एसइई परीक्षाकेन्द्रमा सेनेटरी प्याड, बालक्लबको थियो माग

प्रदेश ५ का दुई जिल्लाले सन्निकट माध्यमिक शिक्षा परीक्षा (एसइई)का केन्द्रहरूमा सेनेटरी प्याडको व्यवस्था गर्ने भएका छन् । छात्रा परिक्षार्थीको समस्यालाई मध्यनजर गरी यस्तो व्यवस्था गर्न लागिएको सम्बन्धित जिल्लाका शिक्षा विकास तथा समन्वय एकाइका प्रमुखले जनाएका छन् ।

प्रदेश ५ का १२ जिल्लामध्ये प्युठान र रूपन्देहीले एसइई परीक्षाकेन्द्रमा सेनेटरी प्याडको व्यवस्था गर्न लागेका हुन् । शिक्षा विकास निर्देशनालय प्रदेश ५, बुटवलका अनुसार प्युठानका जम्मा १७ वटा एसइई परीक्षाकेन्द्रमा साधारणतर्फ २ हजार ७ सय ५४ र प्राविधिकतर्फ ९२ गरी २ हजार ८ सय ६६ परीक्षार्थी छन् । त्यसैगरी, रूपन्देहीका ५६ वटा परीक्षाकेन्द्रमा साधारणतर्फ १६ हजार ९ सय ३१ र प्राविधिकतर्फ २ सय ६९ गरी १७ हजार २ सय परीक्षार्थी एसइई परीक्षामा सामेल हुँदै छन् ।

शिक्षा विकास तथा समन्वय एकाइ, प्युठानका प्रमुख शिव पण्डितले जिल्लाका सबै परीक्षाकेन्द्रमा सेनेटरी प्याडको व्यवस्था गरिएको बताए । जिल्लामा भएको एक सार्वजनिक सुनुवाइ कार्यक्रममा बाल क्लबले परीक्षाकेन्द्रमा सेनेटरी प्याडको कुरा उठाएपछि यस्तो निर्णय गरिएको पण्डितले बताए । पण्डितका अनुसार जनस्वास्थ्य कार्यालयको सहयोगमा सेनेटरी प्याडको व्यवस्था गरिएको हो ।

सामाजिक विकासमन्त्री सुदर्शन बरालले एसइईका परीक्षाकेन्द्रलाई अनुशासित र मर्यादित बनाउने विषयमा लाग्नुपर्नेमा जोड दिए । उनले बालबालिकालाई भन्दा केन्द्राध्यक्षलाई केन्द्रित गरी अभिमुखीकरणमार्फत जिम्मेवार बनाउन सकिने बताए ।

नजिकको स्वास्थ्यकेन्द्रसँगको समन्वयमा जिल्लाका ५६ परीक्षा केन्द्रमा छात्राका लागि सेनेटरी प्याडको व्यवस्था गर्न लागिएको शिक्षा विकास तथा समन्वय एकाइ, रूपन्देहीका प्रमुख दीपेन्द्र ढकालले जानकारी गराए । प्रदेश सरकारी परीक्षा सञ्चालन तथा व्यवस्थापनका लागि विनियोजन गरिएको बजेटमा परीक्षाकेन्द्रमा अस्थायी शौचालय निर्माणका लागि ४ सय रूपैयाँ व्यवस्था गरिएको छ ।

सामाजिक विकासमन्त्री सुदर्शन बरालले एसइईका परीक्षाकेन्द्रलाई अनुशासित र मर्यादित बनाउने विषयमा लाग्नुपर्नेमा जोड दिए । उनले बालबालिकालाई भन्दा केन्द्राध्यक्षलाई केन्द्रित गरी अभिमुखीकरणमार्फत जिम्मेवार बनाउन सकिने बताए । सामाजिक विकास मन्त्रालयका सचिव कृष्णप्रसाद ज्ञवालीले केन्द्रमा भिड गर्नेभन्दा पनि व्यवस्थित बनाउनेतर्फ जोड दिन सुझाब राखे । शिक्षा विकास निर्देशनालय, बुटवलका निर्देशक जितबहादुर शाह, प्रदेश परीक्षा व्यवस्थापन कार्यालयका प्रमुख, टीकाराम अर्याललगायतले परीक्षालाई मर्यादित र व्यवस्थित रूपमा सञ्चालन गर्न विभिन्न सुझाब दिएका थिए ।
यस वर्षको एसइई परीक्षा १० चैतदेखि सुरु हुँदै छ ।

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै