्टिभिटामिन्स, एन्टिअक्सिडेन्ट्सले पनि बिरामीको समग्र अवस्थामा सुधार भएको पाइन्छ । लिभर सिरोसिस भइसकेका बिरामीमा सिम्प्टोमेटिक ट्रिटमेन्ट आवश्यक देखिन्छ ।
यदि लिभर सिरोसिस भई ‘इन्ड स्टेज लिभर डिजिज’मा पुगेका बिरामीलाई औषधिलगायत सपोर्टिभ ट्रिटमेन्टले खासै सुधार नआएपछि अन्तिम विकल्प भनेको कलेजो प्रत्यारोपण नै हो, जुन अत्यन्त खर्चिलो तथा जटिल प्रकृतिको उपचार हो ।

रोकथाम
भनिन्छ नि– रोग लागेपछि उपचार गर्नुभन्दा रोग लाग्नै नदिनु राम्रो हो । त्यसैले भविष्यमा रक्सीबाट हुने कलेजोरोग हुन नदिन रक्सी सेवन गर्ने बानी त्याग्नु अत्यावश्यक हुन्छ । यदि कोही व्यक्तिले सोसल ड्रिंकिङ मात्र गर्नुहुन्छ भने नियमित रूपमा ६ महिनामा एकपटक लिभर फंक्सन टेस्ट, अल्ट्रासाउन्ड गर्ने, सोअनुसार कलेजोको अवस्था हेरेर विज्ञको सल्लाहबमोजिम आफ्नो पिउने बानीलाई मोडिफाई गर्नुपर्छ । बिन्ज ड्रिंकिङ धेरै नै हानिकारक हुन्छ, यो बानी छोड्नुपर्छ । कहिलेकाहीँ रक्सी सेवन गर्दा, कलेजो स्वस्थ भएका व्यक्तिले रक्सीको मात्रा डाइल्युट गरेर पानीको मात्रा धेरै गरेर पिउँदा असर कम गर्ने अध्ययनले देखाएको छ । प्रशस्त मात्रामा पानी पिउनुका साथै स्वस्थ खाना खाँदा रक्सीबाट पुग्ने हानि कम हुन्छ ।

अन्तमा, रक्सीजन्य पदार्थ सेवन कम गर्न सार्वजनिक चेतनामूलक कार्यक्रम स्वास्थ्य मन्त्रालयलगायत सरोकारवाला निकायले गर्नुपर्छ । रोग लागिसकेका व्यक्तिलाई आर्थिक अवस्था कमजोर भएको खण्डमा उपचार खर्च राज्यमार्फत दिलाउनका लागि जसरी सुर्तीकरमाफत चुरोटमा कर लगाइन्छ, त्यसैगरी प्रत्येक बोतल रक्सीमा १ रूपैयाँ कर लगाएर कोष बनाई सोमार्फत उपचार खर्च सहयोग गर्न सकिन्छ ।

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै