डेंगु नियन्त्रणमा वार्षिक करोडौँ खर्च, तर प्रतिफल शून्य

३० वैशाखमा सुनसरीको धरान उपमहानगरपालिकाबाट फैलिएको डेंगु रोगले ६ जिल्लामा महामारीको रुप लिएको छ भने ५६ वटा जिल्लामा संक्रमण देखिसकेको छ । मुख्यतः सहरीकरण, बढ्दो तापक्रमलगायत कारण पछिल्लो समय डेंगुको संक्रमण गुणोत्तर श्रेणीमा बढिरहेको छ । पछिल्लो पाँच वर्षको तथ्यांकलाई नियाल्दा डेंगुको संक्रमण करिब ११ गुणाले वृद्धि भएको छ । यस वर्ष मात्रै ३ हजार ४ सय २५ जनामा संक्रमण देखिसकेको छ भने दिनप्रतिदिन संक्रमण फैलिनेक्रम जारी छ । डेंगु रोकथामका लागि जति बजेट खर्च गरे पनि कार्यक्रम प्रभावहीन देखिएको छ भने लगानी बालुवामा पानी भएको छ ।

चालू आवमा डेंगु नियन्त्रणका लागि ९ करोड ५४ लाख  विनियोजन, तर संक्रमण बढ्दै
आर्थिक वर्ष ०७६÷७७ मा केन्द्र, प्रदेश र स्थानीय सरकारका लागि डेंगु नियन्त्रण प्रयोजनका लागि ९ करोड ५४ लाख  विनियोजन बजेट विनियोजन भएको छ । तीनै तहका सरकार तथा गैरसरकारी संस्थामार्फत डेंगु नियन्त्रणका कार्यक्रमहरु सञ्चालन हुँदै पनि आएका छन् । तर, डेंगुको प्रकोप भने एकपछि अर्को जिल्लामा फैलिनेक्रम बढ्दो छ । गत आर्थिक वर्षमा सरकारले डेंगु नियन्त्रणका लागि करिब ७ करोड खर्च गरेको तथ्यांक छ ।

केन्द्र सरकारले स्थानीयस्तरमा लामखुट्टेको वासस्थान खोजी गरी लार्भा नष्ट गर्न अभियान सञ्चालनका लागि बढी प्रभावित १ सय ५ वटा पालिकामा १ करोड ६६ लाख बजेट पठाएको छ । त्यसैगरी, डेंगु तथा कीटजन्य रोग नियन्त्रणका लागि केन्द्रबाट प्रदेशस्तरमा ७ वटा प्रदेशका लागि ६ कराेड १७ लाख विनियोजन भएको छ । त्यसैगरी, केन्द्र सरकारमा डेंगु नियन्त्रणका लागि १ करोड ७१ लाख छुट्याइएको छ । तर, स्वास्थ्य विभागअन्तर्गतको इपिडिमियोलोजी तथा रोगनियन्त्रण महाशाखाले आइतबार पत्रकार सम्मेलन गर्दै डेंगु रोग अझै फैलिने अनुमान लगाएको छ ।

अहिलेको अवस्थामा डेंगु रोग जटिल तथा चुनौतीपूर्ण रहेको र विकसित देशदेखि विकासोन्मुख देशसम्म सबैका लागि भयावह स्वास्थ्य समस्याको रुपमा रहेको इडिसिडीका निर्देशक डा. विवेककुमार लाल बताउँछन् । जनसमुदायलाई डेंगुबारे जुनसुकै हिसाबले चेतनामूलक सुझाब दिए पनि त्यसअनुसार काम गर्न नसकेका कारण डेंगु नियन्त्रणमा समस्या आएको लालको भनाइ छ ।

डेंगु नियन्त्रणका लागि सरकारले करोडौँ खर्चंदा पनि कार्यक्रमहरु प्रभावहीन बन्दै गएका छन् । नेपालमा प्रभावकारी प्रविधि नभित्रिएका कारण पनि डेंगु नियन्त्रणमा समस्या आएको उनको तर्क छ । ‘जबसम्म लामखुट्टे नियन्त्रण गर्न सक्दैनौँ, तबसम्म उपचारमा जोड दिँदैमा डेंगु नियन्त्रणमा आउँदैन,’ डा. लालले भने, ‘डेंगु रोगविरुद्धको खोप विकासका क्रममै रहे पनि नियन्त्रणका लागि हामीसँग अझै प्रभावकारी प्रविधि उपलब्ध छैन ।’

विश्वमा प्रतिवर्ष ३९ करोडमा डेंगु संक्रमण, २० हजारको मृत्यु
केही दशकदेखि डेंगुको संक्रमण बढ्दै गएको छ । विश्वको आधाभन्दा बढी जनसंख्या कुनै न कुनै समयमा डेंगुको संक्रमणमा रहेको तथ्यांकले देखाएको छ । विश्वका १ सय २८ भन्दा बढी मुलुकका ३ अर्ब ९० करोड मानिस डेंगुको जोखिम क्षेत्रमा बसोवास गर्छन् । प्रत्येक वर्ष ३९ करोड मानिस डेंगुबाट संक्रमित हुने गरेका छन् भने २० हजारको मृत्यु हुने गरेको पाइएको छ ।

काठमाडौंमा पनि डेंगु संक्रमणको उच्च जोखिम
दुई साताअघि विश्व स्वास्थ्य संगठनको सहयोगमा विज्ञले काठमाडौंका विभिन्न क्षेत्रमा डेंगुबारे अनुसन्धान गर्दा काठमाडौं उच्च जोखिममा रहेको औँलाएका छन् । काठमाडौंमा प्रशस्त मात्रामा डेंगु रोग सार्ने लामखुट्टेको लार्भा फेला परेको छ । सहरी क्षेत्रमा बढी मात्रामा सडकमा खल्डाखुल्डी गमला, टायर, बोतल पानी जम्ने तथा फोहोरका कारणले पनि डेंगुको संक्रमण बढ्ने गर्छ ।

विज्ञ अभावले कार्यक्रम प्रभावकारी बन्न सकेन
नेपालमा लामखुट्टेजन्य रोग हेर्नका लागि लामखुट्टे विज्ञ (इमोनोमोलोजिस्ट)को अभाव छ । हेटौँडामा भएको कीटजन्य रोगसम्बन्धी तालिम तथा अनुसन्धान केन्द्रमा ३ जना विज्ञ रहे पनि काठमाडौंमा भएको पद रिक्त रहेको इडिसिडीले जनाएको छ । महाशाखाका निर्देशक डा. लालले भने, ‘नयाँ जनशक्ति उत्पादन पनि ज्यादै न्यून छ भने लामखुट्टे तथा कीटजन्य रोगलाई जिल्लागत रुपमा हेर्ने फोकल व्यक्ति र प्राविधिक रुपमा तालिमप्राप्त जनशक्तिको अभाव छ ।’

संघ, प्रदेश र स्थानीय तहबीच समन्वय अभाव
दक्ष जनशक्तिको व्यवस्थापन गर्न नसकेको अवस्थामा डेंगुजस्ता कीटजन्य रोगलाई नियन्त्रणमा ल्याउन नसकेको विभागका महानिर्देशक डा. शुशील प्याकुरेल बताउँछन् । हिजोका दिनमा केन्द्रस्तरबाट दिएको निर्देशनबाट स्थानीय तहमा भएका संस्थाहरु तुरुन्तै परिचालित हुन्थे र कामको प्रतिफल आउँथ्यो,’ डा. प्याकुरेल भन्छन्, ‘आज स्थानीय तहको एउटा कर्मचारीलाई चलाउन प्रदेश सरकारलाई गाह्रो छ । त्यस्तै, प्रदेशमा रहेका कर्मचारीलाई निर्देशन दिन केन्द्रलाई गाह्रो भएको अवस्था छ ।’ संघ, प्रदेश र स्थानीय तहको तालमेल हुन नसकेका कारण कार्यक्रम प्रभावकारी हुन नसकेको महानिर्देशक डा. प्याकुरेलको भनाइ छ ।

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै

डेंगु संक्रमित ३ हजार पुगे, पहाडमा पनि फैलिँदै, ‘स्थानीयको हेलचेक्य्राइँ नियन्त्रणको बाधक’

तराईका विभिन्न जिल्लामा गर्मीयाममा देखिने विभिन्न रोगमध्ये यस वर्ष डेंगुले महामारीको रूप लिएको छ । ३० वैशाखदेखि पूर्वी तराईको धरानबाट सुरु भएको डेंगुको संक्रमण अझै पनि नियन्त्रणमा आउन सकेको छैन । हालसम्म संक्रमितको संख्या ३ हजार नाघिसकेको स्वास्थ्य मन्त्रालयको तथ्यांकले देखाएको छ ।

नेपालमा प्रत्येक वर्ष हजारौँ मानिस डेंगुबाट प्रभावित हुँदै आएका छन् । विगत वर्षका अनुभवका आधारमा पनि थप सतर्कता अपनाउँदै समयमै रोकथामका कार्यक्रमहरू सञ्चालन गरी न्यूनीकरणतर्फ लानुपर्नेमा यस वर्ष विगतको तुलनामा डेंगुको प्रभाव झन् बढी देखिएको छ । संक्रमण सुरु भएको झन्डै ३ महिना पुग्न लाग्दासमेत नियन्त्रणमा आउन नसकेपछि मन्त्रालय तथा नियन्त्रणमा खटिएका निकायहरू अन्योलमा परेजस्तो देखिएको छ ।

स्वास्थ्यसेवा विभागअन्तर्गतको इपिडिमियोलोजी तथा रोगनियन्त्रण महाशाखाको तथ्यांकअनुसार एक साताअघिसम्म २ हजार ८ सय ३ जना डेंगुबाट संक्रमित भइसकेका छन् । पछिल्लो साताको संक्रमितको यकिन तथ्यांक उपलब्ध नभइसके पनि अनुमानित संख्यालाई जोड्ने हो भने हालसम्म करिब ३ हजारमा डेंगुको संक्रमण भइसकेको छ । त्यसमध्ये सबैभन्दा बढी संक्रमण धरान उपमहानगरपालिकामा पाइएको छ ।  नियमित रूपमा डेंगु नियन्त्रण तथा बच्ने उपायबारे सूचनाप्रवाह भइरहेको, लामखुट्टेको वासस्थान खोजी गरी लार्भा नष्ट गर्ने कार्यहरू नियमित रूपमा सञ्चालन आएको इडिसिटीले जनाए पनि रोग नियन्त्रणमा आउन नसक्नु चुनौतीको विषय बनेको छ ।

पोखरा र हेटौँडामा पनि फैलिँदै डेंगु संक्रमण
सामान्यतया तराई क्षेत्रमा मात्र देखिने गरेको डेंगुको संक्रमण पछिल्लो समय पहाडका जिल्लाहरूमा पनि देखिन थालेको छ । कास्कीको पोखरा महानगरपालिका–८ शिवालयमा १४ साउनमा पहिलोपटक बिरामीमा डेंगुको संक्रमण देखापरेको थियो । पोखरामा हालसम्म डेंगु संक्रमित बिरामीको संख्या १८ पुगेको तर हालसम्म कसैको पनि मृत्यु नभएको इडिसिडीले जनाएको छ ।

डेंगुको संक्रमण एक किसिमको एडिज लामखुट्टेले गराउँछ । हात मिलाउँदैमा, अँगालो मार्दैमा सँगै खाना खाँदैमा यो भाइरस सर्दैन । संक्रमित व्यक्तिलाई यदि कुनै लामखुट्टेले टोक्यो र त्यही लामखुट्टेले अन्य स्वस्थ व्यक्तिलाई टोक्यो भने डेंगु सर्छ । पानी जम्ने ठाउँमा गर्मीमा र पानी बग्ने व्यवस्था राम्रोसँग नहुने ठाउँमा एडिज लामखुट्टे बढी सक्रिय हुने गर्छन ।

त्यसैगरी, मकवानपुर जिल्लाको हेटौँडा उपमहानगरपालिका–४ मा पनि डेंगुका बिरामी देखापरेका छन् । पहिलोपटक ११ साउनमा संक्रमण देखापरेकोमा हाल डेंगु संक्रमितको संख्या ३८ पुगिसकेको छ ।

डेंगुबारे जनचेतना भए पनि लामखुट्टे नष्ट गर्नतर्फ लाग्दैनन् स्थानीयवासी
धरान उपमहानगरपालिकावासीमा डेंगुबारे भरपुर जनचेतना भए पनि त्यसलाई व्यवहारमा उतार्ने नगरेको पाइएको छ । ‘स्थानीयवासी नगरपालिकाले नै आएर घर सफा गरिदिओस् भने चाहन्छन्,’ धरान उपमहानगरपालिकाका स्वास्थ्यशाखा  प्रमुख  रामबाबु यादव भन्छन्, ‘डेंगुका विषयमा जनचेतना भए पनि आफैँले आफ्नो घर सफा राख्ने मानसिकता छैन ।’

नियमित रूपमा डेंगुरोग नियन्त्रण तथा बच्ने उपायबारे सूचनाप्रवाह भइरहेको गरी लामखुट्टेको वासस्थान खोजी गरी लार्भा नष्ट गर्ने अभियान बढाए पनि स्थानीयवासीमा आफैँले आफ्नो घर सफा गर्नुपर्छ भन्ने मानसिकता नबनेको यादव बताउँन्छन् । ‘डेंगुले स्वास्थ्यमा गर्ने असरको जानकारी हुँदाहुँदै पनि हेलचेक्य्राइँ गरेपछि केन्द्र तथा प्रदेश सरकारले जति लगानी गरे पनि कार्यक्रम प्रभावकारी हुन सक्दैन,’ उनले भने ।

४–५ जनाको मृत्यु भए पनि रिर्पोट आएको छैन
डेंगु संक्रमणका लक्षण भएका ४–५ जनाको मृत्यु भए पनि मत्युको यकिन कारण खलेर रिपोर्ट नआएको यादव बताउँछन् । केन्द्र सरकारले हालसम्म ३ हजार किट पठाए पनि डेंगुका बिरामीको संख्या बढ्दै गएकाले त्यो संख्या अपुग हुने देखिएको छ ।

डेंगु र यसबाट बच्ने उपायबारे विराट मेडिकल कलेज शिक्षण अस्पतालका डा. रामकुमार मेहता  :

डेंगु के हो ?
डेंगु भनेको भाइरल इन्फेक्सन हो । यो एडिज लामखुट्ठेको टोकाइबाट सर्छ । एडिज लामखुट्टे भनेको एक प्रजातिको लामखुट्टे हो जुन प्रायः कृत्रिम भण्डारण गरेर राखेको फ्रेस पानीमा बस्छ र यसले प्रायः दिनमा टोक्ने गर्छ । डेंगु विभिन्न प्रकारका हुन्छन् । साधारणतया सबै डेंगु खतरनाक हुँदैनन् । डेंगु कुनै साधारण लक्षण देखिएर पनि हुन्छ भने कुनै असाधारण लक्षण देखाएर पनि हुन्छ ।

यो रोग लागेका ९७ प्रतिशतलाई सामान्य ज्वरोका रूपमा लक्षण देखिन्छ । यो साधारण लक्षण हो । शरीरका कुनै पनि भागबाट रक्तस्राव बढी हुने, रक्तचाप कम हुने र रगतमा प्लेटलेट्स कम भयो भने खटिरा धेरै आउने लक्षणहरू देखिएमा यी असाधारण लक्षण हुन् र यो अवस्थालाई जटिल मानिन्छ । यसको निर्मूल गर्ने उपचार भने हुँदैन, लक्षणअनुसारको उपचार मात्र हुन्छ । सँगसँगै यसले अरू रोगसँग लड्न सक्ने क्षमतालाई पनि कम गरिदिन्छ, जसले गर्दा अरू रोगले यदि आक्रमण गरेमा झन्–झन् जटिल बन्दै जान्छ ।

डेंगु संक्रमण कसरी हुन्छ ?
डेंगुको संक्रमण एक किसिमको एडिज लामखुट्टेले गराउँछ । हात मिलाउँदैमा, अँगालो मार्दैमा सँगै खाना खाँदैमा यो भाइरस सर्दैन । संक्रमित व्यक्तिलाई यदि कुनै लामखुट्टेले टोक्यो र त्यही लामखुट्टेले अन्य स्वस्थ व्यक्तिलाई टोक्यो भने डेंगु सर्छ । पानी जम्ने ठाउँमा गर्मीमा र पानी बग्ने व्यवस्था राम्रोसँग नहुने ठाउँमा एडिज लामखुट्टे बढी सक्रिय हुने गछन् ।

डेंगुका लक्षण के हुन् ?
साधारण लक्षण
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ–२००९)का अनुसार डेंगु विदाउट साइन (लक्षणविनाको डेंगु)मा एकदमै बढी ज्वरो (१०२ डिग्री) आउँछ । यसका ५ देखि ७ दिनसम्म जिउ एकदमै दुख्ने, टाउको दुख्ने, पेट दुख्ने, वाकवाकी लाग्ने, आँखामुनि दुख्नेजस्ता साधारण लक्षण हुन् ।

असाधारण लक्षण
खटिरा आउने, रक्तस्राव बढी हुने, बान्ता हुने, शरीरमा प्लेटलेट्सको संख्या कम भएमा रक्तनलीहरूबाट रगत शरीरका अन्य तन्तुमा जाने भएकाले शरीरमा डाबर आउने, बिरामी सिकिस्त हुने, पिसाब कम हुने, रक्तचाप निकै कम हुने हुन्छन् । अधिकांश रोगी सामान्य उपचारपछि निको हुने भए पनि वेलैमा उपचार नगरेमा मानिसको ज्यानै जान सक्छ ।

डेंगुबाट बच्ने उपाय के छन् ?
– लामखुट्टेको टोकाइबाट बच्नुपर्छ ।
– घरवरपर पानी जम्ने खाल्डाखुल्डी पुर्नुपर्छ ।
– घरनजिक कुनै पनि किसिमका झाडी राख्नुहुँदैन ।
–लामखुट्टेको टोकाइबाट बच्न झुलको प्रयोग गर्ने वा लामखुट्टेको धूप वा क्रिम प्रयोग गर्नुपर्छ ।
– झ्याल–ढोकामा जाली राख्नुपर्छ ।
– शरीर पूरै ढाक्ने कपडा लगाउनुपर्छ ।
– सरसफाइमा ध्यान दिनुपर्छ ।
– आफ्नो घरवरिपिर मात्र नभई समुदाय, समाजलाई पनि सफासुग्घर राख्न मद्दत गर्नुपर्छ ।

 

 

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै

उन्मूलन लक्ष्य नजिकिँदै जाँदा औलोका बिरामी प्रतिवर्ष बढ्दै

सरकारले औलो उन्मूलनका लागि सन् २०२५ को लक्ष्य निर्धारण गरेको छ, तर देशमा औलोका बिरामी भने बढ्दै गएको पाइएको छ । बिहीबार स्वास्थ्यसेवा विभागअन्तर्गतको इपिडिमियोलोजी तथा रोगनियन्त्रण महाशाखाले विश्व औलो दिवसका अवसरमा गरेको कार्यक्रममा नेपालमा औलोरोगीको संख्या बढ्दै गएको तथ्यांक प्रस्तुत गरेको छ ।विश्व स्वास्थ्य संगठनले हरेक वर्ष २५ अप्रिललाई विश्व औलो दिवसका रूपमा मनाउँदै आएको छ । यस वर्ष ‘आफैँबाट सुरु गरौँ, औलोलाई शून्यमा पुर्याऔँ’ नारासहित विश्व औलो दिवस मनाइएको छ ।

पछिल्लो तीन वर्षको तथ्यांकलाई हेर्दा नेपालमा औलोका बिरामी बढ्दै गएको देखिन्छ । आर्थिक वर्ष ०७२/०७३ मा ९ सय ९१ औलोका बिरामी भेटिएकोमा ०७३÷०७४ मा उक्त संख्या १ हजार १ सय २८ पुगेको थियो । त्यसैगरी, ०७४/०७५ मा औलोका १ हजार १ सय ८७ बिरामी फेलापरेका थिए । तथ्यांकअनुसार प्रतिवर्ष औलोका बिरामी बढ्दै जानुले उन्मूलनको सरकारी लक्ष्यलाई चुनौती दिइरहेको छ ।

सरकारले औलोरोग नियन्त्रणका लागि कम बजेट छुट्याएका कारण पनि उन्मूलन कार्यक्रम प्रभावकारी हुन नसकको इपिडिमियोलोजी तथा रोगनियन्त्रण महाशाखाका निर्देशक डा. विवेककुमार लाल बताउँछन् । निर्देशक लालका अनुसार दातृनिकाय ग्लोबल फन्डले पछिल्ला २ वर्षका लागि १ अर्ब बजेट विनियोजन गरेकोमा हाल ३ वर्षका लागि जम्मा ४३ करोड मात्र विनियोजन गरेको छ ।

संघीय संरचनाअनुसार कर्मचारी समायोजनले पनि औलो उन्मूलन कार्यक्रममा चुनौती बढेको डा. लाल बताउँछन् । उनी भन्छन्, ‘समायोजनका क्रममा भेक्टर कन्ट्रोल सुपरभाइजर र मलेरिया इन्स्पेक्टरको दरबन्दी फाजिलमा रहेका कारण पनि निवारण कार्यक्रममा चुनौती देखापर्न सक्छ ।’

डा. लालका अनुसार पहिले तालिम दिइएका जनशक्ति हाल फाजिलमा छन् । जिम्मेवारी लिएर अगाडि बढ्नुपर्ने स्थानीय तहको क्षमता अभिवृद्धिका लागि धेरै समय लाग्नेछ । जुन मात्रामा तल्लो निकायसम्म दक्ष जनशक्ति लाग्नुपर्ने हो, सोअनुरूप पठाउन नसकिँदा कार्यक्रमको प्रभावकारी कार्यान्वयनमा चुनौती देखापरेका छन् ।

अझै पनि २ लाखभन्दा बढी नेपाली औलोको उच्च जोखिममा
औलो सूक्ष्म स्तरीकरण २०१८ को अध्ययनअनुसार २ लाख १६ हजार ७ सय ६ नेपाली औलोको उच्च जोखिममा रहेको पाइएको छ भने ९ लाख २७ हजार ४ सय १४ मध्यम जोखिममा छन् ।

सुदूरपश्चिम प्रदेश उच्च जोखिममा
आर्थिक वर्ष ०७४/०७५ मा प्रदेशअनुसारका औलोका बिरामीको तथ्यांकलाई विश्लेषण हेर्दा सुदूरपश्चिम प्रदेशमा सबैभन्दा बढी औलाका बिरामीको पहिचान भएको छ । मुलुकभर १ हजार १ सय ८७ बिरामीको पहिचान भएकोमा सुदूरपश्चिम प्रदेशमा मात्र ५ सय ८६ जना फेला परेका हुन् ।
त्यसैगरी, उक्त वर्ष प्रदेश ५ मा २ सय ३९, कर्णाली प्रदेशमा २ सय १०, प्रदेश २ मा ६६, गण्डकी प्रदेशमा ३६, प्रदेश ३ मा २६ र प्रदेश १ मा २४ जना औलोका बिरामी फेलापरेका छन् ।

पहाडी जिल्लातर्फ बढ्दै औलोको संक्रमण
तराईमा मात्र देखिने औलो पछिल्लो समय देशका पहाडी तथा हिमाली क्षेत्रमा समेत भेटिन थालेका छन् । मुगु, बाजुराजस्ता दुर्गम पहाडी बस्तीहरूमा औलोका बिरामी भेटिँदै गएको छ । डा. लाल भन्छन्, ‘यस्ता बस्तीहरूमा छुट्टै किसिमका कार्यक्रम ल्याउनुपर्ने हुन्छ । तर, त्यसअनुरूपका कार्यक्रम निर्माण गर्न सकिएको छैन ।’

पछिल्लो समय पहाडी वातावरण पनि लामखुट्टे हुर्कनका लागि अनुकूल भएको छ । यातायतको पहुँचले सजिलै तराईका लामखुट्टे पहाडमा गएपछि ती संक्रमित लामखुट्टेको टोकाइबाट पहाडमा रहेका मानिसलाई औलो सर्ने गरेको डा. लाल बताउँछन् ।

सरकारले उन्मूलनको मिति नै तय गरेर नियन्त्रणका विभिन्न कार्यक्रम ल्याइरहँदा यसका बिरामीको संख्या घट्दै जानुपर्नेमा बढ्दै गएका कारण सरकारको ०२५ सम्ममा औलो उन्मूलन प्रतिबद्धता कागजमै सीमित हुने पो हो कि भन्ने शंका उत्पन्न भएको छ ।

आयातित औलोका बिरामी बढ्दै
खुला सिमानाका कारण भारत तथा अन्य मुलुकमा कामको सिलसिलामा पुगेका नेपाली स्वदेश फर्किंदा औलो संक्रमित भएर आउनेक्रम बढ्दै गएको पाइएको छ । तथ्यांकअनुसार आर्थिक वर्ष ०७४÷०७५ मा १ हजार १ सय ८७ औलोका बिरामीमध्ये ६ सय ३० जनाले औलोरोग आयात गरेका थिए । स्थानीय औलोका बिरामी ५ सय ५७ जना मात्र थिए ।
विश्व स्वास्थ्य संगठनको तथ्यांकलाई हेर्ने हो भने विश्वमा २२ करोड मानिस औलोबाट संक्रमित छन् । गत वर्ष विश्वभर करिब ४ लाख ३५ हजार मानिसले औलोका कारण ज्यान गुमाएका थिए । दक्षिण एसियामा औलोका १ करोड १३ लाख बिरामी भेटिएका छन् भने गत वर्ष यस क्षेत्रका १ लाख ५७ हजार मानिसले औलोका कारण मुत्युवरण गरेका थिए ।

पी फाल्सिपारस औलोले लिन्छ ज्यान
नेपालमा मुख्यतया पी भाइभेक्स र पी फाल्सिपारस औलो पाइने गरेको छ । आर्थिक वर्ष ०७४/०७५ को तथ्यांकअनुसार पी भाइभेक्स औलोका बिरामी १ हजार १ सय ०५ थिए भने पी फाल्सिपारसका ८२ जना फेलापरेका थिए । पी भाइभेक्सको तुलनामा पी फाल्सिपारस औलो बढी घातक हुने गरेको छ, जसले संक्रमितको ज्यानैसमेत लिने गर्छ ।

के कारण लाग्छ औलो ?
औलो एनोफिलिज जातको संक्रमित पोथी लामखुट्टेको टोकाइबाट लाग्ने एकप्रकारको सरुवारोग हो । औलो लागेको व्यक्तिलाई उक्त जातिको लामखुट्टेले टोक्दा रगतसँगै औलोका परजीवी पनि चुस्दछ र उक्त लामखुट्टे औलो संक्रमित हुन जान्छ । संक्रमित लामखुट्टेले स्वस्थ व्यक्तिलाई टोक्दा उक्त व्यक्तिमा औलो सर्ने गर्छ ।

औलो रोकथामका लागि लामखुट्टेको टोकाइबाट बच्नुको विकल्प छैन । यसका लागि हात–खुट्टा छोप्ने गरी पूरा बाहुला भएका लुगा लगाएर वा शरीरको खुला भागमा कीटनाशक मलम वा तेल लगाएर लामखुट्टेको टोकाइबाट बच्च सकिन्छ । यसका साथै, औषधियुक्त झुलको प्रयोग गर्ने, घरवरपर सफासुग्घर गर्ने, पानी जम्ने खाल्डाखुल्डीहरू पुर्ने, लामखुट्टेनाशक औषधिहरूको प्रयोग गर्नेलगायत उपायहरू अपनाएर लामखुट्टेको टोकाइबाट बच्न सके मात्र औलोरोगबाट बच्न सकिन्छ ।

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै