कान्तिमा पेडियाट्रिक इन्टरमिडिएट केयर युनिट, अब आइसियू अभावमा रेफरको बाध्यता हट्ने

सीमित साधन–स्रोतका कारण मागअनुसार सेवा दिन नसकिरहेको कान्ति बाल अस्पतालले पेडियाट्रिक इन्टरमिडिएट केयर युनिट (बालबालिकाको गहन उपचार एकाइ) सेवा सञ्चालनमा ल्याएको छ । सोमबार स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवको उपस्थितिमा ८ शैय्याको युनिटको औपचारिक उद्घाटन गरिएको हो । युनिट स्थापनासँगै आइसियू अभावमा बिरामी रेफर गर्नुपर्ने बाध्यता धेरै हदसम्म हट्नुका साथै बच्चाको मृत्युदरसमेत घट्ने दाबी अस्पतालको छ ।

आइसियूको बेड अभावमा अस्पतालले दैनिक कम्तीमा १० बालबालिकालाई अन्य अस्पतालमा रेफर गर्दै आएको छ । इन्टरमिडिएट आइसियू सेवा सञ्चालनमा आएसँगै बिरामी रेफर गर्नुपर्ने बाध्यता ५० प्रतिशतभन्दा बढीले न्यूनीकरण गर्न सकिने अस्पतालका निर्देशक प्रा.डा. आरपी बिच्छाले जानकारी दिए ।

पिआइसियूको जरुरत नपर्ने बच्चालाई इन्टरमिडिएट केयर युनिटमा राखेर उपचार गर्न सकिन्छ । पिआइसियूमा बच्चालाई भेन्टिलेटरमा ४–५ दिन राखेर स्वास्थ्यमा सुधार आएको अवस्थामा खतरामुक्त नहोउन्जेल इन्टरमिडिएट केयरमा राखेर उपचार गर्न सकिने हुँदा पिआइसियूको बोझ कम गर्न यसले महत्त्वपूर्ण भूमिका खेल्छ । यसअघि, अस्पतालले पिआइसियूको उपचारपछि सीधै साधारण बेडमा राखेर उपचार गर्ने गरेको थियो । यसो गर्दा एकातिर बच्चाको स्वास्थ्यमा जोखिम रहन्थ्यो भने अर्कोतर्फ आवश्यकभन्दा बढी पिआइसियूमा राख्नुपर्ने बाध्यता रहन्थ्यो ।

‘अस्पतालले पूर्ण रूपमा सेवा दिन नसक्दा र कमी–कमजोरीका कारण यहीँ वरिपरिका निजी अस्पतालले फाइदा उठाइहेका छन्,’

अस्पतालको पुरानो प्रतिष्ठा फर्काउनुपर्छ : निर्देशक डा. बिच्छा

अस्पतालका निर्देशक डा. बिच्छाले कान्तिकै कमी–कमजोरीका कारण निजी बाल अस्पतालहरूले ठग्ने मौका पाइरहेको बताए । ‘अस्पतालले पूर्ण रूपमा सेवा दिन नसक्दा र कमी–कमजोरीका कारण यहीँ वरिपरिका निजी अस्पतालले फाइदा उठाइहेका छन्,’ डा. विच्छा भन्छन्, ‘एक रात बालबालिका अस्पतालमा राखेको ३५–४० हजार लिने गरेका छन् । २–३ रात अस्पतालमा राख्दा घरबार, गरगहना सबै रित्याएर चौथो दिन पुनः कान्तिमा आउँदा पनि बेड उपलब्ध नगराइदिँदा मृत्युवरण गरिरहेका हुन्छन् ।’

अब अस्पताल प्रगतिको बाटोमा लम्किनुपर्ने डा. बिच्छाले जानकारी दिए । उनले अस्पतालका सम्पूर्ण कर्मचारीलाई ६ घण्टा काम गरिरहेको अवस्थामा १२ घण्टा काम गर्न आग्रह गरे । उनले भने, ‘कान्ति बाल अस्पतालको पुरानो प्रतिष्ठालाई पुनः फर्काउनुपर्छ ।’

०.८ प्रतिशत बजेटले अस्पतालमा सेवा विस्तार गर्ने कि उपकरण किन्ने ? : स्वास्थ्यमन्त्री यादव
२०५० सालमा भएको ओएनएम सर्भेपछि हालसम्म पनि नभएको र जनसंख्या २ गुणाभन्दा बढी बढेको अवस्थामा स्वास्थ्यका कर्मचारी नबढेकाले अस्पतालमा चिकित्सकको अभाव भएको स्वास्थ्यमन्त्री उपेन्द्र यादवले बताए । समायोजनको झमेला सकिएपछि मन्त्रालयको पहिलो प्राथमिकता ओएनएम गर्नेतर्फ हुने मन्त्री यादवले जानकारी दिए ।

‘आर्थिक रूपमा कान्ति बाल अस्पताल कमजोर भए पनि अब आइसियू तथा एनआइसियूको सेवाविस्तार गर्नेतर्फ लाग्नुपर्छ,’ डा. यादवले भने, ‘सेवाविस्तार राम्रो हुन सके मात्र अस्पतालको विश्वसनीयता बढ्न जान्छ ।’

‘दक्षिणपूर्वी एसियामा स्वास्थ्य क्षेत्रका लागि सबैभन्दा कम बजेट विनियोजन गर्ने देशमा नेपाल पर्छ । ४ दशमलव ८ प्रतिशत स्वास्थ्य क्षेत्रमा छुट्याइएकोमा ४ प्रतिशत कर्मचारी तलबमै सकिने गर्छ,’ मन्त्री यादवले भने, ‘शून्य दशमलव ८ प्रतिशत रकमले कति अस्पतालको सेवा विस्तार गर्ने, कति उपकरण किन्ने ?’

विकासको आधार नै स्वास्थ्य र शिक्षा रहेको उदाहरण दिँदै मन्त्री यादवले राज्यले यस क्षेत्रमा लगानी बढाउनुपर्ने आवश्यकता औँल्याए । कान्ति बाल अस्पतालमा चिकित्सक अभाव, उपकरण अभाव र सेवा विस्तार गर्ने विषयमा मन्त्रालय सकारात्मक रहेको र सहयोगका लागि प्रतिबद्ध रहेको मन्त्री यादवको भनाइ थियो ।

बेडसंख्या बढाउनुभन्दा पनि सेवालाई अझ विशिष्टीकृत बनाउँदै लैजानुपर्नेमा स्वास्थ्य तथा जनसख्या राज्यमन्त्री डा. सुरेन्द्र यादवले जोड दिए । ‘आर्थिक रूपमा कान्ति बाल अस्पताल कमजोर भए पनि अब आइसियू तथा एनआइसियूको सेवाविस्तार गर्नेतर्फ लाग्नुपर्छ,’ डा. यादवले भने, ‘सेवाविस्तार राम्रो हुन सके मात्र अस्पतालको विश्वसनीयता बढ्न जान्छ ।’

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै

उपकरण भएर पनि जनशक्ति अभावमा कान्तिको आइसियूसेवा संकुचित, निजीको महँगो शुल्क तिर्न बिरामी बाध्य

सरकारीस्तरमा सञ्चालित मुलुकको एक मात्र बाल अस्पताल कान्ति बाल अस्पतालमा आइसियूका लागि ५२ बेड छुट्याइएका छन् । सबै बेड आइसियूकक्षका लागि आवश्यक यन्त्र–उपकरणले जडित पनि छन् । तर, अस्पतालले ३८ बेड मार्फत मात्र आइसियूसेवा दिइरहेको छ ।
अस्पतालले बिरामीको माग कम भएका कारण बाँकी बेड सञ्चालनमा नल्याएको होइन । कान्तिको आइसियूमा भर्ना पाउनुलाई भाग्यकै रूपमा लिने गरिएको छ ।

आइसियूमा भर्ना पाउनका लागि नाम लेखाएर हप्तौँसम्म पालो कुर्नुपर्ने बाध्यता बिरामीको छ । कान्तिमा आइसियू नपाएकै कारण दिनहुँ कयौँ अभिभावक कमजोर आर्थिक अवस्थाका बाबजुद पनि आफ्ना बालबालिकाको सघन उपचारका लागि महँगा निजी अस्पताल धाउन बाध्य छन् । आइसियू मिलाइदिनका लागि दिनहुँ अस्पताल प्रशासनले राजनीतिक दबाबसमेत झेल्ने गरेको छ । यति चर्को माग हुँदाहुँदै पनि किन अस्पतालले पूर्ण क्षमतामा आइसियूसेवा सञ्चालन गरिरहेको छैन ?

‘कान्ति बाल अस्पतालले पछिल्लो समय चरम आर्थिक संकट तथा जनशक्ति अभावको सामना गरिरहेको छ,’ निर्देशक डा. राई भन्छन्, ‘जनमानसमा कान्तिमा ५२ बेडको आइसियू छ भन्ने बुझाइ छ, तर हामीले जनशक्ति र साधनस्रोत अभावमा मुस्किलले ३८ बेडमार्फत सेवा दिइरहेका छौँ ।’

अस्पतालका निर्देशक डा. गणेश राई जनशक्ति अभावकै कारण पूर्ण क्षमतामा आइसियूसेवा सञ्चालन गर्न नसकेको बताउँछन् । आवश्यक जनशक्ति र साधनस्रोतको कमीका कारण सञ्चालनमा रहेका ३८ बेडको सेवाप्रति पनि स्वयम् निर्देशक डा. राई नै सन्तुष्ट छैनन् । ‘कान्ति बाल अस्पतालले पछिल्लो समय चरम आर्थिक संकट तथा जनशक्ति अभावको सामना गरिरहेको छ,’ निर्देशक डा. राई भन्छन्, ‘जनमानसमा कान्तिमा ५२ बेडको आइसियू छ भन्ने बुझाइ छ, तर हामीले जनशक्ति र साधनस्रोत अभावमा मुस्किलले ३८ बेडमार्फत सेवा दिइरहेका छौँ ।’

आइसियू प्रमुख विभूति कट्टेलका अनुसार सञ्चालनरत ३८ बेडमध्ये एनआइसियू १६, पिआइसियू १२, सिआइसियू ७ तथा आइसोलेसन २ बेड छन् । त्यसमध्ये एनआइसीयूमा महिनादिनभन्दा कम उमेरका बालबालिकालाई उपचारका लागि राखिन्छ । आइसोलेसन बेडमा विशेषप्रकारका बिरामी राख्ने गरिन्छ । पिआइसियूमा ३० दिनभन्दा माथि १५ वर्षभन्दा कम उमेरका बालबालिकाको उपचार हुन्छ । एसआइसियू १५ वर्षसम्मका सबै प्रकारका बिरामी राख्ने गरिन्छ, जहाँ मुख्यतया सर्जरी गरेका बिरामी राख्ने गरिन्छ । आइसियू आवश्यक भएका तर अन्यप्रकारका आइसियूमा राख्न नमिल्ने बिरामीलाई एनआइसियूमा राखिन्छ ।

कान्तिले पहिलेदेखि नै दिँदै आएको आइसियूसेवालाई पूर्वस्वास्थ्यमन्त्री गगन थापाको पालामा सेन्ट्रल आइसियूका रूपमा विकास गरिएको थियो । त्यतिवेलैदेखि ५२ बेडमा आइसियू सञ्चालन गरिएको भनिए पनि जनशक्ति अभावका कारण पूर्ण क्षमतामा आइसियू सञ्चालन गर्न नसकिएको निर्देशक राई बताउँछन् । आइसियू सञ्चालनका लागि उपकरणहरू उपलब्ध भए पनि प्रमुख रूपमा जनशक्ति अभावै कारण पूर्ण क्षमतामा सेवा दिन नसकिएको उनको भनाइ छ । सञ्चालनमा रहेका ३६ बेडका लागि पनि पर्याप्त जनशक्ति उपलब्ध गराउन सकिएको छैन । उपलब्ध उपकरण र जनशक्तिलाई जसोतसो व्यवस्थापन गरी सेवा दिइरहेको आइसियू प्रमुख कट्टेल बताउँछिन् ।

सरकारी मापदण्डअनुसार आइसियूमा मेसिनमार्फत उपचार गराइरहेको एक बिरामीको रेखदेखका लागि एकजनै नर्स आवश्यक हुन्छ । त्यसैगरी, मेसिनमा नभएको बिरामीको हकमा २ बिरामीबराबर एक नर्स हुनुपर्ने प्रावधान छ । कान्तिको आइसियूमा एकजना नर्सले ५ जनासम्म बिरामी हेर्नुपर्ने अवस्था छ । जब कि बालबालिकाको हकमा जनरल वार्डमा पनि १ नर्सले अधिकतम ६ जनासम्म मात्र बिरामी हेर्न मिल्ने प्रावधान छ ।

कान्तिमा सञ्चालनरत एनआइसीयूमा १६ बेडका लागि १६ जना नै नर्सिङ स्टाफ उपलब्ध छन् । उपलब्ध नर्सिङ स्टाफलाई सिफ्ट–सिफ्मा ड्युटी लगाउँदा एक नर्सले मापदण्डभन्दा निकै बढी बिरामी हेर्नुपर्ने बाध्यता छ । आइसियूमा बिहानको सिफ्टमा पर्याप्त चिकित्सक उपलब्ध हुने भए पनि २४ घण्टे सेवामा भने एक–दुईजना चिकित्सक मात्र उपलब्ध हुन्छन् । कान्तिको आइसियूमा रेजिडेन्ट चिकित्सक तथा कन्सल्टेन्टहरू खटिने गरेका छन् । एनआइसियू र पिआइसियूका लागि ५–५ जना चिकित्सक खटाइएका छन् । सर्जिकल आइसियूका लागि भने यति नै जना भनेर ड्युटी तोकिएको छैन । अस्पतालमा आइसियूमा मात्र नभई सबै विभागमा जनशक्तिको अभाव रहेको निर्देशक राई बताउँछन् ।

कान्तिको आइसियूमा बिरामीको आर्थिक अवस्था हेरेर शुल्क लिने गरिएको छ । कान्तिमा भेन्टिलेटरसहितको आइसियू बेडचार्ज २ हजार ५ सय छ, जुन निजी अस्पतालहरूको तुलनामा नगण्य हो । त्यसैगरी, विनाभेन्टिलेटर आइसियूसेवा लिएबापत बिरामीले प्रतिदिन १ हजार २ सय रूपैयाँ तिर्नुपर्छ ।

मुलुकको एक मात्रै केन्द्रीय बाल अस्पताल भएकाले कान्तिमा रेफरका केसहरू बढी आउने गरेका छन् । बिरामीको अत्यधिक चापका कारण कान्तिको आइसियूले धान्न सक्ने अवस्था छैन । आइसियूलाई पूर्ण क्षमतामा सञ्चालन गर्न सकेको अवस्थामा भने आइसियूसेवा अपुग भएर बिरामी फर्काउनुपर्ने समस्या न्यूनीकरण गर्न सकिने आइसियू प्रमुख कट्टेल बताउँछिन् ।

बिरामीको आर्थिक अवस्थाअनुसार शुल्क
कान्तिको आइसियूमा बिरामीको आर्थिक अवस्था हेरेर शुल्क लिने गरिएको छ । कान्तिमा भेन्टिलेटरसहितको आइसियू बेडचार्ज २ हजार ५ सय छ, जुन निजी अस्पतालहरूको तुलनामा नगण्य हो । त्यसैगरी, विनाभेन्टिलेटर आइसियूसेवा लिएबापत बिरामीले प्रतिदिन १ हजार २ सय रूपैयाँ तिर्नुपर्छ । त्यसमा पनि बिरामीको आर्थिक अवस्था हेरी छुटको व्यवस्था छ । बिरामीको आर्थिक अवस्थाअनुसार केही प्रतिशतदेखि शतप्रतिशतसम्म छुट दिने गरिएको अस्पतालले जनाएको छ । अस्पतालमा उपचार गराइरहेका बिरामीलाई आइसियू चाहिने अवस्था आएमा बाहिरबाट रेफर गरिएकालाई भन्दा उपचाररतलाई प्राथमिकता दिने गरिएको छ ।

कान्तिमा मात्र होइन, नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बनाएको मापदण्डअनुसारको जनशक्तिको परिपूर्ति कुनै पनि अस्पतालमा भएको छैन । देश संघीय संरचनामा गएसँगै अन्य क्षेत्रमा जस्तै स्वास्थ्यमा पनि कर्मचारी समायोजनको प्रक्रिया अघि बढेको छ । यद्यपि, समायोजन प्रक्रियाप्रति असन्तुष्टि जनाउँदै चिकित्सक तथा कर्मचारी आन्दोलनमै छन् । नयाँ संगठन संरचनामा पनि मापदण्डअनुसार चिकित्सक तथा कर्मचारीको व्यवस्था हुने संकेत नदेखिनुले स्वास्थ्यक्षेत्रको समस्या समस्याकै रूपमा रहने चिन्ता बढेको छ ।

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै

गजेन्द्रनारायण सिंह अस्पतालमा ५ बेडको एनआइसियू

सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल (साबिकको) अस्पतालले बालबालिकाको उपचारका लागि शिशु सघन उपचारकक्ष (एनआइसियू) सेवा सुरु गर्ने भएको छ । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट (मेसु) डा. चुमनलाल दासले एनआइसियू सञ्चालनको सबै तयारी पूरा भइसकेको बताएका छन् ।

मेसु डा. दासका अनुसार हालका लागि ५ बेडमा एनआइसियू सञ्चालन गर्न लागिएको हो । एनआइसियू सञ्चालनका लागि अस्पतालले तीनजना नर्स स्वास्थ्य तालिमकेन्द्रको सहकार्यमा एनआइसियू सञ्चालन तथा सघन उपचारमा रहेका बालबालिकाको हेरचाहसम्बन्धी तालिम लिएर अस्पतालमा फर्किसकेको डा. दासले जानकारी दिए ।

अस्पतालमा दुईजना बालरोग विशेषज्ञ चिकित्सक कार्यरत छन् । एनआइसियू सञ्चालनकै लागि अस्पतालले तीनजना नर्सले तालिम लिइसकेको र अन्य स्वास्थ्यकर्मीलाई बिस्तारै तालिम दिँदै जाने योजना रहेके डा. दासले सुनाए ।

‘हामीले एनआइसियू सञ्चालनका लागि सबै तयारी पूरा गरिसकेका छौँ,’ डा. दासले भने, ‘उपकरण जडान, नर्सहरूलाई तालिम दिने र वार्ड व्यवस्थापनको काम भइसकेको छ ।’ उनका अनुसार अस्पतालले एनआइसियूका लागि आवश्यक सामग्रीहरू भेन्टिलेटर, इडिजी मेसिन, इक्युरेटरलगायत मेसिन र फोटोथेरापी युनिटसमेत स्थापना गरिसकेको छ । ‘लामो समयसम्म अस्पतालमा एनआइसियू सञ्चालनका लागि आवश्यक उपकरण तथा अन्य आवश्यक सामग्री आउने तर प्रयोगविहीन भएर जाने गरेको थियो,’ दासले भने ।

सगरमाथा अञ्चल अस्पतालमा एनआसियू सञ्चालनमा आएपछि सप्तरीवरपरका सघन उपचार आवश्यक पर्ने बालबालिका काठमाडौं वा विराटनगर जानुनपर्ने दासको दाबी छ । गत जेठमा डा. दास यस अस्पतालमा आएपछि उनले एनआइसियू सञ्चालनका लागि निकै मिहिनेत गरेका थिए ।

हाल सगरमाथा अञ्चल अस्पतालले ८४ बेडमार्फत सेवा दिँदै आएको छ । अस्पतालबाट दैनिक सयदेखि १ सय ५० जनाले बहिरंग सेवा लिँदै आएका छन् ।

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै