मानसिक रोगमा मनोवैज्ञानिक उपचार : साइकोथेरापी

मानसिक रोगका बिरामीलाई तनाव घटाउने उपाय सिकाउने, नकारात्मक सोचाइलाई सकारात्मक सोचाइमा परिणत गराउने, अनि मनमा रहेका उत्तेजना कम गराउने उपचारलाई साइकोथेरापी भनिन्छ । धेरै बिरामीलाई औषधिको प्रयोगका अलावा साइकोथेरापीको काउन्सिलिङ जरुरी पर्छ । धेरै मानसिक रोग तनावका कारण उत्पन्न भएका हुन्छन् । यस्तो अवस्थामा बिरामीलाई औषधि मात्र सेवन गराएर रोग निको हुँदैन । बिरामीलाई सामान्य काउन्सिलिङदेखि साइकोथेरापीसम्मको उपचार गराउनुपर्छ । खासगरी डिप्रेसन तथा अन्य न्युरोटिक समस्यामा साइकोथेरापी गरिन्छ ।

मनलाई कसरी स्वस्थ राख्ने ?
१) एउटै कुरामा गहिरो सोचाइ नगर्ने ।
२) पुराना रुढीवादी कुरामा विश्वास नगर्ने ।
३) जे छ, त्यसमा सन्तुष्ट हुने, तर मिहिनेत गर्न नछोड्ने ।
४) हरेक कुरामा खुसी र सन्तुष्ट बन्ने ।
५) लागुपदार्थ सेवन नगर्ने ।
६) दैनिक जीवनमा स्वस्थ प्रतिस्पर्धा गर्ने ।
७) अति नीतिवान् नबन्ने र अरूबाट पनि त्यस्तो अपेक्षा नगर्ने ।
८) मन सधैँ शान्त राख्ने ।
९) मनको समस्या अरूलाई भन्ने बानी गर्ने ।

सुख र दुःख भन्ने कुरा हाम्रो हेराइ र तुलनामा फरक पर्न सक्छन् । बसमा झुन्डिएर गइरहेको यात्रु र आरामदायी सिटमा बसेर यात्रा गरेको मानिसबीच तुलना गर्दा आरामदायी सिटमा बस्ने धेरै खुसी हुनुपर्ने हो, तर त्यस्तो हुँदैन । बसमा झुन्डिएर यात्रा गरेको मानिस पनि मनमा आनन्द लिएर हिँडेको हुन सक्छ र आरामदायी सिटमा बसेको मानिसले पनि मनमा तनाव बोकिरहेको हुन सक्छ । हामी अनावश्यक कुरामा तनाव लिइरहन्छौँ र खुसी हुन सक्दैनौँ ।

एउटी छोरी पछि गएर बुहारी बन्छिन्, उनको भूमिका परिवर्तन हुन्छ, जिम्मेवारी बढ्छ, दुःख बढ्न पनि सक्छ र चिन्तित हुन्छिन् । उनको मनमा म पछि सासु पनि बन्छु भन्ने कल्पना नै हुँदैन । अनावश्यक सोचाइ लिँदै जाँदा डिप्रेसन रोग लाग्न पनि सक्छ ।

हामी एकपटक परेको तनावलाई सधैँ नै यस्तो हुन्छ भनेर सम्झन्छौँ, तर त्यस्तो हुँदैन । कसैको प्रगति हुँदा हामी संकोच राख्न सक्छौँ । दुःख पर्दा अत्तालिन्छौँ, समाजले पनि दुःख परेकालाई सहयोग गर्दैन, उल्टो हाँसोले उडाउँछ । फलस्वरूप ऊ तनावबाट उम्कन सक्दैन । हामी धेरै–धरै चाहना राख्छौँ, जुन पूरा हुन असम्भव हुन्छ, अनि छटपटीमा बस्छौँ । हामी आफूभन्दा ठूलोसँग आफूलाई तुलना गछौँ, जसले मन अझै दुःखी बनाउँछ । हामीले आफूभन्दा कमजोर मानिससँग पनि आफूलाई तुलना गर्नुपर्छ, तब मनमा खुसी पैदा हुन्छ ।

एउटी छोरी पछि गएर बुहारी बन्छिन्, उनको भूमिका परिवर्तन हुन्छ, जिम्मेवारी बढ्छ, दुःख बढ्न पनि सक्छ र चिन्तित हुन्छिन् । उनको मनमा म पछि सासु पनि बन्छु भन्ने कल्पना नै हुँदैन । अनावश्यक सोचाइ लिँदै जाँदा डिप्रेसन रोग लाग्न पनि सक्छ ।

यहाँ एउटा गरिब मानिसको चर्चा गर्न वेश होला । एउटा अत्यन्तै गरिब मानिस थियो । ऊसँग पैसा हुँदैनथ्यो । उसको जुत्ता लगाउने सोच थियो, तर पैसा अभावले उसले सधैँ भगवान्लाई गाली गर्थ्यो, बिहानै उठेर भगवान्को फोटोमा थुक्थ्यो । किन मलाई गरिब परिवारमा जन्म दियौ भन्थ्यो । एकदिन ऊ एउटा मन्दिर गयो, त्यहाँ उसले हात मात्र भएको मानिस देख्यो । उसको खुट्टा नै थिएन, तैपनि खुसी हुँदै भगवान्को पूजा गरेको देख्यो । ऊ छक्क पर्यो । यो मानिस खुट्टा नहुँदा पनि कति खुसी छ, म किन दुःखी ? मसँग त कम्तीमा खुट्टा छन् । त्यस दिनदेखि उसले भगवान्लाई गाली गर्न छाड्यो र मिहिनेत गर्न थाल्यो । उसले जीवनमा सफलता पाउन थाल्यो । त्यसकारण मानिस जस्तोसुकै अवस्थामा पनि दुःखी वा खुसी हुन सक्छ । यो उसको हेराइ र तुलनामा भरपर्छ । जब मानिसले आफूभन्दा तलकासित तुलना गर्न सिक्छ, तब ऊ खुसी हुन्छ ।

हामी अन्धविश्वासमा आस्था राख्छौँ, जसले हामीमा तनाव थपिन्छ । बोक्सी लाग्छ, भूत लाग्छ, बिरालोले बाटो काटे अशुभ हुन्छ इत्यादि । हिजोआज मानिस इन्टरनेटको प्रयोग गर्छन् । दिन–रात फेसबुक र युट्युबमा व्यस्त हुन्छन्, दिमागलाई फुर्सद नै छैन । आफ्नै परिवारको मानिसको पनि वास्ता छैन । यसबाट पनि मानसिक समस्या निम्तिरहेको छ । फेरि डरलाग्दा दृश्यहरू टिभी तथा सामाजिक सञ्जालमा हेर्दा मनको बिरामी पनि बढ्दो छ । त्यसैले यस्ता वस्तुको प्रयोग कम गर्नु जरुरी छ ।

भगवान्मा विश्वास गर्दा वा आस्तिक बन्दा मनमा रहेको तनाव केही भएको घट्न सहयोग मिल्छ । त्यस्तै, नराम्रो सपना देख्दा आत्तिने, मनमा चिन्ता लिने भएर मानिसहरू अस्पताल आइरहेका हुन्छन् । निद्राका वेला हाम्रो मस्तिष्क अर्धचेतन अवस्थामा हुन्छ । यसबाट सपना देखिन्छ, सपना सत्य वा असत्य हुन पनि सक्छ । त्यसैले सपना नराम्रो देख्दैमा डर मान्नुपर्दैन ।

उपचार
डिप्रेसन रोगमा राम्रो कुरा नदेखिने र नराम्रो सोचाइ मात्र आइरहेको हुन्छ । काउन्सिलिङ गर्दा राम्रो कुरा पनि देखाइन्छ । डिप्रेसनका अरू बिरामीसँग पनि भेट गराइन्छ, परिवारका सदस्यबाट पनि जानकारी लिइन्छ, के कारणले तनाव भयो । पोजेटिभ सोच्न सिकाइन्छ । मन दह्रो पार्ने तरिका सिकाइन्छ । बिरामीलाई तनावमुक्त गराइन्छ । कहिलेकाहीँ श्रीमान्–श्रीमतीको झगडाका कारणले पनि डिप्रेसन रोग देखापर्छ । यस्तो अवस्थामा दुवैलाई सँगै राखेर उपचार गरिन्छ । तनाव कम हुने उपाय सिकाइन्छ ।

बिरामीले आफूसँग असम्बन्धित घटनामा पनि बढी सोचाइ लिने गर्छन् । त्यस्तो अवस्थामा कसरी तनावबाट अलग हुने भनेर सिकाइन्छ । बिरामीलाई रिल्याक्सेसन, व्यायम सिकाइन्छ । सुतेर लामो–लामो श्वास लिन लगाइन्छ र शरीरका अंगहरू पालैसँग रिल्याक्स गराइन्छ । यसबाहेक योग, मेडिटेसन, बायोफिडब्याकको प्रयोग गर्दा पनि मन शान्त राख्न सकिन्छ र मस्तिष्कको सोचाइ राम्रो हुने हुन्छ । यस्ता व्यायम दैनिक एक घन्टाजति गराइन्छ । काउन्सिलिङ साइकोथेरापी पनि दैनिक ३० मिनेटजति गराइन्छ । यसबाट मानसिक रोग निको हुन सहयोग पुग्छ ।

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै

स्वास्थ्य सेवालाई गुणस्तरीय बनाउन सके प्रत्येक वर्ष ८६ लाख मृत्युलाई रोक्ने सकिने

पूर्व स्वास्थ्यमन्त्री गगन थापाले ठूला दलका ठूला नेता उपचारका लागि विदेश जान छोडेको अवस्था नै नेपालमा स्वास्थ्य सेवामा गुणस्तर सुनिश्चितको प्रमाण भएको बताएका छन् । थापाले नेताहरुले देशकै स्वास्थ्य सेवालाई विश्वास गर्ने अवस्था आउने र स्थानीय तहमा उपलब्ध सेवामा पनि स्थानीय जनप्रतिनिधिले त्यहीका अस्पताललाई विश्वास गर्नसक्ने ठाउँ बनाउन सके मात्रै स्वास्थ्य सेवाको गुणस्तरीयतामा आम जनताको विश्वास बढ्ने बताए ।

‘द ल्यान्डसेट कमिसन फर हाइ क्वालिटी हेल्थ सिष्टम’को विश्व स्वास्थ्य अवस्थासम्बन्धी प्रतिवेदनले सार्वजनिक कार्यक्रममा बोल्दै कमिसनका कमिसनर थापाले सरकारले कुनै पनि अस्पताललाई सञ्चालन अनुमति दिएका नीजि क्षेत्रका अस्पतालहरुको स्वतः गुणस्तरसमेत सुनिश्चितको जिम्मेवारी सरकारकै हुने बताए । ‘सरकार सेवा प्रदायक होइन् सरकार व्यवस्थापक हो, जहाँ सुकैबाट सेवा लिएपनि त्यसको गुणस्तरीयताको सुनिश्चिता सरकारले गर्नुपर्छ,’ उनले भने ।

थापाले स्वास्थ्य सेवामा अबलम्बन गरिएको सोच, शैली, नीति र कार्यक्रमले दिनसक्ने जति उपलब्धी निकालिसकेको भन्दै नयाँ ठाउँमा पुग्नका लागि नयाँ प्रस्थान चाहिने बताए । उनले अबको नयाँ गन्तव्य भनेको स्वास्थ्य सेवाभन्दा माथि उठेर गुणस्तरीय स्वास्थ्य सेवा हुनुपर्ने भन्दै त्यसका लागि संघीयता नयाँ अवसर भएको बताए । ‘अहिलेसम्म पनि बेड गनेर अस्पतालको स्तर मूल्यांकन गरिन्छ, सेवा दिने तरीका, लिने मान्छेको सन्तुष्टी र सेवाको प्रभाव के रह्यो भन्ने पनि अब हेरिनुपर्छ,’ थापाले भने ।

स्वास्थ्यमन्त्री उपेन्द्र यादवले स्वास्थ्यलाई संविधानले नै मौलिक हकको रुपमा स्थापित गरेको भन्दै स्वास्थ्य सेवाको गुणस्तर बृद्धि विना स्वास्थ जनशक्ति र शान्तिसमेत नहुने बताए । उनले स्वास्थ्य क्षेत्रमा लगानी बढाउँन आवश्यक रहेको बताए ।

रिपोर्ट भन्छ
नेपालमा विहीबार सार्वजनिक गरिएको विश्व प्रतिवेदनअनुसार स्वास्थ्य संस्था र सेवा प्रदायकले दिने स्वास्थ्य सेवालाई गुणस्तरीय बनाउन सके प्रत्येक वर्ष ८६ लाख मृत्युलाई रोक्ने सकिन्छ ।

प्रतिवेदनले स्वास्थ्य सेवा गुणस्तरीय हुन नसक्दा ५६ लाख मानिसलाई स्वास्थ्य संस्था सेवासम्म पुगेर पनि बचाउँन नसकिएको औल्याएको छ ।
‘द ल्यान्डसेट कमिसन फर हाइ क्वालिटी हेल्थ सिष्टम’को विश्व स्वास्थ्य अवस्थासम्बन्धी प्रतिवेदनअनुसार स्वास्थ्य सेवा गुणस्तरीय हुन नसक्दा ५६ लाख मानिस स्वास्थ्य संस्था गएर सेवाको गुणस्तर हुन नसकेका कारण मृत्यु हुने र ३० लाख मानिसहरुको सेवा प्रणालीसम्म पहुँच नपुगेको जनाएको छ ।

ग्लोबल कमिसन बनाएर उपलब्ध तथ्यांकको व्यवस्थित र प्रमाणिक विश्लेषण गरेर प्रतिवेदन निकाल्ने ल्यान्डसेट कमिसनको मौलिक अनुसन्धान विधिबाट प्रतिवेदनबाहिर ल्याउछ ।‘हाइक्वालिटी हेल्थसिस्टम इन एसटिजी इरा’ नामक प्रतिवेदनको नेपालमा सार्वजनिक गर्दै हार्भड स्कूल अफ पब्लिक हेल्थकी सह–प्राध्यापक एवं ल्यान्डसेट कमिसनकी अध्यक्ष मार्गरेट स्वास्थ्य प्रणालीप्रति विश्वास नहुनु, स्रोतको अभावजस्ता कारणले स्वास्थ्य प्रणालीमा पहुँच चुनौतीपूर्ण भएको बताइन् ।

क्रुकले नेपालमा चिकित्सक र नर्सले सेवाका लागि पुगेकाहरुलाई मापदण्डअनुसार पुरा गर्नुपर्ने मध्ये ३९ प्रतिशत प्रश्न र जाँच गर्ने गरेको बताइन् । उनले भवन, जनशक्ति, उपकरणजस्ता आधारभुत सेटअप भए पनि सेवाग्राही सष्तुष्ट नहुँदासम्म सेवा गुणस्तरीय र पूर्ण हुनै नसक्ने बताइन् ।
कमिसनका राष्ट्रिय संयोजक अमित अर्यालले एउटा व्यक्ति एउटा समस्या लिएर फेमेली फिजिसियानकोमा जाँदादेखि संस्था र आवश्यक सेवा लिन जाँदा पार गर्ने प्रत्येक चरणमा पाएको उपचार, परीक्षण र अवस्था सिष्टमले चिन्नुपर्ने बताए । ‘स्वास्थ्य सेवाको गुणस्तर भनेको ‘हेल्थ सर्भिस’ मात्रै नभएर ‘हेल्थ केयर’हो, उनले भने, ‘विद्यामान स्वास्थ्य सेवा दिने तरीकाले प्रणाली होइन्, जुन आफैमा अपुरो छ,’

अर्यालले अहिलेको अभ्यास भइरहेको उपचारको तरीकालाई स्वास्थ्य प्रणाली भन्न नमिल्ने भन्दै स्वास्थ्य प्रणालीमा विरामी हुँदा उपचार मात्रै नभएर ‘पूर्ण स्वास्थ्य हेरचाह’ समेत समेटिने बताए ।
कमिसनका नेपाल उपाध्यक्ष डा. भगवान कोइरालाले नेपालको सन्दर्भमा उत्पादित जनशक्तिको सीप र क्षमतामा प्रश्न उठिरहेको भन्दै स्वास्थ्य सेवाको गुणस्तर सुनिश्चत गर्न चुनौतीपुर्ण रहेको बताए । उनले नयाँ चिकित्साशिक्षा ऐनमार्फत् त्यसको सुधार प्रयास भइरहेको बताए ।

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै

पाँचतारे होटलदेखि मोफसलसम्म फैलिँदै प्राकृतिक उपचार स्पा

मानसिक र शारीरिक तन्दुरुस्ती प्रदान गर्ने, शरीरका विषाक्त पदार्थहरू निकालेर शरीरमा सकारात्मक ऊर्जा उत्पन्न गराउने र तनाव कम गराउने प्राकृतिक उपचार विधि हो, स्पा ।पछिल्ला दिनमा उपचारदेखि जीवनशैली परिवर्तन तथा शौखका रुपमा समेत स्पाको प्रयोग बढ्दै गएको छ । प्रयोगसँग पाँचतारे होटलदेखि, पर्यटकीय स्थानमा समेत यसको बजार फैलिन थालेको छ ।

शारीरिक तन्दुरुस्ती र सौन्दर्यको क्षेत्रमा निकै महत्वपूर्ण मानिएको स्पाभित्र विभिन्नप्रकारका उपचार विधि समेटिएका हुन्छन् । स्पाथेरापी उपचारअन्तर्गत बाथ, स्टिमबाथ, आयुर्वेदिक मसाज, हटस्टोन मसाज, जोइन पेन रिलिफ मसाज, अकुप्रेसर थेरापी, शिरोधारा, ओफुरो, साउनालगायत पद्धति प्रचलित छन् । स्पाले प्राकृतिक चिकित्सासँग सम्बन्धित विभिन्न आयुर्वेदथेरापी, स्पाइनलथेरापी, शिरोधारा, साउनाबाथ, स्टिम बाथ, हटस्टोन मसाज, जोइन पेन रिलिफ मसाज, अकुप्रेसरथेरापी, ओफुरोलगायत प्राकृतिक चिकित्सापद्धतिहरू अपनाउने गरेको छ ।

नेपालमा व्यावसायिक स्पाको इतिहास लामो छैन । १२ वर्षदेखि सञ्चालनमा रहेको स्पा पछिल्लो समय १ सय ५० देखि २ सय वटा स्पा सेन्टर तथा साना–ठूला गरी २ सयवटा मसाज सेन्टरमा विस्तार भएको छ, यद्यपि यसको यकिन तथ्यांक भने उपलब्ध छैन । धेरैजसो स्पा सेन्टरहरू काठमाडौंका प्रमुख पर्यटकीय क्षेत्रहरू, पाँचतारे होटेल, ठमेलबजार तथा क्यासिनो क्षेत्रमा बढी मात्रामा केन्द्रित छन् । त्यसैगरी मोफसलका पर्यटकीय क्षेत्र तथा जिल्ला सदरमुकामहरूमा पनि स्पा सेन्टरहरू खोलिएका छन् ।

किन आवश्यक छ स्पा ?
आधुनिक समाजको विकाससँगै मानव जीवनमा पनि आधुनिकताको राम्रै प्रभाव परेको छ । यसले मानिसमा शारीरिक तथा मानसिक समस्याहरू थप्दै छ । बदलिँदो वातावरण, असन्तुलित खानपान, आवश्यक मात्रामा व्यायामको कमीजस्ता कारणले मानिसमा अनगिन्ती समस्या देखिन थालेका छन् । यस्ता समस्याबाट मुक्ति दिलाउन तथा प्रभाव कम गर्न पछिल्लो समय स्पाथेरापीतर्फ आकर्षण बढ्दो छ । स्पाले भित्री अंग तथा आउटलुकको मेन्टिनेन्सका साथै कुनै पनि केमिकलको प्रयोगविना प्राकृतिक तरिकाले पछिसम्मका लागि स्वास्थ्यलाई मेन्टेन गरी जिउने कला सिकाउँछ ।

ट्र्यान्क्युलिटी स्पाका निर्देशक राजेश फैँजू मानिसमा स्वस्थ जीवनशैली अपनाउनेबारे मानिसमा चेतनाको विस्तार भएका कारण स्पातर्फ आकर्षण बढ्दै गएको बताउँछन् । ‘स्वस्थ जीवनशैली बनाउने विषयमा मानिसको चेतना वृद्धि भइसकेको छ,’ उनी भन्छन्, ‘मानिसको अस्वस्थकर जीवनशैलीलाई स्वस्थ जीवनशैलीमा बदल्नु तथा शरीर र मनलाई सन्तुलनमा ल्याउनु नै स्पाको प्रमुख उद्देश्य हो । यो व्यवसायलाई उचित ढंगले व्यवस्थित एवम् व्यवसायीकरण गर्न सकेको खण्डमा अर्थतन्त्र तथा स्वास्थ्यको क्षेत्रमा महत्वपूर्ण टेवा पुग्नेछ ।’

सुरुमा यसप्रतिको मानिसको गलत धारणाका कारण स्पाका लागि जनशक्ति पाउन पनि समस्या थियो,’ रियल थेरापीका सञ्चालक भवी शर्मा भन्छन्, ‘तर, अहिले रोजगारीको नयाँ अवसरका रूपमा विकसित भएको छ ।’

नेपालमा स्पाको अवस्था
मानसिक र शरीरिक तन्दुरुस्तीका लागि गरिने मसाजलाई नेपाली समाजमा अझै पनि नकारात्मक दृष्टिले हेरिन्छ । मसाज भन्नासाथ यौन वा गलत धन्दाका रूपमा अनुमान लगाउने सामाजिक रोग अझै विद्यमान छ । ‘सुरुमा यसप्रतिको मानिसको गलत धारणाका कारण स्पाका लागि जनशक्ति पाउन पनि समस्या थियो,’ रियल थेरापीका सञ्चालक भवी शर्मा भन्छन्, ‘तर, अहिले रोजगारीको नयाँ अवसरका रूपमा विकसित भएको छ ।’ स्पाको विश्वव्यापी रूपमा बजार बढेसँगै स्वदेशी तथा विदेशी सेवाग्राहीको संख्यामा पनि उल्लेखनीय वृद्धि हुँदै गएको उनको भनाइ छ ।

आयुर्वेद र स्पाको सम्बन्ध
स्पामा प्राकृतिक चिकित्सासँग सम्बन्धित विभिन्न आयुर्वेदथेरापी, एरोमाथेरापी, स्पाइनलथेरापी, शिरोधारा, साउनाबाथ, स्टिमबाथ, हटस्टोन मसाज, जोइन पेन रिलिफ मसाज, अकुप्रेसरथेरापी, ओफुरोलगायत प्राकृतिक चिकित्सापद्धति अपनाउने गरिएको छ । पहिले स्पालाई विलासिताको आवश्यकताका रूपमा लिइन्थ्यो भने अहिले नेसेसरी (आधारभूत आवश्यकता)का रूपमा लिने गरिएको छ । स्पा र आयुर्वेद दुवैलाई अल्टर्नेटिभ थेरापीका रूपमा लिन सकिने फैँजूको धारणा छ । आयुर्वेद उपचारमा आधारित हुन्छ भने स्पालाई रिल्याक्समा आधारित मानिन्छ । आयुर्वेदमा प्रयोग गरिने नियमहरू स्पामा पनि पालना गरी स्पाथेरापी सेवा दिइने हुनाले आयुर्वेद र स्पालाई एकीकृत रूपमा लिन सकिने फैँजू बताउँछन् ।

कत्तिको महँगो छ ?
स्पालाई ट्रिटमेन्ट र रिल्याक्स दुवै बेसमा लिन सकिन्छ । सेवाको यही प्रकृतिअनुसार स्पाको शुल्क लिने गरिएको छ । पछिल्लो समय सामान्य मानिसले पनि स्पाथेरापी लिन सक्ने सैँजू बताउँछन् । पहिले पाँचतारे होटेलहरूमा मात्र स्पासेवा सञ्चालन हुँदा धनी मानिसले मात्रै सेवा लिन सक्ने सोच आममानिसमा छ । तर, पछिल्लो समय स्पाले व्यावसायिक रूपमा व्यापकता पाएसँगै आममानिसले पनि स्पासेवा लिन सक्ने रियल थेरापीका सञ्चालक शर्मा बताउँछन् । उनका अनुसार अझै पनि स्पा सर्भिस महँगो छ भने गलत धारणा कायमै छ । ‘स्वास्थ्यको चासो राख्ने जोसुकैले स्पाथेरापी सर्भिस लिन सक्ने अवस्था छ,’ उनी भन्छन् ।

स्पा सर्भिसको निश्चित शुल्क तोकिएको छैन । स्पा सेन्टरले आफ्नो तरिकाले शुल्क लिने गरेका छन् । स्पा सेन्टरले लेबनअनुसार र उपचारको प्रकृतिअनुसार शुल्क लिने गरेका छन् । रियल थेरापीमा स्पा सर्भिस लिएबापत एक हजारदेखि सेवाअनुसार शुल्क तय गरिएको छ । ट्र्यान्क्युलिट स्पामा भने न्यूनतम ३ हजार शुल्क लिने गरेको सेन्टरले जनाएको छ ।

शैक्षिक योग्यता
स्पाथेरापीका लागि अहिलेसम्म नेपाल सरकारबाट प्रमाणित कुनै कोर्स नभएको शर्मा बताउँछन् । ‘यसको रिसर्च गरेर विदेशमा चलाइएका कोर्सहरू र ट्रेनरसमेत झिकाएर ट्रेनिङ दिएर काम गरिरहेका छौँ,’ उनी भन्छन्, ‘यसरी हामीले म्यानपावर तयार गरेका छौँ ।’ तयार भएका म्यानपावरले पछि अरुलाई ट्रेनिङ दिने गरेको शर्माले बताउँछन् । ‘स्पाका लागि आवश्यक कोर्स कुन हो भनी आवश्यक रिसर्च गरी कोर्स सञ्चालनसँगै शैक्षिक योग्यताको सीमा तोकिनु आवश्यक छ,’ उनले भने ।

सञ्चालन प्रक्रिया
पठन–पाठन मात्र नभएर नेपालमा हालसम्म स्पासम्बन्धी कुनै कानुनी व्यवस्थासमेत छैन । तसर्थ, स्पा सञ्चालनका लागि घरेलु उद्योगमा दर्ता गरी सञ्चालनमा ल्याइँदै आएको छ । स्वस्थ्यरक्षाका लागि निकै उपयोगी मानिने स्पाथेरापी सञ्चालनका लागि कम्पनी दर्ता हेल्थ काउन्सिल, घरेलु उद्योग, प्यान वा भ्याट आदिमा दर्ता भई सञ्चालनमा ल्याउन सकिने व्यवस्था छ ।

केही अवस्थामा आधुनिक औषधि तथा अप्रेसनको पनि जरुरत पर्न सक्छ, तर ८० प्रतिशतभन्दा बढी रोगको सुरुवाती अवस्था औषधि तथा अप्रेसनसँगभन्दा पनि जीवनशैलीसँग नै सम्बन्धित हुन्छन् र पूर्णतया ठिक हुनेखालका हुन्छन् ।

रोगहरूमा स्पा
विश्व स्वास्थ्य संगठनका अनुसार ७५ प्रतिशत मुटु तथा रक्तनलीका रोग, ७५ प्रतिशत मधुमेह रोग, ७५ प्रतिशत मस्तिष्काघात वा स्ट्रोक र ४० प्रतिशत क्यान्सररोगको पूर्ण रूपमा रोकथाम गर्न सकिन्छ । योग, प्राकृतिक चिकित्सा र जीवनशैली व्यवस्थापन नै यी रोगका निम्ति अन्तिम उपाय हुन् । किनकि, यी रोगबाट बच्ने वा उपचार गर्ने उपाय मात्र होइनन्, जीवन जिउन सिकाउने कला पनि हुन् ।

योग, प्राकृतिक चिकित्सा, जीवनशैली चिकित्सा एवम् आयुर्वेदबाट यी रोगको प्रभावकारी उपचार र रोकथाम सस्तो शुल्कमा गर्न सकिन्छ । केही अवस्थामा आधुनिक औषधि तथा अप्रेसनको पनि जरुरत पर्न सक्छ, तर ८० प्रतिशतभन्दा बढी रोगको सुरुवाती अवस्था औषधि तथा अप्रेसनसँगभन्दा पनि जीवनशैलीसँग नै सम्बन्धित हुन्छन् र पूर्णतया ठिक हुनेखालका हुन्छन् ।
प्रायः नसर्ने रोगको रोकथाम र रोगमाथि विजय पाउने सबैभन्दा सजिलो, सस्तो र भरपर्दो उपाय नै योग, प्राकृतिक चिकित्सा, जीवनशैली व्यवस्थाप र आयुर्वेद हुन् ।

स्पा सेन्टरको डिजाइन
स्पा सेन्टरको डिजाइनमा पाँचतारे होटेलहरू तथा ठूला स्पा सेन्टरहरूले निकै ठूलो रकम खर्च गरेको पाइन्छ । स्पा सेन्टर छिर्नेबित्तिकै मानिसमा छुटै आनन्द आउनेखालको सजावट गरिएको हुन्छ । महँगा पेन्टिङ, आकर्षक चित्र तथा वस्तुहरूले भित्ता सजिएका हुन्छन् ।

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै

घाँटीको क्यान्सर र उपचार

डा. अनिलविक्रम कार्की

परिचय
घाँटी हाम्रो शरीरको महत्वपूर्ण काम गर्ने भाग हो । घाँटीका प्रमुख काम–
१) श्वासप्रश्वास २) खाना ३) आवाज

विभाजन
Oropharynx (घाँटीको मुखबाट सुरु हुने भाग)
Hypopharynx (घाँटीको खानानलीको सुरुवात हुने भाग)
Larynx (आवाज आउने नली र श्वास–प्रश्वासनलीको सुरुको भाग)
यीबाहेक घाँटीमा अन्य महत्वपूर्ण ग्रन्थिहरू हुन्छन्, जस्तै :
Submandibular Salivary Gland (-यालग्रन्थि)
Thyroid Gland (थाइराइड ग्रन्थि)
टन्सिल, जिब्रोको फेद (Base of Tongue Lalleculae)

प्रकार
घाँटीको क्यान्सर अंगअनुसार विभिन्न प्रकारका हुन्छन् ।
थाइराइडको क्यान्सर

Salivary Gland Tumor

Cancer of Larynx

Cancer of Oropharynx /Hypopharynx
Cancer of Sarcoma (मांसपेशीबाट आउने क्यान्सर)
Lymphoma (ग्रन्थिहरू बढ्ने क्यान्सर)
Matastasis of unknown origin (अन्यत्रबाट सरेको क्यान्सर जसको मुख्य ठाउँ (माउ) थाहा हुँदैन ।

कारण
घाँटीको क्यान्सरका विभिन्न कारण छन् । तीमध्ये केही यस्ता छन्–
सुर्तीजन्य पदार्थको प्रयोग
मदिरा सेवन
वंशानुगतकारण शरीरका विभिन्न जिनहरूको प्रभावले
वातावरण दूषित हुनाले विभिन्न टक्सिनका कारणले
विकिरणका कारणले
पोलेका खानेकुराको प्रयोगले

लक्षण
आवाज बस्ने
खाना निल्न गाह्रो हुने
श्वास–प्रश्वासमा गाह्रो हुने
घाँटीमा डल्ला, गिर्खा आउने
वजन कम हुने
ज्वरो आउने, आदि ।

पहिचान
परीक्षण : विशेषज्ञ चिकित्सकद्वारा ।
घाँटीको इन्डोस्कोपी : श्वासनली या खानानलीमा मासु पलाएको–नपलाएको हेर्ने ।
वायप्सी : मासुको परीक्षण ।
FNAC : गिर्खा भए त्यसको पानी थुतेर परीक्षण गर्ने ।
USG वा CT Scan : रोगको अवस्था र स्टेजिङका लागि ।
यीबाहेक रोग र रोगीको अवस्था हेरेर अरू परीक्षण गर्नुपर्ने हुन सक्छ ।

उपचार
मुख्य ४ उपचार पद्धति–
१) रेडियोथेरापी : विकिरणद्वारा क्यान्सरलाई मार्ने ।
२) केमोथेरापी : औषधिले क्यान्सर सेललाई मार्ने ।
३) शल्यक्रिया : अप्रेसनद्वारा क्यान्सरलाई निकाल्ने ।
४) इमुनोथेरापी :
रोगीको अवस्था र रोगको स्टेजिङअनुसार एक या सबैथरीको उपचार आवश्यक हुन सक्छ । रोगी ढिलो गरी आएमा Palliative Therapy द्वारा दुखाइ र अन्य समस्या निवारण गर्न सकिन्छ ।

सावधानी
मख्यतः सुर्तीजन्य पदार्थ, मदिरा सेवनजस्ता कारणबाट बच्न सकिन्छ ।
समस्या देखिनासाथ विशेषज्ञसँग परीक्षण गराउने

(कार्की बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, भरतपुर, चितवनमा कार्यरत छन्)

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै

जब ससुराले आफ्नै वीर्यबाट बुहारीलाई गर्भवती बनाइदिन दबाब दिए…..

बाँझोपनको उपचार गराउन आउँदा पुरुषको वीर्य सक्षम नभएको पाइएमा ‘आफ्नै परिवारको वा कुनै चिनेको व्यक्तिको वीर्य प्रयोग गरिदिनू’ भनेर अनुरोध गर्नेहरू आउँछन् । वंश निरन्तरताका लागि आफ्नै वंशको वीर्य प्रयोग गर्न दबाब दिने गरिन्छ । तर, हामी कुनै पनि हालतमा स्वीकार गर्दैनौँ । दाताको वीर्य लिने कुरा गोप्य हुन्छ । गोपनीयताको कुरा नाता–सम्बन्ध, पारिवारिक र सामाजिक समस्यासँग गाँसिएकाले पनि हामी प्रोटोकलअनुसार नै गर्छौं ।
थाहा पाएको वा चिनेको व्यक्तिबाट वीर्य लिँदा भोलि कुनै कारणले त्यो परिवारसँग सम्बन्ध बिग्रियो भने फेरि अर्को सामाजिक समस्या सिर्जना हुन्छ । यो बच्चा कसको त ? भन्ने समस्या हुन्छ । बच्चाको भविष्य अन्धकारमा पर्ने स्थिति बन्छ ।

ससुराको वीर्य प्रयोग गर्न दबाब
उपचारका लागि सपरिवार आएका एकजना ससुराले आफ्नै वीर्यबाट बुहारीलाई गर्भवती बनाइदिन दबाब दिए । मैले अस्वीकार गरेँ । उनले प्रलोभन देखाए । मैले ‘प्रोटोकलअनुसार मिल्दैन’ भनेँ । उनले क्लिनिक नै बन्द गरिदिने धम्की दिए । मैले ‘हेरौँ न त’ भनेँ ।
एकदिन एउटा प्रतिष्ठित परिवारको दम्पती उपचारका लागि आयो । पति दुर्घटनामा परेर अपांगताको अवस्थामा थिए । खुट्टा खोच्याउँदै आइपुगे । उनीहरूको साथमा केटाका आमाबुबा पनि आए । उनीहरूले भारतमा पनि धेरैपटक उपचारको प्रयास गरेका रहेछन् ।
केटाका बुबाले सुरुमै भने, ‘मेरो छोरामा समस्या छ, हामीले जयपुर, दिल्ली, बम्बईमा पनि कोसिस गर्यौँ, सफल भएन, निकै समय लाग्लाझैँ भयो । नातिनातिना खेलाउनुपर्यो, तपाईंंले उपचार गरिदिनुस् ।’
बाहिर जँचाएर डकुमेन्ट हेर्दा उनको छोराको वीर्यमा शुक्रकीट नभएकाले दाताबाट लिएर गर्भाधान गराउनुपर्ने देखियो । बुहारीमा समस्या थिएन । मैले त्यही कुरा राखेँ ।

हामीले हरेक जातजातिका लागि मिल्नेखालको वीर्य संकलन गरेर ‘वीर्य बैंक’ राखेका छौँ । तर, यो गोप्य हुन्छ, पहिचान खुलाउँदैनौँ । जातजाति, वर्ण आदि सबै छुट्याएर राख्ने भएकाले त्यसैअनुसार प्रयोग गर्छौं । यसो गर्दा जन्मिने बच्चा बाबुको जातजातिसँग मिल्नेखालको नै हुन्छ ।

यस सन्दर्भमा छोरा केही बोलेनन् । बुबाले तुरुन्तै भने, ‘हेर्नुस्, हामी त यो परिवारको वंश चलाउने कुरा गर्दै छौँ । अरूको लिएर कहाँ हुन्छ ? हाम्रै वंशबाट जानुपर्छ, म ससुरा हुँ, मेरो वीर्य लिएर उपचार गर्नुस् ।’
म त अचम्ममा परेँ ।

उनीहरूले कुरा नबुझेको होला भनेर मैले फेरि भनेँ, ‘यसमा रिलेसनको कुरा आउँछ………’ मैले कुरा नसक्दै उनले भने, ‘नो–नो डाक्टर सा’ब, यसमा रिलेसनको कुरा छैन, हाम्रो वंश, हाम्रो कुलको कुरा हो, हाम्रै मात्र हुनुपर्छ, अरूबाट लिएको हुनुहुँदैन ।’ उनले एकदम जिद्दी पाराले कुरा गरे ।

त्यसपछि उनले पकेटबाट चेकबुक निकाले र भने, ‘ल भन्नुस्, कति एमाउन्ट लेखौँ ? मैले यो उपचार जयपुरमा पनि गराइसकेको हो, त्यहाँ तुरुन्त नभएकाले मात्र तपाईंकहाँ आएको हो । चाहेजति रकम लिनुस्, हामीले भनेजस्तो उपचार गरिदिनुस् ।’ उनी थेगिनसक्नुको दबाब दिन खोजिरहेका थिए ।

मैले मेरो उपचारको प्रोटोकल देखाएर भनेँ, ‘हेर्नुस्, तपाईंको छोरामा समस्या छ, बुहारीमा छैन । यो अवस्थामा दाताबाट लिएर उपचार गर्नुपर्ने हुन्छ, तपाईंले भनेजस्तो गर्न सकिन्न । मलाई चेकबुक नदेखाउनुस्, चाहेजति रकम दिँदैमा उपचार हुने होइन । अन्यत्र तपाईंले के गरेर आउनुभयो, त्यो थाहा छैन, यो संस्था (निःसन्तान उपचार केन्द्र) तपाईंले सोचेजस्तो होइन, यसको आफ्नै प्रोटोकल छ, त्यहीअनुसार मात्र हुन्छ ।’
मैले उनलाई सम्झाउने प्रयास गर्दै भनेँ, ‘जानेर, चिनेर कुनै व्यक्ति वा परिवारका सदस्यको वीर्य लिँदा बच्चा भएपछि आपसमा झगडा भयो भने त्यो बच्चामा समेत समस्या पर्छ । यसले ठूलो सामाजिक समस्या निम्त्याउन सक्छ । त्यसैले हामीले प्रोटोकल बनाएका छौँ । यसअनुसार दाता सधैँ गोप्य हुने भएकाले तपाईंले भनेअनुसार गर्न सकिन्न र गर्दैनौँ पनि ।’
त्यसपछि उनले धम्क्याउँदै भने, ‘तपाईंले के सोच्नुभएको छ ? यो संस्था अब टिकिराख्छ ? हामीजस्ताको उपचार गर्न तपाईं पछि हटेको ? यस्ता संस्था त आउँछन्, जान्छन्………’ उनले गाली गरे, धम्क्याए । उनी अनपेक्षित हिसाबले कराए, म निकै अलमलमा परेँ, रिस पनि उठ्यो । मैले धेरै कुरा गर्ने स्थिति थिएन । एकोहोरो कराएर उनी फर्किए ।

केही दिन हामी सबैलाई तनाव भयो । पछि बिसिँदै गयौँ ।

त्यसको ३ वर्षजति पछि त्यो दम्पती फेरि आयो । मलाई हर्मोन औषधिहरू उपलब्ध गराउने व्यक्ति उनका आफन्त रहेछन् । उनले लिएर आएका थिए । उनलाई हाम्रो उपचारका तरिकाहरू, सफलतादर आदिबारे थाहा थियो ।
उनले ‘त्यहाँ जे उपचार छ, त्यो उपयोग गर’ भनेका रहेछन् । सोहीअनुसार उनीहरू उपचारका लागि आएका थिए । यसपटक उनीहरू आफैँ बुझेर आएकाले हामीलाई सजिलो भयो । हाम्रो प्रोटोकलअनुसार गर्न तयार भएर आएका थिए ।
हामीले सामान्य परीक्षणपछि उपचार सुरु गर्यौँ । चार महिनाजति उपचार गरेपछि दाताबाट वीर्य लिएर गर्भाधान गर्यौँ । उपचार सफल भयो । उनीहरूले आशा गरेझैँ भयो, छोरा जन्मियो ।
हामीले गर्नै नमिल्ने कुरामा जिद्दी गरिदिँदा वेलावेलामा हामीलाई निकै अप्ठ्यारो पर्ने गर्छ ।
यस्तैखालको अर्को एउटा केस मैले अझै सम्झिरहेको छु । यो तराईको केस हो । बुहारीको माइती र जागिर काठमाडौंमै रहेछ । ससुरा पनि यतै काम गर्ने । उनी पढेलेखेका, बुझेका मानिस थिए । छोरा तराईतिर जागिर भएकाले उतै बस्दारहेछन् ।

मैले कुरा नसक्दै उनले भने, ‘नो–नो डाक्टर सा’ब, यसमा रिलेसनको कुरा छैन, हाम्रो वंश, हाम्रो कुलको कुरा हो, हाम्रै मात्र हुनुपर्छ, अरूबाट लिएको हुनुहुँदैन ।’

सन्तान नभएपछि विभिन्न ठाउँमा परीक्षण गराउँदा बुहारीको ठिकै, छोरामा समस्या देखिएको रहेछ । मकहाँ उपचारका लागि आए, परीक्षण गर्दा त्यस्तै रिपोर्ट आयो । हामीले ‘दाताबाट वीर्य लिएर उपचार गर्नुपर्छ, अरू विकल्प छैन’ भन्यौँ । परीक्षणका क्रममा प्रायः ससुरा आइरहन्थे । उनले ‘मेरो छोराको समस्या भएकाले बच्चा नभएको हो, मेरो वीर्य लिएर उपचार गराइदिनुस्’ भनेर मलाई निकै कर गरे ।
मैले ‘प्रोटोकलअनुसार मिल्दैन, यो गोप्य हुने भएकाले चिनेको मानिसको लिँदैनौँ, पछि समस्या हुन्छ, कर नगर्नुस्’ भनेर सम्झाएँ । उनी फेरि त्यही कुरा लिएर आउँथे । मलाई मात्र नभएर मेरा स्टाफहरूलाई पनि त्यही कुरा भनेका रहेछन् ।
केही दिन उनले हामीलाई निकै दबाब दिए, तर नमानेपछि आफैँ अलमलिए । पछि हाम्रो सुझाबअनुसार नै उपचार गराए । केही महिनाको उपचारपछि गर्भ रह्यो र छोरी भयो । दोस्रो बच्चाको पनि चाहना गरेकाले फेरि उपचार गरियो । दोस्रो गर्भ पनि रहेको थियो ।

गोप्य वीर्य बैंक
हामीले हरेक जातजातिका लागि मिल्नेखालको वीर्य संकलन गरेर ‘वीर्य बैंक’ राखेका छौँ । तर, यो गोप्य हुन्छ, पहिचान खुलाउँदैनौँ । जातजाति, वर्ण आदि सबै छुट्याएर राख्ने भएकाले त्यसैअनुसार प्रयोग गर्छौं । यसो गर्दा जन्मिने बच्चा बाबुको जातजातिसँग मिल्नेखालको नै हुन्छ । तराईको मानिसको काखमा पहाडी मूलको वा पहाडी मूलका मानिसको काखमा तराई मूलको बच्चा हामी दिँदैनौँ । त्यस्तै, मंगोल वर्णका परिवारमा आर्य वर्णको बच्चा जन्मिने स्थिति बनाउँदैनौँ ।
दाताबाट डिम्ब लिनुपर्दाचाहिँ दिदी–बहिनीको लिन सकिन्छ । उनीहरूलाई ‘आफैँले लिएर आउनू’ भन्छौँ । तर, नाता नमिल्नेबाट लिँदैनौँ । जस्तो ः आमाजू, नन्दबाट लिँदैनौँ ।
हाम्रो क्लिनिकमा आउने धेरै बिरामी चिनजानका आधारमा सिफारिस भएर आएका हुन्छन् । एउटै परिवारका विभिन्न सदस्यहरू उपचारका लागि आएका हुन्छन्, तर कसको समस्या के थियो भन्ने थाहा नदिने हाम्रो नीति छ । गोपनीयता हाम्र्र्रो प्र्राथमिकता हो ।

(निःसन्तान उपचार केन्द्र, नयाँबानेश्वरकी डा. श्रीवास्तवको पुस्तक ‘सन्तान सुख’बाट)

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै

दाँत किराले खाने रोगकाे उपचार

डा. प्रकाश बुढाथोकी

आधुनिकता र सम्पन्नताको परिचायकका रूपमा चिनिँदै आएका मुटुरोग, मधुमेहजस्तै दाँत किराले खाने वा दन्तसडन पनि अहिले मध्यमवर्ग हँुदै निम्न आय भएका, गरिब वर्गमा समेत महामारीका रूपमा बढ्दै गएको छ । यो तितो यथार्थ चिकित्सकलाई मात्र नभई, स्वास्थ्यप्रति सचेत सम्पूर्ण नागरिक र सरकारलाई समेत चिन्ताको विषय बनिरहेको छ ।

सभ्यताको उपहार मानिने दाँत किराले खानु एउटा संक्रामक रोग हो । मुखमा भएका सूक्ष्म जीवले दाँतमा अड्किएर, टाँसिएर बसेका खाद्यपदार्थसँग रासायनिक प्रतिक्रिया गर्दा अम्ल उत्पन्न हुन्छ । अम्लले दाँतका कडा तन्तुहरू (इनामेल, डेन्टिन र सिमेन्टम)लाई नोक्सान गरी दाँतमा खाल्डो बनाउँछ । अम्ल वा तेजावले हातमा पर्दा हात नै प्वाल पार्न सक्छ भने दाँतमा रहँदा खाल्डो नपार्ने कुरै भएन ।
दन्तसडन न औषधोपचारले निको भएर खाल्डो पुरिने रोग हो, न त यसलाई रोकथाम गर्न कुनै औषधि वा भ्याक्सिन नै बनेको छ । दन्तसडन सबैभन्दा बढी भेटिने दीर्धकालीन रोग हो । यसबाट गिजामा उत्पन्न हुने घाउको उपचार गरिए पनि एकपटक नोक्सान भइसकेको दाँत फेरि पलाउन नसक्ने भएकाले जीवनभर पीडित भएको प्रमाण रहिरहन्छ ।

भयावह
विश्व स्वास्थ्य संघका अनुसार औद्योगिक राष्ट्रका बालबालिकामा ९० प्रतिशतसम्म दन्तसडन पाइएको छ । नेपालका ६५ देखि ७० प्रतिशत बालबालिका तथा ९० प्रतिशत वयष्कमा दन्तसडन छ । गाउँमा भन्दा सहरका बालबालिकामा दन्तसडन दोब्बर छ । दाँत गुमाउनुको प्रथम कारण दन्तसडन हो ।
कालाभन्दा गोरा मानिसलाई, पुरुषभन्दा महिलालाई, तलका भन्दा माथिका दाँतलाई, अगाडिभन्दा पछाडिका बंगारालाई र चपाउने सतहलाई दन्तसडनले बढी आक्रान्त पारेको देखिन्छ । तर, दन्तसडनलाई कुनै भौगोलिक, सामाजिक, सांस्कृतिक, धार्मिक परिबन्धले बाँध्दैन । त्यसैगरी, उमेर, लिंग, वंशजले बाँध्न नसक्ने भएकाले सबैमा दाँत किराले खाने रोग देखिन्छ ।
पहिलेपहिलेका मानिसमा दन्तसडन कम देखिन्थ्यो । अहिले पनि बूढापाकामा, गाउँघरमा, सरकारी विद्यालय पढ्ने विद्यार्थीमा र नाङ्लोपसले, भरियाजस्ता कामकाजी पुरुष तथा महिलामा यो रोग कमै देखिन्छ । राउटे, कुसुन्डा, चेपाङजस्ता जातिमा पनि दाँत किराले खाने रोग कमै देखिन्छ । यी सबैले पुष्टि गर्दछन् कि, दन्तसडन सम्पन्नता र आधुनिकताको चिनारी हो । अझ भन्नुपर्दा आधुनिक, प्रशोधित, गुलिया, टाँसिने खाद्यवस्तु, जंकफुड, फास्टफुडलगायतको प्रयोग गर्ने व्यक्तिमा बढी देखिन्छ । गाउँघरमा पनि गुलियो, प्रशोधित–चकलेट, बिस्कुट, पेस्ट्रीको बढी प्रयोग, आफ्ना करेसाबारीमा उत्पादन भएका हरिया सागसब्जी, फलफूल बजारमा लगी बेच्ने र फर्कंदा फास्टफुड, गुलिया खाद्यपदार्थ लिई फर्कने, आफू व्यस्त रहने वा आधुनिकता देखाउने होडमा बजारबाटै खाद्यपदार्थ लिई खाने, बच्चालाई नास्ताको रूपमा गुलिया टाँसिने पदार्थ दिने र बच्चालाई स्तनपान नगराई बट्टा र डब्बाको दूध खुवाउने गर्नाले पनि बच्चामा दन्तसडन देखिने गरेको छ ।

खाद्यपदार्थ
अन्य संक्रामक रोगझैँ दन्तसडन पनि सूक्ष्म जीव, सूक्ष्मजीव बस्ने ठाउँ र वातावरणको उपज हो, तर सूक्ष्म जीव सबैको मुखमा हुन्छन् । दाँत, मुख, ¥याल सबैमा हुन्छ नै, फरक पार्ने भनेको वातावरण वा खाद्य पदार्थले नै हो । कसैमा दन्तसडन बढी वा कम देखिनुको कारण लामो समयसम्म दाँतमा खाद्य पदार्थ टाँसिन दिनु वा नदिनु नै हो । दन्तसडन गराउन कार्बोहाइड्रेट, चिल्लोपदार्थ, प्रोटिन, भिटामिन (ए, डी, के, सी, बी) र खनिजपदार्थ (क्याल्सियम, फस्फोरस, फ्लोराइड, सेलेनियम, भेनेडियम) सबैको भूमिका रहन्छ । तुलनात्मक रूपमा छोटो समयमा, बढी अम्ल निकालेर दन्तसडन गराउने कारक कार्बोहाइड्रेट वा गुलियो पदार्थ हो । आजकल मकै भटमास, सागसब्जीको सट्टा गुलियो पदार्थका खानेकुराको सेवन बढ्दो छ । स्कुले बालबालिकालाई घरबाट खाजा नपठाइदिनु, बच्चा सुताउन स्तनपान तथा बोतल दूधको प्रयोग, जंकफुड, चाउचाउको प्रयोगलगायतले दन्तसडन बढाएको छ ।
खाद्यपदार्थका अतिरिक्त अप्रत्यक्ष रूपले दाँतको बनावट, रूप र एकअर्कासँगको सम्बन्ध र बसाइ स्थिति, ¥यालको बनावट, पिएच, मात्रा, गाढापन, प्रतिरोधात्मक शक्ति, वंशानुगत, गर्भवती भएको अवस्था र सुत्केरी अवस्थाले पनि दन्तसडन हुनमा भूमिका खेलिरहेका हुन्छन् । खाना खाइसकेपछि ब्रस गर्ने वा कुल्ला गर्ने बानीले सूक्ष्मजीव र खाद्यपदार्थको सम्पर्कको समयलाई घटाउने भएकाले हानिरहित हुन सक्छ ।

दुखाइ
दन्तसडनको दुखाइ सहनै नसक्ने गम्भीर किसिमको हुन्छ । हृदयाघात र दन्तसडन दुवैको पीडा भोगेका बिरामी दन्तसडनको दुखाइ १० गुना बढी हुने बताउँछन् । त्यसैगरी, प्रशवपीडा र दन्तसडन दुवैको दुखाइ अनुभव गरेका महिला दन्तसडनको पीडा कैयौँ गुना बढी र लामो समयसम्म हुनुका साथै कहिलेकाहीँ औषधिले पनि काम नगर्ने बताउँछन् । त्यसैले होला, जतिसुकै शिक्षित, सम्पन्न व्यक्ति पनि दाँतको दुखाइ लिएर आउँदा उनीहरूको पहिलो छनोट दाँत निकालेर दन्तअपांगता स्विकार्ने हुन्छ । उनीहरु पछि महँगो खर्चमा पर्ने र पछुताउने गर्छन् ।

निदान र उपचार
जब दन्तसडन दाँतको बाहिरी सतह इनामेलमा मात्र सीमित हुन्छ, हेर्दा कालो दाग मात्रै देखिन्छ, त्यस अवस्थासम्म राम्रोसँग सफा गरेमा, प्mलोराइड भएको दन्तमन्जन, माउथवास र औषधि प्रयोग गर्दा निको हुन सक्छ । जब चकजस्तो सेतो, हल्का–गाढा खैरो देखिन्छ, ब्रसगर्दा, चिसो, गुलियो प्रयोग गर्दा सिरिङ–सिरिङ हुन्छ, खाना अड्कन्छ, खाना चपाउन मिल्दैन, त्यस अवस्थामा सामान्य प्रकारको सिमेन्ट भरे हुन्छ ।
जब राति सुतेका वेला दाँत दुख्ने, गिजा सुन्निने, दाँत हल्लिने, लगातार दुखिरहने अवस्था हुन्छ, त्यसवेला दाँतको जरादेखि नै भरेर वा आरसिटी गरेर दाँत जोगाउन सकिन्छ र अन्य दाँतसरह काम लिन सकिन्छ ।

अन्तमा
भयावह अवस्था न्यूनीकरण गर्न चिनीको कम प्रयोग, फलफूल र सागसब्जीको उपयोग, मुखको उचित सरसफाइ, सुर्तीसेवन र मद्यपानमा रोकजस्ता उपाय अपनाएर जोखिम घटाउन सकिन्छ । सन्तुलित खानेकुरामा जोड दिई नरम ब्रस, फ्लोराइड भएको दन्तमन्जनको प्रयोग र मुख कुल्ला गर्ने बानी बसाली दाँत एवम् मुखको सरसफाइमा ध्यान दिनुपर्छ । हरेक ६ महिनामा नियमित दन्तपरीक्षण गराउने बानी बसाल्नुपर्छ ।

डा. बुढाथोकी वीर अस्पतालमा कार्यरत छन्

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै